काठमाडौं:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, पूर्व मुख्यसचिव वैकुण्ठ अर्याल लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित...

पोखरा:   नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाखमा हुने अवार्डलाई भव्य बनाउन विभिन्न संघ–संस्थाले नगद तथा प्रयोजन सहयोगको घोषणा गरिरहेको अवस्थामा मदन भण्डारी स्पोर्टस् एकेडेमीले भने १ सय टिसर्ट सहयोगको घोषणा गरेको हो ।   शुक्रबार एकेडेमीका अध्यक्ष ध्रुव आचार्य र मञ्चका अध्यक्ष एमबी आस्था मगर बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।   एकेडेमी खेल क्षेत्रको विकासमा अग्रसर रहँदै आएको र खेल क्षेत्रलाई माथि उकास्न सबै खेलप्रेमी लाग्नुपर्ने एकाडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए । साथै खेल र खेलाडीको साथमा एकेडेमी रहँदै आएको आचार्यले बताए ।   यता मञ्चका अध्यक्ष एमबी आस्था मगरले सहयोगदाता प्रति धन्यवाद ज्ञापन गरे । खेलप्रेमी तथा खेल संघसंस्थाको साथ सहयोगले नै स्पोर्टस् अवार्ड यो उचाईसम्म पुगेको उनको भनाई थियो ।   यस पटकको अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ, भने उदीयमान खेलाडी विधाको लागि सहारा क्लब पोखराले प्रायोजन गरिसकेको छ ।   त्यस्तै जिल्ला एथ्लेटिक संघ कास्कीका ११ हजार १ सय ११ रूपैयाँ सहयोग गरिसकेको छ ।   खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ ।   अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चका सचिव राजु गिरीले जानकारी दिए ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको संस्था देश संघीयतामा गएसँगै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ ।

पोखरामा क्लासिक सुईट्स टि–२० वुमन्स सुपर कप क्रिकेट च्याम्पीयनसीप आयोजना हुने भएको छ ।   पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा पोखराको लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा प्रतियोगिता हुने भएको हो ।   प्रतियोगिता बैशाख ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट सघले जनाएको छ । प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।   प्रतियोगितामा ३ टीमसहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा फिस्टेल अप्मस्ट, ईस्लामिया कंकरस र पोखरा फिनिक्स गरेर तीन टीमले सहभागिता जनाउने अध्यक्ष पुनले बताए । तीन वटै टिमले छुट्टाछुट्टै टिमसँग २÷२ वटा खेल खेल्ने जनाइएको छ ।   उनका अनुसार गत हप्तामात्र सम्पन्न अन्तर विद्यालय पोखरा महानगरपालिका स्तरीय टि–२० क्रिकेट प्रतियोगिताबाट उत्कृष्ट ३६ जना खेलाडी छनौट गरिएको थियो । सो प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई विभाजन गरेर ३ टीम बनाई सुपर कप आयोजना गर्न लागिएको उनको भनाई छ ।   सुपर कप च्याम्पीयनसीपबाट उत्कृष्ट १४ जना खेलाडी छनौट गरेर पोखरा महानगरपालिकाको टिम निर्माण गरिने अध्यक्ष पुनले जानकारी दिए ।   सो टिमले केहि समयपछि हुने देशका ६ वटा महानगरपालिकाबीच हुने प्रतियोगितामा सहभागिता जनाउने उनले बताए । ‘यो छनौट प्रतियोगिता हो, प्रतियोगितामा खेलाडीले देखाएको पर्फमेन्सका आधारमा महानगरपालिकाको टिमका लागि खेलाडी छनौट गर्छौं’–उनले भने ।   यसैबीच, प्रतियोगिताका लागि तीन वटै टिमलाई आयोजकले जर्सी हस्तान्तरण गरेको छ । तीन वटै टिमका टिम क्याप्टेनलाई पोखरा महानगरपालिका क्रिकेट संघको तर्फबाट क्रिकेट एशोसियसन नेपाल क्यान तथा आईसिसीका क्रिकेट अम्पायर मोहम्मद सफिक (समीर खान)ले जर्सी हस्तान्तरण गरेका हुन् । जर्सी हस्तान्तरण लगत्तै उनले सुपर कप वुमन्स च्याम्पीयनसीपको ट्रफीपनि सार्वजनिक गरेका थिए ।   सो अवसरमा अन्र्तराष्ट्रिय क्रिकेट अम्पायर खानलाई पोखरा महानगरपालिका क्रिकेट संघले कदर पत्रद्वारा सम्मान गरेको थियो ।   प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफी प्रदान गरिने पोखरा महानगरपालिका क्रिकेट संघका सचिव कपिलदेव गौतमले जानकारी दिए । प्रतियोगितामा प्लेयर अफ दी सिरिज र हरेक दिनको प्लेयर अफ दी म्याचलाई पनि ट्रफी प्रदान गरिने उनले बताए ।

पोखरामा सम्पन्न चौथो मनुश्री भिग्नजीत जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ र काठमाण्डौकी सारा पन्तले दुई स्वर्ण जितेका छन् ।   दर्शिलले १६ वर्ष मुनिको ब्वाइज सिंगल र ब्वाइज डबल्सतर्फको उपाधि जित्दा साराले गल्र्स यु–१४ र यु–१२ दुवै इभेण्टमा प्रथम स्थान हाँसिल गरिन् ।   कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा असव सम्राट हाडालाई ६–१, ६–४ को सोझो सेटमा पराजित गर्दै दर्शिलले सिंगलतर्फको उपाधि जितेको हुन् ।   दर्सिलले ब्वाइज डबल्सतर्फ पनि उपाधि जित्न सफल भए । सिर्जन भट्टराईसँगको पार्टनरसिपमा दर्सिल जोडीले फाइनल खेलमा प्रफुल्ल श्रेष्ठ र स्पन्दन उदासको जोडीलाई प्रतिस्पर्धात्मक खेलमा ६–० ,५–७ र १०–४ ले पराजित गर्दै उपाधिमा कब्जा गरेको हो ।   साराले १४ वर्ष मुनि गल्र्स सिंगलमा आर्य पौडेलसँगको अन्तिम भेटमा ६–१, ६–४ को नतिजा निकालिन । उनले १२ वर्ष मुनिको सिंगल फाइनलमा स्वरा थापालाई  ६–२, ६–३ ले पराजित गर्दै दोहोरो जित निकालेकी हुन् ।   १४ वर्ष मुनिको ब्वाइज सिंगलतर्फ साङ्गे रोकायाले आसव सम्राट हाडालाई ६–४, ३–६ र १४–१२ ले पराजित गर्दै प्रथम हुन सफल भए । १२ वर्षमुनीको ब्वाइइज सिङ्गलमा आरित मल्लले आर्यस राज पौडेललाई प्रतिस्पर्धात्मक खेलमा ३–६,७,–६ र १०–४ ले पराजित गर्दै प्रथम स्थान हासिल गरे ।   १६ वर्ष सिंगलतर्फ बिजेताले नगद १५ हजार तथा उप–विजेताले नगद ७ हजार ५ सय सहित मेडल प्राप्त गरे । त्यस्तै, १४ वर्ष सिंगलतर्फ बिजेताले नगद १० हजार तथा उप–विजेताले नगद ५ सहित मेडल प्राप्त गरे ।     १२ वर्ष सिंगलतर्फ बिजेताले नगद ८ हजार तथा उप–विजेताले नगद ४ सहित मेडल प्राप्त गरेका छन् । ८, ९ र १० वर्ष मुनि ब्वाइज तथा गल्र्स सिंगल्स बिजेता तथा उपबिजेताले गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गरे ।   विजयी खेलाडीहरुलाई प्रतियोगिताका मुख्य प्रायोजक कुमार मोहनबहादुर शाही, उहाँका नाती भिग्नजीत, नातिनी मनुश्री, प्रतियोगिता संयोजक लोक गुरुङ्ग लगायतले नगदसहित मेडल, प्रमाण–पत्रले पुरस्कृत गरे ।   आयोजक संघका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा संघका सचिव भिष्मराज पौडेल र टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीले पनि बोलेका थिए ।  

लमजुङमा बाटो खन्ने क्रममा शंकास्पद वस्तु भेटिएको छ।   लमजुङको बेशीसहर नगरपालिका-८ स्थित जिल्ला प्रहरी कार्यालय नजिक जेसिबीले बाटो खन्ने क्रममा शनिबार बिहान शंकास्पद वस्तु भेटिएको हो।   शंकास्पद वस्तु फेला परेपछि प्रहरीले नेपाली सेनाको बम डिस्पोजल युनिटलाई खबर गरेको थियो।   युनिटले उक्त शंकास्पद वस्तु निष्क्रिय गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

बुटवल उपमहानगरपालिका वडा नं. ११ बुद्धनगरमा आज बिहान एक युवतीमाथि गोली प्रहार भएको छ ।   पाल्पाको रैनादेवी छहरा घर भई बुटवल ११ बुद्धनगरमा बस्दै आएकी टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।   इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उहाँको कम्मरमाथि ढाडमा गोली लागेको छ भने, उहाँलाई उपचारका लागि तत्कालै लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लागि पठाइएको छ ।    इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको र घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । 

काठमाडौं:   नेपाल शिक्षक महासंघको आह्वानमा जारी शिक्षक आन्दोलन आज १८औं दिनमा पुगेको छ।   विद्यालय शिक्षा विधेयक, २०८१ को यथाशीघ्र पारितीलगायतका मागसहित राजधानी केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरूले हालसम्म आन्दोलन नछाड्ने अडान दोहोर्‍याउँदै आएका छन्।   प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार राति बालुवाटारमा भएको छलफलमा पनि तत्काल समाधानको बाटो खुलेको छैन।   छलफलमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए।   प्रधानमन्त्री ओलीले यसअघि चैत २५ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई शिक्षक आन्दोलन सम्बोधनका लागि संवाद र गृहकार्य गर्न निर्देशन दिएका थिए।   सरकारले वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकबाट संघीय संसद्को अधिवेशन आह्वान गरी विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ।   सोही निर्णय अनुसार वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संसद् बैठक बस्ने तयारी समेत गरिएको थियो।   यद्यपि, आन्दोलनरत शिक्षकहरूले विधेयक पारित नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन्। यसले गर्दा विद्यालय भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण तथा कक्षा १२ को परीक्षा अन्योलमा परेको छ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेला’मा शनिबारदेखि दोस्रो चरणका खेल हुने भएको छ ।   जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पूर्णिमा(३० गते) देखि सञ्चालित भेलामा भलिबल प्रतियोगितातर्फ दोस्रो चरणका ७ खेल हुने क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए ।   उनका अनुसार आज काल्खु खेल मैदानमा पहिलो खेल बिहान ८ बजे आयोजक ‘बि’ र गहते ‘बि’ टिमबीच हुनेछ ।    यस्तै दोस्रो खेलमा आयोजक टिम ‘ए’ र लामागाँउ भिड्नेछन् । तेस्रो खेल ओरस्टे र शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ बीच हुनेछ ।   चौथो खेलमा गहते टिम ‘ए’ र कोल्मा भिड्नेछन् । पाँचौ खेलमा छेक्मा र सालडाँडा जामुने भिड्ने क्लबका प्रमुख सल्लाहकार जीवन थापामगरले बताए ।   उनका अनुसार छैटौं खेलमा कालीकोट र बाङ्गेस्वाराबीच प्रतिस्पर्धा हुनेछ ।   यसैगरी शनिबारको अन्तिम खेल भुस्नापुर र भोर्लेबीच हुनेछ ।    बाँकी  खाङ्ग्राङ र गैयाबीचको खेल र बराहडाँडा र बाहुबीचको खेल आइतबार हुने थापामगरले बताए ।   उनका अनुसार भलिबलको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ ।    उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ ।   सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

पोखरा:  गुरुङ (तमु) कलाकार संघ नेपाल गण्डकी प्रदेश समिति पोखराको सातौं वार्षिक साधारण सभाकाे अवसरमा  विक्रम गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।   संघको वरिष्ठ उपाध्यक्षमा माया गुरुङ, उपाध्यक्ष टसबहादुर गुरुङ, महिला उपाध्यक्ष ईन्द्रा गुरुङ, महासचिव नेत्र गुरुङ, सचिव डबिन गुरुङ, महिला सचिव सुनिमा गुरुङ, सहसचिव रामप्रसाद गुरुङ र कोषाध्यक्ष टौंसुवा (सविना)गुरुङ, सहकोषाध्यक्ष दिलु गुरुङ निर्विरोध भएको कानुनी सल्लाहकार जुना गुरुङले जानकारी दिइन् ।   संघको विदेश विभाग, सांस्कृतिक विभाग, अतिरिक्त क्रियाकलाप,महिला विभाग प्रमुखमा क्रमश: गौरी गुरुङ, युवराज गुरुङ, ओम गुरुङ र रविना गुरुङ छन् ।   सचिवालय सदस्यमा पूजा गुरुङ, रोशन गुरुङ, उषा गुरुङ र रनु गुरुङ छन् । संघको कार्यसमिति सदस्यमा संगीता गुरुङ, ममता गुरुङ, प्रिया गुरुङ, धनप्रसाद गुरुङ, दीपसागर गुरुङ, अनुपम गुरुङ, सागर गुरुङ, एलिना गुरुङ चुनिएका छन् ।   नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदानसहित भएको सभामा मेनकाजी गुरुङ स्मृति श्रष्टा पुरस्कार २०८२ बाट अग्रज कलाकार धनबहादुर गुरुङलाई सम्मान गरिएको छ ।   कलाकार धनबहादुरलाई नगद ५ हजार ५ सय ५५ सहित भांग्रा, फेता र सम्मानपत्र प्रदान गरियो ।

पोखरा:   कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् ।   उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा आइपुगेकी हुन् ।    देवी प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा आयोजित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक विजय कृष्ण मूर्तिले जानकारी दिए ।    देवी प्रतिभाको टिममा २५ जना सदस्य रहेका छन् । उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै बाद्ययबादनको समूह समेत रहेको बताइएको छ । उनले  कोटिहोममा १४ दिनसम्म कथा वाचन गर्नेछिन् ।   त्यस्तै  शितकृष्ण महाराजजी पनि यतिबेला पोखरामा छन् ।   हिजो पोखरा आइपुगेका उनले  देवी प्रतिभाको कथा वाचन समुद्घाटन कार्यक्रममा पनि प्रवचन दिने कार्यक्रम रहेको बताइएको छ ।