पोखरा: तिव्र गतिका कारण कार पोखरा महानगरपालिका १८ स्थित राटामाटाबाट फेवातालमा खसेको छ । आज बिहान ३ बजे सेदीबाट खपौदी जाँदै गरेको ग ३ च २३९२ नम्बरको कार अनियन्त्रित भई फेवातालमा खसेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी वरिष्ठ नायव निरीक्षक शिव पाठकका अनुसार चालक संगम थापाले मादक पदार्थ सेवन गरि सवारी चलाएकै कारण कार तालमा खसेको हो । उक्त कार क्रेनको प्रयोगमा निकालिएको उनले बताए । कार निकालिएपनि चालक थापालाई भने अनुसन्धानकै क्रममा प्रहरीले सम्पर्कमा राखिएको जनाएको छ ।
काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज सुनुवाइको पेसी तारिख तोकिएपछि न्यायाधीश अभावका कारण मुद्दा पेसीमा चढेन । न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको छ भने केही उच्च अदालतमा बढुवा भएका छन् । सरुवा भएर जानेले मुद्दा नहेर्ने र आउनुपर्ने आइनसकेका कारण सीमित न्यायाधीशले मुद्दा हेर्न नभ्याएका हुन् ।
काठमाडौँ: नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक सानेपास्थित बिपी स्मृति भवन केन्द्रीय कार्यालयमा जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा असोज ४ गते बिहीबारदेखि निरन्तर जारी बैठकमा आफ्नो धारणा राख्नुहुँदै केन्द्रीय सदस्य श्याम कुमार घिमिरेले काँग्रेसले देशमा रोजगारी सिर्जना, राजस्व वृद्धि, सेवा क्षेत्रको विस्तार गर्नुपर्नेमा महत्त्व दिनुपर्ने बताउनुभयो । घिमिरेले भन्नुभयो, “सकारात्मक वातावरणमा कसरी लैजाने, कतिपय मुद्दाहरूमा स्पष्टताको आवश्यकता छ । स्वदेशमा रोजगारीको सिर्जना, राजस्व वृद्धि, सेवा क्षेत्रमा विस्तार गर्नेमा महत्त्व दिनुपर्छ । काँग्रेसले स्पष्ट दिशा दिन सक्नुपर्छ ।” उहाँले काँग्रेसको अब बस्ने महासमितिको बैठकमा यी विषय सम्बोधनका लागि नीतिगत रूपमा सुधारको आवश्यकता रहेको भनाइ राख्नुभयो । यसै गरी केन्द्रीय सदस्य प्रदीप पौडेलले सबै विषयमा अनुशासन समितिले सिद्धान्त बनाउनुपर्ने बताउनुभयो । महासमितिको बैठकको मिति तोकिएको भन्दै उहाँले नीति अधिवेशन हुन नसकेको र महासमिति बैठकलाई नै नीति अधिवेशन गर्ने भनिएको बताउनुभयो । पौडेलले भन्नुभयो, “नीति अधिवेशनले आशाको सञ्चार गर्न सक्नुपर्छ । १५ औँ पञ्चवर्षीय योजनाको अवधि समाप्त भएको छ । १६ औँ पञ्चवर्षीय योजना कस्तो हुनुपर्छ भनेर योजना आउनुपर्छ ।” उहाँले विश्वव्यापी जलवायु परिवर्तनको बारेमा अवधारणा प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।
काठमाण्डौ: चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हाङझाउबाट राजधानी बेइजिङ जाँदै हुनुहुन्छ । उहाँ बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्ने तयारी छ । प्रधानमन्त्री प्रचण्डलाई ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ मन्त्रीले स्वागत गर्ने र विमानस्थलबाट उहाँ बेइजिङको स्टेट गेष्ट हाउसमा प्रस्थान गर्ने कार्यक्रम छ । आज दिउँसो ४ बजे नेपाल–चीन बिजनेस समिटमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनुहुनेछ । बिजनेस समिटमा चीनका उच्चस्तरीय अधिकारीसहित नेपालबाट गएका उद्योगी व्यवसायीको टोली पनि सहभागी हुनेछ । यो समिटलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुहुनेछ । त्यसपछि प्रचण्ड बेइजिङमा रहेको नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ । भोलि प्रधानमन्त्री प्रचण्डको समकक्षी ली छ्याङ तथा अन्य उच्चस्तरीय अधिकारीहरुसँग भेटवार्ता हुनेछ । हिजो प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सी जीनपिङबीच हाङझाउमा भेटवार्ता भएको थियो । प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच एक्लाएक्लै र प्रतिनिधिमण्डलसँग सामूहिकरूपमा समेत गरी एक घण्टा लामो छलफल भएको थियो । नेपालले स्वतन्त्र र असंलग्न परराष्ट नीति अङ्गिकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रचण्डले चिनियाँ पक्षलाई आश्वस्त पार्नुभएको थियो । यो भेटवार्तापछि प्रचण्ड एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुभएको थियो । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई सम्बोधन गरेर न्युयोर्कबाट हिजो बिहान चीन पुग्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डसहितको टोली सेप्टेम्बर ३० तारिख अर्थात् आउँदो शनिवार नेपाल फर्कने कार्यक्रम छ ।
चितवनको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा भरतपुर महानगरपालिकामा रहेको नेपाल एसबीआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहनुभएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिवार हिजो दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुब्नुभएको थियो । दिउँसो नुहाउने क्रममा बेपत्ता भएका उहाँको शव हिजो बेलुका भेटिएको पण्डितले जानकारी दिनुभयो ।
गण्डकी: पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन)बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र एनआरइएनका अध्यक्ष ई लोचनलाल अमात्यले हस्ताक्षर गर्नुभएको छ । समझदारीसँगै एनआरइएनले एसिया प्यासिफिक एडभान्स नेटवर्क, युएस एडभान्स अनुसन्धान र शिक्षा नेटवर्क, ट्रान्स–युरेसिया सूचना नेटवर्क, युरोपमा उन्नत नेटवर्क टेक्नोलोजीको डेलिभरी, एसियाली इन्टरनेट इन्टरकनेक्सन पहल, वाइड प्रोजेक्ट जापानमार्फत विश्वविद्यालयलाई उच्च गतिको अनुसन्धान र शिक्षा नेटवर्क जडान प्रदान गर्नेछ । यसबाट विश्वविद्यालयलाई विश्वव्यापीरूपमा विद्यार्थी, अनुसन्धानकर्ता र शैक्षिक संस्थाबीच कम्प्युटेसनल नेटवर्क स्थापित गर्न बाटो खुलेको छ । यसको पहुँचबाट विद्यार्थी तथा अनुसन्धानकर्तालाई उन्नत अनुसन्धान र शिक्षाको विकासलाई गति दिन आवश्यक पर्ने तथ्याङ्क हासिल गर्न सहज हुने विश्वास लिइएको छ । साथै एनआरइएनमा आबद्धतापछि विश्वविद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई उनीहरूको आफ्नैबाहेक राष्ट्रिय–अन्तर्राष्ट्रिय भ्रमण गर्दा इडुरोम वाइफाई इन्टरनेट पहुँच रोमिङ सेवा प्राप्त हुनेछ । विश्वविद्यालयमा अनुसन्धान तथा शिक्षा नेटवर्क सञ्चालनका लागि निकट भविष्यमा एक सूचना तथा सञ्चार प्रविधि ९आइसिटी० केन्द्र स्थापना गर्ने पोखरा विश्वविद्यालयको लक्ष्य रहेको उपकुलपति प्रा डा अर्यालले बताउनुुभयो । कार्यक्रममा एनआरइएनका अध्यक्ष अमात्य, पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन सह प्रा डा अमर नागिला, विज्ञान तथा प्रविधि सङ्कायका निमित्त डीन प्रा डा माधवप्रसाद कोइराला, पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह प्रा डा नमराज धामी, एनआरइएनका कार्यकारी निर्देशक डा राजन पराजुलीलगायतले समझदारीसँगै उच्च गतिको अनुसन्धान र शिक्षा नेटवर्कमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने बताउनुुभयो ।
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचनमा पूर्वकप्तान पारस खड्का सचिव पदमा निर्वाचित भएका छन् । पारसले अर्का सचिव पदका प्रत्याशि प्रशान्त मल्ललाई १० मतले हराउँदै सचिव पदमा जित हात पारेका हुन् । पारसले ४८ मत ल्याउँदा प्रशान्त मल्लले ३७ मत प्राप्त गरे । सचिव बाहेक अन्य प्रमुख तीन पदमा सर्वसम्मत निर्वाचित भएको थियो । अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का सर्वसम्मत निर्वाचित भएका थिए । त्यस्तै महिला सदस्यतर्फ जयन्ती देवी भट्ट सर्वसम्मत रुपमा निर्वाचित भएकी थिइन् । सात प्रदेश कोटा सदस्यमा लुम्बिनीबाट प्रदीप मजगैयाँ र कर्णालीबाट श्रीधर केरी सर्वसम्मत रुपमा निर्वाचित भएका थिए । प्रदेश कोटामा कोशीबाट अर्जुन पौडेल ४७ मतका साथ विजयी भए । अर्का प्रतिस्पर्धी सुनिल कुमार पौडेल २० मत ल्याउँदै कोशीको सदस्यमा पराजित भए । मधेश प्रदेशमा दाउद अन्सारी र माधव कर्माचार्यले समान ४२ मत लिएका थिए । चिट्ठाबाट माधव विजयी भएका थिए । त्यस्तै बागमती प्रदेशको कोटाबाट दिवाकर घले ४६ मतका साथ विजयी भए । उनका अर्का प्रत्याशि सुदीप पियाले ३६ मत लिए । गण्डकी प्रदेशको कोटाबाट सुदीप शर्मा ५२ मतका साथ विजयी भए । देब्रेन्द्र प्रजु २८ मतका साथ पराजित भए । सुदूरपश्मिच प्रदेशको कोटाबाट विक्रम विष्ट ४९ मतका साथ विजयी हुँदा हिरा रेग्मी ३१ मतका साथ पराजित भए । खुल्लातर्फ सदस्यमा धिरेन्द्र साउद ६९, विरेन्द्र ३४, दुर्गाराज पाठक ५४ मत र आयुष श्रेष्ठ ५१ मतका साथ विजयी भए । खुल्लातर्फ करण महत्रा क्षेत्री र ऋषिराम गौतमले समान २६ मत ल्याएका थिए । चिट्ठाबाट करण विजयी भएका छन् ।
काठमाडौं: त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालबाट एक वर्षमा एक लाख ५७ हजार सात सय ९१ जना बिरामीले बहिरङ्ग उपचार सेवा लिएका छन् । अस्पतालको १८औँ वार्षिक साधारणसभामा सञ्चालक समितिका सचिव मेघराज गजुरेलले उक्त अवधिमा नौ हजार एक सय ८९ बिरामीको आँखाको शल्यक्रिया गरिएको जानकारी दिनुभयो । अस्पतालले गत आर्थिक वर्ष २०७९र८० पूर्ण तथा आंशिकरुपमा आठ सय ४० जना गरिब बिरामीले उपचारमा छुट दिएको थियो । अस्पतालले उपत्यका बाहिर सञ्चालन गरेको १३ सर्जिकल आँखा शिविरमा पाँच हजार दुई सय १२ जनाको आँखा परीक्षण गरिनुका साथै नौ सय ५० जनाको शल्यक्रिया गरेको सो अवसरमा जानकारी दिइयो । अस्पतालले ३७ स्क्रिनिङ शिविरबाट नौ हजार चार सय ५२ को आँखा परीक्षण गरी ७५ जनाको शल्यक्रिया गरेको जनाएको छ । सरकारी तथा सामुदायिक विद्यालयका १४ हजार नौ सय ९४ जना विद्यार्थीको आँखा परीक्षण गरी एक हजार १० थान चश्मा वितरण गरेको तथा शिविरबाट अस्पतालमा उपचारका लागि सिफारिस भई आएका तीन सय ८४ जनाको शल्यक्रिया गरिएको जानकारी दिइयो । अस्पतालले स्वर्ण महोत्सवका अवसरमा ८० वर्ष नाघेका बिरामी तथा अपाङ्गता भएकालाई लाग्ने शल्यक्रिया शुल्कमा ५० प्रतिशत छुट दिने तथा गरिब बिरामीलाई निःशुल्क एवम् सहुलियतमा उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालले सरकार, विभिन्न सङ्घसंस्थासँगको सहकार्य र समन्वयमा सेवा विस्तार गर्ने, आँखा स्वास्थ्य शिक्षाबारे सर्वसाधारणलाई अवगत गराउने, सेवाको गुणस्तर बढाउने तथा सेवालाई विशिष्टिकृत गर्ने, नवीन उपकरण सेवा वृद्धि गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ । पछिल्लो २५ वर्षयता पहिलो पटक यसवर्ष अस्पतालले खर्च कटाएर करिब रु पाँच करोड बचत गर्न सफल भएको छ । सञ्चालक समितिका कोषाध्यक्ष सविता भण्डारीले प्रस्तुत गर्नुभएको वार्षिक आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०७९र८० मा चार करोड ९७ लाख ५९ हजार पाँच सय ६६ बचत गर्न अस्पताल सफल भएको उल्लेख छ । अस्पतालका संस्थापक वरिष्ठ आँखा चिकित्सक डा। रामप्रसाद पोख्रेल र अध्यक्ष गोपालप्रसाद पोखरेलले अस्पतालबाट प्रवाह सेवा गुणस्तरीय र प्रगतिउन्मुख रहेको बताउनुभयो । अस्पतालका आजीवन सदस्य मोति शान्ति शाक्यले अस्पतालको मोतिया बिन्दुको उपचार सेवामा सहयोग पुर्याउने हेतुले रु एक लाख नगदको चेक अध्यक्ष पोख्रेललाई हस्तान्तरण गर्नुभयो । अस्पतालले आगामी विश्व दृष्टि दिवसका अवसर पारी आगामी दिनमा काम गर्ने ठाउँमा आँखा स्वास्थ्य अभियान सञ्चालन गर्ने सोच अघि सारेको छ । उपाध्यक्ष दमनबहादुर घले र कार्यकारी निर्देशक धर्मराज गोसाईले अस्पतालले आँखा उपचारका क्षेत्रमा पुर्याउँदै आएको योगदानको चर्चा गर्दै अस्पतालले विस्तार गर्ने सामुदायिक आँखा सेवा कार्यक्रमलाई सहयोग पुर्याउन आह्वान गर्नुभयो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता शुरु भएको छ । आज विहान अमेरिकाबाट चीन पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि बीच हाङआजोमा भेटवार्ता शुरु भएको हो । भेटघाट अहिले जारी नै रहेकाले के के विषयमा छलफल भयो भन्ने खुलेको छैन । यो भेटघाटपछि प्रचण्डले दुईा घण्टा होटलमा आराम गर्ने र आजै १९ औँ एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । संयुक्त राष्ट्र संघको ७८ औँ महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री न्युयोर्कबाटै चीन जानुभएको हो । उहाँलाई बिहान चीनको हाङजाओ विमानस्थलमा चीनको केन्द्रीय जनसरकारका खेलमन्त्री एवम् १९ औँ एसियन गेम्स २०२३ का अध्यक्षले स्वागत गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड भोलि बेइजिङ पुग्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्ड र समकक्षी ली छ्याङबीच औपचारिक द्विपक्षीय भेट पर्सि सोमवारका लागि तय भएको छ । भेटमा विभिन्न सहमतिपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । न्युयोर्कको ५ दिनको भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड ८ दिने चीन भ्रमणमा जानुभएको हो ।