ढोरपाटन: बागलुङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका–४ नुवाकोटस्थित रामबहादुर मल्लको ढुङ्गामाटोले बनेको गोठमा आगलागी हुँदा मानवीय क्षति भएको हो । मृतकको सनाखत हुन सकेको छैन । शुक्रबार राति १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । राति नै इलाका प्रहरी गलकोटको टोली आगो निभाउन घटनास्थलमा पुगेको थियो । आगो के कसरी लाग्यो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
काठमाडौं: मनाङ एअरको ‘एन–एनजे’ कलसाइन हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाशकुमार सेडाईँ खतरामुक्त रहेका अस्पतालले जनाएको छ । उहाँको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एअरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो । घाइते पाइलटलाई फिस्टेल एअरको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको थियो । हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो । हेलिकप्टरमा पाइलट सेडाईं मात्र हुनुहुन्थ्यो । दुर्घटना भएको हेलिकप्टरमा आगो लागेका कारण क्षति भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हेलिकप्टर दुर्घटनाको कारणबारे आवश्यक अनुसन्धान प्रक्रिया थालिएको छ । हिमाली क्षेत्रमा तीव्र हावा चल्ने भएकाले हेलिकप्टर अवतरणको क्रममा हावाको बेगका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।
पाल्पा: ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैका जसो घर–घरमा कोदो लगाइन्थ्यो । पछिल्ला वर्षमा भने कोदो खेती कम हुँदै गएको बताउनुहुन्छ, पाल्पा रामपुर नगरपालिका–१ स्थित कुमैडाँडाकी ६५ वर्षीया शान्ति विश्वकर्मा । “जवानी उमेरमा दिनभर बारीमा साथीहरूसँग कोदो रोप्दा रमाइलो हुन्थ्यो, घरमा मुरीका–मुरी उब्जन्थ्यो, अहिले त सबैले लगाउन छाड्दै गए, गाउँमा कोदो खेती गर्न कसैले चाख मान्दैनन्”, उहाँले भन्नुभयो । उहाँले आफूले जान्ने बुझ्ने उमेर भएदेखि नै कोदो खेती गरे तापनि अहिले आएर सबैले खेती गर्न छाड्दै जाँदा गाउँका बारी बाँझिन थालेकोमा चिन्ता व्यक्त गर्नुहुन्छ । “हाम्रो पालामा जान्ने बुझ्ने उमेर भएदेखि नै गाउँघरमा कोदो रोप्ने कार्यमा सहभागी भइन्थ्यो, अहिलेका पुस्तालाई कोदो के हो रु भन्ने नै थाहा हुनै छाड्यो” उहाँले भन्नुभयो, “गाउँको आफ्नै हातले उब्जाएको पोषिलो कोदो सेवनले शरीरलाई तागत दिन्थ्यो ।” उहाँले उमेरले बुढ्यौलीपन टेके पनि दुःखसुखले अझै पनि थोरै भए पनि कोदो लगाउन भने छाड्नुभएको छैन । आफूले परम्परादेखि नै गर्दै आएको खेती आफ्ना सन्ततिले गर्न छाडे पनि उहाँले थोरै जग्गामा भए पनि निरन्तर गरिरहनुभएको छ । गाउँघरमा पाका पुस्ताको मात्र बसोबास, खेती गर्न झण्झटले कोदो लगाउन छाड्दै गएको पाइन्छ । पाल्पामा कोदो खेतीप्रति किसानको आकर्षण घट्दै जाँदा जिल्लामै यसको खेती कम मात्रामा गरिन्छ । कोदो फल्ने ठाउँमा नै किसानले खेती गर्न छाडेपछि अहिले बीउ जोगाउनका लागि पाका पुस्ताले निरन्तरता दिएका छन् । युवापुस्ताको यसप्रति आकर्षण देखिँदैन । दश वर्षअघिसम्म जिल्लाका पहाडी भेगका सबैजसो ठाउँमा कोदो लगाइन्थ्यो । गाउँका बारीमा कोदो राम्रै उब्जनी हुन्थ्यो । तर अहिले गाउँमा यसको बीउसम्म पनि पाउन मुस्किल पर्न थालेको किसान बताउँछन् । पहिला–पहिला गाउँघरमा प्रशस्त कोदो उत्पादन गरेर चामलसँग साट्ने चलन थियो । वर्ष दिनभर कोदोबाट चामल साटेर गुजारा चलाउने गरे तापनि हिजोआज व्यवसायीकरण रुपमा खेती गर्न छाडिएको छ । अन्य कृषि बालीको तुलनामा कोदो खेतीलाई धेरै लगानी र मेहनत गर्नु नपरे तापनि किसान आफैँले खेती गर्न रुचि नदेखाउँदा अहिले व्यवसायीकरण हुन छाडेको रामपुर–१ कुमैडाँडाका अर्का कृषक गोवर्द्धन वंशी बताउनुहुन्छ । उहाँले कम्तीमा बर्सेनि चारदेखि पाँच मुरीसम्म कोदो उत्पादन गर्ने गरेकोमा अहिले मुस्किलले आठरदश पाथी उब्जाउ हुने गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “गाउँमा बसोबास गर्ने भनेको ज्येष्ठ नागरिक मात्रै हो, युवापुस्ता सहर बजार, विदेशतिर पलायन भए, हिजो आफ्नै हातले मुरीका–मुरी फलाएका कोदो अहिले थोरै बीउ जगेर्नाका लागि मात्रै लगाउने गरिएको छ, बुढ्यौली लाग्दै गर्दा खेती गर्नै नसक्ने भएपछि कसको के नै लाग्छ र रु ।” यस वर्ष वंशीले करिब एक रोपनी जग्गामा कोदो लगाउनुभएको छ । मानिसको स्वास्थ्यका लागि कोदोको महत्त्व धेरै रहे पनि खेती गर्ने जनशक्ति गाउँमा नहुँदा उत्पादन कम हुँदै गएको कविता सुनारले बताउनुभयो । उहाँले यस वर्ष करिब दुई रोपनी बारीमा कोदो लगाउनुभएको छ । पहिला–पहिला उहाँले एक वर्षमा पाँच मुरी कोदो उत्पादन लिने गरेकोमा हिजोआज भने वर्षमा करिब दुई मुरीसम्म उत्पादन हुने गरेको बताउनुभयो । घरायसी प्रयोजनका लागि कोदो लगाउँदै आउनुभएकी सुनारले व्यावसायिक खेती गरेमा यसबाट राम्रै आम्दानी हुने बताउनुहुन्छ । बजारमा कोदोको माग भने पछिल्ला वर्षमा बढ्दो छ । गाउँका धेरै किसानलले पाखो बारीमा कोदो लगाएर राम्रै कमाइ गर्थे तर अहिले भने धेरैले कोदो लगाउन छाडिसकेका छन् । औषधिका रूपमा समेत प्रयोग हुने कोदोलाई पोषिलो अन्न मानिन्छ । गाउँघरमा बिस्तारै कोदो खेती गर्न छाड्दै गएपछि नयाँ पुस्ता कोदो खेतीबारे अवविज्ञ बनेका छन् । कोदो अन्य बालीभन्दा स्वास्थ्यकर भए पनि आकर्षण घट्दै गएको छ । बढ्दो सहरीकरणको प्रभावले गाउँमा कोदो फल्ने जमिन बाँझिन थालेका छन् । ग्रामीण भेगका मानिस सहर पस्न थालेपछि कोदोले भरिभराउ हुने जमिन अहिले बाझिँदै गएका हुन् । कम मेहनतमा उत्पादन बढी हुने प्रयोग तथा उपयोगका क्रममा पोषणयुक्त खाद्यान्न बालीभित्र पर्ने भए पनि पोषिलो कोदोको पछिल्लो समयमा खाद्यान्नमा भन्दा अन्यत्र प्रयोग बढी हुन लागेकाले पनि कोदो खेती लोप हुने अवस्थामा पुगेको छ । परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा घुसुवा बालीका रूपमा लगाइने कोदो प्रायजसो जिल्लाका सबै गाउँबस्तीमा हुन्थ्यो तर आजभोलि कमै देख्न सकिन्छ । खाद्यान्नको रूपमा प्रयोग गरिने कोदो आजभोलि मदिरा बनाउन प्रयोग गरेका कारण कम मात्रामा खेती हुने गरेको किसान बताउँछन् । गाउँघरमा हेपिएको कोदो अहिले सहर बजारतिर खोजीखोजी खाना थालिएको छ । सडक सञ्जाल विस्तारसँगै सहर बजारबाट गाउँघरमा चामल, गहुँलगायत अन्नबाली भित्रिन थालेपछि पोषिलो कोदो, फापर, जौँजस्ता स्थानीय अन्नबाली किसानले लगाउन छाड्दै गएका हुन् । स्वास्थ्यका लागि लाभदायक अन्न फलाउन छाडेर बजारमा पाइने प्याकेटका तयारी खाना खान थालेपछि एकातिर स्थानीय अन्न लोप हुँदै छन्, भने अर्कोतिर मानिसमा अनेक किसिमका रोगको सङ्क्रमण बढ्न थालेको छ । धान, गहुँ र मकैजस्तै कोदोलाई किसानले महत्त्व नदिएका कारण यो लोप हुँदै गएको हो । गाउँघरमा परम्परागत रूपमा खेती गरिँदै आएको कोदो लोप हुने अवस्थामा छ भने सहर बजारमा यसको माग धेरै छ । बजारका ठुला–ठुला होटल रेष्टुराँ, होमस्टेमा कोदोको परिकार पाक्ने गर्दछ । कोदोबाट बनाइएको ढिँडो, सेलरोटीलगायतका परिकारमा ग्राहकको आकर्षण छ । घरबास ९होमस्टे० मा विशेष गरी कोदोबाट विभिन्न परिकार बनाएर खुवाउने चलन पनि छ । कुनै समय गाउँघरमा बिहान साँझको जीविकाका लागि पाक्ने कोदो हिजोआज सहर बजारका ठुला–ठुला होटल, रेष्टुराँमा विभिन्न परिकार बनाएर बिक्री हुन थालेपछि पछिल्लो समय भने कोदोको परिचय बदलिएको छ । अहिले गाउँघरमा कोदोको परिकार खासै पाक्दैनन् तर सहर बजारका होटलमा यसको परिकार ग्राहकको रोजाइमा परेको छ । पहिला–पहिला कोदो गरिब, विपन्नको घरमा खाने अनाजको रूपमा समेत लिइन्थ्यो भने अहिले ठुला घर परिवारका सदस्यको रोजाइमा कोदो पर्दछ ।
विराटनगर: कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन्। शनिबार बिहान ४७ जना सांसदहरूको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाएका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका थिए, जुन बहुमत हो । मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि दाबी गरेका थिए । शुक्रबार दुवै आकाङ्क्षीको पक्षमा ४७÷४७ सांसदको समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज (शनिबार) बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकेका थिए । सनाखतमा बहुमत पुष्टि भएसँगै संविधानको धारा १६८ (५) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सनाखतमा आङ्बो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन् ।
काठमाडौं: प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो आज अन्तिम दिन आज औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग० मा उल्लेख छ । मातामह अर्थात् मामाघरका हजुरबुबाको श्राद्ध गर्नेले भने आइतबार श्राद्ध गर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । मातामहको श्राद्ध कमैले गर्ने गरेका छन् । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व बोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उहाँले बताउनुभयो । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्रश्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । कारणबश सोह्रश्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्रश्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणबस अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्हरुको भनाइ छ । यो समयमा पनि कारणबस सोह्रश्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका समिति सदस्य प्रा डा भट्टराईले जानकारी दिनुभयो । त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत दैनिक एक सय आठ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उहाँले सुनाउनुभयो । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् वडादसैँ सुरु हुन्छ । वडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्रश्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष गत साउन महिनामा अधिकमास परेकाले सोेह्रश्राद्ध र वडादसैँ पर्व पछि सरेको हो । पितृपक्ष आज सकिए पनि सोह्रश्राद्ध भने आइतबारमात्र समापन हुने जनाइएको छ । आइतबारदेखि वडादसैँ अर्थात् दुर्गा पक्ष सुरु हुन्छ ।
सोलुखुम्बु: सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको छ। शनिबार बिहान मनाङ एयरको हेलिकोप्टर लुक्लाबाट लोबुचे गएको थियो। लोबुचेमा अवतरणको क्रममा हेलिकोप्टर दुर्घटना भएको हो। हेलिकोप्टर पूर्ण रुपमा क्षति भएको छ। दुर्घटना भएलगत्तै उक्त हेलिकोप्टमा आगलागि भएको हो। हेलिकोप्टरमा पाइलट प्रकाश सेडाई मात्र सवार थिए। उनी घाइते भएका छन्। हेलिकोप्टर दुर्घटना भएपछि स्थानीयहरुसमेत उक्त स्थानमा पुगेका छन्। पाइलटलाई अर्को हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
पोखराः स्वर्गीय टेकबहादुर गुरुङको स्मृतिमा घान्द्रुक तिख्यानस्थित कुर्लङ्ग बराह आधारभुत विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोशाक वितरण गरिएको छ । स्वर्गीय गुरुङको स्मृतिमा उनका छोरा मनिष गुरुङका परिवारले लामा अमृत फाउण्डेशन घान्द्रुकको समन्वयमा आज (शुक्रबार) एक कार्यक्रमकाबीच घान्द्रुक तिख्यान स्थित कुर्लङ्ग बराह आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, पोशाक वितरण गरेको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक तिख्यान स्थित कुर्लङ्ग आधारभुत विद्यालयका ३९ जना विद्यार्थीहरुलाई स्वर्गीय टेकबहादुर गुरुङको स्मृतिमा शैक्षिक पोशाक र शैक्षिक सामाग्री वितरण गरिएको लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले बताए । ‘विभिन्न समयमा लामा अमृत फाउण्डेशनले विभिन्न स्थान, समाजमा सहयोग गर्दै आएको छ’, गुरुङले भने, ‘स्वर्गीय टेकबहादुर गुरुङका छोराले बुबाको सम्झनामा विद्यालयमा सहयोग गर्ने बाचा अनुरुप फाउण्डेशनको समन्वयमा आज शैक्षिक पोशाकसँगै शैक्षिक सामाग्री वितरण गरिएको हो ।’ उनले अन्य सामाजिक कार्यमा सहभागी भएपनि पछिल्लो समय शैक्षिक क्षेत्रमा पनि फाउण्डेशन मार्फत सक्रियता बढाएको बताए । ‘कोभिड लगायत प्राकृतिक विपत्तिमा फाउण्डेशनको सहकार्यमा विभिन्न स्थानहरुमा राहत लगायत सामाजिक कार्यमा सहभागी भएको थिए’, उनले भने, ‘शिक्षा नै जिवनको महत्वपूर्ण खुड्किलो हो, शैक्षिक क्षेत्रलाई गुणस्तरीयता बनाउन फाउण्डेशन मार्फत पछिल्लो समय सक्रियता बढाएको छु ।’ कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ममिता थापा मगरले विद्यालयको आयस्रोत कम भएकाले भौतिक संरचना निर्माणमा सहयोगको आवश्यकता रहेको बताईन् । ‘विद्यालयको आयस्रोत कम छ, भौतिक संरचना निर्माण भएपनि विभिन्न किसिमका शैक्षिक सामग्री खरिद गर्न आर्थिक अभाव छ’, प्रधानाध्यापक मगरले भनिन्, ‘ग्रामिण क्षेत्रको शैक्षिक सुधारका लागि फाउण्डेशनको सहयोग हामी सम्झी रहने छौं ।’ कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक तिख्यान स्थित कुर्लङ्ग बराह आधारभुत विद्यालयमा ३९ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । उनीहरुलाई हङकङमा कार्यरत मनिष गुरुङले स्वर्गीय बुबा टेकबहादुर गुरुङ (काजीको काइला)को स्मृतिमा ३९ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री, शैक्षिक पोशाक र शिक्षकहरुलाई शैक्षिक सिकाईका लागि विभिन्न सामग्री लामा अमृत फाउण्डेशन घान्द्रुकको समन्वयमा वितरण गरिएको हो ।
पोखरा: चर्काे धरौटी (१० लाख रुपैयाँ) र चर्काे भाडा शुल्क माग गर्दै पोखरा १० लखनचोकस्थित बिबि मार्केट (हाम्रो बजार) मा गुडलक कम्पनी प्रालिले रातारात तालाबन्दी गरेको छ । कृषि समाग्री कम्पनी लिमिटेडको स्वामित्वमा रहेको उक्त जग्गाको ठेक्का पाएको कम्पनी गुडलक कम्पनी प्रालिले मागेजति धरौटी र भाडा रकम तिर्न व्यवसायी राजी नभएपछि रातारात ७९ वटा सटरमा तालाबन्दी गरेको हो । ठेकेदार कम्पनीले तालामात्रै नभएर बन्द सटरमा वेल्डिङ नै गरेको छ । तर गुडलकको उक्त निर्णयप्रति विगत धेरै वर्षदेखि व्यवसाय गर्दै आएका व्यवसायीहरु असन्तुष्ट छन् । ठेक्का पाएको कम्पनीको उक्त हर्कतप्रति आफुहरु सन्तुष्ट नरहेको व्यवसायी तथा बिबी मार्केट व्यवसायी समितिका सदस्य नारायण चापागाईले बताए । उनले व्यवसायीहरु समयसापेक्ष भाडा र धरौटी रकम बुझाउने पक्षमा रहेको सुनाए । ‘हामी भाडा र धरौटी नतिर्ने पक्षमा हामी छैनौं । हामी फ्रिमा बस्छौ पनि भनेका छैनौ, उनले भने, ‘हामीले उहाँहरुलाई फाइदा हुनेगरी नै व्यवहारिक र समय सापेक्ष भाडादर तिर्न तयार छौं । तर उहाँहरुले मागेको धरौटी र भाडा अस्वाभाविक बढी छ ।’ केसीले सटरको आकार र भाडादरअनुसार धरौटी राख्न तयार रहेको बताए । तर गुडलकले धरौटी रकम फिर्ता नहुने भएकाले सम्झौता नगरेको उनले बताए । ‘धरौटी मात्रै १० लाख रे त्यो पनि फिर्ता नहुने । त्यस्तो पनि हुन्छ । धरौटी फिर्ता नहुने भन्ने हुदैन । हामीले उहाँहरुलाई फिर्ता हुनेगरी सटरको आकार हेरेर भाडा तिर्न र धरौटी राख्न तयार छौ,’ उनले भने । यस्तो छ, व्यवसायीहरु तिर्न तयार दर स्थानीय व्यवसायीहरुका अनुसार ८० वटा सटरमध्ये ‘क’ वर्षका २३ वटा सटर छन्, ‘ख’ वर्गका ५ वटा र ‘ग’ वर्गका ५१ वटा सटर छन् । जसमध्ये पहिलो वर्गको सटरको भाडा प्रति महिना ३२ हजार, दोस्रो वर्गको २२ हजार र ‘ग’ वर्गको सटरको भाडा ६ हजार ५ सय तिर्न तयार छन् । व्यवसायीले ‘क’ वर्ग (२३ वटा सटर) को प्रति महिना ७ लाख ३६ हजार रुपैयाँ तयार छन् । यस्तै ‘ख’ वर्ग (५ वटा सटर) १ लाख १० हजार र ‘ग’ वर्ग (५२ वटा सटर) ३ लाख ३१ हजार ५ सय रुपैयाँ भाडा तिर्न राजी छन् । यस्तै फिर्ता हुनेगरी ‘क’ वर्गको सटरधनिले ३ लाख ५० हजार ‘ख’ वर्गको सटरधनिले ३ लाख र ‘ग’ वर्गको सटरधनिले ६० हजारको दरले धरौटी बुझाउन राजी छन् तर गुडलकले पर्वको मौका पारेर प्रति सटर १० लाख धरौटी र प्रति महिना प्रति सटर ५० हजार निर्धारण गरेको उनीहरुको तर्क छ । जुन व्यवसायीका अनुसार समयसापेक्ष निकै चर्काे हो । ‘तिरिरहेको भाडाको २० प्रतिशत वृद्धि गरेर पनि भाडा तिर्न तयार छौ । हामी समय सापेक्ष डिपोजिट पनि दिन तयार छौं तर फिर्ता हुने सर्तमा । धरौटी भनेको कदमकदाचित समयमै भाडा तिर्न नसक्दा त्यहीबाट भाडा कतौटी गर्ने भन्ने हो नि, ‘व्यवसायी नारायण चापागाईले सुनगाभा न्यूजसँग भने, ‘हामीलाई दशैंको मुखमा ताला लगाउन भएन व्यवसाय गर्न पाउनुपर्याे हामी समयसापेक्ष भाडा तिर्न तयार छौ ।’ उनले पटक पटक वार्ता बस्दासमेत निष्कर्ष ननिस्केको बताउदै जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका र कृषि समाग्री कम्पनी लिमिटेडलाई निवेदन दिएको बताए । ‘वार्ता बसिसकेको अवस्था छ । निष्कर्षबिहीन भएपछि सिडिओ, महानगरलाई घटनासम्बन्धि निवेदन दिएका छौ,’ उनले भने । कृषि समाग्री कम्पनी लिमिटेडको स्वामित्वमा रहेको उक्त जग्गाको ठेक्का पाएको गुडलक कम्पनी प्रालिले सम्झौता (६ वर्ष) को पहिलो २ वर्षका लागि प्रतिमहिना ८ लाख ३१ हजार ६ सय ५६ रुपैयाँमा तिर्नुपर्ने उल्लेख छ ।
काठमाण्डौ: काठमाण्डौ उपत्यकासहित देशभर बिहान बेलुका चिसो हुन थालेको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार न्यूनतम र अधिकतम तापक्रम बिस्तारै घट्न थालेको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेकोमा आज १५ दशमलव ७ डिग्री सेल्सियसमा झरेको छ । अधिकतम तापक्रम पनि केही घट्न थालेको मौसमविद् नगरकोटीले बताउनुभयो । असोज महिनाको अन्तिमतिर आइसकेकाले अब चिसो बढ्दै जानेछ । बेलुकीपख चिसो हावा चल्न थालेको छ । दिउँसोको समयमा भने गर्मी नै छ । असोज अन्तिम हप्ता आइसक्दा पनि मनसुन भने नेपालबाट पूर्ण रुपमा बाहिरिसकेको छैन । सामान्यताय अक्टोबर २ तारिखमा मनसुन बाहिरनु पर्नेमा आज अक्टोबर १३ तारिख भइसकेको छ । नेपालको पश्चिमी क्षेत्रबाट भने मनसुन बाहिरिसकेको छ । यसपालि गएको जेठ ३१ गते मनसुन नेपाल भित्रिएको थियो ।