नेपालगञ्ज: बाँकेमा मानवअधिकार सूचना तथा स्रोत केन्द्र स्थापना गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ७६औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले निर्माण गरेको स्रोत केन्द्र भवनको बाँकेको जानकी गाउँपालिका–३ मा आज शुभारम्भ गर्नुभयो । सो अवसरमा मुख्यमन्त्री आचार्यले मानवअधिकारको रक्षा र प्रवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले समाजमा रहेका हरेक व्यक्तिलाई समान अवसर र सम्मानपूर्वक जीवनयापनको वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । न्यायपूर्ण र समतामूलक समाज निर्माणका लागि साझा ऐक्यबद्धता आवश्यक रहेको र त्यसका लागि प्रदेश सरकारले समन्वयको भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ । “मानवअधिकार समाजको प्रगितसँग जोडिएको छ, हामिले न्यायपूर्ण र समतामूलक समाजको परिकल्पना गरेका छौँ, त्यसका लागि मानवअधिकार सुनिश्चित हुन जरुरी छ”, उहाँले भन्नुभयो, “मानवअधिकारको प्रत्याभूतिका लागि प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नेमा प्रतिबद्धता जनाउन चाहन्छु ।” लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा द्वन्द्वको चपेटामा परेको र त्यसबाट उत्पन्न समस्याले अहिले पनि मानवअधिकार प्रत्याभूति हुन नसकिरहेको सन्दर्भ केलाउँदै मुख्यमन्त्री आचार्यले द्वन्द्व प्रभावितहरुको न्यायका लागि प्रदेश सरकारले भूमिका बढाउने बताउनुभयो । “लुम्बिनी प्रदेश द्वन्द्वको चपेटामा प¥यो, अहिले पनि पीडितहरुले भोगेका समस्या सम्वोधन गर्नेगरी काम अघि बढेका छन्, त्यो भूमिका निर्वाह गर्न प्रदेश सरकार तयार छ”, उहाँले भन्नुभयो, “मानवअधिकार रक्षाका निम्ति कुनै कसर बाँकी राख्ने छैन, प्रदेश सरकारले खेल्नुपर्ने भूमिका निभाउँछौँ ।” मानवअधिकार रक्षाका निम्ति इन्सेकले हरेक क्षेत्रबाट प्रभावकारी भूमिका खेलेको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले अझैं मानव अधिकारको क्षेत्रमा थुप्रै काम गर्न आवश्यक रहेको बताउनुभयो । “इन्सेकले द्वन्द्वको बेलामा खेलेको भूमिका कसैले भूल्न सक्दैन”, उहाँले भन्नुभयो, “अहिले पनि राज्यलाई मानवअधिकारको क्षेत्रबाट खबरदारी गरिरहनुभएको छ, राज्यले मानवअधिकार क्षेत्रबाट उठाएका कुराहरु सुन्नुपर्छ ।” इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालको अध्यक्षतामा भएको सो कार्यक्रममा इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेल, इन्सेकका पूर्वअध्यक्ष सुवोध प्याकुरेल, इन्सेका लुम्बिनी प्रदेश संयोजक भोला महत, राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख द्वारिका अधिकारी लगायतले द्वन्द्व व्यवस्थापनका विषयमा बोल्नुभएको थियो । इन्सेकको आफ्नो स्वामित्वमा रहेको २७ धुर जग्गामा रु ४७ लाख २९ हजारको लागतमा सो स्रोत केन्द्र स्थापन भएको हो । स्रोत केन्द्रलाई द्वन्द्वपीडितलाई कानुनी तथा मनोपरामर्शका साथै सूचना आदानप्रदान गर्ने थलोका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ ।
धादिङ: यहाँको नीलकण्ठ नगरपालिका–६ स्थित भैरवी मन्दिर पर्यटनको गन्तव्य बनेको छ । पहाडको चुचुरोमा रहेको यस मन्दिरबाट गणेश, मनास्लु, मानापाथीलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ मन्दिरको दर्शन गर्न, बिदा मनाउन, रमणीय दृश्यावलोकन गर्न आउनेहरुको भीड लाग्न थालेको छ । “राम शाहले विसं १६६६ मा स्थापना गरेको आठ शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो । उहाँले स्थापना गर्नुभएको कुरा लालमोहरमा लेखिएको छ ”, भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव कृष्णबहादुर श्रेष्ठले भन्नुभयो, “पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्न नसकेपछि भैरवी मन्दिरमा बासबसी भाकल गर्नुभएको र त्यसपछि विजय भएको किम्वदन्ती छ ।” पूजारी र बाजा बजाउनेलाई शाहले गुठीको नाममा ९० रोपनी ११ आना २ पैसा जग्गा व्यवस्थापन गरिदिएका थिए । जिल्ला प्रशासन कार्यालयले हाल पूजा सञ्चालनका लागि हरेक वर्ष ६ हजार ७ सय ३२ रुपैयाँ ५० पैसा उपलब्ध गराउने गरेको छ । यस मन्दिरमा पूजासहित वडादसैँ र चैते दसैँमा विशेष मेला लाग्छ । मन्दिरमा विशेष पूजा, भाकल तथा बलि चढाउने परम्परा छ । वडादसैँको नवमीका दिन यहाँ सुङ्गुर बलि गरिन्छ । मन्दिर पुग्न सदरमुकामबाट १८ किलोमिटर पार गर्नुपर्छ । भैरवी मन्दिरलाई नीलकण्ठ नगरपालिकाले विशेष प्राथमिकताका साथ संरक्षण तथा प्रवर्द्धन गर्दै आएको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले बताउनुभयो । “भूकम्पले जीर्ण मन्दिर पुनःनिर्माण गरिएपछि मन्दिर घुम्न तथा दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । यहाँबाट चारैतिर हिमशृङ्खला देखिने भएकाले पर्यटक आकर्षित भएका हुन्”, उहाँले भन्नुभयो । यहाँ भारतदेखि पर्यटक मन्दिर दर्शन तथा अवलोकनका लागि आउने गरेको मन्दिरका पूजारी भगवान राना मगरले जानकारी दिनुभयो । जिल्लाका विभिन्न सङ्घ संस्थाले भैरवी मन्दिर सम्म पदयात्रा गर्न थालेपछि मन्दिरको थप प्रचारप्रसार भएको छ । नीलकण्ठ नगरपालिका– ३ का वडाध्यक्ष राजकुमार श्रेष्ठले पदयात्रा र मन्दिरको प्रचारप्रसारले यस ठाउँको प्रचारमा सहयोग पुगेको बताउनुभयो ।
ललितपुर: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको बताउनुभएको छ । छयत्तरौँ मानवअधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मानवअधिकार आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो । “राज्य र राजनीतिक शक्तिहरु मानवाधिकार रक्षा गर्न प्रतिबद्ध छन् । सर्वोच्च अदालतका फैसला कार्यान्वयन र सङ्क्रमणकालीन न्यायलाई पीडितमैत्री बनाउनेमा सरकारले ध्यान दिएको छ । आयोगलाई स्वायत्त र सशक्त बनाउन सरकार तत्पर छ,” उपप्रधानमन्त्री पौडेलले भन्नुभयो । उहाँले मानवअधिकारको रक्षा र आयोगको कार्य सञ्चालनका लागि भौतिक एवं आर्थिक स्रोत सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारमैत्री हुन नसकेका कानुन संशोधन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले वैदेशिक रोजगारीमा गएकाहरुको मानवअधिकार रक्षा संवेदनशील विषय भएकाले त्यसतर्फ सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । यहाँस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक ९युएनडिपी०का आवासीय प्रतिनिधि हाना सिङ्गर–हम्डेले कोप २९ मा नेपालले निर्वाह गरेको भूमिका तथा सङ्क्रमणकालीन न्यायका निम्ति गरेका कामको सराहना गर्नुभयो । गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले मौलिक हकमैत्री कानून बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । मानवअधिकार महाभेला २०२४ का संयोजक भोला भट्टराईले महिला, श्रमिक, किसान, अल्पसङ्ख्यकहरुको मानवअधिकारको रक्षामा जोड दिनुभयो । मानव अधिकार आयोगका सदस्य लिली थापाले अन्तर्राष्ट्रियस्तरमा नेपालको मानव अधिकारको अवस्था सन्तोषजनक रहको बताउनुभयो । त्यस अवसरमा मानवअधिकार रक्षककको सशक्त भूमिका निर्वाह गर्नुभएका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘दयाराम स्मृति पुरस्कार’ प्रदान गरिएको थियो भने वातावरणअधिकार रक्षामा योगदान गर्नुभएका धनुषाका लक्ष्मी महतोलाई पनि पुरस्कृत गरिएको थियो । दुवै पुरस्कारको राशि रु ५० हजार छ ।
महोत्तरी: लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेसमा जाडो बढेको छ । मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । धमाधम खेतीपाती लगाउने बेला मौसम चिसिँदै गएपछि काम अघि नसर्दा किसान विलखबन्दमा परेका छन् । “गहुँ छर्ने अन्तिम तयारी गर्नुछ, अब उखु कटानको काम धमाधम पर्छ, हिउँदेबाली लगाउन भ्याइनभ्याइ पर्ने बेला घरबाट निस्कन सकिएको छैन”, बर्दिबास–१३ का ठकाइ महतो भन्नुहुन्छ, “पुस नलाग्दै बढेको ठिहीले काम सबै असरल्ल छन् ।” चिसोले हातगोडा कठ्याङ्ग्रिएर कुनै काममा हात नलाग्दा समयमा खेतीपातीका काम नसकिने चिन्ताले किसानलाई पिरोलेको छ ।महोत्तरीसहितका मधेसमा हुस्सु र चिसोको कहर छ । पुस पहिलो सातापछि बढ्ने हुस्सु केही वर्षयता मध्य मङ्सिरदेखि नै डम्म लाग्ने गरेको जलेश्वर–५ का ७५ वर्षीय किसान रहिमन मण्डल बताउनुहुन्छ । मङ्सिरभित्रै बढेको ठिहिर्याउने चिसोले घरपालुवा पशुवस्तुको बिजोग छ । पशुवस्तुको आहाराको जोहो र चरनमा लान नपाइँदा बिजोग भएको हो । भङ्गाहा–४ रामनगरकी हीरादेवी दाहाल अचाक्ली बढेको चिसोले पशुवस्तु जिङ्र्याउने र बिरामी हुने क्रम बढेको बताउनुभयो । जाडोले बालबालिका, वृद्धवृद्धा, गर्भवती र सुत्केरी बढी प्रभावित बनेका छन् । खासगरी श्वासप्रश्वासका बिरामीलाई यो मौसमले बढी च्याप्ने हुँदा स्याहारमा ध्यान दिनुपर्ने बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदीप ठाकुर बताउनुहुन्छ ।
चितवन: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकाङ्क्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो ध्यान सरकारतिर छैन । हाम्रो ध्यान जनतातिर छ । जनतालाई परिचालन गर्नेतर्फ नै छ । सरकारका कामको खबरदारी गरिररहन्छौँ ।” फरक प्रसङ्गमा उहाँले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) नेपालको हितमा रहेको बताउनुभयो । चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रुपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वाभाविक भएको उहाँले बताउनुभयो । इन्डो प्यासेफिक स्ट्राटिजी (आइपिएस) र बिआरआईका सन्दर्भमा अध्यक्ष दाहालले यस्तो टिप्पणी गर्नुभएको हो ।
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको पहिलो खेलमा लुम्बिनी लायन्स चितवन राइनोजलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कप्तान रोहितकुमार पौडेलको ‘अलराउण्ड’ प्रदर्शनमा लुम्बिनी लायन्स चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै विजयी भएको हो । प्रतियोगितामा लुम्बिनीको यो पहिलो जित हो । लुम्बिनीले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३४ रन मात्र जोड्न सक्यो । चितवनका लागि ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाए । त्यस्तै, कप्तान कुशल मल्लले १७ बलमा एक चौका र एक छक्काको सहयोगमा २० रन जोडे । त्यस्तै, रवि बोपाराले १६ बलमा १२ रन बनाए । लुम्बिनीका लागि कप्तान पौडेलले चार विकेट लिए भने रामोन सिमोण्डसले दुई तथा साद विन जाफर र अभिषेस गौतमले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६७ रनको योगफल बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन जोडेका थिए । उनले ६८ बलमा छ चौका र पाँच छक्का प्रहार गरेका थिए । यसैगरी, साद बिन जफरले ३५ बलमा चार चौका र एक छक्काको मद्दतले अविजित ५२ रन बनाए । त्यस्तै, अर्जुन साउदले १५ र टोम मुर्सले १० रन बनाए । चितवनका लागि रिजन ढकालले तीन तथा कप्तान कुशल मल्ल र रञ्जित कुमारले समान एक विकेट लिए । पहिलो अङ्क पाएको लुम्बिनी पाँचौँ स्थानमा उक्लिएको छ । यसअघि लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । चितवनले भने पाँच खेलमा तीन जित र दुई हारसहित तेस्रो स्थानमा छ । चितवनले जितका साथ शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । सुरुआती दुई खेल जितेको चितवन तेस्रो खेलमा भने पराजित भएको थियो । काठमाडौँ र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग हारेको थियो । पछिल्लो खेलमा भने चितवनले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो । शत्प्रतिशत जितका साथ जनकपुर बोल्ट्स शीर्ष स्थानमा छ । आज नै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्ससँग खेल्दैछ ।
काठमाडौं: सङ्घीय संसद् को १८औँं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ । भृकुटीमण्डपस्थित फुटसल मैदानमा भएको खेलमा प्रतिनिधिसभाले शून्यकाविरुद्ध १३ गोलले राष्ट्रिय सभालाई पराजित गरेको हो । प्रतियोगितामा सबैभन्दा धेरै प्रतिनिधिसभा सदस्य मोहन आचार्यले पाँच गोल गर्नुभयो । त्यसैगरी तारा लामाले ३, माधव सापकोटा र सुहाङ नेम्वाङले समान २ र मनिष झाले १ गोल गर्नुभयो ।प्रतियोगिताको पहिलो हाफमा प्रतिनिधिसभाले ९ गोलको अन्तर कायम गरेको थियो । दोस्रो हाफमा थप ४ गोल गरेपछि प्रतिनिधिसभाको टोली १३ गोल अन्तरले विजयी भयो ।प्रतिनिधिसभा टिमको नेतृत्व सभामुख देवराज घिमिरे र राष्ट्रियसभा टिमको नेतृत्व अध्यक्ष नारायणप्रसाद दाहालले गर्नुभएको थियो । प्रतिनिधिसभाको टिममा उपसभामुख इन्दिरा राना तथा सांसदहरु मोहन आचार्य, माधव सापकोटा, मनिष झा, निशा डाँगी, बिना लामा, तारा लामा तामाङ, सुहाङ नेम्वाङलगायत हुनुहुन्थ्यो । राष्ट्रियसभा टिममा उपाध्यक्ष विमला घिमिरे, सांसदहरु धनश्याम रिजाल, विष्णुकुमारी सापकोटा, पदमबहादुर परियार, भगवती न्यौपाने, तुलसाकुमारी दाहाल, गोपीबहादुर सार्की अछामी, नरबहादुर विष्टलगायत सांसदहरु हुनुहुन्थ्यो । यसैबीच, आजै संसद् सेवाका कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मी ९मर्यादापालक० को बेग्लाबेग्लै टिमबीच पनि मैत्रीपूर्ण फुटसल भइरहेको छ । संसद् सेवा दिवस मङ्सिर २८ गते विभिन्न कार्यक्रम गरी मनाईँदैछ ।
जुम्ला: यहाँका स्थानीयवासीले रातो हाब्रे (रेडपाण्डा) संरक्षण अभियान चलाएका छन् । तातोपानी गाउँपालिका–८ स्थित नदै सामुदायिक वन क्षेत्रमा १५ देखि २० वटासम्म रेडपाण्डा रहेको आँकलन छ । उक्त सामुदायिक वनक्षेत्र चार सय ९१ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । मछाली, बुढाबाडा र इमिल्चाका ५५ घरपरिवार हाल रेडपाण्डा संरक्षणमा जुटेको उक्त वन समितिका पूर्वउपाध्यक्ष वीरबहादुर रोकायाले जानकारी दिनुभयो । रेडपाण्डाको अध्ययन गर्न विदेशी तथा स्वदेशी आउन थालेपछि रेडपाण्डाको बासस्थान बचाउन स्थानीयवासी जुटेका हुन् । उक्त क्षेत्रमा डढेलो लाग्न नदिने, नियमित वृक्षरोपण गर्ने, वनफडानी रोक्ने र रेडपाण्डाको बासस्थान जोगाउने काम स्थानीयले गरेका छन् । रेडपाण्डाको बासस्थानका लागि निगालो, धुपी, घोडापाङ्गर, चुक, काठेओखर, खस्रु, सल्लो, झुलो, भोजपत्र र ठिङ्गोका बिरुवा रोपिएको छ । जङ्गलभित्र पोखरी निर्माण गरिएको छ । रोकायाले भन्नुभयो, “दुर्लभ रेडपाण्डाको बासस्थान गाउँ नजिकै भेटिँदा उत्साहित भएका छौँ । यसको संरक्षण जरुरी छ । के गर्दा रेडपाण्डाको बासस्थान जोगाउन सकिन्छ भन्ने विषयमा खोजी गर्न थालेका छौँ ।” सर्वसाधारणलाई सचेत गराउने, जङ्गल फडानी गर्नेलाई समुदायस्तरमा स्पष्टीकरण सोध्ने, अटेरी गरे क्षति हेरी जरिवाना तोक्ने गरिएको स्थानीय ६५ वर्षीय मुनबहादुर बुढाले बताउनुभयो । समुदायको रेडपाण्डाप्रतिको मोह देखेर रेडपाण्डा नेटवर्क काठमाडौँ र हातेमालो नेपाल जुम्ला शाखाले ती क्षेत्रमा समुदायमा आधारित हाब्रे संरक्षण परियोजना कार्यान्वयनमा ल्याएको हातेमालो नेपालका कार्यकारी निर्देशक टेकबहादुर रावतले जानकारी दिनुभयो । जिल्लाको सिञ्जा, तातोपानी, पातारासी गाउँपालिकाका ५ वटा सामुदायिक वनमा रातो हाब्रेको बासस्थान रहेको छ । पातारासीको महारुद्र आधारभूत विद्यालय र सिञ्जाको चुलेलगाउँ माविमा कक्षा–६ मा वातावरण संरक्षणसम्बन्धी पाठ्यक्रम तयार गरेर अध्ययन–अध्यापन भइरहेको छ । पातारासीको महारुद्र सामुदायिक वन पटमारामा १४ र सियालामुल सामुदायिक वनमा दुईवटा क्यामेरा राखिएको छ । प्रत्येक ४५ दिनमा तीनपटक क्यामेरा हेर्ने गरिएको छ । ४ वटा सामुदायिक वनमा १७ हजार बढी वृक्षरोपण गरिएको छ ।
महोत्तरी: लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेशका जिल्लामा जाडो निकै बढेको छ । मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । “गहुँ छर्ने अन्तिम तयारी गर्नुछ, अब उखु कटानको धमाधम पर्छ, हिउँदेबाली लगाउन भ्याइनभ्याइ पर्ने बेला घरबाट निस्कन सकिएको छैन”, बर्दिबास–१३ का किसान ठकाइ महतो भन्नुहुन्छ, “पुस नलाग्दै बढेको चिसोले काम सबै अलपत्र छ ।” चिसोले कठ्याङ्ग्रिएर कुनै काममा हात नलाग्दा समयमा खेतीपातीका काम नसकिने चिन्ताले किसानलाई पिरोलेको छ । महोत्तरीसहितका मधेशका जिल्लामा पूर्व–पश्चिम राजमार्गभन्दा तलतिर हुस्सु र चिसोको कहर बढी छ । पुस पहिलो सातापछि बढ्ने हुस्सु केही वर्षयता मध्य मङ्सिरदेखि नै डम्म लाग्ने गरेको जलेश्वर–५ किसान रहिमन मण्डल बताउनुहुन्छ । मधेश गर्मी अलि बढी हुने ठाउँ भए पनि जाडो यतिसारो पहिले नभोगिएको मण्डलको अनुभव छ । उत्तरी क्षेत्रमा बिहान १० बजेतिर हुस्सु फाट्दै गएर घाम देखिए पनि दक्षिणतर्फ मध्य र सुदूरदक्षिणी भेगमा अपरान्हसम्म दिन हो कि रात छुट्याउन नसकिने सर्वसाधारण बताउँछन् । अपरान्हपछि हुस्सु हट्दै गए पनि कतिपय दिन घामै नदेखिएर साँझ पर्ने गरेको जलेश्वर–२ की शिला यादव बताउनुहुन्छ । मङ्सिरभित्रै बढेको चिसोले घरपालुवा पशुवस्तुको विजोग बन्दैछ । पशुवस्तुको आहाराको जोहो र चरनमा लैजान नपाइँदा समस्या भएको भङ्गाहा–४ रामनगरकी भैसीपालक किसान हिरादेवी दाहालको भनाइ छ । धेरै बढेको चिसोले पशुवस्तु जिङ्राउने र बिरामी हुने क्रम बढेको दाहालले बताउनुभयो ।यसैगरी बढ्दो जाडोले व्यापार पनि चौपट भएको व्यापारी बताउँछन् । अहिले मङ्सिर नसकिँदै चिसोले घर बाहिर निस्कन नदिएपछि पुस, माघ कस्तो होला भन्ने सम्झनाले नै अत्यास लाग्ने गरेको सर्वसाधारणको भनाइ छ । अहिलेको जाडोको कहरले ससाना नानी, पाका उमेरका वृद्धवृद्धा , गर्भवती र सुत्केरी महिलालाई स्वास्थ्य जोखिम बढ्दो छ ।खासगरी श्वासप्रश्वासका बिरामीलाई यो मौसमले बढी च्याप्ने हुँदा स्याहारमा ध्यान दिनपर्ने बर्दिबास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सुदिप ठाकुर बताउनुहुन्छ । यो चिसिँदो मौसमले गरिब बस्ती कष्टकर अवस्थामा पुगेका छन् । चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुडा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउने कार्यमा पहलकदमी लिन स्थानीय तहसँग सामाजिक सङ्घ संस्थाले आग्रह गरेका छन् । यसैगरी जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णले जिल्लाका १५ वटै स्थानीय तह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति यसपाली हुन नदिन पूर्व सतर्कता र आवश्यक तयारीका लागि आग्रह गर्नुभएको छ । तराईमा हुस्सु र सितलहरसँगै चिसो बढ्यो पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै आज बिहानैदेखि चिसो बढेको छ । दिउँसोको समयमा विगत एक सातादेखि मधुरो घाम लाग्दै आएको छ भने अहिले बिहानैदेखि हुस्सु लागेको हो । पूर्वी तराईमा घाम लाग्न छाडेपछि शीतलहर सुरु हुने गर्दछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम घट्दै जाने भएकाले चिसो थप बढ्ने छ । महाशाखाका अनुसार देशका मध्य, मध्यपश्चिम र पूर्वी तराई–मधेशका जिल्लामा हुस्सु तथा कुहिरो लाग्न थालेको छ ।चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाह्य, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । चिसोले बिहान स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । बिहानै खुल्ने पसल र बजार पनि चिसो बढेकाले ढिलो गरी खुलिरहेका सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो । उहाँले साँझपख पनि चिसो झनै बढ्न थालेपछि बजार चाँडैै सुनसान हुन थालेको उल्लेख गर्नुभयो । यहाँ न्यानो कपडाका पसल तथा सकडपेटीका पसलमा ग्राहकको भीड बढेको छ । सडकपेटीमा लुगा पाउने गरेकाले ग्राहकको भीड लाग्न थालेका छन् । कठङ्याङ्गिदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक सुन्दरहरैँचाका अशोक रिजाल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सवारी साधन कम गतिमा बत्ती बालेर गुड्नुपरेको छ, हुस्सुले दुर्घटनाको जोखिम हुन्छ, त्यसैले सावधानीपूर्वक सवारी चलाउने गर्छौँ ।” चिसोकै कारण बिरामीसमेत बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । जिल्ला अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले गर्दा बढेका छन् । बाक्लो हुस्सु लागेपछि जिल्ला सदरमुकाम विराटनगर आउने हवाई उडान खराब मौसमका कारण सेवा प्रभावित हुन थालेको छ ।