पोखरा: बडा दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर सरकारले ४३ जिल्लामा साल्ट ट्रेडिङ कर्पाेरेशनमार्फत सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । तीन ठुला चाडपर्वलाई मध्यनजर गर्दै सरकारले असोज २१ गतेदेखि देशको ४३ जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । जहाँ सुपथ मूल्य पसलमा चिनी, चामल, नुन, गेडागुडी लगायत विभिन्न खाद्यान्न समाग्रीहरु सुपथ मूल्यमा विक्री वितरण हुदैं आएको छ । तर सरकारले भनेजस्तो समाग्री भने उपलब्ध गराउन सकेको छैन । सरकारले घोषणा गरेको मिति देखिनै गण्डकी प्रदेश अन्तरगत पोखरामा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सहुलियत दरमा कारोबार सुरु गर्याे । सरकारको घोषणा अनुसार सहुलियत पसल सञ्चालनमा भएको स्थानमा चिनी खरिद गर्न गए ग्राहक रित्तो हात फर्किन बाध्य छन् । कर्पाेरेशनमा चिनीको अभाव छ तर उपझोत्ताको माग भने झन झन बढ्दै गएको छ । पोखरा लगायत सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने स्थानमा सबैभन्दा बढी चिनी खरिद गर्ने ग्राहकको संख्या बढी रहेको साल्ट ट्रेडिङ कर्पोरेशन गण्डकीका प्रमुख बासुदेव उपाध्यायले बताए । ‘सरकारले चाडपर्वलाई लक्षित गर्दै सहुलियत पसल सञ्चालनमा ल्याएको छ, सहुलियत पसलमा सबैभन्दा बढी चिनी खरिद गर्ने ग्राहक बढी छन्’, प्रमुख उपाध्यायले भने, ‘पोखरामा अहिले नुन, चामल र तोरीको तेल बाहेक अरु खाद्यान्न हामीसँग मौजाद छैन्, अरु बिक्री गर्न सकिएको छैन् ।’ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख उपाध्यायले पोखरामा सञ्चालनमा आएको सहुलियत पसलबाट दशै अगाडि चिनी विक्री गर्न नसक्ने बताए । ‘सरकारले चिनी प्रतिकेजी ९७ रुपैयाँ कायम गरेको छ, ग्राहकको माग पनि बढी चिनीमा छ, काठमाडौ लगायत केही स्थानमा मौजाद रहेको चिनी बिक्री भएको छ होला’, उनले भने, ‘काठमाडौं लगायत बाहिरी जिल्लाका सुपथ मूल्य पसलमा सरकारले चिनी खरिद गरेर नपठाउँदा दशै अगाडि चिनी विक्री गर्न गाह्रो छ ।’ उनले सहुलियत पसलबाट चिनी विक्री गर्न नसक्दा ग्राहकको संख्या न्यून रहेको बताए । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड गण्डकी प्रदेशले आयोनुन प्रतिकेजी ६ केजी र तोरीको तेल र चामल भने ग्राहकले माग बमोजिम खरिद गर्न सक्ने कार्यालयको दाबी छ । तर पसल सञ्चालन आएको चार दिन नबित्दै तोरीको तेलको मौजाद सकिएपछि तेल खरिदका लागि गएका ग्राहक रित्तो हात फर्किन बाध्य छन् । तर तोरीको तेल कम्पनीमा माग गरिएकाले भोलि बिहानसम्म पोखरा आइपुग्ने कार्यालयले जनाएको छ । कार्यालयले अहिले नुन १८ रुपैयाँ, तोरीको तेल, ३ सय ५० र प्रिमियम जिरा मसिनो चामल प्रतिबोरा २ हजार १ सय ६५ रुपैयाँमा विक्री गरिरहेको छ । चार दिनमै सकियो मौज्दात तेल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखराले अहिले सहुलियत पसलबाट नुन, प्रिमियम जिरा मसिनो चामल र तोरीको तेल मात्र विक्री गरिरहेको छ । साल्ट ट्रेडिङले सहुलियत पसलबाट तीन दिनमा १ हजार ८ सय १६ केजी नुन, ४३ बोरा चामल र २ सय लिटर तोरीको तेल विक्री गरेको छ । पसल सञ्चालनमा आएको चारदिनमै मौजाद रहेको तेल सकिएपछि तेलको माग गरिसकेकाले बिहीबार बिहानसम्म पोखरा आइपुग्ने कार्यालयले दाबी गरेको छ । सहुलियत पसल मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ । इजरायलमा हमास विद्रोहीले आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनबीच शुरु भएको तनावका कारण गुटरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण यही असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो।गुटरेसले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई समेत सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको थियो । तर इजरायल घटनापछि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले नेपाल भ्रमण स्थगित गरेका हुन् । केही समयमै गुटरेसले नेपाल भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौं: सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।
लमजुङ: लमजुङमा आफ्नै बुवाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङको क्व्होलासोथर गाउँपालिका–९ टक्सारका २८ वर्षीय सुजन बिक रहेका छन् । उनले आफ्नो ६० वर्षीय बुवा दिल बहादुर बिकलाई खुकुरी प्रहार गरेका थिए । गत असोज १० गते साँझ खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएपछि दिलबहादुरलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्यसपछि सोही दिन दिउँसो चिकित्सकले मृत घोषणा गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार सुजन र आफ्नो बुवाबीच दाह्री काट्ने जिलेटबारे विवाद भएको थियो । सोही विषयलाई लिएर सुजनले आफ्नो बुवालाई खुकुरी प्रहार गरेका थिए । प्रहरी चौकी गिलुङबाट खटिएको प्रहरीले सुजनलाई असोज १६ गते पक्राउ गरेको थियो । हाल सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दैलेख: दैलेखमा आज बिहान दाउरा काट्न गएका महाबु गाउँपालिका–१ खरिगैराका तीन जना महिलालाई अरिङ्गालले चिलेको छ । लोसे सामुदायिक वनमा दाउरा काट्न गएका २५ वर्षीया मञ्जु सुनार, २४ वर्षीया सुनिता सुनार र २९ वर्षीया गङ्गा सुनारलाई अरिङ्गालले चिलेको हो । बिरामी उनीहरुको दैलेख अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
गोरखा: संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीको अगुवाइमा आज बिहान गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा सफाइ गरिएको छ । त्यस कार्यका लागि उहाँ मङ्गलबार साँझ यहाँ आइपुग्नु भएको थियो । मन्त्री किरातीको अगुवाइमा मनकामना मन्दिर र आसपासका क्षेत्रमा रहेका फोहर सङ्कलन गरी व्यवस्थापन कार्यक्रममा स्थानीय बासिन्दा तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको नेकपा ९माओवादी० केन्द्रका जिल्ला संयोजक दीपक तिमल्सिनाले जानकारी दिनुभयो । मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वासले यहाँ भक्तजनको वर्षभरी नै भीड लाग्ने गर्दछ । बर्सेनी मन्दिरमा हजारौँ भक्तजन भाकल पूरा गर्न पूजासहित बलि चढाउन र परेवा उडाउन आउने गर्दछन् ।गोरखाको शहीद लखन गाउँपालिका–२ र ३ मा पर्ने मनकामना मन्दिर नेपालकै एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय तीर्थस्थलका रुपमा प्रख्यात छ । यस मन्दिरमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वास रहेकै कारण परापूर्वकालदेखि मन्दिरको नाम नै मनकामना रहन गएको हो भन्ने भनाइ छ । पर्यटकसमेत केबलकार चढेर दर्शन गर्नाका साथै यहाँबाट दृष्यावलोकनका लागि मन्दिरमा पुग्ने गर्दछन् । समुद्री सतहदेखि एक हजार ३०३ मिटरको उचाइमा अवस्थित यो मन्दिर परिसरबाट दक्षिणतर्फ महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपूर्ण हिमाल र मनास्लु हिमालका चुचुरा देख्न सकिन्छ । रासस
पोखरा: पोखरामा सम्पन्न प्रथम खुल्ला सेभेन साइड फुटबल प्रतियोगितामा लामागाउँ गुम्बा च्याम्पियन बनेको छ । एट टु नाइन गाइजद्वारा आयोजित पहिलो संस्करणको सेभेन एसाइड फुटबल प्रतियोगिताको फाइनलमा रामघाट एफसीलाई हराउँदै लामागाउँले उपाधि जितेको हो । १/१ गोलको बराबारीमा निर्धारित समय सकिएपछि टाइब्रेकरमा रामघाटलाई लामागाँउले ३/२ गोल अन्तरले पराजित गर्याे । लामागाउँका गोलरक्षक अन्जन क्षेत्रीले बललाई रोक्दै टिमलाई च्याम्पियन बनाए । साथै सो खेलबाट क्षेत्री नै म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता च्याम्पियन बनेको लामागाउँले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख हात पार्याे । यस्तै उपविजेता बनेको रामघाटले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ६० हजार रुपैयाँ प्राप्त गर्याे । प्रतियोगिताबाट विशन गुरुङ सर्वाेत्कृष्ट खेलाडीबाट पुरस्कृत भए । यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा लामागाउँका अन्जन क्षेत्री, सर्वाधिक गोलकर्ताका रुपमा सोही टिमका अनजुज भण्डारी पुरस्कृत बने भने अनुशासित टिमको रुपमा माछापुच्छ्रे त्रिशक्ति युनाइटेड घोषित भयो । कुल ३९ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता तथा उपविजेता समूहका खेलाडीलाई सेभेन ए साइड महासंघ अध्यक्ष नवीन पुन, गण्डकी प्रदेश खेलकुद परिषद सदस्य विनय थापा, टेकबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
काठमाण्डौ: काठमाण्डौ महानगरपालिका–३१ बानेश्वरमा रहेको तरकारी बजार अगाडिको बाग्मती खोला किनारामा आज एक युवकको शव भेटिएको छ । महानगरपालिकाको वडानम्बर १० शङ्खमूलका २० वर्षीय विकास महरा मृत अवस्थामा भेटिएका काठमाण्डौ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो । उहाँका अनुसार उहाँको साथबाट प्रयोग गरिएको खाली सिरिञ्जको कभर थान एक, टिकटिके मोबाइल थान एक फेला परेको र निज लागुऔषध प्रयोगकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
म्याग्दी: दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुुन थालेको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका निमित्त प्रमुख ऋषिराम पोखरेलले मङ्गलबारसम्म एक हजार दुई सय भेडा च्याङ्ग्रा निकासी भएको जानकारी दिनुभयो । “जोमसोमको नाकाबाट मङ्गलबार मात्रै चार सयवटा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ”, उहाँले भन्नुभयो, “पछिल्लो तीन दिनको अवधिमा एक हजार दुई सय च्याङ्ग्रा निकासी भएको छ ।” प्रतिगोटा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेबापत पशु चिकित्सकलाई रु १५ शुल्क तिर्नुपर्छ । स्वास्थ्य परीक्षण गरेर निरोगी पशु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ । यस वर्ष दसैँका लागि मुस्ताङका कृषकले पालेका चार हजार र डोल्पाबाट आउने चार हजार गरी आठ हजार भेडाच्याङ्ग्रा निकासी हुने अनुमान गरेको पोखरेलले बताउनुभयो । कृषकले प्रतिगोटा रु ३५ देखि ४० हजारको हाराहारीमा च्याङ्ग्रा बिक्री गरेका उहाँले बताउनुभयो । गत वर्ष छ हजार छ सय, २०७८ सालमा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको सङ्ख्यामा मुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ । पछिल्लो चार वर्षयता चिनियाँ च्याङ्ग्रा नआएको र मुस्ताङमा च्याङ्ग्रा कम भएकाले माग धान्न नसकेर मूल्य बढेको कृषक करन गुरुङले बताउनुभयो । तीनदेखि चार वर्ष उमेरका च्याङ्ग्रा मासुका लागि बजार पठाउने गरिएको छ । हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले लेकाली जडीबुटी खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताको अनुभव छ । दसैँ–तिहारमा च्याङ्ग्राको मासुको खपत बढी हुने गर्छ । मुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङ्ग्रा पालिएका छन् । पैसठ्ठीवटा ठूला च्याङ्ग्रा फार्म छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५० वटासम्म घर–घरमा च्याङ्ग्रा पालेका छन् । हिमचितुवा, ब्वाँसो र जङ्गली कुकुरले च्याङ्ग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ । तीन वर्षअघिसम्म प्रतिगोटा च्याङग्राको रु २५ हजार थियो । कोरोना महामारीका कारण चिनियाँ कोरला नाकाबाट च्याङ्ग्रा आयत नभएकाले मुस्ताङको च्याङग्राको मूल्य बढेको व्यापारी यामबहादुुर कार्कीले बताउनुुभयो । वैशाख र भदौ महिनामा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्याङ्ग्रा आयात हुने गर्दथ्यो । मुस्ताङी च्याङ्ग्राको हुल भित्रिएसँगै दशैँ आगमनको महसुस गराउँछ ।