काठमाडौं:  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश ल...

काठमाण्डौ:  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले  जानकारी दिनुभयो ।   उहाँका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमवार काठमाण्डौ आएका धामीले टिभीको भित्रपट्टी लुकाइछिपाइ ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो । 

काठमाडौं: इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको अस्पतालमा शल्यक्रिया भएको छ । शल्यक्रिया सफल भएको उनले अस्पतालको बेडबाटै भनेका छन् । एक भिडियोमा उनले यो सन्देश आफ्नो घरसम्म पुर्याइदिन भनेका छन् ।   मोबाइल नम्बरसमेत भन्दै डाँगीले भनेका छन्, ‘अपरेसन भर्खर भयो । सक्सेसफुल भयो भन्दिनु है ।’ दाङको दंगीशरण गाउँपालिका–३ हेकुली घर भई इजरायलमा रहेका २२ वर्षीय प्रविण डाँगीलाई खुट्टामा गोली लागेको थियो । गत भदौ २६ गते बीएस्सी एजी पढेर थप ११ महिने प्रयोगात्मक अध्ययनका लागि उनी इजरायल गएका थिए ।   दंगीशरण गाउँपालिका–३ का वडाअध्यक्ष सुकलाल चौधरीले पनि प्रविणको अपरेसन सफल भएको जानकारी पाएको बताए । प्रविण र उनका बुवा निमबहादुर डाँगीबीच अपरेसनपछि पनि कुराकानी भएको आफूले थाहा पाएको वडाध्यक्ष चौधरीले बताए ।  

काठमाडौं महानगरपालिका इन्द्रचोकस्थित आकाश भैरव मन्दिरमुनि भएका पसलहरू हटाइएको छ।    गत बिहीबार झन्डै १२ वर्षअघिदेखि सञ्चालन भइरहेको ७ वटा पसलहरू बन्द गरिएको आकाश भैरव सञ्चालन समितिका सचिव श्याम महर्जनले जानकारी दिए। उनका अनुसार पसल सञ्चालकहरू र गुठी समितिको सहमतिमा ती पसल मन्दिरमुनिबाट हटाइएका हुन्।   स्थानीय र सम्पदा अभियानकर्ताहरूले मन्दिरको मुनि जुठो गर्न नहुने र फोहोर भएको बताउँदै आएका थिए, उनले भने, हनुमानढोका सम्पदा संरक्षण विभागले तीन महिनाअघि ती पसल हटाउन पत्राचार समेत गरेको थियो। यस्तै, सम्पदा संरक्षण गर्नुपर्ने र महानगरपालिकाबाट समेत ट्राफिक व्यवस्थापनमा सहयोग हुने बताइएपछि असोज १५ गतेदेखि पसलहरू हटाउने सम्झौता भएको उनी बताउँछन्।   असोज १५ गते हटाउने सम्झौता भए पनि पसलेहरूले १८ गतेदेखि पूर्ण खाली गराइदिनुभएको थियो, उनले भने। पसल सञ्चालकहरूले प्रतिपसल वार्षिक १८ हजार रुपैयाँ गुठीलाई बुझाउँदै आएका थिए। आकाश भैरवमुनि चार वटा लस्सी पसल, दुई वटा जुत्ता पसल र एउटा मोबाइल पसल थियो।  

काठमाण्डौ: झापामा राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी घुससहित पक्राउ परेका छन् ।   हिजो दिउँसो जुम्लाको सिँजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका-४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका-८ का २३ वर्षीय कमल खनाललाई घुससहित पक्राउ गरेको  प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  हल्दिबारी गाउँपालिकामा उनीहरु कार्यरत थिए ।   हल्दिबारी वडा नं १ का गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सयको बिल काटेर ८० हजार रुपैयाँ लिएपछि घटना सार्वजनिक भएको हो । पौडेलले उनीहरुविरूद्ध  जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गराएपछि  प्रहरीले पक्राउ गरेको हो ।   उनीहरुलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।

पाेखरा:  घरपालुवा कुकुरलाई जथाभावी दिसा–पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरले कारबाही गर्ने भएको छ।   सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएको पाइएमा फोहरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने महानगरको सरसफाइ शाखाका प्रमुख कल्पना बरालले बताइन्।     ‘घरमा पालेका कुकुरलाई बाहिर खुला ठाउँमा लगेर दिसा–पिसाब गराउने गरेको व्यापक जनगुनासो आएपछि महानगरले निगरानी सुरू गरेको छ,’ उनले भनिन्, ‘यस्तो अभियान महानगरको एक्लो प्रयासले मात्र सफल हुँदैन, नागरिकको पनि साथ चाहिन्छ।’   कुनै कुकुरधनीले सार्वजनिकस्थलमा लगेर कुुकुरलाई शौच गराएको देखेमा गोप्य ढङ्गबाट महानगरका प्रतिनिधिलाई खबर गर्न या प्रमाण उपलब्ध गराउन उनले महानगरवासीसँग आग्रह गरिन्।    ‘सार्वजनिक सूचनामार्फत पनि यो विषय जानकारी गराइएको छ, अब कसैले घरमा पालेको कुकुरलाई बाहिर लगेर शौच गराएमा कारबाही भोग्नुपर्छ,’ उनले भनिन्, ‘एकपटकका लागि एक हजार र पटक–पटक शौच गराएको पाइएमा १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने सकिने व्यवस्था नियमावलीमा छ।’   महानगरले घरपालुवा कुकुरलाई आफ्नै घरको परिसरभित्र शौचको व्यवस्था मिलाउन र त्यसको उचित व्यवस्थापन गर्न कुकुरधनीलाई सचेत गराएको छ।   खुला ठाउँमा कुकुरलाई दिसा–पिसाब गराउँदा वातावरणीय सरसफाइमा प्रतिकूल असर पार्ने शाखा प्रमुख बरालले उल्लेख गरिन्। उनले घरमा पालिरहेको कुकुरलाई सडकमा लगेर बेवारिसे अवस्थामा छोडेमासमेत कारबाही हुने पनि बताइन्।

कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा  वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन्।  '   टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले दिएको जानकारी अनुसार  घाइते निर्जलाको उपचार गर्नका लागि छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै सोमबार  मृत्यु भएको थियो भने सुस्मिताको आइतबार बेलुकी नै मृत्यु भएको थियो।    बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिङ्गालले टोकेर घाइते भएको  प्रमुख बस्नेतले । उनीहरूलाई गाईगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिङ्गालले टोकेको थियो। अरिङ्गालले टोकेपछि तत्काल स्वास्थ्यकर्मीलाई खबर नगर्दा बालिकाको मृत्यु भएको प्रमुख बस्नेतले बताए। 

-कैलाली भजनीका वीरेन्द्र चौधरी    दक्षिण इजरायलको किबुज अलुमिमस्थित हामी रहेको कृषि फार्ममा शनिबार बिहान साढे पाँच बजे नै गोली चलेको आवाज आयो ।   हामी एकै ठाउँमा १७ नेपाली थियौँ । सबैजना तत्काल बंकरमा छिर्‍यौँ, किनभने हामीलाई गोलाबारीको आवाज आउना साथ ‘बंकरमा बस्नू सुरक्षित हुन्छ’ भनिएको थियो । हामी बंकरमा गयौँ, फोटो–भिडियो बनायौँ ।    एक घन्टापछि (अन्दाजी ६:३० तिर) बन्दुकधारी आतंककारीहरू बंकरभित्र प्रवेश गरेर गोली चलाए । सुरुमै हाम्रा दुई साथी ढले । बाँकी सबै एकै ठाउँ घोप्टो पर्‍यौँ, आँखा बन्द गर्‍यौँ । त्यहाँ दुईवटा ग्रिनेड छाडेर आतंककारीहरू फर्किए । हाम्रा एक साथीले एउटा ग्रिनेट उठाएर फालिदिए, अर्को पड्कियो । अरू तीन साथी पनि घाइते भए ।    त्यसपछि तीनजना इजरायली प्रहरी हामी भएको बंकरमा आइपुगे । घाइते पाँच साथीलाई त्यहीँ छाडेर प्रहरीले हामी १२ जनालाई अर्को बंकरमा लग्यो ।   त्यो भान्सा भएको बंकर थियो । तर, साढे ९ बजेतिर उक्त बंकरमा पनि आतंककारीहरू आइपुगे । तीन इजरायली प्रहरीलाई समातेर लगे अनि हामीतिर गोली वर्षाउन थाले । साथीहरू पानी, पानी भन्दै ढले । सुरुमा दुईजना साथीहरूको प्राण गयो । यस्तो आतंकित अवस्था भयो कि म अहिले बताउन सक्दिनँ ।   साथीहरू चिच्याउन थालेपछि आतंककारीले झन् गोली वर्षाए । म साथीहरू ढलेको थुप्रोभित्र पुरिएँ । पछि थाहा भयो, १० साथीको प्राण गइसकेछ । आफू बाँचेको पनि धेरैपछि मात्र थाहा भयो, किनभने मेरो होस गुमेको रहेछ ।    अर्को साथी सल्यान त्रिवेणीका प्रमोद केसी पनि बाँचेका रहेछन् ।   मलाई म मात्रै बाँचेजस्तो लागेको थियो । प्रमोदलाई पनि ऊ मात्रै बाँचेजस्तो लागेको रहेछ । आफ्नै आँखाअगाडि साथीहरूको मृत्यु देखेपछि दिनभर त्रासमा रह्यौँ ।    साँझ साढे ६ बजे इजरायली आर्मी आए । हामीलाई अर्को ठूलो बंकरमा लगे । साथीहरूको शव त्यहीँ छाडेर हामी अर्को बंगरमा जानुपर्ने बाध्यता भयो । त्यहाँ थाई र इजरायली नागरिक पनि थिए । इजरायलको आर्मीले हामीलाई बीचबाटोसम्म उद्धार गर्‍यो, आधा बाटो बसमा यात्रा गर्‍यौँ । त्यसपछि नेपाली दाइहरू लिन आउनुभएको रहेछ । उहाँहरूसँगै तेलअभिभमा आएर बसेका छौँ ।    आँखैअगाडि साथीहरू भकाभक ढलेको त्यो घटना म सम्झिन पनि सक्दिनँ । जीवनमा यस्तो घटना न देखेको थिएँ, न कल्पना गरेको थिएँ । बंकर सेफ (सुरक्षित) हुन्छ भन्ने थियो, त्यो पनि सुरक्षित नभएपछि कहाँ जाने ? कसरी सुरक्षित हुने ? चार साथीहरूको उपचार भइरहेको सुनेका छौँ, एक साथीको अहिलेसम्म अत्तोपत्तो छैन । हामी नेपाल फर्किन चाहन्छौँ । अरू साथीहरूको पनि उद्धार गरेर एकैचोटि नेपाल फर्काउने भनिएको छ ।   यो खबर नयाँ पत्रिकामा छापिएको छ ।

काठमाडौं:    रसुवाको आमाछोदिङ्मो गाउँपालिका-२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।   दुर्घटनामा पाँच जना घाइते भएका छन् ।   सोमबार नेशिङ्बाट आलु बोकेर ग्रे गाउँतर्फ गइरहेको बा५ख ५७८ नम्बरको आयसर मिनी ट्रक साँझ करिब पौने ६ बजे दुर्घटना भएको थियो ।   दुर्घटनामा आमाछोदिङ्मो-२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए । तीनै जनाको घटनास्थलमै मृत्यु भएको थियो ।   दुर्घटनामा घाइते भएकाहरुमध्ये एक जनाको खुट्टा फ्याक्चर भएकाले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अन्य भने सामान्य घाइते भएको र उपचारका लागि अस्पताल पनि पुर्‍याउन नपरेको प्रहरीले जनाएको छ ।

काठमाडौं:   इजरायलमा हमासको आक्रमणमा परी निधन भएका व्यक्तिको परिवारलाई सरकारले प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।   मन्त्रिपरिषद्को सोमबारको बैठकले हमासको आक्रमणबाट इजरायलमा मृत्यु भएकाको परिवारलाई राहतस्वरूप रकम उपलब्ध गराउने निर्णय गरेको हो ।   मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘यस घटनामा निधन भएका नेपालीहरूको परिवारलाई राहतस्वरप प्रतिपरिवार दस लाख रुपैयाँ उपलब्ध गराउने । उक्त रकम अर्थ मन्त्रालयले गृहमन्त्रालयमार्फत निकासा दिने ।’   यस्तै सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा हमासको मिसाइल आक्रमणमा मृत्यु भएका सुदूरपश्चिमका ७ जनाको परिवारलाई जनही दुई लाख रकम दिने निर्णय गरेको छ ।   इजरायल आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएपछि सरकारले आज​ (मंगलबार) राष्ट्रिय शोकको घोषणा गरेको छ ।   भने आज सरकारले देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने  छ।    परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव यथाशीघ्र ल्याउने तयारी थाालेकाे छ ।   इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँग समन्वय र सहयोगमा बेपत्ता नेपालीको खोजीमा तीव्रता दिने र घाइतेहरुको उपचारका लागि समन्वय गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।   दूतावासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण अनलाइनमाध्यमबाट संकलन गरेर परराष्ट्र मन्त्रालयमा पठाउन भनेको छ ।   यसरी नेपाल फर्किन चाहे नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र नेपाल ल्याउने निर्णय पनि भएको छ ।