काठमाडौं: हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु लाग्नुका साथै थोरै स्थानमा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उडानमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पहिलो खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ः१५ बजे आरम्भ हुने छ । चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ । चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो । यस्तै लुम्बिनी लायन्स चारवटै हेलमा हार बेहोर्दै अङ्क तालिकाको पुछारमा छ । लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो । कर्णाली याक्सले मध्यम प्रदर्शन गरेको छ । कर्णाली याक्सले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अङ्क जोडेको छ । कर्णाली चौथो स्थानमा छ । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले हारेको थियो । कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो । यसैगरी पोखरा एभेन्जर्स दुई अङ्कसहित पाँचौँ स्थानमा छ । उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ । पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो । आइतबारसम्म १५ खेल सम्पन्न भएका छन् । यही मङ्सिर १५ गतेदेखि सुरु भएको एनपिएलमा जनकपुर बोल्ट्स आफ्ना सबै खेलमा विजयी हुँदै अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । उसले चार खेलबाट आठ अङ्क जोडेको छ । जनकपुर बोल्टस्ले उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेटले नै हराएको थियो । तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको जनकपुरले चौथो खेलमा लुम्बिनी लायन्सलाई एक रनले पराजित गरेको थियो । एनपिएलमा चार खेल खेलेको सुदूरपश्चिम रोयल्स तीनमा जित तथा एउटा खेलमा हारका साथ दोस्रो स्थानमा छ । यसले चार खेलबाट ६ अङ्क जोडेको छ । सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा विराटनगरलाई ९० रनले, दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले तथा तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो । चौथो खेलमा भने सुदूरपश्चिम रोयल्स चितवन राइनोजसँग ३३ रनले हारेको थियो । काठमाडौँ गुर्खाज दुई अङ्कसहित छैटौँ स्थानमा छ । काठमाडौँ पहिलो खेलमा चितवनसँग पाँच विकेटले हारेको थियो । दोस्रो खेलमा कर्णालीलाई तीन विकेटले हराएको काठमाडौँ तेस्रो खेलमा सुदूरपश्चिमसँग ७२ रनले पराजित भएको थियो । विराटनगर किङ्ग्स दुई अङ्कका साथ सातौँ स्थानमा छ । विराटनगरले तीन खेलमा हार तथा एउटामा मात्र जित निकालेको थियो । पहिलो खेलमा विराटनगर जनकपुरसँग आठ विकेटले हारेको थियो । दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले हारेको विराटनगरले तेस्रो खेलमा भने लुम्बिनीलाई दुुई विकेटले पराजित गरेको थियो । चौथो खेलमा विराटनगर कर्णालीसँग सात रनले हारेको थियो ।
तनहुँ: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि उक्त अवरोध हटेको हो । गत मङ्सिर ३ देखि २३ गतेसम्म राति ११ देखि बिहान ४ः३० बजेसम्म सडक बन्द गरी काम गरिएकामा अर्को सूचना प्राप्त नहुन्जेलसम्मका लागि बाटो खुला गरी सवारी आवागमन सञ्चालन गरिएको मुग्लिन–पोखरा सडक योजना ९पूर्वी खण्ड०का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रातिको समयमा गरिँदै आएको काम हाललाई रोकिएको छ । अब उक्त खण्डमा रातिमा पनि सवारीसाधन सञ्चालनमा आउनेछन् ।” मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । इन्जिनियर पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ साना पुल निर्माण गरिएका छन् । पूर्वी खण्डमा २०७७ माघमा सम्झौता भई २०७८ वैशाखदेखि काम सुरु भएको थियो ।
पोखरा: गण्डकी प्रदेशमा लैङ्गिक हिंसा, मानव अधिकार उल्लंघन र भ्रष्टाचार न्यूनिकरणमा सरोकारवालाको भूमिका विषयक परिसंवाद कार्यक्रम गरिएको छ । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको सभाहलमा भएको कार्यक्रममा सहभागीले गण्डकी प्रदेशमा मानवअधिकारको वर्तमान अवस्थावारे छलफल गरेका हुन् । उनीहरुले मानवअधिकारको अवस्था चिन्ताजनक रहेको निष्कर्ष निकालेका छन् । कार्यक्रमका वक्ताहरुले लैङ्गिक हिंसा समाजमा मुख्य समस्याको रुपमा देखा परेको बताए । साथै भ्रष्टाचारका कारण मानवअधिकार हनन भएकोमा चिन्ता व्यक्त गरे । कार्यक्रमका गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले भ्रष्टाचार देशका लागि गम्भिर अपराध रहेको बताए । ‘हामी सबै यो समाजका उत्पादन हौँ, भ्रष्टचार देशका लागि गम्भिर अपराध हो यो गर्न हुदैँन । भ्रष्टचारले राज्य खोक्रो हुन्छ भन्नलाई भन्ने तर आफु त्यसमा नपरेसम्म नसुध्रीने प्रवृतिले हामी समस्यामा छौँ’, पाण्डेले भने । भ्रष्टचार बढ्नुमा यो समाज सबै दोषी भएकाले सबै नसुध्रीयसम्म भ्रष्टचार अन्त्य नहुने पाण्डेको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष अनन्दराज मुल्मीले राजनीतिक पहुँचका आधारमा हुने भ्रष्टचार बढेको बताए । उनले निजि क्षेत्रको संलग्नता भ्रष्टाचार हुने भन्दै राज्य संचालककै तहबाट संरक्षण गर्ने गरिएको मुल्मीको उल्लेख गरे । भ्रष्टाचार गर्नेलाई राज्यको तहबाटै संरक्षण हुने गरेकाले सामान्य नागरिकले सहजै सेवा पाउने अवस्था नभएको उनको भनाइ थियो । राष्ट्रिय मानवअधिकार आयोग गण्डकी कार्यालय प्रमुख नितु गतौलाले राजनीतिक तथा नागरिक अधिकारलाई महत्व दिए पनि सामान्य नागरिकको स्वास्थ्य अवस्थाका वारेमा मानवअधिकारको विषय ओझेलमा परेको बताइन् । महिला अधिकारकर्मी बिना सिलवालले दश वर्ष पहिलाको भन्दा अहिले राज्यको तहमा सहभागिता बढेको अनुभव सुनाइन् । संख्यात्मक रुपमा सहभागिता बढे पनि व्यवहारिक रुपमा प्रयोजन सही रुपमा हुन नसकेको उनको भनाइ थियो । स्वावलम्बन जीवन केन्द्र, पोखराका अध्यक्ष हेमबहादुर गुरुङले अपाङगता भएकाको राज्यका तहमा पहुँचन नपुगेको बताए । राज्यले गर्नुपर्ने लगानी नगर्दा असक्त भएकाको अन्तर्राष्ट्रिय स्तरमा सहयोग माग्नुपर्ने अवस्था रहेको गुनासो गरे । गण्डकी प्रदेश प्रेस रजिस्टार विमला भण्डारीले गण्डकी प्रदेशलाई कस्तो बनाउने भन्ने सरकारसँगै जनताको पनि उत्तिकै दायित्व हुने बताइन् । कार्यक्रममा लैङ्गिक हिंसा, मानव अधिकार उल्लंघन र भ्रष्टाचार न्यूनिकरणका क्षेत्रमा काम गरिरहेका संस्था र व्यक्तिको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण संचारकर्मी रघुनाथ वाग्लेले गरेका थिए । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा भएको परिसंवाद कार्यक्रममा प्रेस रजिस्टारको कार्यालयको समन्वय र पब्लिक फोर के टेलिभिजनको सहकार्य रहेको थियो ।
पोखरा: पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा जारी गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ मा शोमबार निशुल्क ब्रतबन्ध गरिएको छ । ११ जनाको ब्रतबन्ध सम्पन्न भएको यज्ञ आयोजक मुल समितिका अध्यक्ष एवं अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष मदन गिरीले जानकारी दिए । कोटिहोममा मंगलबार चौरासी पुजा र तुला दानको कार्यक्रम तय भएको गिरीले बताए। कोटिहोम संचालनको अवधिमा ब्रतबन्ध, चौरासी पुजा गर्न चाहेमा निशुल्क रुपमा पुजा गर्न सकिन्छ, कर्ताले स्वेच्छीक दान गर्न चाहेको अवस्थामा दान स्विकार गरिने छ’ गिरीले भने । कोटिहोमको सातौँ दिन ठुलो संख्यामा भक्तजनको उपस्थिति रहेको थियो । आयोजकको तर्फबाट भक्तजनको लागि निशुल्क भोजनको व्यवस्थापन गरिएको यज्ञ आयोजक मुल समितिका संयोजक नारायण भण्डारीले जानकारी दिए । यज्ञका प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले पर्यटकिय धार्मिक क्षेत्र बनाउने उदेश्य सहित कोटिहोम आयोजना गरिएकोले सबै पोखरेलीको साथ र सहयोगको अपेक्षा गरिएको बताए । यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि धाम निर्माण गर्ने उद्धेश्यका साथ कोटीहोम आयोजना गरिएको हो । अबको पाचँ वर्षमा धाम विश्वको आकर्षक गन्तब्य बन्ने संकल्पकर्ता ढकालले जानकारी दिए । कोटिहोम जारी रहदा धाममा शिवालय मन्दिरको उद्याटन गरिएको छ भने, शवदहन स्थल (सेती नदी) जाने बाटो (सिँढी)को शिलान्यस र शिव मन्दिर प्रवेश गर्ने मुलद्धारको शिलान्यस गरिएको छ । यस्तै महतगौंडा र टुटङ्ग्यालाई जोड्ने प्राचीन प्राकृतिक पुल ढुङ्गेसाँघुको तल हहिहर भगवानले तपस्या गरेको गुफा जानका लागि पट्नेरीबाट सिँढीसहितको बाटोको चन्दा दाताको हातबाट शिलान्यास गरिएको छ । यस्तै सोही स्थानमा प्रेम मन्दिरको पनि शिलान्यास गरिएको अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका सचिव कमला बरालले जानकारी दिइन । मंसिर २७ गतेसम्म कोटिहोम संचालन हुने छ ।
पोखरा: युआरएल फाउन्डेसनले यस वर्षको लाइफ टाइम एचिभमेन्ट अवार्ड डा खगेन्द्रबहादुर श्रेष्ठ र राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार जमुना वर्षा शर्मालाई सम्मान गरेको छ । आइतबार आयोजित समारोहमा शिक्षाविद् जर्ज जोन, फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्त लगायतले श्रेष्ठ र शर्मालाई सम्मानित गरेका हुन् । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले स्थापना र प्रवर्धन गर्दै आएको फाउन्डेसनले युआरएलको ११ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विशेष समारोहमा उनीहरुलाई पुरस्कृत गरिएको हो । ललितपुरको कुपन्डोल निवासी डा श्रेष्ठ पूर्वराजा वीरेन्द्र शाहका शाही चिकित्सकसमेत हुन् । ८९ वर्षीय श्रेष्ठले नेपालसहित भारत, बेलायत, अमेरिकाबाट चिकित्साबारे अध्ययन र तालिम लिएका अवकाश प्राप्त जर्नेलसमेत हुन् । उनले वीरेन्द्र सैनिक अस्पताल, बेलायत र वेल्सका अस्पतालमा सेवा गरेका छन् । पत्रकारिता पुरस्कारको राशि ३३ हजार ३ सय ३३ रुपैयाँ र सम्मानपत्र छ । पत्रकार शर्मा राष्ट्रिय समाचार समिति र रेडियो जननीमा आवद्ध छिन् । नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्षसमेत रहेकी वर्षा आमसञ्चारमा स्नातकोत्तर हुन् । कार्यक्रममा शिक्षाविद् जर्ज जोनले चिकित्सकहरु ईश्वरका रुप भएको उल्लेख गर्दै यो क्षेत्रले सामाजिक दायित्व निर्वाह गर्नु, पुरस्कार प्रदान गर्नु सराहनीय काम भएको जनाए । सम्मानित चिकित्सक डा श्रेष्ठले यस खालका सम्मानले मानिसमा आशाको सञ्चार गर्ने विचार राखे । पुरस्कृत पत्रकार शर्माले कर्म गर्दै जाँदै समाजले मूल्यांकन गर्ने र निस्वार्थ सेवाको कदर हुने उल्लेख गरिन् । प्रतिभा छनोट समिति संयोजक वद्रीविनोद प्रतीकले दुवै क्षेत्रमा योग्य र समाजले मूल्यांकन गरेका प्रतिभाहरु सम्मानित भएको बताए । समितिका सदस्यसमेत रहेका प्रयोगशाला विज्ञ सुशील थापाले प्रयोगशालाले गुणस्तर कायम गर्नु, व्यवसायसँगै सामाजिक दायित्व पनि देखिने गरी निर्वाह गर्नु उदाहरणीय भएको विचार राखे । युआरएल फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्थको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकीकी प्रेस रजिष्ट्रार विमला भण्डारी, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका महानिर्देशक मनमोहन मिश्र, पूर्वपुरस्कृत व्यक्तित्व आरजू विष्ट सल्यानी, युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला, युआरएलका सञ्चालक वसन्त पंगेनी लगायतले बोलेका थिए । गत वर्षबाट प्रदान गर्न थालिएको लाइफ टाइम एचिभमेन्ट अवार्डबाट पहिलो पटक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई सम्मान गरिएको थियो । सुरुआतमा युआरएल पत्रकारिता पुरस्कारका रुपमा सञ्चालित पुरस्कार भने गत वर्षबाट ‘राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार’मा रुपान्तरण गरिएको हो । यो पुरस्कारबाट गत वर्ष दीपेन्द्र श्रेष्ठ सम्मानित भएका थिए । राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार र लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न प्रेस स्वतन्त्रता सेनानी बदीविनोद प्रतीकको संयोजकत्वमा बनेको समितिले सर्वसम्मत अवार्ड र पुरस्कार दिने प्रतिभा छनोट गरेको हो ।
पोखरा: लेखनाथको भण्डारढिकमा जारी २५ औं आदर्श कप फुटबल प्रतियोगितामा कास्की जिल्ला फुटबल संघ विजयी भएको छ । आदर्श युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा स्याङजा जिल्ला फुटबल संघलाई २–० गोलले पराजित गरेको हो । कास्कीको जितमा मुकुन्द निउरे र अनिष तामाङले गोल गरेका थिए । खेलको पहिलो हाफको अन्तिम समयमा कास्की–११ का मुकुन्द निउरेले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने सेकेण्ड हाफको ७६ औं मिनेटमा पुन कास्की कै अनिस तामाङले दोश्रो गोल थप्दै टोलिको जित सुनिश्चित गरेका हुन । यसपछि अब कास्की फुटवल संघले सेमिफाइनलमा उद्घाटन खेलमा बिजयी भएको आयोजक आदर्श युवा क्लवको टिम सँग प्रतिष्पर्धा गर्नेछ । मंगलवार सेमिफाइनल चरणको अन्तिम खेल नेपाल प्रहरी र एन्फा गोरखाका बिच हुने आयोजक सस्था आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले जानकारी दिएका छन् । प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । निरन्तरता हाम्रो प्रतिवद्धता,फुटबल खेलको विकास हाम्रो दृढता भन्ने मुल नाराका साथ आदर्श युवा क्लबले मंसिर २२ देखी २९ गतेसम्म गर्न लागेको प्रतियोगिताको मुख्य प्रायोजकक शौर्य सिमेन्ट रहेको छ । विभागीय टिम सशस्त्र प्रहरी बल गण्डकी मुख्यालयले अर्को विभागीय टोली नेपाल आर्मी सिद्धिदल गण पश्चिम पृतनालाई ३–१ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । आईतबार भएको खेलमा सशस्त्रका नवराज मगरले २५ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको पहिलो हाफ सकिदासम्म पनि आर्मिले कुनै गोल फर्काउन सकेन । दाश्रो हाफपछि ६५ औ मिनेटमा रन्जित चौधरीले दोस्रो गोल थपेका थिए । शसस्त्रले लगातार २ गोल गरेपछि गोल गर्नैपर्ने दवावमा खेलीरहकोे आर्मीले थुप्रै प्रयास गर्दा पनि त्यसलाई गोलमा परिणत गर्न सकेन । खेलको अन्तिम समयमा ७०औं मिनेटमा पुन सशस्त्रकै प्रविन तेस्रो गोल गर्दै टोलकिो जित शुनिश्चित गरेको थियो । निर्धारित समयमा कुनै पनि गोल गर्न नसकेको आर्मीले अन्तीम समयमा थपिएको ३ मिनेटको अतिरिक्त समयमा गोल गर्न सफल भएको थियो । आर्मीका मदन लिम्वुले सान्त्वना गोल फर्काएका थिए । आईतवारको खेलको म्यान अफ दी म्याचको उपाधी सशस्त्रका प्रविन स्याङतानले प्राप्त गरेका छन् । सोमबार हुने खेलमा कास्की ११ र एन्फा स्याङजा् होराईजन टिम विच प्रतिष्पर्धा हुनेछ । यसै बिच दोस्रो दिनको खेल हेर्न पुगेका गण्डकी प्रदेशका पुर्व सासंद दिपक कोईरालाले खेलले अनुशासनको शिक्षा दिनुको साथै स्थानिय स्तरमा गरिने खेलकुद प्रतियागिताले नयाँ नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने भएकाले यस क्षेत्रको खेलकुदको विकासका लागि लेखनाथ खेलमैदानलाई पोखराकै वैकल्पीक रंगशालाको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए । निरन्तरता हाम्रो प्रतिवद्धता,फुटबल खेलको विकास हाम्रो दृढता भन्ने मुल नाराका साथ आदर्श युवा क्लबको आयोजनामा मंसिर २२ देखी आयोजित प्रतियोगिताको विजेता टिमले नगद ४ लाख २५ हजार पाँच सय २५ रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २५ हजार पाँचसय २५ रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान संविधान र सङ्घीयतालाई बचाउन कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ । नेपाल बार एशोसियशनको केन्द्रीय कार्यकारिणी परिषद्को ५०औँ बैठकको आज उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले लोकतन्त्र स्थापना र कानुन निर्माणमा कानुन व्यवसायीको भूमिका रहे जस्तै संरक्षणमा पनि दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो । संविधानअनुसार प्रदेश कानुन बन्न नसक्दा प्रदेश सरकारले काम गर्न नसकेको बताउँदै मुख्यमन्त्री पाण्डेले सात प्रदेशका मुख्यमन्त्रीको आवाज केन्द्र सरकारले नसुन्दा कानुन व्यवसायीले संविधान कार्यान्वयनमा आवाज उठाउन नसकेको जिकिर गर्नुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विधिको शासन कायम गर्न कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण हुने भएकाले देशलाई सही बाटोमा हिँडाउने दायित्व कानुन व्यवसायीको रहने बताउनुभयो । उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बादचनले अदालत र बारको सम्बन्ध नङ र मासुको जस्तो भएकाले बारलाई पन्छाएर अदालत एक्लै अगाडि बढ्न नसक्ने बताउनुभयो । न्यायसम्पादनमा सहयोगी भूमिका खेल्ने कानुन व्यवसायीको योगदान महत्त्वपूर्ण हुने बताउँदै उहाँले न्याय क्षेत्रका बारेमा घनिभूत छलफल गरी विकृति र विसङ्गति हटाउनुपर्नेमा जोड दिनुभयो । नेपाल बार एशोसियशनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले वर्तमान प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले बारलाई बाइपास गरेर अगाडि बढ्न खोजेको आरोप लगाउनुभयो । “हामी बेन्च र बारको सम्बन्ध बलियो बनाउन चाहन्छौँ, उहाँले भन्नुभयो, “बारले उठाएका माग गलत छैनन् ।”
काठमाडौं: नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीको क्रम सङ्ख्या १९ मा आदिवासी जनजाति समूह महिलातर्फ समावेशी समूहभित्रको प्राथमिकता क्रसं ५ मा नाम रहनुभएका सुनिता थापामगरलाई गण्डकी प्रदेशसभा सदस्य पदमा मनोनयन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले २०७९ सालको प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको तर्फबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित विमला गौचनको गत कात्तिक २८ गते निधन भई रिक्त भएको उक्त पदमा थापालाई मनोनित गर्ने निर्णय गरेको हो । पार्टी सभापति शेरबहादुर देउवाले विधानबमोजिम केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई केन्द्रीय कोषाध्यक्ष पदमा गर्नुभएको मनोनयनलाई बैठकले अनुमोदन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकले नेपाल तरूण दलको विधान, २०१० (संशोधन सहित) (सातौँ संशोधन २०८१÷०६÷०६) र नेपाल किसान महासङ्घको विधान, २००८ (संशोधनसहित) (सातौँ संशोधन २०८१)लाई परिमार्जनसहित पारित गरेको छ ।