कञ्चनपुर:  महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको ...

गुल्मी:  पहिरोमा पुरिएर गुल्मीमा १ जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर प्युठानको गौमुखी गाउँपालिका–३ का १७ वर्षीय डोरबहादुर घर्तीको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक ९एसपी० नविनकिशोर प्रधानले जानकारी दिनुभयो ।   रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा शेरबहादुर बेलबासेको घर निर्माण गर्ने क्रममा माथिबाट पहिरो खस्दा घर्तीको घटनास्थलमै ज्यान गएको एसपी प्रधानले बताउनुभयो ।   पहिरोमा परेर घरधनी ७९ वर्षीय शेरबहादुर बेलबासे र प्युठानको गौमुखी–३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएका छन् ।   गुल्मीमा गएको ३ दिनदेखि लगातार पानी परिरहेको छ । वर्षाका कारण गुल्मीको जनजीवन प्रभावित भएको छ ।

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने गरी आफूले काम गर्न चाहेको र आफूसँग नेपाललाई डिजिटल नेपाल बनाउने सपना रहेको बताउनुभएको छ । आज (सोमबार) चीनको बेइजिङस्थित डिजिटल कम्पनी हुवावेको निरीक्षणपछि दिनुभएको प्रतिक्रियामा उहाँले सो धारणा राख्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विश्वमा बढ्दो विज्ञान एवम् सूचना प्रविधिको विकाससँगै अहिलेको विश्व विस्तारै डिजिटल स्वरुपमा गइरहेको छ, हामीले पनि नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने सपना देखेका छौँ ।” उहाँले हाल नेपाल विज्ञान प्रविधिको विकासको प्रारम्भिक चरणमै रहेकाले नेपालमा सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभयो । नेपालमा चीनका उद्योगी व्यवसायीहरुले गर्ने लगानीका क्षेत्रहरु धेरै भएको र तीमध्ये पनि नयाँ र लाभ लिन सकिने एक क्षेत्र भनेको सूचना प्रविधि रहेकाले यस क्षेत्रमा लगानीका लागि उहाँले चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभयो । नेपालमा लगानी गर्न आउने विश्वका सबै लगानीकर्ताको लगानीको सुरक्षा नेपाल सरकारले गर्ने र लगानीका लागि आवश्यक वातावरण पनि निर्माण गरिदिने प्रतिबद्धता पनि उहाँले सो अवसरमा व्यक्त गर्नुभएको थियो । हाल चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डसहित उहाँको प्रतिनिधिमण्डल आज सो कम्पनीको मुख्यालयमा पुगेको थियो । कम्पनीका उच्च अधिकारीहरुले प्रधानमन्त्रीलाई विशेष स्वागत गरेका थिए । उक्त बहुराष्ट्रिय कम्पनीले मोबाइल फोन, ल्यापटपलगायतका इलेक्ट्रोनिक वस्तुहरु उत्पादन गर्ने गर्दछ ।

काठमाडौं:  साफ यू–१९ च्याम्पियनसिपमा घरेलु टोली नेपालले माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । समूह ए को अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । समूह ए बाट पाकिस्तान समूह विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । नेपालको जितमा समिर तामाङले दुई, प्रशान्त लक्सम र निराजन धामीले एक एक गोल गरे । नेपालले १७ औं मिनेटमा पहिलो गोल गरेको थियो । यस प्रतियोगितामा पहिलो पटक सुरुवात–११ मा स्थान बनाएका प्रशान्त लक्समले पहिलो गोल गरेका थिए । दोस्रो गोल समीर तामाङले गर्दै अग्रता बढाएका थिए । नेपालले १७ औं मिनेटमा खेलमा अग्रता लिएको थियो। लक्समले बक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो। ३० औं मिनेटमा नेपालको अग्रता दोब्बर भयो। निराजन धामीको थ्रु–पासमा समीर तामाङले गोल गरेका थिए । ३४ औं मिनेटमा दुवै टोलीका खेलाडीले रातो कार्ड खाएपछि १०–१० जनामा सीमित हुन पुग्यो । माल्दिभ्सका कप्तान मोहम्मद हसन र नेपालका सुजन डंगोल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दुवै टोली १० जनामा खेल्नु परेको थियो । दोस्रो गोलपछि नेपालका सुजनले माल्दिभ्सका कप्तान हसनलाई अफ बलमा धकलेका थिए । त्यसपछि हसन उठेर जंगिएपछि दुबै खेलाडीले रातो कार्ड खाएका थिए । दोस्रो हाफको पहिलो मिनेटमा नै नेपालले अग्रता बढाउने मौका प्राप्त गर्यो । लक्समको पासमा समिर तामाङले वान भर्सेस वान अवसर खेरा फालेका थिए । ५८औं मिनेटमा माल्दिभ्सले एक गोल फर्कायो । अहमद नजिरको क्रसमा आदम रशिदले गोल गर्दै माल्दिभ्सले नेपालको अग्रता एक गोलमा घटाएको थियो । ७९औं मिनेटमा माल्दिभ्सले खेल बराबरी गर्ने सुनौलो अवसर खेरा फाल्यो। शहान रशिदको पासमा मोहम्मद फाजिनले पनि वान भर्सेस वान अवसरमा गोल गर्न सकेनन् । नेपालको लागि तेस्रो गोल ८८ औं मिनेटमा निराजन धामीले गरेका थिए । प्रशान्तको कटिइनमा निराजनले ६ ट्यापिङ गर्दै जित पक्का गरे । अतिरिक्त समयको चौथो मिनेटमा समिरले गोल गर्दै नेपाललाई सानदार जित दिलाए । नेपालले सेमिफाइनलमा समूह बी को विजेतासँग खेल्नेछ । भारत र भुटान बीच समूह विजेता बन्न ५: ३० मा खेल हुँदैछ ।

काठमाडौं:     वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाण्डौमा भण्डारण गरिराखेको ७० हजार किलो चिनीको गोदाममा सिल गरेको छ । चिनीको अस्वाभाविक मूल्यवृद्धि भएको सन्दर्भमा अनुगमन गर्ने क्रममा गएको बिहीवार शङ्कास्पद गोदाममा सिल गरेको विभागका निर्देशक आनन्दराज पोखरेलले जानकारी दिए ।  a काठमाडौंको कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेड लिङ्कको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएकोले चिनीको गोदाम सिल गरेर गुणस्तर जाँचका लागि नमुना प्रयोगशालामा पठाएको उनले बताए । भाउ बढाएर कालोबजारी गरेको बारेमा पनि अध्ययन गरिरहेको तर प्रमाण नभेटेकोले गुणस्तर मापनको प्रतिवेदन पर्खिरहेको उनले बताए । केही समयदेखि चिनीको भाउ अस्वाभाविक रूपमा बढिरहेको छ । एक महिना अघिसम्म किलोको एक सय रुपैयाँमा पाइने चिनी अहिले एक सय ३० रुपैयाँभन्दा धेरै पुगेको छ ।

सोलुखुम्बु:   सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लाको माइक्रो हाइड्रोपावरको सामग्री ३ महिनादेखि फाप्लुमा रोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरबाट सामग्री ढुवानीमा रोक लगाएसँगै यी सामग्रीहरु ३ महिनादेखि फाप्लु एअरपोर्टमै रोकिएको हो ।   काठमाडौंबाट ल्याइएको विद्युत् सामग्रीहरुमध्ये सानो सामानहरु जहाजमार्फत् लुक्ला लगिएको छ भने हेलिकप्टरमा सिलिङ गरेर लैजानुपर्ने ठूला सामग्रीहरु भने फाप्लुमै अलपत्र परेको लुक्लाका वडाध्यक्ष आङ फुर्वा शेर्पाले बताए । उनका अनुसार विद्युतको टर्वाइन, जेनेरेटर, विद्युत् हिटर, ट्रान्सफर्मर, कन्ट्रोल प्यानल लगायतका वजनदार सामग्रीहरु फाप्लु एअरपोर्टमै थन्किएका छन् । सामग्री लैजान वडा कार्यालयले प्राधिकरणलाई पत्र नै काटे पनि सुनुवाइ नहुँदा समस्या भएको वडाध्यक्ष शेर्पाले बताए । सामग्री नपुग्दा लुक्लाको बमखोला लघुजलविद्युत् आयोजनाको एउटा गृहको विद्युत् उत्पादन ठप्प रहेको छ । लुक्ला क्षेत्रका झण्डै ४५० घरधुरीका लागि यो आयोजनाले दुई वटा विद्युत् गृहबाट विद्युत् उत्पादन गर्दै आएको करिब १६ वर्षअघि स्थापना गरेको विद्युतमा खराबी आएका कारण मुख्य मेसिन नै परिवर्तन गरिएको बताइएको छ । मुख्य विद्युत् मेसिन बन्द भएपछि लुक्लामा सानो मेसिनबाट उत्पादित विद्युत् मात्रै वितरण गरिँदै आएको वडाध्यक्ष समेत रहनुभएका विद्युत् उपभोक्ता समिति अध्यक्ष आङ फुर्वा शेर्पाले जानकारी दिए । जसका कारण लुक्लामा अहिले दैनिक ३ घण्टासम्म लोडसेडिङ हुने गरेको बताइएको छ । सडक नपुगेका कारण खुम्बु क्षेत्रमा सामग्री ढुवानीका लागि उडानकै भर पर्नुपर्ने बाध्यता रहेको छ । गाडी पुग्न नसकेको लुक्ला क्षेत्रमा हरेक सामग्री ढुवानीमा हेलिकप्टरकै भरपर्नु परेको समयमा प्राधिकरणले उडानमा कडाइ गर्दा खुम्बुवासीलाई ठूलो मार परेको स्थानीय टासी शेर्पाले बताए । जसका कारण लुक्लाका नागरिकहरु आक्रोसित रहेको उनको भनाइ छ । यता नेपाल नागरिक उड्डयन प्राधिकरणले भने सेप्टेम्बर अन्तिमबाट हेलिकप्टरलाई सिलिङ उडानको अनुमति दिने बताएको छ । गएको असार २६ गते मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएपछि प्राधिकरणले हेलिकप्टर उडानमा कडाइ गरेको हो । प्राधिकरणले त्यसयता मौसमको कारण सुरक्षालाई ध्यान दिँदै सेप्टेम्बर अन्तिमसम्मका लागि हेलिकप्टरमार्फत् हुने सामग्री ढुवानीलाई रोक लगाएको थियो ।

केही दिन यता नेपाली मिडियामा चलचित्र निर्देशक एवं कलाकार अनुप बरालले कलाकार छनौटमा नातावाद, कृपावादलाई पश्रय दिएको र ‘कास्टिङ् काउच’लाई बढावा दिएको समाचारले स्थान पाइरहेको छ ।    निर्देशक बरालले करिब १७ वर्षअघि कागबेनीको अडिसनबाट छानिएपछि अन्त्यमा आफुलाई हटाएर दिया मास्केलाई उक्त भूमिका दिइएको अभिनेत्री उषा रजकले बताएकी छिन् । अभिनेत्री रजकले निर्देशक बरालको एक्टर्स स्टुडियोमा अभिनय सिकेको र अवसर आउँदा पाखा पारिएको मात्र हैन यस विषयमा कुरा गर्दा डिनरको प्रस्ताव गरेको बताएकी छिन् ।    त्यसयता निर्देशक बराल होमटाउन पोखरा आइपुगेका छन् । यही मेसोमा रजकद्वारा प्रेषित स्टाटस र समाचारमा उल्लेखित विषयबारे प्रश्न गर्दा बरालले भने ‘यस्तो समाचार र यस्ता अपजस म माथि किन लागिरहेको छ ? मैले सोच्नै सकेको छैन ।’   उनले प्रतिक्रिया दिने क्रममा समाचारमा उल्लेखित विषया नितान्त व्यक्तिगत र पारिवारिक भएको बताउँदै तत्काल केही बोल्ने अवस्थामा नरहेको उल्लेख गरे । यद्यपि, कलाकार छनौटको विषयमा बरालले निर्देशकीय भूमिकामा रहेको व्यक्तिले ‘फलानो कलाकार उपयुक्त हुनसक्छ’ भन्न सक्ने तर निर्णंय गर्ने अधिकार नहुने प्रष्ट्याए ।    ‘कास्टिङ् डाइरेक्टरले अनिडसनमा सहभागी कलाकारबारे निर्देशकलाई सुझाव दिएको तर जोडबल नगरेको र गर्न पनि नमिल्ने हुन्छ’ बरालको भनाई छ ।      यसबाहेक कास्टिङ् काउचबारे आफुलाई केही पनि थाहा नभएको उनले जनाए । समाचारपछि पनि पहिलो पत्नीबारे गरिएको स्टाटसबाजीले आफुलाई झनै दुखित भने बनाएको उनले बताए ।    ‘तपाइ गलत छैन भने उषा रजकविरुद्ध कानूनी कारवाहीमा जानुहुन्छ ?’ भन्ने प्रश्नमा बराल भन्छन् ‘म अहिले कामको लागि पोखरा आएको छु, यहीबेला मैले वर्षाैको मेहेनतबाट आर्जेको नाम र शाख ध्वस्त पार्न खोजिएको छ, हाललाई म मेरै कामको जिम्मेवारीमा छु ।’   यस विषयमा आफु धेरै नबोल्ने भन्दै अन्त्यमा सुनागाभा न्यूजमार्फत बरालले रजकलाई प्रश्न सोधेका छन् ‘के तपाइसँग प्रमाण छ ?’

तुलसीपुर: सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएका दुवै जना तुलसीपुरका रहेको खुलेको छ ।    जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार चालक तुलसीपुर उपमहानगरपालिका–१८ बस्ने २५ वर्षीय भक्तबहादुर घर्ती र गाडी धनी ५० वर्षीय गणेश बुढाको घटनास्थलमै मृत्यु भएको थियो ।  त्यस्तै घाइते हुनेमा तुलसीपुर–२ निवासी ३५ वर्षीय नारायण योगी रहेका छन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।  मृतक दुवै जनाको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपर ल्याउने तयारी रहेको छ ।  रोल्पाबाट तरकारी लिएर दाङतर्फ आउँदै गरेको जीप राप्ती लोकमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै सेतापैरामा दुर्घटनामा परेको हो । आज बिहान ६ः३० बजे रा१च १०२५ नम्बरको जीप तीन सय ५० मिटर तल खसेको थियो । दुर्घटनामा परेको जीप टुक्राटुक्रा परेको छ । अनियन्त्रित भएर जीप दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । 

काठमाण्डौ: नागरिकता र लिखतसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।   पक्राउपर्नेमा भारतको बिहार राज्य पूर्वी चम्पारण वडा नं १० खरतरीका जागा चौधरी भन्ने जग्गाप्रसाद जैसवाल रहेका छन् । उनले रौतहटको साविक सरमुजवा गाविस वडा नं ९ बाट नागरिकता लिएको पाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।    नागरिकता तथा लिखतसम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा चौधरीले विसं २०६३ मा नागरिकता बनाउने टोली स्थलगतरुपमा खटिएको समयमा झुठो विवरण पेस गरी नेपाली नागरिकता लिएको अनुसन्धानबाट खुलेको छ ।    यसैगरी उनले नागरिकता प्राप्त गरी नेपालका विभिन्न ठाउँमा व्यापार व्यवसायसमेत गरी बसेको र जागा चौधरी नामको भारतीय आधारकार्ड र जग्गाप्रसाद जैयसवालको नामको नेपाली नागरिकताबाट लिएको सवारी चालक अनुमति पत्रसमेतका नेपाली कागजात फेला परेको प्रहरीले जनाएको छ ।    जैसवाललाई नागरिकता तथा लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइ अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताउनुभयो ।  

धनुषा: राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधाममा रहेको जानकी मन्दिरमा पूजाअर्चना र दर्शन गर्नुभएको छ । उहाँले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुकासाथै अखण्ड कीर्तनको दर्शन एवं प्रसाद ग्रहण गर्नु भएको हो ।    राष्ट्रपतिलाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गर्नुभयो । राष्ट्रपति पौडेललाई जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरका मेयर तथा सुरक्षा निकायका प्रमुखले स्वागत गर्नुभएको थियो ।    राष्ट्रपति पौडेलले जनकपुरधाममा निर्माण भएको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको आज दिउँसो समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेललाई विशेष सम्मानसहित नागरिक अभिनन्दन गर्न लागिएको जनकपुरधाम उपमहानगरपालिका मेयर मनोजकुमार साहले जानकारी दिनुभयो ।