गण्डकी प्रदेश सरकार मातहतका सबै अस्पतालको सेवा विस्तार र स्तरोन्नति गरिने भएको छ । अस्पताल स्तरोन्नतिबारे मन्त्रिस्तरीय निर्णय गरी आर्थिक मामिला र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्णायार्थ पठाइएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए । “नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाहका लागि अस्पतालहरूको स्तरोन्नति आवश्यक देखिएपछि सोहीअनुसार काम गर्न लागिएको हो”, उनले भने, “मन्त्रिपरिषद्को निर्णयपछि स्तरोन्नतिको काम थप अगाडि बढ्ने छ ।” स्वास्थ्यमन्त्री पाठकका अनुसार प्रदेश अस्पताल मुस्ताङ र मनाङलाई १५ शय्याबाट २५ श्ययामा स्तरोन्नति गर्न लागिएको हो । पर्वत, स्याङ्जा र तनहुँको दमौली अस्पताललाई १५ बाट ५० श्ययामा स्तरोन्नति गरिने जनाउँदै उनले कास्कीस्थित २५ शय्या क्षमताको मातृशिशु मितेरी अस्पताललाई ५० श्ययामा पुर्याउने स्वास्थ्य मन्त्रालयको योजना रहेको उल्लेख गरे । बागलुङस्थित धौलागिरि प्रादेशिक अस्पताललाई ५० बाट एक सय श्ययामा र नवलपुरको मध्यविन्दु प्रादेशिक अस्पताललाई १५ बाट एक सय श्ययामा स्तरवृद्धि गर्न लागिएको स्वास्थ्यमन्त्री पाठकले जानकारी दिए । आगामी आर्थिक वर्षदेखि धवलागिरि र मध्यविन्दु प्रादेशिक अस्पतालमा प्राविधिक शिक्षा पढाउने गरी पूर्वाधार तयारीका लागि काममा जुटेको उनले बताए । एक सय शय्याको अस्पतालले मात्र प्राविधिक विषय पढाउन पाउने व्यवस्था रहेकाले सोही अनुसार अस्पतालको स्तरोन्नति गर्न लागिएको स्वास्थ्यमन्त्री पाठकको भनाइ छ । प्रदेश अस्पताल गोरखा, लमजुङ र म्याग्दी यसअघि नै ५० श्ययामा सञ्चालित छन् । प्रदेश सरकारले चालु आवमा गोरखाको आँपपीपल र बागलुङको बुर्तिबाङ अस्पताललाई आफू मातहत लिई सञ्चालन गरिरहेको छ । स्थानीय तहअन्तर्गत दुवै अस्पताललाई ५० श्ययामा स्तरवृद्धि गरी नयाँ व्यवस्थापनका साथ सञ्चालन गरिएको छ । यसअघि ढोरपाटन नगरपालिकामा रहेको बुर्तिबाङ अस्पताल प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा सञ्चालित थियो । आँपपीपल अस्पताल गोरखाको पालुङटार नगरपालिकाअन्तर्गत रहँदै आएको थियो । स्थानीय तहले बुर्तिबाङ र आँपपीपल अस्पताललाई प्रदेश सरकारले जिम्मा लिन आग्रह गरेपछि प्रदेश सरकारले आफू मातहत ल्याई सञ्चालन गरेको स्वास्थ्यमन्त्री पाठकले जानकारी दिए । प्रदेश मन्त्रिपरिषद्को प्रस्तावलाई संघीय मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि यी दुई अस्पताल प्रदेश सरकारअन्तर्गत आएका हुन् । यसै वर्ष कास्कीस्थित गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धौलागिरि आयुर्वेद अस्पताललाई पनि अन्तरङ्ग सेवासहित २५ शय्याको सुविधायुक्त आयुर्वेद अस्पतालका रूपमा स्तरवृद्धि गरिएको थियो । स्वास्थ्यमन्त्री पाठकले स्तरोन्नतिको निर्णयपछि अस्पतालहरूमा मानव संशाधन, पूर्वाधार र उपकरणको प्रबन्ध व्यवस्थित रूपमा हुने बताए । उनका अनुसार अहिले स्वीकृत शय्याको सङ्ख्या तीन सय ९५ रहेकामा स्तरोन्नति हुँदा करिब सात सय पुग्ने छ । “अस्पतालहरूले अहिले नै आठ सयबढी शय्या सञ्चालन गरिरहेकामा नयाँ प्रस्तावअनुसार स्तरोन्नति हुँदा २१ शय्या सञ्चालनमा ल्याउन सकिन्छ”, मन्त्री पाठकले भने, “अहिले अस्पतालहरूको वार्षिक आम्दानी करिब रु ६६ करोड रहेकामा स्तरोन्नतिसहित अस्पताललाई व्यवस्थित गर्न सकिएमा तीन गुणाले आम्दानी बढ्ने मन्त्रालयको अनुमान छ ।” मन्त्रालयका अनुसार अस्पतालमा पाँच सय ६४ जनाको स्थायी दरबन्दी रहेकामा एक सय ८७ को पदपूर्ति हुन बाँकी छ । आठ सय बढी करार जनशक्तिसहित हाल ११ सय ३३ जना प्रदेश मातहतका अस्पतालमा कार्यरत रहेका मन्त्रालय जनाएको छ । अस्पतालहरू स्तरोन्नति हुँदा पदपूर्ति हुन बाँकीसहित कूल १२ सय ४४ को दरबन्दी व्यवस्थापन गर्नुपर्ने मन्त्री पाठकले बताए । “अहिले कार्यरत अस्थायी र करार जनशक्तिको उचित व्यवस्थापन गरेर अस्पतालमा गुणस्तरीय सेवा दिन सकिन्छ, स्तरोन्नति गर्दा प्रदेश सरकारलाई धेरै ठूलो व्ययभार पर्दैन”, उनले भने, “जनशक्ति र आन्तरिक खर्च व्यवस्थापनसहित अस्पताललाई आत्मनिर्भर बनाउनुपर्ने खाँचो छ, संघ सरकारको मात्र भर परेर हुँदैन, प्रदेश सरकारले आफ्ना अस्पतालहरूको विकासका लागि आफैँ योजना बनाउनुपर्छ ।” मन्त्रालयले जनस्वास्थ्य सेवासम्बन्धी विधेयक प्रदेशसभामा अगाडि बढाएकाले कानुन निर्माणपछि स्वास्थ्य क्षेत्र थप व्यवस्थित बन्ने स्वास्थ्यमन्त्री पाठकले विश्वास व्यक्त गरे ।
सुन्दा अनौठो लाग्न सक्छ, कास्कीको रुपातालको किनार (साविक रुपाकोट गाउँ पञ्चायत वडा नं ९) सिस्ठेनीमा लाग्ने मेला छ सय वर्षभन्दा पुरानो इतिहास, प्रकृति र संस्कृतिको साक्षी हो । प्रत्येक वर्षको चैते रामनवमीका अवसरमा पाँच दिनसम्म लाग्ने मेलालाई यस क्षेत्रको अति प्राचीन मेलाका रुपमा लिने गरिन्छ । अहिलेको जस्तो बढ्दो बजारीकरण र सरसामान किनमेलको सहजता नभएका अवस्थामा कास्की र आसपासका जिल्लाबाट सामान किनमेल गर्ने मेलाका रुपमा यसले चासो र चर्चा कमाएको स्थानीय समाजसेवी कुलप्रसाद अधिकारीले जानकारी दिए । सिस्ठेनी मेलाको इतिहास छ सय वर्षदेखि रहेको उल्लेख गर्दै उनले पछिल्ला समयमा यहाँस्थित रुपा युवा क्लबको सक्रियतामा यसलाई थप व्यवस्थित गर्दै लगिएको बताए । “विगतमा यो मेला सामान किनबेचका लागि मात्र नभई बिहेवारीका लागि पनि अभिभावक आएर केटाकेटी र परिवारका सम्बन्धमा बुझ्ने माध्यम पनि बनेको थियो”, उनले भने, “मेलामा कास्की आसपासका ठाउँबाट भद्रभलादमी समेत घोडा लिएर अवलोकन गर्न आउने र मेला अवधिभर यहाँ बसेर विभिन्न भेटघाट पनि गर्ने गर्दथे ।” मेलाका सल्लाहकार उपसमितिका संयोजक समेत रहेका अधिकारीका अनुुसार पछिल्लो समयमा स्थानीय रुपा युवा क्लबको सक्रियतामा सिस्ठेनी मेलालाई निरन्तरता दिन थालिएको छ । यस वर्ष पनि यही चैत २२ गतेदेखि वैशाख २ गतेसम्म ७ औँ रुपा सिस्ठेनी मेला आयोजना गरिएको उनले जानकारी दिए । यसअघि ४५÷४६ सालतिर मेलामा बर्सेनिझैँ झगडा हुन थालेपछि केही वर्ष रोकिएको मेलालाई क्लबको सक्रियतामा पुनः इतिहासको जगेर्ना गर्ने उद्देश्यका साथ व्यवस्थित गर्दै लगेको उनले जानकारी दिए । मेलामा स्थानीय उत्पादनको खरिद बिक्रीसँगै इतिहासको निरन्तरता स्वरुप अहिले पनि दैनिक रुपमा आवश्यक पर्ने कृषिजन्य उत्पादन, फलफूल, जडीबुटी, वनपैदावार एवं घरेलु सामग्रीको बिक्री वितरण हुने गरेको रुपा युवा क्लबका अध्यक्ष नमराज खड्का बताउँछन् । मेलामा परम्परागत रुपमा उपयोग हुँदै आएका कुटो, कोदालो, हलो, बञ्चरो, हँसिया, चुलेसी, करौती, भकारी, माटाको भाँडा, चोयाबाट बनेको नाङ्ग्लो, जाँतो, गुन्द्री, डोको–डाला, नाम्लो, दाम्लो, कम्मल राडीपाखी, लत्ताकपडा, ठेकी, मदानीलगायत घरेलु मसला आदि किनबेच गर्ने गरिएको छ । त्यस्तै हाम्रा गाउँघरमा दैनिक प्रयोग हुने कोदो, जौ, फापर, मकै, गुर्दी, जर्नेली, कागुनोजस्ता खाद्य तथा नगदेबालीहरूको साथमा बैद्यको आयुर्वेदिक औषधिको समेत तत्कालीन अवस्थामा बजारीकरणको सहजता नहुँदा किनबेच गर्ने थलोका रुपमा मेला स्थापित बनेको उनको भनाइ छ । उनका अनुसार तत्कालीन समयमा घरायासी सामानको बेचबिखनका लागि काठमार्डौ, ललितपुर, भक्तपुरका साथै छिमेकी लमजुङ, गोरखा, स्याङ्जा, पर्वत, चितवन आदि स्थानबाट सामान बेच्नका लागि मानिसहरू आउने गर्दथे । विसं २०३४÷२०३५ तिर यहाँ लाग्ने मेलाका लागि स्याउलाले छाएका व्यापारिक कक्ष एक मोहोर रुपैयाँमा बिक्री गरेको कुलप्रसाद अधिकारीको अनुभव छ । तत्कालीन समयमा यहाँ हुने छेलो, रस्साकस्सी प्रतियोगितासँगै रोधी, ठाडोभाका, कौडा नृत्य, लाखेनाच आदिमा सहभागिताका लागि पनि टाढाटाढाबाट मानिसहरू आउने गरेको बूढापाका बताउँछन् । छ शताब्दी पुरानो इतिहासको जगेर्नासँगै स्थानीय तथा स्वदेशी उत्पादनको प्रवद्र्धन एवं संस्कृतिलाई जीवन्त राख्नका लागि सिस्ठेनी मेलालाई निरन्तरता दिने कुरामा आफूहरू लागेको क्लबका निवर्तमान अध्यक्ष एवं मेलाका निर्देशक धीरजकुमार श्रेष्ठ बताउँछन् । “महोत्सवको माध्यमबाट आफ्नो स्थानीय पहिचान बनाउँदै मेलाका माध्यमबाट यस क्षेत्रको आर्थिक तथा सामाजिक उत्थान एवं स्थानीय तथा ग्रामीण उत्पादन, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन, विभिन्न जातजातिको कला, धर्म र संस्कृतिको जगेर्ना गर्नुु नै हाम्रो उद्देश्य हो”, उनले भने । यस वर्षको मेलामा करिब १२० भन्दा बढी व्यापारिक कक्षहरू रहने प्रायोजक उपसमिति संयोजक वसन्त जोशीले जानकारी दिए । उनका अनुसार मेलाको मुख्य प्रायोजकमा साहारा इन्टरनेशनल फर्टिलिटि सेन्टर पोखरा रहेको छ भने सहप्रायोजकमा रुपा–६ जन्मस्थान भई हाल अमेरिकामा रहेका प्रकाश तिवारी रहेका छन् । ।
नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच छवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा हस्ताक्षर समारोहअघि प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले द्विपक्षीय भेटवार्ता गरेका थिए । सो अवसरमा राजनीतिक तथा द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, उड्डयन, पर्यटन तथा संस्कृति, विकास सहकार्य, तथा क्षेत्रीय र बहुपक्षीय मुद्दाका सम्बन्धमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए । दुवै देशका प्रधानमन्त्रीको समुपस्थितिमा सरकारी तवरबाट संस्कृति तथा पर्यटनका क्षेत्रमा दुईवटा समझदारी भएको छ भने गैरसरकारी क्षेत्रबीच विभिन्न छ वटा विषयका समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकारको तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र थाइल्याण्डका संस्कृतिमन्त्री सुडवान वाङसुफाकिज्कोसोलले सांस्कृतिक क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे । त्यस्तै परराष्ट्रमन्त्री डा देउवा र थाइल्याण्ड सरकारका पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तियनथोङले पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे । दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र थाइल्याण्डका गैरसरकारी क्षेत्रहरूबीच विभिन्न छवटा समझदारीपत्रमा हस्ताक्षर भएको छन् । यसमा नेपाल नेत्र ज्योति सङ्घ र थाइल्याण्डको महिदोल विश्वविद्यालयअन्तर्गतको रामाथिवोदी अस्पतालबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्त र महिडोल युनिभर्सिटीका चिकित्सा सङ्काय, रामाथिबोडी अस्पतालका डिन प्राध्यापक आर्टिट उङ्कानन्तले हस्ताक्षर गरे । त्यस्तै, जनता एग्रो एण्ड फरेस्ट्री नेपाल (जेएएफएल) र कासेटसार्ट विश्वविद्यालय थाइल्याण्डबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र थाइल्याण्डको व्यापार बोर्डबीचको समझदारीपत्रमा हस्ताक्षर भएको हो । काठमाडौं विश्वविद्यालय र थाइल्याण्डको सियाम विश्वविद्यालय सहकार्यसम्बन्धी पत्रमा पनि हस्ताक्षर भएको छ । नेपाल उद्योग परिसंघ र थाइ उद्योग महासङ्घबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा समझदारी भएको छ । त्यस्तै, नेपाल चेम्बर अफ कमर्स र थाइल्याण्ड पर्यटन परिषद्बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले ‘एक वडा, एक पर्यटकीय गाउँ’ निर्माणको काम सुरु गरेको छ । पालिकाभित्रका वडालाई पर्यटकीय गाउँ बनाउने उद्धेश्यसहित पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पर्यटकीय गाउँ बनाएर पर्यटक भित्र्याउँदै स्थानीयको जीवनस्तर सुधार गर्ने लक्ष्य लिइएको बताउनुभयो । पहिलो चरणमा गाउँपालिकाले वडा नम्बर १ को गिरानचौर र वडा नम्बर ६ को हिलेखर्कलाई पर्यटकीय गाउँ बनाउने प्रक्रिया सुरु गरेको उहाँले बताउनुभयो । पर्यटकीय गाउँ बनाउन प्रत्येक गाउँलाई रु ४० लाख बजेट विनियोजन गरिएको चुमानको भनाई छ । उहाँले भन्नुभयो, “प्रत्येक वडाका एक गाउँ छनोट गरी पर्यटकीय गाउँ बनाउने प्रक्रिया सुरु भएको छ, त्यस ठाउँमा पर्यटकमैत्री पूर्वाधार निर्माण गरी पर्यटक आकर्षित गर्छौं ।” सुरुमा आँबुखैरेनी पर्यटकीय पालिका हो र भन्नेमा धेरैले शङ्का गर्ने स्थिति रहेको स्मरण गर्दै चुमानले भन्नुभयो, “केही धार्मिक स्थललाई धार्मिक पर्यटकीय स्थलको रुपमा दावी गथ्र्यौ, तर अहिले गाउँपालिका धेरै पर्यटकीय स्थल भएको ठाउँ हो भन्ने आधार खडा गर्न सफल भएका छौं ।” धार्मिक रुपमा छिम्केश्वरी, अकला, आँधीमूल, पञ्चकन्या मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न खोजिएको चुमानको भनाई थियो । त्यस्तै पूर्वाधारको हिसाबले पछाडि परेको आँबुखैरेनी–२ ऐनापहरालाई आरामस्थलका रुपमा विकास गरिएको उहाँले बताउनुभयो । ऐनापहरामा पूर्वाधार निर्माण गरी रोजगारी सिर्जनाका साथै गाउँपालिकाको आन्तरिक आम्दानी वृद्धि गरिएको उहाँले बताउनुभयो । ऐनापहराका ढुङ्गामा कृत्रिम आकृति निर्माण गरी यहाँ विभिन्न पूर्वाधार निर्माण गरिएको छ । ऐनापहरा पार्कमा टिकट शुल्क राखेर पालिकाले चालु आर्थिक वर्षमा रु ६० लाखभन्दा बढी आम्दानी गरिसकेको छ । त्यस्तै मस्र्याङ्दीको कृत्रिम तालमा मोटरबोट सञ्चालन, आँबुखैरेनी–१ को आँधीमूलमा कृत्रिम ताल निर्माणको प्रक्रिया थालिएको चुमानको भनाइ छ । मूलको पानी जम्मा गरेर कृत्रिम ताल निर्माणको काम अगाडि बढेको उहाँले उल्लेख गर्नुभयो । आँधीमूलमा प्रसिद्ध मन्दिरसमेत रहेकाले धार्मिक पर्यटनलाई जोडेर यहाँ पर्यटकीय गतिविधि सञ्चालन गर्ने लक्ष्य लिइएको चुमानको भनाई छ । उहाँले भन्नुभयो, “आँधीमूल आफैमा प्रसिद्ध धार्मिकस्थल हो, यहाँ विभिन्न ठाउँबाट धार्मिक पर्यटकसमेत आउनुहुन्छ, धार्मिक पर्यटनलाई जोडेर यस ठाउँको विकास गर्न चाहेका छौं ।” यहाँ १५ रोपनी क्षेत्रफलमा कृत्रिम ताल निर्माणको काम भइरहेको छ । ताल निर्माणका लागि चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरिएको छ । यहाँ ताल निर्माण गरी पानीमा सञ्चालन गर्न सकिने पर्यटकीय क्रियाकलाप सुरु गर्ने लक्ष्य रहेको चुमानको भनाई छ ।
भाटभटेनी सुपरमार्केटले कोटेश्वर शाखाका सुरक्षागार्डलाई पुरस्कृत गरेको छ। शुक्रबार राजावादी प्रदर्शनकारीको एक समूह कोटेश्वरस्थित भाटभटेनी पुगेर लुटपाटमा संलग्नविरुद्ध प्रतिकार गरेर साहसिक प्रदर्शन देखाउने सुरक्षा गार्ड कृष्णप्रसाद पराजुलीलाई भाटभटेनी सुपरमार्केटले ५ लाख १ हजार १११ रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो। भाटभटेनीका संचालक मीनबहादुर गुरूङले सुरक्षागार्ड दुलप्रसाद पराजुलीलाई ५ लाख नगद पुरस्कार र पाँच ग्रेड बढुवा प्रदान गरेका थिए। पराजुलीले त्यसदिन गरेको प्रतिकारको भिडिओले सामाजिक सञ्जालमा चर्चा पाएको थियो। त्यस्तै बुधवार आयोजित एक कार्यक्रमका बिच भाटभटेनीले अर्का एक सुरक्षा गार्डलाई ५१ हजार रुपैयाँ सहित सम्मान गरेको छ । यसैगरी सोही बेला ड्युटीमा अर्का थप दुई जनालाई पनि २५ हजारका दरले सम्मान गरेको छ । यसैगरी कमर्चारीहरुलाई सम्मान गरिएको थियो । उक्त भाटभटेनीमा लुटपाट गर्नेहरू ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूमाथि प्रहरी वृत्त बानेश्वरले अनुसन्धान गरिरहेको छ। लुटपाट र तोडफोडबाट भाटभटेनीमा ८० लाख क्षति पुगेको जनाएको थियो।
म्याग्दी: मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ नम्बर वडाको सिमाना भएर बग्ने दाङखोलामा १८ मिटर लामो पुल निर्माण गर्न सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन । धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार २०७८ साल जेठ ८ गते सम्पन्न हुनुपर्ने पुलको निर्माण सुरु नभएको हो । विसं २०७५ मा दाङखोलामा धवलागिरि गाउँपालिकाले निर्माण गरेको अस्थायी पुल जीर्ण भएको र नयाँ पुल निर्माण नहुँदा गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवागमनमा समस्या भएको छ । पुल निर्माणस्थल म्याग्दीखोला जलविद्युत् आयोजनाको यसअघि प्रस्तावित बाँध निर्माणस्थलमा पर्दा सम्झौतालगत्तै कार्यक्षेत्रमा परिचालित निर्माण व्यवसायीले काम गर्न नपाउनु, २०७७ सालको बाढीले निर्माणस्थलमा क्षति पुगेपछि पुलको दूरी बढाउनुपर्ने अवस्था आउनु र परिवर्तित परिस्थितिअनुसार बढेको लागत उपलब्ध गराउन सम्बन्धित निकायसँग समझादरी नहुँदा निर्माण व्यवसायी न्यायिक निरुपणका निम्ति अदालत गएपछि पुल निर्माण प्रभावित भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । निर्माणको काम सुरु नै नभएपछि कार्यालयले ठेकेदारलाई पेश्कीस्वरुप प्रदान गरेको रु ३३ लाख धरौटीबाट फिर्ता लिएको छ ।
काठमाडौं: भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतको सहयोगमा कूल रु ६२ करोड पाँच लाख परियोजना लागतमा नेपालमा १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) सञ्चालन गर्न काठमाडौँस्थित भारतीय दूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन एजेन्सीहरूले आज समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् । नेपालमा यी परियोजना नेपाल सरकारका स्थानीय निकाय जस्तै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामार्फत कार्यान्वयन गरिने दूतावासले जनाएको छ । यी उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को कार्यान्वयनले नेपालका जनतालाई राम्रो शैक्षिक, स्वास्थ्य सेवा र सांस्कृतिक सुविधा प्रदान गर्न मद्दत गर्नेछ । सन् २००३ यता भारतले आज समझदारी पत्रमा हस्ताक्षर भएका १० वटा परियोजनासहित नेपालमा ५७३ भन्दा बढी एचआइसीडीपीहरुमा कार्य गरेको छ र नेपालका सात वटै प्रदेशका तल्लो तहमा शिक्षा, स्वास्थ्य, सडक तथा पुल, नदी तालिम, खानेपानी, विद्युतीकरण, सिँचाइ, संस्कृति, समाज कल्याण र अन्य सार्वजनिक उपयोगिताको सिर्जनाका क्षेत्रमा चार सय ९५ परियोजना पूरा गरेको छ । बाँकी परियोजना विभिन्न चरणहरूमा सञ्चालन भइरहेको छ ।
चैते दसैँ सुरु भएसँगै बागलुङको कालिका मन्दिरमा धार्मिक पर्यटकको बढेका छन् । आइतबारदेखि नवरात्र सुरु भएको छ । चैते दसैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजा उपासना गरिन्छ । चैते दसैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने भएकाले टाढा–टाढाबाट भक्तजन आउने गर्दछन् । चैतको नवरात्रमा बागलुङ कालिकाको पूजाआराधना र बलि दिइँदा आँटेको पुग्ने जनविश्वास छ । गण्डकी प्रदेशको मुख्य शक्तिपीठका रूपमा मन्दिरमा अहिल भक्तजनको भीड लागेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । 'चैते दसैँको तेस्रो दिनसम्म दैनिक हजारौँको सङ्ख्यामा भक्तजन आउनुभएको छ, यसपटक पाँच लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ', खड्काले भने, 'यही अवसरमा चैत २० गतेदेखि यहाँ मेलासमेत आयोजना गरिएको छ, भक्तजनको चापलाई मध्यनजर गरेर सवारी पार्किङ, सुरक्षालगायतको व्यवस्था मिलाइएको छ ।' मेला आयोजनाका लागि ५५ लाख खर्चको अनुमान गरिएको छ । मन्दिरमा छिमेकी मुलुक भारतबाटसमेत धार्मिक पर्यटक आउने गर्दछन् । मन्दिरमा बोका, राँगो, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ । मेलामा स्थानीय कला संस्कृति झल्कने झाँकीसमेत प्रदर्शनको व्यवस्था मिलाइएको बताउँदै उनले स्थानीय सामग्री डोको, नाङ्लो ठेका, डालालगायतको व्यापारलाई स्टल निःशुल्क उपलब्ध गराइएको जानकारी दिए ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको आयोजनामा ‘फोटो यात्रा–गन्तव्य मेघौली’ कार्यक्रम भएको छ । बाराही जंगल लजको सहयोगमा भएको कार्यक्रम २ दिनसम्म सञ्चालन भएको थियो । आइतबार कास्कीबाट निस्किएको एनपिजेए कास्कीको टिम चितवनको भरतपुर महानगरपालिका २८ मेघौलीस्थित बाराही जंगल लज पुगेर सोमबार पोखरा फर्किएको हो । टोलीले पृथ्वी राजमार्गको सडक विस्तार, बाराही जंगल लजको सुन्दरतासँगै आतिथ्य, थारु समुदायको नृत्य, डुंगा सफारी, मेघौलीबाट देखिने सूर्यास्त, जंगल सफारीको फोटो, भिडियो खिचेका थिए । नवलपुरको गैडाकोट नगरपालिका स्थित मौलाकाली मन्दिरसँगै त्यहाँ जान बनाइएको केवलकार र नारायणी नदीमा सञ्चालित मोटर बोटको दृष्य पनि कैद गरेको संघका अध्यक्ष राम गुरुङले बताए । कार्यक्रममा पत्रकार महासंघ गण्डकीकी महासचिव जमुना वर्षा शर्माले फोटो र पर्यटन क्षेत्र एक अर्काका परिपूरक भएको बताइन् । हरेक सञ्चार माध्यममा फोटो पत्रकार आवश्यक रहेको उनको भनाइ थियो । समग्र क्षेत्रको विकासमा फोटोले अहम भूमिका खेल्ने भएकाले कास्कीमा रहेको नेपाल फोटो पत्रकार संघ कास्कीलाई आगामी दिनमा अझै रचनात्मक काम गर्दै अघि बढ्नुपर्ने उनले सुझाव दिइन् । मेघौली पुगेको टिमले बाराही जंगल लजबारे महाप्रबन्धक प्रकाश चन्दसँग अन्तरक्रिया गरेको थियो । २०१३ सेप्टेम्बरबाट बाराही ग्रुपले सञ्चालनमा ल्याएको लज विदेशी एवं स्वदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ । १३ हेक्टरमा फैलिएको लज राप्ती नदीको किनारमा हरियाली जंगलभित्र छ । थारु शैलीको घरमा बस्न पाउनु यसको विशेषता रहेको चन्दले बताए । लजबाटै राप्ती नदीमा जलचर रमाएको मात्र नभई चितवन राष्ट्रिय निकुञ्जमा मृग, गैंडा, हात्ती लगायत जंगली जीवजन्तु रमाएको दृश्यावलोकन गर्न मिल्छ । ती जीवजन्तुलाई अझ नजिकबाट नियाल्न साँझमा डुंगा सफारी र बिहानमा जंगल सफारीको सुविधा छ । स्थानीय थारु संस्कृति प्रवद्र्धन गरिरहेको लजमा पर्यटक बस्ने भिल्लादेखि स्वागत कक्ष, डाइनिङ, टाइगर्स डेन बारका घरसमेत थारु शैलीमै बनेका छन् । लोपोन्मुख अवस्थामा पुगेको मट्टीतेल लालटिन लजमा निकै रचनात्मक ढंगले सदुपयोग गरिएको छ । लजमा बेलुका स्थानीय थारु र कुमाल जातिकै सांस्कृतिक नाँच देखाइने उनले बताए । मेघौली क्षेत्रको पर्यटन प्रवद्र्धनमा लजले टेवा पु¥याइरहेको जानकारी दिदैं उनले त्यहाँबाट नजिकै रहेको विमानस्थल सञ्चालनमा आए टेवा पुग्ने बताए । एनपिजेए कास्कीका अध्यक्ष गुरुङले लजले मेघौली, चितवन मात्र नभएर देशकै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको बताए । यहाँको प्रकृतिको फोटो तथा भिडियोहरु फोटो पत्रकारको क्यामेरामा कैद भएकाले कुनै न कुनै माध्यमबाट लज, चितवन राष्ट्रिय निकुञ्जसगै सिंगो राष्ट्रको पर्यटन क्षेत्रको विकासका लागि प्रयोग गरिने उनले बताए । ‘फोटो यात्रा–गन्तव्य मेघौली’ कार्यक्रमकी संयोजक राधिका कंडेलले फोटो पत्रकारिता केवल दृष्य कैद गर्ने माध्यम मात्र नभई समाजका विविध पक्ष उजागर गर्ने सशक्त माध्यम भएको बताइन् । एनपिजेए कास्कीका उपाध्यक्ष समेत रहेकी कंडेलले भनीन्, ‘यसले सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउँदै पर्यटन प्रवद्र्धन, साँस्कृतिक सम्पदाको संरक्षण तथा सामाजिक जीवनका अनगिन्ती आयामहरु उजागर गर्न महत्वपूर्ण भूमिका खेल्छ ।’