नुवाकोट: बिदुर नगरपालिका-२ बिदुरस्थित जुवातास (कौडा) खेलिरहेका ३६ वर्षीय रबिन्द्र आचार्यसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई नगद ६ लाख ५२ हजार १ सय ९२ रूपैयाँसहित गएराति पक्राउ गरेको हो । नर्थ भ्यू होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं: फिफा विश्वकप २०२६ छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको छ । पहिलो हाफमा यूएईले उत्कृष्ट प्रदर्शन गर्दै ४ गोल गरेपछि नेपाल ४-० ले पराजित भएको हो । घरेलु टोलीको जितमा कप्तान अलि मखबूटले दुई गोल गरे भने खलीफा अल-हम्मादि र फावियो लिमाले १-१ गोल थपे । खेल अवधिभर नै यूएईले नेपाललाई दबाबमा राखेको थियो । चोटका कारण लाकेन लिम्बुलाई गुमाएपछि उनको स्थानमा आएका अमृत श्रेष्ठका लागि खेल बिर्सनलायक बन्यो । १८ औं मिनेटमा मैदान प्रवेश गरेका अमृतले पहेंलो कार्ड र दुई गोलमा गल्ती गरेपछि हाफ टाइममा बाहिरिएका थिए । उनको स्थानमा योगेश गुरुङले अवसर पाएका थिए । दोस्रो हाफमा नेपालले दबाब खेपेपनि गोल भने खाएन । पहिलो हाफको तुलनाम दोस्रो हाफमा नेपालले काउन्टर अट्याकमा केहि अवसर पनि सिर्जना गरेको थियो । तर त्यसलाई गोलमा परिणत गर्न भने टोली असफल रह्यो । १० औं मिनेटमा युएईले खेलमा अग्रता लियो । अलि अम्रोको क्रसमा खलीफा अल-हम्मादिले हेडर मार्फत गोल गर्दै घरेलु टोलीलाई अघि बढाए । १३ औं मिनेटमा नेपालका लेफ्ट ब्याक चौधरीले बक्स बाहिर बाट आफ्नो कमजोर खुट्टाले गरेको प्रहार पोस्टको धेरै माथिबाट बाहिरियो । २६औं मिनेटमा अब्दल्लाह बेखितको थ्रु-पासमा काइओ कोरेयाको प्रहार किरण चेम्जोङले बक्सको छेउमा आएर बचाए । २९औं मिनेटमा फाबियो लिमाको फ्री-किक प्रहार किरण चेम्जोङले पुनः बचाए । त्यस लगत्तै उनकै बक्स बाहिरबाट गरेको प्रहारले भने पोस्टको दिशा लिन सकेन । ३४औं मिनेटमा लिमाको कर्नर किकमा कोरेयाको हेडर क्रसबारमा लागेर फर्कियो । ३५औं मिनेटमा घरेलु टोलीले अग्रता दोब्बर गर्ने सुनौलो अवसर प्राप्त गर्यो । अमृत श्रेष्ठले बेखिटमाथि फाउल गरेपछि युएईले पेनाल्टी पाएको थियो । युएईका कीर्तिमानी गोलकर्ता अलि मखबूटले पेनाल्टीमा सहजै गोल गर्दै अग्रता दोब्बर बनाए । ४४औं मिनेटमा मखबूटले अर्को गोल थपे । जाएद अल-जाबिको हेडर पासमा मखबूटले हेडर मार्फत नै गोल गर्दै खेलमा व्यक्तिगत दोस्रो गोल गरे । फाबियो लिमाले थपिएको समयको पहिलो मिनेटमा खेलको चौथो गोल गरे । बेखिटको पासमा उनले सहजै फिनिश गरेका थिए । दोस्रो हाफमा पनि घरेलु टोलीले नै प्रभुत्व जमायो । ५०औं मिनेटमा मखबूटको प्रहार रोहित चन्दले ब्लक गरे। ५३औं मिनेटमा आशिष चौधरीको क्रसमा छिरिङ लामाको हेडर युएई खालिद अल-मेसमारीले सहजै बचाए । ७९औं मिनेटमा मोहम्मद अल-ब्लूशीको प्रहार किरणले सहजै बचाए । ८१औं मिनेटमा मनिष डाँगीले बक्सको छेउ बाट प्रहार गरेको हाफ-भली अल-मेसमारीले राम्रो बचाउ गरे । ८६औं मिनेटमा काईओ कोरेयाको प्रहार किरणले पुनः बचाए । खेलमा तीन खेलाडीले डेब्यु गरेका थिए । रक्षक छिरिङ लामाले सुरुवाती रोजाइमा रहेरै डेब्यु गरेका थिए भने रक्षकद्वय योगेश गुरुङ र अन्जन राईले बेन्चबाट मैदान प्रवेश गरे । नेपालले छनोटको दोस्रो खेलमा यमन विरुद्ध नोभेम्बर २१ मा काठमाडौंमा खेल्नेछ । यस समूहमा नेपालसँगै यमन, यूएई र बहराइन छन् ।
पोखरा: पोखरा महानगरपालिका-२९ लेखनाथको घोतघोतेमा रहेको दृष्टिविहीन बसोबास गर्ने आश्रममा आगलागी भएको छ । दृष्टिविहीनहरुको समूह देउसीभैलो खेल्न गएका बेला बुधबार राति आगलागी भएको हो । घर भाडामा लिएर अपांगता मैत्री समाजले सञ्चालन गरेको आश्रम, बिक्री गर्न राखिएका सामग्री, लत्ताकपडा र नगदसमेत जलेर नष्ट भएको छ । करिब एक लाख रुपैयाँ नगद आधा जलेको अवस्थामा फेला परेको छ । दृष्टिविहीनहरुले विभिन्न ठाउँमा पुगेर कलम, अगरबत्ती, हर्पिक, कपुरलगायतका सामग्री बेचेर जम्मा गरेको करिब ८ लाख रुपैयाँ नगदसमेत जलेर नष्ट भएको बताइएको छ ।
काठमाडौँ: हमास र इजरायलबिच युद्धका क्रममा इजरायली डिफेन्स फोर्सेज (आइडीएफ) ले हालै एउटा तस्बिर जारी गरेको छ । उक्त तस्बिरमा इजरायली सैनिक हमासको संसद भवनमा देखिन्छन् । उक्त तस्बिरले गाजामा हमास निकै कमजोर भइसकेको सन्देश दिएको छ । जेरुसलेम पोस्टका अनुसार आइडीएफको गोलानी ब्रिगेडका सैनिकले सोमबार हमासको संसदमा इजरायली झण्डा फहराएको तस्बिर पोस्ट गरेका हुन् । इजरायली रक्षा मन्त्री योभ गेलेन्टले पछिल्लो अवस्थाको जानकारी लिनुका साथै गाजामा आइडीएफको उपलब्धिबारे चर्चा गरेका छन् । उनले भने, ‘आइडीएफ बल एउटा योजना अनुसार काम गरिरहेको छ र चुस्त गुप्तचर जानकारी उपयोग गर्दै सटिकता, घातकताका साथ हावा, समुद्र र स्थल सेनाका बिच तालमेल गरी मिसनलाई पूरा गरिरहेको छ ।’
काठमाडौं: फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २-१ ले विजयी हुँदै दोस्रो चरणको यात्रा तय गरेको हो । यो खेल आज राति ९ बजे सुरु हुनेछ । नेपाल रहेको समूहमा यूएईका साथै बहराइन र यमन रहेका छन् । वरीयताका आधारमा यूएई बलियो टोली हो । नेपालको दोस्रो खेल भने मंसिर ५ गते घरेलु मैदान दशरथ रंगशालामा हुनेछ । अबको आठ महिनामा नेपालले छनोटका ६ खेल खेल्नेछ र एक प्रकारले राष्ट्रिय टिम ब्यस्त जस्तै हुनेछ ।
अछाम: अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र १००१ ह ५५४५ नम्बरको टेम्पो गएराति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मंगलसेन ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । दुर्घटनामा परी कमलबजार–४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा, वडा नं ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन् । उनीहरुको कमलबजार स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
स्याङ्जा: मोटरसाइकल दुर्घटनामा मृत्यु भएका गण्डकी प्रदेशका भलिबल सदस्य सन्तोषबहादुर थापाको सम्झनामा आज (बिहीबार) प्रदेशका सबै भलिबल खेलहरू स्थगित गरिएको छ । गण्डकी प्रदेश भलिबल सङ्घले गण्डकी प्रदेश भरिका भलिबल प्रतियोगिता सबै स्थगित गर्ने जनाएको हो । सङ्घका अध्यक्ष नवीन गुरुङले भलिबल क्षेत्रमै अतुलनीय क्षति पुगेको बताउदै थापाको सम्झनामा भलिबल प्रतियोगिता स्थगित गरिएको बताए । चापाकोट नगरपालिका २ का २२ वर्षीय सन्तोषको मङ्गलवार राति वालिङमा भलिबल खेलमा सहभागी भएर घर फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा निधन भएको थियो ।
जम्मु-कश्मिर: भारतको जम्मु-कश्मिरमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३९ जना पुगेको छ। बिबिसी हिन्दीका अनुसार दुर्घटनामा परी चालकसहित ३९ जनाको मृत्यु भएको हो। बुधबार किस्तवाडबाट जम्मु जाँदै गरेको बस डोडा जिल्लाको अस्सार क्षेत्रमा सडकबाट ४ सय मिटर तल खसेर दुर्घटना भएको थियो। दोडा–बटोटे राष्ट्रिय राजमार्गको राजगढबाट करिब ४ किलोमिटर अगाडि बस सडकबाट चिप्लिएर पुरानो जीर्ण सडकमा खसेको हो। ३८ सिट क्षमताको बसमा ५६ जना यात्रु सवार रहेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ। घुम्ति सडक र तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाएर बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ। दुर्घटनामा १७ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइहेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाएकाको परिवारलाई २ लाख र घाइतेलाई उपचारका लागि ५० हजार रूपैयाँ दिने घोषणा गरेका छन्।