झापा:  पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कमल गाउँपालिका–३ सानो केर्खास्थित गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको विद्युतीय धरापमा परेर मृत्यु भएको छ ।   जङ्गली जनावरबाट मकैबाली जोगाउन थापेको विद्युतीय धरापमा परेर घाँस काट्न गएकी खातुनको मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।   उक्त घटनामा धराप थापेको आरोपमा प्रहरीले गोलबजार–९ गोविन्दपुरका २४ वर्षीय वीरबहादुर सार्कीलाई यही चैत २४ गते पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।   उनका अनुसार सार्कीलाई ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद लिइ इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर अनुसन्धान भइरहेको छ ।   गत फागुन २९ गते बिहानदेखि हराइरहेकी स्थानीय बेचन अलीकी छोरी गुलसना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा घुर्मी खोलाको किनारमा फेला परेको थियो ।   घरबाट घाँस काट्न जान्छु भन्दै हिँडेकी छोरी हराएको भोलिपल्ट आमा जेहदा खातुनले खोजीका लागि मिर्चैया प्रहरीमा निवेदन दिएकी थिइन् । बालिका हराएको १३औँ दिन १२ चैतमा बोरामा बाँधेको शव सडेगलेको अवस्थामा भेटिएको थियो ।   त्यसलगत्तै मिर्चैया प्रहरीसहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोली, मधेस प्रदेश प्रहरी कार्यालयको टोलीले अनुसन्धानका क्रममा २४ चैतमा सार्कीलाई पक्राउ गरेको हो ।   प्रहरीका अनुसार उक्त घटनामा बरामद दशीका रूपमा बालिकाले घाँस काट्न लगेको हँसिया भेटिएको छ ।   अनुसन्धानका क्रममा फागुन २९ गते बिहान करिब ९ः०० बजेतिर सार्कीले जङ्गली जनावरबाट आफ्नो मकै जोगाउन विद्युतीय धराप लगाएको र केहीबेरमै बालिका चिच्याएको अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ ।   घटनापछि शवलाई बोरामा हालेर घुर्मी खोला किनारनजिक खाल्डो खनी पुरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

पोखरा:    ग्रिनहिल युवा क्लबको आयोजनमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ ल्वाङमा ‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण पर्यटनको विकास’ भन्ने नारासहित मेला जारी छ ।    सो मेलामा महिला भलिबलतर्फ हिमशिखर युवा क्लब धम्पुस र बौद्ध सिर्जना युवा क्लब घलेल उपाधिका लागि भिड्ने भएका छन् ।   आज भएको पहिलो सेमिफाइनल खेलमा धम्पुसले आयोजक ल्वाङलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए  ।   उनका अनुसार दोस्रो सेमिफाइनल खेलमा निश्चल झरना युवा क्लब लुम्रेलाई बौद्ध सिर्जना युवा क्लब धलेलले २–० को सोझो सेटमा हराउँदै फाइनलमा धम्पुससँगको भेट पक्का गर्याे । अब फाइनल खेल आगामी २७ गते बुधबार सम्पन्न हुनेछ ।   यस्तै सोही दिनदेखि पुरुषतर्फको खेलपनि सञ्चालन हुनेछ । पुरुषतर्फ आजसम्म कुल १८ टिमको दर्ता भएको छ ।   बेलुन फुटाउने प्रतियोगितमा आयान गुरुङ प्रथम, वानयान पुन द्वित्तिय र कृजल परियार तृतीय बनेको खेल संयोजक अनोद गुरुङले बताए ।   उनका अनुसार मेच घुमाईतर्फ प्रिया परियार प्रथम र मनिसा विक द्वित्तिय बनिन् ।    पुरुष भलिबलतर्फको विजेता टिमलाई नगद  १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने संयोजक गुरुङले बताए ।   उनका अनुसार उपविजेता टिमलाई नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।   तृतीय स्थान हाँसिल गर्ने टिमले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजारले पुरस्कृत गरिनेछ ।   यसैगरी महिलातर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, द्वित्तियलाई १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिने छ  ।   २६ गतेका कार्यक्रम पोस्टपोन्ड   आयोजक संस्थाका निवर्तमान अध्यक्ष दिपक गुरुङका बुबाको निधन भएपछि २६ गते हुने भनिएको कार्यक्रम २७ गतेका लागि पोस्टपोन्ड गरिएको क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए ।    ‘आज हाम्रो क्लबका निवर्तमान अध्यक्षज्यूको पुजनीय बुबाको निधनले हामी सबै स्तब्ध भएका छौ, उनले भने, ‘त्यसैले हिजोबाट सुरु भएको मेलाका २६ गते हुने भनिएको सबै कार्यक्रम एक दिन पोस्टपोन्ड गरेका छौ । अब हाम्रो मेला पर्सीबाट निरन्तर हुनेछ ।’  

पोखरा महानगरपालिका–१, मोहरिया टोलमा ‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नारासहित सञ्चालित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा  नि:शुल्क आँ आँखा परिक्षण सम्पन्न भएको छ ।   वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन गर्ने कार्यक्रमको अवसरमा आँखा परीक्षण तथा विविध कार्यक्रम सम्पन्न भएको हो ।   हिमालय आँखा अस्पतालले प्राविधिक सहयोगमा भएको सो शिविरमा  अभिभावक, विद्यार्थी, शिक्षक, शिक्षिका, कर्मचारीका साथै स्थानीयहरुगरी सय बढीले सेवा लिएका थिए ।    सोही सन्दर्भमा साँस्कृतिक कार्यक्रम, शैक्षिक सत्र २०८१ मा कक्षागत रुपमा उत्कृष्ट हुने विद्याथीहरुलाई  पुरस्कृत गरिएको थियो ।    उक्त कार्यक्रममा प्राचार्य कृष्णकुमार श्रेष्ठले विद्यालयको  बार्षिक प्रगती प्रतिवेदन तथा शैक्षिक शत्र २०८२ को लागि  कार्ययोजना राख्दै  विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई अर्वाड वितरण गरेका थिए ।   विद्यालयका संस्थापक शम्भु कार्कीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन शिक्षिका माया क्षेत्रीले गरेकी थिइन् ।

म्याग्दी: म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् ।  अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट टे«किङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले बताउनुभयो ।       आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाडौँबाट उद्धारको टोलीलाई हेलिकप्टरमार्फत पठाइएको उहाँले जानकारी दिनुभयो ।  पर्यटन विभागका अनुसार वसन्तयामका लागि चार समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् ।

काठमाडौं:  वन तथा वातावरण राज्यमन्त्री रुपा विकले नेपालले पहिलोपटक आयोजना गर्न लागेको सगरमाथा संवादको उद्देश्य विश्वव्यापी पहल भएको बताउनुभएको छ ।      इन्टरनेसनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आइआरजिडिडी) ले नेपाल सरकारसँगको सहकार्यमा आज यहाँ आयोजना गरेको प्रि–सगरमाथा संवाद कार्यक्रममा उहाँले सगरमाथा संवाद कार्बन कम उत्सर्जन गर्ने समुदायका मानिसलाई समेत लक्षित भएको उल्लेख गर्नुभयो ।      उहाँले भन्नुभयो, “नेपाल जलवायु परिवर्तनका कारणले गर्दा अत्यधिक जोखिमपूर्ण मुलुक हो, त्यसलाई लक्षित गरेर रोकथामका लागि सरकारले काम गरिरहेको छ ।” नेपाल सरकारले पहिलो पटक आगामी जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद कार्यक्रम गर्न लागेको छ ।      कार्यक्रममा अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का महानिर्देशक डा पेमा ग्याम्त्सोले हिमाल यस क्षेत्रका जनताका लागि मात्र नभई विश्वका लागि प्राकृतिक सम्पदा र जीवनको आधार भएकाले अब प्रकृतिलाई फिर्ता दिने समय भएको बताउनुभयो ।  उहाँले सगरमाथा संवाद हामीले प्रकृतिलाई के दिन सक्छौँ भन्ने विषयमा केन्द्रित हुनुपर्ने सुझाव दिँदै भन्नुभयो, “सगरमाथा संवादमा हिमालय क्षेत्रको जलवायुका विषयका बारेमा जोड दिनुपर्छ ।”      पूर्वअर्थ सचिव मधु मरासिनीले सगरमाथा संवाद नेपालका लागि महत्वपूर्ण अन्तरराष्ट्रिय छलफल र बहसको थलो हुने उल्लेख गर्दै सङ्घमा छ प्रतिशत बजेट नै जलवायु परिवर्तनका लागि छुट्याइएको जानकारी दिनुभयो । “सोह्रौँ योजनाको अन्त्यसम्म जलवायु परिवर्तनको क्षेत्रमा सङ्घको बजेटमा २० प्रतिशत पु¥याउने लक्ष्य रहेको छ”, उहाँले भन्नुभयो ।      जलवायुविद् डा पपुलर जेन्टलले जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दा अन्तरराष्ट्रिय मञ्चहरुमा नेपालका तर्फबाट संवाद गर्दा स्थायी टोली बताउनुपर्ने धारणा व्यक्त गर्नुभयो  । उहाँले यस क्षेत्रका सबै विज्ञहरुले जलवायु परिवर्तनले मुलुकमा पारेको असरबारे आफ्ना तर्फबाट बोल्नुपर्ने उल्लेख गर्दै यो युवाको ‘एजेन्डा’समेत भएको बताउनुभयो ।         आइआरजिडिडीका अध्यक्ष तथा पूर्वराजदूत शर्मिला पराजुली ढकालले हिमाल र मानवजातिबीच महत्वपूर्ण सम्बन्धको प्रि–सगरमाथा संवाद आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वको जलवायु क्षेत्रको केन्द्रमा हिमालय सङ्कट बारेमा बहस हुनुपर्छ ।” साथै उहाँले सगरमाथा संवादको प्रि–शृङ्खलाको आगामी दिनमा विभिन्न छलफल र बहस चलाउने योजना रहेको बारेमा जानकारी दिनुभयो । संवादका दौरानमा भएको छलफलबाट आएका सुझावलाई सगरमाथा संवाद सचिवालयलाई हस्तान्तरण गरिने उहाँको भनाइ थियो ।      सगरमाथाको आरोहण गरिसक्नुभएका आरोही दावा टाँसी शेर्पाले बढी जनसङ्ख्याको कारण नभई हिमालय क्षेत्रमा आनन्ददायी जीवनयापन खोज्दा हिउँ पग्लिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हिमाल जोगाउनका लागि सबैको पहल आवश्यक छ, स्थानीय समुदायका व्यक्तिहरुको पहलले मात्र हिमाल जोगाउन सकिँदैन ।”      उद्योग वाणिज्य महासङ्घ नेपालका पूर्वअध्यक्ष चण्डीराज ढकालले आइआरजिडिडीले गरेको प्रि–सगरमाथा संवादले नेपाल सरकारले गर्न लागेको सगरमाथा संवादलाई सघाउन मद्दत पुग्ने बताउनुभयो ।       ग्रिन हाइड्रोजन ल्याबका टिम लिडर सहायक प्राध्यापक डा विराजसिंह थापाले नेपालको वार्षिक अर्बौं रकम जीवाष्म इन्धनमा खर्च भइरहेको उल्लेख गर्दै आवश्यक नीतिको व्यवस्थापन गरी हाइड्रोजन र नवीकरणीय इन्धनको प्रयोगमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।

झापा: कचनकवल गाउँपालिकामा रेविज लागेको कुकुरको टोकाईबाट १२ जना घाइते भएका छन् । बनियानी स्वास्थ्य केन्द्रका प्रमुख जागेन्द्रप्रसाद यादवका अनुसार वडा नं.–६ मा तीन दिन यता कुकुरले टोकेर घाइते हुनेको सङ्ख्या १२ पुगेको हो ।       घाइते हुनेमा चार बर्षीया बालिकासहित चार महिला र आठ जना पुरुष छन् । पशु चौपायाको विवरण भने आउन बाँकी रहेको उहाँले बताउनुभयो ।       कुकुरको टोकाइबाट घाइते भएकाहरुलाई बनियानी स्वास्थ्य केन्द्रमा आज विहानदेखि रेविजविरुद्धको खोप लगाउन सुरु भएको छ ।  उहाँले केन्द्रमा रहेको खोपले एक पटक मात्र पुग्ने भएका कारण थप खोप कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग माग गरिसकेको बताउनुभयो ।       पालिकाका उपाध्यक्ष नवराज भट्टराईले कुकुर नियन्त्रणका लागि आज विहानैदेखि पालिकाले कृषि र पशु शाखाका कर्मचारीसहित प्रहरी परिचालन गरिरहेको बताउनुभयो ।

डोटी: डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज मध्याह्न साढे १२ बजे आसपासमा बडीकेदार गाउँपालिका–३ देउथानमा मिनी ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ ।       जनजागरण सामुदायिक वनमा सडेगलेका काठ सङ्कलन गरी नजिकै सेलानेको खोलामा घाटमा गद्दी (जम्मा) गर्न लैजाँदै गरेको बा.प्र. ०३००१ ख २५३ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो ।       जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार सवारी अनियन्त्रित भएर सडक किनारामा पल्टिँदा ट्रकमा सवार बडिकेदार गाउँपालिका–३ देवलका २७ वर्षीय सन्तोष गुरुङको मृत्यु भएको हो ।  गुरुङको ट्रकमा रहेका काठले च्यापिएर घटनास्थलमा नै मृत्यु भएको र सोही ट्रकमा सवार रहनुभएका सामुदायिक वनका अध्यक्ष लोकबहादुर पल्ली मगर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।  घाइतेको स्थानीय स्वास्थ्यचौकी मूलीचौरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको बडीकेदार गाउँपालिका–३ का वडा सदस्य प्रकाश लामाले जानकारी दिनुभयो ।       ट्रक चालक बडिकेदार गाउँपालिका–२ बर्छैनका २९ वर्षीय गोपाल बडेलाको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

काठमाडौं:   काठमाडौंउपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले अभिनेत्री समेत रहनुभएकी एनी कुँवरलाई पक्राउ गरेको छ ।       यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनबारे अनुसन्धानका क्रममा कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुँवरलाई ललितपुरबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो ।      उहाँले भन्नुभयो, “पत्रकार सुरेश रजक जलेको घरमा निज कुँवर देखा परेको र त्यस घटनाबारे अनुसन्धानका लागि पक्राउ गरिएको हो, बिना अनुमति कसैको घरमा पस्नु गलत हो । ”, 

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिन भनिनु इमानदारिताको खडेरीपन हुने बताउनुभएको छ ।      फोरियन अफेयर्स मिडियाद्वारा आज आयोजित ‘हिमालयन डायलड’को पहिलो शृङ्खलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामन्ती शासन व्यवस्थाका कारण नेपाल विकासमा पछाडि परेको र राजनीतिक परिवर्तनपछि जनताले गरेका व्यापक अपेक्षाका बीच आफूहरुले विकास र सुशासनका यात्रालाई अगाडि बढाउने भरमग्दुर प्रयास गरिरहेको बताउनुभयो ।      “पराजित सामन्तवाद मलाई त आउन मन लागिराख्या छ भन्न छाडेको छैन । मलाई साथ देऊ भनिराखेका छन्”, राजतन्त्रवादीतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, “संविधानकै व्यवस्थाअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी हो ।”  यसबाट सङ्क्रमणकाल अझै लम्बिने देखिएको उहाँको भनाइ थियो । “जता हावा ढल्केको छ, त्यतै बग्ने प्रवृत्ति पनि हुन्छ । जायज माग लिएर आउँदा हामी सुन्छौँ । सडकमा कसैले दुःख पाइरहनु पर्दैन । शिक्षकहरुले सडकमा बसिरहनु पर्दैन । हामी संवादबाट उहाँहरुका मागलाई यथोचित सम्बोधन गर्नेछौँ”, उहाँले थप्नुभयो ।      प्रधानमन्त्री ओलीले नेपाल आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तरराष्ट्रिय सम्बन्धबा त्यसका केही दायित्वहरु निर्वाह गर्न लागेको बताउनुभयो । उहाँले बङ्गालको खाडीको तातो हावालाई छेक्ने काम नेपालकै हिमालले गर्ने तथा समुद्रलाई धेरै तातो हुन नदिन र मरुभूमिकरणबाट यस भूभाग र बाँकी विश्वलाई जोगाउने काम हिमालले गरिरहेको उल्लेख गर्नुभयो ।      “हाम्रो मुलुक भौगोलिक, प्राकृतिक र संस्कृतिक रुपमा विविधतायुक्त छ । विविधताका बीचमा एकता आवश्यक छ । बिना एकता हामीले चाहेका उपलब्धि हासिल हुन सक्दैनन्,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “विविधता अभिशाप होइन, सम्पत्ति हुनुपर्छ । राष्ट्रिय र अन्तरराष्ट्रिय समस्या आउँदा नेपाल एकजुट भएर समाधान गर्न लाग्नुपर्छ ।”       उहाँले आदर्श कमजोर र स्वार्थ हाबी हुँदै गएको विश्वमा राष्ट्रिय हितलाई ध्यान दिँदै विश्वकै सुरक्षा र मानवीय हितमा हामीले आफ्नो तर्फबाट योगदान दिन सक्नुपर्नेमा जोड दिनुभयो ।  भूराजनीतिका नाममा आफ्नो कमजोरी ढाक्ने काम गर्न नहुने उल्लेख गर्दै उहाँले भूराजनीतिक सचेतनाका साथ राष्ट्रिय हितलाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । “अन्तरराष्ट्रिय जवाफदेहीतासहितको न्यायोचित राष्ट्रिय हित र विचारलाई छोड्नु भन्ने होइन । कुनै छिमेकीसँग बढी मित्रता भन्ने खालको कोल्टिने राजनीति गर्नु हुँदैन । हामी कसैको सामरिक गठबन्धनमा लाग्दैनौँ । हामी शान्तिका पक्षमा छौँ”, उहाँले भन्नुभयो ।      हिमालयन संवादको पहिलो शृङ्खलामा विभिन्न राजनीतिक दलका नेता र कूटनीतिक क्षेत्रका विज्ञहरुले नेपालको परराष्ट्र नीतिका विषयमा दुई सत्रमा छलफल गर्नुहुने फोरियन अफेयर्स मिडियाका अध्यक्ष गोपाल खनालले जानकारी दिनुभयो ।