काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन रू २ हजार १ सय बढेको छ । सोमबार प्रतितोला रू १ लाख ५० हजार १ सयमा कारोबार भएको पहेँलो धातु आज बजार खुल्दा रू १ लाख ५२ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मूल्य प्रतितोला रू ६० ले बढेर रू १ हजार ९ सय २५ कायम भएको छ ।
रौतहट: बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गरेको बा१६च ३१६२ नम्बरको जिप रौतहटमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । बारामा गढीमाईको दर्शन गरेर फर्किदै गरेको जिप दुर्घटनामा परेको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको लमाहामा गए राति जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । जिप अनियन्त्रित भई रुखमा ठोकिएको थियो । दुर्घटनामा परी सिरहाको अर्नामा नगरपालिका–३ बंठिया टोलका रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फुलमन्तीदेवी चमार र चालक श्रीकुमार यादवको मृत्यु भएको प्रहरी नायब राईले जानकारी दिनुभयो । मृतकहरूको चन्द्रनिगाहपुर अस्पतालमा सनाखत गरिएको हो । दुर्घटनामा घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेबी महरालाई उपचारका लागी पर्साको वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
दाङ: घोराही उपमहानगरपालिका–१८ घोरदौरामा जीपलाइन सञ्चालन गरिँदै छ । घोराही–१८ रझेनाका सुभास गौतमले घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन परीक्षण गर्न सुरु गरिएको बताउनुभयो । घोरदौरा आफैँमा पर्यटकीयस्थल भएकाले यसको थप प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले सुरुआत गरिएको उहाँले बताउनुभयो ।“अहिले काम अन्तिम चरणमा पुगेको छ, अबको एक महिनापछि पूर्ण रूपमा सञ्चालन गर्ने तयारीमा छौँ”, सञ्चालक गौतमले भन्नुभयो । साढे ७ सय मिटर लामो जीपलाइन साहसिक र रोमाञ्चक हुने उहाँले बताउनुभयो । छिट्टै सञ्चालनमा आउन लागेकोे जीपलाइनसँगै स्काई साइक्लिङ पनि हुनेछ । स्काई साइक्लिङ भने एक सय ५५ मिटर लामो रहने छ । घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन र स्काई साइक्लिङको काम केही बाँकी रहेका कारण प्राविधिकको टोलीले काम गरिरहेको उहाँ बताउनुहुन्छ । हालसम्म रु एक करोड बढी लगानी लागेको र अझै काम भइरहेकाले लगानी बढ्ने गौतमको भनाइ छ । घोरदौरामा जीपलाइन र स्काई साइक्लिङ सञ्चालनमा ल्याउनुको मुख्य उद्देश्य यहाँको पर्यटन प्रवर्द्धन गर्नु हो । जीपलाइनका लागि रु १ हजार ८ सय ५० शुल्क निर्धारण गरिएको र साइक्लिङको भने काम भइरहेकाले अझै शुल्क निर्धारण नभएको सञ्चालक गौतमले बताउनुभयो ।
पोखरा: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कास्कीको आयोजनामा हुने विद्यार्थी महोत्सवको तयारी पूरा भएको छ । पृथ्वीनारायण क्याम्पस पोखरामा २६ र २७ गते हुने महोत्सवको तयारी पूरा भएको आज (आयोजित पत्रकार सम्मेनल मार्फत जानकारी दिइएको हो । कास्की जिल्ला कमिटीका अध्यक्ष सन्तोष पोख्रेलले विद्यार्थीहरुलाई एकताको सुत्रमा बाँध्ने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको बताए । पृथ्वीनारायण क्याम्पसमा २ दिन चल्ने महोत्सवमा शैक्षिककार्यक्रमदेखि विविध सांगीतिक कार्यक्रमहरु समावेश गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिए । उनका अनुसार महोत्सवको पहिलो दिन उद्घाटन समारोहसँगै अनुसन्धान र विकासमा विश्व विद्यालय विषयमा अन्तरसंवाद हुनेछ । यस्तै चित्रकला प्रतियोगिता, नृत्य प्रतियोगिता, कविता प्रतियोगिता र लाइभ कन्सर्ट हुनेछ । यस्तै दोस्रो दिन पर्यटन र पोखरा विषयक अन्तरसंवाद हुनेछ । यसैगरी कविता प्रतियोगिता, चित्रकला, अन्तरसंवाद कार्यक्रम (स्थानीय सरकार), सांस्कृतिक नृत्य प्रतियोगिता, पुरस्कार वितरण तथा लाइभ कन्सर्ट हुनेछ । लाइभ कन्सर्टतर्फ डिमर्चा ब्याण्ड, देउराली ब्याण्डको प्रस्तुती रहनेछ भने, रचना रिमाल (२६ गते) र टुकीको पनि प्रस्तुती रहनेछ । महोत्सव पिएन क्याम्पसको साइन्स बिल्डिङ परिसरमा आयोजना हुने अनेरास्ववियु कास्कीले जनाएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आज दिउँसो ४ः०० बजे सचिवालय बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने उहाँले बताउनुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही मङ्सिर २६ र २७ गते केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक आह्वान गरेको छ । पार्टीको देशभर साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिनुभयो । गत असारमा दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको पार्टीले अहिलेसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोकेको छैन । पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले टुङ्गो लगाएको नामावली बैठकले अनुमोदन गर्ने बताइएको छ ।
सुनसरी: धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा रहेको गल्फ कोर्स पूर्वी नेपालका ‘गल्फ प्रेमिका’का लागि आकर्षण केन्द्र बन्दै गएको छ । धरान गल्फ क्लबका अनुसार उक्त कोर्समा धरान, इटहरी, विराटनगरलगायत पूर्व क्षेत्रका साथै पोखरा र काठमाडौँबाट पनि गल्फ खेल्न आउने गरेका छन् । हाल यहाँ विभिन्न ठाउँबाट दैनिक ४० देखि ५० भन्दा बढी गल्फ खेल्न आउने गरेका क्लबका अध्यक्ष हरिबहादुर राईले बताउनुभयो । उहाँका अनुसार क्लबमा अहिले ८० जना सदस्य आबद्ध हुनुहुन्छ । सन् १९६२ मा स्थापना भएको उक्त गल्फ कोर्सले स्थानीयस्तरमा खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको राईको भनाइ छ । क्लबमा २०७३ सालदेखि गल्फ खेल्दै आउनुभएका खेलाडी जीतेन्द्र राई ‘सिङ्गल हेण्डी क्याप’ खेलाडीका रूपमा सक्रिय हुनुहुन्छ । सुरुमा स्वास्थ्यका लागि खेलेको बताउँदै उहाँले अहिले यसको अनिवार्य अभ्यास गर्ने सोख बसेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “विशेषगरी यो खेल मैले स्वास्थ्यका लागि लिएको हुँ । यो खेल खेल्न त्यति सजिलो भने छैन । सिक्नका लागि लामो समय लागे पनि यो खेल ‘जिरो इञ्जोर’ खेल भएकाले यसमा रमाइरहेको छु ।” आफूले गल्फ खेल्न थालेपछि विभिन्न टुर्नामेन्टमा सहभागी भएर उपाधिहरू पनि जितेको जीतेन्द्रले जानकारी दिनुभयो । प्रोफेसनल गल्फ नेपाल एशोसिएसनले गरेको टुरमा आफू सिङ्गल हेण्डी क्याप भएकाले ‘स्टण्डसाइड’को खेलाडी भएर ‘टिम इभेन्ट’मा प्रथम स्थान हासिल गरेको उहाँले बताउनुभयो । पछिल्लो समय गल्फ आयआर्जन गर्ने प्रभावकारी माध्यम बन्दै गएकाले पनि खेलाडीको आकर्षण बढेको उहाँको बुझाइ भनाइ छ । धरानमा ब्रिटिश क्याम्प स्थापना भएपछि क्याम्पभित्र सन् १९६२ मा १८ होलको गल्फ कोर्स बनेको उक्त कोर्सका सदस्य राजु राईले जानकारी दिनुभयो । धरान लाहुरेको सहर भनेर पनि चिनिने भन्दै धरान गल्फ क्लब ब्रिटिसको संस्था नोफिल गिफ्टले स्थापना गरेपछि ब्रिटिस लाहुरेलाई सन् १९६२ हस्तान्तरण गरेको उहाँले बताउनुभयो । “सन् १९८९ जुलाईमा ब्रिटिस लाहुरेले क्याम्प छोडेपछि गल्फ कोर्स क्लब विस्थापित भयो”, राजुले भन्नुभयो, “विस्तारै धरानका स्थानीयहरू गल्फप्रति आकर्षित हुँदै गएपछि नयाँ सदस्य बनाएर पुनःसञ्चालन गरिएको हो ।” गल्फ खेलले धरानमा आन्तरिक र बाह्य पर्यटन भित्र्याउनमा महत्वपूर्ण भूमिका खेलिरहेको उहाँको दाबी छ । सदस्य राजुले यहाँ अहिले धेरैजसो विदेशी पर्यटक गल्फ खेल्न आउने गरेका जानकारी दिनुभयो । इङ्ग्ल्याण्ड, इटाली, फ्रान्स, अष्ट्रेलिया, सिङ्गापुर, युकेलगायत देशका पर्यटक यहाँ गल्फ खेल्न आउने गरेका उहाँले बताउनुभयो । राजुले भन्नुभयो, “नेपालमा गल्फ कोर्स क्लब थोरैमात्रामा छन्, जसमा पूर्वमा धरानमा मात्र रहेको गल्फ कोर्स पूर्वको गहना जस्तै बनेको छ । यहाँ सबैभन्दा सस्तोमा खेल खेलाइँदै आइएको छ ।” उहाँले गल्फको विकासमा सरकारले ध्यान दिन आवश्यक रहेकामा जोड दिनुभयो । गल्फ खेल स्वास्थ्यका लागि लाभदायी मानिन्छ । शान्त रूपमा खेलिने भएकाले यो खेललाई ‘माइन गेम’ भनेर चिन्ने गरिन्छ । गल्फ खेल्दा शारीरिक र मानसिक स्वास्थ्यमा फाइदा पुग्ने खेलाडीहरूको अनुभव छ । खेलाडी राजुले गल्फ खेल्दा ढाड दुख्ने, जोर्नी नसासम्बन्धी बिरामीका लागि लाभदायी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “गल्फ खेल्न अरु खेल जस्तो उमेरको हदबन्दी रहँदैन । सबै उमेर समूहकाले यो खेल खेल्नु लाभदायक हुन्छ ।” विसं २०८० फागुनमा धरान गल्फ कोर्समा ‘ड्राइभिङ रेञ्ज र पार्किङस्थल’ निर्माण गरेपछि प्रभावकारी व्यवस्थापन भएको छ । धरान गल्फ क्लब र नेपाली सेनाको काली शक्ति इञ्जिनियरिङ गणको सहकार्यमा निर्माण गरिएको ड्राइभिङ रेञ्ज र पार्किङले यहाँ आउने खेलाडीको व्यवस्थापनमा सहज बनाएको क्लबका सदस्य राजुले बताउनुभयो । क्लबका अध्यक्ष हरिबहादुर राईले नेपालमा पनि गल्फ उत्कृष्ट खेलका रूपमा विकास हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “गल्फ खेल्नका लागि विभिन्न ठाउँबाट धरान आउनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ ।”
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाई भाट, युएई दिराम, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य बढेको छ । यस्तै, जापानी येन, साउथ कोरियन वन र मलेसियन रिङ्गेटको मूल्य भने घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ १३ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ७७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ८९ र बिक्रीदर एक सय ७३ रूपैयाँ ६५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रूपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ६५ पैसा कायम गरिएको छ । केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ ७० पैसा र बिक्रीदर ९६ रूपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रूपैयाँ शून्य पाँच पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ४९ पैसा निर्धारण गरेको छ । जापानी येन १० को खरिददर आठ रूपैयाँ ९९ पैसा र बिक्रीदर नौ रूपैयाँ शून्य तीन पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १८ रूपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ शून्य एक पैसा र बिक्रीदर ३६ रूपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ शून्य एक पैसा र बिक्रीदर चार रूपैयाँ शून्य तीन पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रूपैयाँ, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ५७ पैसा र बिक्रीदर ३० रूपैयाँ ७१ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रूपैयाँ ४५ पैसा र बिक्रीदर नौ रूपैयाँ ४९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ४२ पैसा र बिक्रीदर १२ रूपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ १९ पैसा र बिक्रीदर १९ रूपैयाँ २८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रूपैयाँ ४० पैसा र बिक्रीदर १७ रूपैयाँ ४८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रूपैयाँ २९ पैसा र बिक्रीदर चार सय ४२ रूपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रूपैयाँ ७२ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ ३१ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५१ रूपैयाँ ३८ पैसा, बिक्रीदर तीन सय ५२ रूपैयाँ ९४ पैसा तोकिएको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
खोटाङ: गोलिया काठ काट्ने क्रममा रूखले किचेर हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित ढाडगाउँका १८ वर्षीय मिलन दमाईको मृत्यु भएको छ । रावाबेँसी गाउँपालिका–२ खार्पाका कमलबहादुर सार्कीको भडाँरेस्थित नीजि वनमा रहेको रूखबाट गोलिया काठ काट्ने क्रममा मौवाको सुकेको रूख ढलेर किच्दा सोमबार मिलनको घटनास्थलमै मृत्यु भएको हो । रूख ढल्ने क्रममा गोलिया काठ सङ्कलन गरिरहेका बेला नजिकै रहेको मौवाको सुकेको रूखले किच्दा मिलनको मृत्यु भएको रावाबेँसी–२ का वडाध्यक्ष डोलराज बस्नेतले जानकारी दिनुभयो । “मृतक दमाई हप्ता दिनअघि यहाँ काम गर्न आएका हुन् । ज्यालादारी कामका लागि आएका निजको रूखले किचेर मृत्यु भएको जानकारी प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “मृत्युको खबर पाएपछि प्रहरीलाई जानकारी गरायौँ । जिल्लाबाट प्रहरी टोली आएर मुचुल्का उठाएपछि शव परीक्षणका लागि जिल्ला पठाइएको छ ।” रूखले किचेर दमाईंको मृत्यु भएको खबर स्थानीयले दिएपछि सोही आधारमा घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मोहन पोखरेलको नेतृत्वमा खटिएको टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । खार्पास्थित भडाँरेमा एक हप्ता दिनअघिदेखि गोलिया काठ निकासीका लागि निजी वनका रूख काट्ने काम भइरहेको स्थानीयले बताएका छन् । दश स्थानीय तह रहेको जिल्लाबाट स्थानीयको निजी वनका रूख काटेर ठेकेदारले तराईका विभिन्न जिल्लामा गोलिया काठ निकासी गरिरहेका छन् ।