नेपालद्वारा म्यानमार सरकारलाई २७ टन राहत प्रदान

काठमाडाैं | चैत २८, २०८१

नेपालद्वारा म्यानमार सरकारलाई २७ टन राहत प्रदान

काठमाडौं:   नेपालले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री उपलब्ध गराएको छ । भूकम्पबाट प्रभावित म्यानमारका नागरिकलाई सहयोगस्वरुप उक्त राहत सामग्री उपलब्ध गराइएको हो । 


यान्गुन अन्तरराष्ट्रिय विमानस्थलमा आज बिहान नेपाली टोलीले म्यानमारका सरकारी अधिकारीलाई उक्त राहत सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एसिया महाशाखा प्रमुख तापस अधिकारीले जानकारी दिनुभयो । राहत सामग्रीमा खाद्यान्न, दैनिक उपभोग्य वस्तु, औषधि, स्वास्थ्य उपकरणलगायत छन् । 


सहसचिव अधिकारीका अनुसार म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरे र म्यानमारका सरकारी प्रतिनिधिलगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो । 


सामग्री हस्तान्तरणपछि दुई देशका सरकारी प्रतिनिधिबीच छलफलसमेत भएको थियो । सोह्र सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारी र पत्रकारलगायत हुनुहुन्थ्यो ।


त्यसअवसरमा सहसचिव अधिकारीले भूकम्पमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै म्यानमार सरकार र जनताप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको थियो । उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेपालमा २०७२ सालको भूकम्पको समयमा म्यानमार सरकारले गरेको सहयोग स्मरणसमेत गर्नुभयो । 


“म्यानमारमा भूकम्पले ठूलो क्षति गरेको छ, यस्तो अवस्थामा नेपाल सरकार र निजी क्षेत्रबाट प्राप्त २७ टन बराबर राहत सामग्री यहाँको सरकारलाई उपलब्ध गराइएको हो”, सहसचिव अधिकारीले भन्नुभयो, “नेपाल सरकारले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिनेछ, यसप्रकारको सहयोग आदानप्रदानले दुई देशबीचको मित्रता अझ प्रगाढ बन्नेछ ।”


त्यस अवसरमा म्यानमारका सरकारी प्रतिनिधि हेयू वाई लुविनले उक्त सहयोगका लागि नेपाल सरकारलाई धन्यवाद दिनुभयो । उहाँले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिबारे संक्षिप्त जानकारी दिनुभएको थियो । उहाँका अनुसार भूकम्पमा परी हालसम्म तीन हजार ५९० भन्दा बढीको मृत्यु भइसकेको छभने चार हजार ८०० भन्दा बढी घाइते र १४८ बेपत्ता छन् । 


म्यानमार लागि नेपाली राजदूत घिमिरेले वैदेशिक रोजगारीको सिलसिलामा करिब एक लाख ५० हजार नेपाली म्यानमारमा रहेको उल्लेख गर्दै भूकम्पमा परी १८ जना नेपालीको मृत्यु भएको जानकारी दिनुभयो । 


म्यानमारको सघाइ प्रान्तलाई केन्द्रविन्दु बनाएर यही अप्रिल २८ मा सात दशमलव सात रेक्टर स्केलको भूकम्प धक्का महसुस भएको थियो । “भूकम्पका कारण अझै १५ जना नेपाली नागरिक बेपत्ता छन्, उहाँहरुको खोजी भइरहेको छ, घाइतेहरुको उपचार जारी छ”, राजदूत घिमिरेले भन्नुभयो । 


म्यानमारस्थित नेपालीहरूको छाता सङ्गठन अखिल म्यानमार गोर्खा हिन्दू धार्मिक संस्थामा करिब २५० जना भूकम्प प्रभावित नेपालीहरूले आश्रय लिएको पनि उहाँले जानकारी दिनुभयो । 


नेपाली सेनाको चिकित्सकको टोलीले विगत सात दिनदेखि म्यानमारको भूकम्प प्रभावित क्षेत्रमा पुगी सेवा दिइरहेको छ । नेपाली सेनाको टोलीले हालसम्म एक हजार ३०० भन्दा बढीको उपचार गरिसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त टोलीले आठ जना जटिल अवस्थाका घाइतेको सफल शल्यक्रिया गरिसकेको छ । 

पोखराको लेकसाइडमा २० औं फेवा नव वर्ष महोत्सव २०८२ सुरु भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शनिबार अम्बोटमा आयोजित सभामा महोत्सवको उद्घाटन गरे ।   होटल संघ पोखरा नेपालले आयोजना ग...

थप पढ्नुहोस्

पोखरा:   साहित्यकार कुमारी लामाको निबन्ध सङ्ग्रह ‘दज्र्यु संलाप’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ ।   र्‍यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित कार्यक्रममा कृतिमाथि परिचर्चा गर्...

थप पढ्नुहोस्

पोखरा:   नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उहाँलाई कारबाही गरिने बताउनुभएको छ ।   कास्कीमा शनिबार आयोजि...

थप पढ्नुहोस्