काठमाडौं:     मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ । पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर...

काठमाडौं:  नेपाल प्रहरीको तथ्याङ्क अनुसार अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १ सय ७३ जनाको मृत्यु भएको छ ।    बाढी, पहिरो लगायतका विपद्मा परी कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ७३ जनाको मृत्यु भएको हो ।    नेपाल प्रहरीको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना घाइते भएका छन् ।   यस्तै गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५४ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी जम्मा २ सय २३ जना घाइते भएका छन् ।    घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।    साथै काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १३ जनाको उद्दार गरिएको छ ।    बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४८ जना बेपत्ता भएका छन् ।   बेपत्ताको खोजी कार्य जारी छ ।  बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् ।    २ सय ७५ वटा घर, १ सय ४ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।    ८ सय १२ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ३ सय २२ घर परिवार विस्थापित भएका छन् ।

काठमाडौं:    वैदेशिक रोजगारीका लागि मौरिससमा आकर्षक तलब र ग्रीनकार्डसमेत पाइने लोभमा फस्दा एक महिला चरम यौन तथा श्रम शोषणमा परेकी छिन् ।       लामो यातनापछि उनी भागेर नेपालीहरुकै सहयोगमा घर फिर्ता हुन सफल त भइन् तर ती महिला ठूलो आर्थिक रकम गुमाउन पुगिन् भने यौन र श्रम शोषणमा परेर विक्षिप्त भएकी छिन् ।  नेपाल फर्किएपछि उनले प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोमा दिएको जाहेरीका आधारमा उक्त घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउगरी अनुसन्धान थालिएको ब्युरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।      उहाँका अनुसार उक्त घटनाका अभियुक्त झापाका ५४ वर्षीय वृद्धिराज न्यौपानेलाई काठमाडौँ महानगरपालिका–७ गौरीघाटबाट पक्राउगरी काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा आजै पाँच दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान थालिएको छ ।      अभियुक्त न्यौपानेले आर्थिक अवस्था कमजोर भएकी पीडित महिलालाई मौरिससमा मासिक ७० हजार कमाई हुने र ग्रीनकार्डसमेत पाइने प्रलोभनमा विश्वास दिलाएर मौरिसस पु¥याएका थिए । उनले त्यहाँ पुग्नका लागि भन्दै पीडितबाट दुई लाख ५० हजार लिएका अनुसन्धानमा खुलेको ब्युरोले जानकारी दिएको छ ।       सुरुमा उनले गत माघमा मौरिसस पु¥याउन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा लगेर पीडित महिलालाई मरिसस लेखिएको क्याप टोपी लगाउन लगाई फोटो खिचे । पहिचानका लागि मौरिससमा रहेका उनका साथीलाई त्यो तस्वीर पठाए । त्यसपछि उनले गत माघ १३ गते नेपालबाट भारतको नयाँ दिल्ली हुँदै मैरिसस पु¥याएका खुल्न आएको छ ।      त्यही टोपीका आधारमा पहिचानगरी मौरिससस्थित विमानस्थलमा उनका साथीले पीडितलाई रिसिभगरी मौरिसियन नागरिकलाई जिम्मा लगाएको पनि अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक मिश्रले बताउनुभयो ।        मौरिससका नागरिकले अभियुक्त न्यौपानेबाट उपहारस्वरुप खरिदगरी ल्याएको भनी दैनिक १७÷१८ घण्टा घरको काम लगाई समयमा खाना खान र तलबसमेत नदिइ चरम श्रम शोषण तथा यौनशोषण गरेको पीडित महिलाले ब्युरोमा बयान दिएकी छिन् ।           पीडित महिलाले नेपाल फर्काउन अनुरोध गर्दा अभियुक्तले घर मालिकले भनेबमोजिम गर्न भनी डर, धम्कीसमेत दिएपछि काम गरेको ठाउँबाट रातिको समयमा भागेर उनी पोर्चुगलमा रहेका नेपाली नागरिकको सहयोगमा गत असार ३० गते नेपाल फर्कन सफल भएकी थिइन् ।       त्यसपछि उनले मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलमा जाहेरी दिएपछि प्रहरीले अभियुक्तको खोजी थालेकामा आज न्यौपाने पक्राउ परेका हुन् ।

पोखरा:   कास्की प्रहरीले धारिलो हतियार देखाएर लुटपाट गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका  १८ बस्ने ३७ वर्षीय देवन गुरुङ, सोही स्थानकै १९ वर्षीय आजित रुचाल भन्ने हितमान सार्की र तनहुँको व्यास नगरपालिका ३ घर भई पोखरा ५ बस्ने१८ वर्षीय अनिश भट्ट रहेका छन् ।   उनीहरुको साथबाट घटनामा संलग्न ग ८ प ६९२४ नं को रातो रंगको डियो स्कुटर र ग ११ प ९८२७ को मोटरसाइकललाई पनि नियन्त्रणमा लिएको छ ।     बैदाम प्रहरीका अनुसार आइतबार राती करिब २ बजे पोखरा ६ लेकसाइडमा २० वर्षीया युवकलाई हतियार देखाएर ति व्यक्तिहरुले धारिलो हतियार चक्कु देखाई घाँटीमा राखी डर त्रासमा पारी दुई तोला बराबरको सुनको सिक्री र नगद १२ हजार तथा लेदरको कालो रङको ज्याकेट लुटेर फरार भएका थिए ।   त्यसपछि सूचना पाएको वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले उक्त घटनामा संलग्न भएका तिन जनालाई नै  पक्राउ गरेको हो ।    उनीहरुले उक्त सुन गणेशटोलको सुनचाँदी पसलमा विक्री गरेका थिए ।    उक्त सुन किन्ने पोखरा महानगरपालिका ४ गणेशटोलस्थित विकास सुन चाँदी पसलका संचालक नारायण प्रसाद बिक र एस. पि. मान्मा ज्वेलर्सका संचालक प्रशान्त मान्मालाई समेत कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।   उनीहरुको साथबाट १ लाख ३ हजार ५ सय रुपैयासमेत सुन विक्री गरेको रकम बराम गरिएको छ ।   पक्राउ परेका ५ जनाविरुद्ध कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि चोरी तथा डाँका सम्बन्धि मुद्दामा अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।   (कास्की प्रहरीकाे स्रोत गलत भएकाले यसअघि लेकसाइडमा युवकको ठाउँमा युवती भएकाले​ सञ्चाइएको छ ।)      

बेलबारी:    मोरङको बेलबारी–३ करमडाँडास्थित अन्दाजी तीनदेखि चार वर्षको हात्ती मृतावस्थामा भेटिएको छ ।   स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा आज विहान मृत फेलापरेको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।   सबडिभिजन वन कार्यालय बेलबारी, इलाका प्रहरी कार्यालय बेलबारी र सशस्त्र प्रहरी बल बेसक्याम्प लक्षीमार्गकोे टोलीले घटनास्थल पुगेर मुचुल्का उठाउन सुरु गरेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख हेमन्त पराजुलीले जानकारी दिनुभयो ।   छावाको मृत्युको कारण भने खुल्न नसकेको उहाँले बताउनुभयो ।   सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली पनि घटनास्थलमा आउने क्रममा रहेको जनाइएको छ ।

नवलपुर:     बर्दघाट सुस्तापूर्वका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन् ।   कम समयमा बढी आम्दानी हुने भएपछि यहाँका किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।   गत आर्थिक वर्षमा जिल्लामा बाख्रापालन गर्ने किसान, व्यावसायिक फार्म र उत्पादित खसीबोका वृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख ऋषभ गुरागाईँले बताउनुभयो ।   आव २०७९/८० मा भन्दा २०८०/८१ मा बाख्रापालन गर्ने किसानको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको र यसले उत्पादन पनि बढेको पाइएको छ ।   “आव २०८०/८१ मा नयाँ १८ बाख्रा फार्म दर्ता भई सञ्चालनमा आएका छन् । अहिले जिल्लामा व्यावसायिक बाख्रा फार्मको सङ्ख्या दुई सय ७४ पुगेको छ”, उहाँले भन्नुभयो, “आव २०७९/८० मा दर्ता भएका बाख्रा फार्म दुई सय ५६ थियो ।”   फार्म नै दर्ता गरेर बाख्रापालन गर्नेको अनुपातमा व्यक्तिगत रूपमा खोर बनाएर बाख्रा पाल्ने सङ्ख्या अझ उल्लेख्य रहेको पाइएको छ ।   जिल्लामा आव २०७९/८० मा एक लाख ४३ हजार नौ सय ९० वटा बाख्रा रहेकामा गत आवमा सो सङ्ख्या २३ हजार सात सय ८९ ले थप भई एक लाख ६७ हजार सात सय ७९ पुगेको विज्ञ केन्द्रको तथ्याङ्कमा देखिएको छ ।   “पछिल्लो तीन वर्षमा जिल्लामा ४५ हजार दुई सय २२ बाख्रा थप भएका छन्”, प्रमुख गुरागाईँले भन्नुभयो, “तुलनात्मक रूपमा बाख्रापालनमा कम मेहनत लाग्ने र छिटो नगद आम्दानी हुने भएकाले यसतर्फ अग्रसर भएको देखिन्छ ।” बाख्रापालन गर्ने किसानको सङ्ख्या बढेसँगै यहाँ मासुको उत्पादन पनि बढेको पाइएको छ ।   आव २०७९/८० मा खसीबोकाको मासु पाँच सय ८१ मेट्रिक टन उत्पादन भएकामा गत आवमा ९५ मेट्रिक टनले वृद्धि भई छ सय ७६ मेट्रिक टन पुगेको प्रमुख गुरागाईँले बताउनुभयो ।   जिल्लामा उत्पादन भएको खसीबोका किसान आफैँले बिक्री गर्ने गरेका छन् भने केही सहकारीमार्फत सङ्कलन गरेर बिक्री गर्ने गरिएको छ ।   “गत आवमा यहाँ उत्पादन भएको खसीबोकामध्ये एक सय ६६ मेट्रिक टन सहकारीमार्फत सङ्कलन गरी बिक्री गरिएको छ भने पाँच सय ११ मेट्रिक टन किसान आफैँले बिक्री गरेका छन्”, उहाँले भन्नुभयो ।   नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट गत आवमा एक सय ५० मेट्रिक टन खसीबोका काठमाडौँ, पोखरा र चितवनका बजारमा निकासा भएको तथ्याङ्कमा उल्लेख छ ।   पछिल्ला वर्षहरूमा पशुपालनका क्षेत्रमा गाईभैँसी पाल्ने किसानको सङ्ख्या घट्दै गए पनि बाख्रापाल्नेको सङ्ख्या भने बढ्दै गएको छ ।   पशुपालनका क्षेत्रमा धेरै मेहनत र परिश्रम गर्नुपर्ने भएकाले त्यो क्षेत्रभन्दा कम मेहनत लाग्ने बाख्रापालनतर्फ किसानको आकर्षण बढेको देखिएको केन्द्रका प्रमुख गुरागाईँले बताउनुभयो ।

त्रिवेणी (नवलपरासी):    पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ ।   नवलपुरको दाउन्नेमा गए राति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो ।   भासिएको स्थानमा मर्मतका लागि आज दिउँसो १ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।   विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।   यस खण्ड भएर यात्रा गर्ने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको प्रनाउ पौडेलले बताउनुभयो ।

म्याग्दी:   म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित राममन्दिर पुन:निर्माण भएको छ ।   करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनी–जोमसोम–कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण गरिएको थियो ।   बेनी–जोमसोम–सडकभन्दा तल रहेको मन्दिरलाई सडकमाथि सारेर जीर्णोद्वार गरिएको राममन्दिर पुनःनिर्माण समितिका अध्यक्ष खड्ग गिरीले बताउनुभयो ।   उहाँका अनुसार रु २४ लाख ७० हजार सात सय ५० को लागतमा मन्दिर पुनःनिर्माण भएको हो ।   “मन्दिर पुुनःनिर्माणका लागि रु १५ लाख उपलब्ध गराउने सहमति गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले हालसम्म रु १३ लाख ३२ हजार तीन सय ६१ उपलब्ध गराएको छ”, अध्यक्ष गिरीले भन्नुभयो, “रु चार लाख ७४ हजार सात सय सात चन्दा सहयोग, रु एक लाख ११ हजार सात सय आन्तरिक आम्दानी परिचालन गरेका छौँ ।”   रु दुई लाख ८० हजार आठ सय ५६ ऋण रहेको मन्दिर पुनःनिर्माणका लागि सो सडक आयोजनाले सहमतिअनुसार थप रु एक लाख ६७ हजार तीन सय ३९ भुुक्तानी गर्न बाँकी छ ।   अन्नपूूर्ण गाउँपालिकाको रु १० लाख बजेटमा सो मन्दिर परिसरमा गत वर्ष निर्माण थालिएको सत्तललाई पूर्णता दिन यस आर्थिक वर्ष २०८१/८२ मा रु पाँच लाख विनियोजन भएको छ ।   मन्दिर परिसर घेराबार र हनुमानको मूर्ति राख्न बाँकी छ । मन्दिरभित्र हिन्दू धर्मावलम्बीहरूका भगवान् रामको मूर्ति राखिसकिएको छ ।   घेराबार र हनुमानको मूर्ति राख्नका लाथि थप आर्थिक स्रोतको खोजी गरिएको अध्यक्ष गिरीले बताउनुभयो ।   हिन्दुु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ जाने बाटोमा पर्ने र शालिग्राम शिला पाइने कालीगण्डकी नदीको किनारमा रहेको राममन्दिर रहेको पोखरेबगर अन्नपूूर्ण गाउँपालिकाको केन्द्रसमेत भएकाले नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल थालिएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजाले बताउनुभयो ।

कास्की:   पच्चीस २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ ।   कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो ।   आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएको छ ।   “आयोजनाको निर्माणतर्फका सबै काम सकिएको छ । यही साउन ३० गते पेनस्टक पाइपमा पानी हाल्छौँ । त्यसपछि वेटटेष्ट (पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने)को काम सुरु हुन्छ”, प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले भन्नुभयो ।   ‘वेट टेष्ट’को काम सकिएको दुई साताभित्रमा परीक्षण उत्पादन सुरु हुने कम्पनीले जनाएको छ । त्यसपछि आयोजनाको व्यावसायिक उत्पादन हुनेछ ।   सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी सेतीको पानी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिने छ ।   पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुईवटा टर्वाइनमा खसालिने छ ।   सो आयोजना नदी जलप्रवाहमा आधारित छ । कम्पनीका अध्यक्ष पोखरेलले आयोजना सम्पन्न गर्नका लागि स्थानीयवासी तथा स्थानीय सरकारलगायतबाट सहयोग मिलेको बताउनुभयो । उहाँले स्थानीयवासीको सानासाना लगानीले आयोजना निर्माण भएको बताउनुभयो ।   उहाँले भन्नुभयो, “जलविद्युतमा २५ मेगावाट सानो परियोजना होइन । धेरै मानिस जोडिनुभएको छ । एक हजार पाँच सय जना प्रवर्द्धकको लगानी छ । पारदर्शी रूपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका थियौँ, उत्पादन सुरु भएसँगै अब छिट्टै सफलता मिल्दैछ ।”   सेती नदी जलविद्युत् आयोजनामा रु पाँच अर्ब बढी लगानी भएको छ ।   यसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिएको आयोजनाका निर्देशक बमबहादुर गुरुङले बताउनुभयो ।   सेती नदी जलविद्युत आयोजना विसं २०७७ को अन्तिमदेखि काम सुरु भएको हो ।   कोरोना महामारीका कारण आयोजनाको काममा केही बाधा पुगे पनि सबैको सहयोगले सफलता मिलेको निर्देशक गुरुङले बताउनुभयो ।

तनहुँ:    भानुभक्त प्राणी उद्यानका जग्गाधनीले  मुआब्जाको माग गरेका छन् ।   भानुभक्त प्राणी उद्यान जग्गाधनी समन्वय समितिले अविलम्ब मुआब्जा वितरण गर्नुपर्ने माग गर्दै उनीहरुले सोमबार जिल्ला प्रशासन कार्यालय तनहुँमा धर्ना समेत दिएका छन् ।  यसअघि उनीहरूले गत साताको मङ्गलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाई अविलम्ब मुआब्जा वितरण गर्न माग गरेका थिए ।   आफ्ना माग पूरा नभएको जनाउँदै जग्गाधनीले भानुभक्त प्राणी उद्यानको मुख्य कार्यालयमा तालाबन्दी गरेका छन् ।  व्यास नगरपालिका–११ र १२ तथा भानु नगरपालिका–५ र ६ को क्षेत्रलाई समेटिएर आठवटा सामुदायिक वन, पाँचवटा कबुलियती वन, सरकारद्वारा व्यवस्थित राष्ट्रिय वनको आंशिक क्षेत्र तथा खोलानाला र सो क्षेत्रभित्रका एक हजार नौ सय ४६ स्थानीय निजी घरजग्गालाई समेत समेटी कुल चार सय २५ हेक्टर जग्गामा भानुभक्त प्राणी उद्यान खोल्ने भनी सरकारले २०७३ माघ २० गतेको मन्त्रिपरिषद्को बैठक र २०७४ वैशाख १८ गते राजपत्रमा समेत प्रकाशित भएको थियो । उक्त उद्यान सञ्चालन गर्ने निर्णयपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बनेको घरजग्गा मूल्याङ्कन समितिले गरेको मूल्य निर्धारण भएको चार वर्ष भइसकेको समन्वय समितिका संयोजक हर्कबहादुर कार्कीले बताउनुभयो ।   उक्त चार वर्षको अवधिमा मुआब्जाका लागि धेरैपटक अनुरोध र सङ्घर्ष गरिए पनि हालसम्म सुनुवाइ नभएको उहाँले बताउनुभयो । चार वर्षका अवधिमा प्राणी उद्यानले धेरै गति लिइसक्दा पनि चरणबद्ध रूपमा राज्यका सम्बन्धित निकाय वन मन्त्रालय, वन्यजन्तु संरक्षण विभागलगायत प्रधानमन्त्री, राष्ट्रपतिसमक्षसमेत समिति पुगेर मुआब्जाका लागि अनुरोध गर्दा पनि कुनै सुनुवाइ र सम्बोधन नभएको संयोजक कार्कीले बताउनुभयो ।  मुआब्जाको सुनुवाइ नहुँदा कतिपय बासिन्दा घरवारविहीन भई सडकमा आउनुपर्ने अवस्था रहेको र राज्य पक्षबाट गम्भीर अन्यायमा परेको हुँदा स्थानीय बासिन्दा तथा सम्पूर्ण जग्गाधनीहरूको गत साउन १८ गते बसेको बैठकले आन्दोलनको घोषणा गरेको उहाँले बताउनुभयो ।  रैथाने र गैररैथाने वन्यजन्तुको संरक्षण गर्र्ने, वन्यजन्तु संरक्षणमार्फत आमोदप्रमोद प्रदान गर्ने, वन्यजन्तुको वैज्ञानिक अध्ययन, अनुसन्धान गर्ने उद्देश्यसहित स्थापना भएको प्राणी उद्यानले जग्गा अधिग्रहणको कामलाई अगाडि बढाएको थियो ।   प्राणी उद्यानले अधिग्रहण गर्ने जग्गा, घरटहरा, खेतबारीको मुआब्जा निर्धारण गर्ने काम सकिएको छ । यस कार्यका लागि रु ४६ करोड ५२ लाख एक हजार सात सय ३० बजेट आवश्यक पर्ने जनाइएको छ । प्राणी उद्यानभित्र परेका एक सय २६ जग्गाधनीको नौ सय ६१ रोपनी जग्गा अधिग्रहण गरिनेछ ।   त्यसका लागि रु ४३ करोड ८७ लाख नौ हजार चार सय ४३ मुआब्जा निर्धारण गरिएको छ । त्यस्तै उद्यानभित्र परेका घरटहराका लागि रु ५८ लाख सात हजार पाँच सय ७९ र छुट भएका १६ जग्गाधनीको जग्गा अधिग्रहणका लागि रु दुई करोड छ लाख ८४ हजार सात सय सात मुआब्जा निर्धारण गरिएको छ ।  प्राणी उद्यानको सिमानमा तारबार लगाउने काम भने सम्पन्न भइसकेको छ । प्राणी उद्यानको विकासका लागि गुरुयोजना बनाइएको छ । गुरुयोजनाअनुसार यहाँ दुई इलाका, चार क्षेत्र र आठ शाखा कल्पना गरिएको छ ।  इलाकाअन्तर्गत संरक्षण इलाका र उपयोग इलाका रहनेछ । क्षेत्रअन्तर्गत प्रशासनिक, प्रदर्शनी, शान्ति र आध्यात्मिक र उद्धार र अनुसन्धान रहनेछ । शाखाअन्तर्गत ठूला शाकाहारी, शाकाहारी, पक्षी, सर्वहारी, सरीसृप, साना स्तनधारी, मांसाहारी र भालु शाखाको कल्पना गरिएको छ ।  प्राणी उद्यान चार सय २५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको छ ।  प्राणी उद्यानले दुई सय ९७ दशमलव ४७ हेक्टर संरक्षण इलाका र एक सय २७ दशमलव ५३ उपयोग इलाका निर्धारण गरेको छ । संरक्षण इलाकाभित्र घना वनक्षेत्र, भिरालो र पहुँच नभएको क्षेत्र पर्दछ भने उपयोग इलाकाभित्र कम भिरालो, पानीका स्रोत पर्दछ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा प्राणी उद्यान घोषणा गर्ने प्रावधान भएकाले चुनौती देखापरेको संरक्षण अधिकृत पन्थले बताउनुभयो । प्राणी उद्यानले गुरुयोजनाबमोजिम कार्यसञ्चालन, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा प्राणी उद्यान स्थापना र व्यवस्थापनसम्बन्धी व्यवस्था गर्न पहल गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।