काठमाडौंः  नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले विनियोजन विधेयक, २०८२/८३ को प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई ह्विप जारी गरेको छ । एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्...

काठमाडौं: नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सोमबार बसेको माओवादी पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा छानविनका लागि रमेश लेखकले राजिनामा दिएर मार्गप्रसस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो । बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले गृहमन्त्रीले तुरुन्त राजीनामा दिएर छानबिनलाई सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको बताउनुभयो । उहाले राज्यका निकायहरूले छानबिन नै सुरु गरिसकेको अवस्थामा शक्तिको दुरुपयोग हुन नदिन पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गर्नुभयो । गृहमन्त्रीले राजीनामा दिन ढिला गरे राज्यको साख गिर्दै जाने उहाँले बताउनुभयो । त्यस्तै पदाधिकारी बैठकले मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान सफल भएको निष्कर्ष निकालेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । उहाले अभियान निकै प्रभावकारी भएको र जनताको उपस्थीति र आकर्षण गुणात्मक ढंगले बढेको पार्टीको निष्कर्ष रहेको उल्लेख गर्नुभयो ।

काठमाडौं:  माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सहभागी हुन चाहने विद्यार्थीका लागि रजिस्ट्रेसन फाराम भर्ने म्याद पुनः थप गरिएको छ।  परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी, भक्तपुरले यसअघि वैशाख १२ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचनामार्फत जेठ ११ गतेलाई अन्तिम म्याद तोकेको थियो। तर विद्यालय, विद्यार्थी तथा अभिभावकहरूबाट आएको मागको सम्बोधनस्वरूप उक्त म्यादलाई  जेठ ३० गतेसम्म कायम हुने गरी थप गरिएको छ।  यस अन्तर्गत विद्यालयहरूले विद्यार्थीको फाराम संकलन गरी तोकिएको शुल्क बुझाएर प्राप्त भौचरसहित असार ८ गते आइतबारसम्म सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा पेश गर्नु पर्नेछ। यसका अतिरिक्त, रजिस्ट्रेसन फारामसम्बन्धी अन्य कार्यतालिका भने अघिल्लो सूचनाअनुसार नै यथावत् रहने सोमबार बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।   

पोखरा:   युनाईटेड क्लबको आयोजनामा म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकममा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  धवलागिरी गाउँपालिका र पोखरा रानीपौवामा रहेको मेडि प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको प्राविधिक सहयोग र पोखरा १० राम बजारमा रहेको नरहरी पोलिक्लिनकको ब्यवस्थापनमा सम्पन्न शिविरमा ९ सय ५७ जनाले स्वास्थ्य जाँच गराएका थिए । शिविरमा ३ सय २५ जनाले भिडियो एक्सरे, ४ सय जनाले इसिजीको सेवा लिएका थिएभने अन्यले स्वास्थ्य परिक्षण, परामर्श र निःशुल्क औषधी सम्बन्धी सेवा लिएका थिए । शिविरमा नाक, कान, घाँटी, स्त्री तथा प्रसुतिरोग, मुटु, छाती, पेट, हाडजोर्नी, नशा, बाल र छालारोग सम्बन्धी परिक्षण तथा सुगर र प्रेसरको परिक्षण गरिएको थियो । शिविरमा धवलागिरी गाउँपालिकाका ताकम, धारापानी, हिलापोखरी, शिवाङ, काफलडाँडा, मच्छिम, मुना, पलीयागाउँ, दर, मुदी, खिवाङ, खोरीया, लमसुङ, लुलाङ, गुर्जा लगायतका बासिन्दाहरुको सहभागीता रहेको थियो । शिविरमा चिकित्सकहरु एशोसिएट प्रोफेसर डा. सरोज पोखरेल, एशोसिएट प्रोफेसर डा. रोशन पंगेनी, डा. आनन्द भट्टराई, डा. नारायण ओझा, कल्याण बराल, रेखा गाहा, उज्वल शाह, प्रदीप सिग्देल, रेशम राना, उज्वल भण्डारी, सुमित शाह, सदिक्षा गुरुङ, आर्या भण्डारी, निज्ञा श्रेष्ठ, विनिता रानाभाट, अच्युत आचार्य, शोभाकर पाण्डे, प्राविधिक सहयोगीहरु नरहरि पनेरु, सन्दिप केसी, नर्सहरु सुस्मिता विश्वकर्मा, सलिना गुरुङ, नम्रता भट्टराई, अस्मिता विश्वकर्मा, शारदा गुरुङ, फार्मेसी तर्फ अमृत बस्नेत, सुजन राजभाट, निश्चल रानाभाट, दिल बहादुर क्षत्री, ल्याब टेक्निसियन समिता बिक संगै ताकम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सहजीकरण गरेका थिए । स्वास्थ्य शिविरको उद्घाटन गर्दै धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले पोखरामा रहेको युनाईटेड क्लबले आफ्नो गाउँपालिकामा आएर स्वास्थ्य शिविरको आयोजना गरि आफ्नो गाउँपालिका बासीलाई स्वास्थ्य सेवा प्रदान गरेकोमा आभार प्रकट गरे । धवलागिरी गाउँपालिकाको ग्रामीण भेगमा बसोवास गर्ने सेवाग्राहीलाई  स्वास्थ्य शिविरले ठूलो लाभ प्राप्त भएको बताउदै अध्यक्ष पुनले युनाईटेड क्लबको सामाजिक कामको प्रशंसा समेत ब्यक्त गरे । युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लबे स्थापना कालदेखिनै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा काम गर्दै आइरहेको र धवलागिरी गाउँपालिकाको ताकम जस्ता विभिन्न ग्रामीण भेगमा वर्षेनी स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको बताए । स्वास्थ्य शिविरमात्र नभइ क्लबले आर्थिक अभावमा उपचार गराइरहेका बिरामीहरुलाई समेत अस्पतालमा पुगेरै आर्थिक सहयोग संगै विशेषगरी ग्रामीण बस्तीमा बसोबास गर्ने समुदायलाई लक्षित गरी युनाईटेड क्लबले स्वास्थ्य शिविरलाई निरन्तरता दिएको उनको भनाइ रहेको थियो । धवलागिरी गाउँपालिकाका कार्यकारी अधिकृत मोति प्रसाद अर्यालले युनाईटेड क्लबले आफ्नो उद्देश्य अनुरुप स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर धवलागिरी गाउँपालिकामा स्वास्थ्य शिविरको आयोजना गरेकोमा धन्यवाद ब्यक्त गरे । धवलागिरी गाउँपालिका वडा नं ७ का अध्यक्ष अशोक खत्रीले युनाईटेड क्लबले ताकममा आयोजना गरेको स्वास्थ्य शिविरले आफ्नो वडा भित्रका मात्र नभइ धवलागिरी गाउँपालिका भित्रका विभिन्न गाउका बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्न सफल भएको बताउदै क्लब प्रति अभार प्रकट गरे । सो अवसरमा वोल्दै मेडि प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका अध्यक्ष तथा ल्याप्रोस्कोपी सर्जन डा. आनन्द भट्टराईले युनाईटेड क्लब संगको सहकार्यमा विगतमा जस्तै यो पटक पनि धवलागिरी गाउँपालिकामा बृहत स्वास्थ्य शिविरको आयेजना गरिको बताए । ग्रामीण भेगमा अझैपनि स्वास्थ्य सेवाको पहँुच पुग्न नसकिरहदा स्वास्थ्य शिविर मार्फत रोगको पहिचान गराउन सहयोग पुग्ने उनको भनाइ रहेको थियो । त्यस्तै मेडि प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका एशोसिएट प्रोफेसर डा. सरोज पोखरेलले ग्रामीण भेगमा हुने स्वास्थ्य शिविरले स्वास्थ्यको पहँचमा नपुगेकाहरुलाई थोरै भएपनि समेटिने भएकाले स्वास्थ्य शिविरले उल्लेख्य भुमिका खेल्ने बताए ।  युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लबले स्थापना कालदेखिनै विभिन्न ग्रामीण भेगहरुमा स्वास्थ्य शिविरको आयोजना गरी सेवाग्राहीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको र यो पटक म्याग्दीको ताकममा शिविरको आयोजना गरेको बताए । यस पटकको शिविरमा पनि विगतमा जस्तै उल्लेख्य सेवाग्राहीको सहभागीता रहेको र आफुहरुको कार्यक्रम सफल भएको बताए ।  

काठमाडौं: नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको दाबी गरेको छ ।  सोमबार बसेको पदाधिकारी बैठकले लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए ।  बैठकपछि उनले भने, ‘उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौँ । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’ आजै बसेको माओवादी बैठकले भने लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ । यस्तै प्रतिपक्षी दलहरूले मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्धको तयारी गरेका छन् । 

सोलुखुम्बु:   सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौं सातामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अब हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नेपाल एयरलाइन्सको जहाजले उडान भर्नेछ । नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक खराबीका कारण लामो समयदेखि अवरुद्ध फाप्लु–काठमाडौँ हवाई सेवा पुनःसञ्चालन भएको हो । प्राधिकरण फाप्लुका वरिष्ठ अधिकृत भानुभक्त आचार्यका अनुसार जहाज मर्मत सम्पन्न भएसँगै पुनःउडान सञ्चालन सम्भव भएको हो । यसअघि साताको एक दिन उडान भर्दै आएको जहाज ‘ग्राउण्डेड’ हुँदा लामो समय फाप्लुमा उडान हुन सकेको थिएन । नेपाल एयरलाइन्स फाप्लुका स्टेशन प्रमुख तेन्जी शेर्पाका अनुसार गत पुस महिनादेखि चैत्रसम्म सो मार्गको हवाई सेवा पूर्णरूपमा ठप्प भएको थियो । सल्लेरीका व्यवसायी महेश अधिकारीले भन्नुभयो, “जहाज नियमित आउन थालेपछि काठमाडौँ जानआउन ‘बिपी राजमार्ग’ को कष्टकर सडक यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । तर यो सेवा निरन्तर र भरपर्दो हुनुपर्छ, केवल अस्थायी रूपमा मात्र होइन ।” विगतमा जहाज नचलेको अवस्थाले धेरैको यात्रा, व्यापार, आपत्कालीन उपचार र अत्यावश्यक काममा कठिनाइ भोग्नु परेको थियो । पुनः सुचारु भएको उडानबाट पर्यटकीय जिल्लामा पर्यटन व्यवसायी उत्साहित बनेको ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल ९टान० का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताउनुभयो ।

काठमाडौं:   डाक्टर सन्दुक रुइतलाई शेर्पा किदुक अमेरिकाले ५० हजार १ डलर सहयोग गरेको छ । किदुकको सदस्यहरूबाट सङ्कलित उक्त रकम एक कार्यक्रम गरी सम्मान सहित रुइतलाई हस्तान्तरण गरेका थिए ।  ‘डा. सन्दुक रुइतले आँखा उपचारको क्षेत्रमा विश्वविख्यात काम गरेको भन्दै किदुकले सम्मान सहित सहयोग गरेको शेर्पा किदुक संरक्षक समितिका संयोजक ल्हाक्पा रिन्जी शेर्पाले बताउनुभयो ।  उता हिमालयन होप नेटवर्क संस्थाद्वारा सङ्कलित ५ हजार ७ अमेरिकी डलर पनि शेर्पा किदुकमार्फत हस्तान्तरण गरिएको थियो । उक्त रकम डा रुइतको कार्यको लागि स्वयंसेवक र कोष सङ्कलनमा आगामी दिनमा अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  डा. रुइतले आफ्नो अमेरिका भ्रमण नेपालको सफल चिकित्सा अनुभव र दृष्टि पुनः स्थापनाको मोडललाई हार्वर्ड, स्ट्यानफोर्ड, ब्राउन, बास्कम पाल्मरजस्ता विश्व स्तरीय संस्थाहरूसँग साझेदारी गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने रहेको बताउनुभयो ।  नेपालमै अत्याधुनिक इन्ट्रकुलर लेन्स उत्पादन गर्ने कारखाना स्थापना गरी विश्वभर निर्यात गर्ने र प्राप्त नाफाबाट आर्थिक रूपले कमजोर समुदायका लागि निःशुल्क आँखा उपचारको दीर्घकालीन योजना अघि बढाउने योजना अघि सारेको समेत उहाँले बताउनुभयो ।  उक्त योजनाका लागि झन्डै ८ मिलियन अमेरिकी डलर आवश्यक पर्ने जानकारी दिनुहुँदै उहाँले हालसम्म ३ मिलियन डलर सङ्कलन भइसकेको र बाकी ५ मिलियन जुटाउन नेपाली समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भएको थियो । 

मुस्ताङ:  हिमाली जिल्ला मुस्ताङ, मनाङ र डोल्पाका किसानले  पालन गर्ने विभिन्न प्रजातिका गाईमध्ये लुलु गाई पनि एक हो ।  पारिस्थितिक प्रणाली (इको सिस्टम)मा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेका हिमाली लुलु गाई पछिल्लो समय भने लोपोन्मुख अवस्थामा रहेको छ । जुरो नभएको  स्थानीय गाईका जातमध्ये  लुलु गाई एक हो ।  अन्य गाईभन्दा हिमाली क्षेत्रको उच्च भूगोलमा पालन गरिने लुलु गाई कद केही होचो हुन्छ । यो समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइदेखि माथिको उच्चस्थानमा पालन गर्ने गरिएको छ ।  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख एवं पशु चिकित्सक डा लालमणि अर्यालले मुस्ताङमा सदियौँ वर्षदेखि परम्परा र संस्कृतिको रुपमा पालन गर्दैआइरहेको लुलु गाई पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको जानकारी दिनुभयो ।  मुस्ताङमा दश वर्षअघि करिब १० हजार बढी लुुलु गाई रहेकोमा पछिल्लो समय मुस्ताङका पाँचौँ पालिकामा गरी करिब छ हजारको सङ्ख्यामा लुलु गाईपालन गरिएको उहाँले बताउनुभयो ।  “मुस्ताङमा लुलु गाईपालन बर्सेनि घट्दो अवस्थामा छ, यसको संरक्षणमा स्थानीय कृषकले खासै चासो दिएको पाइएन”, पशु चिकित्सक डा अर्यालले थप्नुभयो, “दूध उत्पादन कम हुने र अन्य वैकल्पिक अवसरले गर्दा लुलु गार्ई संरक्षणतर्फ कसैको ध्यान पुगेको छैन ।” मुस्ताङका कृषकले अन्नबाली उत्पादनका लागि मल चाहिने भएको र थोरै मात्रामा दूध उत्पादन गर्न सकिने भएकै कारण लुुलु गाई पाल्ने गरिएको हो । अन्य गाईको तुलनामा लुलु गाईले निकै कम मात्रामा दूध उत्पादन गर्ने भएकाले कृषकले लुलु गाईपालनमा बेवास्ता गरेको घरपझोङ गाउँपालिकाका पशु शाखा प्रमुख आइतलाल थकालीले बताउनुभयो ।  “कृषकहरु लुलु गाई जोगाउनु पर्नेतर्फ संवेदनशील भएको पाइँदैन, यो निकै चिन्ताको विषय बनेको छ”, पशुु शाखा प्रमुख थकालीले भन्नुभयो, “गाउँपालिकाले पनि लुलु गाई संरक्षण गर्न कृषकलाई प्रोत्साहन गर्नेलगायतमा सहयोग गर्ने गरेको छ ।”  मुस्ताङका कृषकले पालन गर्ने लुलु गाई हिमाली परम्परा र संस्कृतिको जैविक आयामको रुपमा लिने गरिन्छ । तर, यहाँको जैविक विविधता र संस्कृतिमा असर पुगेजस्तै हिमाली क्षेत्रमा पालन गरिने लुलु गाई लोप हुने खतरा बढेको पशु शाखा प्रमुख थकालीको भनाइ छ । जिल्लामा विस्थापित हुने अवस्था रहेको लुलु गाईपालन व्यवसाय केवल कृषि प्रयोजनमा मात्रै उपयोग भएको देखिन्छ । पछिल्लो समय सडक सञ्जाल र प्रविधिको विकास हुन थालेसँगै मुस्ताङका कृषकले विस्तारै लुलु गाई पाल्न छाडिसकेका छन् ।  मुस्ताङमा विद्यमान अवस्थामा पालन गरिएका लुलु गाईलाई पनि कृषकले आवश्यक रुपमा संरक्षण गर्न छाडिसकेको घरपझोङका किसान अजित थकालीले बताउनुभयो ।  “अन्य बस्तुभाउभन्दा लुलु गाईलाई कृषकले बेवास्ता गर्न थाले, जथाभावी छाडिदिने गर्न थाले”, उहाँले भन्नुभयो, “कोही कृषि र होटल चलाउन थालेपछि कृषकले लुलु गाई पाल्न छाडेका हुन् ।”  पहिला पहिला एउटै घरमा १०÷१२ वटासम्म लुलु गाई पाल्ने गरिएकोमा अचेल एक घरमा एउटा लुलु गाई पनि नहुने गरेको कृषक थकालीको भनाइ छ । कृषि र पर्यटनको विकाससँगै लुलु गाईतर्फ संरक्षण गर्नपर्छ भन्ने मान्यता राख्न छोडेको कृषक थकाली सुनाउनुभयो ।  लुलु गाईले बिहान र बेलुकी गरी बढीमा एक लिटरसम्म दूध उत्पादन गर्ने गर्छ । कम दूध उत्पादन हुने र श्रम र लागत बढी लाग्ने भएकाले हिमालका लुलु गाईहरु लोपोन्मुख हुन थालेका हुन् ।  त्यस्तै कृषकले लुलुगाई पाठापाठीको संरक्षण नगर्दा कुकुर र हिउँ चितुवाले खाइदिने गर्दा समेत मुस्ताङमा लुलु गाई संरक्षणमा चुनौती बनेको हो ।  जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि हुँदा उच्च लेक र खर्कमा पानीको मुहान सुक्दै जान थालेको, चरन क्षेत्रमा घाँस पलाउन छाडेकाले लुलु गाईहरु कृषकले बेवास्ता गरी छाडा रुपमा सडक र गल्लीमा छोड्ने प्रचलन रहेको छ । आफैँ आहारा व्यवस्थापन गर्ने क्षमता भए पनि लुलु गाईले आहार व्यवस्थापन गर्न नसक्दा गाउँबस्ती र सडकमा मिल्काएका कागज र अरुले फ्याकेका खानेकुरा खाएर आहार पूर्ति गर्ने गरेको पाइएको छ । 

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोकिएको एमालेले जनाएको छ । एमाले सचिव पद्म अर्यालले अनेरास्ववियुको उमेर हदसम्बन्धी भएको निर्णय चाँडै सर्कुलर गरी जानकारी गराउने बताउनुभयो । उहाँले अन्य पार्टीले आफ्नो विद्यार्थी सङ्गठनमा उमेर हदबन्दी लगाएको सन्र्दभमा एमाले अनेरास्वविुमा पनि उमेर हद लागू हुने बताउनुभयो । यसअघि नेपाल विद्यार्थी सङ्घले र अनेरास्ववियु (क्रान्तिकारी) ले ३२ वर्ष उमेर हद तोकेको थियो । एमालेले राष्ट्रिय युवा सङ्घमा ४० वर्षे उमेर हद तोकेको छ । अनेरास्ववियुको महाधिवेशन यही जेठ २५ देखि २७ गते काठमाडौँमा तोकिएको छ ।

पोखरा:   पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी)ले न्यूरो क्रिटिकल केयरमा थप सेवा सुरु गरेको छ ।  जीएमसी प्रशासनले दिएको जानकारी अनुसार अत्याधुनिक सेवा प्रदान गर्न हालै १५ शैय्याको न्यूरो सर्जिकल आइसीयू स्थापना गरिएको छ ।  आइसीयूको स्थापनासँगै अब कलेजले गम्भीर प्रकृतिका न्यूरोसर्जिकल र न्यूरोलोजिकल बिरामीलाई उपचार एवं विशिष्ट सेवा गर्न सम्भव भएको छ ।  ‘गण्डकी प्रदेशमै न्यूरोसम्बन्धित उपचारमा अस्पतालले आगामी दिन अझ परिष्कृत सेवा दिनेछ’ अस्पतालले जनाएको छ ।  जीएमसीले वरिष्ठ न्यूरोसर्जन प्राडा याम रोकालाई भित्र्याएसँगै २४ सैं घण्टा विशिष्ट सेवा प्रदान गर्न सुरु गरेको हो ।  मस्तिष्कमा नशा फुटेर रगत जमेको, ट्युमर, ट्रमा, ढाड र घाँटीमा नशा च्यापिएका बिरामीले जीएमसीबाट उपचार पाइसकेका छन् । नशाकै स्ट्रोकबाट पीडित बिरामी हाल स्वस्थ जीवन बिताइरहेको बायोडाटा अस्पतालसँग छ । न्यूरोसर्जन रोकाको नेतृत्वमा पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी)ले २ महिनादेखि न्यूरोसर्जरी सेवा सुरु गरेको हो । यसबीच करिब २० वटा सफल अपरेशन गरिसकेको डा. रोकाको योगदानपश्चात् जीएमसीले थप १५ शैय्याको सघन उपचार कक्ष (आइसीयू) स्थापना गरी सेवा बिस्तार गरेको छ ।