काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज रू १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८-ग’ बोलकबोल प्रक्रियाद्वारा निष्काशन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ। यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण नागरिकले खरिद गर्न पाउनेछन् । बोलकबोल प्रक्रियामा आज दिउँसो ३ बजेसम्ममा भाग लिन सकिनेछ । विसं २०८८ असोज १५ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ । बोलवाला प्रक्रियामार्फत कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ । यो ऋणपत्रको इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुनसक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत छुट्याइएको छ । बोलकबोलमा घटीमा रू ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाइ रू ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिनेछ । यस ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत् हुने राष्ट्र बैंकले जनाएको छ । रासस
तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार बिहान सवा ४ बजे काठमाडौं महानगरपालिका- ३१ शान्तिनगरमा मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।उनका अनुसार बागमती पुल निर्माणका लागि बनाइएको खाल्डोमा बागमती प्रदेश ०२-०३९ प १९९७ नम्बरको मोटरसाइकल खसेको थियो। नयाँ बानेश्वरबाट तीनकुनेतर्फ जाँदै गरेको उक्त मोटरसाइकल आफैं अनियन्त्रित भएर खाल्डोमा खसेको एसपी ढुंगेलले बताए। दुर्घटना हुँदा भक्तपुर चाँगुनारायण नगरपालिका(४ बस्ने २० वर्षीय चालक सरोज गुरूङ र मोटरसाइकल पछाडि बस्ने १७ वर्षीय सुशिल गुरूङ घाइते भएका थिए। सरोजको दाहिने खुट्टा भाँचिएको छ। सुशिल भने गम्भीर घाइते भएका थिए। उनीहरू दुबै जनालाई सिभिल अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा पौने ५ बजे सुशिलको मृत्यु भएको एसपी ढुंगेलले बताए। एसपी ढुंगेलका अनुसार चालक सरोजले मापसे गरी मोटरसाइकल चलाएका थिए। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।
काठमाण्डौ: सुन तस्करी प्रकरणमा छानबिन गर्न आजै उच्चस्तरीय छानबिन आयोग गठनलगायत विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । गएको साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिने क्रममा सिनामङ्गलमा करिब ६१ किलो सुन बरामद भएको थियो । आज हुने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने र बैठक अगावै आयोगको घोषणा गर्ने सहमतिको तयारी भएको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकारात्मक भएको र आयोगको कार्यदेशमा आफूहरु सहमतिको नजिक पुगेको भेटमा सहभागी एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । सत्तापक्ष र प्रतिपक्षबीच आयोग गठन गर्ने सहमति भए पनि यसको कार्यादेश र कार्यक्षेत्रबाट सहमति जुट्न बाँकी थियो । आयोग गठन नभए एमालेले आजको प्रतिनिधिसभा बैठक अवरोध गर्ने चेतावनी दिएपछि सरकारले छलफल तीव्र बनाएको छ ।
चाडपर्वको मुखमा महँगीको मार थोपरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ। मुल्यवृद्धिको विरोधमा सर्वदलीय बैठक बहिष्कार गरेको रास्वपाका सभापति रवि लामिछानेले फेसबुक स्ट्याटसमार्फत् बताएका छन्। ‘चाड पर्वहरूको मुखमा आम उपभोक्ताहरूलाई मारपर्ने गरी सरकारले गरेको मुल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनुभएको बैठक हामीले बहिष्कार गरेका छौं,’ उनले भनेका छन्। यसबारे थप कार्यक्रम गर्ने पनि उनले बताएका छन्।प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान ११ बजे संसद्मा प्रतिनिधित्व गर्ने सात राजनीतिक दललाई छलफलका लागि बालुवाटार बोलाएका छन्।
काठमाण्डौ: नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनमा आज मतदान हुँदैछ । प्रदेशको नेतृत्वका लागि मतदान हुन लागेको हो । सहमतिका लागि हिजो दिनभर प्रयास भए पनि सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् । आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सुर्खेतको सिटी हलमा मतदानको कार्यक्रम छ । एमालेको कर्णाली प्रदेश अध्यक्षका लागि तीन, उपाध्यक्षका लागि तीन, सचिवमा दुई र उपसचिवमा तीन जनाबीच प्रतिस्पर्धा हुँदैछ । प्रदेश अध्यक्षका लागि सल्यानका गुलाबजंग शाह, कालीकोटका मीनबहादुर शाही र कालीकोटकै प्रकाश रोकायाले उम्मेदवारी दिनुभएको छ । एमाले बाग्मती र लुम्बिनीमा मतदानबाटै नेतृत्व चयन भएको छ । अस्ति भएको मतदानबाट बाग्मती प्रदेश कमिटीको अध्यक्षमा रामेछापका कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको थियो । त्यस्तै भदौ तेस्रो हप्ता लुम्बिनी प्रदेश कमिटीमा नेतृत्वका लागि मतदान भएकोमा अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको थियो ।
काठमाडौं: नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सलाई १ सय ३८ रनले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ । नेपाल समूह ए बाट अपराजित रहँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । जितको लागि २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमा अल आउट भयो । माल्दिभ्सका घानी अब्दुलले ३४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए । नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको चौथो बलमै माल्दिभ्सका ओपनर राफीज अजिन मोहम्मदलाई शून्यमा आउट गर्दै पहिलो सफलता दिलाएका थिए । फरिद शिउस २१ बलमा २ चोकासहित १० रनमा आउट भए । उनी अभिनाश बोहराको छैटौं ओभरको तेस्रो बलमा बलमा कुशल भुर्तेलबाट समातिन पुगेका थिए । अभिनाशले नै चौथो बलमा बदिउ इस्माल नजावानलाई शून्यमा एलबीडब्लू आउट गरे । अन्तिम बलमा अभिनाशले थोलाल मोहम्मद रियानलाई शून्यमा एलबीडब्लू आउट गरे । सातौं ओभरको पहिलो बलमा गुलशन झाले ओपनर अली इस्माइललाई ३ रनमा क्याच गराउँदै सहज जितको आधार तय गरेका थिए । नेपालको जितमा अभिनाश बोहराले ३.४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ६ विकेट लिए । अन्तर्राष्ट्रिय करिअरमा उनले पहिलो पटक पाँच विकेट लिएका हुन् । उनी टि२० आईमा ६ विकेट लिने पहिलो नेपाली बलर हुन् । यसअघि सन्दीप लामिछाने र करण केसीले समान ५/५ विकेट लिएका थिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले । पहिलो खेलमा मंगोलियाविरुद्ध विश्व कीर्तिमानी शतक हानेका युवा बायाँ हाते अलराउन्डर कुशल मल्ल २० बलमा ३ चौका र ३ छक्कासहित ४७ रनमा नटआउट रहे । कुशललाई नेपालले आज सातौं नम्बरमा खेलाएको थियो । नेपालले आज अन्य खेलाडीलाई मौका दिएको थियो । दीपेन्द्र ६ रनमा आउट हुँदा सोमपाल कामी एक बलमा एक रन बनाए । ओपनर आसिफ शेख ६ रनमै आउट भए । अर्का ओपनर कुशल भुर्तेल १८ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भएका थिए । एक वर्षपछि नेपाली टोलीमा खेल्ने मौका पाएका विकेटकिपर विनोद भण्डारीले १५ बलमा १ चौकासहित १३ रनमा आउट भए । सन्दीप जोरा ९ बल खेल्दै ५ रनमा क्याच आउट भएका थिए । पाँचौं विकेटका लागि गुलशन झा र रोहित पौडेलले ७० रनको साझेदारी गरेका थिए । गुलशन २१ बलमा १ चौका र ३ छक्कासहित ३५ रनमा आउट भए । माल्दिभ्सका बदिउ इस्माइल नाजवानले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । नेपालले पहिलो खेलमा मंगोसियालाई २सय ७३ रनले हराएको थियो । नेपाल समूह ए को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । क्वाटरफाइनलमा पाँच टेस्ट टोली भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाले सोझै मौका पाएको थिए । समूह सी बाट मलेसिया क्वाटरफाइनलमा आएको छ । समूह बी बाट आज जापान र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको विजेता टोली क्वाटरफाइनलमा आउनेछ । क्वाटरफाइनलको ड्र सोमबार हुनेछ । क्वाटरफाइनलका खेलहरु मंगलबार र बुधबार हुनेछन् । शुक्रबार सेमिफाइनल र फाइनल शनिबार हुनेछ ।
पोखरा: पोखरा महानगरपालिका १७ फुर्सेखोलामा क्षितिज बस्याल मृत फेला परेका छन् । पोखरा महानगर १७ बिरौटा हनुमान टोल बस्ने १४ बर्षीय बस्यालको शव फुर्सेखोलामा हिजो (शनिबार) फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । खोलामा शव अड्किएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीले खवर गरेका थिए । बस्यालको शव अहिले पोष्टमार्टमका लागि गण्डकी अस्पतालमा लगिएको कास्की प्रहरीले जनाएको छ । फुर्सेखोलामा मृत भेटिएको शव बस्यालको भएको मृतकका ठुली ममीले पहिचान गरेको प्रहरीले जनाएको छ । मृतक बस्यालको आमाबुबा विदेशमा भएको र बिरौटामा ठुली ममीसँग बस्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
काठमाडौं: चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले २७ बल खेल्दै तीन छक्का र तीन चौका प्रहार गर्दै सर्वाधिक ५२ रन बनाए । पहिलो खेलमा मंगोलियाविरुद्ध रेकर्ड बनाएका कुशल मल्लले २० बलमा दुई छक्का र तीन चौका मद्दतमा नटआउट ४७ रनको योगदान गरे । यस्तै कुशल भुर्तेल र गुलशन झाले समान ३५/३५ रन बनाए भने विनोद भण्डारी १३ रनमा आउट भए । अरु ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।
पोखरा: पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमाना तमादीखोलामा बाढीमा बगेर बेपत्ता भएको जीप ३ सय मिटर तल मोदी किनारमा फेला परेको छ । जीपसँगै बेपत्ता भएका तीन जनामध्ये रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ का गोपालप्रसाद बस्यालको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार दुई जना अझै बेपत्ता छन् । गएराती बागलुङदेखि पोखराका लागि छुटेको ग १ज ६३१३ नम्बरको टाटा सुमो जीप बाढीले बगाएर बेपत्ता भएको थियो । जीप चालकलाई पर्वत प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।