पोखरा:   पोखरामा भएको प्रथम प्राइम ५ ए साइड भेट्रान्स फुटसल प्रतियोगिताको उपाधि गौरीघाटले जितेको छ ।  पोखरा १३ स्थित खेलकुन्जमा डाक्टर दिवसको प्रस्तुतिमा भएको ३५ वर्षमाथिको प्रतियोगिताको फाइनल ख...

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विगतमा नेपाल शिक्षक महासङ्घसँग भएको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न सरकारसँग माग गरेको छ ।        माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आज विज्ञप्ति जारी गर्दै संसद्को विशेष अधिवेशन वा अन्य उपायबाट सो ऐन जारी गरी आन्दोलनरत शिक्षकलाई शैक्षिक जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको हो ।        शिक्षा क्षेत्रमा गुणात्मक सुधार आजको आवश्यकता भएको औँल्याउँदै माओवादी केन्द्रले विद्यालयस्तरमा लामो समयदेखि कार्यरत शिक्षकका लागि उत्प्रेणामुखी वातावरण सिर्जना गर्दै उनीहरूको पेसागत सुरक्षा अनिवार्य सर्त भएको जनाएको छ ।        माओवादीले संविधानतः आमनागरिकले शिक्षा प्राप्त गर्न पाउने अधिकार सुनिश्चित भए पनि आवश्यक कानुनी र नीतिगत संरचना निर्माण नहुँदासम्म सङ्घीयताको मर्मअनुरूप शैक्षिक क्षेत्रको पुनर्संरचना हुन नसक्ने उल्लेख गरेको छ । माओवादीले निजामती, शिक्षा, स्वास्थ्य, प्रहरीलगायत ऐन जारी गरी कार्यान्वयनमा जोड दिन सरकारको ध्यानाकर्षण गराएको छ ।        आफ्नो पार्टी नेतृत्वको सरकारले जटिलताबीच विद्यालय शिक्षा विधेयक तर्जुमा गरी संसद्मा दर्ता गरेको जनाउँदै माओवादी केन्द्रले सो विधेयकलाई यथाशीघ्र पारित नगरेर सरकारले शिक्षक र विद्यार्थीको पेसा र भविष्यमाथि खेलबाड गरेको आरोप लगाएको छ ।        “सरकार गठन भएको दश महिनासम्म आन्दोलनरत शिक्षकको जायज मागलाई बेवास्ता गरिनु तथा शिक्षकको आन्दोलन चर्किएपछि बजेट अधिवेशनमा विधेयक पारित गर्ने तर्क दिनु विरोधाभाष छ,” प्रवक्ता सापकोटाले भन्नुभयो । शिक्षकका मागप्रति ऐक्यबद्धता व्यक्त गर्दै माओवादीले आमजनसमुदायमा समेत शिक्षकका पक्षमा उभिन आह्वान गरेको छ ।

रुपन्देही: विसं २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक लगायो । नगरपालिकाले एक समारोहबीच गुट्खाजन्य पदार्थ निषेध क्षेत्र भनेर घोषणा नै गरिसकेको छ ।      नगरपालिकाले गुट्खाजन्य पदार्थ बिक्रीवितरण नियन्त्रण गर्नेसम्बन्धी कार्यविधि, २०७९ भनी कार्यविधि पनि बनायो । सो कार्यविधिमा गुट्खाजन्य पदार्थको प्रयोगले मानव स्वास्थ्य र सहरी सौन्दर्यमा समेत गम्भीर असर पर्ने देखिएको उल्लेख गरिएको छ ।      गुट्खाजन्य पदार्थको बिक्रीवितरण कार्यको अनुगमनका लागि सो कार्यविधिको दफा ६ को उपदफा १ मा नगरस्तरीय अनुगमन समितिमा नगर उपप्रमुख संयोजक रहने गरी आर्थिक विकास समिति संयोजक, वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक, राजस्व शाखा संयोजक, नेपाल प्रहरीका स्थानीय प्रमुख, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, चेम्बर अफ कमर्सका प्रतिनिधि, उद्योग व्यापार सङ्गठनका प्रतिनिधि र नगर प्रहरी इन्चार्ज सदस्य रहेको अनुगमन समिति रहने भनी उल्लेख छ ।      यसैगरी, दफा ७ को उपदफा १ मा टोलस्तरीय अनुगमन समिति वडाध्यक्ष संयोजक रहने गरी वडाध्यक्षले तोकेको वडा सदस्यमध्येबाट एक वडा सदस्य, टोल विकास सञ्जालका अध्यक्ष, वडा बाल सञ्जाल प्रतिनिधि, क्लब, सङ्घसंस्था, आमा समूहमध्येबाट तीन, स्वास्थ्य संस्थाबाट दुईजना, नेपाल प्रहरीका स्थानीय प्रमुख प्रतिनिधि र वडा सचिव रहने भनी उल्लेख गरिएको छ ।      सो कार्यविधिको दफा ४ को उपदफा १ मा जरिवानासमेत तोकिएको छ । पहिलो पटक गुट्खाजन्य पदार्थको बिक्रीवितरण गरेको भेटिएमा थोक बिक्रेताका लागि रु १० हजार र अन्य व्यवसायीका लागि रु एक हजार ५०० जरिवाना तोकिएको छ ।  त्यस्तै दोस्रो पटक थोक बिक्रेताका लागि रु २० हजार र अन्य व्यवसायीका लागि रु दुई हजार रकम जरिवाना तोकिएको छभने तेस्रो पटक पनि भेटिएमा थोक बिक्रेताका लागि रु ५० हजार र अन्य व्यवसायीका लागि रु पाँच हजार रकम जरिवाना तोकिएको सो कार्यविधिमा उल्लेख छ ।      पछिल्लो समय नगरपालिकामा गुट्खाजन्य पदार्थको बिक्रीवितरण खुल्ला रुपमा हुँदै आएको स्थानीय बताउँछन् । सो बिक्रीवितरण गर्नेलाई जरिवाना पनि कार्यविधिमा मात्र सीमित भएको उनीहरूको गुनासो छ ।  जरिवानाभन्दा पनि सचेत गराउने कार्यले व्यवसायीमा अटेरिपन रहेको छ । शरीरलाई दीर्घकालीन रुपमा असर गर्ने यस्ता चीज विशेषगरी किराना पसलमा लुकाएर राखेको अवस्थामा प्रशस्तै भेटिन्छन् ।      तिलोत्तमा–१ शिवचोक टोल विकास संस्थाका अध्यक्ष तुलसी न्यौपानेले अन्य पालिकामा सजिलै पाइने भएकाले गुट्खा खाने, जथाभावी फाल्ने र जथाभावी थुक्ने क्रममा कमी आउन नसकेको उहाँले बताउनुभयो ।  टोल विकास अध्यक्ष न्यौपानेले सफा र स्वच्छ तिलोत्तमा गुट्खाको प्रयोग तथा जथाभावी थुक्दा त्यसको औचित्यमाथि प्रश्न उठेको र यसले सबैलाई लज्जित बनाएको बताउनुभयो ।      कार्यविधिको दफा ७ को उपदफा १ मा टोलस्तरीय अनुगमन समितिमा वडाध्यक्ष संयोजक रहनेगरी व्यवस्था गरेको छ । वडा नं १ का वार्ड सञ्जाल अध्यक्ष डिल्लीराम कँडेलले भव्य कार्यक्रमबीच घोषणा गरे पनि अनुगमनमा एक पटक पनि सहभागी नगराएको गुनासो गर्नुभयो ।      नगरले घोषणा गरे पनि बिक्रीवितरण र सेवनमा कमी नआएको वडा नं १ का वडाध्यक्ष फर्सुराम गिरीको भनाइ छ । घोषणाताका अनुगमन अलि भए पनि पछिल्ला दिनमा भने अनुगमन एकदमै पातलो रुपमा भएको वडाध्यक्ष गिरी स्वीकार्नु हुन्छ । गिरीले पछिल्लो समय वडा नं १ को ड्राइभर टोल बजार क्षेत्र र हाटबजार क्षेत्रमा अनुगमन गर्दा सो पदार्थ नगण्य रुपमा बिक्रीवितरण गरेको भेटिएको बताउनुभयो ।      यसैगरी, वडा नं १७ का वडाध्यक्ष दानबहादुर चौधरीले विभिन्न क्षेत्रका व्यक्तिको व्यस्ततालाई बुझ्दै अनुगमन पातलो गरिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “अनुगमन गर्ने टोलीमा बाल सञ्जालका विद्यार्थी पनि राख्नुपर्ने हुनाले भनेजस्तो छिटो अनुगमन गर्न सकिएको छैन् ।” सो क्रममा व्यवसायीलाई कारबाही नगरी सचेत मात्र गराएर छाडिएको अध्यक्ष चौधरी बताउनुहुन्छ ।      विसं २०८० वैशाख २ गतेदेखि हालसम्म गुट्खाजन्य पदार्थको बिक्रीवितरण नियन्त्रणमा हालसम्म नगरका १३ भन्दा बढी पसललाई सचेत गराई जफत गरिएको नगर प्रहरीका इन्चार्ज नरप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले हालसम्म ४१ पसललाई जरिवानासहित जफत गरिएको बताउनुभयो । हालसम्म गुट्खाजन्य पदार्थ जरिवानाबाट रु ८६ हजार ५०० राजस्व सङ्कलन भएको र त्यसैगरी, गुट्खाजन्य पदार्थ २०१ पोका तथा एक हजार ३५६ जफत गरिएको प्रहरी इन्चार्ज श्रेष्ठले जानकारी दिनुभयो ।      पछिल्लो समय नगरपालिकामा नगर प्रहरी थपिएसँगै गुट्खाजन्य पदार्थ बिक्रीवितरणमा नियन्त्रण गर्न निरन्तर खटिने र अझ प्रभावकारी रुपमा अनुगमन गरिने नगर प्रहरी इन्चार्ज श्रेष्ठको भनाइ छ । नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाए पनि नगरभित्र बेचबिखनमा कमी आउन नसकेको नगरप्रमुख रामकृष्ण खाँण स्वीकार्नुहुन्छ ।       नगर प्रमुख खाँण भन्नुहुन्छ, “यसलाई पूर्ण रूपमा रोक्नका लागि टोल विकास समितिकै व्यक्तिलाई र विद्यार्थीलाई रसिद काट्न लगाउँछौँ, यसो गर्दा यो अवस्थामा धेरै सुधार आउने छ ।” पछिल्लो समय नगरपालिकामा १५ जना नगर प्रहरी थप गरिएसँगै २१ जना नगर प्रहरी भएको र अब भने अनुगमनमा कडाइ गर्ने नगरपालिकाले जनाएको छ ।

काठमाडौं:   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कारागार चलान हुनुभएको छ ।  दुई दिन जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिनुभएका लामिछाने आज जिल्ला कारागार चलान हुनुभएको हो ।       आज बिहान जिल्ला अदालत पेस गरेर आवश्यक प्रक्रिया पूरा गरिएपछि उहाँलाई कारागार चलान गरिएको हो । अदालत पेस गरेपछि उहाँलाई थुनुवा पुर्जी दिइएको थियो ।      जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीको नेतृत्वको टोलीले लामिछानेलाई अदालत पेस गरेलगत्तै थुनुवा पुर्जी प्रदान गर्ने प्रक्रिया पूरा गरेर कारागार लगिएको थियो ।  जिल्ला प्रहरीको टोलीले सोमबार बिहान कार्यालय समय भएपछि बुटवल पुगेर उच्च अदालतको आदेशको मिसिल बुझेको थियो । मिसिल बुझेर भैरहवा ल्याएपछि जिल्ला प्रहरीको हिरासतबाट लामिछानेलाई अदालत पेस गरिएको थियो ।      जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार करिब एक घण्टासम्म कारागारमा लामिछानेको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसपछि लामिछानेलाई कारागारको ब्लक नं ४ मा राखिएको छ । उक्त कारागारमा अहिले लामिछाने मात्रै रहेको प्रशासक भण्डारीले बताउनुभयो ।       लामिछानेलाई राखिएको कक्ष अन्य कैदीबन्दीलाई राखिएका भवनभन्दा बाहिर रहेको छ । शुक्रबार राति काठमाडौँमा पक्राउ गरेर लामिछानेलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो । दुई दिन बिदा भएपछि उहाँलाई शनिबार र आइतबार जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएको थियो ।      आज बिहान अदालत लैजानुअघि सदरमुकाम भैरहवाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । जिल्ला प्रहरीबाट अदालत जाने बाटो र अदालत परिसर आसपास नेपाल र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।       त्यस्तै, जिल्ला कारागार परिसर र आसपास पनि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । बुटवलको सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।      जिल्ला अदालत रूपन्देहीले दिएको रु एक करोड धरौटी लिएर छाड्ने आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो । गत माघ १३ गते जिल्ला अदालत रूपन्देहीले रवि लामिछानेलाई एक करोड धरौटी रकम माग गरेको थियो भने छविलाल जोशीलाई माघ २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।      समान प्रकृतिको मुद्दामा एकजनालाई धरौटी र अर्कालाई थुना भएपछि सरकारी वकिल कार्यालयले लामिछानेलाई पनि थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालत पुगेको थियो ।

काठमाडौं: नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकिएको छ ।  गभर्नर नियुक्तका लागि गठित सिफारिस समितिले नाम सिफारिस गर्न ढिलाई गरेपछि अर्थ मन्त्रालयले तिम्सिनालाई उक्त जिम्मेवारी दिएको हो ।       नेपाल राष्ट्र बैङ्क ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोक्नुभएको उहाँको सचिवालयले जनाएको छ ।      गभर्नर नियुक्ति सिफारिस गर्नका लागि अर्थमन्त्री पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सम्मिलित तीन सदस्यीय समिति गठन गरिएको छ । 

भक्तपुर:  भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वको नवदुर्गा देवगणको ‘ङालाकेग’ (माछा मार्ने)जात्रा मल्लकालीन परिवारलाई दर्शाउने जात्रा हो । तान्त्रिक विधियुक्त जात्राले मल्लकालीन समयमा नेवार जनजीवनमा सबैसँग मिलेर बस्ने, संयुक्त परिवारमा बसी काम गर्ने, ठूलालाई आदर सत्कार, सानालाई मायाप्रेम, सामाजिक मर्यादा, रीतिरिवाज, वेशभूषा, रहनसहन, खानपिन आदिलाई चरितार्थ गरिएको छ ।      तान्त्रिक विधिको माध्यमबाट मानव शरीरमा देवत्व प्रतिष्ठापित गरी बोलेरभन्दा निश्चित भाव सङ्केतद्वारा संवाद प्रस्तुत गरी मनाइने जात्राले मल्लकालीन समयको संयुक्त परिवारलाई इङ्गित गर्ने नाचका रुपमा ङालाकेगु जात्रालाई लिन मिल्ने इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।       “नेवार समुदायमा झल्किने शक्तिशाली पारिवारिक अनुसरणको सङ्केत नाचमा प्रस्तुत गरिएको छ, सबै देवगणलाई देवगृहमा भित्र्याउने, निष्कासित गर्ने दायित्वसँगै नेवार समुदायमा मानिसको जन्मदेखि मृत्युसम्मको संस्कारमा नंकी (घरमूली)ले संस्कार निभाउने भावप्रधानयुक्त नाच हो”, उहाँले भन्नुभयो, “जात्राले मल्लकालीन समयमा नेवार समुदाय र संस्कारमा नंकी प्रधान भन्ने मूल सन्देश जात्रामा देखाएको छ ।”       नगदुर्गा देवगणमा पित्तलको सानो मन्दिरलाई सिफोद्यः (महालक्ष्मी)को प्रतीकका रुपमा लिइन्छ । नाचमा भैरव, महाकाली, बाराही, ब्रह्मयणी, महेश्वरी, कुमारी, भद्रकाली, इन्द्रायणी, गणेश, महादेव, श्वेतभैरव, सिम्हदुम्ह (नन्दीभृंगी) गरी १३ मुकुण्डो प्रयोग गरी नाच प्रदर्शन गरिन्छ ।  त्यसबाहेक खिं बाजा, तः बाजा, कायँःबाजा, महापात्र र नकींगरी १९ जनाको समूह हुन्छ । नाचमा सबै दैत्यहरुको संहार गरी रगत थाप्ने विशेष खालको महापात्र (खप्पर)लाई त्रिपुरासुन्दरीको प्रतीक मानिन्छ ।      नाचमा मुबाहा (सुँगुरबली)को रगतमा चिउरा मिसाएर बनाएको (धौबजी)लाई प्रसादका रुपमा देवगणले ग्रहण गर्छन् । यो विधि भैरव महाकालीले गर्छ । जात्रामा उनीहरुलाई गणका आमाबुबाका रुपमा लिइन्छ । महाकालीले धौबजी वितरण गर्दा महेश्वरीले लिइँदैन । महेश्वरीलाई बर्खी बाँडेकी देवीका रुपमा पुजिन्छ ।      माघे सङ्क्रान्तिको भोलिपल्ट सुजमारीबाट सुरु गर्ने जात्रा नगरका २१ स्थानलगायत काठमाडौँको जयबागेश्वरी, थिमी, बनेपा, पनौती, साँखु, चाँगुनारायण, साँगा, श्रीखण्डपुर, टोखा, नालामा प्रदर्शन गरिन्छ । जात्रा सुरु गर्नु एक दिनअगाडि वापी पाछाकिगु जात्रा भनी सुजमारी टोल परिक्रमा गरेर राति खःप्याखं प्रदर्शन गरी मुःवाहा जात्रा गर्ने परम्परा छ ।      जात्रामा प्रदर्शन गर्ने नाच      भैरवनाथको नाचबाट जात्रा सुरु गरिन्छ । गीतको बोल, बाजाको तालसँगै पारिवारिक रहनसहन, अभिभावकको भूमिका, चेलीबेटीको दुःख, शाकाहारी, मांसाहारी जस्ता विषयवस्तुहरुमा नाच प्रदर्शन गरिन्छ ।  भैरवको बाहुलीबाट पूजा गर्ने, बलि दिने, समयबजीका साथ मुबाहालाई लखेटेर मुबाहा ल्यगु (लखट्ने) नाच सुरु गरिन्छ । नाच सुरु गर्न मुबाहा अगाडि खुल्ला ठाउँमा छोडी, लियो लियो पायो पायो भन्दै लखट्दै समातेर सिफोद्यः अगाडि लगी बलि दिन्छ । त्यसपछि क्रमिक रुपमा महेश्वरीले बाहेक सबै गणले रगत खाएपछि भैरव, काली र गणेशको नाच प्रदर्शन गरिन्छ ।      धान रोपाइँ नाच      ब्रह्मायणी, महेश्वरी, कुमारी र भद्रकालीले धान रोपाइँ नाच देखाइन्छ । सृष्टिकर्ताका रुपमा रहेका बह्मायणीबाट नाचबाट सुरु गरिन्छ । कुमारीले  परिवारमा चेलीबेटीले गरिने व्यवहारको नाच प्रदर्शन गर्छ ।  सरसफाइ गर्ने, शृङ्गारहरु गर्ने, खाना पकाउने र बाँडेर खुवाउने कार्य कुमारीले देखाउँछ । नाचमा अरूलाई बाँडेर खुशी हुने कुमारीलाई भैरवले खाली पात्र दियो भनी चित्त दुःखाइ कुमारी तुलेगु (कुमारी विलाप गर्ने) नाच प्रदर्शन गरिन्छ । नाचमा कुमारीलाई लक्ष्मी र सरस्वतीका रुपमा समेत पूजा गरिन्छ ।       त्यसपछि भद्रकालीले कृषि कार्यको प्रतीकको नाच देखाइन्छ । कुनै प्राणी बाँच्नका लागि खानपान आवश्यक पर्छ भन्ने भाव नाचमा प्रस्तुत गरिन्छ । गणमा महेश्वरीलाई शाकाहारी देवीका रुपमा पुजिन्छ । शान्तिको प्रतीकका स्वरुप यिनलाई गङ्गाजस्तो पवित्र मानी छुट्टै पहिचान भएकी देवीका रुपमा पुजी नाच देखाइन्छ ।       बाराही नाच      बाराहीले घरको महिलाको नाच प्रदर्शन गरिन्छ । बेलविवाह, सूर्यविवाह, बुहारीमा हुनुपर्ने व्यावहारिक ज्ञान, घरपरिवारमा नारीले निभाउनुपर्ने व्यवहार, आदर, सम्मान, शिष्टतालगायत नाच प्रदर्शन गरिन्छ ।        सिम्हदुम्हको ङालाकेगु जात्रा       जात्रामा सिम्हदुम्हलाई भीमसेन र द्रौपदीका रुपमा पुजिन्छ । दुम्हले बालबालिकाहरुका गतिविधिका साथै भीमसेनको भूमिका निभाउँछ भने सिम्हले द्रौपदीको भूमिका निभाउँछ ।  जात्रामा सिम्हदुम्ह दुवैले ङालाकगु गर्ने टोलमा पैसा माग्न जान्छ । पैसा माग्ने कार्य सकेपछि श्रीमान् श्रीमतीबीच हुने दाम्पत्य जीवनमा हुनुपर्ने सदाचारयुक्त सिम्हदुम्हको ङालाकेगु जात्रामा गरिन्छ । जात्रा गर्दा स्थानीय टोलटोलमा तीन पटकसम्म ङालाकेगु गर्छ ।      महाकाली नाच      सिम्हदुम्हको ङालाकेगु जात्रापछि युद्धको भूमिका, नारी र तीन नेत्रको क्रोधयुक्त नाच महाकालीले देखाइन्छ । गणमा महाकालीलाई सबैभन्दा क्रोधी देवीका रुपमा प्रस्तुत गरिन्छ । नाचमा देवीहरुको क्रोधबाट महिषासुरलाई स्वर्ग र पातालबाट खोजेर आफ्नो हतियारबाट वध गरेको प्रदर्शन गरिन्छ । नाचमा आफूले बलि नपाउँदा रिसाइ फर्कने क्रोधी देवीका रुपमा देखाइन्छ ।       श्वेतभैरवको खास्टो लुट्ने फिर्ता गर्ने नाच       यो नाच महिषासुरको वध गरेपछि रगताम्य महाकालीले वस्त्र सफा गरी रहेको बेला श्वेतभैरवले सुन्दर नारीको नग्न शरीर हेर्दै जिस्किरहेको देखाइन्छ । आफूलाई लुकीछिपी हेरेर जिस्काए भन्दै क्रोधित महाकालीले श्वेतभैरवसँग खास्टो लुटेर लिने नाच देखाइन्छ । त्यसपछि खास्टो फर्काउन श्वेतभैरवले महाकालीलाई मायाले फकाए पनि मान्दैन ।       जति मायाले फकाए नि महाकाली नमानेपछि स्वेतभैरवले बाटोमा पैसा मागेर महाकालीलाई चढाएर मनाउन खोज्छ । क्रोधित महाकालीले भाले कुखुरा खाने इच्छा प्रकट गर्छ । श्वेतभैरवले त्यही पैसाले भाले किनेर महाकालीलाई चढाउँछ । महाकालीले खुसी भई मुखबाट भालेको टाउको छुट्याइ बलि लिन्छ र भैरवलाई खास्तो फिर्ता गर्छ । यस कथालाई जीवन्त दिँदै नाच प्रदर्शन गरिन्छ ।       श्वेतभैरवको ङालाकेगु जात्रा      खास्तो फिर्ता गरेपछि सिम्हदुम्ह, बालकुमारी, श्वेतभैरव र महाकालीबीच विशेष पूजा गरी गरिन्छ । त्यसपछि श्वेतभैरवले बोक्ने पुलुको सबै कुनामा माछा राखेर श्वेतभैरवको नाच देखाइन्छ । माछा राख्न सकेपछि पुलुले श्वेतभैरवलाई हावा हम्काई ङालाकेगु जात्रा गरिन्छ । यो जात्रा टोलटोलमा तीन पटकसम्म गरिन्छ ।      श्वेतभैरवको पेट दुख्ने नाच      माछा मार्ने जात्रा सकेपछि श्वेतभैरवलाई पेट दुखेर छटपटिरहेको नाच देखाइन्छ । सिम्हदुम्हलाई भनेर इन्द्रायणीलाई बोलाउन पठाई अक्षता छरेर निको पारिन्छ । यसपछि श्वेतभैरव र इन्द्रायणीको नाच प्रदर्शन गरिन्छ । नाचमा स्वेतभैरवले सिम्हदुम्हको सहयोग लिई लुगा धुन लगाउँदा लुगा फालिदिन्छ । फालिदिएपछि सिम्हदुम्हलाई गाली गरी आफैँले लुगा धुने नाच देखाइन्छ ।      समापन नाच      समापन नाच राति देखाइन्छ । यस नाचमा श्वेतभैरवको नाच देखाइन्छ । लगत्तै सम्पूर्ण देवगणहरुले सामूहिक नाच प्रदर्शन गरिन्छ । त्यसपछि स्थानीयवासीका हर्षोल्लासका साथ बाजागाजा अगाडि राखेर जयजयकारका साथ धूप, अगरबत्ती बाली देवगृह पु¥याई जात्रा सम्पन्न गरिन्छ ।      प्रत्येक वर्ष नवदुर्गाको जन्मसँगै नेवार समुदायमा सुखद क्षण, उत्साह उमङ्ग छाएको हुन्छ । यसको अन्त्यसँगै भक्तपुरमा मात्र नभएर देशकै लागि विभिन्न कठिनाइको सामना गर्नुपर्छ । नेवार समुदायमा वर्षदिनको चाड घण्टाकर्णदेखि सुरु भई सिथी नखाःमा समापन हुन्छ ।  घण्टाकर्णसँगै नवदुर्गा उत्पत्ति भई सिन्हाज्या सुरु गरिन्छ । भगस्थीमा देवगण जलमा समावेश भएपछि देशमा बाढीपहिरोको प्रकोप सुरु हुने, मानिसहरु आलस्य भई विभिन्न रोगबाट ग्रसित हुने नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार नारायण वनमालाले जानकारी दिनुभयो ।       नवदुर्गागणको नाचबारे प्रचलित किंवदन्तीअनुसार भक्तपुर नगरको पूर्वमा अवस्थित नालागाउँमा एउटा ब्रह्मायणी जोल भन्ने जङ्गल थियो । सो जङ्गलको खोँचमा एउटा मन्दिर छ ।  उक्त मन्दिरबाट नवदुर्गागण प्रकट भई नाच्ने, जङ्गलको बाटो भई आवतजावत गर्ने जोसुकै मानिसहरुको भोगबलि लिने कारण जनजीवन भयावह अवस्था आयो ।  एकपल्ट नालाकै एक सिद्ध तान्त्रिक आचाजु सोही बाटो हुँदै जाँदा नवदुर्गाले भोगबलि लिन खोज्दा आचाजु चलाख भएर पहिले सबै गणको दर्शनपूजन गर्न पाउँ भनी बिन्तीभाव गर्दा गणले मानेपछि आचाजुले सबै देवगणलाई तान्त्रिक मन्त्रशक्तिबाट तानेर कलाली (नेवार समुदायान पूजा राख्ने विशेष खालको थाली) मा विराजमान गराई नालास्थित आफ्नै घरमा लगेछ ।       आचाजु जीवत भएसम्म नित्य पूजा भयो तर मृत्युपछि पूजा गर्ने कोही नभएपछि देवगणहरु तान्त्रिक मन्त्रशक्तिबाट बाहिर आएर पुनः सोही स्थानमा आएर मानिसको भोगबलि लिन थाले । भोगबलिकै लागि नवदुर्गाले मनुष्यको रुपधारण गरी नालाका मानिसहरुलाई जङ्गलमा लाने र भोगबलि लिन थाले । यस्तो भएपछि नालामा पुरुष नहुने स्थिति आयो ।       एक दिन नालामा नवदुर्गाले भोगबलि लिएका मानिसको कर्मकाण्ड गर्न सोमराज नाम गरेका एकजना ब्राह्मण गएछन् । कारणवश ब्राह्मण आचाजुको घरमा पुगेछन् । घरको अवस्था देखेर उहाँले आचाजुको घरमा खोजीनिति गर्दा एउटा कोठामा कलाली भेटाएछ । ब्राह्मणले तान्त्रिक मन्त्रद्वारा सबै देवगणलाई आह्वान गरी पुनः त्यही कलालीमा राखेर आफ्नो बासस्थान सोमला गल्लीमा लगेछ । कसैले नदेख्ने गोप्य ठाउँमा राखी नियमित नित्यकर्म पूजापाठ गर्न थाले ।       एक दिन ब्राह्मण स्नान गर्न गएका बेला उहाँको श्रीमतीले देवगण भएको कोठामा ढोका खोली हेर्दा देवगणले चाल पाएर कोप भई त्यहाँबाट पूर्वदिशातर्फ लागे ।  त्यहाँबाट कोप भई गएपछि इनाचोस्थित स्वंग ल्हमा पुग्दा देवगणहरुले सुँगुरको भोगबलि लिई रहेको ब्राह्मणले थाहा पाए । त्यो देखेर ब्राह्मणले देवगणलाई पुनः फर्कन आग्रह गर्छन् ।  मन्त्रले काम नगरेपछि नवदुर्गालाई देशवासीको अगाडि ल्याउनुपर्छ भनी सबै गण समावेश भएको गणखा (वनमाला समुदाय)लाई नृत्य सिकाई मुकुण्डो खर्पनमा राखी पठाएको किंवदन्ती रहेको छ । किंवदन्तीअनुसार देवगण सिद्ध हुनलाई मोहनी (कालो टीका) धारण गरेपछि देव प्रतिनिधि हुन पाउनेछन् । यसकारण नवदुर्गाको मुबाहाका रुपमा सुँगुरलाई लिएको मानिन्छ ।       आठ महिना सञ्चालन हुने यो जात्रा नगरको तुलाछेस्थित त्रिपुरासुन्दरी, तुछिमला, इच्छुबाहेक बाहिर जिल्लाका पनौती र बनेपा गरी पाँच ठाउँमा बाँकी रहेको छ ।  खाली पेटमा जाँड र रक्सीको भरमा नाङ्गो खुट्टाले नाच्नुपर्ने कठोर नाचको नियम पालना गर्दै जात्रालाई जीवन्त राख्दै आएका वनमाला समुदायको संरक्षण र संवद्र्धनका लागि गुठी संस्थान, भक्तपुर नगरपालिकालगायत राज्यले विशेष बन्दोबस्त गरिदिनुपर्ने जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका पूर्वसचिव रत्नमान वनमालाले बताउनुभयो ।

पोखरा​: पोखरा महानगरपालिकाले कृषकलाई चैते धानको बीउ अनुदानमा उपलब्ध गराएको छ ।      महानगरपालिकाले एक हजार ५०० किलोग्राम धानको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको महानगरपालिकाका कृषि महाशाखा प्रम्ुख मनहर कडरियाले जानकारी दिनुभयो ।       चैते धानखेतीतर्फ कृषकहरूको आकर्षण बढाउने उद्देश्यका साथ विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिँदै आइएको बताउँदै उहाँले यस वर्ष पनि प्रतिरोपनी रु ५०० का दरले प्रोत्साहन रकम उपलब्ध गराइने जानकारी दिनुभयो ।      महानगरपालिकाअन्तर्गत वडा नं २६, २७, १४, १५ लगायतका वडामा कृषकले चैते धानखेती गर्दै आएका छन् ।  

मकवानपुर: करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ ।       उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्को अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः सुरु भएको जनाइएको छ । चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले बताउनुभयो ।      उद्योगलाई आवश्यक पर्ने एक हजार ९०० मेट्रिक टन कोइला अहिले जगेडामा राखिएको छ । दोस्रो चरणमा गरी करिब चार हजार मेट्रिक टन कोइला बोलपत्र प्रक्रियामार्फत ल्याउने तयारी भइरहेको कर्णले जानकारी दिनुभयो ।       विसं २०३३  मा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले विसं २०४३ मङ्सिर २६ गते उद्घाटन गरिएको थियो । तत्कालीन समयमा हेटौँडा उद्योगमा रु एक अर्ब ५० करोड लगानी गरिएको थियो ।  हाल उद्योगमा प्रशासन, व्यापार महाशाखा, लेखा,  भण्डारण, प्राविधिक र मजदुर कर्मचारी गरी १९५ जनाले स्थायी रोजगारीको अवसर प्राप्त गरिरहेका छन् । उद्योगले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादनको क्षमता भए पनि हाल १२ हजार बोरा मात्र उत्पादन भइरहेको जनाएको छ । 

मुस्ताङ:  राष्ट्रिय गौरवको बेनी–जोमसोम कोरला सडक सहजहुँदै जान थालेपछि पोखरा—जोमसोम हवाई उडानको सङ्ख्या दुई तिहाइले घटेको छ ।  पर्यटकीय यामका बेला निकै चहलपहल हुने जोमसोम नागरिक उड्यन कार्यालयको जोमसोम विमानस्थलमा हवाई यात्रुको चहलपहल पहिलेको जस्तो देखिँदैन ।  हिमाली जिल्ला मुस्ताङमा बिहानको समयम मात्रै साना टुईनेटर जहाजहरुले पोखरा—जोमसोम हवाई सेवाको उडान भर्ने गर्दथे । तर बिहानको समयमा जोमसोम विमानस्थल पुग्ने हो भने सीमित हवाई यात्रु बाहेक अन्य कोही हुँदैनन् ।       राष्ट्रिय राजमार्ग सुरु हुनुअघि पोखरा–जोमसाम हवाई यात्रा गर्दै दैनिक तीन सय बढी पर्यटक मुस्ताङ आउने गरेका थिए  । अहिले त्यो सङ्ख्या घटेर आधा पनि पुग्दैन । यसको कारण हो स्तरोन्नति हुँदै गरेको कोरला सडक । म्याग्दीको बेनीदेखि मुस्ताङको मुक्तिनाथसम्म दुई तिहाईभन्दा बढी कच्ची सडक कालोपत्र भइसकेको छ ।  सडक कालोपत्र भएकै कारण हवाई यात्रुको सङ्ख्या विगतका वर्षभन्दा यसपाली हवाई उडान घट्न पुगेको जोमसोम नागरिक उड्यान कार्यालयका प्रमुख केशव लम्सालले जानकारी दिनुभयो ।  “कोरला सडक स्तरोन्नति हुनु अगावै यहाँ १८ वटासम्म हवाई उडान हुने गरेको हाम्रो रेकर्डमा छ ”, उहाँले भन्नुभयो,“अहिले हवाई यात्रा गर्ने कतिपय पर्यटक सडकमार्ग हुँदै मुस्ताङ आउँजाउ गर्छन् ।” हिउँदयामको समाप्ति र वसन्त ऋतुको आगमनसँगै यो समय मुस्ताङ घुम्ने उपयुक्त अनुकूल समय हो । यद्यपि योसमयमा पोखराबाट हवाईमार्ग हुँदै मुस्ताङ आउने पर्यटक सडकमार्गबाट आउँने गर्दा उडान घटेको तारा एअरलाईन्सका जोमसोम व्यवस्थापक सुजन लालचनले उल्लेख गर्नुभयो ।  “पहिला हामीलाई यात्रुवर्गलाई टिकट उपलब्ध गराउनै हम्मेहम्मे पर्ने गथ्र्यो, पोखरा जोमसोम टु वे कै टिकट काटेर आउने हवाई यात्रुले गर्दा नेपाली पर्यटकसहित स्थानीय र कर्मचारीलाई हवाई टिकट छैन भन्नुपथ्र्यो”, उहाँले  भन्नुभयो,“ अहिले पोखराबाट आतेजातेको टिकट लिएर नआएमा यहाँबाट जहाज नै खाली पठाउनु अवस्था भइरहेको छ, पछिल्लो वर्षमा झनै यस्तो समस्य थपिएर उडान क्रमशः घट्ने अवस्था देखिएको छ ।”       पोखराबाट भारतीय पर्यटकले मुक्तिनाथको दर्शन गरी भोलिपल्टै फर्किने गरी दुईतर्फी हवाई टिकट लिने गरेको भए पनि अन्य मुलुकका पर्यटकले भने एकतर्फी टिकट लिएर हवाईयात्रा गर्ने भएकाले जोमसोमबाट प्रायः जहाज खालीखाली पठाउनुपर्ने अवस्था रहेको समिट एअरलाईन्सका जोमसोमका व्यवस्थापक सुमन थकालीको भनाइ छ ।  “पहिला पहिला यहाँबाट स्थानीय र कर्मचारी लगायतमा यात्रु पनि जहाजको यात्रा गर्न खोज्थे’, भन्नुभयो,“अहिले सडक बाटो राम्रो भएकाले यहाँबाट अधिकांश यात्रु सडकमार्गबाटै पोखरा झर्ने गर्छन्  ।” पोखरा जोमसोम हवाई उडान घट्नुको अर्को कारण पछिल्लो समय सुरक्षित हवाई यात्रामा चुनौती पोखरा जोमसोम हवाई मार्गमा आधादर्जन जती हवाई दुर्घटना भइसकेको छ ।  बढ्दो हवाई जोखिमलाई न्यूनीकरण नेपाल नागरिक उड्यान प्राधिकरणले नयाँ नियम र थप निगरानी बढाउन थालेपछि हवाई उडान घट्नु पुगेको विश्लेषण गरिएको छ । यसो त (पोखरा—जोमसोम) हवाई यात्राका लागि सम्बन्धित ट्राभल एजेन्सीहरुले टिकट बुकिङ गर्ने गरे पनि उडान रद्द हुँदा तत्कालै सडकमार्गबाट यात्रुलाई मुस्ताङ पठाउने गर्दा हवाई उडान घटेको व्यवस्थापक थकालीले उल्लेख गर्नुभयो ।  ट्राभल कम्पनीले हवाई टिकट बुकिङ गरे पनि सडकमार्गबाट यात्रा गराउँदा हवाई टिकटको आधा भाडा बचत हुने भएकाले पनि पहिलेको जस्तो जहाज कुरेर बस्ने नगरेको उहाँले जनाउँनुभयो ।  यसरी जहाजको टिकटमा बुकिङ गरेर गाडीमा पठाउँदा ट्राभल कम्पनीलाई  आर्थिक लाभ हुने उहाँले बताउनुभयो । पछिल्लो समय राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडक सहज बनेपनि अधिकांश पर्यटक सडकमार्ग हुँदै मुस्ताङ आउने गरेको पाइएको छ । सडकमार्गको सहजता र सस्तो मूल्यमा यात्रा गर्न पाइने र सवारीसाधन पनि भनेको समयमा उपलब्ध हुने भएकाले सडकमार्गबाट यात्रा गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।       मुस्ताङका स्थानीय नागरिक, कर्मचारी, सुरक्षाकर्मी, मजदुर र सामान्य व्यक्तिसमेत सडकमार्गबाट आवतजावत गर्ने गरेका छन् । अहिले दैनिक पोखरा —जोमसोम हवाई उडान दैनिक ५÷६ वटा मात्रै हुने गरेको जोमसोम नागरिक उड्यन कार्यालयको भनाइ छ । यसमा यात्रा गर्ने ८० प्रतिशत भारतीय र २० प्रतिशत अन्य मुलुकका विदेशी पर्यटक रहेको छ ।  निर्माणधीन राष्ट्रिय गौरवको बेनी—जोमसोम सडक आयोजना कार्यान्वयनमा आउन पूर्व अनुकूल मौसममा ९पोखरा–जोमसोम० हवाई उडान दैनिक १८ वटासम्म हुने गथ्र्यो ।   साना जहाजलाई अनुकूल समयमा यात्रु ओसारपोसार गर्न भ्याइनभ्याइ हुने गथ्र्यो । भारतीय र तेस्रो मुलकका विदेशी पर्यटकले मात्रै टिकट पाउँथ्ये । नेपाली आन्तरिक पर्यटकलाई पोखरा–जोमसोम हवाई टिकट पाउन निकै कठिन पथ्र्यो ।       हवाई टिकट मूल्यमा एकरुपता नहुँदा नेपाली पर्यटकका साथै मुस्ताङका स्थानीयवासीलेसमेत हवाईयात्रा गर्न निकै सास्ती खप्नुपर्दथ्योे । स्वदेशी हवाई यात्रु भन्दा विदेश पर्यटकको हवाई यात्रु टिकटमा दोब्बर ÷तेब्बर मूल्यपर्ने भएकाले सम्बन्धित निजी एअरलाईन्स कम्पनीहरुले स्वदेशीलाई हवाई टिकट दिन खोज्दैनथ्ये ।       कुनै दुर्घटना भयो वा सिकिस्त बिरामी परेको बखतमा मात्रै स्वास्थ्यचौकी वा अस्पतालको सिफारिसमा उनीहरुले हवाई टिकट उपलब्ध गराउँथ्ये । पोखरा–जोमसोम हवाईयात्रा गर्नुपर्दा यात्रुलाई निकैनै सङ्घर्ष गर्नुपथ्र्यो । तर, अहिले त्यो समय पूरै फेरिएको छ ।

पोखरा:  राष्ट्रिय खेलाडी सम्मिलित सिइसी काठमाडौंसँग पोखरा महानगर क्रिकेट क्लबले लज्जास्पद पराजय व्यहोरेको छ । पोखरा क्रिकेट खेल मैदानमा मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी दोस्रो केपी ओली कप पुरुष राष्ट्रिय टि२० क्रिकेटमा तेस्रो दिनको पहिलो खेलमा सिइसी काठमाण्डौ ९ विकेटले बिजयी भएको हो ।  जित संगै लिगमा अपराजित रहँदै कुल ६ अंकका साथ उसले सेमीफाइनल यात्रा सुरक्षित गरेको छ । पोखराले आफ्ना लिग चरणका तीन खेलमा नै पराजयको सामना गरेको छ । पोखरा महानगरले टस जितेर व्याटिङको सुरूवात गर्दै १७.२ ओभरमा १० विकेटको क्षतीमा ५३ रन बनायो । पोखराले १० रन अतिरिक्त रनको रुपमा पायो । सुमह ‘ए’को अन्तिम चरणको खेलमा पोखराको पारीलाई ध्वस्ता पार्ने क्रममा म्यान अफ दि म्याच समेत रहेका सिइसी काठमाण्डौका दिपेन्द्र रावतले र युनिश विक्रम सिंह ठकुरीले समान ३÷३ विकेट हात पारे ।  दिपेन्द्रले आफ्नो ४ ओभरको स्पेलमा ८ रन दिएर ३ विकेट लिए भने विक्रमले ३.२ ओभरमा ९ रन दिएर ३ विकेट लिए । पोखराका कविन सापकोटाले १२ रनको दोहोरो रन बनाउनु बाहेक अन्य खेलाडीहरु क्रिजमा टिक्न सकेनन् । पोखराका लागि आशिष न्यौपाने ९, सुमित श्रेष्ठ र अन्जन केसीले समान २र२, प्रमोद बास्तोला, अभिनव शाह, मार्शल बरालले समान ३÷३ रन बनाए । समिर भुजेल र सुवास बास्तोला सुनय रनमा आउट भए । त्यस्तै काठमाण्डौका लागि सूर्य तामाङले ४ ओभरमा १० रन दिएर २ विकेट तथा मनोज यादव र अशोक बोहोराले समान १÷१ विकेट हात पारे । ५४ रनको झिनो लक्ष्य पछ्याएको टिमको कप्तानी सम्हालेका रित गौतमले आक्रमक पारी खेल्दै १५ बलमा ३६ रनको योगदान दिए । उनले आफ्नो पारीमा ३ छक्का र ४ चौका प्रहार गरे । उनी सुभाष बास्तोलाको बलमा अभिनवको हातबाट क्याच आउट भए ।  त्यस्तै दिपेनद्र रावतले ८ बलको सामना गर्दै १ चौका र २ छक्का साथ १९ रन बनाउँदा शिवम तिवारीले २ रन बनाए । समुह एको अन्तिम लिग खेल हेटौडा स्पोर्टस एकेडेमी र स्याङजा क्रिकेट क्लबका बीच हुनेछ । दुबैले लिग चरणमा एक–एक खेल जितेका छन् ।