तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ढापटारमा पार्किङ गरी राखिएको रोलरबाट डिजेल चोरी गर्ने दुई जना पक्राउ परेका छन् । चाइना कम्युनिकेशन कन्ट्रक्सन प्रालिको रोलरबाट डिजेल चोरी गरेको अभियोगमा प्रहरीले बिहीवार हिजो दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका-५ याम्पा बस्ने २७ वर्षीय सुलोचन भट्टराई र रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० बस्ने २८ वर्षीय रामबहादुर चमार रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक खाणले जानकारी दिनुभयो । उनीहरुलाई रोलरबाट १ सय १० लिटर डिजल चोरी गरी बा २० च ७४९ नम्बरको आफ्नो गाडीमा लोड गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेकाविरुद्ध तनहुँ अदालतबाट सात दिनको म्याद थप गरिएको छ ।
काठमाडौं: आज विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य सङ्गठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । पछिल्लो समय मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ । सरकारी तथ्याङ्क अनुसार झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्टेरोल छ । १० प्रतिशतलाई मधुमेह छ । आधुनिक जीवनशैली, अस्वस्थ खानपान र अल्छिपनाका कारण मुटु रोगको जोखिम बढिरहेको मुटु रोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले बताउनुभयो । जाँडरक्सी, सुर्ती चुरोट नखाए तथा चिल्लो, पिरो बोसो, भुटेका, तारेका खानेकुरा नखाए मुटु रोगबाट बच्न सकिन्छ । यस्तै, सकभर मासु कम खाने, सागपात धेरै खाने र दैनिक शारीरिक व्यायाम गर्ने हो भने मुटु रोगबाट बच्ने सकिने मुटु रोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले बताउनु भएको छ ।
पोखरा: युनाइटेड क्लब पोखराको १४ औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री बेद बहादुर गुरुङले युनाइटेड क्लबले राष्ट्रिय स्तरको क्लबको रुपमा काम गरेको बताए । युवाहरुद्धारा स्थापित युनाइटेड क्लबले राज्यले गर्न नसकेका कामहरुलाई क्लब स्तरबाटै पहलकदमी थालेर पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा चालेको कदमको प्रशंसा गर्दै पोखरा जुलोजिकल पार्क निर्माण सम्पन्न गराउनका लागी आफ्नो ठाउबाट सहयोग गर्ने समेत बताए । त्यसैगरी क्लबले अगाडि सारेको सेती नदी संरक्षणको काममा समेत आफुले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दै गुरुङले युनाइटेड क्लबको सिको अन्य संघ संस्थाहरुले समेत गर्न जरुरी रहेको समेत बताए । त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर १० का वडा सदस्य पूर्ण चन्द्र न्यौपानेले युनाइटेड क्लब नेपालकै उत्कृष्ट क्लब मध्येमा एक रहेको वताउदै क्लबले आयोजना गर्ने जुनसुकै सामाजिक काममा पोखरा महानगरपालिका वडा नम्बर १० को साथ र सहयोग रहने बताउदै सेती नदी संरक्षणमा समेत वडाले सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गरे । युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालले बख्रेलले युनाइटेड क्लबलाई राष्ट्रिय स्तरको क्लब निर्माणको लागि पहल जारी रहेको बताउदै साहसिक सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणमा समेत युनाइटेड क्लब अगाडि वढिरहेको र त्यसको नमुना चित्र आगामी १२ औँ पोखरा महोत्सवमा प्रदशनी गर्ने समेत वताए । क्लबका पूर्व अध्यक्ष सुक बहादुर गुरुङले क्लबले स्थापना कालदेखीनै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको र उक्त कामहरुलाई आगामी दिनमा अझ गुणस्तरीय बनाउदै लैजाने बताए । अमरसिंह माबि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कोइरालाले युनाइटेड क्लब र अमरसिंह मावि बीच संधै हातेमालो गरेर अगाडि बढ्ने बताउदै युनाइटेड क्लबले लेखनाथको अर्चलेमा रहेको जग्गालाई सदुपयोग गरेर अगाडि बढ्न समेत आग्रह गरे । कोइरालाले १२ औँँ पोखरा महोत्सवको सफलताको अग्रीम सुभकामना समेत ब्यक्त गर्दै महोत्सव सफल बनाउन सहकार्य गरेर अगाडि बढ्ने समेत प्रतिवद्धता ब्यक्त गरे । क्लबका सम्पूर्ण सल्लाहकारहरुको तर्फबाट बोल्दै शुसिलराज पराजुलीले क्लबले सुरु गरेको खुल्ला चिडियाखाना पोखरा जुलोजिकल पार्क निर्माणको काम निरन्तर रुपमा अगाडि बढ्न नसकेकाले त्यस तर्फ गण्डकी प्रदेश सरकारले बिशेष ध्यान दिन आवश्यक रहेको बताए । क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले खुल्ला चिडियाखानाको अवधारणा अनुरुप चिडियाखाना निर्माण हुनुपर्छ भनेर अगाडि बढिरहदा हाल आएर बन्द चिडियाखाना बनाउन खोजिएको होकी भन्ने शंका उत्पन्न भएको बताए । सेती नदी संरक्षणमा महानगर र वडाले सहकार्य गर्न आवश्यक रहेको बताउदै युनाइटेड क्लबको सफलतामा अमरसिंह माविको उल्लेखनीय भुमिका रहेको समेत बताए । कार्यक्रममा अध्यक्ष राजु श्रेष्ठ, महासचिव दिनेश सुनार र कोषाध्यक्ष सूर्य बहादुर बानियाले अध्यक्ष, महासचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा उपस्थित सम्पूर्ण पदाधिकारी, सदस्य र सल्लाहकारहरुले ताली बजाएर प्रतिवेदन पारित गरेका थिए । महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने संस्थाका प्रथम उपाध्यक्ष गणेश तिमिल्सिनाले धन्यवाद मन्तब्य राखेका थिए ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनी बिच शिष्टाचार भेट भएको छ । बिहिवार मुख्यमन्त्री कार्यालयमा उहाँहरुबिच भेटवार्ता भएको हो । उक्त भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको समुन्नतीको प्रमुख पाटो पर्यटन रहेकाले यस क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुभयो । साथै उहाँले प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिरहेकाले दातृ राष्ट्रको सहयोगपनि यस क्षेत्रमा आवश्यक भएको बताउनुभयो । जिविकोपार्जनको क्षेत्रमा पनि सहकार्य गर्न सकिने बताउँदै उहाँले भन्नुभयो ‘बसाईँसराई रोक्न र गाउँमै रोजगारीको अवसर सिर्जना गर्ने खालका प्रोजेक्टमा हामीलाई सहयोगको खाँचो छ, सहकार्य गर्न सक्छौँ ।’ प्रदेश सरकारको प्राथमिकताको क्षेत्रहरु व्यवशायीक कृषि, स्वास्थ्य, शिक्षामा पनि दातृ निकायसँग सहकार्य गरेर अघि बढ्न सकिने मुख्यमन्त्री पाण्डेले बताउनुभयो । भेटमा अमेरिकी उप विदेशमन्त्री एवं आप्रवासन बिभागका उप सहायक सचिव वाईनीले बिगतदेखि नेपाल र अमेरिकी सरकार बिचको संम्बन्ध अहिलेपनि सौहार्द रहेको बताउँदै सरकारको प्राथमिकताका क्षेत्रहरुमा सहकार्य हुने बताईन । साथै उनले पहिलो पटक पोखरा आएको बताउँदै यहाँको सुन्दरताले पर्यटकलाई आकर्षित गर्न सक्ने आफुलाईपनि निकै सुन्दर लागेको बताईन । भेटघाटमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव लक्ष्मी बस्नेत र प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा।कृष्णचन्द्र देवकोटाले विपद् पूर्व तयारी र प्रतिकार्य, सुद्ध पिउने पानी र सरसफाई, स्वास्थ्य, साक्षरता, जिविकोपार्जन, दिगो आर्थिक बिकासको अवस्था र संभावनाका बारेमा जानकारी गराउनुभएको थियो । भेटघाटमा प्रदेशसँगको संम्बन्ध र मित्रताको बारेमा छलफल भएको छ । साथै गण्डकी प्रदेश र अमेरिकी सरकारबीचको सहयोग आदानप्रदानको विषयमा कुराकानी भएको थियो ।
पोखरा: वरिष्ठ लोक तथा दोहोरी गायक नारायण रायमाझी निर्देशित परदेशी–२ प्रमोसनका लागि देशदौडाहामा छ । चितवन –नेपालगञ्ज–बुटवल हुँदै पोखरा आइपुगेको परदेशी–२ को निर्माण टोलीले दशैंको छेको पारेर असोज २६ गतेबाट प्रदर्शन हुने जानकारी दिएको छ । निर्देशक रायमाझीले प्रकाश सपुतको गृह जिल्लामा भोलि (शुक्रबार) पहिलो प्रिमियर शो हुने बताए । उनले उच्च शिक्षाका लागि विदेशीने क्रम बढ्दो कथालाई चलचित्रको मुख्य भागमा राखिएको बताए । फिल्ममा कक्षा ११/१२ उत्तिर्ण गरेपछि देश छोड्ने परिपाटी बढ्दो छ’, उनले भने, ‘उच्च शिक्षाका लागि विद्यार्थीहरु किन विदेश जान्छन् भन्ने विषय फिल्ममा देखाउन खोजिएको छ ।’ लोकप्रिय गायक प्रकाश सपुत परदेशी–२ बाट फिल्मीमा डेब्यु गरेका हुन् । उनले हिरो भन्ने सपना पुरा भएपनि आगामी दिनमा चलचित्रलाई नै मुख्य पेशा बनाउने सोच नरहेको तर्क राखे । ‘परदेशी–२ मा म नै नायक हुन्छु भन्ने लागेको थिएन, हिरो बन्ने सपना आफ्नै म्युजिक भिडियोमा बोलेको थिए’, सपुतले भने, ‘रायमाझी सरले एक्कासी फोन गर्नुभयो, मैले सोचे कुनै गीत अथवा रोल होला भनेको तर प्रमुख पात्र नै भनेर सोचेको थिएन ।’ उनले फिल्ममा गाउँदेखि शहरसम्मको कथा समिटिएको बताए ।‘गाउँ हे¥यो गाउँ खाली छ, शहर आयो शहर खाली छ, हेर्दा हेर्दै देशबाट नै युवाहरु खाली हुँदै छन्’, उनले भने, ‘गाउँदेखि शहर, शहरदेखि देशको कथा परदेशी–२ ले समेटेको छ ।’ आफुमा हिरो बन्ने हुटहुटी भएका कारण नै चलचित्रमा आएको सपुतको भनाई छ ।‘हिरो बन्ने सपनासहित हुटहुटीमा मनैमा राखेको थिए, जुन आज आएर पूरा भएको छ’, उनले भने, ‘सपना र हुटहुटी भएकै कारण ठुलो पर्दामा देखिदै छु ।’ परदेशी–२ की नायिका केकी अधिकारीले विविध कारणले परदेशीका नेपालीहरुको कथा फिल्ममा प्रस्तुत हुने बताईन् । यो उनको ३३ औं चलचित्र हो । ‘यो फिल्मीसँगै मैले ३३ औं फिल्मीमा अभिनय पूरा गरे, सबैमा आफ्नो बेस्ट दिएकी छु’, नायिका अधिकारीले भनिन्, ‘विविध कारणले परदेशीका नेपालीहरुको कथा फिल्ममा देखाउन खोजिएको छ, बाँकी चलचित्र नै हेर्न अनुरोध छ ।’
अछाममा एक गर्भवतीको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ। ढकारी गाउँपालिका वडा नम्बर–७ निवासी २५ वर्षिय मंगली थापाको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। थापालाई लगातार ज्वरो आएको, ब्लड प्रेसर कम भएपछि थप उपचारका लागि महिला बालबालिका तथा राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए।
सर्लाहीमा जलाउन तयारी अवस्थामा रहेको एक विवाहित युवतीको शव प्रहरीले नियन्त्रणमा लिएको छ। रामनगर गाउँपालिका-१ की २२ वर्षीय मनिषा शाहको शव प्रहरीले नियन्त्रणमा लिएको हो। घटना शंकास्पद भएको भन्दै प्रहरीलाई गोप्य सुचना प्राप्त भएपछि बुधबार साँझ घाटमै पुगेर शव नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारूले जानकारी दिए। परिवारले आत्महत्या गरेको भनेपनि कानुनी प्रक्रिया पुरा नगरी शव जलाउन लागेको सुचना प्राप्त भएपछि नियन्त्रणमा लिएका हौं,ु डिएसपी पंजियार थारूले भने, माइतीपक्षले भने हत्या भएको दावी गरेका छन्। पोस्टमार्टमका लागि युवतीको शव प्रादेशिक अस्पतालमा मलंगवा लगिएको छ। साथै अनुसन्धानका लागि उनका श्रीमान सुनिल शाह, ससुरा रामेश्वर शाह र देवर रामबहादुरलाई नियन्त्रणमा लिएको डिएसपी पंजियार थारूले बताए।
गलकोट: बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एक जना कर्मचारीको भरमा सञ्चालनमा छ । पाँच जनाको दरबन्दी रहेको बोर्ड तीन महिनादेखि एक जना कर्मचारीको भरमा छ । बिहान ९ बजेदेखि सेवाग्राही कार्यालयमा पुग्छन् । कार्यालयमा कर्मचारीको नाममा कार्यालय सहयोगीसमेत नहुँदा स्वास्थ्य बीमा बोर्ड बागलुङको कार्यालय अस्तव्यस्त भएको बोर्ड स्थापनादेखि काम गर्दै आउनुभएका दर्ता अधिकारी नारायण शर्माले बताउनुभयो । स्वास्थ्य बीमा गर्नेको सङ्ख्या दिनानुदिन बढ्दै गएको जनाउँदै उहाँले तीन महिना अघि एकसाथ तीन कर्मचारीले बोर्ड छोड्दा समस्या भएको बताउनुभयो । “स्वास्थ्य बीमाको जानकारी लिन, हराएको कार्ड बनाउन सेवाग्राही आउँछन् । कार्यालयमा जिल्लाभर छरिएका दर्ता सहयोगीले फोन गरिरहन्छन् । एक जनाले सेवाग्राहीसँग कुरा गर्ने कि फोनमा दर्ता सहयोगीसँग कुरा गर्ने रु”, शर्माले भन्नुभयो । उहाँका अनुसार बीमामा आबद्ध नागरिकको फर्म दर्ता सहयोगीबाट सङ्कलन गर्न समस्या भइरहेको छ । शर्माले बीमा गर्ने सङ्ख्यामा वृद्धि भएकाले एक्लै फर्म अपडेट गर्न समस्या भइरहेको बताउनुभयो । “सुरुमा दुई जना कर्मचारी थियौं, बीमा कर्ता थोरै हुनुहुन्थ्यो, अहिले बीमा गर्नेको सङ्ख्या वृद्धि भइरहेको छ, दर्ता सहयोगीबाट आएको फर्म सङ्कलन गर्न नै नभ्याउने अवस्था आइसक्यो, अपडेटका लागि रातिको समय व्यवस्थापन गरेको छु”, उहाँले भन्नुभयो, “यो हाम्रो मात्रै समस्या हैन गण्डकी प्रदेशभर यस्तै छ भन्ने सुनेको छु, बीमा गर्नेको सङ्ख्या बढ्ने कर्मचारी घट्ने भएको छ । तीन महिना अघि तीन जना स्वास्थ्यका कर्मचारी हुनुहुन्थ्यो, मन्त्रालयको पत्र आएपछि जानुभयो ।” जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या ४३ प्रतिशत पुगिसकेको दर्ता अधिकारी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा हाल एकलाख १० हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन् । आगामी असार मसान्तसम्म ५० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराउने लक्ष्य रहेको कार्यालयले जनाएको छ । जिल्लामा ७८ जना दर्ता सहयोगीमार्फत घर–घरमै पुगेर स्वास्थ्य बीमा गराउने कार्य भइरहेको जनाउँदै शर्माले बोर्डको कार्यालयमा कर्मचारी अभाव हुँदा समस्या भइरहेकाले तत्कालै समाधान गर्नुपर्नेमा जोड दिनुभयो । पाँच जनाको दरबन्दी रहेको बागलुङमा एक जनाको भरका कार्यालय सञ्चालन हुँदा बिरामी पर्दा कार्यालयनै बन्द गर्नुपर्ने अवस्था आउने गरेको उहाँको भनाइ थियो । बागलुङमा मात्रै नभएर गण्डकी प्रदेशमै कर्मचारी अभाव रहेकाले समस्या भएको स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश संयोजक महेशप्रसाद ठाकुरले बताउनुभयो । उहाँका अनुसार कर्मचारीका लागि बोर्डले परीक्षा लिइसकेको र नतिजा प्रकाशनको तयारीमा रहेकाले केही समयमै थप कर्मचारी आउने तयारी भइरहेको छ । “कर्मचारीको समस्या बागलुङमा मात्रै होइन गण्डकी प्रदेशका छ जिल्लामा छ । बागलुङमा धेरै बिमित भएकाले समस्या बढी नै भइसक्यो”, ठाकुरले भन्नुभयो, “जिल्लामा एक लाख १० हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । एक जना कर्मचारीको भरमा कार्यालय सञ्चालन धइरहेको छ । हामीले कर्मचारी ल्याउन केन्द्रमा पहल गरिरहेका छौंँ ।” अन्य जिल्लामा भन्दा बागलुङमा बीमा कार्यक्रम पहिला सुरु भएको र जनसङ्ख्या पनि धेरै भएकाले बढी समस्या भएको उहाँले बताउनुभयो । बागलुङसहित स्याङ्जा, पर्वत, मनाङ, मुस्ताङ र गोरखामा समेत एक जना कर्मचारीकै भरमा कार्यालय सञ्चालन भइरहेको संयोजक ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार बोर्डमा अध्यक्ष नहुँदा कर्मचारीको नतिजा प्रकाशनमा ढिलाइ भइरहेको छ । नतिजा प्रकाशनसँगै यो समस्या समाधान हुने बताउँदै बागलुङमा कम्तीमा तीन जना कर्मचारी आवश्यकपर्ने ठाकुरले बताउनुभयो । उहाँका अनुसार हाल गण्डकी प्रदेशमा नौ लाख २८ हजार चार सय ५९ नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् ।