म्याग्दी: यस वर्ष डढेलोका कारण जिल्लामा करिब एक सय हेक्टर वनमा क्षति पुगेको छ । जिल्लामा रहेका २८ सामुदायिक वनको ९९ हेक्टर क्षेत्रफलमा डढेलोले क्षति पु¥याएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका वन अधिकृत विनयबहादुर अधिकारीले सबैभन्दा बढी धवलागिरि गाउँपालिकास्थित नौ वटा सामुदायिक वनमा डढेलो लागेको जानकारी दिनुभयो । उहाँका अनुसार मालिका गाउँपालिकाको चार, मङ्गला गाउँपालिकाको दुई, रघुगङ्गा गाउँपालिकाको चार, अन्नपूर्ण गाउँपालिकाको छ र बेनी नगरपालिकाको तीन वटा सामुदायिक वनमा डढेलो लागेको छ । “विगतका वर्षका तुलनामा यस वर्ष ढडेलो कम लागेको छ”, अधिकारीले भन्नुभयो, “शुक्रबार र शनिबारको वर्षाले पछिल्लो पटक वनजङ्गलमा लागेको डढेलो निभाएकाले मौसम सफा र सुन्दर देखिएको छ ।” घाँस पलाउने बहानामा, अवैध सिकार र आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलो लाग्ने गरेको उहाँको भनाइ छ । गोठालाहरूले राम्रो घाँस पलाउँछ भनेर जङ्गल र भिरमा आगो लगाउने गरेका भन्दै वन अधिकृत अधिकारीले सिकारीहरूले वन्यजन्तु र पन्छीलाई भगाउन पनि डढेलो लगाउने गरेको पाइएको उल्लेख गर्नुभयो । उहाँका अनुसार जिल्लामा दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । अधिकारीले ३६ दशमलव ७६ प्रतिशत वन, एक दशमलव ८५ प्रतिशत झाडी र २१ दशमलव २७ प्रतिशत चरन क्षेत्र रहेका जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा तीन सय १० सामुदायिक वन उपभोक्ता समूह छन् । वन डढेलो नियन्त्रणका लागि समुदायमा आधारित वन व्यवस्थापनसम्बन्धी कार्यक्रम गर्ने, डढेलो नियन्त्रण सञ्जाल गठन गर्ने, अग्निरेखा निर्माणलगायत काममा आवश्यक सहजीकरण गर्नुका साथै सुरक्षा निकायलाई आवश्यकपर्ने सामग्री सहयोग गरिएको डिभिजन वन अधिकृत विष्णु अधिकारीले जानकारी दिनुभयो ।
भक्तपुर: भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको अवसरमा आज बिहान ११ बजे भक्तपुरको पोटरीस्क्वायरस्थित कुमाले टोलमा हात नभएको लिङ्गो उठाइएको छ । प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीय भक्तपुरको कुमाले टोलमा बिहानै उठाइने हात नभएको लिङ्गो आज विधिपूर्वक पूजा गरी उठाइएको हो । बिस्केटजात्राको अवसरमा हरेक वर्ष चैत मसान्तको दिन उठाइएको हात नभएको लिङ्गो जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढाल्ने गरिन्छ । कुमाले टोलमा बिहान लिङ्गो उठाएपछि दिउँसो भैरव र भद्रकालीको पूजा गरी रथलाई साँझ भेलुखेलमा हातसहितको नाग–नागिनीको प्रतीक रहेको तान्त्रिक विधिद्वारा तयार पारिएको इन्द्रध्वजासहितको ५५ हात लामो लिङ्गो उठाउने गरिन्छ । यसलाई विश्वप्रसिद्ध लिङ्गो जात्रा भन्ने गरिन्छ । यो लिङ्गो भने वैशाख १ गते दिनभर जात्रा गरेर साँझ विधिपूर्वक ढाल्ने गरिन्छ । यता मध्यपुरथिमि–८ बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि पनि आज बिहान लिङ्गो उठाइएको छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको उपस्थितिमा जनप्रतिनिधिहरु समेतको सहभागितामा स्थानीयले महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाएका हुन् । तान्त्रिकविधि पूरा गरी बिहान स्थानीयले लिङ्गो उठाएपछि थिमि क्षेत्रको जात्रा एवं पर्वको विधिवतरूपमा सुरु हुने, मठमन्दिरमा मेला लाग्ने र भोज सुरु हुने परम्परा रहेको स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिनुभयो । “महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाएर जिब्रो छेड्ने जात्राको साइत गरिएको छ । यस मन्दिर अगाडि लिङ्गो उठाएपछि जिब्रो छेड्ने जात्रा पनि सुरु भएको मानिन्छ”, उहाँले भन्नुभयो । यहाँ आज नै कुमारीको रथ लहीटोलमा पु¥याइन्छ भने राति करिब ९ बजे निलबारही जङ्गलबाट ल्याएको दाउरा बालेर पूजा गरेपछि २८ वर्षीय सुजन वांग श्रेष्ठले व्रत प्रारम्भ गरी वैशाख २ गते जिब्रो छुड्नुहुनेछ । आज व्रत सुरु भएपछि जिब्रो छेड्ने व्यक्तिले केही खान नहुने, महिलासँग बोल्न तथा छुन नुहने, कुकुर, कुखुरा, बिरालोलगायतका पशुपक्षीलाई छुन नुहने चलन छ । मध्यपुरथिमिमा बिस्केट जात्राको अवसरमा सिन्दुरजात्रा विष्णुवीर जात्रा, रात्रिको चान्हेसिया जात्रा, सिद्धिकाली जात्रालगायतका जात्रा एवं पर्व स्थानीयले भव्यरूपमा मनाउने गरेका छन् ।
पर्सा: हनुमान् जयन्तीका अवसरमा आइतबार निकालिएको शोभायात्राका क्रममा उत्पन्न परिस्थितिपछि आज भएको राजनीतिक दलका प्रतिनिधिहरुको सर्वदलीय बैठकले शान्तिसुरक्षा र अमनचयनमा खलल पुग्ने गतिविधि नगर्न र सामाजिक सद्भाव कायम गर्न सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको छ । बैठकले स्थानीय सङ्घसंस्था र समुदायलाई ¥याली, बन्दलगायत गतिविधि नगर्न अनुरोध पनि गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा भएको सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम राख्न सबैसँग अनुरोध गरेको हो । बैठकले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो राष्ट्रको गरिमालाई आत्मसात् गर्दै सबै धर्म एवं सम्प्रदायसँग सम्बद्ध सङ्घसंस्था विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण र प्रवद्र्धन गर्ने हिसाबले समतामूलक समाजको निर्माणमा अगाडि बढ्ने हाम्रो राष्ट्रको मर्मअनुसार अघि बढ्न अनुरोध गरेको संयोजक अर्यालले बताउनुभयो । बैठकले घाइते भएका सुरक्षाकर्मी, सञ्चारकर्मी, आमनागरिकको स्वास्थ्यलाभको कामना गर्दै साथै घाइतेहरुको उपचार राज्यले गर्नुपर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस पर्साका सभापति जर्नादनसिंह क्षेत्रीले सामाजिक सद्भाव कायम गरेर शान्ति कायम गर्न आग्रह गर्नुभयो ।
म्याग्दी: म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वर मन्दिरमा भक्तजनले चढाएका भेटीबाट सजावट योजनालाई सहयोग भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरमा सङ्कलन भएको भेटीबाट बेनी नगरपालिकाले सञ्चालन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनाका लागि रु छ लाख सहयोग गरेको हो । चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले रु २० लाख बजेट विनियोजन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनाका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषले रु छ लाख, पुलह पुलत्स्य अन्नक्षेत्र र राधाकृष्ण मन्दिरले रु दुई–दुई लाख उपलब्ध गराएका बेनी–९ का वडाध्यक्ष चक्र केसीले जानकारी दिनुभयो । कुल रु ३० लाख लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि बेनीको निर्माण कम्पनीले रु २४ लाख ३६ हजार ५७१ मा ठेक्का लिएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वर बजारभित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न परियोजनाको काम थालेको हो । परियोजनामार्फत गलेश्वर बसपार्कबाट प्रवेशद्वार, गलेश्वर मन्दिर परिसर हुँदै राहुघाट नदी किनारसम्मको पैदलमार्ग, सडकमा स्लेट ढुङ्गा बिछ्याइने र किनारामा गमला राखेर फूलका बिरुवा रोपिने वडाध्यक्ष केसीले बताउनुभयो । गलेश्वर बजारभित्रको सडकमा ढुङ्गा बिछ्यापछि सार्वजनिक यातायातका साधन बजार बाहिरको कालीगण्डकी करिडोरको सडकबाट मात्र आवतजावतको ब्यवस्था मिलाइने वडाध्यक्ष केसीले बताउनुभयो । भुइँमा बिछ्याइने ढुङ्गामा असर नपर्ने गरी बजारभित्र निर्माण सामग्री र उपभोग्य सामग्री आपूर्तिका सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी संरचनाको ‘डिजाइन’ गरिएको छ । गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी रकमबाट सौन्दर्यकरण योजनालाई सहयोग गरिएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । उहाँका अनुसार चालु आवको साउनदेखि फागुन मसान्तसम्म भेटी लगायत शीर्षकबाट रु ६६ लाख दुई हजार ९९३ आम्दानी र रु ४० लाख नौ हजार ४५२ खर्च भई रु २५ लाख ९३ हजार ५४१ बचत भएको छ । गत वर्ष कोषले भेटीमार्फत सङ्कलन भएको रकम परिचालन गरेर रु १२ लाखको लागतमा ज्ष्येष्ठ नागरिक आश्रममा सभाहल निर्माण गरेको थियो । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलको एउटै विशाल चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा पूजाआजा र दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने र पुण्य मिल्ने धार्मिक विश्वास छ । हिन्दू धर्मग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउनको सोमबार, बालाचर्तुदशी र शिवरात्री पर्वमा विशेष मेला लाग्ने छ ।
काभ्रेपलाञ्चोक: मण्डनदेउपुर नगरपालिका–२ ठकुरीगाउँस्थित निर्माणाधीन एक होटलको कम्पाउण्डभित्र आज बिहान टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मिस्टिक माउण्टेन होटलमा बालुवा अनलोड गर्न टिपर पछाडि गर्ने क्रममा बा २ क ३४६४ नम्बरको टिपर दुर्घटना हुँदा चालक ३१ वर्षीय विनोद घोरासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अनुसार बालुवा अनलोड गर्दा अन्दाजी डिलबाट सात मिटर तल टिपर खस्दा च्यापिएर घोरासैनीको घटनास्थलमै मृत्यु भएको हो ।
काठमाडौं: अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक तोला सुनको मूल्य रु एक लाख ८६ हजार कायम भएको छ । स्थानीय बजारमा यो मूल्य हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला रु एक लाख ८५ हजारमा कारोबार भएको सुन आज तोलामा रु एक हजार बढेको हो । आज प्रतितोला चाँदीमा रु ५५ वृद्धि भएको छ । आज एक तोला चाँदी एक हजार ९६० मा खरिदबिक्री हुनेछ ।
पोखरा: नेपाली सांगीतिक क्षेत्रका नक्षत्रहरु स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीप्रति शनिबार पोखरामा पोखरेली कलाकारहरु ट्रिब्यूट दिएका छन् । एभरेस्ट एफएम ९३ मेगाहर्जले पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँगको सहकार्यमा शनिबार पोखरामा आयोजना गरेको अरुणा लामा–तारादेवी स्मृति साँझ कार्यक्रममा पोखरेली कलाकारहरुले स्वर किन्नरी द्वय अरुणा लामा र तारादेवीप्रति ट्रिब्यूट दिदै कालजयी गीतहरु गुञ्जाएका हुन् । कला, साहित्यका अध्येता, अन्वेषक प्रकाश सायमीले स्वर साम्राज्ञी अरुणा लामा र स्वर किन्नरी तारादेवीका जीवनका अनेक आरोह अवरोहसँगै विभिन्न गीतसँग सम्बन्धित अनटोल्ड स्टोरीहरु सुनाएर कार्यक्रम शुरु भएको थियो । त्यसपछि पोखरेली कलाकारहरुको साझा संस्था हार्मोनीमा आबद्ध कलाकारहरुले सामुहिक रुपमा देवी बन्दना गाएर सांगीतिक कार्यक्रम शुभारम्भ भएको थियो । लगत्तै देवी गुरुङले ‘उडी जाउँ भने’, लक्ष्मी गिरीले ‘काली पारे दाइ कति राम्रो’ एलिना गुरुङले ‘भेटिनु छुटिनु त के हो र’ गीत गाउँदै सांगीतिक माहोल तताए । रजनी ऋदम राईले माया गर्नेहरुका लागि समर्पित ‘फूलै फूलको मौसम तिमीलाई’ गाउँदा होस् वा कौशल्या गुरुङले ‘यति धेरै माया दिई’ गाउँदा दर्शक पुराना दिनहरु सम्झिएर नोस्टाल्जिक बने । कलाकार एकपछि अर्को गर्दै स्टेज छढ्दै जाँदा सांगीतिक न्यानोपन गाढाहुँदै गयो । पोखरामा रहेरपनि राष्ट्रिय स्तरमा चर्चित ईतु जोजिजूले उकाली ओरालीहरुमा’ गाउँदा होस् वा ईतुले आफ्ना श्रीमान रामभक्त जोजिजूसँग युगल स्वरमा ‘लुकुँ लुकुँ लाग्यो मलाई’ गाउँदा दर्शकको ताली पाईरह्यो । अर्की पोखरेली गायीका सितल थापाले ‘सागुरी बारी नि है’ र सितलले रामभक्त जोजिजूसँग युगल स्वरमा ‘ए कान्छा मलाई सुनको तारा’ तथा मितु पालले ‘तिम्रा पाउहरूमा म’ गीत गाउँदा सांगीतिक महोल नै छुट्टै बनेको थियो । त्यसमा काठमाण्डौमा क्रियाशिल महिला गायिकाहरुको सांगीतिक समूह सुरशक्ति नारी समूहकी अध्यक्ष बरिष्ठ गायिका संगीता राना प्रधानले ‘फूललाई सोधें’ गीत गुञ्जाउँदा सांगीतक माहोल सुनमा सुगन्ध थपेझैं भएको थियो । सो अवसरमा बोबी सुनारले ‘पोहोर साल’ गीतको बोलमा (धुन) सुनाएर दर्शकलाई मन्त्रमुग्ध बनाएकी थिईन् । त्यस्तै पोखरेली कलाकारहरुले समूहगानतर्फ “यो मायालाई भरोसा छैन”, “हाम्रो साहेब” (माया प्रीति चलचित्रबाट), र “सुङावा जस्तो जीवन” (शान्तिदीप चलचित्रबाट) प्रस्तुत गर्दै कार्यक्रमलाई भव्य बनाए । एभरेस्ट मिडिया हाउस प्रालिकी अध्यक्ष कर्मा तमुको अध्यक्षतामा भएको कार्यक्रममा एभरेस्ट एफएमका सम्पादक दीपेन्द्र श्रेष्ठले एफएमले हरेक वर्ष स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर २०७९ सालदेखि हरेक वर्ष माघ तेश्रो शनिबार कार्यक्रम गर्दै आएको बताए । तर यस वर्ष माघ तेश्रो शनिबार कार्यक्रम गर्ने तयारी चलिरहँदा हार्मोनीका एक सदस्य सञ्जिव पालको असामयीक निधन भएपछि स्थगित कार्यक्रम चैत अन्तिम शनिबार गर्नुपरेको स्पष्ट पारे । सो अवसरमा स्वर्गिय स्वर साम्राज्ञी अरुणा लामा र स्वर किन्नरी तारादेवी तथा हार्मोनीका तबला वादक सञ्जिव पालप्रति श्रद्धाञ्जली अर्पण गर्दै तस्बिरमा माल्यार्पण गरिएको थियो । पोखरा महानगरपालिकाको प्रवद्र्धन र गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित कार्यक्रमको साझेदारहरुमा डिजिटल साउण्ड एण्ड भिजन न्यूरोड, रुपाकोट ज्योति सुनचाँदी दुकान, अटोवेज, बेटर होम एप्लाईन्सेस, सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी (सलिको), सिटिजन फर्निचार न्यूरोड, फिस्टेल आईभिएफ फर्टिलिटी सेन्टर, नारी कलेक्सन चिप्लेढुंगा, कन्चन क्यापिटल अर्चलबोट, मिनबहादुर शेरचन स्टोर्स, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, ड्याडिज किचन् र सफल मिडिया हाउस रहेका थिए । कार्यक्रमको इभेन्ट पार्टनर्समा हस्पिटालिटी पार्टनरका रुपमा पोखरा भिलेज रिसोर्ट, द ग्राउण्ड्स र सुईखेत रिभर भ्याली रिसोर्ट, टेलिभिजन पार्टनरका रुपमा पब्लिक फोरके टेलिभिजन, अनलाईन पार्टनरका रुपमा एभरेस्ट आवाज डटकम, प्रोमोटेड बाईमा परिचय एडभर्टाईजिङ, साउण्ड पाट्नरका रुपमा एस.के.साउण्ड र भेन्यू पार्टनरका रुपमा पोखरा इभेन्ट सेन्टर रहेका छन् ।
काठमाडौं: गएको एक वर्षमा विपद्जन्य घटनामा ७४५ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षमा आठ हजार ८६१ वटा विपद्का घटना घटेको र ती घटनामा परी ७४५ जनाको मृत्यु भएको हो । ती घटनामा परी ६९ जना बेपत्ता भएका र एक हजार ७०२ जना घाइते भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार एक वर्षमा विपद्बाट १८ हजार ९९१ घरपरिवार प्रभावित हुन पुगेका छन् । कुल रु तीन अर्ब १३ करोड बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ । कुन घटनामा कति मानवीय क्षति सबैभन्दा बढी पहिरोका कारण ३५१ जनाको ज्यान गएको छ । त्यसपछि बाढीबाट ९७, चट्याङबाट ७८ र आलागीबाट ७७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । भारी वर्षाका कारण आठ, जनावरको आक्रमणबाट ४३, लेक लागेर २४, हवाई दुर्घटनामा २३, सर्पदंशबाट १९ जनाको मृत्यु भएको छ । त्यसैगरी, डढेलोबाट १०, हुरीबतासका कारण सात, डुङ्गा पल्टेर एक र अन्य विविध कारणबाट सात जनाको मृत्यु भएको छ । पहिरोबाट ४८, बाढीबाट १८ र हिउँ पहिरोमा परेर तीन जना बेपत्ता भएका छन् । सबैभन्दा बढी आगलागीका घटना विपद्जन्य घटनाका सङ्ख्या अध्ययन गर्दा सबैभन्दा बढी आगलागीका घटना यस वर्ष भएका छन् । विसं २०८१ वैशाख १ देखि चैत २९ गतेसम्मको तथ्याङ्कानुसार आगलागीका मात्र चार हजार १४५ वटा घटना भएका छन् । त्यसपछि डढेलोका एक हजार १९५ वटा र पहिरोका एक हजार पाँच घटना भएको छ । त्यस्तै बाढी ४१८, भारीका वर्षाका ५६८, चट्याङका ४१८, जनावर आक्रमणका ४७७, लेक लागेका १११ वटा घटना भएका छन् । हवाई दुर्घटनाका दुई, सर्पदंशका ८४, हावाहुरीका ३४९, डुङ्गा पल्टेका एक, हिउँ पहिरोका छ, भूकम्पका ७४, असिनापानी एक र अन्य सातवटा विपद्जन्य घटना भएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
भोजपुर: भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्युहुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिनुभयो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।