पोखरा: घान्द्रुक जाने पर्यटकको बसाइँ लम्ब्याउन पर्यटन व्यवसायीले चक्रिय पदमार्ग निर्माण गरेका छन् । ४ किलोमिटर लामो पदमार्गको बिहीबार उद्घाटन गरिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले निर्माण गरेको पदमार्गको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले उद्घाटन गरेका हुन् । उक्त पदमार्ग मन्त्रालयको ५ लाख र समितिको १ लाख ५० गरी ६ लाख ५० हजार रुपैयाँको लागतमा पदमार्ग निर्माण गरिएको समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । मन्त्रालयका सचिव कुमानसिंह गुरुङले चक्रिय पदमार्गले घान्द्रुकको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । ‘घान्द्रुक कल्चर र नेचरको धनी गाउँ हो । यसमा चक्रिय पदमार्गले अझै टेवा पुग्ने छ,’ उनले भने, ‘प्रदेश सरकारले उच्च हिमाली क्षेत्रमा पदमार्ग निर्माणमा सघाएको छ । सोही अनुसार मन्त्रालयले यहाँ सहयोग गरेको हो ।’ पदमार्गले २ वटा मेश्रम बराह मन्दिर जोड्ने भएकाले प्राकृतिक र धार्मिक रुपमा महत्वपूर्ण रहेको उनले सुनाए । पदमार्ग अझै अपुरो रहेकाले आगामी वर्षको बजेटमा यसको विस्तारका लागि सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । यो पदमार्ग घान्द्रुकको बसपार्कदेखि सुरु भएर पञ्चे, कोटगाउँ, बलाचे पार्क, नभ्री थेव मेश्रम बराह मन्दिर, कोचमा प्लाँ, ७०० घान्द्रुक मेश्रम बराह, नेगो, चिया बगान, गैह्री गाउँ, तल्लो गाउँहुर्द बसपार्कमा पुगेर सकिने समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । पदमार्ग पूर्णरुपमा सञ्चालनका लागि सरकारसँगै घान्द्रुकका होटल व्यावसायीलाई पनि गुहार्ने योजना रहेको उनले सुनाए । ‘यो करिब ४ किलोमिटरको दुरीमा छ । पहिलो चरणको काम सकिएको छ । यसमा गर्न बाँकी अझै धेरै काम छ,’ उनले भने, ‘यसका लागि सरकार गुहार्ने कुरा त छदैछ अझै घान्द्रुकको होटल व्यावसयीलाई पनि भन्ने अनि सहयोग गरे शिलालेख लेखेर राख्ने योजना छ ।’ पदमार्ग निर्माणपछि एक दिन भएपनि पर्यटकको घान्द्रुक बसाइँ लम्बिने स्थानीय अमृत गुरुङले बताए । यो पदमार्गको करिब २ किलोमिटर क्षेत्रमा वनजंगल भएकाले पर्यटक प्रकृतिसँग रमाउने उनको भनाइ थियो । ‘यो पदमार्ग पर्यटकका लागि अति नै महत्वपूर्ण छ । यसले पर्यटकको बसाइँ अवश्य लम्ब्याउँछ,’ उनले भने, ‘यसको आधा भागमा वनजंगल पर्छ । यहाँ चराचुरुंगीको आवाजसँगै बन्यजन्तुहरु मृग, स्याल, बनकुखुरा अवलोकन गर्न सक्छन् ।’ पलमार्गमा चिया बगानसँगै फागुन चैतमा लालिगुराँससँग रम्दै समय बिताउँन सक्ने उनले बताए ।
पोखरा: उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव कुमानसिंह गुरुङले कास्कीको घान्द्रुक संस्कृति र प्रकृतिका कारण पर्यटकको रोजाइमा परेको बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको प्रथम वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पर्यटन मन्त्रालयका सचिव गुरुङले यस्तो बताएका हुन् । ‘बाह्य पर्यटकहरु सबैभन्दा बढी संस्कृति र प्रकृतिका लागि नेपालसँगै स्विजरल्याण्डलाई पहिलो नम्बरमा राख्छन्’, मन्त्रालयका सचिव गुरुङले भने, ‘कास्कीको घान्द्रुक बाह्य पर्यटकसँगै पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा परेको छ, यहाँको संस्कृति र प्रकृति नै पर्यटकको मुख्य आर्कषण हुन् ।’ उनले गण्डकी प्रदेश सरकारले पछिल्लो समय ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धनमा काम गरिरहेकाले होमस्टेसँगै अन्य पूर्वाधारलाई प्राथमिकतामा राखेको बताए । ‘गण्डकी प्रदेशको पर्यटन मन्त्रालय ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न लागि परेको छ, ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न होमस्टेको अवधारणालाई अगाडि बढाइरहेको छ’, उनले भने, ‘ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न स्थानीयले पूर्वाधार निर्माण र विकासमा मुख्य ध्यान दिन आवश्यक छ ।’ पर्यटन क्षेत्रको विकास र व्यवस्थापनमा चुनौती थपिरहेकाले स्थानीयले पूर्वाधार निर्माण गर्दा संस्कृति र प्रकृतिलाई विशेष ध्यान आवश्यक रहेको उनले बताए । ‘पर्यटन क्षेत्रको विकास र व्यवस्थापनमा चुनौती आइरहेको छ, पूर्वाधार निर्माण गर्दा संस्कृति र प्रकृतिलाई विशेष ध्यान दिन आवश्यक छ’, उनले भने । उनले पछिल्लो समय संस्कृतिमा परिवर्तन आइरहेकाले यसमा सबैले ध्यान दिन आवश्यक रहेको औल्याए । कार्यक्रममा अन्नपूर्ण गाउँपालिका १० का वडाध्यक्ष गौतम गुरुङले पर्यटन प्रवद्र्धनका लागि काम गरिरहेको बताए । ‘पर्यटन क्षेत्र हाम्रो समृद्धिको मुख्य आधार हो, पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि पूर्वाधारको विकासमा हामी लागिरहेका छौं’, वडाध्यक्ष गुरुङले भने, ‘ घान्द्रुक सम्म जोडिएको ग्रामीण सडकलाई स्तरउन्नती गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिन्छ ।’ घान्द्रुक ०२७ सालदेखि होटल सञ्चालन गर्दै आएका शंकरमान गुरुङले घान्द्रुकमा पर्यटक आउँदा खुशी लाग्ने बताए । ‘घान्द्रुकमा पर्यटक आउँदा खुशी लाग्छ, होटल सञ्चालन गरेर पैसा नै कमाउनुपर्छ भन्ने भावना कहिले पनि राखेन’, गुरुङले भने, ‘घान्द्रुकमा आउने देश विदेशका पर्यटकसँग घुलमिल हुने अवसर पाए, उनीहरुको सल्लाह अनुसार नै होटल सञ्चालनमा ल्याए, अहिले गाउँ नै व्यवसायीक रुपमा अगाडि बढेको छ, खुशी छु ।’ कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक, ताडापानी देउराली हुँदै पुनहिल र घान्द्रुकको, झिनु, छोम्रोङ, सिनुवा, बम्बु, देउराली, माछापुच्छ«े आधार शिविर हुँदै अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ । व्यवसायी सम्मानीत घान्द्रुक पर्यटन व्यवस्थापन समितिले प्रथम साधारणको सभाको अवसरमा समितिले होटल तथा होमस्टेमा आउने पर्यटक, गाईड र पोटरबाट आउने आम्दानीको शुल्क बुझाउने दुई जना व्यवसायीलाई सम्मान गरेको छ । समितिले ०७९ असोजदेखि ०८० साउनसम्म गाईड र पोटरबाट होटलबाट सबैभन्दा बढी शुल्क बुझाउने होटल ब्रीजका सुवासचन्द्र गुरुङ र होटलमा नेपाली पर्यटक राखे बापत समितिलाई सबैभन्दा बढी शुल्क बुझाउने होटल वल्ड भिलेजका अमृत गुरुङलाई सम्मान गरेको हो । सोही अवसरमा घान्द्रुकमा ०२७ सालदेखि ८० सालसम्म नै होटल सञ्चालन गरिरहेका होटल मिलनका सञ्चालक शंकरमान गुरुङलाई पनि सम्मान गरेको थियो । घान्द्रुक पर्यटन व्यवस्थापन समिति गठन भएपछि पूर्वाधार निर्माण र पर्यटन प्रवद्र्धनका लागि होटलमा बस्ने गाईड र पोटरबाट प्रतिव्यक्ति १ सय ५० र नेपाली पर्यटकबाट प्रतिव्यक्ति १० रुपैयाँ होटलले समितिलाई बुझाउनुपर्ने निर्णय गरेको थियो । कार्यक्रममा घान्द्रुक पर्यटन व्यवस्थापन समितिले साविकका ६ वडालाई ३/३ वटा दरले फोहोर संकलनका लागि डस्विन वितरण समेत गरिएको थियो । कार्यक्रम घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष बिक्रम गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा समितिका उपाध्यक्ष थम बहादुर विकले स्वागत मन्तव्य, सचिव माया पुन थापामगरले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष कृष्ण गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
पोखरा: गुरुङ भाषाको गीत ‘ङोल्स्यो निच्यों’ को म्युजिक भिडियो तयार भएको छ । हङकङको विभिन्न शहरमा छायांकन भएको गीतको निर्माण पुरा भई विमोचन अन्तिम चरणमा पुुगेको छ । गायक केशबहादुर गुरुङ र गायिका उषा गुुरुङको स्वरमा रहेको गीतको म्युुजिक भिडियो सेप्टेम्बर २४ मा विमोचन गरिने गीतका मोडल अमृत गुुरुङले जानकारी दिए । भिडियोमा मोडल अमृत गुुरुङसँगै नियोना गुुरुङले अभियन गरेकी छिन् । मोडल अमृत र नियोना लामो समयदेखि हङकङ बस्दै आएका छन् । यो भिडियो हङकङको योङलोङ, सिङमुन, क्लियर वाटर वे जस्ता रमणीय ठाउँहरुमा छायांकन गरिएको मोडल गुुरुङले जानकारी दिए । अनिल गुरुङले खिचेको भिडियोको मनोज गुरुङले निर्देशन र टेकमान गुुरुङले सम्पादन गरेका हुुन् । मेकअपमा सुुशिला गरुङले साथ दिएकी छिन् । भिडियो हङकङमै विमोचन गरी एच के दर्पण युुट्युुब च्यानलबाट सार्वजनिक गरिने उनले जानकारी दिए । खुसी गुरुङको रचना रहेको गीतमा केशबहादुर गुुरुङको संगित र धनबहादुर गुुरुङको एरेन्ज रहेको छ । अधिकांस गुरुङ भाषाको गीत नेपालकै गुरुङ गाउँहरुमा छायाँकन गरिएपनि देश बाहिर छायाँकन गरी नयाँ प्रयास थालिएको मोडल गुुरुङले बताए । विदेशमा सुुटिङ भएता पनि गुरुङ सँस्कृतिलाई जगेर्ना गरी निर्माण गरिएको उनको भनाई छ ।
बाँके: बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार जना भारतीय पक्राउ परेका छन् । जहाजमा काठमाण्डौ जाने तयारीमा रहेका भारतको मध्य प्रदेशका उनीहरूलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा अमित सोलङ्की, सचिव कुकरेजा, कमल बन्सारी र अर्का अमित रहेका छन् । उनीहरूले सेकेन्ड ह्यान्ड मोबाइल बनाउन काठमाण्डौ जान लागेको जिकिर गरेका छन् । प्रहरीले चोरीको मोबाइल काठमाण्डौमा बेच्न लैजान लागेको शङ्का गरेको छ । उनीहरूलाई भन्सार पठाउने तयारी गरिएको प्रहरी नायब उपरीक्षक डाँगीले बताउनुभयो ।
काठमाडौँ: सांगीतिक समूह नेपथ्यले पहिलो पटक क्यानडामा आफ्नो प्रस्तुति दिने भएको छ । आगामी अक्टोबर १ मा क्यालगरीको ‘दी प्यालेस थिएटर’, अक्टोबर ४ मा भ्यानकुभरको ‘दी भोग थिएटर’ र अक्टोबर ८ मा टोरन्टोको ‘म्यासी हल’ मा प्रस्तुत हुनेछ सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेयता नेपथ्यले १६ देशका २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ । तीनवटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन् । सांगीतिक टोलीमा ६ संगीतकर्मीसहित प्राविधिज्ञ र व्यवस्थापक गरी १४ जना सहभागी हुने नेपालयले जनाएको छ । स्थानीय समयअनुसार साँझ ७ बजे सुरु हुने कार्यक्रमको टिकट अनलाइनबाट लिन सकिने र विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको जनाइएको छ ।
काठमाण्डौ: काठमाण्डौमा भइरहेको शिक्षकहरूको आन्दोलन अनियन्त्रित बन्न थालेको छ । आन्दोलनरत शिक्षकहरूले आज बिहीवार निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ जाने प्रयास गरेका छन् । उनीहरूलाई सुरक्षाकर्मीले रोकेका छन् । माइतीघर मण्डलाबाट नारा जुलुससहित आन्दोलन गर्दै गएका शिक्षकहरूले नयाँ बानेश्वरको प्रहरी घेरा तोड्ने प्रयास गरिरहेका हुन् । प्रहरी र शिक्षकबीच धकेलाधकेलसमेत भएको छ । आन्दोलनलाई मर्यादिन बनाउन भन्दै ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ । शिक्षकहरूले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध हिजो बुधवारदेखि नै देशभरको विद्यालय बन्द गरेर काठमाण्डौमा विरोध प्रदर्शन गरिरहेका छन् । देशभरबाट एक लाखभन्दा बढी शिक्षक आन्दोलनमा सहभागी भएका शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताउनुभयो । शिक्षकको आन्दोलनका कारण झन्डै ५४ लाख जना बालबालिकाको पढाइ ठप्प भएको छ । यसैबीच शिक्षकहरूको विरोध प्रदर्शनले काठमाण्डौ ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । शिक्षकहरूले माइतीघर–नयाँ बानेश्वर सडकमा प्रदर्शन गरेकाले त्यस क्षेत्रमा गाडी आवागमन अवरुद्ध भएको हो । ट्राफिक प्रहरीले नयाँ बानेश्वर चोक र माइतीघरबाट गाडी डाइभर्सनु गरेको छ ।
पाेखरा: गण्डकी प्रदेशसभाका सांसदहरुलाई प्रदेश सभाबाट स्वीकृत नियमावलीनुसार नयाँ लोगो दिइने भएको छ । अब प्रयोगमा आउने लोगोमा सुन र चाँदी प्रयोग हुनेछ । नियमावलीको अनुसूची ८ मा सांसदले लगाउने प्रतीक चिन्ह (लोगो)का विषयमा स्पष्ट किटान गरिएको छ । यसअघि प्रदेश सरकारले सार्वजनिक आव्हानमार्फत लोगोको डिजाइन मागेको थियो । २५ हजार रुपैयाँ पुरस्कार राशीसहित गरिएको आव्हानमा प्रदेश सभाकै कर्मचारीद्वारा डिजाइन गरिएको लोगो छनौट भएपछि त्यसैमा सुन र चाँदीको प्रयोग हुने भएको छ । लोगोसम्बन्धी आवश्यक तयारी गर्न प्रदेशसभा नियमावली मस्यौदा समितिका सभापति विन्दुकुमार थापा रहेका छन् भने सदस्य सुधिरकुमार पौडेलको संयोजकत्वमा उपसमिति बनाइएको छ । उपसमितिका अनुसार डिजाइन गरिएको नयाँ लोगोमा देखिने सेतो भाग चाँदी र पहेंलो भागमा सुनको प्रयोग हुनेछ । स्मरणीय छ, सुरुवाति चरणमा सांसदहरुले १ सय ९५ रुपैयाँ पर्ने प्लाष्टिकको लोगो लगाएका थिए । लोगोमा माछापुच्छ्रेलाई सुनौलो र माथिको भाग निलो एवं हिमाल तल सेतो रंग रहेको छ । गण्डक प्रदेशको क्षेत्रलाई खरानी रंग दिइएको छ । सेतो भागमा चाँदी र पहेंलो भागमा सुनको प्रयोग हुनेछ ।
पोखरा: विभागीय पुलिस क्लब र घरेलु टोली गण्डकीबीच लामाचौर कपमा उपाधिका लागि घम्साघम्सी हुदै थियो । अधिकांश प्रशंसक गण्डकीको पक्षमा देखिएपनि केही भने नेपाल पुलिस क्लबलाई हौसाउँदै थिए । ‘उमेरले कलिलै भए पनि जिम्मेवारी ठुलो छ । सबैले टर्की–टर्की भन्नेरैछन् । स्पाइक पनि तर्सिने गरी नै हान्ने रैछ, ‘दर्शक दिर्घामा आवाज सुनियो, ‘केटोलाई राष्ट्रिय टिममा देख्न पाइयोस् ।’ अग्लो, पातलो र निकै छरिताे ज्यान, उनको स्पाइकको प्रशंसा सायदै कम हुन्छ । त्यसैले पनि उनीमाथि प्राय दर्शकको नजर थियो । यद्यपी अघिल्लो खेलमा जस्तो आफ्नो कौशल भने देखाउन सकेनन् । उनी रुकुम पश्चिमको सानीभेरी ३ का १८ वर्षीय पहल गहतराज हुन् । मैदानका पहल भएपनि प्रशंसकका भने ‘टर्की’ हुन् । सुर्खेतको खेलमा आफुभन्दा अग्ला खेलाडी थिए। 'उनलाइ टर्की भनिने रहेछ । पछि मलाइ सेकेन्ड टर्की भन्दा भन्दै प्रशंसकबाट मायालु उपनाम टर्की पाए,' उनी सुनाउँछन् । नेपाल पुलिस क्लबका मुख्य ४ खेलाडी एसियन गेम्सका लागि चीन गएपछि पहलले स्क्वाडमा स्थान पाएका हुन् । काठमाडौंमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड र किङ्स कपबाट चर्चामा आएका गहतराज ‘टर्की’ ले पोखरामा सम्पन्न लामाचौर कपको उपाधि नजितेपनि दर्शकको काफि मन जिते । नेपाल पुलिस क्लबबाट सहभागिता जनाउँदै उत्कृष्ट खेल प्रदर्शन गरेका गहतराजलाई नेपाली भलिबलको उदीयमान खेलाडीको रुपमा हेरिएको छ । रुकुम कपदेखि नेपाल पुलिस क्लबसम्मको यात्रा उमेरले बल्ल १८ पुगेका पहल गहतराज ‘टर्की’ छोटो समयमा नै भलिबलमा चर्चामा आएका छन् । स्थानीय क्लब र विद्यालयबाट भलिबलको विभिन्न प्रतियोगिता खेलिरहने पहलले पोखरामा सम्पन्न भएको नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट खेलेका थिए । केही महिना अगाडि काठमाडौंमा नै सम्पन्न भएको राष्ट्रपति कपमा कर्णाली प्रदेशलाई भलिबलको उपाधि दिलाउन उनै पहलको प्रदर्शन महत्वपूर्ण रहेको थियो । रुकुम पश्चिमको गहतराज नेपाल पुलिसमा आवद्ध हुनुपछाडि रेफ्री गोपाल गुरुङको हात रहेको उनले बताए । केही महिना अगाडिरुकुम कपमा खेल सञ्चालन गर्न गएका रेफ्री गोपाल गुरुङको सल्लाहपछि नेपाल पुलिसमा स्थान बनाएका हुन् । यद्यपी उनीमाथि नेपाल पुलिस क्लबको नजर परिरहेको थियो । पहल क्लबमा आवद्ध भएको भर्खर २ महिना मात्रै भएको छ । २ महिनामा उनले २ वटा प्रतियोगिता खेलिसकेका छन् । ‘पुलिस क्लबमा आको बल्ल २ महिना भयो । अहिलेसम्म क्लबबाट जम्मा २ वटा गेम खेलेको छु । यहाँ खेल्नु र सिभिलमा खेल्नु धेरै फरक हुनेरहेछ,’ सुनगाभा न्यूजसँग भने । उनले गाउँ, जिल्ला, प्रदेश हुदैं राष्ट्रिय स्तरको क्लबमा स्थान पाएकाले सपनाको नजिक रहेको बताए । ‘खेलाडीको सपना भनेकै देशको जर्सी पहिरिने नै हुन्छ नी । मेरो पनि त्यही छ, उनले भने, ‘मेहनत गर्दैछु । अहिले उमेर पुगेको छैन । उमेर पुगेपछि भर्ती लाग्ने हो । त्यसपछि बल्ल बाँच्न सक्ने स्थिति पनि बन्छ । गेमको स्किल पनि बढ्दै जान्छ ।’ उनले आफ्नो खेलसँगै अध्ययनलाई पनि निरन्तरता दिने बताए । ‘दाईदिदीबाट भलिबल खेल्न कुनै रोकतोक थिएन । परिवारको साथ सहयोग पाए’, उनले भने, ‘कक्षा १२ पास गरिसकेको छु । पढाईलाई र खेललाई सँगै लाने योजना छ ।’ उनले आफु नेपाल पुलिस क्लबबाट खेल्न पाउनु पछाडी राष्ट्रिय खेलाडीका सदस्य भइसकेका रविन चन्द, विशाल विक लगायत पुलिस क्लबको सदस्यहरुको सहयोग रहेको सुनाए । ‘नेपाल पुलिस क्लबबाट खेल्ने सबै खेलाडी तथा दाइहरुको साथ सहयोग पाएको छु’, उनले भने, ‘स्थानीय क्लबबाट खेल्दा र विभागबाट खेल्दा धेरै नै फरक हुने रहेछ ।’
काठमाडौं: वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न नियामक तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ । समितिको बैठकबारे आज ९बिहीबार० अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न कानुनी व्यवस्था सुधारका लागि पहल गर्ने निर्णय भएको जनाएको छ । समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन र नेपाल धितोपत्र बोर्डसम्बन्धी ऐन संशोधनको प्रक्रियालाई शीघ्रता दिने निर्णय गरेको छ । त्यस्तै, डिजिटल बैंक स्थापना गर्नेसम्बन्धी विद्यमान कानुनी व्यवस्थाको पुनरवलोकन गर्ने निर्णय भएको पनि अर्थ मन्त्रालयको भनाइ छ । सहुलियतपूर्ण कर्जा कार्यक्रमको प्रभावकारिताका सम्बन्धमा अध्ययन प्रतिवेदनलाई आधार मानी पुनरवलोकन गर्ने, विप्रेषणलाई औपचारिक माध्यमबाट भित्र्याउन प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने तथा रेमिट्यान्स बन्ड जारी गर्न कानुनी व्यवस्था र कार्ययोजना तयार पार्ने निर्णय भएको छ । वित्तीय मध्यस्थता लागत कम गर्ने सम्बन्धमा गर्नुपर्ने सुधारको विषयमा सम्बन्धित निकायले नीति एवम् कार्यविधि तर्जुमा प्रक्रिया तत्काल अगाडि बढाउने निर्णय पनि समितिले गरेको छ । त्यसैगरी, वित्तीय क्षेत्र, पुँजीबजार र बीमा क्षेत्रको गतिविधि एवम् नियमनलाई थप प्रभावकारी बनाउने र समन्वयात्मक तरिकाले काम गर्ने निर्णय भएको अर्थ मन्त्रालयको भनाइ छ । नियामकको क्षमता अभिवृद्धि गर्ने कामलाई सम्बन्धित संस्थाले तदारुकताका साथ अगाडि बढाउने निर्णय भएको पनि मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।