झापा: भद्रपुर नगरपालिका–२ स्थिल रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा आज बिहान वयस्क हात्ती मृतावस्थामा फेला परेको छ । डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्जना गिरीले सिमसारको दलदलमा आधा डुबेको अवस्थामा मृत हात्ती फेला परेकोे बताउनुभयो । उहाँका अनुसार स्थानीयले हात्ती मृत फेला परेको खबर गरेसँगै वनको टोली घटनास्थलमा पुगेको छ । कोशीटप्पु वन्यजन्तु आरक्षण केन्द्रबाट हात्ती विज्ञ टोली आउँदै गरेको उहाँले बताउनुभयो । सो टोली आएपछि मात्र हात्ती मरेको हो या मारिएको भन्ने पत्ता लाग्ने उहाँको भनाइ छ । रासस
जनकपुरधाम: नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिनुभयो । उहाँले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको जानकारी दिनुभयो । अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालेले जनाएको छ । रासस
काठमाण्डौ: नेपालले सिक्किममा बेपत्ता भएका इलामका पाँच जनाको खोजीका लागि भारतीय सुरक्षानिकायलाई अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालय इलामले भारतीय सुरक्षाकर्मीलाई खोजीका लागि अपिल गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले भारतीय सुरक्षा अधिकारीलाई बेपत्ताबारे जानकारीसहित उनीहरूको खोजीका लागि अपिल गरिएको जानकारी दिनुभयो । गएको १७ गते टिस्टा नदीमा बाढी आएपछि यो क्षेत्रमा काम गर्न गएका इलामको इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुसी बस्नेत र कुमार बस्नेतलगायत सम्पर्कविहीन छन् । बाढी गएको ठाउँमा टेलिफोन र विद्युत् सेवा अवरुद्ध भएकाले सम्पर्क हुन नसकेको भारतीय निकायले जानकारी गराएको छ ।
सत्तारूढ नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीलाई सरकारी खर्चमा स्वदेश ल्याउन सरकारसँग माग गरेको छ। कांग्रेस संसदीय दलको मंगलबारको बैठकले इजरायलमा हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको भन्दै उक्त घटनाको निन्दा र भर्त्सना गरेको छ। ‘हमासको आक्रमणमा परी घाइते भई उपचाररत दाङका प्रविन डाँगी, सल्यानका विधान सेजुवाल र गोरखाका हिमाञ्चल कट्टेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरुको नेपाल सरकारले सरकारको खर्चमा तत्काल उपचारको व्यवस्था गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ,’ बैठकपछि प्रमुख सचेतक रमेश लेखकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आक्रमणमा परी जीवन गुमाउने नेपालीहरूको पार्थिव शरिर यथाशीघ्र नेपाल ल्याई परिवारजनलाई बुझाउन, सम्पर्कमा नरहेका कञ्चनपुरका विपिन जोशीको तत्काल खोजी गरी उद्धार गर्न र इजरायलमा भएका नेपालीहरुको विवरण संकलन गरी जोखिममा रहेका नेपालीहरुको सकुशल उद्धार गरी सुरक्षित स्थानमा राखी आवश्यक आवास र भोजनको उचित व्यवस्था गर्न कांग्रेसले आग्रह गरेको हो। रोजगारी तथा अध्ययनका लागी इजरायल गएका नेपालीहरु इजरायलमा सुरक्षित रहने उपयुक्त व्यवस्था मिलाउने र स्वदेश फर्कन चाहनेहरुलाई अविलम्ब फर्काउने व्यवस्था मिलाउन पनि कांग्रेसले सरकारसँग माग गरेको छ।
काठमाडौंको सुन्धारास्थित एक होटलमा युवती मृत फेला परेकी छन्। काठमाडौं महानगरपालिका वडा नम्बर ११ सुन्धारास्थित श्री गुरू गेष्ट हाउसमा युवती मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। ललितपुर इमाडोलकी २० वर्षीया भूमिका राउत सोमबार मृत फेला परेको प्रहरीको भनाइ छ। उनी उक्त होटलमा गत असोज ८ गतेदेखि बस्दै आएकी थिइन्। उनी उक्त होटलको कोठा नम्बर ६०४मा बस्दै आएकी थिइन्। सोमबार बिहान साढे ८ बजे कोठा नखुलेपछि संचालकले प्रहरीलाई खबर गरेको थियो। प्रहरी वृत्त जनसेवाबाट प्रहरी नायब उपरीक्षक भेषराज रिजालको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी पुग्दा पनि ढोका बन्द नै थियो। पछाडि रहेको झ्यालबाट हेर्दा युवती सुतिरहेको अवस्थामा रहेको र बोलाउँदा पनि नबोलेपछि आफन्तलाई घटनास्थलमा बोलाइएको थियो।
बाँके: नेपालगञ्जको अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा र कर्फ्यू पूर्ण रुपमा हटाएको छ । आज बिहान ४ बजेदेखि निषेधाज्ञा पूर्ण रुपमा हटाएको सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ । एक हप्ता अघि नेपालगञ्जमा दुई समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू र निषेधाज्ञा लगाएको थियो ।
इटहरीमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। इटहरी उपमहानगरपालिका-१७ की ३२ वर्षीया कमला तामाङको हत्या गरेको आरोपमा भोजपुर साल्पा सिलिचोक गाउँपालिका-९ बस्ने ४९ वर्षीय निमा तामाङ पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले सोमबार दिउँसो पक्राउ हो। सामान्य विवादमा निमाले कमाललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए। उपचारको क्रममा सोमबार न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
म्याग्दी: मुस्ताङमा रहेको नेपाल(चीनबिचको कोरला नाका सञ्चालनका लागि तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका खुलाउन तयार रहेको जनाएको थियो । कोरला नाका सञ्चालनको तयारी भएसँगै सीमा क्षेत्रका बासिन्दालाई प्रवेशपत्र वितरण गर्ने प्रक्रिया अघि बढाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । “अनुमतिपत्र बुकलेट छपाइसम्बन्धी सबै काम पूरा भएको छ,” उहाँले भन्नुभयो, “गृह मन्त्रालयले पठाएको नमुनाअनुसार चीन प्रवेश पास छपाइ गरेर वितरणका लागि तयारी गरेका छौँ ।” चीनको सिमाना नजिकको उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाबाट प्रवेश पासको आवेदन सङ्कलन गरिएको छ । बोर्डर पास वितरणका लागि चार कर्मचारीलाई सोमबार लोमान्थाङस्थित इलाका प्रशासन कार्यालय पठाइएको प्रजिअ पन्तले बताउनुभयो । “नाका खोल्ने निर्णय भए पनि मिति तय भइसकेको छैन,” उहाँले भन्नुभयो, “चिनियाँ सुरक्षा अधिकारीसँग बैठक र गृह मन्त्रालयसँग समन्वय गरेर जति सक्दो छिटो नाका सञ्चालन गर्ने तयारीमा छौँ ।” कोरोना महामारी सुरु भएपछि कोरला नाकामा हरेक वर्षको दुई पटक सञ्चालन हुँदै आएको अन्तर्देशीय व्यापार मेला वि।सं।२०७६ देखि भएको थिएन । दसैँअघि नै व्यापार मेला आयोजना गर्ने मुस्ताङका सुरक्षा अधिकारी र जनप्रतिनिधिहरूले पहल गरेका छन् । प्रवेश पास भएका नागरिकहरू जुनसुकै समयमा पनि चीन जाने आउने सुविधा पाउने छन् । असोज ३ गते चिनियाँ दूतावासले पठाएको कूटनीतिक नोट गृह मन्त्रालयले मुस्ताङ प्रशासनलाई पठाएर नाका खोल्ने तयारी गर्न भनेको छ । प्रजिअ पन्तले १५ अक्टोबरमा नेपाल र चीनका अधिकारीबिच बैठक बस्ने तयारी भएको बताउनुभयो । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण वि।सं।२०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो । वि।सं।२०५८ सालसम्म रोकतोक नरहेको सीमा २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको छ । नाका सञ्चालन भएपछि मुस्ताङका बासिन्दाले दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाउने अपेक्षा गरेका छन् । यसै गरी, पस्मिना, जडीबुटी निकासी गर्न पनि सकिने लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी विष्टले बताउनुभयो ।
पोखरा: नेपाल खानेपानी संस्थान पोखराले अमरसिंह चोकदेखि औद्योगिक क्षेत्रतर्फ पुरानो पाइप निकाल्ने क्रममा विद्युतको फिडरमा असर पु¥याउँदा पोखराको करिव दुईहजार घरधुरीमा विद्युत अवरुद्ध भएको छ । पोखरा महानगरपालिका १० अमरसिंह चोक गेट नजिक नेपाल खानेपानी संस्थानले पुरानो खानेपानीको पाइप निकाल्ने क्रममा हिजो (सोमबार) रामबजार फिडरको भुमिगत केवल (फिडर)मा क्षति पु¥याउँदा २४ घण्टादेखि सो फिडरबाट सञ्चालन हुने विद्युत अवरुद्ध भएको हो । नेपाल विद्युत प्राधिकरण पोखरा मालेपाटन वितरण केन्द्रका प्रमुख राजिव सिंङले खानेपानी संस्थानले पुरानो पाइप निकाल्ने क्रममा असावधानीपूर्वक सडक खन्दा फिडरमा क्षति हुँदा विद्युत अवरुद्ध भएको बताए । ‘पोखराको विभिन्न स्थानमा पाइप बिछ्याउने काम भइरहेको छ, तर खानेपानी संस्थानले फिडर नजिक आएर विद्युतसँग समन्वय नगरी काम गर्दा फिडरमा क्षति हुन गयो’, सिङले भने, ‘विद्युत सञ्चालनका लागि काम भइरहेको छ केही समयमा विजुली आउँछ ।’ सोही स्थानमा खानेपानीमा काम गरिरहेका एक कर्मचारीले सावधानी अपनाउदा पनि फिडरमा जेसिबीले छुँदा असर परेको स्वीकार गरे । ‘यो फिडर वरिपरि पहिले पनि काम गरेको हो, नयाँ पाइप बिछ्याउने क्रममा मार्किङ गरेर नै काम गरेको हो, त्यति बेला कुनै असर भएन’, उनले भने, ‘पूरानो पाइप निकाल्ने क्रममा पनि सावधानी अपनाएको हो, तर मार्किङ गरे भन्दा यता मात्र फिडर रहेछ जेसिबीले छोइहाल्यो ।’ रामबजार फिडर पड्किएपछि गलेश्वर फिडरबाट विद्युत सञ्चालन गर्ने पोखरा वितरण केन्द्रको प्रयास भएपनि सफल नभएको एक स्थानीयले बताए । ‘रामबजार फिडर पड्किएपछि गलेश्वर फिडरबाट विद्युत सञ्चालन गर्ने तयारी वितरण केन्द्र गरेको थियो’, उनले भने, ‘गलेश्वर फिडरबाट रामबजार फिडरबाट बिजुली सञ्चालन गर्ने प्रयास सफल भएन, तारमा आगो लागेपछि त्यो प्रयास असफल भएको हो ।’ नेपाल विद्युत प्राधिकरण पोखरा वितरण शाखाले अहिले रामबजार फिडर र गलेश्वर फिडर मर्मत कार्य भइरहेकाले केही समयमा बिजुली आउने बताएको छ । रामबजार फिडर अवरुद्ध हुँदा रामबजार, अमरसिंङचोक, बुद्धचोक, औद्योगिक क्षेत्र लगायतका क्षेत्रमा हिजोदेखि विद्युत अवरुद्ध हुँदा व्यवसायीहरुले लाखौंको नोक्सान भएको गुनासो गरेका छन् ।