पोखरा:   पोखरामा भएको प्रथम प्राइम ५ ए साइड भेट्रान्स फुटसल प्रतियोगिताको उपाधि गौरीघाटले जितेको छ ।  पोखरा १३ स्थित खेलकुन्जमा डाक्टर दिवसको प्रस्तुतिमा भएको ३५ वर्षमाथिको प्रतियोगिताको फाइनल ख...

बागलुङ: बागलुङको ताराखोला गाउँपालिका–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत फेला परेका छन् । वडाध्यक्ष भण्डारी आफ्नै गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेको ताराखोला गाउँपालिका–२ का वडाध्यक्ष एवम् प्रवक्ता भद्रबहादुर घर्तीले जानकारी दिए ।  ‘वडाध्यक्ष भण्डारी आज बिहान आफ्नै गोठमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ’, वडाध्यक्ष घर्तीले भने, ‘अहिले घटनास्थलमा प्रहरी आइपुगेका छन्, थप विवरण पछि नै आउँला ।’ गत स्थानीय तहको निर्वाचनमा भण्डारी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । 

बलेवा:  बागलुङ कालिका मन्दिरमा चैतेदसैँमा मात्रै रु ४२ लाख भेटी सङ्कलन भएको छ । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको मन्दिरमा चैत्राष्टमीको नवदुर्गामा दर्शनका लागि आएका दर्शनार्थीले उक्त भेटी चढाएका हुन् ।      कालिका मन्दिरमा यस पटकको चैतेदसैँ (नवरात्रि)को अवसरमा रु ४२ लाख ६३ हजार १५५ भेटी सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।  उहाँले यस वर्ष चैतेदसैँको दिन (अष्टमी)मा सबैभन्दा बढी भेटी सङ्कलन भएको बताउनुभयो । उक्त दिन रु ११ लाख ८१ हजार ५९० सङ्कलन भएको छ ।      खड्काले गतवर्ष चैतेदसैँको तुलनामा यस वर्ष रु एक लाख ९० हजार ५९७ बढी भेटी सङ्कलन भएको बताउनुभयो । गत वर्षको चैतेदसैँको अवसरमा मन्दिरमा रु ४० लाख ७२ हजार ५५८ भेटी सङ्कलन भएको थियो । मन्दिर दर्शन गर्ने भक्तजनले भेटी, नगद सहयोग र बलिलगायतबाट उक्त भेटी चढाएका हुन् । कालिका मन्दिरमा बडादसैँ र चैतेदसैँमा सबैभन्दा बढी भेटी सङ्कलन हुँदै आएको छ ।      चैतेदसैँ अवधिभर छ लाख बढी दर्शनार्थीले कालिका मन्दिरको दर्शन गरेको अध्यक्ष खड्काको भनाइ छ । उहाँले गत वर्षको चैतेदसैँमा भन्दा अहिले बढी दर्शनार्थीले मन्दिरको दर्शन गर्दा भेटी सङ्कलनमा वृद्धि भएको बताउनुभयो । अष्टमीका दिनमा मात्र रु तीन लाख भक्तजनले मन्दिरको दर्शन गरेको अध्यक्ष खड्काको भनाइ छ ।       चैतेदसैँमा बागलुङ कालिका मन्दिर परिसरमा यस वर्ष धार्मिक सम्मेलन र मेलाको आयोजना गरिएको थियो । अध्यक्ष खड्काले धार्मिक सम्मेलनले भक्तजनको वृद्धिमा सहयोग पुगेको बताउनुभयो । यस्तै मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई प्रसादका रुपमा खिर वितरण गरेको थियो । अध्यक्ष खड्काले दैनिक १०० देखि २०० लिटर दूध खपत गरिएको बताउनुभयो ।    “मन्दिरमा उपस्थित हुने भक्तजनलाई प्रसादको रुपमा खिर उपलब्ध गराएका थियौँ”, उहाँले भन्नुभयो, “प्रसाद वितरणमा रु पाँच लाख खर्च भएको छ ।”      चैतेदसैँमा भक्तजनलाई सहजरुपमा पूजाआजाका लागि तीन वटा लाइनको व्यवस्था गरिएको थियो । “मन्दिरमा अघिपछि एक ढोकाबाट पूजाअर्चना गर्ने व्यवस्था हुन्छ”, उहाँले भन्नुभयो, “चैतेदसैँमा भक्तजनको भीड हुने हुँदा तीनवटै ढोकाबाट पूजा गर्न खुला गरिएको थियो ।” अध्यक्ष खड्काले मन्दिरमा नियमित २५ जना कर्मचारी भए पनि चैत्राष्टमीमा भक्तजनको सहजताका लागि २२ जना कर्मचारी थप गरेको बताउनुभयो ।      कालिका मन्दिर दर्शनको लागि काठमाडौँ, पोखरा, पर्वत, म्याग्दी, चितवनलगायत देशभरबाट भक्तजन आएका थिए । पछिल्लो समय चैतेदसैँका बेला १०–१५ प्रतिशत भारतीय भक्तजन पनि वृद्धि भएको अध्यक्ष खड्काले बताउनुभयो ।   

काठमाडौं:  छायाङ्कन सुरु भएको ३९ औँ दिनमा चलचित्र ‘कुस्ती’ को छायाङ्कन सकिएको छ ।       काठमाडौँ तथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको चलचित्रमा प्रेमसँगै स्वभाव भिन्नताले एकसाथ जीविकोपार्जन गर्न सङ्घर्ष गर्न बाध्य जोडीको कथालाई देखाइने निर्माता तथा निर्देशक अनिल योञ्जनले जानकारी दिनुभयो ।      “कलाकार र प्राविधिकको मेहनतका कारण हामीले निर्धारित समयमा छायाङ्कन सम्पन्न गर्न सफल भयौँ ।  एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने भावनाको मधुर यात्रालाई यस चलचित्रमा समेटेका छौँ । भावनात्मकतासँगै हाँस्यरसले भरिएको प्रेम कथानक चलचित्र तयार गरेका छौँ”, उहाँले भन्नुभयो ।      चलचित्रमा मिरुना मगर, धीरज मगर, पुस्कर गुरुङ, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापालगायत कलाकारले अभिनय गर्नुभएको छ ।       अभिनेत्री मगरले लेखिएको कथालाई चलचित्रको पर्दामा उतार्न कुनै कसर बाँकी नराखिएको बताउनुभयो ।  “सहरको एक आधुनिक जोडीको कथालाई चलचित्रमा दर्शकले हेर्न पाउनु हुनेछ । बाहिरबाट हेर्दा सामान्य देखिने विषयले एउटा दम्पतिको जीवनमा पार्ने असरलाई हामीले प्रस्तुत गर्नेछौँ”, उहाँले भन्नुभयो । उहाँले चलचित्र आगामी वर्ष विसं २०८२ को भदौमा प्रदर्शन हुने बताउनुभयो ।       चलचित्रमा उमङ्ग शाहीले छायाङ्कन, मित्रदेव गुरुङले सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहले सङ्गीत सिर्जना, शिशिर खातीले नृत्य निर्देशन गर्नुभएको छ । 

 नेपालका लागि जापानका राजदूत माएदा तोरुले आज वीरगञ्जको धार्मिकस्थलको भ्रमण गर्नुभएको छ ।   राजदूत तोरुले आज सिमरा विमानस्थलबाट सिधै वीरगञ्जका ऐतिहासिक तथा धार्मिकस्थलको भ्रमण गर्नुभएको हो । राजदूत तोरुले बिहान वीरगञ्जको चर्चित गहवामाई मन्दिरको दर्शन गर्नुभएको छ ।   दूतावासका प्रतिनिधिसहित वीरगञ्ज आउनुभएका राजदूतले घडीअर्वा पोखरी र वीरगञ्जको मर्मतसम्भार गरिएको घण्टाघरको समेत अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।   पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राजदूत तोरु आफ्नो काम विशेषले वीरगञ्ज आउनुभएको जानकारी दिनुभयो ।   “उहाँ वीरगञ्ज महानगरपालिकासँग सम्बन्धित काम र वीरगञ्जका विभिन्न धार्मिकस्थलको अवलोकन गरेको जानकारी पाएका छौँ”, उहाँले भन्नुभयो ।

अछाम:   बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मंगलबार राति भएको आगलागीमा २७ वटा घर जलेका छन् । आगोबाट सात करोड रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको छ ।   मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रको सिलिन्डर विस्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो । जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए ।   अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले आगलागीबाट सात करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको जानकारी दिँदै पीडितहरुबाट क्षतिको विवरण यथाशीघ्र संकलन गरिने बताए ।

चितवन:   नयाँ शैक्षिकसत्र सुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको छ ।   कार्यालय प्रमुख धनबहादुर केसीका अनुसार कक्षा ३ देखि १२ सम्मका ३१ लाख ३४ हजार १०८ थान पुस्तक मौज्दात छन् ।   केन्द्रबाट चितवनसहित छ जिल्लामा पुस्तक जाने गरेको छ । केन्द्रले पूर्वी तनहुँ (देवघाट र खैरहनी गाउँपालिका), रौतहट, बारा, पर्सा मकवानपुर, नवलपरासी (वर्दघाट सुस्तापूर्व) र चितवनमा बिक्री गर्दै आएको छ ।   प्रमुख केसीले भने, “शैक्षिकसत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुर्याउने गरी बिक्री सुरु भएको छ ।” गत वर्ष १४ लाख ७६ हजार ३५९ थान पुस्तक बिक्री भएका थिए ।   गत वर्ष कक्षा ३, ४ र ५ को पाठ्यपुस्तक निजी क्षेत्रले पनि बिक्री गरेका थिए । यो वर्ष कक्षा ३ देखि नै केन्द्रले पाठ्यपुस्तक बिक्री गरेको छ ।

ढोरपाटन:    बागलुङको निसीखोला गाउँपालिका–७ स्थित पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्ने पदमार्ग निर्माण गरिएको छ ।   बुर्तिवाङ बजारसँग नरसिंहकोटलाई जोड्ने गरी रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई सहज रुपमा नरसिंहकोट पुर्‍याउनका लागि पदमार्ग निर्माण गरिएको जनाइएको छ ।   पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत पदमार्ग निर्माण भएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १० लाख बजेटमा पदमार्ग निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका योजना अधिकृत नारायणप्रसाद रिजाले जानकारी दिए ।   उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गरिएको हो । ढोरपाटन नगरपालिका–२ सेरादेखि करिब दुई सय ५० पक्की रेलिङसहित पदर्माण सम्पन्न भएको रिजालले बताए ।   बाइसे चौबिसे राज्यका बेला भूरे राजाले शासन गरेको नरसिंहकोटमा पछिल्लो समय आन्तरिक पर्यटको आकर्षण बढ्दो छ ।   नरसिंहकोटमा पूर्वधार बन्दै गएपछि आन्तरिक पर्यटक बढ्दै गएको निसीखोला गाउँपालिका–७ अध्यक्ष दीपक कुँवरले बताए ।   बुर्तिबाङ बजार नजिकै भए पनि नरसिंहकोटमा पुग्न अब सहज भएको उनको भनाइ छ । पदमार्गसँगै गाउँपालिकाले यस क्षेत्रमा रु २० लाखमा कालिका मन्दिर, खानेपानी, शौचालय, विश्रामस्थललगायतका संरचना निर्माण गरेको अध्यक्ष कुँवरले जानकारी दिए ।   उनका अनुसार उक्त स्थानमा खेलमैदान निर्माणाधीन अवस्थामा छ । नरसिंहकोटमा पुग्नका लागि बुर्तिबाङ बजारबाट गाडीमा एक घण्टा र पैदल यात्रामा साढे एक घण्टामा पुग्न सकिन्छ ।   त्यहाँसम्म पुग्ने सडक सालझण्डी–ढोरपाटन सडकबाहेक अर्को वैकल्पिक सडक नहुँदा सवारीसाधनमा जाँदा लामो बाटो पर्ने उनी बताउँछन् ।

पर्सा:   जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका–२ का ६२ वर्षीय लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परेका छन् ।   उनलाई नेपाल आएको मौका पारी केन्द्रीय अनुसन्धान ब्यूरोका टोलीले सोमबार पर्साको वीरगन्जबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।   हत्यापश्चात फरार भएका निज लोकनाथलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०६९ कात्तिक २४ गते सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो ।   छिमेकी ढोडा मुखिया विनको विसं २०६४ वैशाख २५ गते गोली प्रहारबाट हत्या गरी फरार भएका उनलाई भारतस्थित चम्पारण पिरियामा रहेको रामजानकी मन्दिरमा पूजारीको रुपमा १० वर्षदेखि साधुको भेषधारणा गरी लुकिछिपी रहेका थिए ।   निजलाई फैसला कार्यान्वयनका लागि मंगलबारै जिल्ला अदालत पर्सामा पेस गरिएको व्यूरोका प्रहरी उपरीक्षक सुधिरराज शाहीले बताए ।

पोखरा:   भूतपूर्व खेलाडी मञ्चको आयोजनामा सम्पन्न १९ औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट १२ लाख भन्दा बढी बचत भएको छ ।   गत फागुन ३ मा सम्पन्न म्याराथनमा १२ लाख २९ हजार ५११ रुपैयाँ बचत भएको हाे ।   प्रतियोगिताबाट ९३ लाख ७० हजार ६८९ रुपैयाँ आम्दानी भएको र ८१ लाख ४१ हजार १७७ रुपैयाँ खर्च भएको मञ्चका कोषाध्यक्ष हरिबहादुर बरुवालले जानकारी दिए ।   यो रकम हालसम्मकै उच्च बचत रहेको बरुवालको भनाई छ । उक्त रकम मञ्चको अक्षयकोषमा जम्मा गरिएको छ ।   म्याराथनको प्रवर्धन, मासिक तथा साप्ताहिक दौड प्रतियोगिता र स्थानीय तहबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले अक्षयकोष सञ्चालन गरिएको छ ।   कोषमा हालसम्म ३१ लाख ५४ हजार २५६ रुपैयाँ जम्मा भएको अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।