लमजुङमा बाटो खन्ने क्रममा शंकास्पद वस्तु भेटिएको छ।   लमजुङको बेशीसहर नगरपालिका-८ स्थित जिल्ला प्रहरी कार्यालय नजिक जेसिबीले बाटो खन्ने क्रममा शनिबार बिहान शंकास्पद वस्तु भेटिएको हो।   शं...

झापा: झापामा २० हजार हेक्टर जमिनमा चैते धानखेती लगाइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । त्यसमध्ये आठ पालिकाको ४८ बिघा जमिनमा कृषि ज्ञान केन्द्रले नै आधुनिक प्रविधिको प्रयोग गरेर परीक्षणका लागि चैते धान रोपेको जनाएको छ ।      परम्परागत खेतीभन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादनसमेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकीकरण प्रदर्शन कार्यक्रमअन्तर्गत मेसिनबाट चैते धान रोपाइँ ९प्रविधि प्रदर्शन० गरेको केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।       उहाँले यस वर्ष १२० हेक्टर जमिनमा आधुनिक कृषि यान्त्रिकीकरणको प्रयोग गरेर चैत धान रोपाइँ भएको बताउनुभयो । उहाँका अनुसार विगतमा ज्ञान केन्द्रले नमूना परीक्षणका लागि गरिएका सबै कृषि समूह र सहकारीले यस वर्ष पनि निरन्तर कृषि यान्त्रिकीकरणकै प्रयोग गरेर चैते धानखेती गरेका छन् । स्थानीय पालिकाहरुको सहयोगमा किसान समूहको छनोट गरी केन्द्रले विगतदेखि नै हर्दिनाथ–१ धान लगाउन प्रोत्साहन गर्दै आएको छ । उहाँले भन्नुभयो, “अन्य धानको तुलनामा राम्रो उत्पादन हुने हुँदा यही धानको बीउ रोप्न सिफारिस गर्ने गरेका छौँ ।” यो धानको बीउ राखेको दिनदेखि १२० दिनमा पाक्ने उहाँको भनाइ छ ।  यस वर्ष गौरीगञ्ज गाउँपालिका, गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका, भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिकामा कृषक समूहअन्तर्गत कृषियन्त्र प्रयोग प्रदर्शन गरिएको छ । छनोटमा परेका कृषि समूहलाई केन्द्रले धानको बीउ, बीउ राख्ने ट्रे र प्राविधिकलगायतमा सहयोग गरेको जनाएको छ । 

काठमाडौं:  निरन्तर बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।      शुक्रबार प्रतितोला रू एक लाख ७६ हजार २०० मा कारोबार भएको सुन आज तोलामा रू ६०० ले बढेर रू एक लाख ७६ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।      त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रू १५ घटेर रू दुई हजार २५ कायम भएको छ ।  अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

पोखरा:   पोखरामा पहिलो पटक हुन भइरहेको नाडा प्रिजेन्ट्स वाडा अटो सो २०२५ मा दर्शकहरुको उत्साहजनक सहभागिता रहेको छ ।  १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहको अटो सोमा इभि गाडी प्रति आगन्तुकको बढि चासो देखिएको छ ।  अटो शोमा भेटिएका न्युरोडका श्याम मल्लले अहिले प्रयोग गरिरहेको पेट्रोल गाडीलाई एक्सचेन्ज गरेर इभी गाडी बुक गरेको सुनाए ।  उनले पेट्रोल गाडीले इन्धन खर्चका साथै वातावरणमा पनि असर गर्ने र सम्भार खर्च पनि बढने हुँदा इभि गाडी तर्फ रुची बढेर बुकिंग गरेको बताए ।  यसै गरि अटो सोमा इभीका नया फिचर सहितका सवारीसाधन बुक गर्न आएका मोहोरिया टोलका कमल श्रेष्ठले पनि समय अनुसारको परिबर्तन चाहनेले इभि गाडी मनपराउने बताए ।  अटो सोमा शनिबार सम्म अनुमानित २० हजार दर्शकले अवलोकन गरिसकेको कार्यक्रमका प्रचार संयोजक विनय थापाले जानकारी दिए ।  आइतबार अन्तिम दिन पनि भएकोले एसइइ दिएर बसेका विद्यार्थीहरुलाइ अटो शोमा प्रबेश निशुल्क गरिएको थापाले बताए ।   पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को आयोजनामा विहिबारबाट शुरु भएको कार्यक्रमको उदघाटन पोखरा महानगरपालिकाका मेयर धनराज थापाले गरेका थिए ।  अटो शोलाई मध्यनजर गर्दै शुक्रबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको थियो ।  यस अघि कार्यक्रमको प्रचारप्रसारका लागि पोखरा उपत्यका मोटर रेस, केभ टु केभ मोटर साइकल र्याली, सरसफाइ कार्यक्रम गरिएको थियो ।  अटो सोमा बन्दिपुर केवुलकार एण्ड टुरिजम लि.ले डोर प्राइज अन्तर्गत ३ सय वटा केबुलकार टिकट उपलब्ध गराउने  छ  ।    प्रदर्शनी अवलोकन गर्न पुग्ने दर्शकहरूले टिकटमा गोलाप्रथाद्वारा सो केबुलकारको टिकट प्राप्त गर्न सक्नेछन् ।  अटो प्रदर्शनीमा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिका प्रबद्र्धक रहेका छन् भने पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड क्लब पोखरा तथा प्रदर्शनीस्थल उपलब्ध गराई अमरसिंह मा.वि. सहयोगी संस्था बनेका छन् ।   

तनहुँ: तनहुँको व्यास नगरपालिका–३ दमौलीमा निर्माणाधीन नमूना भेटेरिनरी अस्पताल भवन निर्माण कार्य सुस्त गतिमा भइरहेको छ ।  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सेवा पुशपन्छीपालक किसानलाई सहज रूपमा सेवा प्रवाह गर्न सुविधासम्पन्न भवन  निर्माण गर्न लागेको हो । केन्द्रका सूचना अधिकारी पशु विकास अधिकृत डा रामनरेश यादवले एक वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने उक्त भवन हालसम्म पनि अधुरै रहेको बताउनुभयो ।  पशुपन्छीको उपचारमा गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यले गत पुसमा सम्पन्न गर्नेगरी भएको निर्माण सम्झौता पूरा नभएपछि भदौसम्मको म्याद थप भएको थियो ।  निर्माण कम्पनीले ढिलासुस्ती गरेकाले सम्झौताअनुरुप काम सम्पन्न हुन नसकेको सूचना अधिकारी यादवले बताउनुभयो । काम सुरु नगरे ठेक्का तोड्ने चेतावनी दिएपछि केही निर्माणका कार्य भइरहेको उहाँले बताउनुभयो ।      उहाँले भन्नुभयो, “हालको ठेकेदारले काम नगरे ठेक्का तोडेर भए पनि अस्पताल भवनको भौतिक संरचना निर्माण गर्ने लक्ष्य लिएका थियौँ, ढलानको काम भएको छ, अब अन्य संरचनाको काम बाँकी छ ।”  गण्डकी प्रदेश सरकारको मूल्य रु चार करोड ९० लाख ८३ हजारको लागतमा अस्पताल भवन निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । अस्पतालका आवश्यक भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्न रु १० करोड लाग्ने अनुमान छ । साढे दुई तलाको उक्त भवनको ढलानको काम सकिएको केन्द्रका लेखा अधिकृत पार्वती पौडेलले जानकारी दिनुभयो ।  अस्पताल भवनको ढलान कार्य सकिएको र अन्य काम बाँकी रहेको निर्माण कम्पनीका साइट इञ्चार्ज विमल खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार असार मसान्तसम्ममा भवन निर्माणको काम सक्नुपर्ने सम्झौता छ । उहाँले भन्नुभयो, “बजेट अभावले नै काम अगाडि बढाउन नसकिएको हो, अस्पतालमा आवश्यक संरचना निर्माण हुन बाँकी छ ।” करिब साढे एक रोपनीमा निर्माणाधीन उक्त अस्पताल भवनको सेवा प्रवाहमा आवश्यक भौतिक संरचना निर्माण गर्नुपर्ने अवस्था छ । एकैसाथ निर्माण थालनी गरिएको कास्कीको पोखरामा भने नमूना अस्पतालबाट सेवा प्रवाह भइसकेको छ । 

काठमाडौं: हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कर्णाली  र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ ।  विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम  सफा रहनेछ । कोशी  र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै ती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।   आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।  कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

काठमाडौं:  चीन–नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा सि सिछुआन–नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिछुआन शृङ्खला चीनको छेन्दुमा प्रारम्भ भएको छ ।  सिछुआन प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासले संयुक्त रूपमा सिछुआन प्रान्तको राजधानी छेन्दुमा गत शुक्रबार व्यापार आदानप्रदान सिछुआन शृङ्खला प्रारम्भ भएको हो ।  त्यसअवसरमा सिछुआन प्रान्तको विदेश मामिला कार्यालयका महानिर्देशक झाङ ताओले नेपाल र सिछुआन बीचको सम्बन्ध क्रमशः प्रगाढ हुँदै गएको, हालै पोखरा महानगरका प्रमुखको नेतृत्वमा गएको प्रतिनिधिमण्डल र पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सिछुवान विमान कम्पनीले सोझै छन्दुमा हवाई सेवा थालेपछि पारस्परिक आदानप्रदान बढेको बताउनुभयो ।  छेन्दुस्थित महावाणिज्य दूतावासका अनुसार एक वर्षयता चीन र नेपालबीचको सामाजिक–सांस्कृतिक आदानप्रदान पनि वृद्धि भएको उहाँले बताउनुभयो ।  चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई जनस्तरमा हुने व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानले अझ मजबुत तुल्याएको बताउनुभयो ।  महिनाभरि सञ्चालन हुने सिछुआन शृङ्खलामा सिछुआन प्रान्तका विभिन्न सहरमा स्थानीय उत्पादनको प्रदर्शनी र सांस्कृतिक आदानप्रदानका कार्यक्रमले नेपाल र चीनबीचको सुदृढ सांस्कृतिक, व्यापारिक, आर्थिक एवं जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास महावाणिज्य दूतावासले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा व्यक्त गरिएको छ । 

काठमाडौं: सङ्गीतकार, गीतकार, अभिनेताका रूपमा परिचित गायक प्रकाश सपूतले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘वसन्त’ आउँदो शुक्रबार अर्थात् चैत २२ मा प्रदर्शन हुँदैछ ।  गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहनुभएका गायक सपूतले चलचित्रमार्फत आफ्नो भोगाई र विसं २०६० देखि हालसम्मको समाजलाई चित्रण गर्न खोज्नुभएको छ ।  विशेषगरी माओवादी द्वन्द्व, वर्गीय र जातीय विभेदका विषयलाई चलचित्रमा समेटिएको सपूतले बताउनुभयो । “यो मेरो स्कुल जीवन र त्यो समयको ग्रामीण समाजको चित्रण हो । यस चलचित्रमा मेरो देखाइ, भोगाई र अनुभवलाई समेटेको छु । यसले कुनै विधि वा पद्धतिलाई राम्रो वा नराम्रो देखाउनेभन्दा पनि उक्त समयको एउटा वसन्त नामक पात्रको कथा भनेको छ”, उहाँले भन्नुभयो ।       गायक सपूतले ‘वसन्त’ नामक पात्र आफूसँग धेरै नजिक रहेकाले उक्त पात्रको भोगाईले आफ्नो जीवनको महत्वपूर्ण समय चित्रण गरेको उल्लेख गर्नुभयो । “मैले सिर्जना गर्ने कृतिमा समाजकै पात्र र अवस्थालाई चित्रण गर्ने गरेको छु । जे भइरहेको छ, त्यसकै बिम्ब चलचित्रमा प्रस्तुत गरेको छु । मेरा गीत झैँ चलचित्रमा पनि आफ्ना भावनालाई प्रस्तुत गरेको छु, गीतको तुलनामा चलचित्रमा ती झनैँ परिपक्क भएर आएका छन्”, उहाँको भनाइ छ ।       सपूतका अनुसार चलचित्रमा एउटा पात्रले लेखक बन्न गरेको सङ्घर्षलाई देखाइएको छ । त्यो सङ्घर्षमा घट्ने घटनाक्रम, सामाजिक परिवेश, वर्गीय विभेद, जातीय अस्तित्वलाई समेटेर सामाजिक चेतनालाई प्रश्न गरिएको छ ।       चलचित्रमा उहाँको जोडीका रूपमा अभिनेत्री स्वस्तिमा खड्का हुनुहुन्छ । सपूतले दलित समुदाय र अभिनेत्री खड्काले ब्राह्मण समुदायको पात्रको भूमिका निर्वाह गर्नुभएको छ । अन्तरजातीय मित्रता र प्रेमले निम्त्याउने असरलाई पनि चलचित्रमा देखाइएको अभिनेत्री खड्काले बताउनुभयो ।      “मैले बाचेको जीवनभन्दा मैले चलचित्रका लागि निर्वाह गरेको शान्ति शर्मा नामक पात्रको जीवन फरक छ । गाउँ, त्यो समयले ममा भिन्न दृष्टिकोण निर्माण गरेको छ । त्यो परिवेश मेरो लागि नितान्त नयाँ थियो, उक्त पात्रले नयाँ जीवन बाँचेको अनुभूतिसमेत दिएको छ”, उहाँले भन्नुभयो ।       गीतमार्फत आफ्नो अनुभवलाई प्रस्तुत गरिरहनुभएका सपूतले आफ्ना कथा सकिने डर र आफ्नो सिर्जनालाई न्याय गर्नसक्छु भन्ने लागेर निर्देशक बनेको बताउनुभयो । “आफैँ निर्देशक र अभिनेता बन्दा सहज त पक्कै भएन तर मेरो भोगाइलाई मैले नै पर्दामा ल्याउनुपर्छ भन्ने लाग्यो किनकि यो मजस्ता धेरै मध्यमवर्गीय युवाको कथा हो । यसले सामाजिक चेतनालाई प्रश्न गर्दै समतामूलक समाजको कल्पना गरेको छ”, उहाँले भन्नुभयो ।       सपूतले निर्देशन गर्न हतारिएको प्रश्नको सामना गर्नुभएको छ किनकि उहाँ गीतसङगीतमै व्यस्त हुनुहुन्थ्यो । केही समयपछि निर्देशनमा आउँदा परिपक्वता बढेता पनि चलचित्रमा उठाइएको विषयसँग नयाँ पुस्तालाई जोड्न समय लाग्ने भएकाले यो समय चलचित्र निर्देशन गर्न उपयुक्त लागेको उहाँले सुनाउनुभयो ।      “मैले जुन समयको कथा उठाएको छु, त्यहाँ परिवेश देखाउन पनि त्यस बेलाको अवस्थालाई चित्रण गर्नै पथ्र्यो, त्यहि गरेँ । मैले सिर्जनामार्फत समाजलाई गरेको प्रश्न सही छ भने म त्यहाँ डराउनुहँुदैन, मैले एउटा सर्जकका हिसाबले मनबाटै अनुभूति गरेका कुरालाई चलचित्रमा समेटेको छु”, सपूतको कथन छ ।        अभिनेत्री खड्काले गायक सपूतले एउटा परिपक्व चलचित्रकर्मी भएर काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “गायक सपूतलाई मैले नयाँजस्तो कहीँकतै पाइनँ । उहाँको काममा परिपक्वता थियो, जसलाई दर्शकले छिट्टै पर्दामा महसुस गर्नुहुनेछ । वर्षौँसम्म सम्झिने पात्र चलचित्रमा निर्वाह गरे जस्तो लागेको छ ।”      चलचित्रमा प्रभातपाल ठकुरी, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गर्नुभएको छ । 

ढोरपाटन: नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो ।   दोस्रो याममा सिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति पाएका छन् ।  वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा सिकार खेल्न आउन थालेका छन् । यही चैत २६ देखि सिकारी ढोरपाटन आउन थालेका ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो । दोस्रो याम ९फागुन–वैशाख० का लागि आगामी वैशाख १६ गतेसम्म सिकारीले सिकार खेल्न पाउने छन् ।  अहिलेसम्म दुई नाउर मात्र सिकार भएको उहाँले बताउनुभयो । रेन्जर सुवेदीका अनुसार हिमालयन वाइल्डलाइफ आउटफिर्टसले सिकारीमार्फत दुई नाउर र दुई बँदेल सिकार गर्न अनुमतिपत्र पाएको छ । यो कम्पनीले एउटा नाउर सिकार गरिसकेको रेन्जर सुवेदीले जानकारी दिनुभयो । उक्त नाउरको सिकार सुनदह ब्लकमा स्पेनका ७० वर्षीय मार्कोस ओलाइजोला अल्कोर्टाले गर्नुभएको हो ।  त्यसैगरी, ट्रयाक्स एण्ड ट्रेल्स प्रालिमार्फत अमेरिकी सिकारीले दुई नाउर, दुई झारल र दुई बँदेल सिकार गर्ने अनुमति पाएका थिए । रेन्जर सुवेदीका अनुसार हिमालयन सफारिज प्रालिमार्फत तीन सिकारीले तीन नाउर र एक झारलका लागि अनमति पाएका छन् ।  ग्लोबल सफारिज नेपाल प्रालिमार्फत दुई सिकारीले दुई नाउर, एक झारल र दुई बँदेलको सिकार गर्ने अनुमति पाएका छन् । उक्त कम्पनीले हालसम्म एउटा नाउर फागुने ब्लकमा सिकार गरेको उहाँले जानकारी दिनुभयो ।  नेपाल ट्राभल एक्सपिडिसन प्रालिमार्फत तीन सिकारीले तीन नाउर, तीन झारल र तीन बँदेल सिकार गर्ने अनुमति पाएका छन् । यो कम्पनीबाट आएका सिकारीले हतियारमा समस्या आएपछि सिकार नगरी फर्किएको रेन्जर सुवेदी बताउनुहुन्छ । ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक्स प्रालिमार्फत तीन सिकारीले एक नाउर, दुई झारल र तीन बँदेलको सिकार गर्न अनुमति पाएका छन् । यो सिकार याममा अमेरिका, अर्जेन्टिना, स्पेन र फ्रान्सबाट सिकारी आएको रेन्जर सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा झारलको रु आठ लाख, नाउराको रु ६ लाख २५ हजार पाँच सय तोकिएको छ ।  यसपालि सुनदह, सेङ, भुस्तुङ, दोगाडी, फागुने, बार्से ब्लकमा सिकार भइरहेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिनुभयो ।  दोस्रो याममा रु एक करोड २६ लाख राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । सिकारीले मारेको वन्यजन्तु लैजान पनि राजस्व तिर्नुपर्ने प्रावधान छ । ढोरपाटनमा हरेक वर्ष दुई याममा सिकार खुला हुन्छ । पहिलो (असोज–मङ्सिर) र दोस्रो (फागुन–वैशाख) मा सिकार खुला हुन्छ । 

मुस्ताङ: जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीधाममा धार्मिक तीर्थालुको घुइँचो बढेको छ । चैतदसैँ कृष्ण औँसीको तिथिका दिन आज मुस्ताङको पवित्र धार्मिकस्थल कागबेनी क्षेत्रमा श्रद्धालु भक्तजनको घुइँचो बढेको हो ।       मुस्ताङको पवित्र धार्मिक सङ्गमस्थल कागबेनीमा जीवनको एकपटक दिवङ्गत पितृको नाममा पूजाअर्चना, श्राद्ध, पीण्डदान र तर्पणसहित त्रिवेणी नदीमा स्नान गर्नाले धार्मिक मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ । यही कारण बर्सेनि वडादसैँ औँसी र चैतेदसैँ औँसी तिथिमा कागबेनीधाममा श्राद्ध गर्ने धार्मिक तीर्थालुको घुइँचो लाग्ने गर्दछ ।       यसवर्षको चैतेदसैँ अघिको कृष्ण औँसी तिथि आज जरेकाले मुस्ताङमा हजारौँ श्रद्धालु भक्तजनले आफ्ना दिवङ्गत पितृ सम्झदै पूजाअर्चना गरी श्राद्ध गर्न कालिगण्डकी दोभानमा स्नान गरेर पितृको नाममा पीण्डदान र तर्पण दिएका छन् । जिल्ला प्रहरी कार्यालयले चैतेदसैँ औँसीलाई लक्षित गरी पछिल्लो २४ घण्टामा १२ हजार ४१२ जना धार्मिक तीर्थालु मुस्ताङ भित्रिएका जनाएको छ ।       जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले पछिल्लो २४ घण्टामा तीर्थालु सवार एक हजार ५८० सवारीसाधन म्याग्दी हुँदै मुस्ताङ भित्रिएका जानकारी दिनुभयो । आज बिहानैदेखि सुरु भएको कागबेनी क्षेत्रमा तीर्थालुहरूको श्राद्ध गर्ने कार्यक्रम सहज र शान्तिपूर्ण रूपमा सम्पन्न भएको उहाँले उल्लेख गर्नुभयो ।       यसअघि मुस्ताङको कागबेनीमा श्राद्ध गर्न आउने तीर्थालु सवार सवारीसाधनको घुइँचोले मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्न समस्या परेको थियो । जिल्ला प्रहरीको निर्देशनमा जोमसोम, कागबेनी र मुक्तिनाथ क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला ट्राफिक कार्यालयको टोलीले ट्राफिक व्यवस्थापन सहज गराएको थियो ।       प्रहरी नायब उपरीक्षक बोगटीले यहाँ आएका दर्शनार्थीहरूले सकुशलपूर्वक दिवङ्गत पितृको नाममा श्राद्ध गरी मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किदै गरेका जानकारी दिनुभयो । “जिल्ला शुक्रबार दिउँसैदेखि तीर्थालुले भरिएको थियो, श्राद्ध गर्न आउने कसैलाई पनि लेक लाग्ने समस्या भएन”, उहाँले भन्नुभयो, “सुरक्षा निकाय सर्तक थियो भने सहायता कक्ष स्थापना गरिएको थियो । यहाँ अहिलेसम्म कसैलाई पनि स्थास्थ्य समस्या देखिएको छैन ।”      मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकास्थित दामोदकुण्ड धार्मिकस्थलबाट बग्ने कालिगण्डकी नदी र प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथधामको १०८ धाराबाट बग्ने गण्डकी नदीको सङ्गमस्थल कागबेनीधाममा दिवङ्गत पितृको नाममा श्राद्ध, पीण्डदान र तर्पण दिएर पूजाअर्चना गर्दा पितृ सधैँ खुसी भएर सन्तानको भलो हुने हिन्दू धार्मिक शास्त्रमा उल्लेख छ ।       यसस्थानको कागबेनी सङ्गमस्थलमा जलका लागि देवीदेवता लालायित हुने धार्मिक किंबदन्ती छ । कागबेनीस्थित कालिगण्डकी नदीको तटीय क्षेत्रमा कालो शालिग्राम र मुक्तिक्षेत्रबाट बग्ने गण्डकी नदीमा रातो शालिग्राम पाइन्छ ।  यसस्थानमा भगवान् विष्णुको अवतार शालिग्राम विराजमान रहेको धार्मिक जनविश्वास रहिआएको छ । साथै कागबेनीधाममा कुर्म अर्थात् कछुवा अवतारको शालिग्राम मन्दिरको दर्शन गर्न पाइन्छ । यसस्थान हिन्दू तथा बौद्ध धर्मालम्बीहरू धार्मिक साझास्थलका रूपमा लिने गरिएको छ । यहाँ कागछोदे गुम्बा, बाह्रौँ शताब्दीमा निर्माण गरिएको कागबेनी दरबारका साथै कागबेनी गाउँको पुरानो ऐतिहासिक बस्ती अवलोकन गर्न सकिन्छ ।       चैतेदसैँ औँसी तिथिमा मुस्ताङको कागबेनीधाम आएर दिवङ्गत पितृको नाममा श्राद्ध र पूजापाठ गर्न पाउँदा गौरान्वित महसुस भएको चितवनका सोम जिसीले उल्लेख गर्नुभयो । उहाँले प्रकृतिको सुन्दर स्थान मुस्ताङमा आएर पितृ सम्झदै श्राद्ध, पीण्डदान र तर्पण दिएर कालिगण्डकी नदीमा स्नान गर्दा पितृ खुसी भई पुण्य प्राप्ति हुने बताउनुभयो ।      हेटौँडाका ईश्वरीप्रसाद पोखरेलले कागबेनीमा पितृको पूजाअर्चना गरेर मुक्तिनाथको दर्शन गर्ने उद्देश्यले पहिलोपटक यहाँ आइपुगेको बताउनुभयो । उहाँले यहाँको स्थिति र घुम्ने धोको पूरा गर्न परिवारसहित मुस्ताङ आइपुगेको उल्लेख गर्नुभयो ।      यहाँस्थित कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मी गुरुङले मुस्ताङको आर्थिक विकासमा कागबेनीधामको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले कागबेनीमा एकरात बाँस बसेर दिवङ्गत पितृ सम्झदै श्राद्ध गरेमा धार्मिक मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको जानकारी दिनुभयो ।       अध्यक्ष गुरुङले डेढ वर्षअघि कागखोला बाढीले कागबेनी मन्दिर, श्राद्ध स्थल र यहाँको भौतिक संरचनामा क्षति पु¥याएकाले यहाँ आएर श्राद्ध गर्ने धार्मिक तीर्थालु व्यवस्थापनमा चुनौती थपिएको बताउनुभयो । धार्मिक महत्त्वको यस स्थानलाई तीनै तहका सरकारले श्राद्धस्थलको पूर्वाधार निर्माणमा यथाशीघ्र पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।       “यहाँ दीर्घकालीन रूपमा स्थायी भौतिक संरचना आवश्यक छ, आरसिसी तटबन्ध निर्माणका लागि ठूलो बजेटको आवश्यकता पर्दछ । हामीले भक्तजनबाट सङ्कलित दान र स्थानीयस्तरको सहयोगमा पूर्वाधार निर्माण गरी अस्थायी व्यवस्थापन गरिरहेका छौँ”, अध्यक्ष गुरुङले भननुभयो । उहाँका अनुसार कागबेनीधाममा श्राद्ध गरेका तीर्थालुहरू यहाँ श्राद्ध गरी मुक्तिनाथ उकालो उक्लिएर मुक्तिनाथ दर्शन गरेका छन् ।       मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले आज बिहानैदेखि श्रद्धालु भक्तजनको बाक्लो उपस्थित रहेको जानकारी दिनुभयो । उहाँका अनुसार आजसम्ममा करिब १२ हजार बढीले मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन् ।  मुक्तिनाथमा दर्शनार्थीहरूको व्यवस्थापनका लागि मुक्तिनाथ विकास समिति, सुरक्षा निकाय र कार्यरत कर्मचारीले लाइनबद्ध गरी दर्शनमा सहजीकरण गरेका उहाँले बताउनुभयो । चैतेदसैँ कृष्ण औँसी तिथिमा कागबेनीमा श्राद्ध गरी मुक्तिनाथ दर्शन गर्न आउने तीर्थालुको उपस्थितिले मुस्ताङका होटल भरिभराउ भएका छन् ।