पोखरा: पोखरामा मिनी सडक महोत्सवसहित ४४ औं विश्व पर्यटन दिवस मनाइने भएको छ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान)को आयोजनामा मिनी सडक महोत्सव आयोजना गरिने पत्रकारसम्मेलनमार्फत आज (आइतबार) जानकारी दिइएको हो । महोत्सव ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नारासहित पर्यटन दिवसको दिन (असोज १० गते) मनाइने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । उनका अनुसार सडक महोत्सवको आयोजना लेकसाइडको बाराहीचोकदेखि खहरेचोकसम्म हुने छ । सो सडकक्षेत्रमा यातायात आवागमन रोकिने बताउदै नेपाल र भारतका सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने श्रेष्ठले बताए । साथै विभिन्न जातजातिको संस्कृति झल्किने खालका भाँकीसमेत प्रर्दशन हुनेछ । रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पर्यटन दिवसमा आयोजना हुने मिनी महोत्सवले अंग्रेजी नयाँ वर्षको सडक महोत्सवको झल्को दिने विश्वास व्यक्त गरे । सो महोत्सवले पर्यटकीय गतिविधि वृद्धि गर्ने रेवानको अपेक्षा छ ।
काठमाण्डौ: उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाहीलगायत मधेस प्रदेशका जिल्लामा भइरहेका घटनाबारे आवश्यकता परेको खण्डमा नयाँ ढङ्गले निर्णय लिनसक्ने सङ्केत गर्नुभएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज आइतवारको बैठकमा उहाँले कोशी र मधेस प्रदेशको शान्ति सुरक्षासहितको वस्तुस्थितिबारे प्रशासन र सुरक्षा संयन्त्रमार्फत निरन्तर जानकारी लिने काम भइरहेको बताउनुभयो । बैठकमा नेकपा (एमाले) का रघुजी पन्त र लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लाले सर्लाहीलगायतका जिल्लामा धार्मिक साम्प्रदायिक घटना गराउने प्रयासले तनाव बढिरहेकाबारे समितिमार्फत सरकारलाई जानकारी गराउँदै त्यसबारे आवश्यक जानकारी माग गर्नुभएको थियो । नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र विविधताबीचको एकता रहेको देश भएकाले यसमा आँच पुर्याउने र खलल पार्ने काम भइरहेको भन्ने सूचनाप्रति सरकार गम्भीर रहेको बताउँदै गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘जानरअञ्जानमा हो वा कुनै निश्चित उद्देश्य लिएर भइरहेको छ भन्ने प्रश्न उठेको छ, यसलाई गम्भीरतापूर्वक लिएका छौँ ।’ उहाँले सकेसम्म प्रशासनिक निर्णय लिन नपरोस् भनेर सरकार लागिरहेको भन्दै पछिल्लो समय अवस्था बिग्रिँदै गएकाले प्रशासनिक निर्णय गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘मूलभूतरूपमा प्रशासनिक विधिबाट समाधान गर्दा आउन सक्ने चुनौतीको पाटोलाई ध्यान दिँदै वैचारिक, राजनीतिक ढङ्गले वातावरण बनाएर समाधान खोज्ने प्रयत्न भइरहेको छ । प्रशासनिक पक्षबाट पनि गम्भीर छौँ, सम्पूर्ण प्रशासन र प्रहरी समयन्त्रलाई कुनै कमजोरी हुन नदिन संयमपूर्वक अघि बढ्नेछौँ ।’ विमानबाट सुन बाहिरिएको प्रकरणका सम्बन्धमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआई बी) लाई सम्पूर्ण स्वतन्त्रतासहित आफ्नो सम्पूर्ण कार्यक्षमता प्रदर्शन गर्न र गहिर्याइमा पुग्न बारम्बार निर्देशन दिइरहेको बताउँदै उहाँले अनुसन्धान गर्ने क्रममा तथ्य र प्रमाणले जहाँसम्म देखाउँछ त्यहाँसम्म पुगेर अनुसन्धान गर्न जोड दिइएको जनाउनुभयो । सङ्खुवासभामा रहेको अरुण तेस्रो जलविद्युत् आयोजनको निर्माणमा संलग्न कम्पनी सतलज जलविद्युत् निगमले केही दिनदेखि आयोजनाको काम ठप्प पारेर क्षतिपूर्ति नदिए आयोजना अघि बढ्न सक्दैन भन्ने आशयको पत्रचार गरेको विषयमा सांसदले उठाएका जिज्ञासामा उहाँले मुआब्जा नदिएका कारणले काम गर्न पाएनौँ भन्ने स्थिति आउन नदिने स्पष्ट पार्नुभयो ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेतामाथि गहिरो अनुसन्धान नभएको बताउनुभएको छ। आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरूमाथि गहिरो अनुसन्धान नभएको बताउनुभएको हो। उहाँले अनुसन्धान हेर्दा भद्दा मजाक जस्तो देखिएको बताउनुभयो। उहाँले सरकारले गर्ने अनुसन्धान ‘बम’ होला भन्ने अपेक्षा आफूहरूले गरेको भएपनि सलाईको काँटीजति पनि नपड्किएको भन्दै टिप्पणी गर्नुभयो। उहाँले शङ्काको घेरामा रहेका व्यक्ति मोबाइल फम्र्याट गरेर प्रहरीकोमा पुगेको भन्दै उहाँले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको आशङ्का व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो , ‘‘जुन आशा र अपेक्षाका साथ अनुसन्धान सुरु भयो। त्यो अनुसन्धानका कुराहरू हेर्दाखेरी भद्दा मजाक जस्तो भएर गयो। सत्तारुढ दलका नेताको नाम आउने बित्तिकै जुन ढङ्गले त्यो अनुसन्धान त बम होला भन्ने सोचेको थिएँ, त्यो पटका पनि भएन। सलाईको काँटी जति पनि पड्किएन। किनभने जतिपनि नामहरू आए उनीहरूले आफूले प्रयोग गर्ने फोन दिएनन् अर्को फोन दिए भन्नेकुरा सार्वजनिक भएको छ। प्रहरी केही गर्न चाहान्छ, राजनीतिक हस्तक्षेप भयो।’’ सभापति लामिछानेले सुन तस्करी प्रकरणका केही शङ्कास्पद व्यक्तिलाई अनुसन्धानले सुनपानी छर्किने काम गरेको बताउनुभयो। उहाँले अनुसन्धान अपुरो भएको भन्दै अपुरो अनुसन्धान हुँदा अदालतले गर्ने न्याय निरूपण पनि आलोचित हुनसक्ने बताउनुभयो।
काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा महासमिति बैठकको मिति तोक्ने विषयमा छलफल भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार मङ्सिर ११, १२ र १३ गते बस्ने महासमितिको बैठकको एजेण्डाबारे छलफल भएको हो। मुख्य सचिव पौडेलले पार्टी सभापति शेरबहादुर देउवा अर्को कार्यक्रममा व्यस्त हुनुभएका कारण आजको बैठक दिउँसो १ बजे स्थगित भएको जानकारी दिनुभयो। उहाँले बैठकका सन्दर्भमा भन्नुभयो, “प्रमुख विषय भनेको महासमितिको बैठक मङ्सिर ११, १२ र १३ गते बस्दैछ। यसैको सन्दर्भमा मात्र कुरा उठेको छ।” खासगरी, जनजीविकाका सवाल आम नागरिकले भोग्नुपरेको महँगी लगायतका विषयमा बैठकमा छलफल भएको उहाँको भनाइ छ। असोज ४ गते बिहीबारदेखि सुरु भएको बैठकमा आइतबार ३१ जना केन्द्रीय सदस्यले धारणा राख्नुभएको जानकारी दिनुभयो। उहाँका अनुसार अर्जुनप्रसाद जोशी, आनन्दप्रसाद ढुङ्गाना, सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, सुजाता परियार, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, शिवप्रसाद हुमागाईँ, कर्णबहादुर बुढा, रामजनम चौधरी, रमा कोइराला, राजीव ढुङ्गाना, राजेन्द्रकुमार केसी, विनोदकुमार चौधरी, रंगमती शाही, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, मदनकृष्ण श्रेष्ठ, भीम पराजुली, कान्तिका सैजुवाल, गङ्गालक्ष्मी अवाल, सीताकुमारी राना, सुशीला ढकाल, विद्यादेवी तिमल्सिना, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई र आमन्त्रित सदस्य नारायणी रायमाझीले धारणा राख्नुभयो। कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सोमबार बिहान ११ बजे पुनः बस्नेछ।
बारा सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय टंगालले आइतबार विशेष अदालतमा पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, जनता मा।वि भवन निर्माण समितिका अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो। प्रवक्ता दाहालका अनुसार उनीहरूले मधेश प्रदेश सरकारको अनुदानबाट संचालित योजनाहरूमध्ये सिम्रौनगढ नगरपालिका-८ कचोर्वास्थित जनता माविको भवन निर्माणमा अनियमितता गरेका थिए। माविको अनियमितता भएको भन्ने सूचनापछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा प्रमुख प्रशासकीय अधिकृत मरासेनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीले प्राविधिकले तयार गरेको मूल्यांकन र भुक्तानीलाई स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा बढी रकम भुक्तानी दिएको खुलेको हो। परिणामभन्दा ६ लाख ५८ हजार ४४० रुपैयाँ बढी भुक्तानी दिएर सरकारी रकमको हानिनोक्सानी भएको अख्तियारले जनाएको छ। यस्तै जनता मावि भवन निर्माण समितिका अध्यक्ष यादव, सचिव प्रसाद र कोषाध्यक्ष यादवले उपभोक्ता समितिको बैंक खाता सञ्चालन गरेको र नगरपालिकासँग भएको सम्झौता बमोजिम शर्त पालना नगरी स्वीकृत भएकोभन्दा बढी रकम भुक्तानी लिएको अख्तियारले ठहर गरेको छ। यसरी सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले बिगो रकम कायम गरी कैद सजायको मागदाबी समेत गरेको छ।
काठमाडौं: सभामुख देवराज घिमिरे आयरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । आइतबार उहाँले आयरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किनुभएको हो । स्वदेश फर्किएपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भ्रमणका क्रममा आइरिस सदनको माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमर र आयरल्याण्डका राष्ट्रपति महामहिम माइकल डी.हिगिन्ससँग शिष्टाचार भेट भएको बताउनुभयो । भेटमा आयरल्याण्डका तल्लो सदन डोलय एरियनका सभामुख सान ओ फारगेल, आइरिस सरकारका आवास, स्थानीय सरकार तथा सम्पदामन्त्री दर्राघ ओ ब्रायन, आइरिस सरकारका शिक्षा मामिला हेर्ने राज्यमन्त्री नियाल कोलिन्ससँग पनि शिष्टाचार भेट गरेको उहाँले जानकारी दिनुभयो । भ्रमणमा नेपाली विद्यार्थीका लागि सहज भिसा तथा छात्रवृत्तिको व्यवस्था, क्यान्सरलगायतका रोगको निदानका लागि आवश्यक उपचार पद्धति, प्रविधिलगायतको सहयोगबारे, एकअर्का देशका नागरिकको भ्रमण, नेपालको हिमाल र सगरमाथा हेर्ने र आरोहणको लागि प्रोत्साहनबारे छलफल भएको बताउनुभयो । उहाँले नेपाली दक्ष तथा अदक्ष जनशक्तिका लागि रोजगारीको अवसर सिर्जना, बेलायतको भिसा भएका नेपालीलाई आयरल्याण्ड भ्रमणमा सहजीकरण गर्ने, आगामी दिनमा नेपालबाटै आयरल्याण्डका लागि भिसाको प्रबन्ध गर्ने, नेपालमा आइरिस लगानी भित्र्याउनेबारेमा र जलवायु परिवर्तनलगायत विषयमा विश्व मञ्चमा साझा सहकार्य गर्नेबारेमा छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी १ गतेदेखि ५ गतेसम्मको आयारल्याण्डका प्रतिनिधि सभाका सभामुख निमन्त्रणामा औपचारिक भ्रमण पूरा गरेर आएका छौँ । यहाँबाट प्रतिनिधि सभाका अन्य सदस्यहरूलाई लैजान पाएको भए राम्रो हुने थियो । तर अब विभिन्न कारणले गर्दा हामी छरितो टिमको रूपबाट गयौँ ।’ आइरिस सदनको माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग शिष्टाचार भेट भएको उहाँले बताउनुभयो । त्यस्तै, तल्लो सदन डोलय एरियनका सभामुख सान ओ फारगेलसँग शिष्टाचार भेट, आइरिस सरकारका आवास, स्थानीय सरकार तथा सम्पदामन्त्री दर्राघ ओ ब्रायनसँग भेटभएको उहाँले बताउनुभयो । सोही क्रममा आइरिस सरकारका शिक्षा मामिला हेर्ने राज्यमन्त्री नियाल कोलिन्ससँग पनि भेट भएको उहाँले जानकारी दिनुभयो । सभामुखको भ्रमण टोलीमा प्रतिनिधि सभाका सचिव पद्यप्रसाद पाण्डेय, सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी हुनुहुन्थ्यो । त्यस्तै, आयरल्याण्डमा नेपाली राजदूतावास, लण्डनका दिवुतीय सचिव रामबाबु नेपाल प्रतिनिधि मण्डलमा सहभागी हुनुभएको थियो । सभामुखको टोली भदौ ३१ गते आयरल्याण्ड प्रस्थान गरेको थियो ।
बेइजिङ: चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुग्नुभएको छ । चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङ्जाउ आइपुग्नुभएका प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार बिहान ११ बजे बेइजिङ आइपुग्नुभएको हो । प्रधानमन्त्री दाहालले आज बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्नुहुनेछ । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले सम्मेलनको आयोजना गरेका हुन् । उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी हुनुहुनेछ । सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री दाहाल र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आज बेइजिङमा रात्रिभोजको आयोजना गर्नुहुनेछ । रासस
पोखरा: कास्कीको काहुँखोलामा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कास्कीको मादी गाउँपालिका स्थित ताप्रेडाँडाबाट सिक्लेस बसपार्कतर्फ आउँदै गरेको ६०६७ नम्बरको ट्याक्टर अनियन्त्रण भई दुर्घटना हुँदा ट्याक्टरका सह-चालक सुजन नेपालीको उपचारको क्रममा मृत्यु भएको हो । सडकबाट अन्दाजी ५० मिटर तल ट्याक्टर खस्दा गम्भिर घाइते भएका तनहुँ घर भई पोखरा १३ कसेरीदाना बस्ने २० वर्षीय सुजनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । ट्याक्टर दुर्घटनापछि चालक सोमबहादर कामीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषामा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। बटेश्वर गाउँपालिका-१ स्थित धुमासन टोलमा बिगही खोलामा खनिएको खाल्डोमा डुबेर ११ वर्षीय धिरजकुमार महतोको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक बालक शनिबार दिउँसो साथीहरूसँगै बिगही खोलामा खेल्न गएका थिए। परिवारका अनुसार नुहाउने जानेक्रममा चिप्लेर बालक गहिरो खाल्डोमा खसेका थिए। धिरजकुमारसँगै अन्य दुई जना बालक पनि खोलामा गएका थिए। धिरजकुमार डुबेपछि अन्य दुई साथीले स्थानीयलाई बोलाएका थिए। खाल्डोबाट उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको हो। उक्त खोला खन्न तीन वर्षअघि बटेश्वर गाउँपालिकाले ठेक्का लगाएको थियो। घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।