काठमाडौं: वायुसेवा सञ्चालक सङ्घले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकप्टर उडानमा रोक लगाउने परिपत्र गरेपछि सङ्घले त्यसमा आपत्ति जनाउँदै उडान जारी राख्ने बताएको हो । सङ्ले बिहीबार राति प्रेस विज्ञप्ति जारी गर्दै, “संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिई हेलिकप्टरहरूले उक्त क्षेत्रमा उडान गरिरहेका सन्दर्भमा निकुञ्जले आफ्नो क्षेत्राधिकार बाहिर गएर उडानमा लगाएको रोक पालना गर्न बाध्य छैनौँ । सदस्य वायुसेवा कम्पनीहरूले हाल उडान गरिरहेका गन्तव्यहरूमा प्राधिकरणसँग अनुमति लिई उडानलाई निरन्तरता दिने जानकारी गराउँछौँ”, भनेको छ । साथै सङ्घले कानुनअनुसार उडानलाई निरन्तरता दिन सबै सदस्य कम्पनीहरूलाई आग्रह गरेको छ । गत बुधबार निकुञ्जले खुम्बु क्षेत्रमा उडान गर्न नदिने भन्दै सङ्घलाई पत्राचार गरेको थियो ।
काठमाडौं: कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली एक्स र दोस्रो स्पर्धा विराटनगर किङ्स र चितवन राइनोजबीच हुनेछ । पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ ।
पोखरा: नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गरेको नवौं पर्वतीय महोत्सव बिहीबार सकिएको छ । ५ दिने महोत्सव २५ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकको दाबी छ । बिहीबार आयोजित समारोहमा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौेडेलले महोत्सव समापन गरे । समारोहमा मन्त्री पौडेलले पर्वतीय संस्कृति, पर्वतारोहण र नेपालको अर्थतन्त्रबिच घनिभूत सम्बन्ध भएको औंल्याए । उनले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको विकास र प्रवर्धनमा सरकारले सघाउने वाचासमेत गरे । ‘यो पोखरा र गण्डकी प्रदेशकै गौरव हो । यसको विकास र प्रवर्धनमा गण्डकी सरकार यथाशक्य रुपमा सघाउन तयार छ,’ उनले भने । समारोहमा नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालले पर्वतीय महोत्सवलाई निरन्तरता दिँदै यो क्षेत्रमा थप पर्यटक भित्र्याउन प्रयत्न गरिएको जनाए । संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले महोत्सव पर्वतीय क्षेत्रलाई चिनाउन सहयोगी बनेको उल्लेख गरिन् । उनले भनिन्, ‘पर्वतीय क्षेत्रका सम्भावना, जलवायु परिवर्तनका असर, न्यूनीकरणका उपाय र सरोकारवालाको भूमिकाबारे गहन छलफल भएको छ । यसले देशको अर्थतन्त्रलाई अघि बढाउन, स्थानीयको जीवनस्तर उकास्न र पर्यटन प्रवर्धन गर्न पनि टेवा पुग्ने हाम्रो विश्वास छ ।’ महोत्सवमा बिहीबार आयोजित कार्यक्रममा जलवायु परिवर्तनका कारण देशभरि नै र खासगरी अन्नपूर्ण क्षेत्रमा अनेक चुनौती देखिएको सरोकारवालाले औंल्याए । पछिल्लो समय जलवायु परिवर्तनका असरहरु देखिएको जनाउँदै उनीहरुले मानवीय व्यवहारमा परिर्वतन, अनुकूलनसँगै जलवायु परिर्वतन गराउने क्रियाकलाप कम गर्नेतर्फ सोच्न आग्रह गरे । सरोकारवालाले जलवायु परिर्वतनका कारण, समस्यासहित समाधानका उपायहरुबारे समेत छलफल गरे । ‘अन्नपूर्ण क्षेत्रमा जलवायु परिर्वतनका असरहरु’ शीर्षकको छलफलको संयोजन जनप्रिय बहुमुखी क्याम्पसको बिएमटिएम कार्यक्रमले गरेको थियो । कार्यक्रममा वातावरण विज्ञ प्राडा विकास केसीले जलवायु परिवर्तनका असरहरु कम गर्न पूर्वसावधानीका लागि प्रणाली विकास गर्नुपर्नेमा जोड दिए । उनले ठाउँ ठाउँमा अनियमित वर्षा र त्यो वर्षाका कारण अकल्पनीय क्षति हुन थालेको औंल्याए । ‘पहिल्लो क्रममा अनियन्त्रित वर्षा हुन थालेको छ, नसोचेको क्षति पनि भएको छ । यसको कारण जलवायु परिर्वतन नै हो वा होइन भनी गम्भीर अनुसन्धान जरुरी छ,’ उनले भने । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रमुख डा रविन कडरिया जलवायु परिर्वतन भइसकेपछि आउने सङ्कट टार्न नेपालीको सामथ्र्यले नधान्ने भएकाले व्यवहारमा परिवर्तन र पूर्वसावधानीमा ध्यान दिनुपर्ने विचार राख्छन् । डा कडरिया भन्नुहुन्छ, ‘हामीले यो समस्या सुल्झाउन अहिले नै व्यवहार परिवर्तन गर्न जरुरी छ, विकसित देशहरुलाई सचेत बनाउन जरुरी छ । ठूलो लगानी गरी यसका असरहरुको मुकाविला गर्न कठिन हुन्छ ।’ ट्रेकिङ व्यवसायी धर्मराज पन्थी हिमाल हेर्न नेपाल आउने पाहुनाहरु कालापत्थर जस्ता हिमाल हेरेर दिक्क हुने गरेको बताउँछन् । जलवायु परिवर्तनले पदयात्रा पर्यटनमा समेत चुनौतीहरु थपेको उनको भनाइ छ । महोत्सव अवधिमा संग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङ जस्ता गतिविधि भएका छन् । महोत्सवमा सहभागी हुन अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय प्रवेशका लागि शुल्क नलाग्ने व्यवस्था गरिएको थियो । पर्वतीय जीवन, सभ्यता र इतिहासबारे बुझ्न अनौपचारिक अनुसन्धान केन्द्र बन्दै गएको यो सङ्ग्रहालयमा वर्षमा दुई लाखभन्दा बढी मानिस आउने गरेका छन् ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियालको भाउ वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदरअनुसार शुक्रबार डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ४३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५६ पैसा तोकिएको छ । केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९६ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय एक रुपैयाँ २५ पैसा निर्धारण गरेको छ । त्यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ ९० पैसा र बिक्रीदर आठ रुपैयाँ ९४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा कायम गरिएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०५ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन एक सयकोे खरिदर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ५० पैसा र कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ५३ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ४८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ १७ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ७६ पैसा कायम गरेको छ । यस्तै, ओमनी रियाल एकको खरिदर तीन सय ५१ रुपैयाँ ९० पैसा, बिक्रीदर तीन सय ५३ रुपैयाँ ४५ पैसा, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
झापा: झापाको कमल गाउँपालिका–३ बाट अमेरिकी डलरसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत कमल–३ स्थित केर्खाबाट गौरादह नगरपालिका–५ का २५ वर्षीय मोहम्मद नौसाद मियाँलाई डलरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । त्यहाँस्थित पूर्वपश्चिम लोकमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश१–०२–००१ख ९५३० नम्बरको यात्रुबाहक बसमा सवार मियाँले बोकेको झोला जाँच गर्दा स्रोत नखुलेको डलर एक सय दरका दुई सय ९७ थान फेलापरेको उहाँले बताउनुभयो । आजको नेपाली दररेटअनुसार उक्त डलरको नेपाली रु ४० लाख ३३ हजार आठ सय ५४ रहेको छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पोखरा: पोखरा रंगशालामा जारी प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ सेमिफाइनलको समिकरण पूरा भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंशगालास्थित बास्केटबल कोर्टमा सञ्चालन भइरहेको खेलमा सेमिफाइनल समिकरण पुरा भएको अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिए । पहिलो क्वाटरफाइनल खेलमा म्याग्दीको रघुगंगा गाउँपालिका (ग्रे)ले म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ह्वाइट)लाई ६५–५३ ले पराजित गर्दै सेमिफाइनल स्थान पक्का ग¥यो । यस्तै दोस्रो खेलमा पर्वतको जलजला गाउँपालिकाले मोदी गाउँपालिकालाई ६४–५८ ले पराजित ग¥यो । तेस्रो खेलमा पोखरा महानगरपालिकाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६७–५७ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का ग¥यो । क्वाटरफाइनलको अन्तिम खेलमा बेनी नगरपालिकाले म्याग्दीको रघुगंगा गाउँपालिका (ह्वाइट)लाई ६७–५१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश ग¥यो । प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ पहिलो सेमिफाइनलमा पोखरा महानगरपालिका र बेनी नगरपालिकाबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो सेमिफाइनलमा रघुगंगा गाउँपालिका र जलजला गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै भोलिदेखि महिलातर्फको समेत खेल हुने अध्यक्ष गुरुङले जानकारी दिए । महिलातर्फको पहिलो खेल ललितपुर र ग्राण्डबीच हुनेछ । यस्तै दोस्रो खेल अन्नपूर्ण र मर्दीखोलाबीच हुनेछ । गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा पुरुष तर्फको विजेताले १ लाख १५ हजार १ सय ११ उपविजेताले ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ३० र उपविजेताले १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रापत गर्नेछन् । विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीप प्लेयर, बेस्ट अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५÷१५ सय र अनुशासित टिमलाई नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । यस्तै महिला विधागतर्फ अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५÷१५ सय पुरस्कार प्रदान गर्ने आयोजनकले जनाएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुनेछ ।
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गर्दै जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा काठमाडौंले जितका लागि दिएको एक सय दुई रनको लक्ष्य जनकपुरले १५ दशमलव पाँच ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको हो । जनकपुरका लागि जेम्स निशमले सर्वाधिक २७ रन बनाए । उनले १७ बलमा तीन छक्का र एक चौकाको मद्दतले २७ रन बनाएका हुन् । हर्ष ठाकरले २५, लाहिरु मिलन्थाले १६, मोहम्मद मोहसिनले १३ र कप्तान अनिल शाहले ११ रनको योगदान दिए । काठमाडौंका लागि शुभ कङ्साकारले पाँच रन जोड्दा आसिफ शेखले दुई रन बनाए । यो खेलमा जनकपुरले अतिरिक्त पाँच रन प्राप्त गरेको छ । बलिङतर्फ काठमाडौंका कप्तान करण केसीले सर्वाधिक दुई विकेट लिए । गेरहार्ड इरास्मस, दिपेश कँडेल र शाहब आलमले समान एकरएक विकेट हात पारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको काठमाडौंले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर एक सय एक रन बनाएको थियो । काठमाडौँका लागि गेरहार्ड इरास्मसले सर्वाधिक २० रन बनाए । कप्तान करण केसीले १९ र स्टिफन एस्किनाजी १७ रन बाहेक अन्य कुनै खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । काठमाडौँका लागि शाहब आलम र माइकल लेविटले समान आठरआठ, रासिद खानले सात, प्रतिक श्रेष्ठले छ, भीम सार्कीले चार र डेन डउथवेटले एक रन बनाए । यो खेलमा काठमाडौँले अतिरिक्त ११ रन पाएको थियो । जनकपुरको लागि ललित राजवंशी र शेर मल्लले सर्वाधिक समान तीन/तीन विकेट लिए । यस्तै, मोहम्मद मोहसिनले दुई, अर्निको यादव र किशोर महतोले एक/एक विकेट हात पारेका थिए ।
पोखरा: सहकारीको बचत रकम अपचलन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामेछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आज कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उक्त आदेश दिएको हो । सभापति लामिछानेमाथि सहकारी ठगी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।
म्याग्दी: म्याग्दीमा यस वर्ष धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा पाँच दशमलब शून्य दुई प्रतिशतले धानको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र, म्याग्दीले जनाएको छ । अनुकुल मौसम र रोग किराको समस्या नभएकाले धान उत्पादन बढेको केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले जानकारी दिनुभयो । “रोप्ने समयमा बर्षात भएको र भित्र्याउँदा पानी नपरेका कारण यसपाली धानका लागि मौसम अनुकूल रह्यो,” उहाँले भन्नुभयो “केही ठाउँमा भित्र्याउने समयमा परेको असिनाका कारण क्षति भएपनि समग्र जिल्लाको उत्पादन वृद्धि भएको हो ।” म्याग्दीमा गत वर्ष तीन हजार आठ सय छ हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा १२ हजार नौ सय ७८ दशमलब पाँच मेट्रिक्टन उत्पादन भएको थियो । गत वर्ष प्रति हेक्टर तीन दशमलब ४१ मेट्रिक्टन उत्पादकत्व रहेकोमा यसवर्ष प्रति हेक्टर तीन दशमलब ५९ हेक्टर पुगेको छ । जिल्लाका विभिन्न ठाउँमा गरिएको धान बालीको क्रप कटिङ बिधिबाट उत्पादनको अवस्थाका विषयमा अध्ययन गरिएको कृषि प्रसार अधिकृत लामिछानेले बताउनुभयो । म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहँेले, मार्सि, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिचाई आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको प्रायजसो क्षेत्रमा धान खेती हुने गरेको छ । रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दानालगायत क्षेत्रमा धान खेती हुँदै आएको छ । यी क्षेत्रहरु धान उत्पादनको हिसाबले पकेट क्षेत्र मानिन्छन् । धवलागिरि गाउँपालिकाको गुर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धान उत्पादन हुँदैन । म्याग्दी जिल्लामा कुल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार चार सय ९८ हेक्टरमा मात्रै खेती गरिएको छ । खेती गरिएको जमिनमध्ये छ हजार १३ हेक्टर अर्थात् ३० दशमलव आठ प्रतिशत मात्रै सिञ्चित जमिन रहेको छ । यसमध्ये एक हजार छ सय ८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने चार हजार तीन सय ३३ हेक्टरको जमिनमा मौसमी सिंचाइ हुने गरेको छ ।