पोखरा: फरक क्षमता भएका (अपाङ्गता) नागरिकले पोखरामा भएका सडक तथा सार्वजनिक यातायात आफुहरुको हितमा नभएको गुनासो गरेका छन् । अपाङ्गता स्वालम्बन विकास संघ(डिडा), आइएनएफ नेपालले पोखरामा आयोजना गरेको सबैका लागि पहुँचयुक्त यातायात विकास सम्बन्धिकार्यक्रममा बोल्दै फरक क्षमता भएका नागरिकले सार्वजनिक यातायात अपाङ्गतामैत्री नभएको गुनासो गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेशम जुग्जाली, प्रदेश ट्राफिक कार्यालय गण्डकीका प्रमुख, यातायात व्यवसायीका प्रतिनिधिहरुलाई फरक क्षमता भएका नागरिकहरुले राज्यले संविधानमा नै उल्लेख गरेका हक अधिकारबाट बञ्चित रहेकोसमेत सुनाए । राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमलाल सुवेदीले नेपाल सरकारले पहुँचयुक्त यातायात सम्बन्धी भएको ऐन, कानुन तथाय नियमावलीहरु कार्यान्वयन नभएको, सार्वजनिक यातायातमा अपाङ्ग, बालबालिका ज्येष्ठ नागरिकहरुको हितमा नभएको धारणा राखे । उनले पोखराका सडक शारीरिक अपाङ्गता भएका नागरिकसँगै बालबालिका र ज्येष्ठ नागरिकको हितमा नभएको बताए । ‘पोखरा सडकमा अहिले दृष्टिविहीनका लागि क्याटटक राखिएको छ, त्यो किन राखिएको हो भन्ने निर्माण गर्नेलाई नै थाहा छैन’, सुवेदीले भने, ‘पोखराका सडक अपाङ्गता भएका नागरिकसँगै बालबालिका र ज्येष्ठ नागरिकको हितमा छैन ।’ उनले पोखराका सडकमा ट्राफिक लाइट राख्न लागिएकाले त्यसमा दृष्टिविहीन नागरिकहरुले थाहा पाउने गरी साउण्डको व्यवस्था गर्नसमेत माग गरे । ‘पोखराका केही चोकहरुमा ट्राफिक लाइट राखिदैछ, सबैको पहुँचमा दिगो विकास हुन आवश्यक छ’, उनले भने, ‘ट्राफिक लाइटसँगै दृष्टिविहीन नागरिकहरुको लागि सडकमा रोकिदा र सडक क्रस गर्ने समयमा संकेत गर्ने साउण्ड बक्स पनि राखियोस् ।’ उनले शारीरिक अपाङ्गता भएका नागरिकहरुले सवारीमा यात्रा गर्दा ५० प्रतिशत छुट पाउने उल्लेख भएपनि कार्यान्वयन नभएको भन्दै दुःख व्यक्त गरे । शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले बसमा यात्रा गर्दा म्युजिक बन्द गरेर विभिन्न स्थान वा चोक नामसहितको सूचना प्रवाह गर्दा यातायातमा सहज हुने सुझाव समेत दिएका थिए । अबका भौतिक संरचना अपाङ्गता मैत्री बन्छ: मन्त्री जुग्जाली गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेशम जुग्जालीले अब बन्ने संरचना अपाङ्गतामैत्री बन्ने कार्यक्रममा प्रतिवद्धता जनाए । ‘हिजोको व्यवस्थामा अपाङ्गता मात्र होइन, सपाङ्ग व्यक्तिकोसमेत हक अधिकार खोसिएको थियो । अहिले त्यो व्यवस्थालाई फालेर नयाँ व्यवस्था ल्याएका छौं, मन्त्री जुग्जालीले भने, ‘अब हिजोको व्यवस्थालाई परिवर्तनसँगै अबको व्यवस्थामा सबैको नागरिकको पहुँच पु¥याउनका लागि अब बन्ने संरचना अपाङ्ता मैत्री बनाउन जरुरी छ र बन्छ ।’ मन्त्री जुग्जालीले पोखराका सडक अपाङ्गता मैत्री मात्र नभएर पर्यटकमैत्री नभएकाले त्यसलाई पनि प्रदेश सरकारले विशेष ध्यान दिएको बताए । ‘पोखराका सडक अपाङ्गता मैत्री भएन भनेर गुनासो आएको छ । सँगै पर्यटक मैत्री भएन भन्ने पनि छ, उनले भने, ‘अबका सडक निर्माण गर्दा र निर्माण भएका सडकलाई व्यवस्थित गर्न प्रदेश सरकारको ध्यानाकर्षण भएको छ ।’ उनले अब बन्ने संरचनामा सबैको पहुँच पु¥याउने फरक क्षमता भएका (अपाङ्गता ) नागरिकले प्रत्येक जिल्लामा रहेका भौतिक पूर्वाधार कार्यालयमा गएर संरचना निर्माण गर्दा सबेको पहुँच पु¥याउन सुझाव दिन समेत आग्रह गरे । मन्त्री जुग्जालीले यातायात व्यवसायीहरुलाई ब्लुबुक नविकरण लगायतका विषयमा राजस्व छुट भएकाले फरक क्षमता भएका नागरिकलाई भाडामा छुट दिन आवश्यक रहेको बताए । उनले यातायात सम्बन्धीको बैठकमा राष्ट्रिय अपाङ्गता महासंघका प्रतिनिधिलाई अबको बैठकमा आमन्त्रित सदस्यको रुपमा उपस्थित गराउने प्रतिवद्धता समेत जनाए । उनले पछिल्लो सयम ट्याक्सी मिटरमा चलेको बताउँँदै आफु भौतिक पूर्वाधारको जिम्मेवारीमा रहँदासम्म ट्याक्सी मिटरमा नै सञ्चालन भैरहेको दावी गरे । जिफमका अध्यक्ष रुद्र खत्रीले सरकारले अपाङ्गतामैत्री पूर्वाधार निर्माण नगर्दा शारीरिक अपाङ्गता भएका नागरिकलाई सेवा दिन नसकेको बताए । ‘शारीरिक अपाङ्गता भएका नागरिकलाई सेवा दिन सरकारले पूर्वाधार निर्माण गरेको छैन, कसरी हामीले सेवा दिन सकिन्छ?’, उनले भने, ‘यातायात क्षेत्रमा नीति नियम राज्यले बनाओस् कार्यान्वयन गर्न तयार छौं ।’
बागलुङ: बागलुङ नगरपालिका–१ मरेपीपलमा वर्षाका कारण एक घर भत्केर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । नाली निर्माणका क्रममा खनिएको जगमा अविरल वर्षाका कारण घर पूर्णरुपमा भत्किएर परिवार विस्थापित भएको छ । नाली निर्माणका क्रममा चर्किएको घर गए रातिको वर्षाका कारण पूर्णरुपमा भत्किएको हो । बागलुङ नगरपालिकाले अहिले मरेपीपलमा अतिक्रमण सडकमा भएका संरचना हटाउने तथा सडक बिस्तार गर्ने र नाली निर्माण गरिरहेको छ । नाली विस्तारका लागि जग खन्नेक्रममा भारी वर्षा भएपछि नालीको पानी घरमा पसेर घर भत्किएको हो । नाली निर्माण गर्दा जोखिममा परेको घर वर्षाको पानीले स्थानीय भगवती सापकोटाको घर भत्किएको हो ।दुईतले कच्ची घर भत्किएपछि छिमेकीको घरमा आश्रय लिएर बसेको सापकोटाले बताउनुभयो । आर्थिक अवस्था न्यून रहेको सापकोटाको परिवार विस्थापित भएपछि बागलुङ नगरपलिकाले घर निर्माणमा सहयोग पुर्याउने आश्वासन दिएको छ । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भत्किएको घरको स्थलगत अनुगमन गर्नुभएको थियो । खड्काले विपन्न समुदायलाई घर बनाउन विपद् शाखामार्फत सहयोग गरिरहेको बताउँदै सापकोटाको घर निर्माणमा बागलुङ नगरपालिकाको क्षमताअनुसार सहयोग गर्नेगरी कार्यपालिकाको बैठकमा लैजाने बताउनुभयो । बागलुङ नगरपालिकाका इञ्जिनियर तथा विपद् शाखाका संयोजक गौरव शर्माले नगरपालिकाले नाली विस्तारका क्रममा कच्ची घरभित्र बर्खाको पानी परेका कारण घर भत्किएको बताउँदै क्षतिपूर्तिको मूल्याङ्कनअनुसार घर बनाउन सहयोग गर्ने बताउनुभयो । अहिले सापकोटाको घरबाट पुरिएका सामग्री निकाल्न स्थानीयले सहयोग गरिरहेको बालमन्दिर टोल विकास संस्थाका अध्यक्ष खिमराज सापकोटाले बताउनुभयो । “सापकोटाको परिवारलाई घर बनाइदिन आवश्यक छ, टोल विकासको समन्वयमा नगरपालिका र जिल्ला प्रशासनमा निवेदन दिएका छौँ”, उहाँले भन्नुभयो, “घर निर्माणमा सबैको सहयोगको अपेक्षा गरिएको छ ।” सापकोटाका अनुसार टोल विकास संस्था र स्थानीयको सहयोगमा भत्किएको घर पन्छाउने कार्यमा जुटिरहेको बताउनुभयो । रासस
काठमाडौं: आन्दोलनरत शिक्षक संगठनले आज पनि काठमाडौं केन्द्रित आन्दोलनलाई निरन्तरता दिने भएका छन् । सरकारले हालै ल्याएको बिद्येयकले सरकारी शिक्षक, राहात शिक्षकलगायतलाई अन्याय गरेको भन्दै अबिलम्ब सो बिधेयक सच्चाउनु पर्ने माग गर्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । गत असोज ३ गते देखि देशैभरीका सरकारी शिक्षकहरु जम्मा भएर काठमाडौंमा आन्दोलन गरेपछि राजधानीको दैनिकी अस्तब्यस्त बन्न पुगेको छ । यता, शिक्षक संगठनको आन्दोलनले काठमाडौं उपत्यकाको ट्राफिक अवस्था अस्तब्यस्त हुन पुगेको छ । जसका कारण हिजो दिनभरी काठमाडौं उपत्यकामा घन्टौसम्म ट्राफिक जाम भएको थियो भने माइतीघर बानेश्वर सडक खण्डमा सवारी आबातजावत रोकिएको थियो । उनीहरुले आफनो माग पुरा नभएसम्म काठमाडौं नछाड्ने अडान लिएपछि सरकार अप्ठयारोमा परेको छ । आज पनि आन्दोलन जारी रहने भए पछि काठमाडौं उपत्यकाको सवारी आवाताजावत पुरै प्रभावित हुने भएका छन् ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक साता लामो चीन भ्रमण आजदेखि सुरु हुने भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट सिधै आज चीनको हाङजाओ प्रस्थान गर्ने भएका हुन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज न्युयोर्कको स्थानीय समयअनुसार राति साढे १ बजेको फ्लाइटबाट चीन प्रस्थान गर्नेछन् । संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेपछि प्रचण्ड त्यहाँ चीन भ्रमणमा जाने औपचारिक कार्यसूची परराष्ट्र मन्त्रालयले बिहीबार मात्रै सार्वजनिक गरेको थियो । प्रचण्डको भारत भ्रमणपछि उनको चीन भ्रमणको तयारी लामो समयदेखि चलिरहेको थियो । सीसँग शनिबार भेट भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच शनिबार भेट हुने तय भएको छ । १९ औं एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुन सी पनि हाङजाओमा रहने र प्रधानमन्त्री प्रचण्ड न्यूयोर्कबाट त्यहीँ पुग्ने भएपछि शनिबार उनीहरूबीच भेट हुने भएको हो । प्रधानमन्त्री प्रचण्डलाई शनिबार बिहान १० बजे हाङजाओस्थित विमानस्थलमा चीनका विदेशमन्त्री वाङ यीले स्वागत गर्नेछन् । त्यसपछि दिउँसो साढे १२ बजे प्रचण्ड र सीबीच पहिलो भेट हुनेछ । सो क्रममा उनीहरूले एउटा रिसोर्टमा सँगै लञ्च गर्नेछन् । त्यसपछि शनिबार अपराह्न ४ बजे प्रचण्ड र राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता हुनेछ । उक्त औपचारिक भेटवार्ता सम्पन्न भएसँगै प्रचण्ड राति ८ बजे उदघाटन हुने १९ औँ एसिन खेलकुद समारोहमा सहभागी हुनेछन् । त्यसको अर्को दिन आइतबार मध्याह्न १२ बजे प्रचण्ड बेइजिङ पुग्ने कार्यसूची छ । बेइजिङ विमानस्थलमा उनलाई चिनियाँ मन्त्रीले स्वागत गर्ने भनिएको छ । प्रधानमन्त्री प्रचण्ड र समकक्षी छ्याङबीच औपचारिक द्विपक्षीय भेट सोमबार बिहान १० बजेका लागि तय भएको छ । उनलाई तियानमेन चोकस्थित ‘ग्रेट हल अफ दि पिपुल’मा स्वागत कार्यक्रम राखिएको छ भने चिनियाँ जनमुक्ति सेनाले प्रचण्डलाई ‘गार्ड अफ अनर’ प्रदान गर्ने कार्यक्रम छ । प्र धानमन्त्री प्रचण्ड र समकक्षी लीबीच हुने औपचारिक भेटवार्ताका लागि करिब २ घण्टाको समय निर्धारण गरिएको छ । भेटमा विभिन्न सहमतिपत्रमा हस्ताक्षर हुने बताइएको छ । एक हप्ता लामो भ्रमणका क्रममा बेइजिङस्थित नेपाली राजदूतावासको कार्यालयमा उद्योग वाणिज्य महासंघ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्ले संयुक्त रूपमा आयोजना गर्ने ‘नेपाल–चीन लगानी सम्मेलन’ लाई प्रचण्डले सम्बोधन गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार त्यसपछि प्रचण्डले चोङकिङ नगरपालिकामा रहेको कृषी र औद्योगिक विकासको निरीक्षण गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण टोलीमा स्वकीय सचिव रहेकी छोरी गंगा दाहाल, परराष्ट्र मन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठ लगायत सरकारी अधिकारी र उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू छन् । आजबाट सुरु हुने प्रचण्डको चीन भ्रमण नेपालसँग सीमा जोडिएको तिब्बतको ल्हासासम्म पुगेर ३० सेप्टेम्बरमा सकिने छ ।
दाङको तुलसीपुर बसपार्कमा मध्यरातमा एक जना गाडी धनीमाथि खुकुरी प्रहार भएको छ। तुलसीपुर उपमहानगरपालिका– १३ बखरियाका ३४ वर्षीय रणदेव बस्नेतमाथि तुलसीपुर–५ बसपार्कमा खुकुरी प्रहार भएको हो। बस्नेत गाडी साहु हुन्। खुकुरी प्रहारबाट उनको हातको नाडीमा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलले बताए। नाडीको नसा पनि काटिएको हुँदा घाइतेलाई राति नै थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको डिएसपी पोखरेलले जानकारी दिए। बस्नेतमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले घटनाको केहीबेरमै तुलसीपुर–१० राइखलियानका २८ वर्षीय राममणि चौधरीलाई नियन्त्रणमा लिएको थियो। चौधरीले नै बस्नेतमाथि बसपार्कस्थित हिमालयन होटल नजिकै खुकुरी प्रहार गरेको बसपार्क प्रहरी इञ्चार्ज प्रहरी प्रहरी सहायक निरीक्षक सन्तोष आचार्यले जानकारी दिए। घटनामा संलग्नमध्ये तुलसीपुर– ६ सुकौरा रोड बस्ने २७ वर्षीय नवीन परियारलाई शुक्रबार बिहान ११ बजेपछि घोराही उपमहानगरपालिका – १० नारायणपुरमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी सहायक निरीक्षक आचार्यले बताए। घटना हुँदा नेपालीले मोटरसाइकल चलाएका थिए भने सोही मोटरसाइकलसहित उनी राति नै फरार भएको प्रहरीले बताएको छ। बसपार्क इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक आचार्यका अनुसार खुकुरी प्रहार गर्ने चौधरी र गाडी धनी बस्नेतका बीचमा पहिले पनि चिनजान थियो। घटना हुनुभन्दा पहिले उनीहरूका बीचमा तुलसीपुरको पातुखोलास्थित अटोभिलेज क्षेत्रमा सामान्य भनाभन भएको थियो। जतिखेर दुवैले मदिरा सेवन गरेका थिए। त्यसपछि गाडी साहु त्यहाँबाट बसपार्क आएका थिए। उनी होटल अगाडि बसिरहेको समयमा चौधरी मोटरसाइकलमा आएर ुपख तँलाईु भन्दै निस्किएका थिए। त्यसको केहीबेरपछि उनीहरू फेरि त्यहीँ आएर एकाएक खुकुरी प्रहार गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका दुवै जनाविरूद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाउने प्रहरीको तयारी छ। तर, अहिलेसम्म पीडित पक्षबाट लिखित जाहेरी नआएको डिएसपी पोखरेलले बताए।
काठमाडौं: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट बाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ । संक्षिप्त भेटका अवसरमा दुई देशबीचका आपसी हितका विषयमा सहकार्यसम्बन्धी कुराकानी भएको थियो । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट भएको जानकारी प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिनुभयो । भेटमा राष्ट्रपति वाइडेनकी श्रीमती जिल ज्याकोब र प्रधानमन्त्रीकी छोरी गङ्गा दाहाल सहभागी हुनुहुन्थ्यो । राष्ट्रपतिसँग भेट हुँदा प्रधानमन्त्री प्रचण्डले नेपाली पोशाक दौरा सुरुवाल र भादगाउँले टोपी लगाउनुभएको थियो ।
काठमाण्डौ: नेकपा (एमाले) ले आफ्नो पार्टी र नेतृत्वका नाममा अनधिकृतरूपमा नक्कली आइडी बनाएर सामाजिक सञ्जालमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्नेलाई कारबाहीको दायरमा ल्याउने जनाएको छ । एमालेले आम नागरिक र पार्टीपङ्क्तिभित्रै अफवाह फैलाइएको पाइएको भन्दै सामाजिक सञ्जालमा बनेका नक्कली आईडीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले हिजो विज्ञप्ति जारी गरी सामाजिक सञ्जालको दुरुपयोग गरी अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेकाले यसले पार्टीपङ्क्ति र जनसमुदायमा भ्रम सिर्जना हुने गरेको बताउनु भएको हो । सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक अकाउन्ट बन्द गर्नुपर्ने चौतर्फी दबाब आएकाले सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छु, उहाँले भन्नुभएको छ । पार्टीको नाम, लोगो, झण्डा र पार्टी नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै अकाउन्ट सञ्चालकहरूलाई १५ दिनभित्र पार्टीको केन्द्रीय प्रचार विभागको सम्पर्कमा आउन अनुरोध गरिन्छ । अन्यथा यस्ता फेक अकाउन्ट सञ्चालकका बारेमा आवश्यक कानुनी प्रक्रियामा जान पार्टी बाध्य हुने कुरा सूचित गरिन्छ विज्ञप्तिमा भनिएको छ ।
काठमाण्डौ: पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’ ७६ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट पीडित उहाँको गएराति काठमाण्डौको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । २०५६ सालको आम चुनावमा नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा निर्वाचित भएका उहाँ केही समय सामान्य प्रशासन मन्त्रीसमेत बन्नुभएको थियो । त्यसपछि उहाँले चुनाव लड्नु भएन । उहाँ गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुनुहुन्छ । रामराजाप्रसाद सिंह नेतृत्त्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी र सिंहदरबारजस्ता ठाउँमा बम विस्फोट गराएको थियो । उहाँ त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष हुनुहुन्थ्यो । जनवादी मोर्चाबाट उहाँ नेपाली कांग्रेस प्रवेश गर्नु भएको थियो । पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा उहाँ पटक(पटक जेलसमेत पर्नु भएको थियो । २०७० सालमा नेपाली कांग्रेस त्यागेर भट्ट माओवादीमा प्रवेश गर्नु भएको थियो । पछिल्लो समय उहाँ नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध गाँजासहित पोखरा १५ फुलवारी गैह्रगाउँ बस्ने राजन विकलाई प्रकाउ गरेको छ । पोखरा ३० पावरहाउस ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरा २१ कृष्ती स्थायी घर भई पोखरा १५ फुलवारी गैह्रगाउँ बस्ने राजनलाई दुई केजी १ सय ७० ग्राम लागूऔषध गाँजासहित प्रकाउ गरेको हो । प्रकाउ परेका राजनलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ८ दिनको म्याद तप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।