भक्तपुर: मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुहुनेभएको छ । नवौँपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आउनुभएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छो छोरा सुजनले दुई वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गर्नुभएको थियो । कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उहाँका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौपटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको थियो । जात्राका लागि चारदाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो, नुन खान नहुने, बोडे देश छाडेर बाहिर जान नहुने सुजनका बुबा बुद्धकृष्णले बताउनुभयो । उहाँका अनुसार जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि व्रत बस्नुपर्छ । सुजनले जात्रा जोगाउन आफूले यस वर्ष पनि जिब्रो छेड्न तयार भएको बताउनुभयो । सुजनले भन्नुभयो, “बुबाले जिब्रो छेडाउँदा म पनि सँगै हुन्थे, उहाँले जात्रा, कला, संस्कृतिलाई जोगाएको देखेर मलाई पनि मनमा इच्छा जाग्थ्यो र आँट आयो, त्यो मौका दुई वर्ष अघि जुर्यो, यस वर्ष पनि जात्रालाई निरन्तरता दिन जिब्रो छेडाएर महादीप बोकेर बोडे देश घुम्ने छु ।” बुद्धकृष्णले भन्नुभयो, “मैले जिब्रो छेडाउँदा सानैदेखि छोरासँगै हुन्थ्यो, यो जात्रा जोगाउनुपर्छ, यो जात्रा नभए बोडेको पहिचान मेटिन्छ भन्ने मलाई मात्र होइन मेरो छोरालाई पनि लाग्थ्यो, बोडेको संस्कृति जोगाउन अब हरेक वर्ष बोडेका युवाहरू तयार हुनुपर्छ ।” जात्राअघि गते जिब्रो छेड्ने व्यक्तिले नाय पमाको घरमा पुगेर नाय पमाः, कर्मी नायलगायतलाई चार दाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गर्नुका साथै सोही दिन जात्राको व्रत प्रारम्भ गर्ने परम्परा छ । जात्राका दिन व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे सहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ । हालसम्म बोडेका १३ जनाबाट निरन्तर १०८ वर्षसम्म जिब्रो छेडेको इतिहास छ ।
पोखरा: पोखरामा शनिबार सम्पन्न भएको प्रथम मिडिया कप किङ्स बुद्धिचाल प्रतियोगिताको उपाधि फोटो पत्रकार युनिश गुरुङले जितेका छन् । माईन्ड फ्रेस चेस क्लब पोखराको आयोजनामा भएको प्रथम मिडिया कप किङ्स बुद्धिचाल प्रतियोगितामा फोटो पत्रकार गुरुङले १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि जितेका हुन् । प्रतियोगितामा बाह्रखरी डटकम पोखराका संवाददाता विशन क्षेत्री द्धितिय, नयाँ लिपि डटकमका संवाददाता दिपक कुमार श्रेष्ठ तृतीय भए । यस्तै प्रब्लिक फोरकेका प्रबन्धक निर्देशक मन क्षेत्री चौथो, रातोपाटी डटकम पोखरा संवाददाता प्रकाश ढकाल पाँचौ, नयाँ लिपिका सम्पादक सुरज श्रेष्ठ छैठौ र महेश भण्डारी सातौं भए । उपाधि विजेता गुरुङ राष्ट्रिय समाचार समिति (रासस), समाधान दैनिक पत्रीका, अमेरिकी समाचार संस्था दि एसोसियटेड प्रेस–एपीमा आवद्ध छन् । प्रतियोगितामा प्रथम भएका गुरुङले ५ हजार नगदसहित मेडल, प्रमाणपत्र टफी प्राप्त गरे । द्धितिय भएका क्षेत्रीले ३ हजार र तृतीय भएका श्रेष्ठले २ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । भने, चौथो, पाँचौ, छैठौं र सातौ भएकाहरुले मेडल र प्रमाणपत्र प्राप्त गरे ।
पोखरा: ग्रिनहिल युवा क्लबको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा सम्पन्न पुरुष भलिबलको उपाधि युके लण्डनले जितेको छ । ऐतिहासिक ३१ औं चैत्र दशैं मेला अन्तर्गत आज (शनिबार) भएको फाइनल खेलमा युके लण्डनले र घाचोकलाई ३–२ सेटले हराउँदै लण्डनले उपाधि जितेको हो । उपाधिसँगै लण्डनले नगद १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको घाचोकले नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । भने, सान्त्वना बनेको टि गार्डेनले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । उक्त खेलबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा युके लण्डनका कमल सुनार पुरस्कृत गरिएको क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए । उनका अनुसार उत्कृष्ट सर्भरका रुपमा सोही टिमकै संजोग परियार, उत्कृष्ट सेटरका रुपमा युके लण्डनकै देवेन्द्र परियार, उत्कृष्ट लिब्रोका रुपमा सोही टिमकै राजन दर्लामी मगर पुरस्कृत भए । भने, उत्कृष्ट स्पाइकरका रुपमा घाचोकका मिलन विक र उत्कृष्ट ब्लकरका रुपमा सोही टिमकै देवेन्द्र कुँवर पुरस्कृत भए । पुरुष भलिबलतर्फ कुल २४ टिमको सहभागिता रहेको थियो । खेल संयोजक अनोद गुरुङका अनुसार महिलातर्फ हिमशिखर क्लब धम्पुसले बौद्ध सिर्जना क्लब घलेललाई ३–० को सोझो सेटले हराउँदै धम्पुस च्याम्पियन बन्यो । च्याम्पियन बनेको धम्पुसले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको घलेलले, नगद रु १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र हात पार्याे । विजेता तथा उपविजेता टोलीलाई गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङ, वडा सदस्य अर्जुन परियार, माछापुच्छ्रे गाउँपालिका खेलकुद संघका सदस्य सचिव हुमबहादुर गुरुङ, क्लबका अध्यक्ष सुजन गुरुङ, स्थानीय अग्रजहरु लगायतले पुरस्कार वितरण गरेका थिए । गत २४ गतदेखि सञ्चालनमा रहेको सो मेलामा हिजो (बिहीबार) बेलुकी लोक तथा दोहोरी गायीका मन्जु विक, कृष्ण सुवेदी लगायतले प्रस्तुती दिएका थिए ।
काठमाडौं: वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा भुवनसिंह गुरूङ निर्वाचित हुनुभएको छ । सङ्घको आज बिहान सम्पन्न मतपरिणममा गुरूङले अर्को उम्मेदवार नरेश गेलालाई ६१ मतान्तरले हराउँदै विजयी हुनुभएको हो । अध्यक्षमा गुरूङले ४२८ मत प्राप्त गर्नुभएको भने गेलालले ३६७ मत प्राप्त गर्नुभएको छ । अध्यक्षमा निर्वाचित गुरूङ सङ्घको पूर्व द्वितीय उपाध्यक्ष एवं गुरूङ म्यानेजमेन्ट प्रालिका सञ्चालक हुनुहुन्छ । यस्तै, प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली र तृतीय उपाध्यक्षमा बैकुण्ठप्रसाद पौडेल निर्वाचित हुनुभएको छ । यस्तै, महासचिवमा महेशकुमार बस्नेत निर्वाचित हुनुभएको छ । बस्नेतले ४२३ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी कर्णराज कटुवालले ३६२ मत प्राप्त गर्नुभयो । यसैगरी, सचिवमा कुन्छा दोर्जे डिमडुङ र कोषाध्यक्षमा धनमाया सिञ्जाली निर्वाचित हुनुभएको छ । सदस्यमा भने रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, रामकाजी भोलान, सुवर्ण लामा, हिमा गुरूङ, रमा खड्का, देवीप्रसाद गिरी, सुमनराज पाण्डे, विद्यालक्ष्मी बज्राचार्य विजयी हुनुभएको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनका अध्यक्ष दीपक थापाले राससलाई जानकारी दिनुभयो ।
मुस्ताङ: कोरला नाकाबाट घरायसी प्रयोजनका लागि चाहिने मालसामान ल्याउन कुनै रोकावट नभएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा शुक्रबार लोमान्थाङ भएको कोरलानाका व्यापार प्रवर्द्धनसम्वन्धि छलफलमा मुस्ताङ भन्सार कार्यालयले उक्त जानकारी दिएको हो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको उपस्थितीमा भएको छलफलमा मुस्ताङ भन्सार, अध्यागमन कार्यालय, प्रशासन, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र स्थानीय व्यापारीको उपस्थितमा व्यापार प्रवर्द्धनमा हाल देखिएका समस्या र त्यसको समाधानको बाटो पहिल्याउन छलफल भएको थियो । मुस्ताङ भन्सार कार्यालयका प्रमुख करबिर गैरेले भन्सार कार्यालयमा स्थानीय कर्मचारी व्यवस्थापन गर्न समस्या भएको बताउनुभयो । नाका खुले पनि मुस्ताङ कार्यालयमा आवश्यक जनशक्ति र पूर्वाधार नहुँदा कोरला नाकाबाट आयात गरिने सामानको राजश्व सङ्कलन गर्न समस्या भएको प्रमुख गैरेले उल्लेख गर्नुभयो । तर व्यापारिक प्रयोजन छोडेर घरायसी सामान ल्याउन सरकारले नै व्यवस्था गरेकाले त्यस्ता सामान ल्याउन भन्सार कार्यालयले कुनै बाधा नपुर्याउने उहाँले बताउँनुभयो । भन्सारको पूर्वाधार नभएको र तत्कालको अवस्था व्यापारिक प्रयोजनका लागि सामान ल्याउन दिँदा अवैध गतिविधि बढ्ने सम्भावना रहेको भन्सार प्रमुख गैरेको भनाइ छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले कोरला नाकाबाट व्यापार सहज बनाउन भन्सार कार्यालयले ध्यान दिनुपर्ने बताउनुभयो । कोरला नाका व्यापार प्रवर्द्धनसम्वन्धि बसेको छलफलमा ९नेपाल–चीन० दुई देशबीचको कोरला नाकाबाट सामान ल्याएर ब्यापार सुरु गर्ने र स्थानीय ब्यापारीको समस्या समाधान गर्नका लागि सम्वन्धित निकायमा पहल गर्ने निर्णय भएको लोमान्थाङ गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत विकास केसीले जानकारी दिनुभयो । यसैगरी कोरला नाकाको ब्यापार सहजीकरणका लागि भन्सार, अध्यागन कार्यालयको सञ्चालन गर्ने र भन्सार कार्यालयसंग सम्वन्धि अन्य कार्यालयको स्थापना गर्न पहल गर्ने निर्णय गरिएको छ । यस्तै उपल्लो मुस्ताङको सीमावर्ती गाउँपालिकामा स्थानीय ब्यापारीलाई सहज रूपमा ब्यापार गर्ने कार्यका लागि सहजीकरणको पहल गर्ने निर्णय भएको छ । कोरला नाका २०८० कार्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका नागरिकका लागि बाह्रै महिना खुल्ला भएको हो । तर गत पुसमा कोरला नाकाबाट अवैध रूपमा विद्युतीय चुरोट (भेप) बरामद भएपछि यस नाकाबाट सामान ल्याउन मुस्ताङ भन्सार कार्यालयले कडा निगरानी गरेको छ । नाका खुलेको १४ महिनासम्म सहज व्यापार गर्दै आइरहेका उपल्लो मुस्ताङले पछिल्लो पाँच महिनादेखि कोरला नाकाबाट सामाना ल्याएर व्यापार गर्न पाएका छैन ।
तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ । ६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३० मेगावाट अर्थात् ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भएको हो । लामो समयदेखि सुख्यायाम हुँदा नदीमा पानीको बहाव कमि भएकाले उत्पादन ह्वात्तै घटेको केन्द्रका प्रमुख इञ्जीनीयर पशुपति गौतमले बताउनुभयो । गौतमले भन्नुभयो, “यस वर्षको हिउँदमा पानी परेन्, लामो खटेरीले गर्दा विद्युत् उत्पादन घटेर ४० प्रतिशत झरेको छ ।” हाल ४० मेगावाट विद्युत् उत्पादन हुनुपर्नेमा लामो खडेरी गर्दा ३१ मेगावाट पुगेको गौतमले जानकारी दिनुभयो । केन्द्रमा २३र२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन् । यो केन्द्र सन् १९८९ मा निर्माण सम्पन्न भएको हो । सो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ । सुख्यायाम भएकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेको तथा कतिपय सुकेकाले उत्पादनमा असर परेको गौतमले जानकारी दिनुभयो । केन्द्र प्रमुख गौतमले भन्नुभयो, “वैशाख लागेपछि घाम चर्को लाग्ने हुँदा हिउँ धेरै पग्लने र वर्षा बढी हुने भएकाले उत्पादन बढ्दै जाने विश्वास लिइएको छ ।” सुख्खा मौसममा विद्युत् उत्पादन कम हुँदा प्राधिकरणले भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता छ । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घढेसँगै विद्युत् उत्पादन पनि घट्ने गरेको हो ।
काठमाडौं: हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहेको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । हालसम्म देशव्यापी रहिरहेको तुवाँलो क्रमिक रूपमा कम हुने पूर्वानुमान महाशाखाले जनाएको छ । मेघगर्जन र चट्याङ, वर्षालगायत हिमपातका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
पोखरा: होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव वर्ष महोत्सव २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले स्थानीय अम्मटमा सडकमा नै महोत्सवको उद्घाटन गरिने जानकारी दिए । उनले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रुपमा रहने जानकारी दिए । महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुती रहने उनले बताए । बाजा, भजन र रत्यौलीका कार्यक्रम पनि महोत्सवमा समेटिने जनाइएको छ । पोखराको खहरेचोकदेखि ड्यामसाइड विचको सडकमा आयोजना गरिने महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने छन् । महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने छन् । अहिले पोखराका होटलमा पर्यटकको अकुपेन्सी ६० प्रतिशत रहेको र महोत्सवका अवसरमा यो ९० प्रतिशत पुग्ने संघका अध्यक्ष सुवेदीले सुनाए । प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहने छन् । संस्थागत व्याडमिन्टन कप प्रतियोगिता यसपटकको नयाँ आकर्षणको रुपमा रहेको छ । यसलाई वाराही हस्पिटालिटी ग्रुपले प्रायोजन गरेको छ । यसैगरी स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरुको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत हुने छन् । महोत्सवका अवसरमा स्थानीय खहरे र ड्यामसाइडबाट झाँकी निकालिने छन् । फेवा महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रा।ली, सह प्रायोजक वरुण वेभरेज लि।को पेप्सी, प्रायोजकहरुमा बन्दीपुर केवलकार लि। फोन पे, अन्नपुर्ण केवलकार लि, टोकला चिया रहेका छन् । इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी र प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिकका रहनेछन् ।
गण्डकी: सामुदायिक वन समूहले काठको विकल्पका रूपमा अन्य वन पैदावारबाट रोजगार सिर्जनासँगै आयआर्ज गर्न सुरु गरेका छन् । वनभित्र थुप्रिएका ज्वलनशील पदार्थको उपयोग गर्दै वन समूह रोजगारीसँगै जैविक मल उत्पादनमा जुटेका हुन् । पोखरा महानगरपालिका–१८ सराङकोटस्थित ठोट्नेखोला सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा थुप्रिएको घाँस, पातपतिङ्गर र झाडीलाई सङ्कलन गरेर जैविक मल उद्यम सञ्चालन गरेको छ । वनमा कुहिएर, जलेर नष्ट हुने स्याउला सोत्तरबाट उत्पादिन प्राङ्गारिक मल बजारमा बिक्री गर्ने लक्ष्यका साथ सुरु गरिएको मल उद्यमले रोजगारी सिर्जना गर्नुका साथै रासायनिक मलको मागलाई केही हदसम्म भए पनि कम गर्ने वन समूहका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार चैतको पहिलो सातादेखि सुरु गरिएको उक्त अभियानअन्तरर्गत हालसम्म वन क्षेत्रको छुट्टाछुट्टै दुई स्थानमा गरी ५० हजार किलो कच्चापदार्थ सङ्कलन भएको छ । वन पैदावार सङ्कलन कार्यमा दैनिक २० जना श्रमिकले रोजगार प्राप्त गर्दै आएका उहाँले बताउनुभयो । “उपभोक्ताले सङ्कलन गरेको हरियो स्याउला, भुइँझारलाई सुरुमा प्रतिकिलो रु दुईका दरले खरिद गरिन्थ्यो । अहिले सुकेको रु पाँच र हरियो पातपतिङ्गरको रु तीनमा प्रतिकिलो खरिद गरिँदै आएका छौँ । उत्पादित मल बजारमा सुरुमा प्रतिकिलो रु २५ मा बिक्री दर कायम गरिएको छ”, उहाँले भन्नुभयो, “जैविक मल उत्पादनका लागि अहिलेसम्म समूहको रु दुई लाखभन्दा बढी नगद लगानी भइसकेको छ ।” वनजङ्लबाट सङ्लन गरिएको स्याउला तथा घाँसपात जम्मा गरेपछि आधुनिक मेसिनद्वारा काटेर सानो आकारको बनाएसँगै जैविक मल उत्पादन गर्न ९० दिन लाग्ने बताउँदै उत्पादन प्रक्रिया पूर्णरूपमा व्यवस्थित र वातावरणमैत्री रहने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । अँधेरीकुनाबाट सुरु गरिएको सङ्कलन कार्य विस्तार गर्दै अहिले देउराली क्षेत्रमा पुगेको बताउँदै उहाँले भन्नुभयो, “डिभिजन वन कार्यालय कास्कीबाट ज्वलनशील पदार्थ व्यवस्थापन शीर्षकमा रु १० हजार सहयोग प्राप्त भएको छ । समूहले नवलपुर जिल्लाको विनय त्रिवेणी गाउँपालिकास्थित विनयी सामुदायिक वन समूहले उत्पादन गरेको जैविक मल उद्यमको स्थलगत अध्ययन पश्चात् मल उत्पादन कार्यलाई अघि बढाएको हो ।” अँधेरीकुनामा सङ्कलित वन पैदावार जोख्न विद्युतीय तुलोको प्रयोग गरिएको छ । पातपतिङ्गर जोख्दै व्यक्तिगत रिपोर्ट बनाउन व्यस्त भइरहेको अवस्थामा भेटिनुभएकी समूहकी सदस्य विष्णु कुमालका अनुसार दिनभरी काम गर्नेले रु एक हजार पाँचसयसम्म र फुर्सदको समयमा आउने गृहणीले रु पाँच सय आयआर्जन गर्दै आएका छन् । समूहले गँड्यौलाबाट पनि मल उत्पादन गर्ने योजना बनाएको उहाँको भनाइ छ । जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काप्mलेका अनुसार ठोट्नेखोला सामुदायिक वन समूह जस्तै कार्य गर्न मुलुकका सम्पूर्ण वन समूहले अनुशरण गर्नुपर्नेमा जोड दिँदै यस कार्यबाट मुलुकमा प्रत्येक वर्ष बढ्दै गएको वन डढेलो न्यूनीकरणमासमेत महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । दाउरोको प्रयोग कम हुनु, वस्तुभाउ पाल्नेको सङ्ख्यामा कमी आउनुलगायत कारणले वन क्षेत्रमा थुप्रिएको ज्वलनशील पदार्थमा आगो लागेर वन डढेलो बढेको बताउँदै उहाँले त्यसका लागि वन समूहलाई जैविक मल उत्पादनमा प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । यस्ता गतिविधिले मानव–वन्यजन्तु द्वन्दलाईसमेत केही हदसम्म कम गर्ने उहाँको भनाइ छ । जैविक मल प्रयोगबाट माटोको उर्वरशक्ति बढ्नुका साथै विदेशबाट प्रत्येक वर्ष आयात गरिने खर्बौं रुपैयाँका रासायनिक मललाईसमेत विस्तापित गर्दै प्राकृतिक स्रोतलाई स्थानीयको आयआजर्नसँगै मुलुकको समृद्धिसँग जोड्नेतर्फ सबै सरोकार भएकाको ध्यान जानुपर्नेमा काफ्लेले जोड दिनुभयो । गण्डकी प्रदेश नवलपुर जिल्लास्थित विनय त्रिवेणी गाउँपालिकाको विनयी सामुदायिक वन समूहले विगतदेखि जैविक मल उत्पादन गर्दै आएको छ । पछिल्लो समय गाउँपालिकाले अपनत्व लिएको सो उद्योगमा ८० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । वन समूहको अधिकारका लागि पैरवी गर्दै आएको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले विभिन्न दातृराष्ट्रको सहयोगमा सञ्चालित परियोजनाहरू यस्ता उद्यमसँग जोडिनुपर्ने यस क्षेत्रसँग सम्बन्धित विज्ञको धारणा छ ।