काठमाडौंः प्रदर्शनरत नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले पहिलो साता राम्रो ग्रसकलेक्सन गरेको छ । पहिलो साता यो चलचित्रले पाँच करोड ७५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माणपक्षले जनाएको छ । निर्माण कम्पनी आर्टमाण्डू नेपालले निर्माण गरेको चलचित्रमा नवीन चौहानको लेखन तथा निर्देशन छ । अहिले पनि यो चलचित्र उच्च शोसहति चलिरहेको छ । चलचित्रमा विपीन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपांगी मगर, सुनील पोखरेललगायतको अभिनय छ ।
काठमाडौंः नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर थ्री मा प्रवेश गरेको छ। शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपालको सुपर थ्री यात्रा तय भएको हो। यो नतिजापछि नेपाल र हङकङको समान ५ अंक भएपनि नेपाल बढी जितका कारण अगाडि बढेको हो। नेट रनरेटमा भने नेपालभन्दा हङकङ अगाडि थियो। नेपालले ४ खेलमा २ जित निकाल्दा एक खेलमा हार र एक खेल नतिजाबिहीन भएको थियो। हङकङले समान खेलमा एउटा मात्रै खेलमा जित निकाल्दा ३ खेल नतिजाबिहीन भयो। नेपाल हङकङसँगै पराजित भएको थियो। तर बहराइनलाई दुवै खेलमा पराजित हुँदा अगाडि बढ्ने बाटो खुलेको हो। ९ टोलीलाई तीन समूहमा विभाजन गर्दा हरेक समूहका शीर्ष टोली सुपर ३ मा प्रवेश गरेका हुन्। समूह ए बाट थाइल्यान्ड, समूह बी बाट यूएई र सी बाट नेपादल सुपर ३ मा प्रवेश गरेका हुन्। शीर्ष तीनमा पुगेका टोली एक आपसमा भिडेपछि शीर्ष दुई टोली विश्वकपको ग्लोबल छनोटमा पुग्नेछन्।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले जिम्मेवार र मर्यादित पत्रकारितामा जोड दिनुभएको छ । नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने ‘गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ समारोहमा प्रमुख अतिथि भट्टले सामाजिक उत्तरदायित्व बहन गर्दै सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गर्ने जिम्मेवारीलाई आत्मसाथ गरी सत्य, निष्पक्ष, सन्तुलित र मर्यादित रुपमा सूचना प्रवाह गर्नु पत्रकारिताको धर्म र जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । ‘नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापना एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि अग्रज पत्रकार तथा पत्रकारिता जगतले खेलेको भूमिका अविस्मरणीय छ ।’ उहाँले भन्नुभयो – ‘पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति ईमान्दारिता प्रदर्शन गरिरहेका छन् । नेपाली मिडियाले समकालीन परिप्रेक्ष्यमा असल अभिभावकीय भूमिका निर्वाह गर्दै राष्ट्र निर्माण प्रक्रियामा अभियन्ताको रूपमा उभ्याउँदै लैजानुपर्छ ।’ प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सिर्जना भएको उल्लेख गर्दै उहाँले डिजिटल मिडियाको अत्यधिक सदुपयोग गर्दै पत्रकारिताको विश्वसनियता अभिवृद्धि गर्ने दिशामा पत्रकार स्वयं क्रियाशील हुनेछन् भन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । ‘आर्थिक सङ्कटले सञ्चारसंस्थाहरूको दिगोपनामा समस्या पार्ने खतरा देखापरिसकेको छ । नेपाली पत्रकारको पेसागत असुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या यथावत् छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘श्रमजीवी पत्रकारको पेशागत अधिकार स्थापित गर्दै सञ्चार संस्था तथा पत्रकारहरुको सबिलकरणको दिशामा काम अघि बढोस् ।’ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चार र सूचनाको हकलाई नेपालको संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको भन्दै उहाँले संवैधानिक रूपमै व्यवस्थित गरिएका ती हकहरूको पूर्णरूपमा संरक्षण र कार्यान्वयन गर्दै जिम्मेवार र मर्यादित पत्रकारिताको विकासका लागि प्रतिबद्ध रहनुपर्ने उल्लेख गर्नुयो । ‘पहिले साधनस्रोत, प्रविधिको अभावमा पनि दिनरात खटिएर नयाँ र रोचक समाचार सम्प्रेषण हुने गर्दथे । औपचारिक शिक्षाको कमि भएतापनि पत्रकारहरुको निजी मिहिनेत र परिश्रमले समाचारको गुणात्मकता थियो । हिजो पेशागत मान प्रतिष्ठा र इज्जत थियो । तर आजभोलि डिजिटल प्रविधि, साधनस्रोतको पर्याप्तता हुँदाहुँदै पनि समाचारका स्रोतमा परिनिर्भरता बढेको छ ।’ उहाँले थप्नुभयो समाज नै ‘मिस इन्फर्मेसन’ र ‘डिस इन्फर्मेशन’ ले पीडित हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै प्रदेश प्रमुख भट्टले लोकतान्त्रिक समाजका लागि नकारात्मकता र कुप्रचार चिन्ताको विषय रहेको बताउनुभयो । उहाँले थप्नुभयो – ‘मिडियाभित्रको ‘सेन्सरशीप’ संयन्त्र मजबुत हुनुपर्दछ । र, त्यो भन्दा बढी सेल्फ सेन्सरशीपमा ख्याल गर्नुपर्दछ । यहाँको पत्रकारितालाई मैले नियालिरहेको पनि छु ।’ गण्डकी प्रदेशको प्रदेश प्रमुख नियुक्तिपछि पहिलो विधेयक प्रमाणिकरण नै पत्रकारहरु सम्बन्धित आमसञ्चार ऐन २०८० रहेको स्मरण पनि उहाँले गर्नुभयो । प्रदेश प्रमुख भट्टले पुरस्कृत पत्रकारद्वय केशव पाठक र दुर्गा अधिकारीलाई बधाई पनि ज्ञापन गर्नुभयो । पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार प्रेस स्वतन्त्रता सेनानि माधव शर्मा, पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल लगायतले बोल्नुभएको थियो ।
म्याग्दी: म्याग्दीको धवलागिरी गाउँपालिका–५ कल्कवाङमा कामदारको हत्या गरेको अभियोगमा एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेललेका अनुसार आफ्नै घरमा मजदुरी गर्ने ४६ वर्षको मनबहादुर दमाईको ५७ वर्षीय बलबहादुर दमाई र श्रीमती कर्म ती दर्जीले हत्या गरी फालेका थिए । गत वैशाख २८ गते बेवारिसे शव भेटिएको स्थानीयले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दर वाङबाट खटिएको प्रहरीको टोलीले मृतक मनबहादुरको शरीरमा बाउसोले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मृतक मनबहादुर अभियुक्त बलबहादुरको घरमा कामदारको रूपमा कार्यरत थिए । घटना घरमै घटाएर लगेर फालेको वा घटनास्थलमै प्रहार गरेको भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अभियुक्त बलबहादुर दम्पतीले शरीरका विभिन्न भागमा प्रहार गरी घरभन्दा करिब ७ सय मिटर तल लगेर फालेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक पौडेलको भनाई छ । अभियुक्त दम्पत्तीलाई जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरी कर्तव्य ज्यान अन्तरगत मुद्दामा अनुसन्धान भइरहेको छ ।
पोखरा: महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । महालेखा परीक्षकको कार्यालयका उप–महालेखापरीक्षक बामदेव शर्मा अधिकारीले बिहीबार आर्थिक वर्ष २०८०र०८१ को सातौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्ट समक्ष पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम संवैधानिक निकायले प्रत्येक प्रदेशको काम कारबाहीको सम्बन्धमा अलग अलग प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ । बुधबार महालेखा परीक्षक कार्यालयले उपधारा १ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०८०र०८१ को ६२ औं प्रतिवेदन पेश गरिसकेको छ । प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रदेश प्रमुख भट्टले राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन अपरिहार्य रहेको बताउनुभयो । ‘आर्थिक अनुशासन भएमात्र सुशासन कायम हुनेछ । बेरुजु बढ्दै जानु भनेको सुशासनका लागि चुनौती थपिनु हो ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो– ‘ बेरुजु रकमलाई जति कम बनाउन सकिन्छ उति नै आर्थिक समृद्धि हाँसिल हुन्छ । आर्थिक अनुशासन कायम गर्नका लागि राज्यका तीनै तह जिम्मेवार बन्नुपर्नेछ । सरकारी कर्मचारीहरू जवाफदेही बन्नुुपर्दछ ।’ प्रदेश प्रमुख भट्टले महालेखा परीक्षक कार्यालयले मुलुकमा आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व कायम गराउन सशक्त भूमिका निर्वाह गरेको बताउँदै सार्वजनिक सम्पत्तिको सदुपयोगमा सम्बन्धित निकायलाई थप सजग गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले बेरुजु फर्छ्यौटका सन्दर्भमा प्रतिवेदनले उल्लेख गरेका विषयवस्तुलाई कार्ययोजनासहित कार्यान्वयनको खाँचो पनि उहाँले औंल्याउनुभयो । प्रतिवेदनको अध्ययन गरी प्रदेशमा आर्थिक सुशासन कायम गर्नका लागि प्रदेश सरकारलाई सुझाव दिने बताउनुभयो । उपमहालेखापरीक्षक अधिकारीले महालेखाले क्षेत्रगत रुपमा औँल्याएका विषयलाई इमान्दार भएर कार्यान्वयन गरेको खण्डमा बेरुजु न्यूनिकरण हुने बताउनुभयो । उहाँले आर्थिक अनुशासन कायम गर्न पनि बेरुजु फर्छ्यौटमा गम्भिर बन्नुुपर्ने उल्लेख गर्नुभयो । साथै, प्रतिवेदनमाथि संसदमा गम्भीर छलफल गरी कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । प्रतिवेदनमा दिइएका सुझाव कार्यान्वयन भई प्रदेश सरकार तथा सार्वजनिक निकायमा पारदर्शिता, जवाफदेहिता र निष्ठा प्रवद्र्धनमार्फत् सुशासन कायम गर्न सहयोग पुग्ने हाम्रो विश्वास छ । उपमहालेखापरीक्षक अधिकारीले भन्नुभयो – ‘सोका लागि प्रदेश सभाका लेखा समितिमा प्रतिवेदन उपर समयमा नै छलफल गरी सम्बन्धित सरकारी निकायहरूलाई आवश्यक निर्देशनको अपेक्षा महालेखा परीक्षकको कार्यालयले गरेको छ ।’ कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका सचिव बद्रीनाथ अधिकारी, महालेखा परीक्षकको कार्यालयका नायव– महालेखापरीक्षक राजेन्द्रराज ओझा लगायत सहभागी हुनुहुन्थ्यो ।
चितवन: चितवनमा एक व्यक्तिले आफ्नी छोरी र भतिजको हत्या गरेका छन्। चितवनको भरतपुर महानगरपालिका– २५ शुक्रनगरका लिलाराज गिरीले छोरी सात वर्षकी प्रभा गिरी र दाजुका छोरा ५ वर्षका सजन गिरीको हत्या गरेका चितवन प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार ४२ वर्षका गिरी मानसिक रोगी थिए। उनले मानसिक रोगको औषधी पनि सेवन गरिरहेका परिवारका सदस्यले बताएका छन्। उनले आज बिहान १० बजेतिर बालबालिकालाई खुर्पा प्रहार गरेर हत्या गरेपछि आफ्नो घाँटीमा पनि प्रहार गरेका थिए। उनी पनि गम्भीर घाइते अवस्थामा रहेका प्रहरीले जनाएको छ। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
टिकटक एकाउन्टमा पेस्तोल देखाएर भिडियो बनाएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् । कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ महादेव बस्ने २१ वर्षीय रघुबिन्द यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यादवले यही वैशाख ६ गते करिब साढे ६ बजे पेस्तोल देखाएको भिडियो टिकटकमा पोष्ट गरेका थिए । सोही भिडियोका आधारमा उनलाई इलाका प्रहरी कार्यालय पकडीको टोलीले नियन्त्रणमा लिएको हो । उनलाई मायादेवी गाउँपालिका-१ पकडी स्थित मायादेवी होटलबाट नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
गाेरखा: नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा नरेन्द्र ढकाल सर्वसम्मत चयन भएका छन् । सातौं जिल्ला अधिवेशनबाट ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । उपाध्यक्षमा विकास मरहट्टा, सचिवमा सुजन न्यौपाने, कोषाध्यक्षमा गुणबहादुर रोका, सहसचिवमा मोहसिन अलिमियाँ र दानबहादुर गुरुङ चयन भए । सदस्यहरुमा आदिवासी जनजातितर्फ बिबर गुरुङ, समावेशीमा संगीता चेपाङ चयन भए । खुला सदस्यहरुमा राजेश पौडेल, विमल श्रेष्ठ, मेलिना बराम र सुदीप श्रेष्ठ चयन भएका निर्वाचन समिति संयोजक स्थानेश्वर दुवाडीले जानकारी दिए । सदस्यता विवादका कारण देशभर निर्वाचन भएपनि गोरखामा स्थगीत भएको थियो ।
कालिकोटको पालाँता गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार दुर्घटनामा पलाँता–५ निवासी अम्बा शाही, वडा नम्बर–४ का सदु बुढा, सोही वडाका रवीन्द्र विकको मृत्यु भएको हाे। त्यस्तै मुगुको खत्याड गाउँपालिका–५ घर भएका ट्याक्टर चालक चन्द्रप्रकाश रोकायाको पनि दुर्घटनामा मृत्यु भएको डिएसपी रावतले जानकारी दिए। उनका अनुसार चारै जनाको घटनास्थलमै मृत्यु भएको हो। आइतबार राति पलाँता गाउँपालिका–२ लार्फमा ट्याक्टर दुर्घटना भएको थियाे ।