मोरङ: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुने भएको छ । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिनुभयो । संविधानको धारा १६८(३) अनुसार प्रदेश सभामा सबैभन्दा ठुलो दलको हैसियतले कोशीमा ३० दिन नेकपा एमाले संसदीय दलको नेता कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो । यसरी गठन भएको सरकारले संविधानको १६८(४) बमोजिम ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने व्यवस्था रहेकोले आज मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गर्नुभएको हो । अहिले कोशी प्रदेश सभामा एमालेसँग ३९ मात्रै सांसद (उपसभामुखबाहेक) छन् । कांग्रेसको २९, माओवादी केन्द्र को १३, राप्रपाको ६ एकीकृत समाजवादी ४ र जसपाका एक सांसद छन् ।
बाँके: नेपालगञ्जमा मङ्गलवारदेखि जारी कर्फ्यु र निषेधाज्ञाको समय घटाइएको छ । बिहीबार र शुक्रवार राती ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लाग्दै आएकोमा शनिवार राती ८ बजेदेखि बिहान ४ बजेसम्म मात्रै कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो । नेपालगञ्जमा दिउसो निषेधाज्ञा र रातीको समयमा कर्फ्यु लाग्दै आएको छ । शनिवार बिहान ९ बजेदेखि राती ८ बजेसम्म निषेधाज्ञाको आदेश जारी गरिएको छ । यसअघि बिहान ८ बजेदेखि राती ८ बजेसम्म निषेधाज्ञा जारी हुँदै आएकोमा शनिवार एक घण्टा घटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरारोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाक्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न लेख्न नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्धेश्यले एकै ठाउँमा ५ जना भन्दा बढी मानिसहरू जम्मा हुन नपाउने गरी निषेधज्ञाको आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी अधिकारी आचार्यले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बाँकेले समग्र जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न र मानव अधिकारको सम्मान गर्न सबैमा अनुरोध गर्दै सार्वजनिक स्थलमा होहल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलापहरू, सामाजिक सञ्जालमा कुनै व्यक्ति सङ्घ संस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पुर्याउने वा धार्मिक विद्वेष फैलाउने तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरू नगर्न हार्दिक आव्हान गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।
काठमाडौं: दसैँका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिनुभयो । व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएपनि मन्त्रालयमा भएको छलफलमा व्यवसायीले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन् । पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो ।
पोखरा: एट टु नाइन गाइजको आयोजनामा जारी खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको दोस्रो दिन चार वाकओभरसहित १० खेल सम्पन्न भएका छन । पोखरा १३ माछापोखरी खेल मैदानमा भएको दोस्रो दिनको पहिलो खेलमा नेभरमिट एफसीले मसिना एफसीलाई २–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो खेलमा रामघाट गुम्बा ‘ए’ ले मन्थन एफसीलाई १–० गोले हरायो । तेस्रो खेलमा नमस्ते एफसीले वाकओभर पायो । प्रतिद्वन्द्वी एसएनएस बि–१३ ले खेलमा सहभागिता नजनाएपछि वाकओभर पाएको हो । चौथो खेलमा लामागाउँले संगम एफसीलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएपछी खेल टाइब्रेकरमा धकेलिएको हो । पाचौं खेलमा नदिपुरले वाकओभर पायो । प्रतिद्वन्द्वी ढुङ्गेसाघु नाअएपछी वाकओभर पाएको हो । प्रतिस्पर्धात्मक बनेको छैटौं खेलमा गेमशालाले कमलपोखरीलाई टाइब्रेकरमा २–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । सातौं खेलमा बि–१३ ले वाक ओभर पायो भण्डारढिकले सहभागिता नजनाएपछि वाकओभर पाएको हो । आठौं खेलमा म्याग्दी चोकले सनसेटलाई ४–१ गोल अन्तरले हरायो । नवौं खेलमा रामघाट गुम्बा ए ले वाकओभर पायो । बिएनएस रुद्र एफसीले सहभागीता नजनाएपछी रामघाटले वाकओभर पाएको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको प्रतियोगिताको अन्तिम खेलमा रन्जन मेमोरियलले केआईइसी बुनलाई सडनडेथमा ४–३ गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत बराबरी भएपछी खेल सडनडेथमा पुगेको थियो । प्रतियोगिता खेलाडीलाई आर्थिक सहयोग गर्नका लागि गरिएको हो । रग्बी खेलाडी यशोदा बोहोरालाई अर्थिक सहयोग गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिता संयोजक लोक गुरुङले जानकारी दिए । यशोदा नेपालमा भएको यु–२० एसिया रग्बी सेभेन्सको तयारीको प्रशिक्षणका दौरान घाइते भएकी थिइन् । यशोदा यु–१५ साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको टोलीकी सदस्य पनि हुन् । प्रतियोगिताबाट बचत भएको रकम यशोदालाई प्रदान गरिने गुरुङले बताए ।
अनलाइन बेटिङबाट २४ करोड बराबरको कारोबार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले झापा दमक नगरपालिका-१२ का ३० वर्षीय पिन्टुकुमार साहलाई पक्राउ गरेको हो। कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उनले गैरकानुनी रूपमा २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँको बेटिङ कारोबार गरेको देखिन्छ। वानएक्स बेट, मेल्बेट, रूपी बेट, डब्ल्युडब्ल्युडब्ल्यु ३८८८, स्काइ चेन्ज, बालिज बेट, खेल विन, इन्डिओ २४ बेट, केएनजेम८८ जस्ता वेबसाइटहरूमार्फत साहले बेटिङ गर्न लगाएको प्रहरीले जनाएको छ। उनले अरूलाई बेटिङ गर्न लगाएको, जुवा, सट्टाबाजीजस्ता अनलाइन खेल खेलाएको आरोप छ। नेपाल राष्ट्र बैंकको नियमविपरीत कारोबार गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो। थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ।
काठमाण्डौ: सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले सरकारले कैयौँ विषयमा गल्ती गरिरहेको टिप्पणी गर्नुभएको छ । जघन्य अपराधमा संलग्न मान्छेहरूलाई आममाफी दिएकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उहाँले आइन्दा त्यस्ता गल्ती नगर्न पनि सचेत गराउनुभयो । शुक्रवार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उहाँले भन्नुभयो, ‘सरकारले अत्यन्त जघन्य अपराधमा संलग्न मान्छेलाई आममाफीको प्रक्रियाबाट छोड्दैछ । त्यसप्रति पनि म ध्यानाकर्षण गराउन चाहन्छु । विद्यालय बनाएर मात्रै, कानुन बनाएर मात्रै समाज सुन्दर बन्दैन । त्यसको कार्यान्वयन गर्न सरकार कति गम्भीर बन्छ, त्यसलाई कति गम्भीर रूपमा लिन्छ भन्ने कुराले अर्थ राख्छ । म अपिल र आग्रह गर्न चाहन्छु– सरकारले कैयौँ निर्णयहरूमा कमजोरी गरिरहेको छ । सरकारले गल्ती नगरोस् ।’ महामन्त्री शर्माले आन्दोलनरत शिक्षकहरूको सबै मागलाई पूरा हुने गरी यो विधेयक परिमार्जन गर्न पनि सरकारलाई दबाब दिनुभयो । उहाँले सरकारले संसदमा पेस गरेको यो विधेयकलाई युग सुहाउँदो ढङ्गले परिमार्जन गर्न सत्तापक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्ने बताउनुभयो । महामन्त्री शर्माले विगतमा गरिएको गल्तीबाट पाठ सिकेर सरकारले विद्यालय शिक्षा विधेयक परिमार्जन गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।
काठमाण्डौ: बझाङका वसन्तराज जोशी दशैँको टिकटका लागि चिन्तित हुनुहुन्छ । अनलाइन र प्रत्यक्ष रूपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उहाँ निराश हुनुहुन्छ । नजिकिएको दशैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कसलाई पो नहोला र रु तर दशैँको मुखमा एअरलाइन्सको टिकट पाउन मुस्किल छ । केही गन्तव्यको टिकट त महिनादिनअघि नै बुकिङ सकिएको छ । अहिले कतिपय सुगम गन्तव्यको हवाई टिकट पाउन पनि ग्राहकलाई मुस्किल छ । चाडपर्वमा यात्रुले महँगो भाडा तिरेर पनि हवाई टिकट पाउन सास्ती छ । गएको वर्षको दशैँमा १७ हजार छ सय रुपैयाँ हवाई भाडा तिरेर काठमाण्डौदेखि धनगढी हुँदै बझाङ पुगेका जोशीलाई यो वर्ष महँगोमै भए पनि टिकट लिएर घर पुग्ने सकस छ । ‘अघिल्लो वर्ष महँगो टिकट खरिद गरेर दशैँमा घर गइएको थियो, यो पटक त टिकट नै पाउन मुस्किल भइरहेको छ, दशैँको सङ्घारमा अब झन् टिकट पाउन सास्ती हुन्छ’, जोशीले भन्नुभयो । महँगो टिकट भए पनि जहाज पाउनै कठिनाइ हुन्छ । दुर्गम रुटमा चल्ने थोरै सङ्ख्याका जहाजको कम उडान हुने हुनाले ‘हब’ विमानस्थलबाट दुर्गम भेगमा जानेलाई थप सास्ती बेहोर्नुपर्ने हुन्छ । धनगढीकी निशा पाण्डे यतिखेर दशैँको टिकट जोहोका लागि एअरलाइन्स धाइरहनुभएको छ । अनलाइन बुकिङ सकिएको र सम्बन्धित एअरलाइन्सको टिकट काउन्टरमा पनि सिट नपाएर हैरानी खेप्नु परेको पाण्डेले सुनाउनुभयो । खोटाङकी दीपा राई दशैँमा घर जानका लागि हवाई टिकटको खोजीमा हुनुहुन्छ । ‘जहाजको टिकट खोजिरहेको छु, अहिलेसम्म पाएको छैन, दशैँमा कसरी घर पुग्ने हो चिन्तित छु’, उहाँले भन्नुभयो । दशैँमा आवतजावत गर्ने महत्त्वपूर्ण माध्यम भनेको सडक तथा हवाई यातायात नै हो । अझ प्रभावकारी यातायातका रूपमा हवाई सेवालाई लिइन्छ । दशैँ आउन दुई हप्ता बाँकी रहँदा अहिले धेरैजसो गन्तव्यको टिकट बुकिङ भइसकेको छ । वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले दशैँका लागि धमाधम बुकिङ भइरहेको जानकारी दिनुभयो । अहिले धेरैजसो गन्तव्यको अनलाइन बुकिङ सकिएको उहाँले बताउनुभयो । सामान्यतया दशैँ आउन एक महिना अघिदेखि नै हवाई टिकट खुलाइन्छ । अहिले अनलाइनबाट सहज रूपमा टिकट पाइने भएकाले धेरैजसो हवाई गन्तव्यको टिकट बुकिङ भइसकेको एअरलाइन्सले जनाएका छन् । उनीहरूका अनुसार दशैँलाई लक्षित गरेर अहिले ८० प्रतिशत हाराहारी टिकट बुकिङ भइसकेको छ । बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले दशैँका लागि अहिले ८० प्रतिशतसम्म बुकिङ भइसकेको जानकारी दिनुभयो । ‘दशैँलाई लक्षित गरेर केही ‘सेक्टर’ मा ८० प्रतिशत र कतिपय सेक्टरमा ७० प्रतिशत बुकिङ भइसकेको छ’, उहाँले भन्नुभयो, ‘अब सहुलियत भाडादरको टिकट पाउन मुस्किल छ, त्यसैले यात्रुले भटाभट टिकट लिनुपर्ने हुन्छ ।’ तुम्लिङटारको महिनादिनअघि नै बुकिङ पूरा सङ्खुवासभाका सविन कार्कीले तुम्लिङटारको टिकट पाउन सक्नुभएको छैन । उहाँ दशैँ नजिकिएकाले अब वैकल्पिक साधनको प्रयोगबाट गन्तव्यमा जाने निष्कर्षमा पुग्नुभएको छ । आन्तरिक उडानको महत्त्वपूर्ण ‘स्टल रुट’ मानिने तुम्लिङटार र सुर्खेत गन्तव्यको अग्रिम बुकिङ सकिएको एअरलाइन्सले जनाएका छन् । बुद्ध एअरका सूचना अधिकारी कर्णका अनुसार बुद्ध एअरको तुम्लिङटार गन्तव्यको टिकट सबै बुकिङ भइसकेको छ । सुर्खेतका लागि पनि अब टिकट पाउन मुस्किल छ । बुद्ध एअरले अहिले १६ थान एटीआर जहाजमार्फत दैनिक दुईतर्फी एक सय ५० हाराहारी उडान गरिरहेको छ । ‘तुम्लिङटार ‘प्याक’ भइसक्यो, अब कसैले ‘सिट क्यान्सिल’ गरेमा मात्रै पाइएला, सहुलियत भाडाको दर पनि बढ्नेछ, यात्रुले तत्कालै टिकट काटे सहुलियत भाडा दरमा पाउनसक्ने र ढिला गरेमा त्यो पाउने सम्भावना कम हुन्छ’, सूचना अधिकारी कर्णले भन्नुभयो । धनगढीका लागि १७ हजार रुपैयाँभन्दा धेरै भाडा बुद्ध एअरका अनुसार दशैँको घटस्थापनासम्मका लागि काठमाण्डौदेखि धनगढीसम्म दशैँका लागि अधिकतम भाडादर १७ हजार एक सय ८६ रुपैयाँ रहेको छ । यो गन्तव्यमा अहिले सहुलियत भाडादर ११ हजार एक रुपैयाँ छ । त्यस्तै सुर्खेतको महँगो भाडा दर १४ हजार एक सय ६८, नेपालगञ्जको महँगो भाडा दर १३ हजार तीन सय ९४ रुपैयाँ रहेको छ । काठमाण्डौदेखि भ्रद्रपुरको भाडा दर अधिकतम १२ हजार तीन सय ८३ रुपैयाँ तोकिएको छ । यो गन्तव्यको सहुलियत भाडा दर आठ हजार एक रुपैयाँ छ । दशैँ, तिहार, छठलगायत चाडपर्व नेपालीको महत्त्वपूर्ण उत्सव हुन् । दशैँमा गाउँघर जाने, आफन्तसँग भेटघाट गर्ने र नयाँ लुगा लगाउने परम्परा छ । वर्ष दिनको महत्त्वपूर्ण चाड भएकाले देश तथा विदेशबाट सहर, सदरमुकामदेखि गाउँबेसी पुग्नेको लर्को लाग्छ । उनीहरू आफन्त र मान्यजनबाट टीका तथा आशीर्वाद थाप्न लामो यात्रा तय गरेर गन्तव्यमा पुग्छन् । ‘दशैँका लागि धेरैजसो बुकिङ भइसकेको छ, यात्रुको मागका आधारमा उडान सङ्ख्या थप्ने योजनामा छौँ, ‘ट्रङ्क रुट’ मा त्यति समस्या छैन ‘स्टल रुट’ मा जहाज सीमित भएकाले अत्यधिक चाप हुन्छ’, उहाँले भन्नुभयो । वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता शर्माले दशैँ लक्षित अनलाइन बुकिङ सकिए पनि जहाज पर्याप्त रहेकाले थप उडान सञ्चालन गरिने जानकारी दिनुभयो । आन्तरिक उडानमा बुद्ध एअर, यती एअरलाइन्स, श्री एअरलाइन्स, सौर्य, सिम्रिक, सीता र समिट एअरको अग्रिम बुकिङ धमाधम भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अहिले आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० र अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायु सेवा प्रदायकले उडान भर्दै आएका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आन्तरिक उडानतर्फ अहिले दैनिक तीन सय हाराहारी दुईतर्फी उडानमार्फत झन्डै १५ हजार यात्रु आवतजावत गरिरहेका छन् । महाप्रबन्धक तिवारीले दशैँमा यो सङ्ख्या थप बढ्नसक्ने भएकाले उडान सङ्ख्या पनि बढ्ने बताउनुभयो । यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अहिलेसम्म ५० प्रतिशतभन्दा माथि बढी टिकट बिक्री भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिला जस्तो दशैँलाई मात्र भनेर बुकिङ खुलाउने गरिएको छैन, टिकट अनलाइनमा सहजै पाइने भएकाले बुकिङ धमाधम भइरहेको छ, घटस्थापनापछि बढी चाप हुन्छ ।’ प्रवक्ता बर्तौलाका अनुसार अहिले अनलाइन बुकिङ हुने र एअरलाइन्सले ठूला जहाज सञ्चालन गरेकाले विगतमा जस्तो टिकट अभाव नहुने विश्वास व्यक्त गर्नुभयो । यती एअरलाइन्सले पाँच थान एटीआर जहाजमार्फत सेवा दिइरहेको छ । तुलनात्मक रूपमा हवाई यात्रा महँगो भए पनि सहज, सुलभ र छिटोछरितो यातायात भएकाले यसप्रति यात्रुको आकर्षण बढ्दो छ । कमाइका हिसाबले पनि यो मौसम उपयुक्त मानिन्छ । त्यसैले केही महँगो भए पनि हवाई यात्राका लागि धेरैजसो यात्रु लालायित हुन्छन् । दशैँमा सङ्घीय राजधानी काठमाण्डौ छाडेर गाउँघर पुग्ने यात्रुको चहलपहल बढी हुन्छ । टीकाको भोलिपल्टदेखि राजधानी फर्किने यात्रुको चाप बढ्छ । वायु सेवा कम्पनीका अनुसार अहिले दशैँको अन्तिम दिनलाई लक्षित गरी उच्च दरमा टिकट लिने क्रम बढेको छ । विशेषगरी फूलपातीदेखि विजयादशमी टीकासम्म चाप बढी हुन्छ । अग्रिम बुकिङ त्यहीअनुसार हुने गरेको एअरलाइन्स कम्पनीले जनाएका छन् । नेपाली पात्रोअनुसार यस वर्ष असोज २८ गते घटस्थापना र कात्तिक ७ गते विजयादशमी टीका रहेको छ ।
काठमाडौं: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक एकता र सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ । शुक्रबार एक सन्देश जारी गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले सामाजिक एकता, जागरण र पहरेदारीका लागि अपील गर्नुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले सन्देशमार्फत् भन्नुभएको छ, ‘‘नेपाली समाजमा सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक एवम् अन्तरसामुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न हुनेगरी देशका कतिपय स्थानहरूमा भइरहेका क्रियाकलापहरूका सन्दर्भमा म सबैमा जिम्मेवार बन्न, धैर्य धारण गर्न र संयम अपनाउन हार्दिक अनुरोध गर्दछु । समाजमा शान्ति खल्बलिने तथा प्रचलित कानुनको पालनामा प्रतिकूल असर पर्नेगरी नेपाली जनतालाई नै एकअर्काविरुद्ध उभ्याउने गतिविधिमाथि मलजल गर्न मिथ्या सूचना र झूटा समाचारको समेत उपयोग भैरहेकोतर्फ समेत म सबैको ध्यान आकृष्ट गर्न चाहन्छु ।’’ सबै नागरिकलाई आ–आफ्नो धर्म, संस्कृति र परम्पराको निर्वाध पालनाका लागि संविधान, कानुन र राजनीतिक संरचनाले पर्याप्त स्थान दिएको उल्लेख गर्नुहुँर्दै पूर्वराष्ट्रपति भण्डारीले एक–अर्काको धार्मिक आस्था र सांस्कृतिक परम्परालाई सम्मान गर्ने ऐतिहासिक कालदेखिको हाम्रो असल परम्परालाई थप सुदृढ तुल्याउन आवश्यक भएको बताउनुभएको छ । कुनैपनि प्रकारका विभाजनकारी प्रवृत्तिबाट प्रभावित नभई नेपालको पहिचान र प्रगतिको आधारशीलाका रूपमा रहेको जातीय, धार्मिक एवम् सामाजिक सद्भावलाई जोगाउन फेरि एकपटक एकताबद्ध बन्न आवश्यक रहेको उहाँको भनाइ ।
पोखरा: नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट पत्रकार सुष्मा पौडेल सदस्य पदमा निर्वाचित भएकी छिन् । पोखरामा सम्पन्न भएको प्रथम अधिवेशनमा पत्रकार पौडेलले ६ सय ३० मत प्राप्त गर्दै खुला युवा महिला सदस्य सदस्य निर्वाचित भएकी हुन् । निर्वाचित पौडेल प्रेस चौतारी गण्डकी प्रदेशको इन्चार्ज हुन् । युवा महिला पदमा ५ जनाको कोटाभएपनि ८ जनाको उम्मेदवारी परेपछि पौडेलसहित ५ जना निर्वाचित भए । सो पदमा सुरक्षा लामिछाने, सिर्जना केसी, अञ्जु केसी, छविकला पाण्डे निर्वाचित भएकी थिइन् । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा, उपाध्यक्षमा स्याङ्जाको मीनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, उपसचिवमा कास्कीका दानबहादुर विक र पर्वतकी मञ्जु अधिकारी ‘प्यासी’ महिला उपसचिवमा निर्वाचित भएका छन् ।