काठमाडौं: सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । गृह मन्त्रालयमा आज शुक्रवार बसेको बैठकमा सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । शिक्षा विधेयकको विरोधमा शिक्षकहरूले आन्दोलन गर्दै आएका थिए । सहमतिपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका छन् । सरकारले संसदमा पेस गरेको सहमतिको मस्यौदामा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका केही व्यवस्थाहरू परिवर्तन गर्न संसद्को सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र सङ्घीय संसद् सञ्चालनसम्बन्धी मौजुदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासङ्घ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानुनी प्रबन्ध गर्ने पनि सहमति भएको छ । विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै शिक्षकहरूले अस्ति बुधवारदेखि आन्दोलन गर्दै आएका थिए । उनीहरूले विधेयकमा विभिन्न १८ बुँदे माग राखेका थिए । आन्दोलका कारण देशभरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको थियो । महासङ्घकी अध्यक्ष कमला तुलाधरले पनि वार्तामा सहमति भएको र आन्दोलनका कार्यक्रम फिर्ता भएको बताउनुभयो ।
पोखरा: कास्कीको घान्द्रुकमा छायांङ्कन गरिएको ‘गैह्री गाउँको साँइली’ बोलको कौडा गीत सार्वजनिक भएको छ । कलाकार ताराश्रीस मगर र विमल परियारको स्वरमा रहेको ‘गैह्री गाउँको साँइली’ बोलको कौडा गीत सार्वजनिक भएको हो । कास्कीको पर्यटकीय स्थल घान्द्रुकमा छायाँङ्कन गरिएको उक्त गीतमा कलाकार धीरेन शाक्य, आनन्द गुरुङ, रिना गुरुङ र जुना गुरुङको अभिनय रहेको छ । उक्त गीतमा शम्भु चालिसेको छायाँङ्कन ,विष्णुहरी तिमल्सिनाको सम्पादन, दिप गुरुङले निर्देशन गरेका छन् । उक्त गीतमा कलकार विमल परियारको संगीत र शिब हमालको शब्द रहेको छ । गीतमा रुपी सिंजाली मगर, प्रेमा राणा, राजु तोलाङ्गी गुरुङ र सागर बाजुरालीको सहयोगी स्वर रहेको छ । उक्त गीत दीप गुरुङको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।
काठमाडौं: नेपाल र भारतबीचका प्रसारण संरचना र पूर्वाधारलाई अधिकतम क्षमतामा उपयोग गरेर थप आठ सय मेगावाट बराबरको बिजुली निर्यात गर्न सकिने भएको छ । सो विषयमा दुई देशका उच्च अधिकारीबीच प्रारम्भिक समझदारी भएको छ । नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणबीचमा भएको द्विपक्षीय छलफलका क्रममा हाल सञ्चालनमा रहेका प्रसारण पूर्वाधार र निर्माण सम्पन्न हुने चरणमा रहेका पूर्वाधार प्रयोग गरेर विहार, उत्तर प्रदेशलगायत भारतीय राज्यमा बिजुली निर्यातका लागि थप सहज हुने भएको छ । भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा पाँच सय २२ मेगावाट र एनभिभिएनलाई एक सय १० मेगावाट गरी कुल छ सय ३२ मेगावाट विद्युत् हाल निर्यात भइरहेको छ । त्यसमध्ये पाँच सय ६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर, चार सय केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन र ७० मेगावाट महेन्द्रनगर–टनकपुरस्थित १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय निर्देशक समितिको गत फागुनमा सम्पन्न संयुक्त निर्देशक समितिको १० औँ बैठकमै बिहारसँग जोडिएका एक सय ३२ केभी क्षमताका प्रसारण लाइन प्रयोग गरेर भारतका अन्य राज्यमा समेत बिजुली निर्यातका लागि सहजीकरण गरिदिन प्राधिकरणले अनुरोध गरेको थियो । उक्त विषयमा सो बैठकमै सैद्धान्तिक सहमति भएको थियो । त्यसको प्रारुप तयार पार्न भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अन्य भारतीय निकायसँगको परामर्शमा तय गर्ने निर्णय गरेको थियो । सोही सहमतिअनुसार यही असोज २ गते भारतको राजधानी नयाँ दिल्लीमा भारतको केन्द्रीय विद्युत् प्राधिकरण र नेपाल विद्युत प्राधिकरणका उच्च अधिकारीबीच थप बिजुली निर्यातका लागि प्रसारण पूर्वाधार प्रयोग गर्ने विषयमा सहमति भएको प्राधिकरणका निर्देशक प्रबल अधिकारीले जानकारी दिनुभयो । छलफलमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्राधिकरणका निर्देशक प्रबल अधिकारी तथा भारतको केन्द्रीय विद्युत् प्राधिकरणका चिफ इञ्जिनियर राकेश गोयललगायतको सहभागिता थियो । पछिल्लो छलफलपछि नेपालसँग सीमा जोडिएका बिहार र उत्तर प्रदेशलगायत प्रदेशमा थप आठ सय मेगावाट बिजुली निर्यातका लागि छलफल भएको हो । छलफलका आधारमा आगामी संयुक्त निर्देशक समितिको बैठकमा प्रस्ताव पेश गरिनेछ । नेपाल र भारतको बिहारबीच एक सय ३२ केभी क्षमताका छ वटा प्रसारण पूर्वाधार जोडिएको छ । यस्तै नेपाल र भारतको उत्तर प्रदेशबीचमा निकट भविष्यमै सम्पन्न हुने चरणमा न्यू नौतवना मैनिहिया, कोहलपुर नानपाराबीच एक सय ३२ केभी प्रसारण लाइन जोडिनेछ । भारत सरकारले जारी गरेको विद्युत् व्यापार निर्देशिकाबमोजिम ती राज्यमा र त्यसभन्दा बाहिर अन्य राज्यमा समेत विद्युत् व्यापारका लागि नेपाल विद्युत प्राधिकरणले थप सुविधा पाउनेछ । भारतको बिहार र उत्तर प्रदेशका समेत प्रसारण लाइनमार्फत अन्य राज्यमा बिजुली पठाउँदा प्रसारण शुल्क भने नियामक निकायले तोकेबमोजिमको तिर्नुपर्नेछ । यस्तै प्राविधिक कारणले गर्दा ३३ केभी र ११ केभी क्षमताका प्रसारण लाइनमार्फत भने अब बिजुली निर्यात नगर्ने र आयातका लागि मात्रै खुला गरिने भएको छ । त्यस्तै भारतीय राज्यसँग जोडिएका एक सय ३२ केभी क्षमताका प्रसारण लाइन र चार सय केभी क्षमताका अन्तरदेशीय प्रसारणको प्रयोगका सन्दर्भमा पनि दुई पक्षबीच छलफल भएको छ । त्यस्तै सूचना आदानप्रदानका लागि एक सय ३२ केभी क्षमताका प्रसारण लाइन ‘डेटा र भ्वाइस कम्युनिकेशन’ का लागि ‘स्काडा सिस्टम’ मार्फत भारतीय केन्द्रीय भारप्रेषण केन्द्र र नेपालको भार प्रेषण केन्द्रबीच जोड्ने प्रस्ताव गरिएको छ । त्यस्तै भारतको राजधानी नयाँदिल्लीमा मङ्गलबार र बुधबार बसेको नेपाल–भारत संयुक्त प्राविधिक टोली ९जेटिटी० को बैठकले एक सय ३२ केभी क्षमताको प्रसारण लाइनमार्फत अन्य राज्यस्तरमा समेत विद्युत् खरिद बिक्री गर्नसक्ने निर्णय गरेको छ । नेपाल–भारत संयुक्त प्राविधिक टोलीको १४ औँ बैठकमा नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप देवले नेतृत्व गर्नुभएको थियो । सोही बैठकले भारतीय कम्पनी सतलज विद्युत निगमले निर्माण गरिरहेको चार सय केभी क्षमताको ढल्केबर–सीतामढी प्रसारण लाइनसमेत प्रयोग गर्ने सहमति भएको छ । सो प्रसारण लाइनको क्षमता उपयोग गर्ने विषयमा सहमति भएको सहसचिव देवले जानकारी दिनुभयो । यसैगरी हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता पनि आठ सय मेगावाट बराबर पुर्याइएको छ । हाल निर्माणाधीन हेटौँडा– ढल्केबर चार सय केभी क्षमताको प्रसारण लाइन पूरा भएपछि नेपालले ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमताअनुसार नै बिजुली आयात निर्यात गर्न पाउनेछ ।
हेटौंडामा सञ्चो अस्पतालमा डाक्टरलाई कुटपिट गर्ने थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिग्रेनीका ३६ वर्षीय जीवन लामा भन्ने जीवन जिम्बा छन्। उनलाई हटौंडाबाट खटिएको प्रहरी टोलीले रातोमाटेमा हिँडिरहेको अवस्थामा शुक्रबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक ९एसपी० सीताराम रिजालले जानकारी दिए। उनका अनुसार यसअघि भदौ २८ गते चार जना र दुई दिनअघि एक जना गरी पाँच जनालाई नियन्त्रणमा लिइसकिएको छ। पक्राउ पर्नेमा लामासहित ६ जना पुगेका छन्। हेटौंडा-१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि कुटपिट भएको थियो।
काठमाण्डौ: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । आज शुक्रवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले विधेयकमा संशोधन हाल्न शुरु भएपछि आफूले पनि ७० भन्दा बढी ठाउँमा संशोधन हाल्नुपर्ने अवस्था देखेको बताउनुभएको हो । उहाँले विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि रहेको भन्दै सच्याएर मात्रै संसदबाट पारित हुने दाबी गर्नुभयो । उहाँले अहिले बनाउने कानुनले आजको समस्या मात्र नभई कम्तीमा २० वर्षसम्म हेर्नसक्ने खालको हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘आज विद्यालयहरू बन्द रहेको अवस्था छ । शिक्षक साथीहरू सङ्घर्षमा हुनुहुन्छ । आज सरकार र उहाँहरूको बीचमा संवाद पनि चलिरहेको छ । समग्र शिक्षालाई हेर्ने एउटा कानुन धेरै पहिला आइसक्नुपर्ने थियो, त्यसमा हामी चुक्यौँ । अहिले संसदमा दर्ता भएको विधेयकमा संशोधन हाल्न शुरु भएपछि मैले मात्रै हाल्ने संशोधन हेर्दै गर्दा ७० भन्दा बढी रहेछन् । भनेपछि कति त्रुटि रहेछन् रु अहिले बनाउने कानुनले आजको समस्या मात्र होइन, कम्तीमा २० वर्षसम्म हेर्नसक्ने खालको हुनुपर्छ ।’ महामन्त्री थापाले नेपालको शिक्षा क्षेत्र सुधार गर्न नेपालमा सबैभन्दा धेरै पारिश्रमिक शिक्षण पेसामा हुनेहरूले पाउनुपर्ने जिकिर गर्नुभयो । उहाँले शिक्षकले प्राप्त गर्नुपर्ने न्यूनतम कुरा अहिले कानुन बन्दै गर्दा पनि दिन नसके विद्यालय शिक्षालाई उकास्न नसकिने बताउनुभयो । सरकारले चाँडो भन्दा चाँडो शिक्षकका माग पूरा गरेर विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ छ । महामन्त्री थापाले सरकार र शिक्षकबीचको वार्ताले सकारात्मक रूप लिने विश्वास लिएको पनि बताउनुभयो ।
‘फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर ११ लाख २७ हजार ठगी गरेको आरोपमा पक्राउ परेकी एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका–६ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–६ बस्ने २८ वर्षीय दादीकी शेर्पा राई रहेकी र निजले फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर बेटिङमार्फत ११ लाख २७ हजार ठगेको अनुसन्धानबाट खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार सामाजिक सञ्जालमार्फत साथी बनाएर इमेल आइडीबनाउन र फिफिया एप इन्स्टल गर्न लगाउनाका साथै बैंक खातालगायतको बायोडाटा विवरण अपडेट गर्न लगाएर पीडितलाई सोही एपबाट हुने आर्थिक कारोबार नेपालमा कानुनबमोजिम छ भनी विश्वास दिलाइ ठग्ने गरेको अनुसन्धानबाट खुलेको छ। विभिन्न देशबीच हुने फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर उनले सट्टेबाजी खेलेमा ९० मिनेटभित्र फाइदा हुने भन्दै उक्त रकम ठगेको भेटिएकाले निजविरुद्ध प्रचलित कानुनबमोजिम ठगी तथा सट्टाबाजीसम्बन्धी कसुरमा अनुसन्धान एवं कारबाहीका लागि टेकुस्थित जिल्ला प्रहरी परिसरमा पठाइएको प्रवक्ता रेग्मीले बताए।
काठमाडौं: चाडपर्वमा सार्वजनिक बसको टिकट खुलाउने सम्बन्धमा सरोकारवालाबीच प्रारम्भिक छलफल सुरु भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वको टिकटसँगै सडकसम्बन्धी विविध समस्याको सम्बोधन गर्न शुक्रबार सरोकारवाला निकायबीच छलफल भइरहेको जानकारी दिनुभयो । सटौलाले भन्नुभयो, “बाटो तथा यातायात सम्बन्धका समस्या छन् । चाडपर्वमा नागरिक घर जान पाउँछन्, टीका लाउन पाउँछन् । टिकट खुलाउने विषयमा प्रारम्भिक छलफल भर्खर सुरु भएको छ ।” उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरोकारवालाबीच छलफल भएको भनाइ राख्नुभयो । उहाँले टिकट खुलाउनेसँगै यातायातका विविध समस्या सम्बोधन हुनुपर्ने, सडक सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
सल्यान: वैदेशिक रोजगारीका लागि दुबई बस्दै आएका कर्ण बहादुर बस्नेतले विदेश हुँदा नै रेवतीको हत्या गर्ने योजना बनाएको अनुसन्धानबाट खुल्न आएको छ । भदौ २५ गतेमात्र दुबईबाट आएका बस्नेतले गत ३० गते त्रिवेणी गाउँपालिका २ झालेढुंगा थापाटोलकी २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतु थापाको हत्या गरेका थिए । उनी हत्या गर्ने योजनासहित नेपाल आएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख नविन कार्कीले बताए । उनका अनुसार दुबईबाट आएको ५ दिनमै रेवती एक्लै भएको मौका पारी राति करिब १० बजेतिर आगो लगाएर हत्या गरेका थिए । सल्यान सिद्ध कुमाख गाउँपालिका २ खानीगाउँका २८ वर्षीय कर्ण बहादुर बस्नेतलाई घटना भएको पाँच दिन पछि सिद्ध कुमाख गाउँपाकिला ३ ढोरचौर बजारबाट बुधबार साँझ पक्राउ गरिएको कार्कीले बताए । यस्तो छ घटनापछाडिको रहस्य प्रहरीका अनुसार हत्या आरोपित बस्नेत र मृतक थापाबीच विगत सात वर्ष अघि सामाजिक सञ्जालमा चिनजान भएको थियो । सामाजिक सञ्जालमा कुराकानी गर्दै गर्दा माया प्रेम बसेको र विवाह गर्ने निर्णयसम्म पुगेको थिए । तर रेवतीले ४ वर्ष अघि गाउँकै अर्को पुरुषसँग विवाह गरे पछि आफूलाई धोका दिएको बस्नेतले महसुस गरे । प्रेममा धोका पाएको र विगतमा सहमतिमा खिचिएका शारिरीक सम्बन्धका फोटो तथा भिडियोका विषयमा उनीहरुबीच सामाजिक सञ्जालमै झगडा भैरहन्थ्यो । रेवतीको विवाह भएको दुई वर्ष पछि पुनः सामाजिक सञ्जाल मार्फत कुराकानी हुन थालेको र हत्याका अभियुक्त बस्नेतले रेवतीको श्रीमानलाई विगतमा लिएका अश्लिल फोटो र भिडियो पठाए पछि रेवतीको घरमा झगडा भएको देखिन्छ । त्यसपछि पीडक बस्नेतले हत्याको योजना बुनेर नेपाल आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको बताइएको छ ।
सङ्खुवासभा: सङ्खुवासभाको पाँचखपन नगरपालिकामा जाँड–रक्सी खाएर प्रहरीमाथि आक्रमण गर्ने ३ जना पक्राउ परेका छन् । पाँचखपन–७ का ३२ वर्षीय महेश कटुवाल, २७ वर्षीय वसन्त कटुवाल र २४ वर्षीय विष्णु कटुवाल पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजकुमार लामिछानेले बताउनुभयो । इन्स्पेक्टर लामिछानेका अनुसार बुधवार राति साढे ११ बजेको समयमा उनीहरूले जाँड–रक्सी खाएर बजारमा होहल्ला गरी बजार नै आतङ्कित बनाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले उनीहरूलाई सम्झाउँदा प्रहरी हवल्दार सन्तोष राईमाथि नै आक्रमण गरी घाइते बनाएको प्रहरीको भनाइ छ । अहिले प्रहरी हवल्दारको उपचार भइरहेको छ । पक्राउ परेका तीन जनामाथि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम अनुसन्धान भइरहेको इन्स्पेक्टर लामिछानेले बताउनुभयो ।