काठमाडौं:  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश ल...

पोखरा:   पोखरामा १० केजी ८ सय ८९ ग्राम लागूऔषध गाँजासहित रविन्द्र थिङ तामाङ प्रकाउ परेका छन्  । पोखरा महानगरपालिका ३२ मजुवा स्थित सवारी साधन चोकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको बसमा सवार रविन्द्रको साथबाट १० केजी ८ सय ८९ ग्राम लागूऔषध गाँजासहित रविन्द्र थिङ तामाङलाई प्रहरीले प्रकाउ गरेको हो ।  कास्कीको वडा प्रहरी कार्यालय गगनगौडा र गण्डकी प्रदेश प्रहरी कार्यालय केनाईन शाखाबाट कुकुर सहित चेकिङमा खटिएको प्रहरीको टोलीले धादिङको गजुरी गाउँपालिका ३ क्वालसिङ घर भएका २२ थिङलाई लागूऔषधसहित पोखरामा प्रकाउ गरेको हो ।  प्रहरीले प्रकाउ परेका थिङको साथबाट १० केजी लागूऔषध गाँजासहित, १ थान मोवाईल र ७ हजार ९० रुपैयाँ बरामद गरेको छ । प्रकाउ परेका थिङलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   

पोखरा: पोखरा १६ बाटुलेचौरमा रहेको राजपँधेरा टोल विकास संस्थाको आयोजनामा बडादशैंको अवसर पारी यही असोज २६ गते देखि २८ गतेसम्म स्थानिय बाटुलेचौर खेल मैदानमा भलिवल प्रतियोगिताको साथै विविध कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष मिन वहादुर गुरुङले जानकारी दिनुभयो ।   तीन दिनसम्म संचालन हुने प्रतियोगितामा पोखराका १६, १९,२० र १ नम्वर वडाका ३५ वर्ष माथिका पुरुष सहभागी टिमले सहभागिता जनाउन सक्ने र २४ गतेभित्र टिम दर्ताका लागि खुल्ला गरिएको संस्थाका प्रकास वस्नेतले वताउनु भयो ।“स्वास्थ्यका लागि खेलकुद” भन्ने अभियानका साथ प्रतियोगितालाई निरन्तरता दिईएको संस्थाले जनाएको छ । कार्यक्रममा भलिवल सहित रस्साकस्सी प्रतियोगिता, घैंटो फुटाउने, ठेलो हान्ने लगायतका सांस्कृतिक कार्यक्रम आयोजना गर्ने संस्थाका अध्यक्ष एवं कार्यक्रम संयोजक गुरुङले वताउनु भयो । प्रतियोगितामा विजेतालाई च्यांङ्ग्रा, मेडल र ट्रफी तथा उपविजेतालाई भेडा, मेडल र ट्रफी प्रदान गरिने छ भने विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने वताईएको छ ।   प्रतियोगितामा एउटा वडावाट २ वटासम्म टिमले सहभागिता जनाउन सक्ने र चार वटा वडाका  करिव दश वटा टिमले सहभागिता जनाउने भलिवल प्रतियोगिता उपसमितिका संयोजक विशाल खड्काले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिव ८ लाख खर्च लाग्ने र सो रकम विभिन्न संघ, संस्था तथा सहयोगीवाट संकलन गरिने आर्थिक उपसमितिका संयोजक केशव थापाले वताउनु भयो । कार्यक्रमलाई व्यवस्थित बनाउन संस्थाका अध्यक्ष मिन वहादुर गुरुङको संयोजकत्वमा ९३ सदस्यीय मुल समिति र  विभिन्न १२ वटा उपसमितिका साथै  सल्लाहकार समिति समेत गठन गरिएको छ ।   कार्यक्रममा आर्कषणको रुपमा लिङ्गेपिङ्ग समेत राखिने संस्थाले जनाएको छ । उक्त संस्थाले अघिल्लो वर्ष पनि बडा दशैंको अवसरमा भेट्रान्स कप भलिवल तथा विविध कार्यक्रम आयोजना गरेको थियो ।

काठमाडौं:  विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् ।   राजधानीको एक होटलमा प्रसाईंले दिउँसो १२ स् ४५ बजे पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन् ।​ प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा ल्याएर  ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’  घोषणा गरेका थिए ।   त्यसयता उनले अन्य विभिन्न व्यवसायीहरुलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् ।​ प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषा गरेका थिए । प्रहरीले यसका केन्द्रीय संयोजक शम्भु थापालाई पक्राउ समेत गरेको थियो ।

म्याग्दी:    कर्णाली प्रदेशको जुम्लाका कृषक भेडाच्याङ्ग्रा बिक्री गर्न १७ दिन हिँडेर गण्डकी प्रदेशको म्याग्दी आएका छन्। जुम्लाको पातारासी गाउँपालिका–३ का तीर्थराज बोहराको टोली दुई सय ७० भेडाच्याङ्ग्रा हिँडाएर १७औँ दिनमा आज म्याग्दीको सदरमुकाम बेनी आइपुगेको हो। ‘हामीले गाउँमा पालेकाबाहेक बझाङ र बाजुराबाट खरिद गरेर ल्याएका भेडाच्याङ्ग्राको बजार खोज्दै बेनी आइपुगेका हौँ,’’उनले भने, ‘यहाँ ल्याइपुर्‍याउँदा एउटा च्याङ्ग्राको मूल्य  ५० देखि ५५ हजार परेको छ।’  उनीहरु जुम्लादेखि डोल्पा, रुकुमपश्चिम, ढोरपाटन हुँदै म्याग्दीको धवलागिरि गाउँपालिकाबाट परम्परागत व्यापारिक मार्गको प्रयोग गरेर च्याङ्ग्रा बेच्न बेनी आएका हुन्। मुस्ताङी भेडाच्याङ्ग्राले बजार लिन थालेपछि करिब १५ वर्षयता म्याग्दीमा डोल्पा र जुम्लाबाट भेडाच्याङ्ग्रा ल्याइएका थिएनन्। स्थानीयका अनुसार करिब १५ वर्षपछि जुम्लाका कृषक (तराल) भेडाच्याङ्ग्रा बिक्रीका लागि म्याग्दी आएका हुन्। भेडाच्याङ्ग्रा बिक्री गर्न आउने व्यापारी र कृषकलाई म्याग्दीमा तराल भन्ने चलन छ। तीर्थराजसहित चार जना मिलेर भेडाच्याङ्ग्रा बिक्री गर्न आएका हुन्। हालसम्म करिब १५ मात्र भेडाच्याङ्ग्रा बिक्री भएको श्यामराज बोहराले बताए। ‘सबैले महँगो भयो भन्छन्,’ उनले भने, ‘पोखरासम्म पुर्‍याउँदा बिक्री हुन्छन् कि भन्ने आशा छ,’ उनले भने। दसैं पर्वलाई लक्षित गरेर यसपाली म्याग्दीमा मुस्ताङभन्दा पहिले जुम्लाबाट च्याङ्ग्रा आइपुगेका हुन्। म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौंलगायत जिल्लाबाट च्याङ्ग्रा खरिद गर्नका लागि व्यापारीहरु मुस्ताङको सदरमुकाम जोमसोम पुगेका छन्। मुस्ताङका कृषकका गोठबाट सङ्कलन गरेर जोमसोम ल्याइएका च्याङ्ग्रा व्यापारीले खरिद गरेर निकासी गर्दछन्। ​ च्याङ्ग्राको हुल भित्रिएसँगै दसै आगमनको महसुस गराउँछ। उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विषेश गरी लेकाल जडीबुटी खाने भएकाले दसैँ तिहारजस्ता पर्वमा पोषिलो मासुका रुपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुने गर्दछ। स्वादिलो र पोषिलो हुने भएकाले दशैमा हिमाली भेडाच्याङ्ग्राको मासु उपभोग गर्ने चलन रहेको बेनीका देवेन्द्र घिमिरेले बताए। तीन वर्षअघि प्रतिवटा रु २५ हजारमा पाइने च्याङ्ग्राको मूल्य अहिले दोब्बरले बढेकाले सामान्य वर्गका उपभोक्ताले स्थानीय खसीबोका प्रयोग गर्न थालेका छन्।

लमजुङ:   लमजुङको सुन्दरबजार नगरपालिका-५ गहतेका ३५ वर्षीय गमबहादुर गुरुङको दक्षिण कोरियाको फाजु क्षेत्रमा मृत्यु भएको छ ।  रोजगारीको शिलशिलामा ६ वर्षअघि दक्षिण कोरिया गएका गुरुङको असोज १७ गते कोरियामा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।  गहतेस्थित कालिका युवा क्लबका पूर्वअध्यक्ष समेत रहेका गुरुङ गत साता सम्पन्न लमजुङ परिवार दक्षिण कोरियाको १४ औं अधिवेशनबाट महासचिवमा निर्वाचित भएका थिए । लमजुङ परिवार दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाइबाले गमबहादुर गुरुङको रातिको काममा जानुअघि निधन भएको बुझिएको बताए । गमबहादुरले काम गर्ने ठाउँ फाजुस्थित कम्पनीमा गएर बुझ्दा उनको गत बुधबार राति ६ बजेतिर निधन भएको बुझिएको बताए । कम्पनीले वाइबालाई दिएको जानकारी अनुसार गमबहादुरसँग एक जना भियतनामी कामदार सँगै बस्दै आएका थिए । उनीहरु दुवै सँगसँगै काम गर्ने समय राति थियो । अध्यक्ष वाइबालाई ‘साहुनी’ ले दिएको जानकारी अनुसार बेलुकाको नियमित ड्युटी समय सुरु हुनु अगावै भियतनामी साथीले खाना खाएर गमबहादुरलाई जोडले बोलाएका थिए । तर उनमा कुनै हलचल नदेखिएको पाएपछि भियतनामी साथीले साहुसँग कुरा गरेर एम्बुलेन्स र प्रहरीलाई खबर गरेको कम्पनीकी साहुनीले जानकारी गराएको वाइबाले बताए । गमबहादुर गुरुङको निधनबारे नेपालमा घरपरिवारलाई जानकारी गराइसकेको र परिवारको निर्णय अनुसार शवलाई छिट्टै नेपाल पठाइने उनले बताए । मृतक गुरुङका श्रीमती, एक छोरी, एक भाइ र बुबाआमा गाउँमै छन् । एक जना दिदी र एक जना बहिनीको विवाह भइसकेको छ । 

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहतलगायतका विषयमा चासो व्यक्त गर्नुभएको छ ।   राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा बोलाएर इजरायलमा रहेका नेपाली नागरिकको अवस्थाबारे चासो व्यक्त गर्नुभएको हो । उहाँले इजरायलमा हमासको आक्रमणमा परी मारिएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धान्जली व्यक्त गर्दै उनीहरूको परिवारप्रति सहानुभूति प्रकट गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।   यसैगरी, उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रपति पौडेलले सुरक्षित स्थानमा रहेका नेपालीलाई स्वदेश फर्काउने काम तत्काल अगाडि बढाउन पनि आग्रह गर्नुभएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिनुभयो ।

पाेखरा:  शनिबार अपराह्नपख डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेको भेटिए ।   चाडपर्वको याम त्यहीँमाथि बिदाको दिन । ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उनी निराश देखिए ।   'यो पाली अचम्मै भएको छ, पर्यटक किन आएनन् खै ', पाण्डेले भने, 'मुख्य पर्यटकीय याममा पनि बेगनासको यो अवस्था छ ।'   शनिबार २ बजेसम्म जेनतेन पचास आन्तरिक पर्यटकले मात्र डुङ्गामा ताल सयर गरेका उनले बताए ।   बेगनास ताल डुङ्गा व्यवसायी समितिमा तीन सय ३१ डुङ्गा व्यवसायी छन् । 'भोकभोकै आएर पनि डुङ्गा व्यवसायी पालोमा बस्छन्, तर पर्यटक कुर्दाकुर्दै दिन बित्छ, पालो आउँदैन', पाण्डेले सुनाए, 'अघिपछि यो याममा दैनिक ५० भन्दा बढी डुङ्गा व्यस्त हुन्थे । अहिले त चार–पाँचवटा चल्न पनि धौधौ छ ।'   स्थानीय पर्यटन व्यवसायीले बेगनासमा पर्यटक घट्नुमा सडकको दूरावस्थालाई मुख्य कारक मान्छन् ।   मुग्लिन–पोखरा राजमार्गको तालचोक हुँदै बेगनास जोडिने सडक अहिले निर्माणाधीन अवस्थामा छ ।   'सडक बनिरहेकाले बेगनासको यात्रामा पर्यटकलाई सास्ती छ', डुङ्गाको टिकट कक्षका कर्मचारी राजु कँडेलले भने, 'हिलो, धुलो र खाल्डाखुल्डीले हिँडिसाध्य छैन ।' आर्थिक मन्दीका कारणले पनि मानिस घुमघाममा कम निस्केको हुनसक्ने उनको भनाइ थियो ।   कँडेलका अनुसार पहिले मुक्तिनाथ दर्शन गर्न आउने भारतीय पर्यटक बेगनास ताल घुमेर स्वदेश फर्कन्थे । अहिले अति न्यून सङ्ख्यामा विदेशी पर्यटक त्यहाँ पुग्छन् ।   'पहिले दुई जनालाई टिकट बेच्न भ्याइनभ्याइ हुन्थ्यो । अहिले काउन्टर रुँघेर बस्नुपरिरहेको छ', उनले भने, 'डुङ्गा व्यवसाय मात्र नभएर बेगनासको सिङ्गो पर्यटन क्षेत्र सुस्ताएको छ ।'   तालमा पर्यटक आकर्षित गर्न गत साउनदेखि ‘मोटरबोट’समेत सञ्चालनमा ल्याइएको कँडेलले बताए । उनका अनुसार पोखरा महानगरपालिका–३१ स्थित बेगनास ताल क्षेत्रको पर्यटनले डुङ्गा, मत्स्य, होटल तथा रेष्टुराँलगायत स्थानीय व्यवसायीको जीविका भरथेग हुँदै आएको छ ।    अहिलेकै स्थिति रहिरहे पर्यटनको आयआर्जन गुम्ने स्थानीयवासीमा चिन्ता छ । सुन्दरीडाँडास्थित बेगनास–रुपा सूचना केन्द्र तथा ‘भ्यूवाटर’का कर्मचारी सरु भुजेलले कोभिड–१९ महामारीपछि बेगनासमा पर्यटकको सङ्ख्या नसोचेको ढङ्गले घटेको बताइन् ।    'दैनिक सयौँ जनाले टिकट लिएर भ्यूटावर चढ्नुहुन्थ्यो । अहिले कुनै दिन त एक जना पनि पर्यटक आउनुहुन्न', उनले भनिन्, 'आम्दानी नभएपछि भ्यूटावरको मर्मतसम्भार र रेखदेखमा समस्या भइरहेको छ ।'    शनिबार पनि ‘भ्यूटावर’को अवस्था सुनसान रहेको भुजेलले सुनाइन् । एकैसाथ बेगनास र रुपातालसहित मनोरम दृश्यावलोकन गर्न सकिने भए पनि पर्यटक नआउँदा भ्यूटावर क्षेत्र भएको सुनसान उनको भनाइ थियो ।   भ्यूटावर चढ्दा विद्यार्थीलाई रु २०, अन्यलाई रु ३० र विदशीलाई रु ५० को टिकट लाग्ने भुजेलले जानकारी दिइन् ।   टिकटको आम्दानीमध्ये ४० प्रतिशत ताल संरक्षणमा, २० प्रतिशत स्थानीय अरुण ज्योति आधारभूत विद्यालयमा, २० प्रतिशत जैविक स्रोत संरक्षण संस्थामा र बाँकी तलब आदिमा खर्च हुने गरेको उनले बताइन् । 

लागुऔषध (गाँजा) सम्बन्धी मुद्दामा दोषी ठहर भएका निसिखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीको मुद्दामा उच्च अदालत पोखरा, बागलुङ इजलासले जिल्ला अदालत बागलुङको फैसलालाई नै सदर गरेको छ।   आइतबार न्यायाधीशद्वय मदन पोख्रेल र माधविन्द्रराज रेग्मीको संयुक्त इजलासले जिल्ला अदालत बागलुङको तीन वर्ष ६ महिना कैद फैसला सदर गर्दै घर्तीलाई थप ५० हजार जरिवानाको फैसला गरेको अदालतका सूचना अधिकारी शिवप्रसाद गौतमले जानकारी दिए।   जिल्ला अदालत बागलुङले २०७९ पुस ३ गते घर्तीलाई लागुऔषध कारोबारमा संलग्न भएकोमा दोषी ठहर गर्दै कैद फैसला सुनाएको थियो। उक्त फैसलाविरुद्ध घर्तीले २०८० जेठ ३ मा उच्च अदालत पोखरा, बागलुङ इजलासमा पुनरावेदन दिएका थिए।   हाल गाउँपालिका अध्यक्ष रहेका घर्ती निसीखोला–६ को वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका थिए । घर्तीलाई जिल्ला अदालत बागलुङले कैद फैसला गर्दा घर्ती गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेका थिए। इलाका प्रहरी कार्यालय बुर्तिवाङका तत्कालीन प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई निवासबाटै पक्राउ गरेको थियो। बुर्तिवाङ बजारमा गाँजा सेवन गर्ने युवालाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा आपूर्तिकर्ताको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो।  

पोखरा:   ‘बाटोले गर्दा छोरी दिने भएनन्’ यो तस्वीर अहिले सामाजिक सञ्जालमा छरपस्ट छ ।   व्याङ्ग्यात्मक प्रहार झल्किने यो विरोध पोखरा महानगरपालिका १ सिमपानी सडकखण्डको हो ।  राष्ट्रिय गौरवको आयोजना अन्तरगत मध्यपहाडी पुष्पलाल लोकमार्गमध्ये पर्ने २२ सय मिटर दुरीको सडक निर्माणको काम रोकिदा व्याङ्गात्मक प्लेकार्ड बोकेर चक्का जाम गर्न स्थानीय बाध्य छन् ।   पोखरा महानगरपालिका १ र २५ नम्बर वडा जोड्ने (हरिचोकदेखि याम्दीपुलसम्म) सडकको अवस्था कस्तो छ भन्ने यही एउटै प्लेकार्डले प्रष्ट्याएको छ ।    घाम लाग्दा धुलाम्मे वर्षातमा हिलाम्मे हुने यो बाटोले स्थानीय आजित छन् ।   स्थानीय मात्रै होइन यात्रुहरुलाई पनि उत्तिकै सास्ती छ । त्यसैले स्थानीयहरु युवाहरु सडक निर्माणको काम रोकिएपछि विरोधमा उत्रिएका हुन् । सिमपानीको स्थानीय त्रिशक्ति युवा क्लबको अगुवाईमा सडक अवरुद्ध गरेपछि निर्माण कम्पनीसँग वार्ताको माहौल बन्यो ।      अहिले केही प्रतिबद्धतासहित ठेकेदार कम्पनीले स्थानीयको माग पुरा गर्ने सम्झौता गरेपछि विरोधको आन्दोलन स्थगित गरिएको स्थानीय त्रिशक्ति युवा क्लबका सहसचिव प्रविण सुवेदीले जानकारी दिए ।    ‘दुई दिन हामीले सांकेतिक रुपमा एक/एक घण्टा सडक जाम गरेका थियौं, त्यसपछि वार्ताको माहौल बन्यो, सुनगाभा न्यूजसँग उनले भने, ‘अहिले निर्माण कम्पनीको इन्चार्जसँग ५ बुँदें सम्झौता गरेका छौं त्यसैले विरोधको कार्यक्रमलाई केही समय स्थगित गरेका छौं ।’   उनका अनुसार निर्माण व्यवसायीहरुले तीन महिना यता निर्माण कार्यमा ढिलासुस्ती गरेको थियो । त्यसपछि कामलाई तिब्रता दिन र सम्झौता समयावधिमै काम सक्नका लागि दवाव स्वरुप विरोधमा उत्रेको बताए ।   ‘हरिचोक, सिम्पानी हुँदै याम्दी हेमजा जोड्ने सडक आफैमा राष्ट्रिय गौरवको आयोजना हो, त्यसैमाथि गण्डकी प्रदेशको राजधानी प्रवेशद्वारमा नै सडक निर्माण ढिलासुस्ती भएको छ’, सुवेदीले भने, ‘निर्माण कार्यलाई तिव्रता दिलाउनका निम्ति स्थानीय सरकारदेखि प्रशासनलाई झकझकाउन दबाब स्वरुप विरोध गरेका हौ ।’   उनले सडक निर्माणको जिम्मा लिएको काठमाडौंको मोतीदान कन्सट्रक्सनले विभिन्न कारण देखाएर तीन महिनादेखि काम रोक्दा स्थानीयले सास्ती खेप्नुपरेको गुनासो सुनाए ।   ‘यो सडक बनाउने म्याद ०८१ साउनसम्म रहेछ, अहिलेको गतिमा काम भए सडक निर्माण सकिदैन, उनले भने, ‘विभिन्न कारण देखाएर सडक अलपत्र जस्तै छोड्दा स्थानीयहरुलाई त समस्यामा छन् नै, सडकमा गुड्नेदेखि पैदल हिड्नेलाईसमेत सास्ती भएको छ ।’   निर्माण कम्पनीले सडकको दुईछेउमा गहिरो नाली बनाएको छ भने कतै स्लाब नै राखिएको छैन ।   त्यसैले वर्षातको समय भएकाले जोखिम बढेको छ । यस्तै कारणले गत वर्ष पोखरा १६ स्थित सुन्दरफिडमा एक बालक नालीमा खसेर बेपत्ता भएका थिए । सिमपानीमा पनि त्यस्तै घटना दोहोरिने हो कि भन्ने चिन्ताले सताएको स्थानीय हरिकला बास्तोलाले बताइन् ।    ‘घर अगाडी नाली छ, वर्षाको समयमा नालीमा पानी भरिएर आउँछ, नालीमा स्लाब नहुँदा कहिले के हुन्छ भन्न सकिदैन, पोहोर दीपमा तिवारी फर्निचरको बाबु यस्तै नालिमा परेर ज्यान गुमाउनुपर्याे अहिले यहाँ पनि त्यस्तै खतरा देखिएको छ,’ उनले भनिन् ।   भुक्तानी भएको छ, अब कामले गति लिन्छ: आयोजना प्रमुख अधिकारी     मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वत आयोजनाका प्रमुख कल्पना अधिकारीले पोखराको हरिचोक–याम्दीचोकसम्म २ हजार २ सय मिटर सडक कालोपत्रे गर्न अहिले सामान्य रुपमा काम भइरहेको बताईन् ।   ‘पोखराको जिरो किमीदेखि हरिचोक र याम्दीदेखि फेँदीसम्म दुईवर्ष अगाडी नै सडक कालोपत्रे भएको छ’, अधिकारीले भनिन्, ‘बिचमा रहेको हरिचोकदेखि याम्दीसम्म २ हजार २ सय मिटर सडक कालोपत्रे गर्न अहिले मोतीदान कन्ट्रक्सनले काम गरिरहेको छ । तर हुनुपर्ने गतिमा भएको छैन ।’   उनका अनुसार कुल ४८ करोड ५ लाखको लागतमा  सम्झौता भएको थियो । भने काम २०८० साल साउन १४ भित्र सक्काउनुपर्ने सम्झौतामा उल्लेख छ ।    उनले उक्त सडकखण्ड निर्माण गर्न मोतीदान कन्ट्रक्सनले गत आर्थिक वर्षमा आयोजनासँग सम्झौता गरेकाले आगामी वर्षको साउन दोस्रो हप्तासम्म निर्माण कार्य सक्नुपर्ने बताईन् ।   ‘कम्पनीले वर्षा र भुक्तानी नपाएको भन्दै काममा तिव्रता दिएको थिएन, बिस्तारै वर्षायाम पनि सकिदैछ । सरकारले भुक्तानी पनि दिएको छ, उनले भनिन्, ‘अब दशै तिहार र छठपछि कामले तिव्रता लिन्छ भन्ने छ । अहिलेसम्म करिब २२ देखि २५ प्रतिशत मात्रै काम भएको छ ।’   घाम लाग्दा पानी हाल्ने, पानी पर्दा खाल्डा पुर्ने सम्झौता   प्रमुख जिल्ला अधिकारीको रोहबरमा स्थानीय बासिन्दा र निर्माण कम्पनीसँग पर्व नसकिदा सम्मका लागि विभिन्न सम्झौता भएको छ ।    स्थानीय प्रविन सुवेदीका अनुसार तत्कालै खाल्डाहरु पुर्ने, नालीमा स्लाब हाल्ने, संभावित डेंगु न्यूनीकरणका लागि स्प्रे छर्ने सम्झौता भएको छन् ।   यस्तै घाम लाग्दा धुलाम्मे हुने भएकाले आवश्यकता अनुसार दैनिक पानी हाल्ने र वर्षा भएपछि खाल्डा पुरीहाल्ने सम्झौता गरिएको छ ।  ‘दबाब दिन आन्दोलन गरेपछि एक खालको सम्झौता भएको छ ।   'हामीले मानवीयतालाई ख्याल गरेर पर्वको अवधिका लागि भनेर तत्काल आवश्यक कुराहरु मात्र गर्न भनेका छौं, उनले भने, ‘पर्व सकिएपछि कुनै एस्क्युज हुदैन । किनभने पर्वको समय कामदारहरु पनि पाइदैन । घर गैसकेको अवस्था रहेछ । त्यसैले पर्वसम्मका लागि सम्झौता अनुसार काम गर्छु भन्ने प्रतिबद्धता छ । त्यसपछि पनि निर्माणकार्य भएन भने हामी फरक बाटो रोज्छौ ।’