कञ्चनपुर:     विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका सदस्यलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ ।      महेन्द्रनगरस्थित होली फेम्ली क्रिकेट एकेडेमीले यु–१९ मह...

काठमाडौं:     प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।      पक्राउ पर्नेमा भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा आशिष दाहाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।      उहाँले भन्नुभयो, “पक्राउ परेका दाहालले काठमाडौँ उपत्यकाभित्र विभिन्न व्यक्तिहरुलाई ह्वाट्सएपमार्फत आफु अन्डरवर्ल्ड नेटवर्कको अन्डर कभर एजेन्ट हो भनी विहारलगायत अन्य ठाँउबाट ‘कन्ट्याक्ट किलर’ भाडामा लगाइ ज्यानसमेत मार्छु भनी म्यासेज गरी रु ५० हजारदेखि रु दुई लाखसम्म रकम माग गर्ने गरेको सूचनाका आधारमा काठमाडौँ स्थित शङ्खमुलबाट पक्राउ गरिएको हो ।”      पक्राउ परेका दाहाललाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

काठमाडौं:    आज सुनको मूल्य प्रतितोला रु १ हजारले बढेर रु १ लाख ६४ हजार कायम भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य रु १ लाख ६३ हजार थियो ।  त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । अहिले चाँदीको मूल्य तोलाको एक हजार ९ सय ५० कायम भएको महासङ्घले जनाउको छ । कात्तिक १५ गते रु १ लाख ७१ हजारमा सुनको कारोबार भई उच्च मूल्य कायम भएकामा पछिल्लो समय मूल्य घट्ने, बढ्ने भइरहेको छ ।  

पोखरा:    कास्की र मनाङको सिमाना अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर १३ मिनेटमा कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर ४.२ म्याग्नेच्युडको भूकम्प गएको हो। यसअघि गत कात्तिक २२ गते दोलखाको ओराङ आसपास केन्द्रविन्दू भएर ४.५ रेक्टरस्केलको भूकम्प गएको थियो।

खोटाङ:     सहर छाडेर गाउँ फर्किनुभएका अर्थशास्त्री तथा राजनीतिक विश्लेषक हरि रोकाको खेतमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)खोटाङका नेता तथा कार्यकर्ताले श्रमदान गरेका छन् ।  काठमाडौँ छाडेर ४० वर्षपछि विसं २०७९ मा सपरिवार गाउँ फर्किनुभएका रोकाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित खेतमा पुगेर उनीहरुले श्रमदान गरेका हुन् ।  गाउँ छाडेर सहर जानेको सङ्ख्या वृद्धि भइरहेको बेला गाउँ फर्किएर खेती किसानी गरिरहनुभएका रोकाको सम्मानस्वरुप धान काट्न सहयोग गरिएको नेकपा (माओवादी केन्द्र)का प्रदेश समिति सचिवालय सदस्य होमकाजी आचार्यले बताउनुभयो ।  “पार्टीले आयोजना गरेको जनश्रमदान अभियान अन्तर्गत हरि रोकाको खेतमा पुगेर श्रमदान गरेका छौँ । पछिल्लो समय गाउँ छाडेर सहर जानेको ताँती लाग्न थालेको छ । यो अवस्थामा सहरबाट गाउँ फर्किनुभइ कृषि पेशामा लाग्नुभएका अर्थशास्त्री एवं् राजनीतिक विश्लेषक रोकाको सम्मानका लागि श्रमदान गरिएको हो”, उहाँले भन्नुभयो । संविधानसभा सदस्यसमेत रहनुभएका रोका गाउँ फर्किएर खेती किसानीमा लाग्नुले सकारात्मक प्रेरणा दिएको स्थानीयको भनाइ छ ।  धान काट्ने श्रमदानमा पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’, पार्टीका जिल्ला संयोजक दीपक पाण्डे, प्रदेश समिति सचिवालय सदस्य आचार्य, पालिका समिति अध्यक्ष राजेन्द्रकुमार राई, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव रविन खम्बूलगायत सहभागी थिए ।  सर्वसाधारणको खेतमा श्रमदान गर्ने योजना भए पनि सहरबाट फर्किएर गाउँमै सम्भावना देखाउन सङ्घर्ष गरिरहनुभएका रोकाको हौसलाका लागि श्रमदान गरिएको माओवादी केन्द्रले जनाएको छ ।  दश स्थानीय तह रहेको जिल्लामा दश हजार १८ दशमलव ०९ हेक्टर क्षेत्रफल खेतमा धान खेती हुँदै आएको छ । 

म्याग्दी:    ४ महिनाअघि अवरुद्ध भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक अझै सञ्चालन भएको छैन् ।   अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–खिवाङ–शिख–चित्रे सडक अन्तर्गत अन्नपूर्ण–५ घोप्टेखर्कमा गत असारमा पहिराले भत्काएको सडक मर्मत नहुँदा स्थानीयबासी र पर्यटकलाई समस्या भएको छ ।  स्थानीयबासीले पहिरोले साघुरिएको सडकको डिलतर्फ काठ राखेर जिपमात्र छिर्ने बनाएका छन् । काठको फल्याक र थाम भाचिएर दुर्घटना हुने उच्च जोखिम छ । सडक अवरुद्ध हुँदा घुम्न आउने पर्यटक र स्थानीयबासीलाई आवत जावतका साथै होटल ब्यवसायीहरुलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले बताउनुभयो ।  घोप्टेखर्कमा करिब १० मिटर सडकको डिलतर्फको भाग भत्किएपछि मोटरसाइकल बाहेक जिप, बस, ट्रक, ट्याक्टर वारपार गर्न सकेका छैनन् । पोखरेबगर–चित्रे–घोडेपानी सडक अन्तर्गत लुलीया र हल्लेखर्कको घुम्तिमा सडक भासिएपछि बस र ट्रक सञ्चालन हुन सकेको छैन् । वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा सो भन्दा बढी आन्तरिक पर्यटक आउँछन् । सडकको समस्याका कारण सवारी साधन मार्फत यसपालीको सरदयाममा घोडेपानीमा अपेक्षाकृत संख्यामा आन्तरिक पर्यटक भित्र्न नसकेका घोडेपानी होटल ब्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले बताउनुभयो ।  पहाडको टाकुरामा अवस्थित घोडेपानी र नजिकैको पुनहिल सुर्योदय, हिमशृङखला, पहाडी भूगोल, गुराँसे जंगल, वन्यजन्तु, पंक्षी, मगर संस्कृति लगायत आकर्षण रहेको छ ।  १८ किलोमिटर ५ सय ४० मिटर दुरीको पोखरेबगर–चित्रे सडक मार्ग खुलेको १५ वर्षपछि गत बर्ष स्थानीय पूर्वाधार विकास कार्यालय कास्की मार्फत करिब रु ३० करोडको लागतमा  ग्राभेल, ढलान र कालोपत्र गरिएको थियो ।  अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले पहिरोले क्षति पु¥याएको सडक मर्मतका लागि आयोजना कार्यालयले बेवास्ता गरेपछि गाउँपालिकालेनै मर्मत गर्न लागेको बताउनुभयो । 

धनकुटा:    बुढाहाङ सेवामा वढाङमी नाचको रन्को अरुणै कोशी,तमोरै कोशी बग्दछ सलल,  हा है बग्दछ सलल । दिसदिस (देशदेश)को माइती, चारथुम चेली, बेल फोरी बियाँ, भेटघाट इहाँ (यहाँ), निधारको छेरी (आँखीभौँ) सम्झिँदै खेरी,  वढाङ्मी मेला, पूर्णेझैँ झलल... यो वढाङ्मी (पापनी) नाचमा गाइन्ने मौलिक गीत हो । धनकुटाको खाल्सा क्षेत्र (हाल शहिदभूमि गाउँपालिका) मा बसोबास गर्ने किरात राई जातिले मनाउने वढाङ्मी पर्वमा नाचिने (पापनी) नाचमा यस्ता गीत गाइन्छ । यतिबेला धनकुटाको खाल्सा क्षेत्र वढाङ्मीमय भएको छ ।  घुरघरमा कुलपूजा गर्ने र नाचगान गर्ने कार्यले खाल्सा क्षेत्रका बासिन्दा ब्यस्त भएका छन् । यो क्षेत्रका बासिन्दाको प्रमुख पर्व भएकाले पर्वमय भएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई बताउनुहुन्छ ।  तान्त्रिक राजा बुढाहाङको सेवामा मनाइने वढाङमी पर्व र नाचिने नाच गीतको लय र ढोल झ्याम्टाको तालमा लहरै उभिएर गोलाकार रूपमा नाचिन्छ । यो कुनै लिखित नभएर पुर्खादेखि नै मुखाग्र गाउँदै आइएको गीत हो । यो एकल वा जोडी भएर पुरुष–महिला सबैले गाउँछन् । गायकी सुन्दा उनीहरूलाई आँशुकवि भन्दा फरक पर्दैन । हरेक गीतमा स्थायी र अन्तरा हुन्छन्, जसलाई घन्टौँसम्म गाएर नाचिन्छ । के हो वढाङ्मी ?  राईहरूको भाषा र संस्कृतिमा थर र गाउँपिच्छे विविधता र फरकपन पाइन्छ । यही विविधता र फरकपन धनकुटाको खाल्सा क्षेत्र (छिन्ताङ, आखिसल्ला र खोकु गाविस) हाल शहिदभूमि गाउँपालिकाका राई जातिको संस्कृति पनि फरक छ ।  उनीहरुको सांस्कृतिक धरोहरको रूपमा रहेको छ, वढाङ्मी पर्व र नाच रहेको छ ।कात्तिक पूर्णिमापछिको पहिलो मङ्गलबार साविक छिन्ताङ गाविस–४ (हाल शहिदभूमि गाउँपालिका–३) स्थित साकेन्वा थानमा पूजा गरेपछि वढाङ्मीको औपचारिक सुरुआत हुन्छ । यसपछि स्थानीय राईहरूले घरघरमा कुलपूजा गर्न थाल्छन् । कुलपूजामा फूल–अक्षता, पानसुपारीसँगै अण्डा, कुखुरा, परेवा र बङ्गुरको बली दिइन्छ । पूजापछि टोलको मुख्य घरमा लहरै उभिएर गीतको लयसँगै ढोल–झ्याम्टाको तालमा कुम जोडेर वढाङमी नाच नाचिन्छ । यसपालि मङ्सिर ४ गतेदेखि शुरु भएको यो पर्व र नाच  छिन्ताङ र आँखीसल्लामा मङ्सिर ९ गते र खोकुमा मङ्सिर १० गते सकिनेछ ।  यस नाच र पर्वको शुरुआतको विषयमा स्थानीयबासीमा एउटा गजबको किंबदन्ती रहेको छ । किंबदन्तीअनुसार परापूर्वकालमा खाल्सा क्षेत्रमा बुढाहाङ नाममा शक्तिशाली तान्त्रिक राजाले शासन गर्थे । ती राजा बुढाहाङका छ छोरी थिए । उमेर पुगेपछि उनीहरूले मनोरञ्जनका लागि बुवासँग अनुमति मागे ।  बुढाहाङले उनीहरूलाई छ दिन छुट्टी दिए । छुट्टी पाएपछि उनीहरू आँखिसल्लाको टप्पु भन्ने ठाउँमा वनभोज खान गए, विभिन्न जीवजन्तु र चराचुरुङ्गीको नक्कल गरी रमाए ।  उनीहरूको नाचलाई फेरि स्थानीयले देखे र नक्कल गरे । बुढाहाङका छोरीहरूको यही नाच अपभ्रंश भई ‘वढाङ्मी’ हुन पुगेको बढापाकाको भनाइ छ । अहिले पनि बुढाहाङका छोरीहरूले वनभोज खाएको र नाचगान गरेको स्थानलाई आँखिसल्लामा संरक्षण गरेर राखिएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष राईले बताउनु भयो ।  वढाङ्मी नाच उत्पत्तिको किंवदन्ती रोचक छ । जनश्रुति अनुसार परापूर्वकालमा त्यस क्षेत्रका राईहरूका पुर्खा बुढाहाङ भन्ने राजाको पालादेखि यो पर्व शुरु भएको हो । बुढाहाङ यति शक्तिशाली थिए कि, उहाँले समयलाई आफ्नो वशमा पारी रातलाई दिन र दिनलाई रात बनाउन सक्थे । उहाँलाई मार्न धनकुटाको बेलहराबाट सिकारीहरू आएका थिए । यो थाहा पाएर उहाँ दिनलाई रात बनाएर अलप हुनुभयो । त्यसैले उहाँ अझै पनि जिउँदै रहेको विश्वास गरिन्छ । वढाङ्मी गीतका गायक खनप्रसाद राई २४ घन्टासम्म निरन्तर यो गीत गाइने र नाचिने बताउनुहुन्छ । खनप्रसाद स्वयंसँग लगातार १५ घन्टासम्म गीत गाएको अनुभव छ । उहाँभन्नुहुन्छ, ‘गीत गाउने जोडी र नाच्ने समूह हुँदा दिन–रात बितेको पत्तो हुँदैन ।’  विस्तारै पाइला सार्दै नाचिने भएकाले थकाइ नलाग्ने र धेरै समयसम्म नाच्न सकिने स्थानीयवासीको अनुभव छ । यसमा चेली र माइती पनि एउटै लहरमा उभिएर नाच्छन् । खनप्रसादका अनुसार वढाङ्मी सामाजिक सद्भावको पर्व र नाच हो । यस नाचगानमा पारिवारिक सुखदुःख, रसरङका कुरा र देवीदेवताको गुनागानलाई समेटिन्छ । यो नाच विवाह, भोज र अन्य खुसियालीमा पनि नाचिन्छ । यसलाई स्थानीयस्तरमा पापनी लहरे–नाच भनिन्छ । तर, वढाङ्मीको बेला र बिहेमा गाउने गीत भने फरक हुन्छ । वढाङ्मीका बेला बुढाहाङ राजाको गुनगान, देवीदेवताको चर्चा गरिन्छ भने अन्यबेला रसरङको चर्चा हुने गरेको खनप्रसादले बताउनु भयो । स्थानीयको कुलपूजालाई ‘माङ्ला’ भनिन्छ । स्थानीय छिन्ताङ भाषामा ‘माङ्’को अर्थ देवता र ‘ला’को अर्थ चढाउनु हो । अर्थात उत्पादित बाली देवतालाई चढाउनु । आँखीसल्लाका ७८ वर्षीय गोविन्द राईका अनुसार खाल्सा क्षेत्रका राईहरूको चुलो (राई जातिका प्रत्येक घरभित्र तीनवटा चुलो, जसमा कुलपूजा गरिन्छ) सँगै स्थानीय देवीहरूको थानमा पूजा हुने हुने गरेको छ । खासगरी छिन्ताङ जाल्पादेवी मन्दिर, पञ्चकन्या, ढुकुरसिं थानी, देउलिंगे, टप्पुदेवी, ज्वालादेवी लगायत स्थानमा पूजा गरिन्छ । यी देवी र थानलाई स्थानीय राई र अन्य जातिले पनि आफ्नो कुलदेवताकै रूपमा मान्ने गरेका छन् । कुलपूजा र नयाँ बाली शहिदभूमि गाउँपालिका–३ का पूर्व वडाअध्यक्ष योगेन्द्र राईका अनुसार नयाँ बाली भित्रिएको खुसीयालीमा छ दिनसम्म मनाएर वढाङ्मी पर्वको बिदाइृ गरिन्छ । नयाँबाली पाकेपछि कुलदेवतालाई चढाएर मात्र आफूले खानु किरात राई जातिको परम्परा हो । त्यसैले वढाङ्मीमा अर्को वर्ष पनि खेती राम्रो होस्, रक्षा–क्षमा गर्नु भनी आशीर्वाद माग्ने चलन छ ।नाचगान शुरु गर्नुअघि बुढाहाङको नाममा एकजोडी परेवाले क्षमापूजा गरिन्छ ।  नाचगान गर्दा कुनै झगडा र दुःख नहोस् भनेर क्षमा पूजा गरिन्छ । जुन घरको आँगन वा टोलमा नाचिन्छ, त्यो घर वा टोलले नाङ्लोमाथि दियो, कलश, फलफूल, चिन्दोमा रक्सी, डबका जाँड राखेर आशिकभारा (आशिष माग्ने) गरिन्छ । नाचगान गर्ने सबैको शिर उठाउने र नाचगान गर्ने घर वा टोलको नाम चर्चा गर्नका लागि पञ्च भलाद्मी राखेर आशिषभारा गरेपछि यो पर्व पूरा हुन्छ । उन्मुक्त छोरीचेली यो पर्वमा छ दिनको मेला र छ दिनको बारण (बार्ने) भन्ने चलन छ । पर्वका अवसरमा बुढाहाङ राजाले आफ्ना सहयोगी र राज्यका नागरिकलाई समेत छुट्टी दिएका थिए । त्यसैले खनजोत गर्न नहुने भनेर बार्ने चलन रह्यो। यो चलन अहिले पनि छ । वढाङ्मी मनाउनकै लागि घरको सबै कामलाई रोकिन्छ । कसैले हलो जोत्दैनन्, कोदालो खन्दैनन् ।यो पर्वमा विशेषतः छोरीचेलीलाई छुट दिइन्छ ।  यो दिन छोरीचेलीलाई काम नलगाउने र उनीहरूले कुनै गल्ती गरे पनि गाली गर्न नहुने मान्यता छ । गाली गरे बुढाहाङ र देवीदेवता रिसाउने, घरमा दुःखबिरामी पर्ने बुढापाकाको विश्वास छ । त्यसैले चेलीहरू यी छ दिन विशेष स्वतन्त्र हुन्छन् । आफ्ना दौतरीसँग हाँसखेल र नाचगान गर्न स्वतन्त्र छन् । अहिले नारी हक–अधिकार र स्वतन्त्रताको आन्दोलन र बहस चलिरहेको छ । तर, धनकुटाको खाल्सा क्षेत्रका राई जातिका महिलामा सदियौंदेखि स्वतन्त्रताको अभ्यास छ । शहिदभूमि गाउँपालिकाका अध्यक्ष राई भन्नुहुन्छ्, ‘देवी–देवताको नाममा भएको यो परम्पराले आजका महिलालाई पनि स्वतन्त्रताको पैरवी गरेको छ ।’ धामीझाँक्रीको मन्दुम राई जातिले तीनचुलोमा कुलपूजा गर्दा होस् वा देवीदेवताको थानमा पूजा गर्दा होस्, धामीझाँक्रीले मुन्दुम फलाक्छन् । यस क्षेत्रका धामी झाँक्रीहरू (छाम्बाक, ङाङशुभा, तालुकसुङपा) ले देवीदेवतासँग मुन्दुम गाउँदै वरदान मागिन्छ ।  शहिदभूमि गाउँ गाउँपालिका–३ का भक्तविर राई (छाम्बाक) ले मेलामा आएर साकेन्वा र पञ्चकन्या डाँडामा रहेको देवीदेवताको अगाडि शक्ति माग्दै सेवापूजा (भक्तिपूजा) गरिरहेको बताउनुहुन्छ । यहाँका एक दर्जन धामीझाँक्रीले ढोल–झ्याम्टा, खुँडा, तरबार बोकेर मुन्दुम गाउने चलन छ । किरात धर्म–संस्कृति अनुसार, मुन्दुम देवी–देवताले सिकाएको मानिन्छ । आठपहरिया जातिको वढाङमी/वाडाङमेट खाल्सा क्षेत्र (शहिदभूमि) का राई जातिको वढाङमी पर्वसँगै धनकुटा नगरपालिका क्षेत्रभित्रका थातथलोमा बस्ने आठपहरिया जातिको पनि वढाङ्मी पर्व मनाउँदै नाचगान गरिरहेका छन् । आठपहरिया जातिको यो पर्व हिन्दूहरुको दशँै जस्तै महत्वपूर्व रहेको छ ।  यो पर्वमा पितृ पूजासँगै वर्षभरि देहान्त भएका आफन्तको बरखी बारेकाहरु दुःखबाट चोखिने, नयाँ घर बनाए छ भने चोख्याउने, पहिलो सन्तान छोरो जन्मिएको घरमा हर्षबढाई गर्ने चलन रहेको धनकुटा नगरपालिका–५ का अष्टबहादुर आठपहरियाले बताउनुभयो ।  कात्तिकको भाइटिकाको दिन जमरा राख्ने र माड उठाउने(देवी आह्वान) गर्ने कामसँगै मङ्सिरको औंसीको दिनसम्म यो चाड मनाउने गरेका छन् ।       चाड शुरु भएपछि गाउँटोलमा ढोल नाच्ने, बराह र मार्गाको मुन्धुम गाउने (स्तुतिगान) चलन छ । यस बीचमा मङ्सिर पूर्णमाको चार दिनअघि वर्षभरि आफन्तको देहान्त भएर बरखी बारेका परिवार र उहाँका आफन्तले सुनसरीको बराहक्षेत्र मन्दिरमा पैदाल हिडेर दर्शन गरी चोखिने चलन रहेको अष्टबहादुरले बताउनुभयो ।   परापूर्वकालमा तेह्रथुमको पञ्चकन्यामा विष्णु भगवानले बराह अवतार लिएको बेला कन्दमूल खोजिखाने क्रममा फाक्चामाराका लिम्बु जातिले घेराहाली काटेर घाइते बनाएका थिए ।  घाइते भएका बराह धनकुटाको भगुवाखोला, भुल्केआहाले हुँदै सुनसरीको कोकाहा खोलामा आराम गरी बसेको किंबदन्ती रहेको छ । बराहलाई आठपहरिया जातिको इस्टदेवी मार्गा थानीको दाइको बराहलाई पुज्ने गरेका छन् । त्यसैले आठपहरिया जातिले मार्गालाई आमा र बराहलाई मामाको रुपमा पूजा गर्ने चलन रहेको छ ।  सप्तकोशी नदीको किनारामा रहेको बराहक्षेत्र मन्दिरमा रहेको बराहको दर्शन गरी त्यहाँको पानी ल्याएर घर चोख्याउने र बराहलाई धनकुटा आउन निम्तो दिने परम्परा रहेको अष्टबहादुरले बताउनु भयो ।  वढाङ्मेट पर्वको अवसरमा माङकाटा (धामी) बाट जोखाना हेर्ने, शुभकार्यको लागि दियो बत्ती हेर्ने, ढोल झ्याम्टा बजाउँदै वढाङमी नाच्ने र मारुनी नाच्ने चलन रहेको छ । 

तनहुँ:     समुद्री सतहबाट २ हजार १ सय ३४ मिटर उचाइमा रहेको आँबुखैरेनी–५ छिम्केश्वरी लाब्दीमा २० रोपनी जमीनमा व्यावसायिक रायो सागखेती गरिएको छ ।  किसानले उत्पादन गरेका कृषि उपज बिक्री सहजका लागि गाउँपालिकाले  हाटबजारको व्यवस्था मिलाएपछि यहाँका किसान व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । स्थानीय सङ्गिता गुरुङ, टीकामाया गुरुङ, आइतमाया गुरुङ, लक्ष्मण गुरुङ लगायकाले प्रत्येकले दुई÷तीन रोपनीका दरले साग खेती गरेका हुन् ।  गाउँपालिकाले किसानलाई थप हौसला प्रदान गर्न उत्पादनको आधारमा प्रतिकिलो २५ रुपैयाँ अनुदानको व्यवस्था गरेको आँबुखैरेनी कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो ।  उहाँका अनुसार छिम्केश्वरीका किसानले उत्पादन गरेका कृषि उपज हाटबजारसम्म ल्याउन ढुवानीको समेत व्यवस्था गरिदिएको छ । दिनमा २ सय ५० देखि ३ मुठासम्म साग बिक्रीका लागि ल्याउने गरिएको उहाँले बताउनुभयो ।   यहाँ उत्पादित सागप्रति मुठा रु १ सयमा बिक्री हुने गरेको छ । नाङ्गलो जस्ता सागको पात देख्दा उपभोक्ता किन्नका लागि भीड नै लाग्ने गर्दछन् । यहाँ उत्पादित साग रसिला र मीठो पनि उत्तिकै हुने भएकाले उपभोक्ताको  रोजाइमा साग पर्ने गरेको छ । जलवायु परिवर्तनको असरका कारण कीराको प्रकोप हुँदा सागका पात खाने समस्या भएको छ,उहाँले भन्नुभयो “जलवायु मैत्री कृषि प्रविधितर्फ गाउँपालिकालाई उन्मुख गराउने योजना बनाइएको छ ।” जैविक विषादी निमजन्य विषादी कृषि शाखाले निःशुल्क रुपमा किसानलाई उपलव्ध गराउँदै आएको  गाउँपालिकाले जनाएको छ ।  अघिल्लो वर्ष सागलगायतका तरकारी बिक्री गरेर १ किसानले ५०÷६० हजारसम्म आम्दानी गर्न सफल भए पनि यसवर्ष कीराको प्रकोपका कारण आम्दानी घट्ने देखिएको कृषि शाखा प्रमुख केसीले बताउनुभयो ।  गाउँपालिकाले रु ४० लाखको लागतमा वार्षिक २ लाख ५० हजार भाडा बुझाउने गरी जग्गा भाडामा लिएर दुई वर्षदेखि आँबुखैरेनी बजार क्षेत्रमा हाटबजार सञ्चालनमा ल्याएको हो ।  गाउँपालिकामा उत्पादित बाँसजन्य सामग्रीका साथै मह,घीउ, दही, पनिर, बेसार, अदुवा, अकबरे खुर्सानी, मकै, भटमास, स्कुस, बरेला, बोडी, च्याउ र बेमौसमी केराउ लगायतका कृषि उपज बिक्री वितरणमा सहज भएको छ ।  व्यावसायिक रुपमा यहाँका स्थानीयले तरकारी लगायतका कृषि उपज उत्पादन गर्न थालेपछि महिला आयआर्जनमासमेत सबल बन्दै गएको वडाध्यक्ष सन्तोष गुरुङले बताउनुभयो । यहाँ उत्पादित कृषि उपज तल बेसीमा रहेको हाटबजारसम्म लगेर बिक्री वितरण गर्ने व्यवस्था मिलाइएपछि किसान उत्साहित भएर उत्पादनमा लागेका उहाँले जानकारी दिनुभयो । 

काठमाडौं:    कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन थालेको छ । गत असोजको बाढीपहिरोले  देशभर भएको क्षतिको विवरण सङ्कलन प्रदेशस्थित कृषि कार्यालयमार्फत थालिएको उक्त मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताउनुभयो ।  वास्तविक किसानको नोक्सानीको विवरण सङ्कलन भएपछि उनीहरुलाई विभिन्न दातृ निकाय तथा विकास साझेदारसँग समन्वय गरी सहयोग गर्ने सरकारको योजना छ ।   सूचना अधिकारी जोशीका अनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेपलाञ्चक जिल्लामा क्षति भएको छ । बाढीबाट रु ६ अर्बको क्षति भएको मन्त्रालयको अनुमान छ ।  

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँका शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुङ्गानाको निवासमा पुगेर उहाँप्रति श्रद्धाञ्जली  व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्नुभएको हो ।  पूर्वसभामुख ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा गत आइतबार निधन भएको हो । उहाँ लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।