मुलुकको अर्थतन्त्र लयमा फर्किँदै छ: अर्थमन्त्री डा. महत

काठमाडाैं | माघ २४, २०८०

मुलुकको अर्थतन्त्र लयमा फर्किँदै छ: अर्थमन्त्री डा. महत

काठमाडौं:     अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्कँदै गएको बताउनुभएको छ । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को प्रथम वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘अर्थतन्त्र पुनरुत्थानमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अगाडि बढ्दै गएको बताउनुभएको हो ।


“विगतका दिनमा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भयो, उक्त खर्चको दायित्व तिर्दा अर्थतन्त्र केही दबाबमा परेको थियो, पुँजीगत खर्च अब बढ्छ, त्यो बिस्तारै समाधान हुँदैछ, अर्थतन्त्र लयमा फर्कँदै छ”, उहाँले भन्नुभयो ।


अर्थमन्त्री डा महतले बैङ्क तथा वित्तीय क्षेत्रबाट लिएको ऋण तिर्नुपर्ने बताउनुभयो । “बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋण कुनै हालतमा पनि तिर्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले निजी क्षेत्र, सञ्चारकर्मी, सरकार, नागरिक समाज, समग्र जनता मिलेर मुलुकको अर्थतन्त्रलाई सपार्ने बाटोमा लाग्नुपर्ने बताउनुभयो ।


सबै क्षेत्रको सामूहिक प्रयासबाट मात्र अर्थतन्त्रले गति लिने उहाँको भनाइ छ । उहाँले अर्थतन्त्रले पछिल्लो समय राम्रो गति लिएको तथ्याङ्कले देखाएको बताउनुभयो । “हामीसँग पुँजी छ, तर खर्च गर्न समस्या भएको छ, आगामी दिनमा खर्च पनि बढ्छ”, उहाँले भन्नुभयो ।


नेपाल राष्ट्र बैंककका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पछिल्लो समय नेपालको अर्थतन्त्र गतिशील बन्दै गएको बताउनुभयो । उहाँले आयात बिस्तारै घट्दै जानुका साथै विप्रेषणसमेत बढ्दै गएको बताउनुभयो ।


उहाँले नेपालको बैङ्क तथा वित्तीय क्षेत्रमा जुन खालको कर्जा प्रवाह गर्नुपर्ने हो त्यो हुन नसकेको स्पष्ट पार्नुभयो । उहाँले कर्जालाई उत्पादन क्षेत्रमा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । अर्थतन्त्रलाई सकारात्मक सन्देश दिने खालका समाचार सम्प्रेषणमा लाग्न सञ्चारमाध्यमलाई उहाँले आग्रह गर्नुभयो ।


नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रका सूचकाङ्क पछिल्लो समय सकारात्मक गतिमा जाँदा पनि उक्त सकारात्मक कुरा आम जनतामा जान नसकेको बताउनुभयो । फ्रेबुअरीमा हुन लागेको लगानी सम्मेलनलाई आवश्यक पर्ने ऐन, कानुन सहजीकरणका लागि निजी क्षेत्रले सरकारलाई सुझाव दिइसकेको उहाँको भनाइ छ । अध्यक्ष ढकालले मुलुकमा लगानीको वातावरण निर्माण गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।


नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्रलाई अगाडि बढाउन निजी क्षेत्रको मनोबल बढाउन जरुरी रहेको बताउनुभयो । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष ओमदेवी मल्लले व्यक्तिगत पाराले सहकारी चलाउँदा सहकारी क्षेत्रमा समस्या उत्पन्न भएको उल्लेख गर्नुभयो ।


नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसी, नेपाल उद्योग परिसङ्घ उद्योग समितिका संयोजक लक्ष्मीप्रसाद सुवेदीलगायतले मुलुकको अर्थतन्त्रको विकासको क्षेत्रमा इमानले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो ।


इमानका अध्यक्ष रोयल आचार्यले मुलुकको अर्थतन्त्रलाई सबल बनाउनका लागि इमानले भूमिका खेल्दै आएको बताउनुभयो । बैङ्क तथा वित्तीय संस्थाको आवाज इमानले बोल्दै आएको उहाँको भनाइ थियो । 

काठमाडौं: सगरमाथा आरोहण दलका सदस्य प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई शुभकामनासहित नेपाल प्रहरीको ब्यानर हस्तान्तरण गरिएको छ ।       नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विगतमा नेपाल शिक्षक महासङ्घसँग भएको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न सरकारसँग माग गरेको छ ।        माओवादी केन्द्रक...

थप पढ्नुहोस्

रुपन्देही: विसं २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक लगायो । नगरपालिकाले एक समारोहबीच गुट्खाजन्य पदार्थ निषेध क्षेत्र भनेर घोषणा नै गरिसकेको छ ।  &...

थप पढ्नुहोस्