काठमाडौं: शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा रु ५ ले  घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सु...

काठमाडौं: नेपालका बलर युवराज खत्रीले कसिलो बलिङ गरेपछि नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । मलुपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले हङकङलाई नौ विकेटले हरायो । नेपालको यो लगातार तेस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई डकवर्थ–लुइस (डिएलएस मेथोड) का आधारमा पाँच रन र दोस्रो खेलमा ओमानलाई नौ विकेटले हराएको थियो । जितसँगै पाँच टोली सहभागी प्रतियोगितामा नेपालले ६ अङ्क बनाएको छ । नेपालले अब अन्तिम खेल शनिबार बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग खेल्नेछ । शीर्ष टोली सन् २०२६ मा हुने विश्वकपमा छनोट हुनेछ ।  जितका लागि एक सय १६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२.३ ओभरमा एक विकेटको क्षतिमा एक सय १८ रन जोड्दै लक्ष्य पूरा गरेको हो । नेपालका लगि ओपनर शाहिल पटेलले अविजित ४२ रन बनाए । उनले ४१ बलमा आठ चौकाको सहयोगमा उक्त रन बनाए । यस्तै कप्तान नरेन भट्टले अविजित ३९ र निरजकुमार यादवले २३ रन बनाए ।  बलिङमा हङकङका सयन पुरीले एक विकेट लिए । यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । हङकङका लागि कप्तान शिव माथुरले अर्धशतक प्रहार गरे । उनले एक सय १६ बलमा चार चौका र एक छक्काको सहयोगमा ६३ रन बनाए। यस्तै आर्या पंजवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रन जोडे । बलिङमा नेपालका लागि युवराजले चार विकेटसँगै विपिनप्रसाद शर्माले तीन, सन्तोष यादवले दुई तथा अशोक धामीले एक विकेट लिए । दुई खेलमा दुवै हार खेपेको हङकङले अङ्कको खाता खोल्न सकेको छैन । 

काठमाडौं: नेपालको लागि नयाँ प्रजातिको चरा अभिलेख गरिएको छ । इलाममा समुद्री सतहबाट तीन सय मिटर उचाइमा रहेको सुखानी वन क्षेत्र ‘भिओलेट कुक्कू’ नामको चरा अभिलेख गरिएको नेपाल पन्छीविद् सङ्घले जनाएको छ । चराविद् राजेन्द्र गुरुङसमेतको टोलीले चरा अवलोकनका क्रममा गत चैत २५ गते पहिलोपटक बिहान सुखानी वन क्षेत्रमा उक्त प्रजातिको भाले चरा देखेका थिए । सोही दिन सोही स्थानमा पटकपटक एक रुखबाट अर्को रुखमा उड्दै बस्दै गरेको अवस्थामा एक घण्टाभन्दा बढी समयसम्म उक्त चरालाई अवलोकन गरिएको थियो । चरा अवलोकन गर्ने क्रममा गुरुङका साथमा रहेका मलेसियन नागरिक अलेक्जेन्डर जोन एङ्ग याङले आवाज पहिचान गरी चरालाई पहिल्याएका थिए। टोलीमा रहेका अर्का मलेसियन नागरिक रोगर रोबर्ट राजह र नेपाली चराविद् अनिस तिम्सिनाले पनि सो भाले चरालाई अवलोकन गरेको सङ्घद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । टोलीका सदस्यहरूले चराको फोटो र भिडियो खिचेर प्रारम्भिक पहिचान गरेका थिए । चैत २८ गते सो चराको एकीन पुष्ट्याइका लागि चराविद् राजेन्द्र गुरुङले चराको विवरणसहित फोटो नेपाल चरा तथ्याङ्क समितिमा पठाउनुभएको थियो । समितिले प्राप्त विवरणहरूको अध्ययन गर्दै, राष्ट्रिय अन्तरराष्ट्रिय पन्छीविद्हरूसँग पनि रायसुझाव सङ्कलन गरी नयाँ चराको अभिलेख गरेको समितिका अध्यक्ष डा तुलसी सुवेदीले जानकारी दिए । उक्त चराको नेपाली नाम बेजनी कोइली राखिएको छ । यो चरा भुटान, फिलिपिन्स, सिङ्गापुर, ब¬ङ्गलादेश, ब्रुनाइ, चीन, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, थाइल्यान्ड र भियतनाममा आवासीय रूपमा पाइन्छ भने यसले भुटान, फिलिपिन्स, सिङ्गापुरमा प्रजनन गर्दछ ।  विश्वमा यस चराको दुई उपप्रजाति अभिलेख भएका छन् । यो सँगै नेपालको अभिलेखमा चरा प्रजातिको सङ्ख्यामा एउटा प्रजाति थप भएको छ र अब नेपालमा जम्मा चरा प्रजातिको सङ्ख्या आठ सय ९९ पुगेको छ ।

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।  मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गर्नुभएको हो ।  संविधानको धारा ९३ को उपधारा १ बमोजिम वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि राष्ट्रपतिले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   

सिरहाः रमेश लेखकले सिरहाको नवराजपुर गाउँपालिका-३ स्थित जगतपुरकी २४ वर्षीया आनन्दीदेवी सदायको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । करिब चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सदाय मंगलबार आफ्नै घरमा मृत फेला परेकी थिइन्।  गृहमन्त्री लेखकले यस घटनाका सम्बन्धमा गम्भीर चासो व्यक्त गर्दै प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गरी घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न निर्देशन दिएको गृह मन्त्रालयको सचिवालयले जनाएको छ।  मृतक आनन्दीदेवी गत पुस ९ गते सिरहा बरियारपट्टी गाउँपालिका-१ मा बस्ने दिदीलाई भेट्न हिँडेको बखत स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवबाट यौन दुर्व्यवहारमा परेकी जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एवं प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । उनका अनुसार निजहरू उपर जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएकामा उनीहरू पक्राउ पर्न सकेका छैनन् ।  प्रहरी उपरीक्षक शर्माले आफू जिल्लामा आउनुअघिको घटना भएकाले यस सम्बन्धमा सुरुदेखि सुक्ष्म ढङ्गले अनुसन्धान गरिरहेको जानकारी दिए ।  ‘गत फागुन २५ गते निजहरूविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको थियो । घटनालगत्तै पीडकहरू फरार छन् । उनीहरू नेपाल छाडी भारतमा लुकेका हुनाले खोजतलास गर्न चुनौती भए पनि प्रहरी प्रशासन निरन्तर लागिरहेको छ’, उनले भने, ‘पीडितमाथि यौन दुर्व्यवहारलगत्तै प्रहरीले मेडिकल जाँच, जिल्ला अदालतबाट पीडकविरुद्ध पक्राउ पुर्जी जारी गर्ने काम गरेको छ ।’  प्रहरी उपरीक्षक शर्माले आज मात्र घटनास्थल पुगी पीडितपरिवालाई भेटेको जानकारी दिए । ‘मृतक आनन्ददेवीको दुई वर्षकी छोरी छिन् । आनन्दीदेवी एकदवर्षदेखि माइतीमा बस्दै आएकी थिइन् । यौन दुर्व्यवहारमा परेकी आनन्दीदेवी माइतमा कोही नभएको बेला झुन्डिएको अवस्थामा हिजो मृत फेला परेकी हुन्’, उनले भने। मृतकको शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाका विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखरा:    सांगीतिक विरासत फर्काउन पोखराबाट शुरु भएको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम लमजुङको वेशीसहरमा गुञ्जिएको छ ।   पोखराको अपार सफलतापछि देशव्यापी अभियान शुरु गरेको ‘व्याक टु नाइन्टिज’को थर्ड एडिसन वेशीसहरमा उत्साहजनक सहभागितामा सोमबार साँझ सम्पन्न भएको हो ।   वेशीसहर युथ सोसाइटी सेरा लमजुङले रक्त अभावको समस्याको स्थायी समाधान खोज्नका लागि ब्लड डोनर्स एप्स निर्माणार्थ ‘हाम्रो संगीत हाम्रो अभियान, रत्तदाताको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गरेको कार्यक्रममा ६ वटा राष्ट्रिय व्याण्ड एउटै स्टेजमा गुञ्जिए ।   नब्बेको दशकमा उदाएर राष्ट्रिय÷अन्र्तराष्ट्रिय ख्याती कमाउन सफल डि–मर्चा, लेकाली, देउराली, ब्रोसिस, मध्याह्न र भेगाबोण्ड व्याण्ड वेशीसहरमा गुञ्जिदा दर्शकहरु मन्त्रमुग्ध भए ।   पानी परेपछिको खुलेको सोमबार साँझ लमजुङको वेशीसहरमा दर्शकहरु रमाइलो गर्ने मूडमा थिए । कार्यक्रमको साक्षी बस्न र ऐतिहासिक पललाई स्वर्णिम बनाउन युवायुवतीहरुको भीड थियो । सांगीतिक उत्सवमा जब कार्यक्रम सञ्चालक मनकुमार श्रेष्ठले व्याण्डहरुको नाम लिन्थे, उनीहरु समर्थनमा हुटिङ बजाउँथे । अनि व्याण्डहरुको गीत बज्दै जाँदा तालमा ताल मिलाउँदै गाउँथे र नाच्थेपनि ।   समयको पावन्दीले आफ्नो समयका हिट हिट गीतमात्र गुञ्जाउँदा दर्शक गीत, संगीतमा लठ्ठिए । डि–मर्चाले ‘शिवजीको बस्ती छ’ गाउँदा होस् वा ‘झ्याम्म झ्याम्म’ गाउँदा दर्शक कम्मर मर्काईमर्काई नाचे । अन्तिममा प्रस्तुती दिएको डिमर्चालाई थप गीत गाउन हुटिङ आईरह्यो तर समय पावन्दीले दर्शकको धित नमारी कार्यक्रमको बिट मार्नुपरेको थियो ।   त्यसअघि लेकाली व्याण्डले ‘यो मुटुमा’, ‘पहिलो नजर’लगायतका हिट हिट गीतहरु गाउँदा दर्शकको वान्समोरको हुटिङ पाईरह्यो । अर्का लेजेण्डरी गायक कर्णदासको मध्याह्न व्याण्डले सोँच्दासोंच्दै होस् वा ‘मनमनै मनपराई सकेछु’ ‘जिन्दगीको के भरोसा’लगायतका चर्चित गीतहरु गाउँदा दर्शक नोस्टाल्जिक भए ।   ब्रोसिस व्याण्डले ‘चाईना कम्पनी’, देउराली व्याण्डले ‘ढुंगेसाँघुको मेलामा’ र भेगाबोण्ड व्याण्डले ‘जीवन हो घामछायाँ’लगायतका चर्चित गाउँदा लयमा लय र तालमा ताल नमिसाउने कोहि थिएनन् ।   कार्यक्रममा कोहि आफू सुन्दै हुर्किएका गीत सुन्न आएका थिए त कोहि ‘बा’ पुस्ताको सदाबहार गीत सुन्न आएका थिए । आफूहरुको उद्देश्य अनुसार नै युवा, अधवैंशे र बा पुस्तालाई सांगीतिक उत्सवमा समेट्ने प्रयास वेशीसहरमापनि सफल भएको कार्यक्रम संयोजक मनकुमार श्रेष्ठले बताए । उनले भने,‘जहाँ दर्शकले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्दै मनोरञ्जन लेओस् । नया पुस्ताले बा पुस्ताको गीत सुनेर त्यो समय बुझोस भन्ने हो, त्यसमा हामी सफल भएका छौं ।’   ‘व्याक टु नाइन्टिज’को देशव्यापी अभियान अन्तर्गत ब्लड डोनर्स एप्स निर्माण गर्ने पवित्र उद्देश्य राखेर वेशीसहरमा कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘सांगीतिक विरासत फर्काउनका लागि योगदान दिन पाउनु अहोभाग्य हो । यसमा सहयोग गर्ने सबैलाई धन्यवाद’–उनले भने ।   ‘व्याक टु नाइन्टिज’को आगामी अभियान विराटनगर, भक्तपुर, र चितवनमा हुने कार्यक्रम संयोजक मनकुमार श्रेष्ठले जानकारी दिए ।   कार्यक्रममार्फत संघले सुसुप्त अवस्थामा रहेका पुराना सांगीतिक व्याण्डहरुको पुर्नजागरण गर्ने र नया पुस्तालाई संगीतमा लागेरपनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिदै पर्यटनको राजधानी पोखरालाई रिब्राण्डिङ गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने, गीत, सङ्गीतमार्फत् निराशाको निवारण र आशाको धुन सञ्चार गर्नेलगायतका उद्देश्य रहेको छ ।   अभियानमा पोखरा महानगरपालिका प्रवद्र्धकका रुपमा रहनेछ ।

पोखरा वडा नं. ५, पर्स्याङस्थित शान्ति निकेतन स्कूलले सुविधासम्पन्न भवन निर्माण गर्ने भएको छ ।   आफ्नै जग्गामा १५ करोड लागतमा अत्याधुनिक प्रविधिमैत्री भवन निर्माण गर्न लागेको विद्यालयले जानकारी दिएको छ । ६० करोड बजार मूल्यको जग्गामा बन्ने ५ तले भवनमा ४० कोठा रहनेछ ।   उक्त भवनको विद्यालयका संस्थापक प्राचार्य डा.महेश्वर पराजुली, वडाध्यक्ष विष्णुप्रसाद बराल, संस्थापकका माताहरू कलावती र भद्रकली पराजुलीले नयाँ वर्षकै दिन सोमबार संयुक्त शिलान्यास गरे । भवन यही वर्षभित्र निर्माण सक्ने लक्ष्य छ ।   वडाध्यक्ष बरालले वडा नं. ५ को गर्वलायक शैक्षिक संस्था शान्ति निकेतन वडाको सम्पति भएको र शैक्षिक सेवा विस्तार गर्ने उद्देश्यका साथ भौतिक संरचना निर्माणतर्फ केन्द्रीत रहेकोमा खुशी व्यक्त गरे ।   उनले सामुदायिक तथा संस्थागत विद्यालयका असल अभ्यास आदानप्रदान हुनुपर्ने भन्दै त्यसले शैक्षिक गुणस्तर वृद्धिमा भूमिका खेल्ने औँल्याए ।     शिक्षासेवी हेरम्बप्रसाद कोइरालाले भवन निर्माणसँगै पोखराको शिक्षा क्षेत्रमा योगदान पुग्ने औंल्याए ।   गण्डकी बोर्डिङका पूर्व प्राचार्य रविप्रसाद बरालले पोखराको शैक्षिक इतिहासमा शान्ति निकेतनले महत्वपूर्ण भूमिका खेलेको बताउँदै शिक्षा साझा विषयवस्तु रहेको उल्लेख गरे ।   हिसान कास्कीका सचिव एवं प्रतिभा माविका प्राचार्य किरण सापकोटाले शान्ति निकेतनलाई पोखराको अब्बल शैक्षिक संस्थाको संज्ञा दिए । त्यस अवसरमा कास्की जिल्ला खेलकुद विकास समितिका सचिव एवं पूर्व जनप्रतिनिधि अञ्जु केसी, पोखरा महानगरकार्यपालिका सदस्य हरिमाया विश्वकर्मालगायतले पनि धारणा राखे ।   विद्यालयका संस्थापक प्राचार्य डा. पराजुलीले सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गर्ने मान्यतामा साथ विद्यालय अगाडि बढिरहेको चर्चा गर्दै अभिभावकको सुझाव ग्रहण गरी भवन निर्माण थालिएको स्पष्ट पारे । विद्यालय अध्यक्ष कृष्णमणि भुर्त्यालको अध्यक्षतामा भएको कार्यक्रम समाजसेवी पुरुषोत्तम पराजुलीले संचालन गरेका थिए ।   सोमबार शिलान्यासपछि पत्रकार सम्मेलन गर्दै विद्यालयले आगामी शैक्षिक रणनीतिका बारेमा पनि जानकारी दिएको छ । संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले विद्यालयको २० वर्षको गौरवमय शैक्षिक यात्राबारे जानकारी गराए ।   ‘२०६२ सालमा युवाहरूको पहलमा स्थापित यस विद्यालयको शैक्षिक गुणस्तरीयताबारे हामी गर्वका साथ भन्न सक्छौं कि पोखरा क्षेत्रका साढे दुई सय विद्यालयमध्ये विभिन्न परीक्षामा उत्कृष्ट स्थान हासिल गरी हामी पटक पटक सम्मानित भएका छौँ । ४ जिपिए प्राप्त गर्ने विद्यार्थी उत्पादन भइसकेको छ ।’ – डा. पराजुलीले भने ।   प्राचार्य पराजुलीले विद्यालयले आफ्नो गौरवमय इतिहास र विरासतलाई निरन्तरता दिँदै समावेशी, समतामूलक समाज निर्माणमा विद्यार्थी केन्द्रीत शिक्षा प्रणालीमा विश्वास राख्ने उल्लेख गरे ।   ‘अत्याधुनिक भौतिक संरचना भित्र रहेर नवीनतम् प्रविधिको प्रयोगमा जोड दिँदै अघि बढ्ने क्रममा हामी केवल पाठ्यक्रम र परीक्षा आधारित शिक्षामा मात्र केन्द्रीत रहनेछैनौँ ।  शिक्षण पद्धति अनुसन्धानमूलक र खोज  विधिमा आधारित रहनेछ ।’ उनले थपे – ‘विद्यार्थीलाई जीवनका विभिन्न पक्षमा सक्षम बनाउने हाम्रो मूलभूत उद्देश्य रहनेछ । विश्व बजारमा प्रभुत्व जमाउने गरी भविष्यमा पेशागत हिसाबले सक्षम नागरिक उत्पादन गर्नु मुख्य ध्येय रहनेछ ।’   शान्ति निकेतन स्कुलको नयाँ भवन बागलुङ राजमार्गबाट १०० मिटर भित्र पोखरा ५ को धारापानीमार्गमा निर्माण हुने जनाइएको छ ।     पूरानो भवनमा मन्टेश्वरी तहदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूका लागि पठनपाठन सञ्चालन भइरहेको छ भने नयाँ भवनमा कक्षा ४ देखि कक्षा १२ सम्म पठनपाठन गराउने उनले सुनाए ।   उनले आगामी २०८३ सालदेखि कक्षा १२ सम्मको पाठ्यक्रम विस्तार गरिने सुनाए ।   पराजुलीले भने, ‘लागत बढ्दैमा हामीले शुल्क वृद्धि नगर्ने र समय सापेक्ष शुल्क निर्धारण गर्ने प्रतिबद्धता जनाएका छौं । भूकम्पप्रतिरोधी नयाँ भवनमा अपांगता मैत्री सुविधाहरू, लिफ्ट, अण्डरग्राउण्ड पार्किङ, स्मार्ट क्लासरूम, डिजिटल उपकरणहरू, कम्प्युटर ल्याब, साइन्स ल्याब र वल्र्ड क्लास डिजिटल लाइब्रेरीको व्यवस्था हुनेछ ।’   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भुर्त्यालले पनि विद्यालयका सबै प्रगतिको पक्षमा उल्लेख गर्दै सबैलाई शुभकामना दिएका छन् ।  उनले नयाँ संरचनाले विद्यार्थीलाई जीवनका विभिन्न पक्षमा सक्षम बनाउने र भविष्यमा पेशागत हिसाबले सक्षम नागरिक उत्पादन गर्ने उद्देश्यका साथ शान्ति निकेतन स्कूल अघि बढ्ने बताए ।

पोखरा:   १३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आज (बुधबार) सकिदैछ ।   समापन समारोहलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ ।         समापनका अवसरमा बुधबार विहान रक्तदान कार्यक्रम राखिएको छ ।जसलाई विष्णुपादुका क्लव मनिप्लान्ट बचत तथा ऋण सहकारी एवम् लायन्स क्लव अफ् पोखरा आँखीझ्यालले संयुक्त रुपमा आयोजना गरेका छन् ।         त्यस्तै समापनको दिन बुधबार रत्यौली गीत प्रतियोगिताको नतिजा सार्वजनिक गरिनेछ ।जसका प्रथम हुने समूहले २० हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार साथै सान्त्वनालाई ५ हजारका साथमा प्रमाणपत्र प्रदान गरिनेछ।         त्यसैगरी कृषि झाँकी ¥यालीतर्फको नतिजा पनि सार्वजनिक गरिने छ । झाँकी ¥यालीतर्फ पहिलोलाई ८ हजार, दोस्रोलाई ५ हजार, तेस्रोलाई ३ हजार तथा सान्त्वना पुरस्कार २ हजार प्रदान गर्ने तयारी आयोजकको छ ।   त्यस्तै सहयोगी विभिन्न संघसंस्था एवम् व्यक्तिलाई पनि मायाको चिनो सहित सम्मान गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए।   महोत्सवको १० औं दिन मंगलबारसम्म ९४ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेको छन् ।   जसमध्ये कुल ३ हजार ५ सय बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।उनले मंगलबार साँझसम्म गरी ३८ लाख बढीको आलु कारोवार भएको पनि सुनाए।         महोत्सवमा मंगलबार कलाकारहरु अर्जुन सापकोटा, सुमन बिटी, मञ्जु विक, सुदिप क्षत्री, कृष्ण भट्टराई तथा आगमन व्याण्डका प्रस्तुतिहरु रहे।   ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव गरिएको हो।   महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो परीक्षण तथा रोगको निदान रहेका छन्।   त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि गरिएको छ । यही चैत २४ गतेबाट महोत्सव सुरु भएको हो।

पोखरा:    स्याङ्जाको पुतलीबजार नगरपालिका ९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेलामा पहिलो चरणका खेल भएका छन् ।   ‘आजको आवश्यकता, समाज विकासमा युवाको अपरिहार्यता’ भन्ने मुल नारासहित जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पुर्णिमादेखि सञ्चालन भएको मेलामा आज पनि पहिलो चरणकै खेल हुने क्लबका अध्यक्ष दिपक राना मगरले जानकारी दिए ।   उनका अनुसार मंगलबार ४ खेल सम्पन्न भए ।    काल्खु खेल मैदानमा भएको पहिलो खेलमा खाङ्ग्राङले आयोजक टिम ‘स’लाई २५¬¬–१० २५–२७ र २५–१७ को सेटमा पराजित गर्याे ।   य​स्तै दोस्रो खेलमा भुस्नासुरले बासपानीलाई २५–१९ र २५–२४ को सोझो सेटले हराउँदै भुस्नासुर दोस्रो चरणमा प्रवेश गर्याे ।   तेस्रो खेलमा गहते टिम ‘ए’ले गामी छाक्रालाई २५–२२ र २५–२० को सेटले पाखा लगायो ।    यसैगरी अन्तिम खेलमा काल्खुले गहते टिम ‘बि’लाई २५–१८, २२–२५ र २५–२१ को सेटले काल्खु विजयी बन्यो ।    आज पनि पहिलो चरणकै खेल सञ्चालन हुने अध्यक्ष रानामगरले जानकारी दिए । उनका अनुसार खुला नृत्य तर्फ १२ जना प्रतिस्पर्धामा उत्रेका छन् ।   भलिबलतर्फको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ ।   सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिनेछ ।   नृत्य प्रतियोगितातर्फ प्रथम हुनेलाई ८ हजार रुपैयाँ, द्वित्तिय हुनेलाई ६ हजार, तृतीय हुनेलाई ४ हजार र सान्त्वना स्थान हाँसिल गर्नेलाई नगद रु २ हजारसहित पुरस्कृत गरिने क्लबका प्रमुख सल्लाहकार जिवन थापामगरले जानकारी दिए ।    उनका अनुसार नववर्षको अवसरमा ख्याती प्राप्त लोक तथा दोहोरी कलाकारहरु चोलेन्द्र पौडेल, माया गुरुङ, कृष्ण गुरुङ, घनश्याम रिजाल, शंकर पन्त, निश्चल थापा मगर, पारु गुरुङ र ममता तामाङ, शम थापामगर, अर्चना चापागाँई र होम गुरुङले प्रस्तुती दिएका थिए ।

चितवन:  यतिबेला रुघाखोकी लागेका बिरामीको सङ्ख्या बढ्दै गएको छ । त्यसो त अन्य समयमा रुघाखोकी लागेमा दुई चार दिनमा निको हुने गरेकामा यो वर्ष भने दुई हप्ताभन्दा बढी समय लाग्ने गरेको हो ।        भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख फिजिसियन डा प्रकाश खतिवडा हरेक तीन वर्षमा एन्फुञ्जाले आफ्नो रूप परिवर्तन गर्ने र बलियो भएर आउने बताउनुहुन्छ । हरेक तीन तीन वर्षमा यस्तै हुने गरेको भन्दै उहाँले अहिले निको हुन दुई हप्ताभन्दा बढी समय लाग्ने गरेको बताउनुभयो ।        उहाँले भन्नुभयो, “रुघाखोकीसँगै घ्यारघ्यार भए निको हुन अरू बढी समय लाग्छ ।” खोकी, स्वास्वा हुनेजस्ता समस्या लिएर बिरामी आउने गरेको भन्दै उहाँले अझै एक महिना यस्तो समस्या रहने बताउनुभयो । दुई महिनायता यो समस्या बढी मात्रामा देखिएको हो । सरकारी अस्पताल, मेडिकल कलेजहरू र निजी अस्पताल एवं क्लिनिकमा समेत समेत यस्ता बिरामीको चाप रहेको डा खतिवडा बताउनुहुन्छ । उहाँले मास्कको प्रयोग गर्न, भीडभाडमा नजान सुझाव दिनुभयो ।        चितवन मेडिकल कलेज शिक्षण अस्पतालका वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ प्रा डा शीतल अधिकारी स्वासप्रश्वासका बिरामीमा अहिले बढी समस्या देखिएको बताउनुहुन्छ । रुघाखोकीसँगै अहिले देखिएको प्रदूषणले तत्कालीन रूपमा खोकी र श्वास फेर्ने समस्याबाहेक दीर्घकालीन रूपमा फोक्सोमा खत बस्ने र रोग प्रतिरोधी क्षमता कमजोर बनाउने जोखिम रहेको उहाँको भनाइ छ ।        उहाँले भन्नुभयो, “कोभिडले फोक्सोमा असर गरेका बिरामीलाई प्रदूषण र रुघाखोकीले सामान्य अवस्थाभन्दा बढी जोखिममा पारेको छ ।” नियमित औषधि सेवन गर्नेहरूलाई समेत यस्तै अवस्था रहिरहे औषधिको मात्रा थप्नुपर्ने अवस्था आउने उहाँले बताउनुभयो ।        विशेषगरी बालबालिका, वृद्ध, मुटु र मिर्गौलाका रोगीहरूलाई जोगाउनुपर्नेमा उहाँको जोड छ । हाल अस्पतालमा आउने बिरामीमध्ये धेरैलाई खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र कतिपयको खकारमा कालो र फोहर मिसिएकोजस्तो देखिने गरेको छ । रुघाखोकीसँगै देखिएको श्वासप्रश्वासको समस्या निको हुन समय लागेको उहाँ बताउनुहुन्छ ।        पुष्पाञ्जली अस्पतालका फिजिसियन डा भोजराज अधिकारी आफूले मधुमेह, थाइराइड, उच्च रक्तचापका बिरामी धेरै हेर्ने गरेकोमा अहिले रुघाखोकी र श्वासप्रश्वासका बिरामीहरू धेरै आउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दैनिक कम्तीमा १० जना श्वासनली बज्यो, छाती घ्यारघ्यार भयो, रुघा निको भएन भनेर आउनुहुन्छ ।” कतिपय भर्खरै निको भएको तर पुनः समस्या आयो भन्दै अस्पताल आउने गरेको उहाँले जानकारी दिनुभयो ।        यस्तो समस्या निको हुन धेरैलाई दुई हप्ता लागेको उहाँले बताउनुभयो । पहिले रुघाखोकी दुई तीन दिनमा निको हुने गरेको थियो । यसको कारण बदलिएको कोभिड पनि हुनसक्नेतर्फ उहाँले सङ्केत गर्नुभयो । इन्फुन्जा नेपालमा रहेको भन्दै उहाँले भन्नुभयो, “रोग के कारणले लागेको हो भन्ने हामीकहाँ अध्ययन भएको छैन ।”        वायु प्रदूषण अर्को कारण हुनसक्ने डा अधिकारीको भनाइ छ । अहिलेको समयमा विवाह, व्रतबन्ध, भोजभतेरजस्ता मानिसको भीड हुने कार्यक्रम धेरै भएकाले पनि यो फैलिएको डा अधिकारी बताउनुहुन्छ ।  यससँगै राजनीतिक समर्थन र विरोधका कार्यक्रममार्फत पनि सङ्क्रमण फैलिएको उहाँले बताउनुभयो । उहाँले कोभिडको समयमा अपनाईएका स्वास्थ्य सुरक्षाका विधिहरू अपनाउन सुझाव दिनुभयो ।