काठमाडौं: आज हरितालिका तीज पर्व मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । हिजो दर खाएपछि औपचारिक रुपमा शुरु भएको तीज पर्व भोलि ऋषि पञ्चमीसम्म मनाइन्छ । यसपालि तिथि घटबढ भएका कारण ऋषिपञ्चमी भोलि नै परेको छ । तीजको अवसरमा काठमाण्डौको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवमन्दिरमा बिहानैदेखि भक्तजनको घुईंचो लागेको छ । हिजो दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ । तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरले सुझाव दिएका छन् । शरीरले थेग्ने भएमात्रै निराहार व्रत बस्न नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र फलफूलका जुस खान उनीहरुको सुझाव छ । निराहार व्रत बस्दा शरीरमा पानीको कमी भइ बेहोशसमेत हुन सक्ने भएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरले आग्रह गरेका छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत गर्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिन्छ ।
काठमाडौं: काठमाडौंको तीनकुनेस्थित काठ मिलमा शुक्रबार राति भएको हत्याकाण्ड मोटरसाइकलको ठक्करपछि भएको विवादको बदला लिँदा भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ का २३ वर्षीय सञ्जय भण्डारीले शुक्रबार राति ४ जनाको हत्या स्वीकार गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको जानकारी दिए । उनका अनुसार बोल्न नसक्ने भण्डारीले लेखेर हत्या स्वीकार गरेका थिए । घटनाक्रम... केही समयअघि नवीन भनिने विशाल राईले भण्डारीलाई चाबहिलमा मोटरसाइकलले ठक्कर दिएका थिए । ठक्कर दिएपछि राईले उनलाई कुटपिट पनि गरेका थिए । जन्मजात बोल्न नसक्ने भण्डारीले त्यसपछि राईसँग पटक–पटक मोटरसाइकलले ठक्कर दिएको घटनाका विषयमा कुरा गर्न खोजेका थिए । कुरा हुन नसकेपछि शुक्रबार उनी काँडाघारीबाट खुकुरी बोकेर राईले काम गर्ने मिलमा गएका थिए । मिलमा उनले सुरूमा राईको टाउकोमा खुकुरी हानेर हत्या गरे । त्यसपछि मिलमा अरू मान्छे पनि देखेपछि उनीहरूले प्रहरीलाई भनिदिन्छन् भन्ने ठानेर अरू तीन जनाको पनि त्यही खुकुरीले हानेर हत्या गरेको देखिन्छ । भण्डारीले सोही मिलमा काम गर्ने दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा सुभद्रा भुजेलको पनि हत्या गरेका थिए । चार जनाको हत्या गरेर भण्डारी काँडाघारीस्थित दिदी–भिनाजुको घरमा गएर बसेका थिए । आइतबार बिहान उनी काठमाडौंमा प्रहरीले आफूलाई पक्रन सक्ने ठानेर सिन्धुपाल्चोक जान लागेका थिए । सोही समयमा सिसिटिभी फुटेजको आधारमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्दा उनले हत्या भएको दिन लगाएका लुगा नै लगाएका थिए भने झोलामा खुकुरी राखेका थिए । भण्डारीले सिन्धुपाल्चोकमा ८ सम्म र काठमाडौंमा १२ कक्षासम्म सांकेतिक भाषामा पढेका थिए । उनको बयान लिन प्रहरीले सांकेतिक भाषा विज्ञलाई बोलाएको थियो । भण्डारीले सुरूमा आफूले चार जनाको हत्या गरेको भन्दै कापीमा अंग्रेजीमा लेखेका थिए, ‘आइकिल्ड फोर पिपल ।’ भण्डारीले हत्या गरेको स्वीकारेपछि प्रहरीले शनिबार पक्राउ गरेका दीपेन्द्र राईलाई रिहा गरिदिएको छ ।
काठमाडौं: एसिया कपमा भारतले आठौं पटक उपाधि जितेको छ । आज भएको एसिया कपको फाइनलमा भारतले घरेलु टोलि श्रीलंकालाई १० विकेटले हराउँदै आठौं पटक उपाधि जितेको हो । जितको लागि ५१ रनको सामान्य लक्ष्य भारतले ६.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । भारतका शुभमन गिल १९ बलमा ६ चौकासहित २७ रनमा नटआउट रहे । ईशान किशन १८ बलमा ३ चौकासहित २२ रनमा नटआउट रहे । त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमा अल आउट भएको थियो । श्रीलंकाको यो ओडिआईको दोस्रो कम योगफल हो । श्रीलंका यसअघि २०१२ मा दक्षिण अफ्रिकासँग ४३ रनमा अल आउट भएको थियो । ओडिआईमा सर्वाधिक कम योगफलमा जिम्बावे र अमेरिका समान ३५ रनमा अल आउट भएका छन् । जिम्बावे २००४ मा श्रीलंका र अमेरिका २०२० मा नेपालसँग समान ३५ रनमा अल आउट भएका थिए । श्रीलंकाका कुशल मेन्डिसले ३४ बलमा ३ चौकासहित सर्वाधिक १७ रन बनाए । दुनिथ वेलालागे २१ बलमा ८ रनमा आउट भए । श्रीलंकाका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमा ५ खेलाडीले खाता खोल्न सकेनन् । एक समय ५.४ ओभरमा १२–६ को दयनीय अवस्थामा पुगेको श्रीलंकालाई सातौं विकेटका लागि दुनिथ वेलालागे र कुशल मेन्डिसले २३ रनो साझेदारी गरेका थिए । कुशल मोहम्मद शिराजकै १२ औं ओभरको दोस्रो बलमा बोल्ड आउट हुन पुगेका थिए । शिराजले ब्यक्तिगत छैटौं विकेट पूरा गरेका थिए । कुशल आउट भएसँगै श्रीलंको झिनो आशा समाप्त भएको थियो । श्रीलंकाले पहिलो ओभरको तेस्रो बलमै ओपनर कुशल परेरालाई शून्यमा गुमाएको थियो । तीव्र गतिका बलर जस्प्रित बुमराहको बलमा एज लागेर कुशल विकेटकिपर लोकेश राहुलबाट समातिन पुगेका थिए । तीव्र गतिका बलर मोहम्मद शिराजको चौथो ओभरको चार विकेट लिएपछि भारत पुरै खेलमा हाबी बनेको थियो । चौथो ओभरको पहिलो बलमा शिराजले अर्का ओपनर पाथुम निसंका रविन्द्र जडेजाबाट २ रनमा क्याच आउट भए । एक बलपछि सदिरा समराविक्रमालाई शून्यमा एलबीडब्लू आउट भएका थिए । पहिलो बलमै चरिथ असलंका ईशान किशनबाट क्याच आउट भएका थिए । ह्याट्रिक बलमा धनन्जय डि सिल्भाले चौका प्रहार गरेका थिए । तर अन्तिम बलमा सिल्भा पनि एज लागेर राहुलबाट क्याच आउट भएपछि संकटमा पुर्याए । शिराजले छैटौं ओभरको चौथो बलमा कप्तान दासुन शानकालाई योर्करमा बोल्ड आउट गर्दै आफ्नो पाँच विकेट पूरा गरेका थिए । भारतका मोहम्मद शिराजले ७ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ६ विकेट लिए । हार्दिक पान्ड्याले २।२ ओभरमा ३ रन खर्चेर ३ विकेट लिए । जस्प्रित बुमराहले १ विकेट लिए । यसअघि भारतले सन् १९८४, १९८८, १९९०र९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो । भारतले समूह चरणमा नेपाललाई १० विकेटले हराएको थियो । पाकिस्तानसँग वर्षाको कारण अंक बाँडेको थियो । भारतले सुपर फोरमा श्रीलंकालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । बंगलादेशसँग ६ रनले हार्न पुगेको थियो ।
काठमाडौं: संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी आयातमा कर तथा भन्सार छुटको सहमति प्रदान गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । आज आइतवार बसेको समितिको बैठकले चाडपर्वमा चिनीको अभाव हुन नदिन वाणिज्य मन्त्रालयबाट माग भएको ५० हजार मेट्रिक टन चिनीमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट तथा एक प्रतिशत भन्सार महसुल लिने गरी आयातको सहमति उपलब्ध गराउन निर्देशन दिएको हो । यसअघि वाणिज्य मन्त्रालयले ५० हजार मेट्रिक टन चिनी आयातका लागि भन्सार महसुल छुटको सहमति प्रदान गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको थियो । तर अर्थ मन्त्रालयले २० हजार मेट्रिक टन चिनी आयातका लागि ५० प्रतिशत मात्र भन्सार महसुल छुट दिने गरी आयातको सहमति प्रदान गरेको वाणिज्य मन्त्रालयका सचिव मधुकुमार मरासिनीले जानकारी दिनुभयो । सरकारले चिनीको आयातमा ३० प्रतिशत भन्सार महसुल लगाउँदै आएको छ । केही दिनदेखि बजारमा चिनीको भाउ किलोमै ३० रुपैयाँभन्दा धेरैले बढ्नुका साथै अभाव पनि देखिएको छ । समितिले चाडपर्वका समयमा चिनी, चामल र गहुँलगायतका अत्यावश्यक वस्तुको अभाव हुन नदिन र कालोबजारी रोक्न पनि सरकारलाई निर्देशन दिएको छ । बैठकमा समितिका सदस्यहरूले चाडपर्वका बेला आमउपभोक्तालाई सहज र सुलभ ढङ्गले अति आवश्यक वस्तुको व्यवस्था मिलाउन सरकारलाई सचेत गराएका थिए । समितिकी सदस्य रमा कोइराला (पौड्याल)ले सरोकारवाला सबै निकायले चाडपर्वका बेला सुलभ र सहज ढङ्गले आवश्यक वस्तुको व्यवस्था मिलाउने काममा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । चाडबाडका बेला नागरिकलाई सुभल मूल्यमा अत्यावश्यक वस्तुको व्यवस्था मिलाउन भन्सार छुट गर्नुपर्ने कोइरालाको भनाइ छ ।
पोखरा: गण्डकी प्रदेश सरकारले चालु वर्ष दोस्रो पञ्चवर्षीय योजना (२०८०-८१/२०८५-८६) निर्माण गर्दैछ । उक्त योजना निर्माणकालागि आईतवार अवधारणा पत्र पारित भएको छ । प्रदेश नीति तथा योजना आयोगले तयार गरेको अवधारण पत्र मुख्यमन्त्री तथा आयोगका अध्यक्ष सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले पारित गरेको हो । मुख्यमन्त्री पाण्डेले बसाईसराई रोक्ने, उत्पादन र उत्पादकत्व वृद्धी गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने गरी दोस्रो पञ्चवर्षीय योजना बनाउन सुझाब दिए । ‘कार्यन्वयन हुने खालका योजना मात्रै दोस्रो पञ्चवर्षीय योजनामा समेट्नुपर्छ’ उनले भने ‘गर्नै नसकिने महत्वकांक्षी योजना राख्नका लागि मात्रै उल्लेख नगर्नुहोस् ।’ ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी’ भन्ने सोच र उत्पादकत्व वृद्धी, सामाजिक न्याय र सम्मुन्ति हासिल गर्ने लक्ष्यका साथ दोस्रो पञ्चवर्षीय योजनाको कार्यदिशा तय भएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले बताए । उत्पादन र उत्पादकत्व अभिवृद्धि तथा कृषि क्षेत्रमा रुपान्तरण गर्नु, विकासका पूर्वाधारको सुदृढीकरण, पर्यटन प्रवद्र्धन, औद्योगिक विकास र रोजगारी सिर्जना गर्नु लगायत उद्देश्य अवधारणा पत्रमा उल्लेख छ । विकासका लाभको समन्यायिक वितरण सुनिश्चित गरी सामाजिक न्याय स्थापित गर्नु, गुणस्तरीय सार्वजनिक सेवा र सुशासन अभिवृद्धि गर्नु, मानव पुँजी, उत्थानशील विकास र आर्थिक क्रियाशीलता मार्फत समृद्धि हासिल गर्नु दोस्रो पञ्चवर्षीय योजनाको मुख्य उद्देश्य रहेको छ । प्रदेशको अर्थतन्त्रको सुदृढिकरण, वित्तीय स्रोत पहिचान र व्यवस्थापन, सामाजिक सुरक्षा, संरक्षण, समावेशीकरण र सशक्तिकरण, श्रम रोजगारी, उत्पादन तथा गरिबी न्यूनीकरण, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य क्षेत्रको सबलीकरण रणनीतिक क्षेत्र समेटिएको प्रदेश योजना आयोगका उपाध्यक्ष देवकोटाले बताए । दिगो पूर्वाधार विकास, पर्यटन र शहरीकरण, वन वातावरण, जैविक विविधता तथा विपद् जोखिम व्यवस्थापन, पुँजी निर्माण र लगानी, विनियोजन कुशलता, पुँजीगत खर्च र संस्थागत क्षमता, सुशासन तथा सार्वजनिक सेवा प्रवाह लगायत क्षेत्रमा केन्द्रित रहेर रणनीति बनेको उनले बताए । दोस्रो पञ्चवर्षीय योजना निर्माण प्रक्रिया सहभागितामूलक हुनेछ । ‘प्रदेशका सामाजिक, आर्थिक र भौतिक पूर्वाधारको क्षेत्रगत तथ्याङ्क, अवस्था, समस्या, चुनौती र अवसरहरु समेटिनेछ’ उपाध्यक्ष देवकोटाले भने । प्रदेश सरकारका विभिन्न पदाधिकारी तथा निकायका प्रतिनिधि, राजनीतिक दल, निजी क्षेत्र, गैर सरकारी क्षेत्र, विकास साझेदार र युवा वर्ग लगायतसँग छलफल तथा अन्तरक्रिया गरिने उनले बताए । जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा र प्रदेश सभाका सांसद, जिल्ला समन्वय समितिका पदाधिकारी, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, नागरिक समाजका प्रतिनिधि, गैह्रसरकारी संस्था, प्राज्ञ, निजी क्षेत्र, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार तथा अन्य सरोकारवालासँग पनि छलफल हुने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष देवकोटाले बताए । छलफल तथा अन्तरक्रियाबाट प्राप्त सुझावका आधारमा योजनाको मस्यौदा दस्ताबेजलाई परिमार्जन गरिँदै लगिने नीति योजना आयोगले जनाएको छ । ‘अन्तिम मस्यौदालाई प्रदेश विकास परिषद्को बैठकमा प्रस्तुत गरी अनुमोदन गराइनेछ’ उपाध्यक्ष देवकोटाले भने । आईतवारको बैठकमा प्रमुख सचिव, प्रदेश नीति योजना आयोगका सदस्यहरु लगायतको उपस्थिती थियो ।
काठमाडौं: अमेरिकाबाट हुलाकमार्फत पठाइएको गाँजासहित प्रहरीले विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरेको छ । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै पठाइएका पार्सलमा गाँजा फेला परेको नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ । भदौ २४ गते अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै जिल्ला हुलाक कार्यालय कास्कीमा पठाइएको एउटा कार्टुन बक्समा १ किलो ४०० ग्राम गाँजा भेटिएको छ । उक्त कार्टुन लिन आउने भारतीय नागरिक २४ वर्षका एजिन भार्गेसलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनको कोठाबाट ७२० ग्राम गाँजा बरामद भएको ब्यूरोका प्रहरी उपरीक्षक जोशीले जानकारी दिए । यस्तै भदौ १९ गते अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमार्फत जिल्ला हुलाक कार्यालय वीरगञ्जमा प्राप्त हुने गरी पठाइएको एउटा कार्टुन बक्समा ९०० ग्राम गाँजा भेटिएको ब्यूरोका प्रहरी उपरीक्षक जोशीले जानकारी दिए । प्रहरीले वीरगञ्जमा उक्त कार्टुन बक्स लिन आउने वीरगञ्ज महानगरपालिका–१६ का ३२ वर्षका डल्लु राम र ४३ वर्षका हबिब मियालाई पक्राउ गरेको छ । त्यस्तै गोश्वारा हुलाक कार्यालय काठमाडौंबाट डडेल्धुरा पठाइएको एउटा कार्टुनमा पनि प्रहरीले गाँजा भेटेको छ । कार्टुनमा ७२० ग्राम गाँजा भेटेको थियो । उक्त गाँजा लिन आउने डडेल्धुराको गन्यापधुरा गाउँपालकिा–१ की ३९ वर्षकी रेनुका तामाङलाई पक्राउ गरेको छ । त्यस्तै गोश्वारा हुलाकबाटै रेनुका तामाङले पाउने गरी भदौ २४ गते ९३९ ग्राम गाँजा पठाएको भेटिएको थियो । रेनुकाले उक्त कार्टुन भारतीय नागरिक अरुण कुमार र मोहम्मद नइमले लिन पठाएको भनी खुलाएकाले उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: श्रीलंकाले एसिया कप २०२३ को फाइनलमा भारतविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकोछ । कोलोम्बोमा घरेलु टोली श्रीलंकाका कप्तान दाशुन शानकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । श्रीलंकाले टोलीमा आज एक परिवर्तन गरेकोछ । घाइते स्पिनर महेश थिक्सेना यसअघि नै बाहिरिएका थिए । उनको स्थानमा स्पिनर दुशान हेमान्थालाई आज मौका दिएको छ । उता भारतले आज टोलीमा प्रमुख खेलाडी फर्काएको छ । घाइते अक्षर पटेलको स्थानमा वासिन्टन सुन्दरलाई मौका दिएको छ । भारत आठौं र श्रीलंका सातौं एसिया कप जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । श्रीलंका र भारतको सुपर फोरमा ४९४ अंक थियो । नेटरनरेटको कारण भारत शीर्ष र श्रीलंका दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन् । श्रीलंका सुपर फोरमा भारतसँग ४१ रनले पराजित भएपनि पाकिस्तानलाई दुई विकेट र बंगलादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । उता भारतले श्रीलंकालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । बंगलादेशसँग भने ६ रनले पराजित भएको थियो । श्रीलंकाले सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा उपाधि जितेको थियो । भारतले सन् १९८४, १९८८, १९९०/९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो । भारतको प्लेइङ–११: रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, हार्दिक पान्ड्या, लोकेश राहुल, ईशान किशन, रविन्द्र जडेजा, कुलदीप यादव, वासिन्टन सुन्दर, जस्प्रित बुमराह र मोहम्मद शिराज । श्रीलंकाको प्लेइङ–११: पाथुम निसांका, कुशल परेरा, कुशल मेन्डिस(विकेटकिपर), सदिरा समाराविक्रमा, चरिथ असलंका, धनन्जय डि सिल्भा, दासुन शानका(कप्तान), दुनिथ वेलालागे, दुशान हेमान्था प्रमोद मदुशान र मथिशा पाथिराना ।
पोखरा: पोखरामा राजन एण्ड द ब्रदर्शले नेपालकै सर्वाधिक राशीको ‘दोस्रो राष्ट्रिय खुला फुटसल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । ‘परिवर्तनका लागि खेलकुद’ नारासहित पोखरा रंगशालास्थित कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । आयोजक संस्थाका अध्यक्ष राजन गुरुङले सो प्रतियोगिता आगामी असोज २७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने बताए । उनले राष्ट्रिय फुटसल लिग च्याम्पियन पोखराको स्पोर्टस् क्यासल प्रालिसँग सहकार्य गरेर प्रतियोगिता सञ्चालन गर्ने बताए । यसअघि सम्पन्न पहिलो संस्करणको प्रतियोगितामा आयोजक र स्पोर्टस् क्यासलबाट खेलेका ४ जना खेलाडी राष्ट्रिय फुटसल टिममा परेकाले आफूहरुलाई थप हौसला मिलेको सुनाए । ‘पहिलो संस्करण कोभिडको समय भएकाले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गरेका थियौं, उनले भने त्यो प्रतियोगितामा आयोजकबाट खेलेका भाइहरु राष्ट्रिय टिममा परेपछि दोस्रो संस्करणमा पुरस्कार राशी वृद्धि गरेका हौं ।’ उनका अनुसार यो वर्ष मंगोलियामा हुने प्रतियोगिता लागि घोषणा भएको नेपाली टोलीमा स्पोर्टस् क्यासलको तर्फबाट सुमित श्रेष्ठ (मेस्सी), राम शाही, र दिपेश घले छनोट भएका छन् भने राजन एण्ड द ब्रदर्शबाट खेलेका आरुष सिंह ठकुरी पनि नेपाली टोलीमा स्थान बनाएका छन् । अध्यक्ष गुरुङले यसपटक ‘परिवर्तनका लागि खेलकुद’ भन्ने नारासहित प्रतियोगिता सञ्चालन गर्ने बताउदै भने, ‘पहिलो संस्करणमा खेलेका ४ जना भाइहरु यसपटक राष्ट्रिय टिममा परेका छन् । त्यसैले यो प्रतियोगिताबाट पनि उदीयमान र नयाँ खेलाडीले राष्ट्रिय टिममा स्थान बनाउँनेछन् भन्नेमा विश्वस्त छौं ।’ प्रतियोगिता संयोजक आशिष क्षेत्रीले पुरस्कार राशी वृद्धि गरेर ५ लाख पुर्याइएको जानकारी दिए । उनका अनुसार पहिलो संस्करणमा उपाधि राशी ३ लाख रुपैयाँ थियो । यस पटक दोस्रो संस्करणको विजेतालाई ५ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपात्र प्रदान गर्ने बताए । यस्तै उपविजेताले ३ लाख रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागततर्फ प्रतियोगिताबाट सर्वाेत्कृष्ट हुने खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५/२५ हजार रुपैयाँबाट पुरस्कृत हुनेछन् । देशभरबाट कुल ३० बढी टिमको सहभागिता रहेको आयोजकको अपेक्षा छ भने प्रतियोगितामा सहभागिता हुनका लागि २५ हजार दर्ता शुल्क निर्धारण गरिएको छ ।
पोखरा: पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र एसियाली विकास बैकका कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा एडिबीको सहयोगमा सञ्चालित शहरी पूर्वाधार र जीवन सुधार परियोजनासहित पोखराको दिगो पर्यटन विकासका सम्भावना लगायत विषयमा छलफल भएको छ । हाल एडिबीको सहयोगमा पोखराको ढल निकास, सडक, फुटपाथ र सडक सुधार परियोजना अन्तरगत सडक सुरक्षा उपायहरूको योजना सहित विद्यमान सडक र ढलको स्तरोन्नति, शहीद चोक–तीनकुने–राधाकृष्ण मार्ग–एसओएस–घले चोक–हरियो खर्क–पीआईए ८.८ किलोमिटर सडक सुधार योजनालाई अन्तिम रूप दिइएको छ । यसका लागि ५.३४ मिलियन अमेरिकी डलर खर्च हुनेछ । पञ्चासे पारिस्थितिक विकास र पहुँच परियोजना अन्तरगत दमदमेदेखि भन्ज्याङसम्मको १३ किलोमिटर सडक कालोपत्रे, भन्ज्याङदेखि पञ्चासेसम्म बाटोको स्तरोन्नति, सुविधा सहितका सर्भिस प्वाइन्टहरू स्थापना, विद्यमान होमस्टेको एकीकृत प्रवद्र्धन योजना र गुरुङ सङ्ग्रहालयको संरक्षणका लागि ३.०५ मिलियन अमेरिकी डलर खर्च हुनेछ । पञ्चासे १०० भन्दा बढी प्रजातिका अर्किड र पोखरीहरू रहेको एक प्रसिद्ध तीर्थस्थल र संरक्षित वन क्षेत्र हो । एडिबी कै सहयोगमा लेक टु लेक साइकल ट्र्याक र फेवाताल सुधार परियोजना समेत सञ्चालनको क्रममा रहेको छ । परियोजना अनुसार ९ वटा ताल र १८ वटा वडाहरूलाई जोड्ने गरी ८५ किलोमिटर लामो साइकल ट्र्याक निर्माण हुनेछ । फेवाताल सुधार परियोजना अन्तरगत बसाइ व्यवस्थापन, शौचालय, वाटर फाउन्टेन, वाटर स्प्रिङ प्रोटेक्सन, इन्फरमेसन बोर्ड, डाइरेक्शन बोर्ड, साइकल पार्किङ, सर्भिस पोइन्टसहित साइकल स्ट्यान्डहरूको निर्माण गरिनेछ । यसमा ३.०५ मिलियन अमेरिकी डलर खर्च हुनेछ । रानीवन इको ट्रेल र फेवाताल सुधार परियोजना अन्तरगत ड्यामसाइडबाट रानीवनलाई सिसाको पुलले जोड्ने, शान्ति स्तूप र फेवातालको परिधिलाई एकीकृत रूपमा जोड्दै रानीवनबाट इको ट्रेल विकास गर्ने योजना रहेको छ । इको रुटमा विश्राम स्थल, शौचालय, धारा, मन्दिर जीर्णोद्धार, सूचना बोर्ड लगायत सार्वजनिक सुविधाहरू समावेश हुनेछन् । यसमा ५.६३ मिलियन अमेरिकी डलर खर्च हुनेछन् । शान्ति बन बाटिका बोटानिकल गार्डेन निर्माण हुनेछ । परियोजना अन्तरगत विद्यमान वन क्षेत्रलाई हरियाली केन्द्रको रूपमा विकास र स्तरोन्नति गरी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनेछ । जहाँ जडीबुटी बगैँचा, पैदल मार्ग, टिकट काउन्टर, विश्राम स्थल, पिकनिक सेड, ध्यान केन्द्र, कम्पाउन्ड वाल, फेन्सिङ, एप्रोच रोड लगायत निर्माण हुनेछ । अर्को परियोजनामा पोखराको पुरानो सम्पदा संरक्षणसँग जोडिएको छ । महानगरपालिका वडा नम्बर २, ३, ४ मा रहेका पुराना शैलीका कलात्मक भवन तथा मन्दिरहरूको संरक्षणका लागि यो परियोजना लागु गरिनेछ । रामकृष्ण टोललाई पोखरा हेरिटेज साइटका रूपमा विकास गर्दै एक प्रमुख पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गरिने छ । यसले पुरानो पोखराको सहरी पुनरुत्थान सहित सिद्दार्थचोकदेखि विन्ध्यवासिनी सम्म १.५ कि.मि सडकको स्तरोन्नति र फुटपाथ निर्माण गर्नेछ । यसका लागि एडिबीले १.९८ मिलियन अमेरिकी डलर खर्च गर्नेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाईडसम्मको सडक स्तरोन्नतिका लागि प्राविधिक, वातावरणीय र आर्थिक सम्भाव्यता प्रतिवेदन तयार भैसकेको छ । यस परियोजनाको लागि डीएससीएस खरिदको लागि टीओआरको तयारी भइरहेको छ । यसमा २ मिलियन अमेरिकी डलर खर्च हुनेछ । यस्तै साबिक लेखनाथ नगरपालिकाको कार्यालय रहेको स्थानमा महनगरस्तरिय विपद् व्यवस्थापन केन्द्र स्थापना गरिनेछ । विपद् व्यवस्थापन परियोजना अन्तरगत एडिबीको सहयोगमा विपद्का बेला राहत तथा उद्धारमा क्रियाशील हुनेगरि महानगर स्तरीय विपद् व्यवस्थापन केन्द्र स्थापना हुनेछ । यसका लागि १ मिलियन अमेरिकी डलर खर्च हुनेछ । पोखरा प्रवेश पार्क समेत पोखरा ३२ मा निर्माण गरिनेछ । यसका लागि एडिबीले ५ मिलियन अमेरिकी डलर खर्च गर्नेछ । पोखरा प्रवेश गर्ने बित्तिकै हुने पर्यटकीय गतिविधिहरू चलायमान बनाउनका लागि यो पार्क उपयोगी हुनेछ । पोखराको चिनारीका रूपमा यसको विकास गरिनेछ । पोखरा प्रवेश गर्नासाथ पार्क परिसरमा अवलोकनका लागि पर्यटन पूर्वाधारहरू समेत निर्माण गरिनेछ । यी लगायतका परियोजनाहरूका विषयमा एडिबीको टोलीले प्रमुख आचार्यसँग छलफल गरेको हो । सो क्रममा प्रमुख आचार्यले परियोजनाहरू तोकिए कै समयमा सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । टोलीमा एडिबीका कार्यकारी निर्देशक सुलेमान सहित निर्देशक सल्लाहकार म्याथ्यु सुलिभान, निर्देशन सल्लाहकार भीमकान्त न्यौपाने र सहरी विकास विज्ञ शिव पौडेल रहनुभएको थियो । भेतवातार्मामा पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख आचार्य सहित प्रमुख कार्यकारी अधिकृत श्यामकृष्ण थापा, वित्त महाशाखा प्रमुख जयराम पौडेल र परियोजना व्यवस्थापक इ.अल्का प्रजापति, महानगरको अन्तराष्ट्रिय सम्बन्ध हेर्ने सूचना प्रविधि अधिकृत सुवास ढुंगाना लगायतको सहभागिता थियो । परियोजनामा एडिबीले ७५ प्रतिशत र २५ प्रतिशत भने नगर विकास कोष (टिडिएफ) र पोखरा महानगरपालिकाले सयुँक्त रूपमा लगानी गर्नेछन् ।