बर्दिया: बर्दिया गुलरिया नगरपालिका–६ गुलरिया बजार बस्ने २० वर्षीय बरूण घिमिरेलाई विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गरी हत्या गरेको आरोपमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका–६ गुलरिया बजार बस्ने २३ वर्षीय सुलभ थापा, सोही नगरपालिका–६ ज्योति नगर बस्ने २४ वर्षीय धिरज ठाकुर, सोही नगरपालिका–६ कृण्णसार टोल बस्ने १८ वर्षीय किशोर, गुलरिया नगरपालिका–५ बंगलामुखिटोल बस्ने १९ वर्षीय दिपेश बुढामगर रहेका छन् । यस्तै सोही नगरपालिका–८ कोठिया बस्ने १९ वर्षीय सन्दिप थारू, सोही नगरपालिका–८ गंगानगरटोल बस्ने १९ वर्षीय दिनानाथ चौधरी, सोही नगरपालिका–४ गणेशचोक बस्ने १८ वर्षीय किशोर र ठाकुरबाबा नगरपालिका–३ बिदुरपुर बस्ने २३ वर्षीय तर्क भण्डारी रहेका छन् । गुलरिया नगरपालिका–५ सुहेलवामा उनीहरूले गत कात्तिक २७ गते राति विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गर्दा गम्भीर घाइते भएका बरूणको उपचारको लागि बर्दिया अस्पतालबाट नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । प्रहरीले घटनामा प्रयोग भएको चक्कु, नोख लगायतका विभिन्न हातहतियारसमेत बरामद गरेको छ । घटनामा संलग्न हाल फरार अन्य ३ जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
धनगढी: धनगढीमा आगलागी हुँदा एक अस्पतालसहित ८ वटा पसलमा क्षति भएको छ । शुक्रबार राती १ बजे धनगढी उपमहानगरपालिका–१ मा रहेको भण्डारी जनरल स्टोरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको हो । भण्डारी पसलसंगै जोडिएका अन्य ७ पसलमा पनि आगलागी भएको छ। आगलागीबाट सारथी अस्पतालमा पनि क्षति भएको छ। आगलागी भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालको कमाण्डमा ४० जना प्रहरीको टोली घटना स्थलमा पुगेको थियो । त्यस्तै नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली पनि घटनास्थलमा पुगेको थियो। आगो निभाउन धनगढी–उपमहानगरपालिकाको २, गोदावरी नगरपालिकाको १ र कञ्चनपुरको पुनर्वास नगरपालिकाको १ गरी ४ वटा दमकल परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) कुलदिप चन्दले जानकारी दिए। त्यस्तै मधुमाला देवी सप, सपिङ सेन्टर, सुभिक्षादेवी सपिङ सेन्टर, न्यु सदिक्षा इन्टरप्राईजेज र भण्डारी सु –सेन्टर ट्रेडर्स एण्ड सप्लायर्समा पनि आगालागीबाट क्षति भएको प्रहरीले जनाएको छ।
काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका-३ लप्सीफेदीमा सबस्टेसन निर्माण र सुरक्षा पोष्ट स्थापना गर्न खोज्दा सुरक्षाकर्मी (सशस्त्र र नेपाल प्रहरी) माथि स्थानीयले आक्रमण गरेका छन् । स्थानीयले ढुंगामुढा गर्दा डीएसपी देवराज राईसहित तीनजना सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले स्थानीय जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा, हर्कमान वाइवासहित चार जनालाई पक्राउ गरेको छ । नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका-३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार सबस्टेसनको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठकबाट प्रहरी नायव उपरीक्षक (डीएसपी)को नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा शुक्रबार बेसक्याम्प स्थापना गर्न जाँदा स्थानीयले रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीहरुलाई ढुङ्गामुढा गर्दै आक्रमण गरेका थिए । त्यसक्रममा डिएसपी देवराज राईसहितका सुरक्षाकर्मी घाइते भएका हुन् । झडपका कारण बेलुकासम्मै लप्सीफेदी क्षेत्र तनावग्रस्त भएको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी बस्नेतले स्थानीयको आक्रमणबाट सशस्त्र प्रहरीका दुई जना र नेपाल प्रहरीका एक जना गरी तीन जना सुरक्षाकर्मी घाइते भएको जानकारी दिए । सुरक्षाकर्मीमाथि आक्रमणमा संलग्न स्थानीय चार जना पक्राउ परेको जानकारी पनि उनले दिए ।
काठमाडौँ: चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो । हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला ब्याटिङ गर्दै नेपालले चार विकेट गुमाएर एक सय १३ रन बनाएको थियो । नेपालका लागि रुविना क्षेत्रीले ३२ बलमा पाँच चौकाको मद्दतमा ३८ रन बनाइन् । यस्तै कप्तान इन्दु बर्माले ३१ बलमा दुई चौका प्रहार गर्दै २७ रनको योगदान दिइन् । काजल श्रेष्ठले अविजित रहँदै सात बलमा तीन चौकाको मद्दतमा १५ तथा पूजा महतोले २९ बल खेल्दै एक चौकाका साथमा १३ रन बनाइन् । बलिङतर्फ जापानकी एलिना कुशुदा नाइरनले दुई तथा मेग ओगावा र आयुमी फुजिकावाले एक एक विकेट लिइन् । एक सय १४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जापानका लागि मेग ओगावाले २९ बलमा दुई चौकाको मद्दतमा १७ रन बनाइन् । यस्तै सेइका सुमीले १६ बल खेल्दै एक चौका प्रहार गरी १३ रनको योगदान दिइन् । हिनासे गोटोले तीन रन बनाइन् । बलिङतर्फ नेपालकी सङ्गीता राईले पाँच तथा अश्मिना कर्माचार्य र पूजा महतो दुई दुई विकेट लिइन् । नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिइसकेका छन् । नेपाल यसअघि पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । तान्जानियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । नेपालले सबै विकेट गुमाउँदै मात्र ८८ रन बनाउन सक्यो । यस्तै बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित नौ विकेटले पराजित भएको थियो । नेपालले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सबै विकेट गुमाएर मात्र ५६ रन बनाएको थियो । हङकङले ५७ रनको विजयी लक्ष्य नौ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो । महिला टी–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आइसिसी बरीयतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङ्कङ २२औँ तथा जापान ५१औँ स्थानमा छन् । तान्जानिया र हङकङले उपाधि जित्नका लागि खेल्ने छन् । नेपालले अब तेस्रो स्थानका लागि आइतबार जापानसित नै खेल्ने छ ।
पोखरा: कास्की प्रहरीले हसियाँ प्रहार गर्ने एक जनालाई पक्राउ गरको छ । पक्राउ पर्नेमा जुमकाजी बिक रहेका छन् । पक्राउ परेका बिकले गत कार्तिक २७ गते बिहान कास्कीको अन्नपूर्ण गाउँपालिका–६, लुम्लेमा श्रीराम देवकोटालाई हँसिया प्रहार गरेका थिए । देवकोटालाई उपचारका लागि पोखराको मेट्रोसिटी अस्पतालमा लगिएको छ भनेबिकलाई ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
काठमाडौं: अमेरिकाको अध्यागमन हिरासतमा एक जना नेपालीले ज्यान गुमाएका छन् । साढे दुई महिनादेखि अमेरिकाको अध्यागमन हिरासतमा रहेका सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ का ३२ वर्षीय सुवास श्रेष्ठले टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार ज्यान गुमाएका हुन् । अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेन्सी आईसीईले उनको मृत्युको पुष्टि गरेको हो । उनको मृत्युको आधिकारिक कारण भने खुलाएको छैन । पारिवारिक श्रोतका अनुसार ०८० भदौ ५ गते उनी घरबाट हिँडेका थिए । एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर उनी काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए । गत सेप्टेम्बर २ मा उनी मेक्सिकोबाट अवैधरुपमा अमेरिकाको एरिजोनाको लुकभिल छिरेका थिए । उनलाई तत्काल अध्यागमनका अधिकारीले नियन्त्रणमा लिएर टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखेका थिए । हिरासतमा बसेको बेला कात्तिक २७ गते उनको मृत्यु भएको हो । उनलाई अवैधरुपमा प्रवेश गरेको भन्दै डिपोर्ट गर्ने तयारी थियो । सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतका अनुसार मृतक श्रेष्ठ बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्षका छोरा हुन् । मृतक श्रेष्ठका श्रीमती र दुई सन्तान छन् ।
पोखरा: तिहार सकिएपनि पोखराका सडकमा देउसी भैलोको तडक भडक देखिएको छ । आजबाट छठपर्वको आरम्भ भएको छ । तैपनि पोखराका विभिन्न स्थानहरुमा भने अझैपनि दउसी भैलोको समूह भेटिएका छन् । यद्यपी बुटवल क्षेत्रमा भने हरिबोधनी एकादशीको दिनसम्मै भैलो खेल्ने प्रचलन रहेको छ । पछिल्लो समय लोकसंस्कृति झल्कने देउसी भैलो भन्दा भड्किलो देउसी भैलो मौलाएको छ । यसले संस्कृतिमा संरक्षणको सट्टा विकृती बढेको प्रष्ट देखिएको छ । हेर्नुहोस् तस्बिर:
काठमाडौं: दक्षिण अफ्रिकामाथि ३ विकेटको जित हात पार्दै अष्ट्रेलिया आठौं पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । अब उसले उपाधिका लागि भारतसँग खेल्नेछ । बिहीबार भारतको इडेन गार्डेनमा भएको दोस्रो सेमिफाइनल जित्नका लागि दक्षिण अफ्रिकाले २१३ रनको लक्ष्य दिएको थियो, जसलाई अष्ट्रेलियाले अन्तिम १६ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो । उसका लागि ट्राविस हेडले सर्वाधिक ६२ रन बनाए भने स्टीभ स्मिथले ३० र डेभिड वार्नरले २९ रनको योगदान दिए । अष्ट्रेलियाका लागि महत्वपूर्ण पारी खेल्नुका साथै एकै ओभरमा महत्वपूर्ण दुई विकेट लिएका हेड प्लेयर अफ दि म्याच बने । अष्ट्रेलियाको पारी हेड र वार्नरले राम्रो सुरुवात गरेका थिए । दुवैले पहिलो ६ ओभरमा ६० रन बनाएका थिए । तर थप ७७ रन जोड्दा ५ विकेट गुमाउन पुगेको थियो । सातौं ओभरको पहिलो बलमा एडन मार्करमले वार्नरलाई बोल्ड गरे भने अर्को ओभरमा कगिसो रबाडाले मिशेल मार्शलाई शून्यमा पभेलियन फर्काए । लगातार विकेट गुमाएपछि रनको रफ्तार कम भयो र पावर प्लेको १० ओभरमा २ विकेट गुमाएर ७४ रन बनायो । खेलको १५औं ओभरमा जब बवुमाले केशव महराजलाई बल दिए, उनले पहिलो बलमै ट्रेविस हेडलाई बोल्ड गरे । ४८ बलको सामना गरेका उनले ९ चौका र दुई छक्काको मदतमा ६२ रन बनाएका थिए । उनले स्मिथसँग तेस्रो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । खेलको २२औं ओभरमा मार्नस लाबृशेनले स्मिथको विकेट लिए । दुई ओभरपछि शमसीले ग्लेन म्याक्सबेललाई आउट गरेपछि अष्ट्रेलियाले १३७ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुुमायो । त्यसपछिको १० ओभरमा उसले विकेट गुमाएन, रन पनि ३७ मात्र थप्न सक्यो । खेलको ३४औं मिनेटमा स्मिथ आउट भए । अन्तिममा कप्तान प्याट कमिन्सले आठौं विकेटका लागि मिचेल स्टार्कसँग अविजित २२ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई विश्वकपको फाइनलमा पुर्याएका छन् ।
चितवन: तिहारको सम्मुख पारेर तस्करहरूले चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एकसिङ्गे दुर्लभ गैंडा मारेका छन् । गैंडा तस्करहरूले निकुञ्जको पूर्वी सेक्टरकाे चप्परखाेरी भन्ने ठाउँमा दुईवटा पोथी गैंडा मारेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले एउटा अन्दाजी १८ वर्षको र अर्को अन्दाजी ५ वर्षको पोथी गैंडा तस्करले मारेको जानकारी दिए । तस्करले दुईवटा अलग–अलग खाल्डोको धरापमा पारेर गैंडा मारी खाग र खुर काटेर लगेको पाइएको छ । गैंडा एक हप्तादेखि १० दिन अगाडिको बीचमा मारेको हुनसक्ने आशंका गरिएको छ । निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार एक सय मिटरको फरकमा दुईवटा खाडल बनाएको र खाडलकाे माटाे टाढा लगेर फालेको देखिन्छ । उनले व्यवसायिक व्यक्तिहरूले ठूलो याेजना बनाएर गैंडा मार्न सफल भएको बताए । सन् २०१५ मा गणना गर्दा नेपालमा ६४५ एकसिङ्गे दुर्लभ गैंडा रहेकामा सन् २०२१ मा गरिएको गणनामा १०७ ले बढेर ७५२ पुगेको थियो ।