काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गलत क्रियाकलापलाई प्रोत्साहित गर्नु नहुने बताएका छन् । बुधबार काठमाडौँको नक्सालस्थित नारायण चौरमा पार्टीले आयोजना गरेको ‘राष्ट्रिय झन्डासँग सेल्फी’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारले देखावटी रूपमा एउटा कुरा गर्ने र भित्रभित्र अर्को खालको व्यवहार देखाउनु नहुने बताएका हुन् । सरकारले सही क्रियाकलाप अघि नबढाउने लगायतका तौरतरिकाहरू सरकारले गर्नु नहुने भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले संविधान दिवस नेपाली जनताको साझा दिवस भएको पनि बताए । उनले उपलब्धिहरूलाई समाप्त पार्न खोज्ने अभिव्यक्ति, क्रियाकलापहरू देखिने गरेको भन्दै त्यस्ता क्रियाकलापप्रति दुःख व्यक्त गरे । ‘संविधान दिवस सिङ्गो राष्ट्रको राष्ट्रिय दिवस हो । देशभित्र हाम्रो राष्ट्रिय भावना, हाम्रा राष्ट्रिय आकंक्षाहरु, समृद्ध नेपाल, सुखी नेपालीका राष्ट्रिय आकंक्षाहरु यस दिवसले समेटेको छ’, ओलीले भने, ‘कहीँ कतै हाम्रा उपलब्धिहरूलाई समाप्त पार्न खोज्ने अभिव्यक्ति, क्रियाकलापबाट यस्ता प्रयासहरू छिटपुट रूपमा हुने गरेका देखिन्छन् । त्यस्ता क्रियाकलापप्रति म दुःख व्यक्त गर्न चाहन्छु ।’ राष्ट्रिय एकतालाई भङ्ग गर्ने खालका जुनसुकै काम, विचारहरू सकारात्मक कुरा हुन नसक्ने भन्दै ओलीले जनताको एकता, उन्नतिका लागि यस्ता विभाजनकारी प्रवृत्तिहरू, जनतामा खटपट ल्याउने प्रवृत्तिहरू, राष्ट्रिय एकतामा खलल पुर्याउने प्रवृत्तिहरू, क्षेत्रीय, साम्प्रदायिक, जातीयतावादी अथवा विभिन्न आस्थासँगका नाममा गरिएका उश्रृंखल खालका क्रियाकलापहरू राष्ट्रिय एकताको पक्षमा नभएको बताए । अध्यक्ष ओलीले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा शान्ति सुव्यवस्था, सामाजिक न्याय समानता र राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
काठमाडौं: काठमाडौंको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ । दिवस मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोह गरेको हो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । त्यस्तै कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, सङ्घीय संसद्का सभापति र सांसदहरू, संवैधानिक निकायका प्रमुख एवं पदाधिकारीलगायतको उपस्थिति थियो । नेपाली सेनाको हेलिकोप्टरबाट ‘संविधान दिवस, २०८०’ लेखिएको ब्यानर प्रदर्शन तथा पृष्पवृष्टि गरिएको थियो । रङ्गीचङ्गी बेलुन र शान्तिका दूत परेवा उडाइनुका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न टोलीबाट मार्चपास तथा साङ्गीतिक प्रस्तुती गरिएको छ ।
काठमाण्डौ: संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्युयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमाले भेट गर्नुभएको छ । मङ्गलवार राष्ट्रसङ्घका लागि अतिकम विकसित देशहरू तथा भूपरिवेष्टित विकासशील देशहरूका लागि उच्च प्रतिनिधि फतिमाले प्रधानमन्त्री दाहालसँग भेट गर्नुभएको हो । न्युयोर्कमा रहेको नेपालको स्थायी नियोगले दिएको जानकारीअनुसार भेटका अवसरमा दुवैबीच सामूहिक चासोका विभिन्न विषय र अल्पविकसित देशहरूको चासोलाई बहुपक्षीय फोरममा कसरी प्रोत्साहन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।
सप्तरी: सप्तरीमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोक निवासी वीरेन्द्र मण्डलका ५ वर्षीय छोरा हार्दिक कुमार मण्डलको पोखरीमा डुबेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता नरेशकुमार सिंहका अनुसार पोखरीमा डुबेर घाइते भएका बालकको उपचारका क्रममा युनिक अस्पताल रुपनीमा ज्यान गएको हो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताएका छन् । संविधान दिवस, २०८० का अवसरमा शुभकामना सन्देश दिँदै उनले वर्तमान सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको उल्लेख गरेका छन् । सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको मार्गलाई फराकिलो बनाउँदै लगेको उनको भनाइ छ । प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनमा आवश्यक पर्ने कानून निर्माणदेखि भएका कानूनको परिचालनमार्फत जनतामा राजनीतिक परिवर्तनको प्रत्याभूति गराउने अभियानको थालनी गरिएको बताए । संविधानसभाबाट संविधान निर्माण हुनु नेपालमा ऐतिहासिक परिघटना भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले दशवर्षको जनयुद्ध, २०६२–०६३ को जनआन्दोलनलगायत राजनीतिक परिवर्तनका लागि भएका तमाम आन्दोलनको योगफलका रूपमा नेपालमा संविधानसभाबाट संविधान जारी भएको उल्लेख गरेका छन् । संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्यजस्ता लोकतन्त्रका अवयवहरूको जगमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय र समृद्धि प्राप्तिका लागि मार्गप्रशस्त गरेको उनको भनाइ छ । राजनीतिक परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले बेपत्ता, घाइते, अपाङ्गता भएका योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनसहित आदिवासी जनजातिलगायत विभिन्न समुदायका सङ्घर्षमा सहभागी सबैप्रति आभार प्रकट गरेका छन् ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने उल्लेख गर्नुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले संविधान प्रदत्त मौलिक हकको प्रभावकारी कार्यान्वयन, आयातमुखी अर्थतन्त्रलाई विस्थापन गरी राष्ट्रिय अर्थतन्त्रलाई दह्रो र सबल बनाउनु नै आजको मुख्य चुनौती र जिम्मेवारी भएको बताउनुभएको छ । राष्ट्रपति पौडेलले श्रमलाई सम्मान गर्ने संस्कृति, विपन्नलाई आय र निमुखालाई न्याय दिने प्रणालीलाई सबल र प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतान्त्रिक प्रणाली स्थापनार्थ पथ प्रदर्शन गर्नुहुने सम्पूर्ण अग्रजप्रति सम्मान एवं श्रद्धा प्रकट गर्नुभएको छ । “वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ”, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने लक्ष्य राखेको बताउनुभएको छ । उहाँले सुदृढ तहगत अन्तरसम्बन्धको स्थापना र सबल सङ्घीय शासन प्रणालीमार्फत समावेशी, समन्यायिक एवं सन्तुलित प्रादेशिक विकासको सुनिश्चितता हुन सकेन भने जनताले चाहेको लोकतन्त्रको परिणाम प्राप्त नहुने उल्लेख गर्नुभएको छ । उक्त लक्ष्य हासिल गर्न प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्दै कृषिको आधुनिकीकरणसहित उद्यमशीलताको विकासमार्फत उत्पादन वृद्धि गर्नुपर्ने उहाँको भनाइ छ । राष्ट्रपति पौडेलले राज्यको चरित्रलाई अझ लोकतान्त्रिक, पारदर्शी, जवाफदेही, सुशासित, न्यायपूर्ण र जनमुखी बनाउनुपर्ने उल्लेख गर्दै जनप्रतिनिधिहरू, सार्वजनिक निकायका पदाधिकारी तथा राजनीतिक दलका नेता कार्यकर्ताले जनताले अपेक्षा गरेको आचरण र चरित्र देखाउनसके मात्र सामाजिक न्याय र स्वाभिमानसहित समृद्धिको सपना साकार हुने उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशमा भनिएको छ, “राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगका अपेक्षा पूरा हुँदैनन् । अतः आजका दिनले हामी, हाम्रा राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउनेछ भन्ने विश्वास लिएको छु ।” राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नोतर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा आह्वान गर्दै दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।
काठमाडौं: संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुनेछ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नुभएको थियो । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ हुनुहुन्थ्यो । सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गर्नुभएको थियो । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।
पाल्पा: पाल्पाको बगनासकाली गाउँपालिका घोरबन्दामा तीजको अवसरमा सम्पन्न घोरन्दा कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि सराई एफसीले जितेको छ । सोमबार भएको फाइनल खेलमा आयोजक नव जागृती युवा क्लब (कालो) लाई ३–० गोल अन्तरतले पराजित गर्दै सराईले उपाधि जितेको हो । सराइलाई उपाधि दिलाउनका लागि फाइनल खेलमा आशिष रानाले २ र राम किशान पौडेलले १ गोलको योगदान दिएका थिए । उपाधिसँगै सराइले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५० हजार प्राप्त गर्याे । यस्तै उपविजेता बनेको आयोजक टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्याे । उक्त प्रतियोगिताबाट सर्वाेत्कृष्ट र सर्वाधिक गोलकर्ताका रुपमा सराई एफसीका आशिष राना पुरस्कृत भए । यस्तै उत्कृष्ट गोलरक्षक सोही क्लबकै गोबिन रानामगर घोषित भए भने उत्कृष्ट डिफेण्डरका रुपमा आयोजकका सन्दिप मगर र मिडफिल्डरका रुपमा सफल आचार्य पुरस्कृत भए । कुल ११ टिमको सहभागिताबाट विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरी प्रसाद पाठक, माथागढी गाउँपालिका ३ का वडाध्यक्ष तेज घर्तीमगर, पुरस्कारदाताहरु तथा आयोजक संस्थाका अग्रजहरुले पुरस्कार वितरण गरेका थिए । आयोजक संस्था विगत २०३८ सालदेखि नै सामाजिक क्रियाकलापसँगै खेलकुदको क्षेत्रमा त्रियाशिल रहदै आएको छ ।
पोखरा: गण्डकी प्रदेशलाई लामाचौर भलिबल कपको उपाधि दिलाउन प्रतियोगिता भर सानदार प्रदर्शन गरेका गण्डकीका ओपन स्पाइकर रवि केसी पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । इन्द्र राज्य लक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार भएको फाइनलमा खेलामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै गण्डकी गण्डकी प्रदेशले उपाधि जितेको थियो । घरेलु टोली गण्डकीलाई लामाचौर कप भलिबलमा च्याम्पियन बनाउन रविले प्रतियोगिता भर नै सानदार प्रदर्शन गरेका थिए । सर्वोत्कृष्ट बनेका रविले ट्रफी र प्रमाण पत्र प्राप्त गरे । व्यत्तिगत विधातर्फ स्पाइकरमा गण्डकीका किरण गुरौं, ब्लकरमा गण्डकीकै कप्तान हरि पाण्डे तथा गण्डकीकै रमेश केसी उत्कृष्ट प्रशिक्षक चुनिए । पुलिसका कुल बहादुर थापा सर्भर, अभिषेक थापा सेटर र भीम गाहा उत्कृष्ट लिवेरो चुनिए । व्यत्तिगत विधाका सबै उत्कृष्टले ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।