काठमाडौं:   चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुनेको संख्या १८ पुगेको छ ।  जिल्लाको टिमुरेमा बाढीमा १८ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी हेम बहादुर शाहीले जानकारी...

काठमाडौं:    वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२५ घर भई काठमाडौँको टोखा नगरपालिका–६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, रुपन्देही देवदह नगरपालिका–१२ घर भई काठमाडौँ महानगरपालिका–२८ बस्ने ३२ वर्षीया गीता कुँवर तथा काठमाडौँ बागबजारस्थित ग्लोबल एक्सेल अपस्किल एन्ड स्टडी इन्फो सेन्टरका सञ्चालिका सिराहाको सिरहा नगरपालिका–७ घर भई काठमाडौँ–२२ बस्ने ३० वर्षीया दिव्या यादव रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “पक्राउमध्ये मधुले रोमानिया पठाइदिने भन्दै तीनजना पीडितहरुबाट रु सात लाख, गीताले युके पठाइदिने भन्दै आठजना पीडितबाट रु १६ लाख पाँच हजार तथा दिव्याले स्लोभाकिया पठाइदिने भन्दै एकजना पीडितबाट रु पाँच लाख १५ हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरुको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”  प्रहरीले मधुलाई काठमाडौँको टोखा–६ बाट र गीतालाई काठमाडौँ–२८ बाट तथा दिव्यालाई काठमाडौँ न्यूरोडबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।  पक्राउमध्ये मधु र गीतालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ र दिव्यालाई जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

काठमाडौं:    नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै विजयी भएको छ । प्रतियोगितामा जकपुरको यो पहिलो हार हो ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमका स्पिनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गर्दै सुदूरपश्चिम विजयी भएको हो ।  सुदूरपश्चिमले जितका लागि दिएको एक सय २४ रनको लक्ष्य पछ्याएकामा जनकपुरले १२ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५१ रनमा समेटियो । ५ खे खेलेका जनकपुर र सुदूरपश्चिमको अङ्क तालिकामा समान ८/८ अङ्क भएको छ । जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।  जनकपुरलाई ५२ रनमा अलआउट गर्न सुदूरपश्चिमका लागि हर्मित सिंह, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान २/२ विकेट लिए । सैफ जैब, स्कट कुगुलेइन र नरेन साउदले समान १/१ विकेट लिए ।      त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रनको योगफल बनाएको थियो ।  सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले ३७ बलमा ३ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ३३ रन बनाए । सैब जैबले २१, इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्  । जनकपुरका लागि किशोर महतो एक्लैले ४ विकेट लिए । त्यस्तै शेर मल्ल र अरनिको यादवले समान २/२ विकेट झारे भने हर्ष ठाकुरले १ विकेट लिए ।  

सिरहा:   सिरहास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय लहानले आजदेखि धान खरिद प्रक्रिया सुरु गरेको छ । कम्पनीले सिरहा, सप्तरी र उदयपुरका किसानद्वारा उत्पादित धान बर्सेनि खरिद गर्दै आएको हो । यस वर्ष २५ हजार क्विन्टल सोना मन्सुली र १० हजार क्विन्टल जिरा मसिनो (कतर्नी) धान खरिद गरिने कार्यालय प्रमुख दीपक सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष सरकारले सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा र जिरा मसिनो (कतर्नी) धान प्रतिक्विन्टल रु ४ हजार २ सय तोकेको छ । जिल्ला प्राथमिक धान खरिद समितिको बैठकबाट निर्णय भएअनुसार समर्थन मूल्यमा धान खरिद गरिने प्रमुख सुनारले बताउनुभयो ।  “सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको अध्यक्षतामा धान खरिद समितिको बैठकबाट निर्णय गरी आजदेखि खरिद प्रक्रिया सुरु गरिएको छ । खाद्य कम्पनीले तोकिएको मापदण्ड पूरा गरेर ल्याइएका धानको चेकमार्फत किसानलाई भुक्तानी गर्ने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो ।  प्रमुख सुनारका अनुसार प्रतिकिसान अधिकतम एक सय क्विन्टल धान कम्पनीले खरिद गर्नेछ । सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयमा किसानको धान खरिद गरिने खाद्य कम्पनीले जनाएको छ ।  सरकारले दिने मूल्यभन्दा स्थानीय व्यापारीले दिने मूल्य बढी भएकाले किसानहरू व्यापारीलाई धान बिक्री गर्न आकर्षित भएका राष्ट्रिय कृषक समूह महासङ्घ, मधेश प्रदेशका निवर्तमान अध्यक्ष मुक्तिनारायण यादवले बताउनुभयो ।  किसानको उत्पादनको उचित र वैज्ञानिक मूल्य नदिएर सरकारले किसानलाई अन्याय गरेको उहाँको भनाइ छ ।

रुकुमपश्चिम:    रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ पाखागाउँमा गएराति अटो दुर्घटना हुँदा १ बालिकाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।   मृत्यु हुनेमा सिस्ने–६ खोपिचारकी १२ वर्षीया बालिका विष्णु बुढामगर रहेका छन् । लुम्बनी प्रदेश ०२००१ ह ०३५० नंको अटो मध्यपहाडी सडकको पाखाँगाउँबाट रुकुमकोट आउँदै गर्दा दुर्घटनामा परेको थियो ।  जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हिमबहादुर केसीका अनुसार दुर्घटनामा घाइते हुनेमा सिस्ने गाउँपालिका–६ का १६ वर्षीय महेन्द्र बुढा मगर, सोही वडाकै १४ वर्षीया सुशीला बुढामगर, ११ वर्षीया सुस्मिता बुढामगर र अटोचालक सिस्ने गाउँपालिका–५ का ४० वर्षीय टोपबहादुर कार्की रहेका छन् ।  उहाँका अनुसार गम्भीर अवस्था रहेका १६ वर्षीय महेन्द्रलाई थप उपचारका लागि नेपालगञ्ज पठाएको छ । अन्य तीनजनाको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।  अटो अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

म्याग्दी:    म्याग्दीको रघुगङ्गा गाउँपालिका– ७ चिमखोलामा स्वास्थ्य चौकीको भवन निर्माण भएपछि पूर्वाधारमा स्वरुप फेरिएको छ ।  सुविधासम्पन्न भवनबाट सेवा लिन सर्वसाधारण र स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मीलाई सहज भएको छ, तर पूर्वाधारमा स्वरुप फेरिए पनि स्वास्थ्यचौकीबाट प्रवाह हुने सुविधा भने थपिएको छैन ।  स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न थाले पनि सेवाग्राहीले भने स्वास्थ्य चौकीबाट प्राप्त गर्नुपर्ने थप सुविधा पाउन नसकेको गुनासो गरेका छन् । स्वास्थ्य चौकीबाट अहिलेसम्म बर्थिङ सेन्टर सञ्चालन नहुँदा महिला तथा नवजात शिशुको सुरक्षाको प्रबन्ध नभएको चिमखोलाकी स्वास्थ्य स्वंयसेविका दुतकुमारी पुनले बताउनुभयो ।  उहाँले भन्नुभयो, “स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नहुँदा कतिपय  महिला घरमै असुरक्षित तवरले नवजात शिशु जन्माउन बाध्य हुने गरका छन्, स्वास्थ्य चौकी भवनमा बर्थिङ सेन्टरका लागि कोठा पनि बनाइएको छ, तर सेवा सञ्चालन भएको छैन, आवश्यक औजार उपकरण र औषधिको व्यवस्थापन गरेर तत्काल बर्थिङ सेन्टर सञ्चालनमा ल्याउनुपर्छ ।”  चिमखोलासँगै रघुगङ्गाको वडा नं १ बेग, ४ दग्नाम, ८ कुइनेमङ्गलेमा रहेका स्वास्थ्य चौकीहरुमा बर्थिङ सेन्टरको सेवा सुरु हुन सकेको छैन ।  गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टिकाबहादुर शाहीले चिमखोलामा आवश्यक मापदण्डको पालना गरेर बर्थिङ सेन्टर सञ्चालन गराउने तयारी भइरहेको बताउनुभयो ।  उहाँले बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने तालिम प्राप्त जनशक्ति उपलब्ध भएको र गाउँपालिकाले आवश्यक औजार उपकरणहरु खरिद गरेर सेवा सञ्चालन गर्ने जमर्को गरेको बताउनुभयो ।बर्थिङ सेन्टरको सेवा प्रवाह हुने स्वास्थ्य चौकीहरुमा चौबिसै घण्टा सुरक्षित प्रसूति सेवा उपलब्ध हुने गर्छ ।  स्वास्थ्य चौकीमा पूर्वाधार, औजार उपकरण तथा जनशक्तिको व्यवस्था गरेर निश्चित मापदण्ड पूरा गरे पनि स्वास्थ्य कार्यालयले बर्थिङ सेन्टर सञ्चालनका लागि अनुमति दिने र गाउँपालिकाले उक्त सेवा सञ्चालन गर्ने जनाएको छ ।  रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले दुर्गम गाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा जुटेको बताउनुभयो । उहाँले गाउँपालिकाले छरिएर रहेका दुर्गम गाउँका बस्तीमा स्वास्थ्य चौकीका साथै सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेर गाउँपालिकाले नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गरिरहेको जानकारी दिनुभयो ।  उहाँका अनुसार गाउँपालिकामा अहिले ८ स्वास्थ्य चौकी र सात सामुदायिक स्वास्थ्य इकाइबाट सेवा प्रवाह भइरहेको छ । गाउँपालिका–३ कलेजाबाङको पातिहाल्ना र वडा नं ७ चिमखोलाको नामिलामा समेत सामुदायिक स्वास्थ्य इकाइ स्थापना गर्ने तयारी गरेको छ । 

काठमाडौं:    बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।      यसअघि गत मङ्सिर ६ गते बिहान कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको थियो ।  पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ ।  नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पको जोखिमपूर्ण क्षेत्रका रूपमा लिने गरिन्छ । 

म्याग्दी:    बेनी– हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा–१० किलोमिटर कृषि सडक कालोपत्र गर्न धमाधम स्तरोन्नतिको काम सुरु भएको छ । जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर सञ्जय सुवेदीका अनुसार बगरफाँट– दूधेखोला साढे दुई किलोमिटर सडक चौडा बनाउनका साथै पानीको निकासका निम्ति नाली निर्माण गरी ‘ग्राभेल’सहित स्तरोन्नति थालिएको हो । योजनाअन्तर्गत कोटखोलाबाट साढे दुई किलोमिटर सडकलाई आठ मिटर चौडा बनाइनेछभने दूधेखोला–भकिम्ली खण्डमा तीन सय ९० मिटर  ढलान गरिने छ ।  चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट कृषि सडकका लागि रु एक करोड ६० लाख बजेट विनियोजन भएको छ ।हाँडेभिर–बगरफाँट दुई किलोमिटर  कालोपत्र भइसकेको छ ।  सो सडक खण्डअन्तर्गत नयाँ पुलमा सय मिटर, बाहुनडाँडामा ६ सय ५० मिटर र थामडाँडामा सय मिटर नयाँ मार्ग खोलिएको छ । उक्त सडक बेनी नगरपालिका–२ बगरफाँट हुँदै पश्चिम मालिका गाउँपालिका–४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको इन्जिनियर सुवेदीले बताउनुभयो ।

काठमाडौं:    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा आज प्रतितोला सुनमा रू दुई हजारले वृद्धि भएको छ ।  मङ्गलबार एकतोला सुन रू एक लाख ५२ हजार २०० मा कारोबार भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य भने स्थिर छ ।  आज प्रतितोला चाँदी रू एक हजार ९२५ मा कारोबार भइरहेको छ ।

बागलुङ:     राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ । लोकमार्गको अक्षतेबाट काठेखोला गाउँपालिका–८ लेखानी गाउँ जोड्ने सडकको २१ वर्षपछि स्तरोन्नति थालिएको हो । काठेखोला–८ का अध्यक्ष प्रमानन्द कँडेलका अनुसार सङ्घीय र प्रदेश सरकारको बजेटबाट गत वर्षदेखि नै स्तरोन्नति गर्न थालिए पनि कामले पूर्णता पाउन सकेको थिएन ।  आर्थिक वर्ष २०८०÷८१ मा पहिलो खण्डअन्तर्गत सुलडाँडा– भुदीखोला स्तरोन्नति भएको र यस वर्ष दोस्रो खण्डको काम धमाधम भइरहेको छ ।  चालु आर्थिक वर्षमा भुदीखोला–पैराखर्कसम्मको साढे तीन किलोमिटर ग्राभेलिङ गरिने उहाँले बताउनुभयो । यो सडकका निम्ति रु ५ करोड विनियोजन भएको छ ।  गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ५० लाखले तेस्रो खण्डअन्तर्गत पैराखर्क– शिवालय–पिपलथर –करलिम पनि चालु आवमा नै स्तरोन्नति गरिने उहाँले जानकारी दिनुभयो ।