काठमाडौं:   चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुनेको संख्या १८ पुगेको छ ।  जिल्लाको टिमुरेमा बाढीमा १८ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी हेम बहादुर शाहीले जानकारी...

नवलपरासी:     यतिबेला नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का अधिकांश फाँट तोरी फुलेर पहेँलपुर भएका छन् । अधिकांश स्थानमा बारी, खाली जमिनदेखि ठूला फाँटमा लगाइएको तोरी फुलेर पहेँलै देखिन्छन् ।  जिल्लामा तोरी लगाउने क्षेत्रफलसँगै उत्पादन बढेका कारण नवलपुरले तोरीमा आफ्नो ‘साख’ पुनः फर्काउँदै गएको छ । गैँडाकोट–४ का रामप्रसाद खनियाले यसपालि गैँडाकोटका प्लटिङदेखि ठूला फाँटमा समेत तोरीखेती गरिएको बताउनुभयो ।  “अहिले सबैतिर तोरी फूलेको दृश्य देख्न सकिन्छ । विगतमा गहुँ लगाउने खेतमा समेत यसवर्ष तोरी देखिन्छ”, उहाँले भन्नुभयो ।  खनियाले आफूले पनि यसवर्ष करिब २० कठ्ठा क्षेत्रफलमा तोरीखेती गरेको बताउनुभयो ।  कावासोती–१७ का नन्दराम गुरौँले तोरीको माग र तेलको मूल्य बढ्न थालेपछि यसतर्फ आकर्षण बढेको बताउनुभयो । “तोरी लगायो भने घरबाटै बिक्री हुन्छ, आम्दानी पनि राम्रो छ”, उहाँले भन्नुभयो, “अरु बाली लगाउँदा सिँचाइ, मल तथा विषादी धेरै हाल्नुपर्छ तर तोरीमा थोरै मेहनत गर्दासमेत राम्रो उत्पादन हुन्छ ।” उहाँले एक बिघामा तोरी लगाउनुभएको छ ।   कृषि ज्ञान केन्द्र नवलपुरकाअनुसार पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा जिल्लामा तोरीखेती गरिने क्षेत्रफलमा उतारचढाव आएको भए पनि उत्पादकत्व भने लगातार बढेको देखिन्छ ।  कार्यालयका कृषिप्रसार अधिकृत एवम् सूचना अधिकारी विश्वास काफ्लेले जिल्लामा आर्थिक वर्ष २०७९/८० मा एक हजार एक सय ८५ हेक्टर र आव २०८०/८१ मा १ हजार १ सय ७८ हेक्टर क्षेत्रफलमा तोरीखेती भएको बताउनुभयो ।  यस्तै, चालु आव २०८१/८२ मा १ हजार १ सय ८७ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको केन्द्रले जनाएको छ ।   आव २०७९/८० मा जिल्लामा एक हजार दुई सय ८५ मेट्रिक टन तोरीको उत्पादन हुँदा उत्पादकत्व प्रतिहेक्टर एक दशमलव ०८ मेट्रिक टन रहेको सूचना अधिकारी काफ्लेले जानकारी दिनुभयो ।  आव २०८०र८१ मा एक हजार दुई सय ८३ मेट्रिक टन तोरी र  उत्पादकत्व प्रतिहेक्टर एक दशमलव ०९ मेट्रिक टन पुगेको छ ।  अघिल्ला वर्षमा भन्दा यसवर्ष तोरीको क्षेत्रफलसमेत वृद्धि भएकाले उत्पादकत्वसमेत बढ्ने अनुमान गरिएको काफ्लेको भनाइ छ ।  उहाँले भन्नुभयो, “किसान बालीप्रति सचेत हुँदै समयमै बीउ छर्ने, मल हाल्ने तथा सिँचाइ गर्ने गरेका कारण निरन्तर उत्पादकत्व बढ्दै गएको छ ।”  जिल्लाको बुलिङटार गाउँपालिका र बौदीकाली गाउँपालिकाबाहेक छवटै पालिकामा तोरी उत्पादन हुँदै आएको सूचना अधिकारी काफ्लेले बताउनुभयो । सबैभन्दा बढी कावासोती र गैँडाकोटमा तोरीको उत्पादन भने उहाँले बताउनुभयो । 

कर्णाली:     गृहमन्त्री रमेश लेखकले सरकारको मुख्य उद्देश्य दिगो शान्ति, सुशासन कायम गर्नु र आर्थिक समृद्धि रहेको बताउनुभएको छ ।   गृह मन्त्रालयद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आज आयोजित ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’लाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले भ्रष्टाचार तथा अपराध नियन्त्रण र विधिको शासन कायम गर्न लाग्नुपर्ने र ती कुरामा कुनैपनि सम्झौता नहुने जिकिर गर्नुभयो ।  उहाँले भन्नुभयो, “लोकतन्त्रमा अनुशासन र वितरण महत्वपूर्ण हुन्छ । अवसर, सम्भावना र अर्थ वितरण गर्दा जनतालाई सेवा प्रवाहमा सहजता दिन सक्नुपर्दछ ।” औपचारिकता बढी भएर उपलब्धि कम भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले हरेक गतिविधि छोटो तथा परिणाममुखी बनाउन जोड दिनुभयो । उहाँले भन्नुभयो, “शान्ति, सुरक्षा र अपराध नियन्त्रणको समीक्षा गर्न जरुरी छ । हामी समस्याको समाधान गरी निष्कर्ष निकाल्ने पक्षमा छौँ ।”   सङ्घीय सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सङ्घीय कानुन बनाउन थालेको तथा त्यसपश्चात् प्रहरी समायोजनको काम अगाडि बढ्ने गृहमन्त्री लेखकको भनाइ थियो ।  अहिले पनि कर्णाली प्रदेशका सुरक्षा निकायका संरचना प्रदेश बाहिर भएको उल्लेख गर्दै उहाँले स्थानीय तथा प्रदेश सरकारलाई जग्गाको व्यवस्था गर्न अनुरोध गर्नुभयो ।  उहाँले भन्नुभयो, “कर्णाली सबैभन्दा ठूलो, सुन्दर, ज्यादा सम्भावना र अवसर बोकेको प्रदेश हो । कर्णाली प्रदेशको शान्ति सुरक्षालाई थप सुदृढ, सक्रिय, स्पष्ट र प्रभावकारी बनाउने कुरामा आवश्यक काम गर्छौँ ।”  २ ठूला शक्ति १ ठाउँमा उभिनु मुलुकको आवश्यकता भएको जिकिर गर्दै गृहमन्त्रीले लेखकले संविधानको भावना अनुसार सङ्घीयता कार्यान्वयन गर्न आवश्यक भएको बताउनुभयो । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानको भावना अनुसार सहअस्तित्व, सहकार्य र समन्वय कम भएको र यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।  ३ तहको सरकारको यात्रा सामूहिक म्याराथन दौड भएको उल्लेख गर्दै उहाँले संविधानले व्यवस्था गरेबमोजिमका अधिकारलाई सुनिश्चित गर्न सकेमात्र मुलुकले अपेक्षित लक्ष्य पूरा गर्ने बताउनुभयो । प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह सचिव गोकर्णप्रसाद दुवाडी, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव, सुरक्षा निकायका प्रमुखलगायतको  सहभागिता रहेको छ । 

झापा:    सङ्घीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।  सन् २०३० सम्म सबैलाई स्वच्छ खानेपानीको पहुँच विस्तार गर्ने लक्ष्य सरकारले लिएको उल्लेख गर्दै उहाँले ‘१ घर, १ धारा’ नारा अनुसार सबैको घरमा खानेपानी पु¥याउन सरकारले सबै तहको समन्वय र सहकार्यमा काम गरिरहेको बताउनुभयो । दमक–३ को उत्तरी क्षेत्रका बासिन्दालाई लक्षित गरी निर्माण गरिएको बेलडाँगी खानेपानी आयोजना उद्घाटन समारोहमा मन्त्री यादवले देशको सामाजिक, आर्थिक विकासमा खानेपानीको महत्व हुने हुँदा स्वच्छ तथा सुलभ ढङ्गले खानेपानी सेवा उपलब्ध गराउन सरकार लागिपरेको स्पष्ट पार्नुभयो ।  जलस्रोतमा नेपाल धनी भए पनि त्यसको प्रचुर उपलब्धतालाई उपयोगमा ल्याउन नसकिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अब नागरिकले खानेपानी चाहियो भन्दै आन्दोलन गर्नु पर्दैन, सरकार खानेपानीको दिगो विकास लक्ष्य पूरा गर्न प्रतिबद्ध छ ।”  खानेपानी आयोजनामा उपभोक्तासहित सङ्घीय सरकारको करिब रु ५० करोड लगानी रहेको छ । यसमा उपभोक्ताको १० प्रतिशत र सरकारको ९० प्रतिशत लगानी छ ।  नवनिर्मित खानेपानी आयोजनाबाट दमक–२, ३ र ४ वडाका ६ हजार ५ सय २१ घरधुरी गरी २६ हजार सात सय जनाले खानेपानीको सुविधा पाउने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका निमित्त आयोजना प्रमुख सुरतलाल चौधरीले जानकारी दिनुभयो ।  सो आयोजना आर्थिक वर्ष २०७६÷७७ मा निर्माण थालिएको हो । योसँगै दमकमा तीनवटा खानेपानी आयोजना सञ्चालनमा आउने उहाँको भनाइ थियो ।  यस खानेपानी आयोजनाले दमकको उत्तरी क्षेत्रका बासिन्दाको वर्षौंदेखि स्वच्छ खानेपानीको समस्या समाधान भएको बेलडाँगी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गेहनाथ पोख्रेलले बताउनुभयो ।

पोखरा:    नेपाली कांग्रेस कास्कीले कास्कीमा पार्टीको एक सय दिने विशेष अभियानका लागि प्रतिनिधि खटाएको छ । कास्की कांग्रेसले कास्कीका ७२ वटा इकाइमा संयोजक सहित प्रतिनिधि खटाएको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।  सहसचिव एवं प्रवक्ता सिग्देलका अनुसार, अभियानका क्रममा गर्नुपर्ने कामका बारेमा सोमबार कार्यक्रम गरी अभिमुखीकरण गरिएको छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अभियानका कास्की प्रतिनिधि गोविन्द भट्टराईले पार्टी विचार र सिद्वान्तले चल्ने बताए । कांग्रेसले मात्र देश र जनताको हितमा काम गर्ने उनको भनाइ छ । कास्की काँग्रेसले जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्र, प्रदेश, महानगर पालिका र गाउँ पालिका सभापतिहरुको संयुक्त बैठक बसेर सुझाव संकलन गरी प्रतिनिधि खटाएको हो । वडामा पुगेका प्रतिनिधिहरुले विभिन्न १० वटा बुँदामा छलफल गरी पार्टीलाई प्रतिवेदन बुझाउनुपर्ने कास्की कांग्रेस सभापति किशोरदत्त बरालले बताए । ‘अभियान प्रभावकारी रुपमा संचालन हुन्छ, सभापति बरालले भने, अभियानले पार्टी शशक्त बनाउन ठूलो सहयोग गर्ने छ ।’ 

तनहुँ:     नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले सुशासनका पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ ।  प्रेस सेन्टर नेपाल तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आर्थिक समृद्धि हासिल गर्न सुशासन महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।  आर्थिक समृद्धिको लक्ष्य लिँदै सुशासन र जनताको पक्षमा काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उपमहासचिव पुनको भनाइ थियो । उहाँले सरकारले यसका लागि गर्ने हरेक कार्यमा आफ्नो पार्टीको साथ रहने बताउनुभयो ।  “सरकारले राम्रो काम गरोस् भन्ने हाम्रो चाहना हो । सरकारले जनताका पक्षमा र सुशासनका पक्षमा काम गर्नुपर्छ । यस्तो कार्यमा हाम्रो साथ र समर्थन रहनेछ । माओवादी पार्टी अहिले सरकार फेरबदलमा लाग्दैन”, उपमहासचिव पुनले भन्नुभयो ।  उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएका तर वर्तमान शासन व्यवस्थाका बारेमा कुरा उठ्न थालेकाले यसको सुधार आवश्यक रहेकामा उहाँको जोड थियो ।  उपमहासचिव पुनले भन्नुभयो, “व्यवस्था त बदलियो तर अवस्था बदलिएन, हामी २०८४ को चुनावमा यही ‘एजेन्डा’ लिएर जनतामाझ जानेछौ । जनताले खोजेको पनि यही हो । अहिले हामी सङ्गठन सुधारको अभियानमा लागिरहेका छौँ।”

झापा:   प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको छ ।   २ दिवसीय भ्रमणका क्रममा आइतबार गृहजिल्ला आउनुभएका प्रधानमन्त्री ओलीले आज यहाँ खानेपानी आयोजनाको उद्घाटन गर्दै सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।   जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै सम्पूर्ण देशवासीलाई गुणस्तरीय पानीको व्यवस्था गर्न आफ्नो नेतृत्वको सरकार क्रियाशील रहेको उहाँले बताउनुभयो ।   नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले मुलुकका प्रमुख दुई ठूला दल मिलेर सरकार बनेपछि राजनीतिक स्थिरता र विकास निर्माण सुनिश्चित भएको प्रसङ्ग उल्लेख गर्दै विकास निर्माणका क्रममा लामो समयदेखि झेल्नुपरेका अवरोध र बाधाव्यवधान अन्त्य गरी अधुरा योजना तथा कार्यक्रम सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढेको स्पष्ट गर्नुभयो ।      उहाँले देशव्यापी रूपमा बिजुली, कृषि, सञ्चार, उद्योग, सरसफाइलगायतका अभियान सञ्चालन गरी मुलुक र जनताका पक्षमा सकारात्मक परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  “देश बनाउन हामी सबै एकताबद्ध हुनुपर्छ । हामीले बाँदरले जस्तो आफ्नो घर नबनाउने र अरूको घर भत्काउने गरेमा देश बन्दैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी विभिन्न पार्टीसँग आबद्ध हुन सक्छौँ तर विकास निर्माणका काममा एक हुनुपर्छ । यस क्षेत्रका जनताको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, देशका लागि थप केही गर्छु, तपाईंहरुको पनि नाम विश्वमा राख्छु, यसमा ढुक्क भइदिन सबैसँग अनुरोध गर्दछु ।”   कुल रु ५० करोड ७ लाख ९२ हजार लागतमा निर्मित सो खानेपानी आयोजनाबाट नगरपालिका–२, ३ र ४ का ६ हजार ५ सय २१ घरघुरीका २६ हजार ७ सय ४३ जनसङ्ख्या लाभान्वित हुनेछन् । कार्यक्रममा आयोजनाका लागि जग्गा दिने स्थानीयवासीलाई सम्मान गरिएको थियो ।   सो अवसरमा प्रथम महिला राधिका शाक्य, नेकपा ९एमाले० का उपाध्यक्ष युवराज ज्ञवाली, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सङ्घीय खानेपानीमन्त्री प्रदीप यादव, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसहित स्थानीय जनताको उल्लेख्य उपस्थित थियो ।

काठमाडौं:    भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारितभएको २१ वर्ष पूरा भएको अवसरमा आज देशभर ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।  सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहका साथै भ्रष्टाचारविरुद्ध तथा सुशासनका पक्षमा क्रियाशील विभिन्न सामाजिक सङ्घ संस्थालेसमेत विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाएका छन् ।  भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायमका लागि भएका प्रयास तथा उपलब्धिबारे गम्भीर समीक्षाको खाँचो आँैल्याइएको छ ।  सोही उपलक्ष्यामा ट्रान्सपरेन्सी इन्टरनेसनललगायत संस्थाको अगुवाइमा काठमाडौँको माइतिघरस्थित सडकमा भ्रष्टाचार विरुद्धको अभियानप्रति ऐक्यबद्धता जाहेर गर्दै आज बिहान १० देखि ११ बजेसम्म एक घण्टा प्रदर्शन गरियो । नागरिक समाजका अगुवा, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिका साथै ट्राफिक प्रहरीबाट समेत ऐक्यबद्धता प्रकट गरिएको उक्त प्रदर्शनीमा न्याय निसाफमा हुने आर्थिक मोलमोलाइले देशलाई खोक्रो बनाउने विषय प्लेकार्डमा उल्लेख गरिएको थियो ।  त्यस्तै, भ्रष्टाचार नियन्त्रण गर्ने अभियानमा पीडित जनता अब आफै सक्रिय हुनुपर्ने तथा भ्रष्टाचार घातक रोग भएकाले यसको अन्त्य गरिनुपर्ने विषय त्यस अवसरमा प्लेकार्ड प्रस्तुत गरियो ।  ट्रान्सपरेन्सी इन्टरनेशनल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन, महालेखा परीक्षकको प्रतिवेदनजस्ता सरकारी निकायकै आधिकारिक दस्तावेज र तथ्य–तथ्याङ्कले मुलुकमा भ्रष्टाचार बढिरहेको देखाएको छ । तथापी, तीनै तहका सरकार तथा सरोकारवाला निकायसमेत भ्रष्टाचार घटाउन र सुशासन कायम विभिन्न पाटाबाट भगिरथ प्रयास गरिरहेका छन् । मुलुकको हालको अवस्थाले भ्रष्टाचार कम भएको सङ्केत तथा तत्कालै सुधार हुने सम्भावना कम देखिएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदनकृष्ण शर्मा बताउनुहुन्छ ।  ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भ्रष्टाचारविरुद्धको अभियानमा लामो समयदेखि सहकार्य गर्दैआएको छ । नेपाल सरकार, पूर्वसचिव तथा पूर्वकर्मचारी सेवा परिषद्का अध्यक्ष बालकृष्णप्रसाद प्रसाइँले भ्रष्टाचारविरुद्धको अभियान राजनीतिक नेतृत्व र कर्मचारी प्रशासकमै पनि बोली तथा व्यवहारमा एकरुपता नदेखिएको प्रतिक्रिया दिनुभयो ।  उहाँ भन्नुहुन्छ, “राजनीतिक नेतृत्वको बोलीमा प्रतिबद्धता र सरकारी कार्यालको मूलद्वारमा भ्रष्टचारविरुद्धमा शून्यसहनशीलता लेखिपनि व्यवहारमा भनाइ र गराईबीच ठूलो खाडल छ ।”  ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका सदस्य किरण थापाले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस भएकाले त्यसप्रति ऐक्यबद्धता प्रकट गर्दै प्लेकार्डसहित प्रदर्शन गरिएको प्रतिक्रिया दिनुभयो ।

सुर्खेत:    गृहमन्त्री रमेश लेखकले देशमा स्थायित्व र विकासको गति अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाली कांग्रेस सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले सरकारले जनतालाई अनुभूति हुनेगरी काम गरिरहेको बताउनुभयो ।  देशमा स्थायी सरकार आवश्यक परेका कारण २ ठूला दलको गठबन्धनको सरकार बनेको उल्लेख गर्दै वर्तमान सरकारको मुख्य उद्देश्य देशमा स्थायित्व, विधिको साशन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गरेर सुशानसन कायम गर्नु रहेको बताउनुभयो । “देशमा विशेष किसिमका समस्या देखा पर्छन् त्यस्तो बेलामा ठूला दल मिलेर राष्ट्रिय एजेण्डालाई सम्बोधन गर्ने गरेका छौँ”, गृहमन्त्री लेखकले भन्नुभयो, “मुलकमा अस्थिरता, अराजकता हुन थाल्यो । गएको डेढ वर्षमा सम्मानीय प्रधानमन्त्रीले दुई÷दुई महिनामा संसद्मा गएर विश्वासको मत लिनुपर्ने अवस्था आयो,” उहाँले भन्नुभयो, “सरकार अत्यन्त अस्थिर हँुदा देशको आर्थिक गतिविधि चलायमान हुन सकेन । विकासका काम सही ढङ्गले अगाडि बढ्न सकेनन् । शान्ति सुरक्षा तथा विधिको साशनमा प्रतिकुल असर पर्न थाल्यो ।”  समग्रमा देशमा स्थायी सरकार चाहियो भन्ने मुख्य मुद्दाका कारण दुई ठूला दलको गठबन्धनको सरकार बनेको गृहमन्त्री लेखकको भनाइ थियो । सरकारको मुख्य उद्देश्य देशमा स्थायित्व, विधिको शासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गरेर सुशानसन कायम गर्नु रहेको उहाँले उल्लेख गर्नुभयो ।  आर्थिक विकासका गतिविधि अगाडि बढाउने र यो संविधानलाई रक्षा गरेर सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ गरेर देशमा दिगो शान्ति स्थापना गर्नु सरकारको जिम्मेवारी रहेको उहाको भनाइ छ । गृहमन्त्री लेखकले कर्णाली सम्भावना बोकेको प्रदेश भएकाले यहाँ जडीबुटी र पर्यटकीय सम्भावनालाई अवसरमा बदल्नुपर्ने बेला आएको बताउनुभयो ।  कर्णाली प्राकृतिक सौन्दर्यताको प्रदेश भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले भन्नुभयो, “सबैभन्दा धेरै विद्युत् उत्पादनको सम्भावना पनि कर्णालीमा छ । यति धेरै सम्भावना छन् भने हामीले कमजोर ठान्नुपर्ने, मन सानो बनाउनुपर्ने भन्दा पनि हाम्रा सम्भावनालाई कसरी अवसरमा बदल्ने भन्नेमा लाग्नुपर्छ ।” कर्णाली प्रदेशका प्रहरी कार्यालय अहिले पनि नेपालगञ्जबाट चलिरहेको अवस्था रहेको भन्दै उहाँले ती कार्यालय चाँडै सुर्खेत ल्याइने प्रतिबद्धता जनाउनुभयो ।

गण्डकी:    राष्ट्रिय समाचार समितिका पोखरा समाचारदाता जमुना वर्षा शर्मालाई राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । स्वास्थ्यका क्षेत्रमा समाचार सम्प्रेषणका माध्यमबाट पुयाएको योगदानको कदर गर्दै उहाँलाई युआरएल फाउण्डेशनले सम्मान गरेको हो । राससकर्मी शर्मालाई रु ३३ हजार तीन सय ३३ नगद तथा प्रमाणपत्रसहित एक कार्यक्रमबीच शिक्षाविद् जर्ज जोन, युआरएल फाउण्डेशनका अध्यक्ष ठाकुरप्रसाद पन्तलगायतले सम्मान गर्नुुभएको हो ।  २ दशकदेखि पत्रकारितामा क्रियाशील शर्मा महिला अधिकार, महिला सुरक्षा, महिला स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा कलम चलाउँदै आउनुुभएको छ । उहाँ नेपाल पत्रकार महासङ्घ कास्कीको उपाध्यक्षसमेत हुनुहुन्छ ।  कार्यक्रमकै अवसरमा फाउण्डेशनले चिकित्सा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै ललितपुर, कुपन्डोलका डा खगेन्द्रबहादुर श्रेष्ठलाई ‘लाइफ टाईम एचिभमेन्ट’ अवार्डबाट सम्मान गरेको छ ।  कार्यक्रममा शिक्षाविद् जोन, पुरस्कार छनोट समितिका संयोजक बद्री विनोद प्रतिक, प्रयोगशालाविज्ञ सुशील थापा, युआरएल फाउण्डेशनका अध्यक्ष पन्त, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका महानिर्देशक मनमोहन मिश्र, पत्रकार आरजु विष्ट सल्यानी तथा सम्मानित व्यक्तिद्वय शर्मा र श्रेष्ठले आ–आफ्नो धारणा राख्नुभएको थियो ।