गोरखा: भक्तजनहरू मठमन्दिरमा पूजाआजा गरेर के अर्पण गर्छन् ? सबैको उत्तर हुन्छ, “फूल, अक्षता, भेटी अनि नैवेद्य ।” कोही भक्तजनहरूले लुगाकपडा, गरगहना र अन्य खाद्यान्न सामग्री पनि चढाउँलान् । तर, गोरखामा एउटा यस्तो मन्दिर छ जहाँ देवीलाई गाईभैँसी बाँध्ने दाम्लो चढाइन्छ । गोरखा नगरपालिका–५, पस्लाङस्थित नाम्रुङदेवी थानमा पूजाआजा गरेर ‘दाम्लो’ चढाउने सयौँ वर्षदेखिको चलन अहिले पनि कायमै छ । “गाईवस्तु बिरामी भएमा वा ब्याउन गाह्रो भएमा नाम्रुङदेवीको भाकल गर्छौँ”, मन्दिरको पुजारीसमेत रहनुभएका स्थानीय जुनबहादुर रानामगर भन्नुहुन्छ, “अनि आफूलाई अनुकूल समय मिलाएर थानमा पूजा गरेर दाम्लो चढाउने चलन छ । भाकल गरेपछि अहिलेसम्म पूरा पनि भएको छ ।” मन्दिरमा दाम्लो चढाउन गोरखा र आसपासका जिल्लाबाट समेत भक्तजन आउने गरेको उहाँले बताउनुभयो । “गोरखा, तनहुँ, लमजुङ, चितवनबाट यहाँ पूजा गर्न र दाम्लो चढाउन आउँछन्”, उहाँले भन्नुभयो । किसानले पशुपालन फस्टाउन्, बालीबाली राम्रो होस्, रोगव्याध नफैलियोस्, दूध पर्याप्त देओस् भनेर पूजा गरी दाम्लो चढाउने गरेको उहाँको भनाइ छ । नाम्रुङदेवीथानमा स्थानीय जातको कुखुराको अण्डा गाडेर मौसम परीक्षण गर्ने चलन पनि छ । “यहाँ हरेक वर्ष चण्डी पूर्णिमाको दिन दुईवटा लोकल कुखुराको अण्डा गाड्ने चलन छ”, उहाँले भन्नुभयो, “अर्को वर्षको चण्डी पूर्णिमामा त्यसलाई निकाल्दा जस्ताको तस्तै रह्यो भने त्यो वर्ष शुभ हुन्छ भन्ने विश्वास गरिन्छ । अण्डा बिग्रियो, कुहियो भने अशुभ हुन्छ भनेर अनुमान गरिन्छ ।” अण्डा बिग्रिएमा हुरीबतास, असिनापात, भेल, बाढी, वर्षा, डढेलो वा महामारीले गाउँलेलाई दुःख दिने जनविश्वास छ । यहाँ दाम्लो चढाएर पूजा गर्ने चलन कहिलेबाट सुरु भयो भन्ने एकिन नभए पनि तनहुँसुरमा मुकुन्दसेन द्वितीय राजा र गोरखामा नरभूपाल शाह राजा हुँदादेखि पूजा गर्ने गरेको अभिलेख भेटिने गोरखा सङ्ग्रहालयका पूर्वकर्मचारी, इतिहासका जानकार गणेशप्रसाद भट्टराई बताउनुहुन्छ । उहाँका अनुसार नाम्रुङदेवीथानमा असारको पूर्णिमामा विशेष पूजाआजा र मेला लाग्ने चलन छ । दैनिक नियमित पूजा पनि हुने गर्छ । पूजारी भने मगर समुदायबाट चुनिन्छन् । यहाँ कुखुरा, परेवा, बोका पाठा बलि चढाइने भट्टराईले बताउनुभयो । पहिले सरकारले पूजा खर्च दिने गरेकामा केही वर्षयता खर्च कटौती गरिएको छ ।
पाल्पा: हुरीबतास र वर्षाका कारण पाल्पामा जारी दोस्रो तानसेन महोत्सव प्रभावित भएको छ । तानसेनको कृषि, रोजगार, पर्यटन तथा व्यापारलाई लक्षित गरी यही चैत २२ गतेदेखि सञ्चालन गरिएको महोत्सव बुधबार दिउँसोदेखिको वर्षा र हुरीबतासले प्रभावित भएको हो । बुधबार दिउँसो कार्यक्रमको तयारी भइरहेका बेला अचानक वर्षा र हुरीबतास चलेपछि महोत्सवमा भाग दौड मच्चिएको थियो । कार्यक्रममा आफ्नो प्रस्तुति देखाउन आएका स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारसमेत आफ्नो कला देखाउनबाट वञ्चित भए । असिनासहित वर्षा भएपछि महोत्सव हेर्न भेला भएका हजारौँ बालबच्चादेखि बूढापाकाबीच भागदौड मच्चिएको थियो । वर्षाका कारण सांस्कृतिक कार्यक्रम स्थगन गरी आज सञ्चालन गर्ने तयारीमा आयोजक थिए । बुधबार राति नै ठूलो हुरीबतास र वर्षाका कारण महोत्सवस्थलमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वार, घेरबारलगायतमा क्षति पुगेको छ । त्यसले गर्दा महोत्सव नै अनिश्चित बनेको छ । महोत्सवस्थलमा राखिएका विभिन्न स्टलका सामानसमेत हावाले उडाएको व्यापारीले बताएका छन् । हुरीबतासले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षा र हावाहुरीका कारण महोत्सवस्थलमा ठूलो क्षति पुगेकाले पुनः नयाँ संरचना निर्माण गरेर मात्र महोत्सव सञ्चालन गरिने पाल्पा व्यापार सङ्घका अध्यक्ष विष्णुुबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वारमा क्षति पुगेको र क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको छ । तानसेन नगरपालिकाको मुख्य आयोजना, पाल्पा व्यापार सङ्घको आयोजना, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेश, घरेलु तथा साना उद्योग पाल्पाकोे सहआयोजना तथा एभरेष्ट इभेन्ट म्यानेजमेन्ट प्रालि भरतपुर चितवनको व्यवस्थापनमा महोत्सव चलेको हो । महोत्सवमा ३०० भन्दा बढी स्टल राखिएका छन् । कृषि, उत्पादन, लघु तथा घरेलु प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनी, बैंक तथा वित्तीय संस्था, सूचना प्रविधि, अटोमोबाइल, स्वास्थ, पर्यटन तथा अन्य स्वदेशी उत्पादन र बालउद्यान साथै होटल तथा रेष्टुरेण्टलगायत स्टल रहेका छन् । महोत्सवको आर्कषणका रूपमा पहिलोपटक फिस टनेल, औद्योगिक वस्तु तथा सेवाहरूको प्रदर्शनी, लघुउद्यमी तथा व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रम, कृषि तथा स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्वन गर्ने, स्थानीय भाषा, कला सांस्कृति, धार्मिक मूल्य मान्यताको संरक्षण तथा स्थानीय प्रविधि र उत्पादनलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम राखिएको छ ।
काठमाडौं: नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र निर्वाचित हुनुभएको छ । आज सार्वजनिक मतपरिणामअनुसार उहाँ दुई हजार ४३१ मतान्तरले विजयी हुनुभएको हो । नेपाल बार एसोसिएसन निर्वाचन २०८१, का प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार प्राडा मिश्रले पाँच हजार ५२ मत प्राप्त गर्नुभएको छभने अध्यक्षका प्रत्यासी वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले दुई हजार ६२१ मत प्राप्त गर्नुभयो । नयाँ नेतृत्वका लागि बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा डा मिश्रको समूह र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता श्रेष्ठको समूहबीच प्रतिस्पर्धा भएको थियोे । निरालाका अनुसार उपाध्यक्षहरूमा कोशी प्रदेशमा पदमप्रसाद लिम्बू, मधेस प्रदेशमा अजय शङ्कर झा, बागमतीमा तेजबहादुर रावल, गण्डकीमा भूपेन्द्र खनाल, लुम्बिनीमा कृष्णप्रसाद पोखरेल, कर्णालीमा विवशकुमार बस्नेत, सुदूरपश्चिममा सिद्धराज ओझा, खुला महिलातर्फ सरस्वती श्रेष्ठ विजयी हुनुभएको छ । महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले चार हजार ८७४ मत प्राप्त गरी विजयी हुँदा यज्ञमणि न्यौपानेले दुई हजार ३६७ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित हुनुभएको छ । सदस्यहरूमा चिरञ्जीवी तिलक्यानी (दलित), सूर्यकुमार यादव (मधेसी मुस्लिम काठमाडौँ उपत्यका बाहिर), रिङ्कुकुमारी यादव (मधेसी मुस्लिम खुला), राजकुमार श्रेष्ठ (आदिवासी जनजाति काठमाडौँ उपत्यका बाहिर), मङ्गलसुन्दर शिल्पकार (आदिवासी जनजाति खुला) इन्दिरा आचार्य (महिला काठमाडौँ उपत्यका बाहिर), किरण पौडेल (काठमाडौं) उपत्यका बाहिर० र रञ्जिता कार्की (महिला खुला) रहनुभएको छ । बारको नयाँ कार्यसमितिको खुला सदस्यहरूमा किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, डा मुकुन्द अधिकारी र माधव मैनाली विजयी हुनुभएको छ । बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९९७ मतदाता रहेकामा सात हजार ९९५ (८) प्रतिशत० मत खसेको थियो । कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘केही गर्न सक्छौँ र गर्नुपर्छ’ भन्ने सङ्कल्प प्रकट भएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्र विकासका लागि आत्मविश्वासका साथ अघि बढेकाले सरकार त्यसलाई सघाउन तयार रहेको स्पष्ट गर्नुभयो । “सरकार र निजी क्षेत्रको सहकार्य नमुनाका रूपमा अघि बढिरहेको छ । हामी सबै मिलेर हाम्रो देश बनाउनुपर्छ । तीव्र गतिमा विकास गर्नुपर्छ । हामीले स्वदेशी वस्तुको प्रयोगलाई बढाएर लाँदा गर्व महसुस गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “निजी क्षेत्रले सरकारलाई प्रेरित गरोस् । यसका लागि कुनै आन्दोलन गरिरहनुपर्ने छैन । यो सरकार स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि बनेको हो ।” प्रधानमन्त्री ओलीले जनतालाई सेवा र सुविधा दिन विद्यमान प्रणाली स्थापना भएको र अहिलेको सरकारले यस प्रणालीलाई बलियो बनाउँदै ठुला उत्पादन र उत्पादकत्व बढाउन अग्रसर रहेको जनाउनुभयो । उहाँले निजी क्षेत्रले दिएका सुझावका आधारमा सरकारले नीति र कानुन बनाउँदै आएको पनि स्पष्ट गर्नुभयो । कार्यक्रममा बढी कर तिर्ने क्षेत्रगत कम्पनी र महासङ्घका उत्कृष्ट प्रदेश र जिल्ला समितिलाई सम्मान गरिएको थियो ।
तनहुँः गण्डकी र लुम्बिनी प्रदेश जोड्न तनहुँको घिरिङ गाउँपालिका–१ कालीगण्डकी नदीमाथि निर्माण गरिएको पक्की पुलबाट यातायातका साधन सञ्चालन हुन थालेका छन् । पुल निर्माण भएर उद्घाटन नभए पनि यहाँबाट यातायातका साधन सञ्चालन हुन थालेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले बताउनुभयो । पुल निर्माणले गण्डकी प्रदेशअन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र लुम्बिनी प्रदेशअन्तर्गत पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोडेको छ । सिग्देलले भन्नुभयो, “तनहुँतर्फको भाग पुलसँग जोडिएको छ । पाल्पातर्फको भागमा माटोले सतह मिलाएर यातायात सञ्चालनमा ल्याइएको छ, केही समयभित्रै व्यवस्थापन गरी पुलको उद्घाटन गरिने छ ।” पुल निर्माणकोकाम युनाइटेड विल्डर्सले पाएको थियो । कूल २१० मिटर लामो उक्त पुल पश्चिमक्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण गरिएको हो । डबल लेन प्रविधिमा निर्माण भएको पुल निर्माणमा रु २७ करोड लगानी भएको छ । कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य थिए । पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पथ्र्यो । पुल निर्माण भएपछि सहज रूपमा आवातजावात गर्न सकिन्छ । डेढ घण्टाको बाटो १५ मिनेटमा छोटियो घिरिङ गाउँपालिका–२ र ३ जोड्ने चिन्नेखोलामा झोलुङ्गे पुल निर्माण भएपछि डेढ घण्टाको बाटो १५ मिनेटमा छोटिएको छ । चिन्नखोलामा ९२ मिटर लामो झोलुङ्गे पुल बनेपछि यात्रा अवधि छोटिएको हो । यहाँ पुल नहुँदा यस भेगका जनताले घुमाउरो बाटो हिँड्नुपर्नेमा पुल बनेपछि सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ पुल नहुँदा यस भेगका जनतालाई दुःख थियो, पुल बनेपछि सहज भयो ।” रु ४५ लाख ६८ हजार १९२ को लागतमा झोलुङ्गे पुल निर्माण गरिएको हो । पुल निर्माणका लागि गैरसरकारी संस्था समन्वय समिति तनहुँले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो । उक्त संस्थाका महासचिव राजेश्वर हड्खलेले पुल निर्माणका लागि गाउँपालिकाले रु पाँच लाख ९५ हजार ९८५ लागत साझेदारी गरेको जानकारी दिनुभयो । त्यस्तै स्थानीयवासीले रु ८९ हजार २४२ बराबरको श्रमदान गरेका थिए । सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रममार्फत रु ३८ लाख ६७ हजार ७७३ विनियोजन भएको थियो । पुल निर्माणका लागि उपभोक्ता समितिसँग रु २०८१ वैशाख १६ गते सम्झौता भएको थियो । विसं २०८१ कात्तिक १५ गतेबाट पुल निर्माण सुरु गरिएको र विसं २०८२ असार १५ गतेसम्म म्याद रहेकामा म्याद अगावै पुल निर्माणको काम सकिएको हड्खलेले बताउनुभयो । पुल निर्माणपश्चात ११८ घरपरिवारका ९५४ जना लाभान्वित भएका छन् ।
पोखरा: पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा आज ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार शिवराज कँडेलको मृत्यु भएको छ । पोखरा–९ बसपार्कमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा पोखरा चाउथे घर भएका शिवराज गम्भिर घाइते भएका थिए । पोखरा–९ बसपार्कमा ना ५ ख ६२२२ नम्बरको ट्रकले ग १६ प २०७५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भिर घाइते भएका स्कुटरमा सवार ५३ वर्षीय कँडेलको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रकले ठक्कर दिँदा स्कुटर चालक २३ वर्षीय सुस्मिता कँडेलको हात र घुँडामा चोक लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । स्कुटरलाई ठक्कर दिने ट्रकसहित चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ
काठमाडौं: नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद् रह्यो । यस वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा गरेको व्यापार इतिहास बनेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्स अफिस)मा यस चलचित्रले रु ४६ करोड ८० लाख (ग्रस) कारोबार गरेको तथ्याङ्क छ । त्यसले विसं २०८१ मा मात्र नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज गर्यो । यसकारण २०८१ साल चलचित्रका लागि स्मरण गरिने वर्ष बन्ने छ । यसका साथै यस वर्ष चार चलचित्रले रु १० करोडभन्दा बढीको व्यापार ९ग्रस० घरेलु बजारमा गर्न सफल भएका छन् । चलचित्र विकास बोर्डको तथ्याङ्कानुसार यस वर्ष ६० चलचित्र प्रदर्शन भइसकेका छन् भने दुई चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ यही चैत २९ देखि प्रदर्शन हुँदैछन् । यस वर्ष स्वदेशी चलचित्र ६२ प्रदर्शन हुँदा विदेशी ८५ को हाराहारीमा प्रदर्शन हुने बोर्डले जनाएको छ । विदेशी चलचित्रको नेपाल प्रदर्शन अन्तिम समयमा टुङ्गो लाग्ने गरेकाले अङ्क तलमाथि हुनसक्ने बोर्डको भनाइ छ । ‘पूर्णबहादुरको सारङ्गी’ बाहेक यस वर्ष घरेलु बजारमा रु १० करोड बढीको व्यापार गर्ने चार चलचित्रमा ‘१२ गाउँ’, ‘छक्कापञ्जा ५’ र ‘बोक्सीको घर’ रहेको बक्स अफिसमा तथ्याङ्क छ । यो वर्षको सुरुआती महिना वैशाख १४ मा प्रदर्शन भएको ‘बोक्सीको घर’ले राम्रो व्यापार गर्न सफल भयो । चलचित्रमा समावेश गीत ‘बुझिनँ मैले, बुझाइदेऊ कसैले’ सफल हुँदा त्यसको प्रभाव चलचित्रमा पर्यो । केकी अधिकारीले अभिनय गर्नुभएको र सुलक्षण भारतीले निर्देशन गर्नुभएको चलचित्रलाई प्रदर्शन अगाडि सामान्य रूपमा हेरिएको थियो । यसले अकल्पनीय व्यापार गर्यो । बक्स अफिसको तथ्याङ्कानुसार यस चलचित्रको घरेलु बजारमा रु १० करोड दुई लाखको व्यापार भएको छ । यो चलचित्र सफलताको श्रेय गीतसङ्गीत र विषयलाई जान्छ । त्यसकारण यो वर्ष कलाकारको ‘स्टारडम’ भन्दा ‘कन्टेन्ट’ चलेको वर्षका रूपमा हेर्न सकिन्छ । यसपछि दसैँमा प्रदर्शन भएको ‘१२ गाउँ’ र ‘छक्का पञ्जा–५’ ले दर्शकको राम्रो साथ पायो । बक्स अफिसको तथ्याङ्कानुसार ‘१२ गाउँ’ले रु १९ करोड ९२ लाख र ‘छक्कापञ्जा–५’ ले रु १५ करोड २० लाखको व्यापार गरेको छ । अन्य चलचित्रको व्यापार बढेता पनि शृङ्खलाबद्ध रूपमा आइरहेको ‘छक्का पञ्जा’को व्यापार भने अघिल्लोको तुलनामा घटेको छ । यसले बजारको आकार बढ्न अवरोध गर्ने बुझाई वितरक तथा निर्देशक प्रचण्डमान श्रेष्ठको छ । उहाँले नयाँ दर्शकलाई निरन्तर चलचित्र भवनमा आकर्षित गर्न फरक चलचित्र चाहिने बताउनुभयो । उहाँले भन्नुभयो, “लूट चलचित्र प्रदर्शन भएपछि नेपाली चलचित्रमा नयाँ दर्शक बढ्नुका साथै चलचित्र बन्ने शैलीमा पनि परिवर्तन आयो, त्यस्तै एउटा चलचित्र अहिले चाहिएको छ, जसले नयाँ उचाइ पाओस् र शैलीमा परिवर्तन गर्दै नयाँ पुस्तालाई दर्शक बनाउन सफल होस्, यस्तो नहुँदासम्म बजारको आकार बढ्नेमा म सहमत छैन, किनकि एक–दुई चलचित्रको सफलताभन्दा पनि समग्र वर्षको समीक्षा गरेर हेर्नुपर्छ ।” दसैँपछि तिहारमा प्रदर्शन भएको ‘पूर्णबहादुरको सारङ्गी’ले चलचित्र क्षेत्रलाई चलायमान बनायो । यो चलचित्रको सफलता पुराना निर्मातासँगै नयाँ निर्माता पनि चलचित्र क्षेत्रमा सक्रिय भएको बुझाई निर्देशक पुर्नेन्दु झाको छ । उहाँले कथा बलियो भएमा कलाकारले अभिनय गर्न सके दर्शकले मन पराउने विश्वास चलचित्रकर्मीमा बढेको बताउनुभयो । “निर्माताको समस्या नै चलचित्र निर्माणमा बढेको महँगाइ हो, कलाकारलाई दिने रकमसँगै अन्य प्राविधिक पक्षमा खर्च बढी हुने भएकाले निर्माताले आँट गर्न नसकेको मैले सुनेको छु, तर पूर्णबहादुरको सारङ्गीलाई दर्शकले दिनुभएको मायाले अन्य निर्मातालाई अगाडि बढ्न आँट दिएको छ, त्यसकारण पनि आउँदो वर्ष धेरै चलचित्र प्रदर्शन हुनेछन्”, उहाँले भन्नुभयो । आजसम्मको चलचित्रले घरेलु बजारमा गरेको व्यापारलाई हेर्दा यो ‘अञ्जिला’ पाँचौँ स्थानमा छ । यसले घरेलु बजारमा रु सात करोड ५० लाख व्यापार गरेको छ । उल्लेखित व्यापारमा निर्धारण गरिएको शुल्क घटाएर वितरकमार्फत चलचित्र निर्माताले रकम पाउने गर्छन् । गएको होलीलाई लक्षित गर्दै फागुन २९ मा प्रदर्शन भएको चलचित्र ‘अञ्जिला’ नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । खेलाडीको कथालाई पर्दामा रुचाउनु सुखद् पक्ष रहेको यसका निर्देशक मिलन चाम्सले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा खेलाडीको विषयमा चलचित्र बनाउन व्यावसायिक पक्षले रोकेको पाइएको थियो, व्यापार नभएपछि निर्माताले लगानी गर्दैनन्, तर अञ्जिलाको व्यापारले अन्य खेलाडीको कथालाई पर्दामा ल्याउन चलचित्रकर्मीलाई आँट दिएको छ, आउँदो वर्षमा अन्य खेलाडीको कथालाई पनि पर्दामा हेर्न पाइनेमा म विश्वस्त छु ।” यस वर्ष प्रदर्शन भएको अन्य चलचित्रमा ‘पूजार सार्की’ ले रु सात करोड ३७ लाख, ‘घरज्वाइँ’ले रु पाँच करोड नौ लाख, ‘फर्की फर्की’ले रु चार करोड ८४ लाख, ‘मनसरा’ले रु चार करोड ७८ लाख र ‘लाज शरणम्’ले रु चार करोड ३४ लाखको व्यापार ९ग्रस० गरेको तथ्याङ्क ‘बक्स अफिस’मा छ ।
काठमाडौं: हङकङमा जारी चार देशीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले कुबेतलाई छ विकेटले पराजित गरेको छ । कुबेतले दिएको १८६ रनको लक्ष्य नेपालले १८ दशमलव ५ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । भुर्तेलले ५० बल खेल्ने क्रममा छ चौका र छ छक्काको सहयोगमा ८१ रन बनाए भने शेखले ३८ बल खेल्ने क्रममा दुई चौका र चार छक्काको सहयोगमा ५३ रन बनाए । साथै दीपेन्द्र सिंह ऐरीले १२ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकाको सहयोगमा ३१ रनको महत्वपूर्ण योगदान दिए । कुबेतका लागि यासिन पटेलले दुई विकेट लिए भने मोहम्मद सफिक र मोहम्मद आस्लामले एक÷एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको कुबेतले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १८५ रन बनाएको थियो । उसका लागि ओपनरद्वय क्लिन्टो एन्टोले ४१ र राभिजा सान्दारुवानले २६ रन बनाए । साथै मिट भाबसारले ३५ र बिताल ताहिरले ३२ रन बनाए । नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई र ललित राजवंशी तथा कुशल भुर्तेलले एक÷एक विकेट लिए ।
बाँके: गए राति आएको हुरीबतासले बाँकेको कोहलपुरमा ३३ केभी प्रसारण लाइनका तीनवटा पोल ढल्दा जिल्लाका केही ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । राति १०ः०० बजेदेखि अवरुद्ध भएको विद्युत् आपूर्ति व्यवस्था अहिलेसम्म हुन नसकेको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामछिानेले जानकारी दिनुभयो । उहाँले विद्युत् आपूर्ति हुन अझै केही समय लाग्ने उल्लेख गर्दै मुख्य प्रसारण लाइनको काम सकिएपछि अन्य ठाउँको काम सुरु हुने बताउनुभयो । “सबै ठाउँको विवरण सङ्कलन भइरहेको छ र यसका लागि अझै केही समय लाग्छ”, उहाँले भन्नुभयो । खराब मौसमका कारण ३३ केभी प्रसारण लाइनका ‘टावर’मा असर पर्न गएकाले विद्युत् प्रवाहका लागि काम भइरहेको जानकारी दिँदै लामिछानेले कहाँकहाँ के समस्या आएको भन्ने विषयमा पहिचान हुन बाँकी रहेको बताउनुभयो । उहाँले कतिपय ठाउँमा विद्युत् पोल परिवर्तन गर्न लागिएको र केही ठाउँमा विद्युतीय तार नयाँ जोड्न थालिएको जानकारी दिनुभयो । नेपालगन्ज–२२ नहरपुरवामा समते हावाबतासले विद्युत्को पोल बाङ्गो बनाउनुका साथै तारमा जस्तापाता अड्किएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र नेपालगन्जले जनाएको छ । त्यसैगरी, हुरीले डुडुवास्थित इलाका प्रहरी कार्यालयका वनकट्टीको जस्तापाता उडाइदिएका कारण त्यहाँस्थित प्रहरीहरू अन्य ठाउँमा आश्रय लिएर बसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।