काठमाडौ: कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको केन्द्रीय पुस्तकालयमा अन्तरराष्ट्रियस्तरको पुस्तक नम्बर (आइएसबिएन) मा अहिलेसम्म करिब ६० हजार पुस्तक दर्ता भएका छन् । तीमध्ये पुस्तकालयमा २७ हजार पुस्तक मात्रै प्राप्त भएको जनाइएको छ । नेपालबाट प्रकाशित हुने पुस्तकलाई अन्तरराष्ट्रिय बजारमा लैजानका लागि सो आइएसबिएन नम्बर अनिवार्य रुपमा लिनुपर्ने हुन्छ । पुस्तक प्रकाशकले सो आइएसबिएन प्राप्त गरेपछि पुस्तकलाई विश्व बजारमा किनबेच गर्न सकिन्छ । आइएसबीएनको व्यवस्थाले नेपालबाट के कति पुस्तक प्रकाशित भए भनेर अभिलेख राख्नसमेत सहज हुने केन्द्रीय पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदी बताउँछन् । सन् २००० मा नेपालले यसको सदस्यता प्राप्त गरेको थियो भने २०५६ माघ २२ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आइएसबिएनको शुभारम्भ गरेका थिए । त्यतिबेला इन्टरनेसनल स्ट्यान्डर्ड बुक नम्बरको केन्द्रीय कार्यालय जर्मनीमा रहेकामा हाल बेलायतको लन्डनमा रहेको छ। सो कार्यालयले आइएसबिएन वितरणको जिम्मा नेपालमा भने त्रिवि केन्द्रीय पुस्तकालयलाई प्रदान गरेको छ । पुस्तकहरुलाई प्रदान गरिने अन्तरराष्ट्रिय मानक पहिचान निःशुल्क नै दिने सो कार्यालयको प्रावधान रहे पनि नेपालमा भने शुल्क लिने गरिएको र त्यसवापत जम्मा हुने रकमको सदुपयोग नभएको नेपाल पुस्तक सङ्घले दाबी गरेको छ । यसमा छानबिन गरी आइएसबिएनबापत उठाइने रकमको नियमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, त्रिवि उपकुलपतिको कार्यालय, केन्द्रीय पुस्तकालयलगायत विभिन्न निकायसमक्ष ज्ञापनपत्र बुझाएको छ । यसरी लिने गरिएको रकमको कुनै अभिलेख नभएको र अमुक संस्थासँग मिली भागबन्डाका रुपमा प्रयोग गर्ने गरिएको ज्ञापनपत्रमा उल्लेख छ । केन्द्रीय पुस्तकालयले सुरुमा रु २५ बाट सुरु भएर हाल रु तीन सय लिने गरेको छ । पुस्तकलाई दिइने यस्तो नम्बर विश्वव्यापीरुपमा मेसिनद्धारा पुस्तक पहिचान गरी प्रयोग गर्ने उद्देश्यले बनाइएको हो, तर व्यवहारमा भने त्यसो भएको पाइएको छैन । नेपाली प्रकाशक तथा लेखकहरुलाई निःशुल्क दिनुपर्ने उक्त आइएसबिएन वापत रकम लिएर गर्ने गरेको भए पनि उपयुक्त ढङ्गबाट त्यसको दर्ता भएको पाइएको छैन । क्रमाङ्क नम्बर वितरण पद्धतिलाई सूचना प्रविधिको माध्यमबाट व्यवस्थित नगरी झारा टार्ने काम मात्र गरिनुले सम्पूर्ण नेपाली प्रकाशक तथा लेखकहरुमाथि अन्याय भएको सङ्घका महासचिव महेन्द्र सिवाकोटीले बताए । नेपाली नागरिकले बुझाएको रकम सरकारी कोषमा दाखिला हुनुपर्नेमा त्यसो नगरी भागवण्डामा दुरुपयोग भएको हुँदा यसको तत्काल निस्पक्ष छानबिन गरी दोषीलाई कारवाही हुनुपर्ने, त्यसो नभएमा अदालतमार्फत कानूनी उपचार खोजिने उनको भनाइ छ । हालसम्म उक्त क्रमाङ्कबापत उठेको लगभग एक करोड साठी लाख रुपैयाँबाट प्रकाशक र लेखकहरुबाट उपलब्ध गराएका पुस्तकहरुको छुट्टै पुस्तकालय स्थापना गर्नुपर्ने र त्यसका लागि आवश्यक भौतिक संरचना र सामग्री किन्ने भनिए पनि हालसम्म त्यस्तो कुनै पनि काम भएको सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यता पुस्तकालयका निमित्त प्रमुख सुवेदीले भने आइएसबिएनबापत उठेको रकममा कुनै हिनामिना नभएको, पारदर्शी ढङ्गबाट हिसाब राखिएको र निश्चित प्रक्रियाअनुसार नै खर्च हुने हुँदा अनियमित नभएको बताए । उनले २०५६ सालदेखि पुस्तक विक्रेता तथा प्रकाशन सङ्घसँगको सहकार्य रहँदै आएको बताउँदै २०६९ सालतिर नेपाल पुस्तक सङ्घ दर्ता भई आफूहरुलाई पनि यसमा समावेश गर्न आग्रह गरेकामा त्यसो नहुँदा असन्तुष्टि व्यक्त भएको हुनसक्ने बताए ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । नवनियुक्त राजदूतहरुले बुधबार राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । राष्ट्रपति भवनका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार शपथ ग्रहण गर्नुहुनेमा फ्रान्सका लागि सुधीर भट्टराई, संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल र स्वीट्जरल्याण्डका लागि रामप्रसाद सुवेदी हुनुहुन्छ ।
पोखरा: पोखरा सांगीतिक कलाकार संघले आयोजना गर्न लागेको इन्टर कलेज व्याण्डक कम्पिटिनसको तयारी पुरा भएको छ । पोखरामा आज पत्रकार सम्मेलनको आयोजना गर्दै कम्पिटिसनको सम्पूर्ण तयारी पूरा भएको बताइएको हो । संघका सचिव भाष्करध्वज श्रेष्ठले पोखराको प्रदर्शनी केन्द्रमा आगामी असोज १२ र १३ गते हुने सो प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार पो प्रतियोगिताका लागि २१ टिमको छनोट भएको छ । उनले अन्तिम चरणका लागि १० कलेजका व्याण्ड छनोट हुने बताए । उनका अनुसार प्रथम हुने समूहले नगद रु १ लाखसहित शिल्ड र प्रमाणपत्र पाउनेछन् । यस्तै द्वित्तिय र तृतीय हुने समूहले क्रमश नगद रु ५० हजार, २५ हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । कम्पिटिसनमा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाईपनि नगद ५/५ हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए । सो कम्पिटिसनमा निर्णायकका रुपमा किरण वैद्य, अमित गुरुङ, सामसुङ तामाङ, सुनिल थापा र विनोद बाँनिया रहने आयोजकले जनाएको छ । कम्पिटिसन पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले आयोजना गरिएको बताइएको छ ।
पोखरा: पोखरा मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सकलाई आक्रमण भएको भन्दै पोखरेली चिकित्सकहरुले अनिश्चितकालिन आन्दोलनको घोषणा गरेका छन् । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरुले अनिश्चिकालिन आन्दोलन सुरु गरेका हुन् । मणिपाल शिक्षण अस्पताल लगायतका विभिन्न स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरुले पोखरा महानगरपालिकाको कार्यालयबाट ¥यालीसहित सभागृह, सृजनाचोक, राष्ट्रबैङ्क चोक हुँदै जिल्ला प्रशासन कार्यालय कास्की अगाडि पुगेर कोण सभा गरे । सो अवसरमा बोल्दै अगुवाहरुले आफुहरु असुरक्षित भएको भन्दै काममा फर्किने वातावरण नभएकाले अनिश्चितकालिन आन्दोलनको घोषणा गर्नुपरेको तर्क राखे । उनीहरुले अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा राजनीतिकरण हुनु अन्यायपूर्ण भएकाले विभिन्न ऐजेण्डासहित आन्दोलनमा उत्रेको बताए । यसअघि ¥यालीमा सहभागी चिकित्सकहरुले ‘स्वास्थ्यकर्मी सबै विदेश जाउ देश धामी झाक्रीलाई छोडौं, स्वास्थ्य संकटकाल घोषणा गर, सेतो कोटमा रातो दाग, सुरक्षित चिकित्सा हाम्रो माग, काँपेको हातले उपचार गर्न सक्दैन, अत्याचार सहि, लाचार भै बस्दैनौ अब’ लगायतका प्ले कार्डसहित नाराबाजी गरेका थिए । स्वास्थ्यकर्मीहरुले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयनको माग समेत राखेका छन् । लमजुङको सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीया सुकमाया दुराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधनभएपछि चिकित्सकको लापरवाहीले मृत्युभएको भन्दै आफन्तले हातपात गरेपछि मणिपाल अस्पतालमा तनावग्रस्त बनेको थियो । अहिले चिकित्सकमाथि आक्रमण भएको भन्दै पोखराका अस्पतालहरुले आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गरेका छन् । फोटो/भिडियो: सुशान्त गाहा गमर
दाङमा ९ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरूष पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका-१४ भेटनरी बस्ने ४० वर्षीय टेकबहादुर विक पक्राउ परेका हुन्। उनलाई अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो। बालिकाका परिवारले सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएका थिए। सोही उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
पाेखरा: २०३१ सालपछि फेवातालको जग्गा १६ सय रोपनी बढी अवैध दर्ता भएको विभिन्न अध्ययन र प्रतिवेदनले देखाएको छ । यसरी भएका सबै दर्ता खारेज गर्न अदालतले आदेश दिएको हो । ३१ सालमा फेवातालमा लगाइएको बाँध फुटेपछि सतह घट्दा धेरैले अतिक्रमण गरेको र विविध तरिकाले लालपुर्जासमेत लिएको कारण हालको तालमुनि पनि व्यक्तिको वैध जग्गा छ । जसको लालपुर्जा लिएर उनीहरु बेलाबखत आन्दोलन गर्दै आएका छन् । तर पछिल्लो फैसालाले भने व्यक्तिको नाममा रहेको जग्गालाई अवैध भनिएको छ । जसअनुसार उनीहरुले मुआब्जा पाउने छैनन् । ‘विक्रम संवत २०१८ देखि २०३१ सम्म कायम रहेको ताल र तालको डिल भन्दा बाहिरको जग्गाको हकमा मात्र कानुन बमोजिम मुआब्जा दिनुपर्ने देखिँदा सो पहिचान गरी उचित मुआब्जा दिने व्यवस्था मिलाउनू,’ आदेशमा भनिएको छ । आदेश अनुसार ३१ सालपछि फेवाताल घटेको अवस्थामा जग्गा दर्ता गरी भोगचलन गरेको हकमा अब उनीहरुको स्वामित्व नरहने भएको छ ।
बनेपामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मंगलबार राति ९ बजे बनेपा नगरपालिका-७ धनेश्वर गेट नजिकै टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। बनेपाबाट पनौती जाँदै गरेको बा-८४ प ६९५९ न को मोटरसाइकललाई विपरीत दिशाबाट आएको बा-४ ख-९९७५ न को टिपरले ठक्कर दिएको थियो। ठक्करबाट काभ्रे रोशी गाउँपालका-८ खार्पाचोकका ३९ वर्षीय सिद्धिकुमार लामा घाइते भएका थिए। घाइतेपछि उनलाई उपचारका लागि शिर मेमोरियल अस्पतालमा लगिएको थियो। उनको टाउकोमा गम्भीर चोट लागेको थियो।थप उपचारका लागि उनलाई अन्नपूर्ण न्युरो अस्पतालमा लगिएको थियो। त्यहाँ बुधबार बिहान सवा ५ बजे मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दियो।
रुकुमपश्चिम: रुकुमपश्चिममा वनको रुख फँडानी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक वडाध्यक्ष छन् । अवैध रूपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्से ओलीसहित चार जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वडाध्यक्ष ओलीसहित ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी र ५१ वर्षीय दिलबहादुर शाह रहेका छन् । डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारका अनुसार वडाध्यक्ष ओलीलाई मङ्गलबार, नेपाली र केसीलाई यही असोज ८ गते र शाहलाई भदौ २९ गते नै पक्राउ गरिएको हो । उहाँहरूविरुद्ध चौरजहारी–११ स्थित जनकल्याण सामुदायिक वन र सोही स्थानमा अवस्थित सर्केना सामुदायिक वन क्षेत्रका रुख अवैध ढङ्गले फँडानी गरेको आरोप छ । आरोपी चारै जनालाई अदालतबाट पक्राउ पूर्जी जारी भएपछि डिभिजन वन कार्यालयले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ । पक्राउ परेका वडाध्यक्ष ओली २०७९ वैशाखमा भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित हुनुभएको हो । रासस
चितवन: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उहाँले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दिन प्रतिदिन दुःखद घटना भएका छन् । यो खेदजनक छ । यसका बारेमा पटक–पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबीच छलफल भइरहेको छ ।” गृहमन्त्रालयले शान्ति सुरक्षाको प्रत्याभूति गराउने विषयमा छलफल भइसकेको भन्दै उहाँले चिकित्सकहरूलाई काममा फर्कन अनुरोध गर्नुभयो । उहाँले थप्नुभयो, “हाम्रो ऐनमा उल्लेख भएका स्वास्थ्यसम्बन्धी सुरक्षाका विषयलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्ने र आगामी दिनमा यस्ता घटना नहुन् भनेर सबै सक्रिय रहने विषयमा छलफल भयो ।” शान्ति सुरक्षा गृह मन्त्रालयले दिने गरी छलफल भएको उहाँको भनाइ थियो । मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन लागू भएसँगै बन्द भएका शैक्षिक संस्थाहरू छ महिनाभित्र सञ्चालनमा ल्याइने बताउनुभयो । यस ऐनले गर्दा दुर्गममा अस्पताल खोल्ने, चिकित्सक पुर्याउने राम्रो देखिएको भए पनि दक्ष जनशक्ति उत्पादनमा भने समस्या देखिएको उहाँले बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, “यही अवस्था रहे पाँच वर्षमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मी नभेटिने अवस्था आउन सक्छ ।” यसका लागि चिकित्सा शिक्षा ऐन संशोधन गरेर बन्द भएका संस्था सञ्चालनको तयारीमा सरकार रहेको उहाँको भनाइ थियो । शिक्षामा गुणस्तरीयता कायम गर्दै शुल्क निर्धारण पनि सरकारले गर्ने मापदण्ड बनाएर बन्द भएका संस्था सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो । फरक प्रसङ्गमा मन्त्री बस्नेतले स्वास्थ्य बीमा बोर्डका कारण केही अस्पतालमा बिरामीको चाप बढ्ने र केही बन्द हुने अवस्थामा पुगेको धारणा राख्नुभयो । यसलाई नियमन गर्नका लागि मन्त्रालय लागिपरेको उहाँको भनाइ छ । पक्षपातपूर्ण तरिकाले काम भएको भन्ने गुनासो बढेपछि आफैंले यसलाई हेरिरहेको उहाँको भनाइ थियो । यसलाई चाँडै नै सहज बनाएर अघि बढ्ने उहाँले बताउनुभयो । ‘आँखा उपचारमा सामुदायिक क्षेत्रको योगदान महत्वपूर्ण’ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सामुदायिक क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल नेत्रज्योति सङ्घ चितवनले आज भरतपुर आँखा अस्पतालमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सरकारले आँखा उपचारमा पर्याप्त काम गर्न नसकेको बताउनुभएको हो । मन्त्री बस्नेतले राजधानी बाहिर आँखाको उपचारमा देशले हेर्नलायक र बिरामीले सुविधा पाउने खालको अस्पताल भरतपुरमा स्थापना गरेको भन्दै यसलाई अझै विस्तार गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “७७ जिल्लामा आँखाको क्षेत्रमा राजधानी बाहिरको देशले हेर्नलायक, बिरामीले सुविधा पाउने खालको अस्पतालका रूपमा यो अस्पताल स्थापित गर्नुभएको छ ।” उहाँले थप्नुभयो “आफ्नै मेहनत र परिश्रमले भएको यो प्रगतिमा सरकारको ध्यान जान्छ ।” आँखा उपचार सेवालाई विस्तार गर्न आग्रह गर्दै उहाँले सरकारको तर्फबाट प्रक्रियागतरूपमा सहयोग गर्न आफू तयार रहेको बताउनुभयो । अस्पतालको आफ्नै नाममा जग्गा नहुँदा समस्या भएको भन्ने गुनासोप्रति सम्बोधन गर्दै उहाँले मन्त्रिपरिषदबाट निर्णय भइसकेको र लालपुर्जा धनीका तर्फबाट कुनै अवरोध नभएकाले यो समस्याको समाधान हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “लालपुर्जाको विषय मन्त्रालयमा छलफल चलाउँछु, प्रधानमन्त्रीसमक्ष पनि राख्छु ।” सो अवसरमा सङ्घका केन्द्रीय सदस्य चिजकुमार मास्के, जिल्ला सभापति जयराम श्रेष्ठ, सचिव केशव अधिकारी र अस्पताल प्रशासक दयाशङ्कर चौधरीले अस्पतालका गतिविधि र समस्याका बारेमा जानकारी गराउनुभएको थियो । रासस