पोखरा: भूतपूर्व खेलाडी मञ्चको आयोजनामा सम्पन्न १९ औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट १२ लाख भन्दा बढी बचत भएको छ । गत फागुन ३ मा सम्पन्न म्याराथनमा १२ लाख २९ हजार ५११ रुपैयाँ बचत भएको हाे । प्रतियोगिताबाट ९३ लाख ७० हजार ६८९ रुपैयाँ आम्दानी भएको र ८१ लाख ४१ हजार १७७ रुपैयाँ खर्च भएको मञ्चका कोषाध्यक्ष हरिबहादुर बरुवालले जानकारी दिए । यो रकम हालसम्मकै उच्च बचत रहेको बरुवालको भनाई छ । उक्त रकम मञ्चको अक्षयकोषमा जम्मा गरिएको छ । म्याराथनको प्रवर्धन, मासिक तथा साप्ताहिक दौड प्रतियोगिता र स्थानीय तहबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले अक्षयकोष सञ्चालन गरिएको छ । कोषमा हालसम्म ३१ लाख ५४ हजार २५६ रुपैयाँ जम्मा भएको अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।
पोखरा: नवौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको उत्कृष्ट प्रशिक्षक विधाको पुरस्कार प्रायोजन टाइगर ग्रुप अफ पोखरा नेपालले गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खेलकुदको क्षेत्रमा पदक ल्याउँदै योगदान दिने खेलाडी, प्रशिक्षक, सङ्घ संस्था, पत्रकार, खेलकर्मीलाई वर्षेनी सम्मान गर्दै आइरहेको छ । आगामी बैशाखमा हुने अवार्डको तयारीमा जुटेको मञ्चलाई टाइगर ग्रुपले वर्ष उत्कृष्ट प्रशिक्षक विधा प्रयोजन गर्ने सम्झौता भएको हो । टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले गण्डकी प्रदेशको खेलकुदलाई उचाइमा पुर्याउन स्पोर्ट्स अवार्डले महत्वपूर्ण कदम चालेको बताए । उनले खेलाडीलाई खेल खेलेपछि पाउने भनेकै सम्मान रहेको र यस्ता किसिमका अवार्डहरूले थप उर्जा मिल्नेमा आशावादी रहेको बताए । मञ्चका अध्यक्ष एमबी आस्था मगरले अवार्डलाई सम्पन्न गर्न टाइगर ग्रुपको साथ अमूल्य रहेको सुनाए । टाइगर ग्रुपले गर्दै आइरहेको टाइगर कपले अन्तर्राष्ट्रिय स्तरमै ख्याति प्राप्त गरेको र यसले भलिबललाई उकास्न थप मद्दत गरेको सुनाउँदै गण्डकी प्रदेश भित्र रहेका प्रतिभावान् खेलाडीसँगै प्रशिक्षक, खेल सङ्घ वा क्लब, खेलकर्मी तथा पत्रकारलाई समेत हौसला प्रदान गर्नका लागि अवार्ड प्रदान गर्दै आइरहेको सुनाए । आफूहरू अवार्डको तयारीमा जुटिरहेको आगामी दिनमा समेत दुई संस्थाबीचमा भाइचाराको सम्बन्ध प्रगाढ रहने सुनाए । अवार्डका लागि सहारा क्लब पोखराले उदीयमान खेलाडी विधा यस अघि नै प्रायोजन गरिसकेको छ भने अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले विशेष सहयोग रहने छ । --
१३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरुवातीसँगै त्यहाँ आलुको पहाडसँगै तस्बिर खिचाउनेहरुको बाक्लो उपस्थिती देखिएको छ । कतिपय सेल्फीमा रमाएको भेटिन्छ भने कतिपयलाई आलुको पहाडसँग माया साट्दै तस्बिर कैद गर्न भ्याइनभ्याई छ । यतिसम्मकी महोत्सवमा पुग्ने प्राय सबैले आलुको पहाडसँगै आ–आफ्नो तस्विर खिच्ने गर्नुभएको छ र सामाजिक संजालमा राख्ने पनि । यहि चैत २४ गतेबाट सुरु १३ औं महोत्सव वैशाख ३ गतेसम्म चल्नेछ ।यतिवेला महोत्सवको मुख्य आकर्षणका रुपमा आलुको पहाडसँगै तस्विर खिच्ने कार्य हुन पुगेको महशसु गर्न सकिन्छ । तस्विर खिच्न बुढा, पाका देखि अनुज एवम् तन्नेरी पुस्ता समेत हैसिएको भेटिन्छ । सम्झना पनि हुन्छ, कृषि उपजका नाममा महोत्सव हुनु आफैमा महत्वपूर्ण पनि छ, हेमजा कृषिका लागि उर्वर भूमि हो मंगलबार आज आलुको पहाडसँगै तस्विर कैद गर्दै गरेकी स्याङजा सेतीदोभान हाल छोरेपाटन निवासी जानुका ढकालले बताइन् । मंगलबारसम्म २५ हजार दर्शक बढीले आलु महोत्सव अवलोकन गरेकोमा ४ सय ५० घरपरिवारले आलु खरिद गरी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए । उनले हालसम्म ५ लाख बढीको आलु कारोवार भएको पनि सुनाए । महोत्सव अन्तर्गत मंगलबार आज रत्यौली गीत प्रतियोगिता सुरु गरिनुका साथै कलाकारहरु खुमन अधिकारी, जीवन दाहाल, नविन पौडेल, नविना सुवेदी, अमर धिताल, परशुराम अधिकारी, शान्ता बर्देवा, हास्य कलाकार दिपक थापाका प्रस्तुतिहरु रहे ।त्यस्तै भोली बुधबार कलाकारहरु ज्योति मगर, जीवन दाहाल, रामजी पौडेल, तुलसा क्षत्री, सुमन खड्का, परशुराम अधिकारी, दुर्गा क्षत्री तथा हास्य कलाकारहरु युवराज भण्डारी र राजेन्द्र नेपालीका प्रस्तुतिहरु रहने मूल आयोजक समितिका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए । महोत्सवमा आलु लगायत अन्य सामग्री समेत गरी आज मंगलबारसम्म करिव २५ लाखको कारोवार भएको पनि श्रेष्ठले बताए । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्। त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेका छन् ।
पोखरामा डिजी स्कुल गण्डकी प्रदेशको आयोजना तथा तेजारथ ग्रुपको समन्वयमा आइटीको विकसित पाठ्यक्रमबारे छलफल सम्पन्न भएको छ । बेलायतको एनसिसी एजुकेशनसँगको सहकार्यमा नेपाल भित्रिएको आइटीको विकसित पाठ्यक्रमको बारेमा गण्डकी प्रदेशका विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग छलफल सम्पन्न भएको हो । सो छलफलका क्रममा डिजी स्कुलले ल्याएको आइटीसम्बन्धी पाठ्यक्रम र यसको उपयाेगिताको बारेमा डिजी स्कुलका सिइओ राजु बानियाँले प्रष्ट पारे । उनले पछिल्लो समय सूचना प्रविधिको युग भएकाले स्कुल लेभलमा आइटी कोर्सको जरुरी रहेको उल्लेख गरे । उनले सोही प्रकारको आवश्यकता महसुस गरेर आइटीको विकसित र विस्तृत पाठ्यक्रम नेपाल भित्राइएको बताए । यस्तै सफ्टेड गु्रपका अध्यक्ष विज्ञान श्रेष्ठले नेपालमा ल्याइएको आइटी कोर्स व्यापारिक प्रयोजनका लाग नभई शैक्षिक अभियान भएको बताए । ‘अहिलेको युग आइटीको युग हो । त्यसैले हामीले ल्याएको करिकुलम विकसित र विस्तृत छ, उनले भने, ‘यो व्यापारिक प्रयोजन नभएर शैक्षिक अभियानका रुपमा अघि सारेका हौं ।’ कार्यक्रममा सफ्टेडका डाइरेक्टर प्रमोद पौडेलले आइटीको महत्वबारे प्रकाश पार्दै अहिलेको शैक्षिक संस्थाहरुमा उक्त आइटी कोर्स अतिआवश्यक रहेको बताए । डिजी गु्रपका स्ट्राटिजी हेड सुमन बस्यालले डिजीस्कुलले ल्याएको उक्त पाठ्यक्रमको महत्व, प्रयोग, र उपयोगिताबारे विस्तृत कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा सफ्टेड ग्रुपका डाइरेक्टर अमृत थापा, करिब ३ भन्दा बढी स्कुलका प्रतिनिधिहरु लगायतको सहभागिता थियो । डिजी स्कुलले सन् २०१९ मा बेलायतको एनसिसी एजुकेशनको सहकार्यमा सो आइटी कोर्स नेपाल भित्राएको थियो । उक्त पाठ्यक्रम स्कुलले लिन चाहेमा प्रत्येक विद्यार्थीबापत प्रतिवर्ष नेपाली ३ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने डिजी स्कुलले जनाएको छ । डिजी स्कुलका गण्डकी प्रतिनिधि तेजारथ ग्रुपका किसान सुनारको अध्यक्षतामा भएको कनेक्ट एण्ड लिड कार्यक्रमको सञ्चालन प्रशंसा अर्यालले गरेकी थिइन् ।
आज काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन हुने भएको छ । मङ्गलबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासंघ र सहकारी तथा लघुवित्त पीडितले काठमाडौंका तीन स्थानमा प्रदर्शन गर्ने भएका हुन् । राप्रपले बल्खुमा विरोध कार्यक्रम गर्दै छ भने नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा र सहकारी तथा लघुवित्तपीडितले शान्तिवाटिकामा प्रदर्शन गर्दैछन् । यसैबिच, नेपाल प्रहरीले सूचना जारी गर्दै सवारी आवागमनलाई सहज बनाउन सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको जनाएको छ । मङ्गलबार बिहान एक सूचना जारी गर्दै नेपाल प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानहरुबो जानकारी दिएको छ । खसिबजार – मकालु – कलङ्की चोक– बाफल बल्खु चोक– कुलेश्वर– कालीमाटी चोक– टेकु कीर्तिपुर– सुन्दरीघाट– सानेपा– एकान्तकुना आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाइन्टहरू त्रिपुरेश्वर, बालाजु, हलचोक, नैकाप, सीतापाइला, चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर । कार्यक्रम हुने स्थान हुँदै चल्ने सवारी साधनका चालकले अन्य वैकल्पिक मार्गको प्रयोग गर्न समेत आग्रह गरिएको छ ।
नेपालमा सङ्कलित कवाडजन्य वस्तु अवैध रूपमा भारत निकासी हुँदा यहाँ सञ्चालित अण्डा क्यारेट र प्लाष्टिक उद्योगले कच्चा पदार्थको अभाव झेल्नुपरेको छ । करको दायरामा नपर्न व्यवसायीले कवाड (प्रयोग भएका कापी किताब, फलाम, टिन, प्लास्टिक, सिसीलगायतका वस्तु) सङ्कलन गरी अवैध रूपमा भारत निकासी गर्ने गरेकाले नेपाली उद्योग कच्चा पदार्थको अभावमा धरासायी बन्दै गएको बाँकेको बैजनाथ गाउँपालिका–१ मा सञ्चालित पश्चिमाञ्चल एग क्यारेट एण्ड फुड उद्योगका सञ्चालक पुनित शाहले बताए । “उद्योगलाई आवश्यक कच्चा पदार्थ भारत तस्करी भएपछि उद्योग सञ्चालन गर्न नसक्ने अवस्था सृजना भएको छ, कच्चा पदार्थ अवैध रूपमा भारत गइरहे पनि नियामक निकायले चासो दिएको पाइएको छैन”, उनले भने, “कच्चा पदार्थको अभावमा उद्योग पूर्ण रूपमा सञ्चालन हुन नसक्दा मजदुरले काम पाएका छैनन, उद्योग धरासायी बन्दै गएको छ ।” रु पाँचदेखि रु १० प्रतिकेजी भन्सारदर रहेको कवाडजन्य वस्तु दैनिक अवैध रूपमा भारततर्फ निकासी हुँदा सम्बन्धित निकायले एकअर्कालाई देखाउँदै नियमनबाट पन्छिँदा त्यसको असर नेपाली उद्योगलाई परिरहेको उनको भनाइ छ । “मेरो उद्योगलाई महिनामा १२० टन कच्चा पदार्थ चाहिन्छ तर अहिले त्यसको आधामात्रै पाउने गरेको छु, त्यसैले उद्योगलाई पूर्ण रूपमा सञ्चालन गर्ने वातावरण हुनसकेको छैन”, सञ्चालक शाहले भने, “यो क्षेत्रमा सङ्कलन हुने कवाडजन्य वस्तु अवैध रूपमा भारत निर्यात नभए कच्चा पदार्थ पर्याप्त रूपमा उपलब्ध हुन्छ, तर यसमा राज्यका निकायले बेवास्ता गर्दै आएका छन् ।” बाँकेलगायत जिल्लामा सङ्कलित कवाड वस्तु खरिद गरी राज्यलाई कर तिर्नुका साथै रोजगारीसमेत सृजना गरेका बाँकेलगायत विभिन्न जिल्लामा सञ्चालित उद्योग कच्चा पदार्थका रूपमा प्रयोग हुने कवाड सामान खरिद गर्न नपाएपछि बन्द गर्नुपर्ने अवस्थामा पुगेको उनको गुनासो छ । प्रयोग भइसकेको कवाड फलाम नेपालमा नै खरिद हुने भए पनि अन्य कागजन्य कापीकिताब, डप्टी, प्लाष्टिकजन्य वस्तु, व्याट्री, आल्मुनियमलगायत वस्तु भारत तस्करी हुँदै आएको छ । कवाड वस्तु निकासीमा प्रतिकेजी रु १० भन्सार राजस्व शुल्क भए पनि व्यवसायीले भन्सार छलेर अवैध रूपमा भारततर्फ निकासी गर्ने गरेको पाइएको छ । भारतीय उद्योगीले कवाड वस्तु केही महँगो दरमा खरिद गर्ने भएकाले नेपाली कवाड व्यवसायीले भन्सार छलेर अवैध रूपमा भारत निकासी गर्ने गरेका छन् । दैनिक साइकलबाट कवाडजन्य वस्तु भारत निकासी हुने गरेको छ । सङ्कलित कवाडको ठूलो अंश बाहिरिने भएकाले यहाँका उद्योगले पुनः त्यही कवाड दोब्बर मूल्यमा आयात गर्नुपर्ने बाध्यता रहेको शाहको भनाइ छ । कवाडसम्बन्धी वस्तुलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्ने उद्योग भैरहवादेखि धनगढीसम्म सय बढी छन् । बाँकेमा २० को हाराहारीमा कवाड व्यवसायी रहेका छन् । उनीहरूमध्ये कतिपयले बाँकेसँगै अन्य जिल्लाबाट कवाड सङ्कलन गरी भण्डारण गरेर भारत पठाउन थालेपछि कवाडसँग सम्बन्धित उद्योगले कच्चा पदार्थ पाउन छाडेको कवाड व्यवसायी सङ्घ बाँकेका अध्यक्ष मोहम्मद उमर हलवाईले बताए ।
फुङ्लिङ (ताप्लेजुङ)- हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै अग्ला र आकर्षक देखिन्छ– कञ्चनजङ्घा हिमाल । केही पश्चिम फर्केर हेर्दा आँखै अगाडि देखिन्छ कुम्भकर्ण (फक्ताङलुङ) हिमाल । यी दुवै हिमाली शृङ्खलाका वरिपरि सयौँ सानाठूला अन्य हिमाल छन्, जसको अनुपम सौन्दर्य जोकोहीलाई मोहित पार्ने खालको छ । गत साता शार्फु–४ पिकमा पहिलोपटक मानव पाइला पुग्न सफल भएको छ । चिलीका एक विदेशी नागरिक हर्नान लील, पवतारोही लाक्पाछिरिङ शेर्पा, नादा शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठले छ हजार ४३३ मिटर उचाइका शार्फु–४ हिमालको पहिलोपटक आरोहण गर्न सफल भएका थिए। गत कात्तिकमा चार दक्षिण कोरियन नागरिकले छ हजार ३२८ मिटर उचाइमा रहेको शार्फु–५ पिक (हिमाली)को पहिलोपटक सफल आरोहण गरेको थियो । पवतारोही नादा शेर्पाको अगुवाइमा शार्फु–४ र शार्फु—५ पिकको सफ आरोहण भएको हो । शार्फु–१ देखि छवटा पिक रहेको छ । आरोहणका लागि सरकारले खुला गरेको छ । तर अन्य तीनवटा पिक भने आरोहण भएको छैन । अन्य पिकमा समेत आरोहणको तयारी भइरहेको पर्वतारोही शेर्पाले बताए । उनले भने, “काठमाडौँ जानका लागि फुङ्लिङ आएको छु । काठमाडौँबाट अर्को पिक आरोहण गर्ने टोली लिएर आउने छु ।” जिल्लामा पर्वतारोण, साहसिक पर्यटकको सम्भावना रहेको शेर्पाले बताउनुभयो । तर सरकारले यस क्षेत्रमा चासो नदेखाएकामा दुःख लागेको उहाँले गुनासो गर्नुभयो । “जिल्लाका स्थानीय सरकारले प्रत्येक वर्ष पर्यटन प्रवर्द्धनको नाम मेला महोत्सव आयोजना गरेर ठूलो धनराशि खर्च गर्दै आएको छ ।” तर यस्ता खालका मेला महोत्वसवले अन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन हुँदैन ।” विदेशी तथा स्वदेशी पर्वतारोहीलाई प्रोत्साहन गर्ने, हिमालहरूको प्रचारप्रसार गर्ने तथा पदमार्ग सहज बनाउने कार्यक्रम गर्न आवश्यक रहेको शेर्पाले बताए । नेपाल पर्यटन बोर्डका अनुसार ताप्लेजुङमा पाँच हजारदेखि आठ हजार ५८६ मिटरसम्मका हिमाल/पिक ४८ वटा आरोहणका लागि खुला गरको छ । फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङ्गोला क्षेत्रमा दुई र याङमा क्षेत्रमा चारवटा पिक आरोहणका लागि खुला गरिएको छ । पाँच हजार ७४० मिटरको लुम्बा सुम्बा पिक र छ हजार ५०० मिटरको लुम्बुम्बा पिक ओलाचुङगोला क्षेत्रमा पर्छ । यस्तै याङमा क्षेत्रमा छ हजार ५४७ मिटर उचाइको नाङ्गामरी–१, छ हजार २०९ मिटर उचाइका नाङ्गामरी–२, छ हजार ८३९ मिटरको उचाइका ओहोमी गाङ्का र छ हजार २४४ मिटरका पाबुक काङ (काङग्टा) पिक आरोहणका लागि सरकारले खुला गरेको छ । सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन क्षेत्रमा पाँचवटा हिमाल आरोहणका लागि खुला गरिएको छ । आठ हजार ५८६ मिटर उचाइको कञ्चनजङ्घा प्रमुख, आठ हजार ४७४ मिटर उचाइमा रहेको दक्षिण कञ्चनजङ्घा, छ हजार १४८ मिटर उचाइको कोक्थाङ पिक, छ हजार ६८२ मिटरको रामथोङ पिक सरकारले आरोहणका लागि खुला गरेको छ । त्यस्तै सात हजार ४१२ मिटर उचाइका काब्रु सेन्ट्रल र सात हजार ३१८ मिटर उचाइको काब्रु पिकसमेत आरोहणका लागि खुला गरिएको छ । फक्ताङलुङ गाउँपालिका–६ घुन्सा क्षेत्रमा ३७ वटा हिमाल/पिक आरोहणका लागि खुला गरिएको छ । जिल्लाको प्रमुख विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल यसै क्षेत्रमा पर्छ । यसको उचाइ आठ हजार ५८६ मिटर छ । सन् १८५२ सम्म यो हिमाललाई विश्वको सबैभन्दा अग्लो मानिएको थियो । तर, सन् १८४९ मा भारतको त्रिकोणमितीय सर्वेक्षणका अध्ययनअनुसार सगरमाथा सबैभन्दा अग्लो भएको पुष्टि भएपछि सन् १८५६ मा कञ्चनजङ्घालाई औपचारिक रूपमा विश्वको तेस्रो अग्लो हिमाल घोषणा गरियो । कञ्नजङ्घा हिमाल सन् १९५५ मा बेलायती पर्वतारोही जो ब्राउन र जर्ज ब्यान्डले २५ मेका दिन पहिलोपटक सफल आरोहण गरेका थिए । धार्मिक आस्थालाई सम्मान गर्दै उनीहरूले हिमालको चुचुरो यथावत राख्ने परम्परा सुरु गरे, जुन आजसम्म पालना हुँदै आएको छ । कञ्चनजङ्घाको पाँच प्रमुख चुचुरा रहेका छन् । कञ्चनजङ्घा मुख्य आठ हजार ५८६, कञ्चनजङ्घा पश्चिम (यालुङ याङ) आठ हजार ५०५ मिटर, कञ्चनजङ्घा मध्य आठ हजार ४८२ मिटर, कञ्चनजङ्घा दक्षिण आठ हजार ४९४ मिटर र काङबाचेन सात हजार ९०३ मिटर रहेको छ । सरकारले यी पाँचवटै प्रमुख चुचुरामा आरोहण खुला गरेको छ । ताप्लेजुङकै कुम्भकर्ण विश्वको ३२औँ अग्लो र नेपालको १५औँ अग्लो हिमाल हो । यसको उचाइ सात हजार ७१० मिटर छ । यसको मौलिक रैथाने तथा प्राचीन नाम फक्ताङ्लुङ हो । किरात धर्मावलम्बीले आफ्नो आस्थाको केन्द्र पनि मानेका देखिन्छ । कुम्भकर्ण हिमाल पहिलोपटक सन् १९६२ मा एक फ्रान्सेली टोलीले आरोहण गरेको थियो । पर्वतीय पथप्रदर्शक सङ्घ नेपालका अध्यक्ष सन्दीप गुरुङका अनुसार ताप्लेजुङलगायत छ हजार मिटर उचाइको हाराहरीको हिमाल/पिक आरोहण गर्नका लागि पाँचदेखि छ जनाको समूहका लागि रु १५ लाख खर्च हुन्छ । “पाँच जनाको समूहमा दुई जना पथप्रदर्शक आवश्यक हुन्छ । पथप्रदर्शकलाई दैनिक पारिश्रमिक रु चार हजारदेखि छ हजारसम्म खर्च हुन्छ”, उनले भने । व्यक्तिगत आवश्यक सामग्री रु ६० हजारभन्दा बढी लाग्छ । हिमाल आरोहण गर्न पहिला प्रशिक्षण लिनुपर्ने हुन्छ । आरोहण गर्ने साहस जोकोहीले गर्न सक्ने गुरुङले बताए । जिल्लामा अवस्थित पाँच हजारदेखि सात हजारसम्मका पिक नेपाली नगरिकले आरोहण गर्न प्रतिव्यक्ति रु पाँच लाखदेखि माथि खर्च हुने पदप्रर्दशक नादा शेर्पाको भनाइ छ । पर्वतीय पथप्रदर्शक सङ्घ नेपालका अनुसार नेपालको हिमाल आरोहण विश्वभरका पर्वतारोहीका लागि एक अद्भूत अनुभव हो । तर, यो साहसिक यात्राका लागि धेरै तयारी, योजना र आर्थिक स्रोत आवश्यक पर्छ । हिमाल आरोहणको लागत हिमालको उचाइ, मौसम, आवश्यक गाइड तथा शेर्पाहरूको सङ्ख्यालगायत विभिन्न कारकमा निर्भर गर्छ । उचाइ बढ्दै जाँदा खर्च पनि बढ्ने गर्छ । पथप्रदर्शक (गाइड) र शेर्पा शुल्क, मुख्य गाइड, शेर्पा (बोझ बोक्ने सहयोगी), आधार शिविर व्यवस्थापक अनुमति शुल्क आरोहण गर्न सरकारले तोकेको शुल्क तिर्नुपर्छ, जुन हिमालको उचाइअनुसार फरक हुन्छ । पर्वतारोहण जोखिमपूर्ण भएकाले गाइड, शेर्पा तथा आरोहीको बिमा गर्नुपर्छ । काठमाडौँबाट ताप्लेजुङको फुङ्लिङ, त्यसपछि पदयात्रा वा हेलिकप्टर भाडा, आवश्यक सामग्री (गियर) खरिद वा भाडा, खाना र आवास, आधार शिविर र बाटोभरि होटल तथा टेन्टको व्यवस्थापनमा खर्च हुने छ । हिमाल आरोहण रोमाञ्चक र चुनौतीपूर्ण यात्रा हो, जसमा उचित तयारी आवश्यक पर्छ । विशेषगरी हिमाली क्षेत्रमा बढ्दो जलवायु परिवर्तनको असर, सुरक्षाजन्य चुनौती र खर्च व्यवस्थापनबारे सचेत हुनुपर्छ । आवश्यक सामग्री, उचित तालिम र अनुभवी गाइडका साथमा यात्रा गरे आरोहण सुरक्षित र सफल बन्ने पथप्रदर्शकको भनाइ छ । हिमालको प्रवर्द्धन गर्न महोत्सव हुँदै ताप्लेजुङका दुई स्थानीय तहमा मात्र हिमाल रहेका छन् । फक्ताङ्लुङ गाउँपालिका ४३ वटा हिमाल र सिरिजङ्घा गाउँपालिकाका पाँचवटा हिमाल आरोहणका लागि खुला गरिएको छ । अहिले यी दुई पालिका हिमालको प्रवर्द्धन गर्न पर्यटन महत्वसको तयारीमा जुटेका छन् । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप गाउँमा कञ्चजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को अगुवाइमा कञ्चनजङ्घा हिमाल आरोहण भएको ७० वर्ष पुगेको उपलक्ष्यमा ‘कञ्चनजङ्घा ‘प्लाटिनम जुब्ली’ २०८२ महोत्सव अन्तिम तयारी पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले बताए। आउँदो वैशाख ५–७ गते फक्ताङ्लुङ गाउँपालिका–५ लेलेपमा महोत्सव हुने भएको हो । ‘कञ्चनजङ्घा संरक्षण क्षेत्र, प्रकृतिको उपहारः संरक्षण क्षेत्रमा पर्यापर्यटन, समृद्धिको आधार’ भन्ने नाराका साथ महत्सवको तयारी भइरहेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कोषाध्यक्ष तथा महोत्सव संयोजन समितिका संयोजक छोवाङ शेर्पाले महोत्सवले संरक्षण क्षेत्रभित्रका प्राकृतिक सम्पदा, पर्यटन र स्थानीय संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । महोत्सव कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को संयोजनमा समृद्ध पहाड परियोजना तथा संरक्षण क्षेत्र कार्यालयसहित विभिन्न सङ्घसंस्थाको सहकार्यमा गरिने जनाइएको छ । महोत्सवमा कञ्चनजङ्घा क्षेत्रका पर्यटकीय सम्पदाको प्रचारप्रसार, पदयात्रा प्रवर्द्धन, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन र परिकारको प्रवर्द्धन, भलिबल प्रतियोगिताजस्ता गतिविधि समेटिने छन् । कञ्चनजङ्घा आरोहणको ऐतिहासिक यात्रालाई सम्मान गर्दै पहिलो आरोहीहरूका परिवार तथा अन्य आरोहणकर्तालाई आमन्त्रण गरिने आयोजकले जनाएको छ । महोत्सवका मुख्य कार्यक्रम लेलेपमा सम्पन्न भएपछि, काठमाडौँमा राष्ट्रियस्तरको विशेष कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ । सिरिजङ्घा गाउँपालिका हिमाल संरक्षण अभियानमा जुटेको छ । गाउँपालिकाले कञ्चनजङ्घा आधार शिविरमा आगामी वैशाख १२ देखि १४ गतेसम्म पर्यटन सिरिजङ्घा महोत्सव आयोजना गरी जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि छलफल गर्ने योजना बनाएको छ । प्रवक्ता बमप्रसाद गौतमका अनुसार, महोत्सवमा हिमताल, हिमनदी र हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारे अध्ययन, अनुसन्धान र समाधानका उपायबारे छलफल गरिनेछ । गाउँपालिकाले सङ्घीय सरकारको साझेदारीमा कञ्चनजङ्घा क्षेत्रमा साहसिक पदमार्ग निर्माण गरिरहेको छ । महोत्सवमा निर्माणाधीन पदमार्गको प्रचारप्रसार, स्थानीय कला, संस्कृति तथा परम्परालाई प्रवर्द्धन गरिने जनाएको छ । विशेष आकर्षणका रूपमा चार हजार ५०० मिटर उचाइको कञ्चनजङ्घा म्याराथुन प्रतियोगिता आयोजना गरिने छ । चौँरी याक प्रदर्शन, साहित्य गोष्ठी, साइक्लििङलगायत कार्यक्रम समिटिएको गाउँपालिकाले जनाएको छ । महोत्सव सिरिजङ्घा गाउँपालिकाको नयाँ झोडेनी क्षेत्रमा आयोजना हुनेछ । गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोका अनुसार, झोडेनी माछेवाबीचको दूरी कायम गरी म्याराथुन प्रतियोगिता सम्पन्न गरिने छ । सिरिजङ्घा–८ का वडाध्यक्ष कृष्णकुमार गुरुङका अनुसार, झण्डेडाँडाबाट मकालुदेखि कञ्चनजङ्घासम्मका हिमशृङ्खला देख्न सकिन्छ । याक तथा चौँरीको अवलोकन, लालीगुराँसको दृश्य र हिमाली सौन्दर्य पर्यटक आकर्षणका मुख्य तत्व हुनेछन् ।
पोखरा: लेकसाइडस्थित स्ट्रिट नम्बर १७ मा ‘टेम्पल बेल’ बुटिक होटेल एन्ड स्पा सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले होटल निर्माण गरी सोमबारबाट सेवा प्रारम्भ गरेको हो । नेपाली मौलिकता र अन्तर्राष्ट्रिय स्तरको सुविधा समेट्ने गरी होटल ‘बुटिक’ अवधारणामा निर्माण गरिएको छ । होटलको संरचना नेपाली काष्ठकला, ढुंगा, ढाका, थान्का, झुमर तथा पेन्टिङले सजाइएको होटलका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए । पर्यावरणमैत्री शैलीमा सजाइएको कोठा, करिडोर र खुला क्षेत्रले आगन्तुकलाई आत्मीयता र मौलिकता प्रदान गर्ने विश्वास उनले व्यक्त गरे । सन् २०२१ डिसेम्बरमा सुरु गरिएको होटल निर्माण कोभिड महामारीको चुनौतीबीच साढे ३ वर्षमा सम्पन्न भएको हो । करिब साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको यो होटलको कुल लागत (जग्गासहित) करिब १ अर्ब २५ करोड रुपैयाँ रहेको जानकारी प्रबन्ध निर्देशक भीष्मराज पौडेलले दिए । होटलमा अगाडि र पछाडि गरी दुईवटा इन्टरकनेक्टेड ब्लक छन् । कुल ५५ कोठामध्ये ४७ डिलक्स बुटिक, ५ सुपर डिलक्स, २ जुनियर स्वीट र १ प्रेसिडेन्सियल स्वीट कोठा छन् । होटलमा रिसेप्सन, आकर्षक लबी, दुईवटा ज्याकुजीसहितको स्वीमिङ पुल, ‘बुद्ध सदन’ नामक सम्मेलन हल, स्टीम, साउना, थेरापी रुम सहितको अत्याधुनिक स्पा, ‘यती एन्ड यती’ नामक बार, ‘आंटी’ नामक आलाकार्ट रेस्टुरेन्ट, बेसमेन्ट पार्किङ र दुईवटा आधुनिक लिफ्टको सुविधा उपलब्ध छ । होटलले ‘सफ्ट ओपनिङ’ गरेको छ । वैशाख महिनाभित्र होटलको ‘ग्रान्ड ओपनिङ’ गर्ने योजनासमेत सार्वजनिक गरिएको छ । नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै स्वदेशी तथा विदेशी पाहुनाका लागि विशेष छुट र अफर प्रस्तुत गरिएको पनि प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए । स्वदेशी पाहुनाका लागि सिंगल र डबल रुम क्रमशः ७ हजार ५०० र ८ हजार ५०० रुपैयाँमा, विदेशी पाहुनाका लागि १२ हजार र १४ हजार रुपैयाँमा उपलब्ध छन् । स्वीट रुम स्वदेशी पाहुनाका लागि ३५ हजार रुपैयाँ र विदेशीका लागि ४८ हजार रुपैयाँमा उपलब्ध छन् । प्याकेजमा फ्री एक्सक्लुसिभ ब्रेकफास्ट, स्टीम, साउना, एयरपोर्ट पिकअप र ड्रपको सुविधा र स्पा सर्भिसमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको पौडेलले सुनाए । टेम्पल बेल बुटिक होटेल एन्ड स्पा पोखरामा आउने मिडिल र हाइ–एन्ड सेग्मेन्टका पर्यटकहरूका लागि लक्षित गरिएको हो । पोखराको सांस्कृतिक विविधता, साहसिक गतिविधि र शान्त वातावरणका बीचमा विश्वस्तरीय सेवा दिन सक्ने विश्वास होटल व्यवस्थापनको छ । होटलमा करिब ६० जना दक्ष कर्मचारी कार्यरत रहेको कर्पाेरेट म्यानेजर लेखनाथ पहारीले जानकारी दिए । कर्मचारीलाई सेवा, व्यवस्थापन, खाना पकाउने कला र ग्राहक सेवा सम्बन्धी विशेष तालिम दिइएको उनले जनाए । होटलको निर्माणमा स्थानीय सामग्रीको प्रयोगलाई विशेष प्राथमिकता दिइएको छ । ढुंगा, नेपाली काष्ठकला, ढाका, बाँस, ढुंग्रो, नेपाली पेपरजस्ता परम्परागत सामग्रीहरू प्रयोग गरी भवनको संरचना तयार पारिएको प्रबन्ध निर्देशक पौडेलले बताए । कोठाहरू, करिडोर र खुला क्षेत्रहरू हरियाली प्रवद्र्धन हुने गरी वातावरणमैत्री ढंगले सजाइएका छन् । होटल सञ्चालकद्वय विश्व र भीष्मकी आमा ज्ञानुदेवी पौडेलले आफ्ना सन्तानले गरिरहेको कामको सराहना गर्दै उज्ज्वल भविष्यको शुभकामना प्रकट गरिन् । होटलका आकर्षक सुविधाहरूले पाहुनाहरूलाई आरामदायी र विलासी अनुभव प्रदान गर्ने लक्ष्य राखिएको होटलकी कर्मचारी आशा गुरुङले बताइन् । होटलको नाममा प्रयोग भएको ‘टेम्पल बेल’ अर्थात् मन्दिरको घण्टी, पवित्रता र सकारात्मक ऊर्जाको प्रतीक भएको जनाइएको छ ।
चैते धानखेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले तनहुँमा ‘चैते धानखेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ । अधिकांश सिञ्चित क्षेत्रका खेतमा चैते धान रोपाइँ जारी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रले चैते धानखेती प्रवर्द्धन कार्यक्रममार्फत किसानलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरी सहज बनाइएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिृकत एवं सूचना अधिकारी किरण परियारले जानकारी दिए । 'चैते धानखेती गर्ने किसानले छाड्ने क्रम बढ्दै गएकाले प्रोत्साहन गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो, उर्वरभूमिमा नै खेती गर्न छाड्दै गएको पाइन्छ', उनले भने, 'विशेषगरी खेतीयोग्य जमिन बाँझो राख्ने अवस्थामा पुगेपछि यस कार्यक्रमले किसानलाई सहयोग पुग्नेछ ।' परियारका अनुसार कार्यक्रमअन्तर्गत ढुवानी, बीउ, सिँचाइ, उपकरण खरिदमा अनुदानको व्यवस्था गरिएको छ । धानको बीउमा ७५ प्रतिशत र सिँचाइअन्तर्गत कुलो निर्माण र मर्मतमा ८५ प्रतिशत अनुदानको व्यवस्था छ । दुई हजार ९४० रोपनी खेतमा चैते धानखेती गर्न १३ वटा कृषक समूह तथा सहकारी यस कार्यक्रममा समावेश भएका छन् । कार्यक्रमका लागि ५० लाख बजेट विनियोजन भएको छ । कृषक समूह तथा सहकारीसँग सम्झौतासमेत भइसकेको केन्द्रले जनाएको छ । कार्यक्रमअन्तर्गत धान चुट्ने थ्रेसर, खेत जोत्ने मिनीटिलर तथा ट्रयाक्टरमा अनुदानको व्यवस्था गरिएको छ । सिँचाइ (कुलो) निर्माणका लागि २० लाख बजेट विनियोजन भएको छ । चैते धान विशेषगरी चिउराका लागि प्रयोग गरिने तर खेत बाँझो हुँदा भारतबाट आयात हुने गरेको सूचना अधिकारी परियारको भनाइ छ । किसानबाट माग धेरै आए पनि बजेट कम हुँदा सबैलाई समेट्न समस्या भएको उनले बताए । जिल्लामा करिब ५१ हजार ५५० हेक्टर क्षेत्रफलमा खेतीयोग्य भूमि रहेको छ । त्यसमध्ये ६ हजार ३४७ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध छ । १३ हजार ५८३ हेक्टर सिञ्चित क्षेत्र र सात हजार २३६ हेक्टर क्षेत्रफलमा बेमौसमी सिँचाइ सुविधा रहेको हुँदा अकासे पानीको भरमा पनि किसानले धानखेती गर्छन् । समयमा पानी नपर्दा यस वर्ष चैते धानखेती कम हुने आकलन केन्द्रले गरेको छ ।