पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । नगर प्रमुख धनराज आचार्यले एक समारोहका बिच सो घोषणा गर्नुभएको हो । नेपाल सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि प्रत्येक वर्ष नगरभित्रका सबै बालबालिकाहरूले तोकिएका खोपहरू प्राप्त गरेको सुनिश्चितता सहित यस्तो घोषणा गर्ने गरिन्छ । नगर प्रमुख आचार्यले बालबालिकाहरूको सुरक्षित भविष्य निर्माणका लागि उनीहरूले प्राप्त गर्नुपर्ने सबै प्रकारका खोपहरू सहित स्वास्थ्य सम्बन्धी सेवाहरू समयमा नै उपलब्ध गराउनु पर्ने दायित्व प्रति आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । बालबालिकाहरूका लागि आवश्यक खोप तथा पोषणका कार्यक्रमहरू प्रभावकारी ढङ्गले सञ्चालन गर्न उहाँले स्वास्थ्यकर्मीहरूलाई निर्देशन समेत दिनुभयो । स्वास्थ्य सम्बन्धी अभियानहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुको भूमिका उल्लेखनीय हुने गरेको बताउँदै उहाँले पूर्ण खोपको सुनिश्चिततामा समेत उनीहरूको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख मन्जुदेवी गुरुङले बालबालिकाहरूका लागि खोप एक प्रभावकारी र अत्यावश्यक कार्यक्रमका रूपमा सञ्चालन गरिएको बताउनुभयो । महानगरपालिका क्षेत्रमा रहेका सबै बालबालिकाहरूलाई समयमा नै खोप उपलब्ध गराउने दायित्व प्रति आफूहरू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । बालबालिकाको स्वास्थ्य सुरक्षा विना स्वस्थ नागरिकको सामाजिक आवश्यकता पूर्ति गर्न नसकिने उहाँले बताउनुभयो । स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले आफूहरूको महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता सहित दिगोपना घोषणाका लागि निरन्तर अभियानहरू सञ्चालन गरेको बताउनुभयो । विगत एक वर्षको अवधिमा ०–१५ महिनासम्मका ५ हजार ३४१ र १६–२३ महिनासम्मका ४ हजार १५० बालबालिकाहरूको घरघरमा पुगेर खोपको अवस्था यकिन गरिएको स्वास्थ्य महाशाखा प्रमुख पौडेलले बताउनुभयो । अभियानका क्रममा जन्मदेखि कुनै पनि खोप प्राप्त नगरेको एक जना बच्चा फेला परेको र उक्त बच्चालाई समेत खोपको पहुँचमा ल्याइएको महाशाखाले जनाएको छ । यस क्रममा ४१ जना बालबालिकाहरूले पूर्ण खोप प्राप्त नगरेको पाइएपछि उनीहरूलाई समेत पूर्ण खोप लगाइएको छ । पोखरा महानगरपालिका वडा नं.१२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले बालबालिकाहरूको स्वास्थ्य प्रवर्द्धन र आधारभूत खोपको सुविधा उपलब्ध गराउन सबै वडा कार्यालयहरू प्रतिबद्ध रहेको बताउनुभयो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीकी अध्यक्ष भीमा पौडेलले बालबालिकाहरूलाई आवश्यक खोप तथा पोषणका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने हरेक अभियानहरूमा महिला स्वयमसेविकाहरुको भूमिका उल्लेखनीय हुने गरेको बताउनुभयो । नगर क्षेत्रका खोप लगाउनु पर्ने बालबालिकाहरूलाई खोप लगाएको सुनिश्चित भएपछि महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको जनस्वास्थ्य अधिकृत तेजाखर लम्सालले बताउनुभयो । कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिले बालबालिकाको स्वास्थ्य प्रवर्द्धनको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताएका छन् । पूर्ण खोप भन्नाले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनु पर्ने सबै खोपहरू, सबै बालबालिकाहरूले पूर्ण रूपमा लिएको एवं पछि तालिकामा अन्य खोपहरू थप भएमा सो समेत लिएको अवस्थालाई बुझिन्छ भने पूर्ण खोप सुनिश्चितताको लागि १६ महिना देखि ५९ महिना सम्म उमेरको बालबालिकाहरूमा खोप अवस्थाको पहिचान र विश्लेषण गरिन्छ ।
काठमाडौं: नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा ढुण्डीराज भट्टराई नियुक्त हुनुभएको छ । डा भट्टराईलाई नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधन सहित) को दफा ८ को उपदफा ८.१.१ बमोजिम रहने नेपाल खानेपानी संस्थान संचालक समितिको अध्यक्ष पदमा सोही ऐनको दफा ११.१ बमोजिम तीन वर्षका लागि नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयानुसार नियुक्त गरिएको खानेपानी मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले बताउनुभयो । अध्यक्ष नियुक्त हुनु भएका डा भट्टराई अर्घाखाँची भूमिकास्थान नगरपालिका–९ का स्थायीवासी हुनुहुन्छ ।
ललितपुर: पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिको पक्षमा पार्टी एकतालाई अगाडि बढाएको बताएका छन् । नेकपा (माओवादी केन्द्र)र समाजवादी पार्टीबीच पार्टी समायोजनका लागि आज ललितपुरमा आयोजित कार्यक्रममा उनले गत आमचुनावदेखि नै एकताको पक्षमा छलफल चलाएको र विचार, राजनीतिक आस्थाका आधारमा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया निरन्तर जारी रहेको उल्लेख गरे। ‘सबै कम्युनिस्ट एक ठाउँमा हुँदा जनमत ठूलो हुन्छ, यो एकताले ठूलो ढोका खोल्नेछ, महेन्द्र राय यादवसँग पनि छलफल भइ नै रहेको छ । पार्टीको नामको कारणले उहाँ महाधिवेशनसम्म बहिरै हुन चाहनु भएको छ, उहा पनि यो एकता प्रक्रियामा समाहित हुनुहुनेछ’, प्रचण्डले भने, ‘गंगानारायण श्रेष्ठले जे प्रतिबद्धता गर्नुभएको छ, त्यो सराहनीय छ ।’ आज सुरु भएको प्रयास दूरगामी राजनीतिक महत्त्वको प्रयास भएको बताउँदै उनले आजको प्रयासले शक्तिशाली समाजवादी आन्दोलनलाई अगाडि बढाउने धारणा राखे। आफूसहित नेपाल समाजवादी पार्टीका नेताहरूलाई नेकपा (माओवादी केन्द्र)मा समायोजन भएको अवसरमा गरिएको समझदारी पत्रमा हस्ताक्षर गरेपछि नेता गंगानारायण श्रेष्ठले नेताहरूको दोष नहुँदानहुँदै पनि समृद्धिको यात्रामा समाजवाद निर्माणका लागि बहसलाई अगाडि बढाउने क्रममा पार्टी छिन्नभिन्न हुन पुगेको बताए। उनले विगतको प्रयोगबाट नेपालको समृद्धि हासिल गर्ने परिणाम आउन नसकेको तर्क गरे । नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिमा रहेका दुई तिहाइ सदस्यले अनुमोदन गरेर एकतामा आएको श्रेष्ठले स्पष्ट पारे। उनले हिजो जानअन्जानमा गरेका गल्तीबाट देश र पार्टीले क्षति भोग्नुपरेको भन्दै विचार र राजनीतिक एजेन्डा मिल्नेहरू छुट्टाछुट्टै भएर बस्नु आवश्यक नभएकाले एकता प्रक्रियामा सामेल भएको बताए। महासचिव देव गुरूङले समाजवादी क्रान्तिका लागि यसका पक्षधरसँग एकतालाई निरन्तरता दिने जानकारी गराए। उनले जनवादी केन्द्रीयताको मान्यता अनुरूप पार्टी अगाडि बढ्ने जानकारी गराए। दुई पार्टीबीच पार्टी समायोजनपश्चात् गंगानारण श्रेष्ठलाई सचिवको जिम्मेवारी दिइएको महासचिव गुरूङले जानकारी दिए।
काठमाडौं: काठमाडौंको बसुन्धरामा दुर्घटनामा परी एक किशोरीको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ बसुन्धरा सडकमा म प्र ०२–०३४ प ६२५७ नम्बरको स्कुटरले पैदलयात्रुलाई ठक्कर दिँदा स्कुटरमा सवार महोत्तरी घर भई काठमाडौँको चावहिल बस्ने १८ वर्षीया मनिसा परियारको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा ग्रिनसिटी अस्पतालमा आज निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते पैदलयात्रुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले स्कुटर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।
काठमाडौं: नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सोमबार बसेको माओवादी पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा छानविनका लागि रमेश लेखकले राजिनामा दिएर मार्गप्रसस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो । बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले गृहमन्त्रीले तुरुन्त राजीनामा दिएर छानबिनलाई सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको बताउनुभयो । उहाले राज्यका निकायहरूले छानबिन नै सुरु गरिसकेको अवस्थामा शक्तिको दुरुपयोग हुन नदिन पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गर्नुभयो । गृहमन्त्रीले राजीनामा दिन ढिला गरे राज्यको साख गिर्दै जाने उहाँले बताउनुभयो । त्यस्तै पदाधिकारी बैठकले मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान सफल भएको निष्कर्ष निकालेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । उहाले अभियान निकै प्रभावकारी भएको र जनताको उपस्थीति र आकर्षण गुणात्मक ढंगले बढेको पार्टीको निष्कर्ष रहेको उल्लेख गर्नुभयो ।
काठमाडौं: माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सहभागी हुन चाहने विद्यार्थीका लागि रजिस्ट्रेसन फाराम भर्ने म्याद पुनः थप गरिएको छ। परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी, भक्तपुरले यसअघि वैशाख १२ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचनामार्फत जेठ ११ गतेलाई अन्तिम म्याद तोकेको थियो। तर विद्यालय, विद्यार्थी तथा अभिभावकहरूबाट आएको मागको सम्बोधनस्वरूप उक्त म्यादलाई जेठ ३० गतेसम्म कायम हुने गरी थप गरिएको छ। यस अन्तर्गत विद्यालयहरूले विद्यार्थीको फाराम संकलन गरी तोकिएको शुल्क बुझाएर प्राप्त भौचरसहित असार ८ गते आइतबारसम्म सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा पेश गर्नु पर्नेछ। यसका अतिरिक्त, रजिस्ट्रेसन फारामसम्बन्धी अन्य कार्यतालिका भने अघिल्लो सूचनाअनुसार नै यथावत् रहने सोमबार बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकममा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका र पोखरा रानीपौवामा रहेको मेडि प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको प्राविधिक सहयोग र पोखरा १० राम बजारमा रहेको नरहरी पोलिक्लिनकको ब्यवस्थापनमा सम्पन्न शिविरमा ९ सय ५७ जनाले स्वास्थ्य जाँच गराएका थिए । शिविरमा ३ सय २५ जनाले भिडियो एक्सरे, ४ सय जनाले इसिजीको सेवा लिएका थिएभने अन्यले स्वास्थ्य परिक्षण, परामर्श र निःशुल्क औषधी सम्बन्धी सेवा लिएका थिए । शिविरमा नाक, कान, घाँटी, स्त्री तथा प्रसुतिरोग, मुटु, छाती, पेट, हाडजोर्नी, नशा, बाल र छालारोग सम्बन्धी परिक्षण तथा सुगर र प्रेसरको परिक्षण गरिएको थियो । शिविरमा धवलागिरी गाउँपालिकाका ताकम, धारापानी, हिलापोखरी, शिवाङ, काफलडाँडा, मच्छिम, मुना, पलीयागाउँ, दर, मुदी, खिवाङ, खोरीया, लमसुङ, लुलाङ, गुर्जा लगायतका बासिन्दाहरुको सहभागीता रहेको थियो । शिविरमा चिकित्सकहरु एशोसिएट प्रोफेसर डा. सरोज पोखरेल, एशोसिएट प्रोफेसर डा. रोशन पंगेनी, डा. आनन्द भट्टराई, डा. नारायण ओझा, कल्याण बराल, रेखा गाहा, उज्वल शाह, प्रदीप सिग्देल, रेशम राना, उज्वल भण्डारी, सुमित शाह, सदिक्षा गुरुङ, आर्या भण्डारी, निज्ञा श्रेष्ठ, विनिता रानाभाट, अच्युत आचार्य, शोभाकर पाण्डे, प्राविधिक सहयोगीहरु नरहरि पनेरु, सन्दिप केसी, नर्सहरु सुस्मिता विश्वकर्मा, सलिना गुरुङ, नम्रता भट्टराई, अस्मिता विश्वकर्मा, शारदा गुरुङ, फार्मेसी तर्फ अमृत बस्नेत, सुजन राजभाट, निश्चल रानाभाट, दिल बहादुर क्षत्री, ल्याब टेक्निसियन समिता बिक संगै ताकम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सहजीकरण गरेका थिए । स्वास्थ्य शिविरको उद्घाटन गर्दै धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले पोखरामा रहेको युनाईटेड क्लबले आफ्नो गाउँपालिकामा आएर स्वास्थ्य शिविरको आयोजना गरि आफ्नो गाउँपालिका बासीलाई स्वास्थ्य सेवा प्रदान गरेकोमा आभार प्रकट गरे । धवलागिरी गाउँपालिकाको ग्रामीण भेगमा बसोवास गर्ने सेवाग्राहीलाई स्वास्थ्य शिविरले ठूलो लाभ प्राप्त भएको बताउदै अध्यक्ष पुनले युनाईटेड क्लबको सामाजिक कामको प्रशंसा समेत ब्यक्त गरे । युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लबे स्थापना कालदेखिनै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा काम गर्दै आइरहेको र धवलागिरी गाउँपालिकाको ताकम जस्ता विभिन्न ग्रामीण भेगमा वर्षेनी स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको बताए । स्वास्थ्य शिविरमात्र नभइ क्लबले आर्थिक अभावमा उपचार गराइरहेका बिरामीहरुलाई समेत अस्पतालमा पुगेरै आर्थिक सहयोग संगै विशेषगरी ग्रामीण बस्तीमा बसोबास गर्ने समुदायलाई लक्षित गरी युनाईटेड क्लबले स्वास्थ्य शिविरलाई निरन्तरता दिएको उनको भनाइ रहेको थियो । धवलागिरी गाउँपालिकाका कार्यकारी अधिकृत मोति प्रसाद अर्यालले युनाईटेड क्लबले आफ्नो उद्देश्य अनुरुप स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर धवलागिरी गाउँपालिकामा स्वास्थ्य शिविरको आयोजना गरेकोमा धन्यवाद ब्यक्त गरे । धवलागिरी गाउँपालिका वडा नं ७ का अध्यक्ष अशोक खत्रीले युनाईटेड क्लबले ताकममा आयोजना गरेको स्वास्थ्य शिविरले आफ्नो वडा भित्रका मात्र नभइ धवलागिरी गाउँपालिका भित्रका विभिन्न गाउका बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्न सफल भएको बताउदै क्लब प्रति अभार प्रकट गरे । सो अवसरमा वोल्दै मेडि प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका अध्यक्ष तथा ल्याप्रोस्कोपी सर्जन डा. आनन्द भट्टराईले युनाईटेड क्लब संगको सहकार्यमा विगतमा जस्तै यो पटक पनि धवलागिरी गाउँपालिकामा बृहत स्वास्थ्य शिविरको आयेजना गरिको बताए । ग्रामीण भेगमा अझैपनि स्वास्थ्य सेवाको पहँुच पुग्न नसकिरहदा स्वास्थ्य शिविर मार्फत रोगको पहिचान गराउन सहयोग पुग्ने उनको भनाइ रहेको थियो । त्यस्तै मेडि प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका एशोसिएट प्रोफेसर डा. सरोज पोखरेलले ग्रामीण भेगमा हुने स्वास्थ्य शिविरले स्वास्थ्यको पहँचमा नपुगेकाहरुलाई थोरै भएपनि समेटिने भएकाले स्वास्थ्य शिविरले उल्लेख्य भुमिका खेल्ने बताए । युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लबले स्थापना कालदेखिनै विभिन्न ग्रामीण भेगहरुमा स्वास्थ्य शिविरको आयोजना गरी सेवाग्राहीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको र यो पटक म्याग्दीको ताकममा शिविरको आयोजना गरेको बताए । यस पटकको शिविरमा पनि विगतमा जस्तै उल्लेख्य सेवाग्राहीको सहभागीता रहेको र आफुहरुको कार्यक्रम सफल भएको बताए ।
काठमाडौं: नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको दाबी गरेको छ । सोमबार बसेको पदाधिकारी बैठकले लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए । बैठकपछि उनले भने, ‘उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौँ । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’ आजै बसेको माओवादी बैठकले भने लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ । यस्तै प्रतिपक्षी दलहरूले मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्धको तयारी गरेका छन् ।
सोलुखुम्बु: सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौं सातामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अब हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नेपाल एयरलाइन्सको जहाजले उडान भर्नेछ । नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक खराबीका कारण लामो समयदेखि अवरुद्ध फाप्लु–काठमाडौँ हवाई सेवा पुनःसञ्चालन भएको हो । प्राधिकरण फाप्लुका वरिष्ठ अधिकृत भानुभक्त आचार्यका अनुसार जहाज मर्मत सम्पन्न भएसँगै पुनःउडान सञ्चालन सम्भव भएको हो । यसअघि साताको एक दिन उडान भर्दै आएको जहाज ‘ग्राउण्डेड’ हुँदा लामो समय फाप्लुमा उडान हुन सकेको थिएन । नेपाल एयरलाइन्स फाप्लुका स्टेशन प्रमुख तेन्जी शेर्पाका अनुसार गत पुस महिनादेखि चैत्रसम्म सो मार्गको हवाई सेवा पूर्णरूपमा ठप्प भएको थियो । सल्लेरीका व्यवसायी महेश अधिकारीले भन्नुभयो, “जहाज नियमित आउन थालेपछि काठमाडौँ जानआउन ‘बिपी राजमार्ग’ को कष्टकर सडक यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । तर यो सेवा निरन्तर र भरपर्दो हुनुपर्छ, केवल अस्थायी रूपमा मात्र होइन ।” विगतमा जहाज नचलेको अवस्थाले धेरैको यात्रा, व्यापार, आपत्कालीन उपचार र अत्यावश्यक काममा कठिनाइ भोग्नु परेको थियो । पुनः सुचारु भएको उडानबाट पर्यटकीय जिल्लामा पर्यटन व्यवसायी उत्साहित बनेको ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल ९टान० का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताउनुभयो ।