काठमाडौं:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, पूर्व मुख्यसचिव वैकुण्ठ अर्याल लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित...

काठमाडौं:   डाक्टर सन्दुक रुइतलाई शेर्पा किदुक अमेरिकाले ५० हजार १ डलर सहयोग गरेको छ । किदुकको सदस्यहरूबाट सङ्कलित उक्त रकम एक कार्यक्रम गरी सम्मान सहित रुइतलाई हस्तान्तरण गरेका थिए ।  ‘डा. सन्दुक रुइतले आँखा उपचारको क्षेत्रमा विश्वविख्यात काम गरेको भन्दै किदुकले सम्मान सहित सहयोग गरेको शेर्पा किदुक संरक्षक समितिका संयोजक ल्हाक्पा रिन्जी शेर्पाले बताउनुभयो ।  उता हिमालयन होप नेटवर्क संस्थाद्वारा सङ्कलित ५ हजार ७ अमेरिकी डलर पनि शेर्पा किदुकमार्फत हस्तान्तरण गरिएको थियो । उक्त रकम डा रुइतको कार्यको लागि स्वयंसेवक र कोष सङ्कलनमा आगामी दिनमा अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  डा. रुइतले आफ्नो अमेरिका भ्रमण नेपालको सफल चिकित्सा अनुभव र दृष्टि पुनः स्थापनाको मोडललाई हार्वर्ड, स्ट्यानफोर्ड, ब्राउन, बास्कम पाल्मरजस्ता विश्व स्तरीय संस्थाहरूसँग साझेदारी गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने रहेको बताउनुभयो ।  नेपालमै अत्याधुनिक इन्ट्रकुलर लेन्स उत्पादन गर्ने कारखाना स्थापना गरी विश्वभर निर्यात गर्ने र प्राप्त नाफाबाट आर्थिक रूपले कमजोर समुदायका लागि निःशुल्क आँखा उपचारको दीर्घकालीन योजना अघि बढाउने योजना अघि सारेको समेत उहाँले बताउनुभयो ।  उक्त योजनाका लागि झन्डै ८ मिलियन अमेरिकी डलर आवश्यक पर्ने जानकारी दिनुहुँदै उहाँले हालसम्म ३ मिलियन डलर सङ्कलन भइसकेको र बाकी ५ मिलियन जुटाउन नेपाली समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भएको थियो । 

मुस्ताङ:  हिमाली जिल्ला मुस्ताङ, मनाङ र डोल्पाका किसानले  पालन गर्ने विभिन्न प्रजातिका गाईमध्ये लुलु गाई पनि एक हो ।  पारिस्थितिक प्रणाली (इको सिस्टम)मा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेका हिमाली लुलु गाई पछिल्लो समय भने लोपोन्मुख अवस्थामा रहेको छ । जुरो नभएको  स्थानीय गाईका जातमध्ये  लुलु गाई एक हो ।  अन्य गाईभन्दा हिमाली क्षेत्रको उच्च भूगोलमा पालन गरिने लुलु गाई कद केही होचो हुन्छ । यो समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइदेखि माथिको उच्चस्थानमा पालन गर्ने गरिएको छ ।  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख एवं पशु चिकित्सक डा लालमणि अर्यालले मुस्ताङमा सदियौँ वर्षदेखि परम्परा र संस्कृतिको रुपमा पालन गर्दैआइरहेको लुलु गाई पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको जानकारी दिनुभयो ।  मुस्ताङमा दश वर्षअघि करिब १० हजार बढी लुुलु गाई रहेकोमा पछिल्लो समय मुस्ताङका पाँचौँ पालिकामा गरी करिब छ हजारको सङ्ख्यामा लुलु गाईपालन गरिएको उहाँले बताउनुभयो ।  “मुस्ताङमा लुलु गाईपालन बर्सेनि घट्दो अवस्थामा छ, यसको संरक्षणमा स्थानीय कृषकले खासै चासो दिएको पाइएन”, पशु चिकित्सक डा अर्यालले थप्नुभयो, “दूध उत्पादन कम हुने र अन्य वैकल्पिक अवसरले गर्दा लुलु गार्ई संरक्षणतर्फ कसैको ध्यान पुगेको छैन ।” मुस्ताङका कृषकले अन्नबाली उत्पादनका लागि मल चाहिने भएको र थोरै मात्रामा दूध उत्पादन गर्न सकिने भएकै कारण लुुलु गाई पाल्ने गरिएको हो । अन्य गाईको तुलनामा लुलु गाईले निकै कम मात्रामा दूध उत्पादन गर्ने भएकाले कृषकले लुलु गाईपालनमा बेवास्ता गरेको घरपझोङ गाउँपालिकाका पशु शाखा प्रमुख आइतलाल थकालीले बताउनुभयो ।  “कृषकहरु लुलु गाई जोगाउनु पर्नेतर्फ संवेदनशील भएको पाइँदैन, यो निकै चिन्ताको विषय बनेको छ”, पशुु शाखा प्रमुख थकालीले भन्नुभयो, “गाउँपालिकाले पनि लुलु गाई संरक्षण गर्न कृषकलाई प्रोत्साहन गर्नेलगायतमा सहयोग गर्ने गरेको छ ।”  मुस्ताङका कृषकले पालन गर्ने लुलु गाई हिमाली परम्परा र संस्कृतिको जैविक आयामको रुपमा लिने गरिन्छ । तर, यहाँको जैविक विविधता र संस्कृतिमा असर पुगेजस्तै हिमाली क्षेत्रमा पालन गरिने लुलु गाई लोप हुने खतरा बढेको पशु शाखा प्रमुख थकालीको भनाइ छ । जिल्लामा विस्थापित हुने अवस्था रहेको लुलु गाईपालन व्यवसाय केवल कृषि प्रयोजनमा मात्रै उपयोग भएको देखिन्छ । पछिल्लो समय सडक सञ्जाल र प्रविधिको विकास हुन थालेसँगै मुस्ताङका कृषकले विस्तारै लुलु गाई पाल्न छाडिसकेका छन् ।  मुस्ताङमा विद्यमान अवस्थामा पालन गरिएका लुलु गाईलाई पनि कृषकले आवश्यक रुपमा संरक्षण गर्न छाडिसकेको घरपझोङका किसान अजित थकालीले बताउनुभयो ।  “अन्य बस्तुभाउभन्दा लुलु गाईलाई कृषकले बेवास्ता गर्न थाले, जथाभावी छाडिदिने गर्न थाले”, उहाँले भन्नुभयो, “कोही कृषि र होटल चलाउन थालेपछि कृषकले लुलु गाई पाल्न छाडेका हुन् ।”  पहिला पहिला एउटै घरमा १०÷१२ वटासम्म लुलु गाई पाल्ने गरिएकोमा अचेल एक घरमा एउटा लुलु गाई पनि नहुने गरेको कृषक थकालीको भनाइ छ । कृषि र पर्यटनको विकाससँगै लुलु गाईतर्फ संरक्षण गर्नपर्छ भन्ने मान्यता राख्न छोडेको कृषक थकाली सुनाउनुभयो ।  लुलु गाईले बिहान र बेलुकी गरी बढीमा एक लिटरसम्म दूध उत्पादन गर्ने गर्छ । कम दूध उत्पादन हुने र श्रम र लागत बढी लाग्ने भएकाले हिमालका लुलु गाईहरु लोपोन्मुख हुन थालेका हुन् ।  त्यस्तै कृषकले लुलुगाई पाठापाठीको संरक्षण नगर्दा कुकुर र हिउँ चितुवाले खाइदिने गर्दा समेत मुस्ताङमा लुलु गाई संरक्षणमा चुनौती बनेको हो ।  जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि हुँदा उच्च लेक र खर्कमा पानीको मुहान सुक्दै जान थालेको, चरन क्षेत्रमा घाँस पलाउन छाडेकाले लुलु गाईहरु कृषकले बेवास्ता गरी छाडा रुपमा सडक र गल्लीमा छोड्ने प्रचलन रहेको छ । आफैँ आहारा व्यवस्थापन गर्ने क्षमता भए पनि लुलु गाईले आहार व्यवस्थापन गर्न नसक्दा गाउँबस्ती र सडकमा मिल्काएका कागज र अरुले फ्याकेका खानेकुरा खाएर आहार पूर्ति गर्ने गरेको पाइएको छ । 

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोकिएको एमालेले जनाएको छ । एमाले सचिव पद्म अर्यालले अनेरास्ववियुको उमेर हदसम्बन्धी भएको निर्णय चाँडै सर्कुलर गरी जानकारी गराउने बताउनुभयो । उहाँले अन्य पार्टीले आफ्नो विद्यार्थी सङ्गठनमा उमेर हदबन्दी लगाएको सन्र्दभमा एमाले अनेरास्वविुमा पनि उमेर हद लागू हुने बताउनुभयो । यसअघि नेपाल विद्यार्थी सङ्घले र अनेरास्ववियु (क्रान्तिकारी) ले ३२ वर्ष उमेर हद तोकेको थियो । एमालेले राष्ट्रिय युवा सङ्घमा ४० वर्षे उमेर हद तोकेको छ । अनेरास्ववियुको महाधिवेशन यही जेठ २५ देखि २७ गते काठमाडौँमा तोकिएको छ ।

पोखरा:   पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी)ले न्यूरो क्रिटिकल केयरमा थप सेवा सुरु गरेको छ ।  जीएमसी प्रशासनले दिएको जानकारी अनुसार अत्याधुनिक सेवा प्रदान गर्न हालै १५ शैय्याको न्यूरो सर्जिकल आइसीयू स्थापना गरिएको छ ।  आइसीयूको स्थापनासँगै अब कलेजले गम्भीर प्रकृतिका न्यूरोसर्जिकल र न्यूरोलोजिकल बिरामीलाई उपचार एवं विशिष्ट सेवा गर्न सम्भव भएको छ ।  ‘गण्डकी प्रदेशमै न्यूरोसम्बन्धित उपचारमा अस्पतालले आगामी दिन अझ परिष्कृत सेवा दिनेछ’ अस्पतालले जनाएको छ ।  जीएमसीले वरिष्ठ न्यूरोसर्जन प्राडा याम रोकालाई भित्र्याएसँगै २४ सैं घण्टा विशिष्ट सेवा प्रदान गर्न सुरु गरेको हो ।  मस्तिष्कमा नशा फुटेर रगत जमेको, ट्युमर, ट्रमा, ढाड र घाँटीमा नशा च्यापिएका बिरामीले जीएमसीबाट उपचार पाइसकेका छन् । नशाकै स्ट्रोकबाट पीडित बिरामी हाल स्वस्थ जीवन बिताइरहेको बायोडाटा अस्पतालसँग छ । न्यूरोसर्जन रोकाको नेतृत्वमा पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी)ले २ महिनादेखि न्यूरोसर्जरी सेवा सुरु गरेको हो । यसबीच करिब २० वटा सफल अपरेशन गरिसकेको डा. रोकाको योगदानपश्चात् जीएमसीले थप १५ शैय्याको सघन उपचार कक्ष (आइसीयू) स्थापना गरी सेवा बिस्तार गरेको छ ।  

काठमाडौं:  पूर्वसभामुख कृष्णबहादुर महरासँग नाम जोडिएकी संसद् सचिवालयकी पूर्वकर्मचारी रोशनी शाही मृत भेटिएकी छन् । उनी भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गको कोठामै मृत भेटिएकी जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराजले बताए । रोशनी मृत भेटिएको खबर आएपछि अहिले उनको कोठामा प्रहरी पुगेर घटनास्थल जाँच प्रकृति मुचुल्का उठाइरहेको छ । तत्कालीन सभामुख महरालाई रोशनीले काठमाडौंको तीनकुनेस्थित कोठामा बस्दा बलात्कार आरोप लगाएकी थिइन् । संसद् सचिवालयमा कार्यरत रोशनीले २०७६ असोजमा महरामाथि बलात्कार आरोप लगाएकी थिइन् । रोशनीको उक्त आरोपपछि महराको राजनीतिक यात्राले पनि ओरालो बाटो समातेको थियो । उक्त प्रकरणमा २०७६ कात्तिक १८ गते जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेका महरालाई थुनामा पठाउने आदेश गरेको थियो । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश सुदर्शन पाण्डेको इजलासले महरालाई जेल पठाएको थियो । त्यसपछि उनी २०७६ फागुन ५ गते जेलबाट छुटे । जिल्ला अदालत काठमाडौंको आदेशपछि महरा डिल्लीबजार कारागारमा १३३ दिन बसेर रिहा भएका थिए । महरा जेल गए पनि रोशनीले सामाजिक सञ्जालमा उक्त प्रकरणबारे लेखिरहन्थिन् । महरासहितका नेताहरूको पनि फोटो हाल्दै उनले गरेको बदनामीबाट महरा पछिल्लो समय पनि तनावमा हुन्थे ।

काठमाडौं:  समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु छलफलमा जुटनु भएको छ ।   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा जारी बैठकमा यसै साता सदनमा पेश हुन लागेको आगामी आर्थिक बर्ष २०८२/०८३ बजेटको तयारी साथै समसायीक राजनीतिक विषयहरुमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

रसुवा: पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ । यही जेठ १३ गतेदेखि सुरू हुने गोसाइँकुण्डको विशेष मेलाका लागि भक्तजन आउन थालेका हुन् ।   मेला यही जेठ २४ गते एकादशीसम्म सञ्चालन हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यस वर्ष दशहरा पर्वमा पाँच हजार भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने अपेक्षा समितिले राखेको छ ।  जिल्लाको उच्च भागमा अवस्थित समुन्द्र सतहबाट चार हजार ३८० मिटर उचाइ अवस्थित कुण्ड जानका लागि काठमाडौँदेखि धुञ्चेसम्मको मोटर यात्रा गरेपछि पैदल यात्रा सुरू हुने र तिवारी बगर, खन्ति, देउराली, डिम्सा, चोलाङपाटी हुँदै  गोसाइँकुण्ड पुग्न सकिन्छ ।  गङ्गा दशहरा पर्वका लागि पतञ्जली योग समितिमार्फत आएका २५० भन्दा बढी भक्तजन आज बिहानै गोसाइँकुण्डतर्फ प्रस्थान गरिसकेको नेपाल प्रहरीले जनाएको छ ।  धार्मिक मान्यताअनुरूप जीवनमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थस्थल भएका कारण भक्तजन गोसाइँकुण्ड पुग्ने गरेका छन् ।  विशेष पर्व गङ्गादशहरामा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वमा पाँच दिनगरी वर्षको १५ दिन विशेष मेला लाग्ने गर्दछ ।   बाह्रै महिना भक्तजन आवतजावत भने निरन्तरता दिँदै आएको छ ।  यात्रुहरूको बासस्थानका लागि ठाउँठाउँमा होटल सञ्चालनमा छन् ।  अनुपम प्राकृतिक छठाले गर्दा  कुण्डमा जान सहज भएको कृषि वैज्ञानिक डा ताराबहादुर घिमिरेले बताउनुभयो ।

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।  बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चले दिएको आदेश, पछिल्लो राजनीतिक घटनाक्रम, भिजिट भिसामा जानेहरूबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको चर्चालगायत विषयमा छलफल हुने बताइएको छ । यसअघि रास्वपाले शनिबार सचिवालय र केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक गरेको थियो ।

काठमाडौं:  नेकपा एमालेको सचिवालयको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पार्टीको गतिविधि, समसामयिक राजनीति, सरकारको कामकारबाहीलगायत विषयमा छलफल हुने बताइएको छ ।