काठमाडौं: शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा रु ५ ले  घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सु...

भक्तपुर: मानिसको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर सबै फुस्रो अबिरैअबिरले राताम्मे । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउने अर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवीदेवतालाई विराजमान गराइएका खट बोकेर टोलटोल घुम्दै बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसमेत बिहानै जात्राको भीडमा सिन्दुर खेल्दै रमाउँदै आज भव्य रूपमा मध्यपुरथिमिका बासिन्दाले सुथसिया अर्थात् बिहानीको जात्रा मनाएका छन् ।  बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि टोलटोलका देवता विराजमान खट जात्रा गरी टोलटोल घुमेर बालकुमारी मन्दिर प्राङ्गणा २६ देवीदेवता विराजमान खटलाई ल्याएर बालकुमारीको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कँदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन् ।  थिमिमामात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायत स्थानीय बाजाका तालमा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा छ । तर केही वर्षयता भने २६ खटमात्र जात्रामा सहभागी हुने गरेका छन् ।  यो जात्रामा आज बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो । सोमबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो । जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवताघर परिक्रमा गराइएको थियो । यसैगरी विष्णुवीर, सिद्धिकालीलगायत देवीदेवताको खट ल्याएर यो जात्रा मनाइएको छ ।  थिमिमा ३२ देवीदेवताका खट सहभागी रथ बोकेर टोलटोल परिक्रमा गराई परम्परागत रूपमा मनाउँदै आएको यो जात्रा अहिले थिमि क्षेत्रमाा २३ वटा, नगदेशमा एक, बोडेमा सात, टिगनीमा एक छुटाछुटै स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइने गरेको छ ।  यसमा थिमिको बालकुमारी, दक्षिणवाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलवाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै मनाइन्छ ।  जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एकअर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालुहरू रमाइलो गर्ने भएकाले पनि यसलाई केही वर्षयता सिन्दुर जात्रा पनि भन्न थालिएको छ ।  बालकुमारीबाट परम्परागत रूपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरूसहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरूको खट उचालेपछि बालकुमारीको जात्रा सुरु गरिएको छ ।  परम्पराअनुसार नै देवता लायकू दरबारभित्र पस्न नपाउन् भनेर लायकू प्रवेशद्धारमा पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यों, सिद्धिकाली र अरु देवताका गणहरू बाटो छेकेर बस्ने परम्परा छ ।  खट जात्रा अगाडि बढाउँदै ल्याउने बालकुमारीलाई भैलः द्यों परिक्रमा गरी क्रमैसँग सुगां द्यों, क्वाछे द्योंमा पनि सिन्दुर खेल्दै परिक्रमा गराइन्छ । बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवं उमङ्ग र उत्साहका साथ थिमिका बासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाइएको छ । बिहानै सुरु भएको यो जात्रा मध्याह्नसम्म चल्ने छभने त्यसपछि बोडेमा जिब्रो छेड्ने जात्राको तयारी गरेर दिउँसो २ः०० बजे बोडेमा जिब्रो छेडेर जात्रा मनाउने गरिन्छ ।

काठमाडौं: गत आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज केही ओरालो लागेको छ ।  गत आइतबार प्रतितोला रू एक लाख ८६ हजार कारोबार भएको सुनको मूल्य आज तोलामा रू एक हजार ७०० ले घटेर रू एक लाख ८४ हजार ३०० मा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।      त्यस्तै आज चाँदी तोलामा रू १५ घटेर रू एक हजार ९४५ मा खरिदबिक्री हुनेछ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार २२५ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।

पोखरा:   सिर्जनशील कलाकार समूहले नयाँ वर्षको अवसरमा शुभकामना आदाप्रदानसँगै बसन्त कार्यशाला सम्पन्न गरेको छ ।   अनुज तथा अग्रज (स्थापित) कलाकार एकैठाउँमा रही सृजना साझा गर्ने उदेश्यका साथ पोखरा महानगरपालिका १८ मेथलाङमा बसन्त कार्यशाला कार्यक्रम सम्पन्न गरेको हो ।   सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका वरिष्ठ कलाकार दुर्गा बराल (वात्स्यायन) ले कला एक अदभूत क्षेत्र रहेकाले अनुजहरुलाई निरन्तर लाग्नुपर्नेमा जोड दिए ।    ‘सर्जकहरु साच्चिकै सर्जक बन्नका लागि कला सृजनामा निरन्तरता दिइनुपर्छ । अनिमात्रै राम्रो कलाकार जन्मन्छ’, उनले भने ।    कार्यशालामा वरिष्ठ कलाकार विश्वेश्वर पराजुलीले नव वर्षको शुभकामना व्यक्त गर्दै कलालाई तिखो बनाउनका लागि धैर्यता र लगनशील हुनुपर्ने धारणा राखेका थिए ।    सो कार्यशालामा कुल ३७ जना कालाकारको सहभागिता रहेको थियो ।   समूहका अध्यक्ष दलबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा संयोजक रिक गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने, सञ्चालन निशान थापाले गरेका थिए ।     

पोखरा:  युनाईटेड क्लब पोखराले १५ औं वार्षिकोत्सवको अवसर पारी पोखरा १७ मा रहेको पोखरा वृद्धाआश्रममा खाद्यान्न वितरण गरेको छ ।  सामाजिक काम मार्फत छुट्टै पहिचान बनाउन सफल युनाईटेड क्लबले वैशाख ७ गते आफ्नो वर्षिकोत्सव मनाउने योजना अनुसार त्यसको अवसरमा वैशाख १ गते पोखरा १७ सितापाइलामा रहेको पोखरा बृद्धाश्रममा खाद्यान्न सहयोग गरेको हो । सो अवसरमा बोल्दै युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लब पोखराले पोखरामा पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेकाले पोखरा महोत्सवलाई सवै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए । त्यस्तै पोखरा वृद्धाआश्रममा अध्यक्ष कुशुमकेशव पराजुलीले बृद्धाश्रमलाई  राज्य र सरकारी संस्थाबाट सोचेजस्तो साथ र सहयोग नभइरहदा युनाईटेड क्लब जस्तै संघ संस्थाको सहयोबाटनै आश्रममा आश्रितहरुलाई सहयोग पुगेको बताए ।  युनाईटेड क्लबले अहिले मात्र नभइ यसअघिपनि सहयोग गर्दै आइरहेको बताउदै युनाईटेड क्लबले सामाजिक क्षेत्रमा आफुलाई अब्बल बनाएको बताए ।  समाज बिकास र समुन्नतिका लागि महिला युवा र जेष्ठ नागरिकले आ आफ्नो ज्ञान शीप र अनुभवलाई प्रयोग गर्नुपर्ने बताउदै उनले जेष्ठ नागरिकको हेरचाह स्याहार गर्ने शीप र ज्ञान सिकाउनका लागि पोखरा बृद्धाश्रमले जापानी प्रबिधिको तालिम पोखरामा भित्रयाउन लागेको बताए । स्वदेश तथा विदेशमा रोजगारी बढ्दै जाने क्रम भएकाले उक्त तालिम उपयोगी हुने उनको भनाइ थियो । क्लबका द्धितिय उपाध्यक्ष एवं खाद्यान्न वितरण कार्यक्रम संयोजक सूर्य बहादुर बानियाँले सामाजिक काम गर्दै आइरहेको युनाईटेड क्लबले नयाँ वर्ष २०८२ को पहिलो दिन पोखरा बृद्धाश्रममा आश्रितहरुलाई खाद्यान्न सामाग्री वितरण गरी शुरुवात गर्न पाउदा खुसी लागेको बताउदै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने बताए । युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लब विशुद्ध सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहदा बिगतमा जस्तै यो वर्षपनि सामाजिक कामबाटै बार्षिकोत्सव कार्यक्रमको थालनी गरिएको बताए ।  पोखरा बृद्धाश्रम जस्ता संस्थाहरुलाई सम्पूर्ण संघ संस्थाहरुले साथ र सहयोग गर्नुपर्नेमा जोड समेत जोड दिए । क्लबले वार्षिकोत्सवको अवसर पारि वैशाख ३ गते वृहत रक्तदान कार्यक्रमका साथै छिट्टै नै बृहत स्वास्थ्य शिविरको आयोजना गर्ने बताए । उक्त अवसरमा क्लवका संस्थापक सदस्य रेशम बहादुर थापाले आश्रमलाई ५ हजार ५ सय नगद प्रदान गरेका थिएभने आश्रममा आश्रित १०९ वर्षिय नन्दलाल दाहाल र ९२ वर्षिय पार्वती पौडेललाई क्लबका अध्यक्ष लोक बहादुर थापाले दोशल्ला ओढाइ सम्मान गरेका थिए । १५ औं वार्षिकोत्सव कार्यक्रम संयोजक तथा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका थिए । उक्त अवसरमा क्लबका सल्लाहकार, आजीवन सदस्य र पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

काठमाडौं: सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् ।           श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार नयाँ वर्ष, २०८२ को पहिलो दिन राजपत्रमा सोसम्बन्धी सूचना प्रकाशित गरिएको छ ।       सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक  स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठानमा कार्यरतले सो योजनामा सहभागी हुन पाउने उहाँले जानकारी दिनुभयो ।       सामाजिक सुरक्षा कोषमा योगदानकर्ताका रुपमा सूचीकृत गरी त्यस्ता निकायमा कार्यरत कर्मचारीले खाइपाई आएको तलबको कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलब मानेर सो योजनामा सहभागी हुन पाउने प्रबन्ध गरिएको छ ।  त्यसमा २० प्रतिशत रोजगारदाताले र ११ प्रतिशत योगदानकर्ताले जम्मा गर्नुपर्नेछ । सामाजिक सुरक्षा ऐन, २०७४ र सामाजिक सुरक्षा नियमावली, २०७५ बमोजिम उक्त निर्णय भएको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।        गत चैत १५ गते सो निर्णय भएको भए पनि नयाँ वर्षको पहिलो दिन राजपत्रमा सूचना प्रकाशित भएसँगै कार्यान्वयनमा गएको छ । यसबाट सरकारी निकायका कार्यरत अस्थायी, ज्यालादारी कर्मचारीले राहत पाउनेछन् । 

काठमाडौं: पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प गइरहेको छ ।      राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैङ्क भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको हो ।      कुशे गाउँपालिकाको पैङ्कलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भए– नभएकाबारे कुनै विवरण भने प्राप्त भएको छैन ।  केन्द्रका अनुसार गत चैत २१ गते साँझ (८.०७) र (८.१०) सोही स्थानलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको थियो । पहिलो भूकम्प पाँच दशमलव दुई र दोस्रो भूकम्प पाँच दशमलव पाँच म्याग्निच्युडका थिए । सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो ।      यस्तै, गत चैत २० गते दार्चुलामा चार म्याग्निच्युडको भूकम्प गएको थियो । गत चैत १२ गते हुम्लालाई केन्द्रबिन्दु बनाएर चार दशमलव पाँच म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । 

मुस्ताङ:  पछिल्लो समय बेनी–जोमसोम–कोरला सडकमा आवतजावत गर्न सहज भएसँगै यहाँ चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य बनेको छ ।    संघीय राजधानि काठमाडौँबाट एक दिनमै यहाँ आउन सकिनेहुँदा जिल्लाका विभिन्न स्थानमा चलचित्र छायाङ्कन गर्नेक्रम बढेको हो ।   साथै विभिन्न हलिउड, बलिउड र कलिउडका चलचित्र छायाङ्कन गर्नका लागि जनशक्ति, उपकरण र बन्दोबस्तीका सामान ढुवानी गर्न सहज भएसँगै मुस्ताङमा चलचित्र छायाङ्कन गर्नेहरु आकर्षित भएका हुन् ।   जिल्लाको पृथक भूगोलमा छायाङ्कन गर्न पछिल्लो समय चलचित्रकर्मी निकै लालायित हुने गरेको पाइएको छ ।  हिमाली शृङ्खला, प्राकृतिक भूगोल, जैविक तथा सांस्कृतिक विविधताका साथै यहाँको लोभलाग्दो कृषि र पशुपालन गर्ने संस्कृतिलाई चलचित्रको पर्दामा कैद गर्न पछिल्ला केही वर्षयता चलचित्रकर्मीको लर्को नै लाग्ने गरेको पाइएको छ । सडक नहुँदाको तत्कालीन अप्ठ्यारो परिस्थितिमा समेत मुस्ताङमा हिन्दी चलचित्र खुदा गवाह सुटिङ भएको थियो । भारतीय अभिनेता अमिता बच्चन त्यस समयको कठिन परिस्थितिका बेला पनि मुस्ताङ आएर सुटिङ सकाउनुभएको थियो । तर, त्यसबेलाको कठिन परिस्थिति अहिले पूरै फेरिएको छ ।  घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले एकैदिन मुस्ताङ आएर चलचित्र सुटिङ गर्न पाइने भएकाले पनि मुस्ताङमा चलचित्र छायाङ्कनका लागि आउनेको सङ्ख्या बढ्दै गइरहेकोे जानकारी दिनुभयो ।  जिल्लामा विभिन्न देशका चलचित्र, म्युजिक भिडियो र डकुमेन्ट्री फिल्म सुटिङ गर्न सहज हुनेगरी यहाँका स्थानीय तहले सीमित राजस्व सङ्कलन गर्ने गरेको उहाँको भनाइ छ । उहाँले यसप्रकारका चलचित्रको छायाङ्कनले यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुगेको उल्लेख गर्नुभयो । पछिल्ला पाँच वर्षयता दर्जनौँ नेपाल चलचित्र, म्युजिक भिडियो र डकुमेन्ट्री फिल्म यहाँ सुटिङ भइसकेका छन् । मुस्ताङको कालीगण्डकी बगर, सदियौँ वर्ष पुराना गुम्बा, माने, छोर्तेन, गुफा, तालतलैयाका साथै फरक–फरक प्राकृतिक सौन्दर्यताकै कारण जिल्ल चलचित्र सुटिङको हब बन्दै गएको हो । जिल्लामा हिन्दी चलचित्र खुदा गवाह करिब ४० को दशकमा सुटिङ भएको हो । पछिल्लो पाँच वर्षयता मुस्ताङमा चिनो, प्रेमगीत, सम्हालिन्छ कहिले मन, कबड्डी, जेरी, ब्याज नम्बर सिक्टिन, भकुन्डो, छिरिङलगायत दर्जनौँ चलचित्र सुटिङ भएका थिए ।  यहाँ सुटिङले यहाँको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान पुगेको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजका सचिव नीरज थकालीले बताउनुभयो । उहाँले चलचित्रका माध्यमबाट यहाँका कला, संस्कृति, मौलिकता र सम्पदालाई उजागार गर्न ठूलो सहयोग पुगेको जनाउनुभयो । त्यसैगरी, जिल्लामा चलचित्र सुटिङका लागि आउनुभएका नेपाल चलचित्र प्राविधिक सङ्घका उपाध्यक्ष अर्जुनप्रसाद पोखरेलले यहाँ चलचित्र छायाङ्कन गर्ने उपयुक्त र सहज गन्तव्य भएको दाबी गर्नुभयो ।  जिल्ला नेपालकै स्वर्गरुपी जिल्ला भएको उल्लेख गर्दै उहाँले यस्तो स्थानमा सरकारले चलचित्र स्टुडियो स्थापना गर्न सकेमा यस क्षेत्रको मात्र नभई सिङ्गो गण्डकी प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुर्याउने बताउनुभयो । यसका लागि तीन तहको सरकारले पहल गर्न आवश्यक उहाँको भनाइ छ ।  निलगिरि र धवलागिरिलगायत यहाँ साना दर्जनौँ हिमाल अवस्थित छन्, सबै हिमालमा क्षणभरमै पुग्न सकिने, होटल र यातायात पहिलेको तुलनामा निकै सहज हुँदै जान थालेको छ, यसैले पनि ९० प्रतिशत चलचित्रकर्मीले यही ठाउँमा आएर सुटिङ गर्न थाल्ने छन् । यहाँ चलचित्र सुटिङ गर्न पाउँदा स्थानीय पालिका र समुदायबाट ठूलो सहयोग प्राप्त भएको उपाध्यक्ष पोखरेलले जनाउनुभयो । मुस्ताङमा यहाँका ताल, गुम्बा, लेक, खर्क, हिमाल, जैविक विविधता र संस्कृति महत्त्वपूर्ण विशेषता रहेको बताउनुभयो । मुस्ताङको तल्लो क्षेत्र थासाङमा सेकुङ ताल, भुतर्छो ताल र टिटी ताल अवस्थित छन् । कालीगण्डकी नदीको सुन्दर तटीय बस्ती र अनि खर्कमा चर्दै गरेका याक चौँरीका बथानले झनै चलचित्रलाई सुसज्तित पारिदिन्छ ।  घरपझोङ गाउँपालिकामा पर्यटकीय सांस्कृतिक गाउँ मार्फा, ठिनी, स्याङ र जोमसोममा प्राचीन संस्कृति अवलोकन गर्न पाइन्छ । यस पालिकामा ढुम्बाताल र क्षमाताल अवस्थित छ ।  वारागुङ मुक्ति क्षेत्रमा मुक्तिनाथ मन्दिर, कागबेनी, झोङ, तेताङ, छुसाङ, मुस्ताङ गेटलगायत स्थानमा चलचित्र छायाङ्कन गर्ने गरिएको छ । लोमान्थाङमा मुस्ताङी राजाको सात सय वर्ष पुरानो दरबार, गुफा, गुम्बा, माने र छोर्तेनहरु अवलोकन गर्न सकिन्छ ।  लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि गुरु पद्यसम्भवले निर्माण गरेको लोघेकर गुम्बा, चराङ गुम्बा, ढाक्मर रेड पहाडलगायत यहाँका संस्कृति झल्काउने मौलिक परम्परागत बस्ती रहेको छ ।

सङ्खुवासभा: जिल्लाको खाँदबारी नगरपालिका–९ साठीमुरेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् ।       सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी–९ साठीमुरेमा एकैपरिवारका चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।      चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइत जनाउँदै उहाँले घाइते सबैको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको बताउनुभयो । उपचाररत चारैजना खतरामुक्त रहेका अस्पतालले जनाएको छ । 

पोखरा:  पर्वत र आयोजक एलिट भलिबल प्रथम एलिट भलिबल कपको च्याम्पियन बनेका छन् । एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा–३, नदिपुरमा भएको उक्त प्रतियोगिताको पुरुषतर्फ पर्वत र महिलातर्फ एलिट भलिबल टोली च्याम्पियन बनेको हो । पर्वतले पिरामिड कन्ट्रक्सन हङकङलाई ३–१ को सेटमा पराजित ग¥यो । पहिलो सेट २६–२४ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको पर्वतले तेस्रो सेट १७–२५ ले पिरामिड कन्ट्रक्सनलाई सुम्पिएको थियो । चौथो सेटमा २५–२२ को पुनरागमन जित निकाल्दै पर्वतले उपाधि रक्षा ग¥यो । उपाधिसँगै पर्वतले ट्रफीसहित नगद एक लाख हात पा¥यो । फाइनलमा पराजित पिरामिड कन्ट्रक्सन हङकङले ५० हजारमा चित्त बुझाउनुप¥यो । महिलातर्फ आयोजक टोली एलिट भलिबलले बागलुङ नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पा¥यो । एलिट भलिबलले पहिलो सेट २५–२२, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१६ को सहज जित निकाल्यो । एलिट भलिबलले ५० हजारसहित ट्रफी हात पा¥यो । उपविजेता बनेको बागलुङ नगरपालिकाले २५ हजार प्राप्त गरेको छ । पुरुषतर्फ सञ्जुविक्रम शाह र महिलातर्फ मिना सुनार सर्वोत्कृष्ट खेलाडी घोषित भए । पुरुषतर्फ वेष्ट सर्भर रेशम छन्त्याल, वेष्ट सेटर विवश आले, वेष्ट ब्लकर सुगम विक, वेष्ट स्पाइकर सन्तोष विक र वेष्ट डिफेन्डर जितबहादर सार्की घोषित भए । महिलातर्फ वेष्ट सर्भर रिक्जना बोटे, वेष्ट सेटर रेविना घर्ति, वेष्ट ब्लकर विष्णु क्षेत्री, वेष्ट स्पाइकर सोइङ थापा र वेष्ट डिफेन्डर काजल श्रेष्ठ बनिन् । विजेता, उपविजेतालाई एलिट भलिबलकी प्रशिक्षक अरुणा शाही, टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य डा. मधुसुधन सुवेदी, भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङसहितले ट्रफी र मेडल प्रदान गरे । आयोजक एलिट भलिबल एकेडेमीकी प्रशिक्षक एवम् राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले यो प्रतियोगिता महिला खेलाडी उत्पादनका लागि कोशेढुंगा हुने विश्वास व्यक्त गरिन् ।