काठमाडौं: नेपाली कराते खेलाडी एरिका गुरुङ १९ औं एसियाली खेलकुदको महिला ६८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेकी छिन् । सेमिफाइनलमा हङकङकी यान काइ होलाई पराजित गर्दै एरिका फाइनलमा प्रवेश गरेकी हुन् । उनले ८(४ को अन्तरमा जित दर्ता गर्दै स्वर्ण पदक भिडन्त पक्का गरिन् । फाइनलमा एरिकाले कजाकस्तानकी सोफ्या बेर्लुत्सेभाको सामना गर्नेछिन् । उनले भने फिलिपिन्सकी एरियान ब्रितोलाई पराजित गरेकी थिइन् । यसअघि क्वाटरफाइनलमा एरिकाले जापानकी युजुकी सावाएलाई हराएकी थिइन् । उनले १(१ को बराबरी हुँदा सेन्शु ९पहिलो अंक जोडेको० आधारमा जित निकालेकी थिइन् । यससँगै नेपालको १९ औं एसियाडमा दोस्रो पदक पक्का भएको छ । यसअघि महिला कबड्डीले कास्य पदक जितेको थियो ।
नेपालले १९ असोजमा पूर्वी युरोपेली देश रोमेनिआसँग श्रम सम्झौता गरेको छ भने २३ असोजमा युरोपकै अर्को देश जर्मनीसँग श्रम सम्झौता गर्ने मिति तय गरेको छ । हजारौँका संख्यामा नेपाली श्रमिकहरू युरोपमा काम गरिरहेको भए पनि यसअघि नेपालको कुनै पनि युरोपेली देशसँग श्रम सम्झौता भएको थिएन । यी दुवै युरोपेली संघ ईयू सदस्य राष्ट्रहरू हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले ‘न्यूनतम तलब, सामाजिक सुरक्षा र अन्य गुणस्तरीय दैनिक जीवनका पक्षमा युरोपेली देशको मापदण्ड निकै उच्च भएकाले’ सोही अनुसार त्यसतर्फ केन्द्रित हुन खोजिएको बताउँछन् । मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखाका प्रमुख राजीव पोखरेलले बीबीसीसँग भने, “श्रमिकहरूको सामाजिक हकहित र सुरक्षाका विषय त्यहाँका आन्तरिक कानुन नै बलियो भएकाले त्यसलाई नसमेटिकनै हुने यी पहिलो चरणको सम्झौता हुन् ।“ विदेशमा भएका नेपाली कामदारलाई सघाउन सरकारले के गर्न सक्छ ? नेपाल वैदेशिक रोजगार व्यावसायिक संघका अध्यक्षले युरोपेली देशमा धेरैजसो दक्ष जनशक्तिको माग हुने भएकाले यस सम्झौतासँग मेल खानेगरी नेपालमा त्यसको तयारी गर्न प्रेरित भइने बताउँछन् । संघका अध्यक्ष राजेन्द्र भण्डारी भन्छन्, ‘मुख्यरूपमा यसबाट नेपाली श्रमिकका लागि युरोपेली श्रम बजार समेत खुला छ भन्ने सन्देश गएको छ । कार्यक्षेत्रको सुरक्षा, मानवअधिकार, श्रम कानुनका मापदण्ड राम्रो भएको ठाउँमा जान पाउनु सुखद कुरा हो ।’ रोमेनिआमा विभिन्न अनौपचारिक प्रक्रियाबाट गएर काम गर्ने नेपालीहरूको सङ्ख्या २५ हजार नाघिसकेको र जर्मनीमा मुख्य रूपमा विद्यार्थीका रूपमा गएर काम गर्नेहरू सहित ८ हजार हाराहारीमा नेपालीहरू रहेको श्रम अधिकारीहरूको आंकलन छ । रोमेनिआ सरकारको विवरणमा भने हाल त्यहाँ साढे १५ हजार नेपाली श्रमिकहरू रहेको बताइएको छ जुन ईयूबाहिरको देशबाट कार्यरत दोस्रो उच्च संख्या हो । सम्झौता अनुसार जर्मनीमा प्रशिक्षार्थी श्रमिकका रूपमा गएर एक वर्ष त्यहाँ सीपमूलक तालिम लिएपछि मात्र श्रम बजारका लागि योग्य हुनेछन् । रोमेनिआमा अहिले नै उल्लेख्य संख्यामा नेपालीहरू श्रमिकका रूपमा रहेकाले उनीहरूको हक अधिकारलाई व्यवस्थित गर्न यस सम्झौताले सघाउने अधिकारीहरूको विश्वास छ । नेपाल सरकारले हालसम्म मलेसिया, कतार र कोरियासहित नौवटा देशसँग मात्रै द्विपक्षीय श्रम सम्झौता गरेको छ । नेपालबाट विभिन्न १११ देशमा संस्थागत रूपमा कामदार जाने गरे तापनि द्विपक्षीय श्रम सम्झौता नभएका कारण नेपालीहरू श्रमिकले पाउने कतिपय हक र अधिकारबाट वञ्चित हुँदै आएको विज्ञहरू बताउँछन् । व्यक्तिगत रूपमा हाल नेपालीहरू विश्वका १७८ मुलुकमा कामका लागि जाने गरेको सरकारी तथ्यांक छ । -बीबीसीकाे सहयाेगमा
पोखरा: हालै पोखरामा सम्पन्न नेकपा एमालेको प्रथम गण्डकी प्रदेश अधिवेशन ऐतिहासिक र लोकतान्त्रिक ढंगले सम्पन्न भएको युवानेता रश्मी आचार्यले जनाएका छन् । अधिवेशन सम्पन्न गर्न प्रचारप्रसार उपसमितिको संयोजकको भूमिकामा रहेका आचार्यले अधिवेशन लोकतान्त्रिक विधिबाट सम्पन्न भएको भन्दै यसले अन्य पार्टीमा पनि प्रतिष्पर्धाको विकल्प नभएको सन्देश दिएको उल्लेख गरे । ‘एमालेमा आफ्ना मान्छेलाई पद बाँड्ने, टीका लगाइदिने भनेर जुन आलोचना गरिन्थ्यो, त्यसको जवाफ पनि हो हाम्रो अधिवेशन’ आचार्य भन्छन् ‘राजनीतिमा अवसर र प्रतिष्पर्धा दुबै हुनुपर्छ, मन र मत जित्नेले जिम्मेवारी पाउनुपर्छ ।’ यसअघि पार्टीको गण्डकी प्रदेश कमिटीमा उपसचिवको जिम्मेवारी सम्हालेका आचार्य स्वयं सचिवको उम्मेदवार थिए । निर्वाचनमा पराजय भोगेका आचार्यलाई पार्टीमा देखिएको गुटबन्दीबारे प्रश्न गर्दा उक्त विषयतर्फ प्रतिक्रिया दिन आवश्यक नरहेको टिप्पणी गरे । ‘अधिवेशनका दौरान कसैलाई सर्वसम्मत गराउँदा टीके र अलोकतान्त्रिक भनि आलोचना गरिन्थ्यो, चुनाव गर्दा पनि गुटबन्दी भनिन्छ । प्रत्येक आलोचकलाई जवाफ दिँदै बस्न सकिँदैन’ आचार्यले भने । अधिवेशन सभ्य, भव्य र ऐतिहासिकरुपमा सम्पन्न भएको भन्दै उनले आफुलाई दिएको जिम्मेवारी पुरा गरेको बताए । पार्टीका नेता खगराज अधिकारीको प्यानलमार्फत उम्मेदवारी दिएका आचार्यले पद क्षणिक हुने भन्दै आज जसले जिम्मेवारी पाए भोली कोही अर्काेले पाउने भन्दै सामान्यरुपमा लिइदिन आग्रह गरे । ‘पार्टी एक ढिक्का छ, हामी सबै एमाले हौं’ आचार्य भन्छन् ‘लोकतान्त्रि विधिमार्फत पदाधिकारी चयन भएका छन्’ अधिवेशनमा आचार्यले लमजुङका धनञ्जय दवाडीसँग प्रतिष्पर्धा गरेका थिए । मत परिणाम अनुसार दवाडीले ५ सय २० मत प्राप्त गर्दा आचार्यले ३ सय ६७ मत पाएका थिए । त्यस्तै, अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्माले लमजुङकै मायानाथ अधिकारीलाई १ सय ६६ मतले पराजित गरे । अधिकारीले ३ सय ६५ मत प्राप्त गरेका थिए ।
काठमाडौं: नेपालका गणेश गुरुङ चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्यानोइङमा आठौँ भएका छन् । फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा शनिबार फाइनल चरणमा प्रवेश गरेका गणेश फाइनलमा पुगेका १० जनामध्ये आठौँ भएका हुन् । शनिबार नै भएको सेमिफाइनल चरणको खेलमा गणेश शीर्ष १० मा रहँदै फाइनल चरणमा पुगेका थिए । क्यानोइङमा चीनका क्वान सिनले स्वर्ण, जापानका तानाका युकीले रजत र चाइनेज ताइपेइका उ साओले हसुनले कांस्य जिते । क्यानोइङमा १६ खेलाडीले भाग लिएका थिए ।
चितवन: खैरहनी नगरपालिकाभित्र स्थायीरुपमा बसोबास गर्ने गर्भवतीले निश्चित किसिमको रक्त परीक्षण, भिडियो एक्सरे सेवा र अत्यावश्यक अवस्थामा एम्बुलेन्स सेवा निः शुल्क प्राप्त गर्ने भएका हुन् । नगरपालिकाले ‘उप-प्रमुखसँग गर्भवती तथा सुत्केरी स्याहार’ कार्यक्रममार्फत यस्तो सुविधाको उपलब्ध गराएको हो । नगर प्रमुख शशीकुमार खनियाले उप(प्रमुखसँग गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रम मातृ तथा नवजात शिशु मृत्यु दरलाई घटाउन महत्त्वपूर्ण हुनेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको सफलता र निरन्तरताका लागि कर्मचारीलगायत सरोकारवाला सबै पक्षको साथ, सहयोग र समन्वय आवश्यक हुने बताउँदै उहाँले आमाहरूको स्वास्थ्य र सुरक्षामा यो सेवा कोसेढुङ्गा साबित हुने बताउनुभयो । नगर(उपप्रमुख कविता उप्रेतीले गर्भवतीको स्वास्थ्य र सुरक्षित मातृत्वका लागि नगरपालिकाले प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रमलाई नगरपालिकाको वार्षिक कार्यक्रममा समेटेर कार्यान्वयनमा ल्याइएको उहाँको भनाइ छ । नगरपालिका बजेटमा नै व्यवस्था गरेर कार्यक्रम अघि बढाएको हो ।
काठमाडौं: नेपालको पश्चिमी जिल्ला बझाङ केन्द्रविन्दु भएर शनिबार पुनः भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर ४५ मिनेट जाँदा सो भूकम्प गएको हो । जिल्लाको भोटेखोला आसपास केन्द्रविन्दु भएर गएको सो भूकम्पको तीव्रता ५.३ म्याग्निच्युडको रहेको थियो । गत १६ गते ६.३ म्याग्निच्युडकोभ भूकम्प गए यता सो जिल्लामा लगातार भूकम्पका धक्काहरू महसुस भइरहेका छन् ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । भेटमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विविध विषयमा छलफल भएको बताइएको छ ।
झापा: एसियाली खेलकुदमा मुलुकका लागि पहिलो पदक दिलाउने नेपाली राष्ट्रिय कबड्डी टोलीकी खेलाडी अनुजा कुलुङ राईको घर पुग्दा बुबा धनमान राई भैँसी चराउन जङ्गलमा हुनुहुन्थ्यो । आमा तिलसरी पुरानो दराज इनामेलले रङ्ग्याउँदै हुनुहुन्थ्यो । हल्दिबारी गाउँपालिका–३ देवीबस्तीमा टिनको छानो भएको सानो भुइँतले घरमा अनुजाको बुबा र आमा बस्नुहुन्छ । नजिकै जलथल जङ्गल छ । जहाँ अनुजाका बुबासहित गाउँलेहरु गाईभैँसी र बाख्रा चराउन जान्छन् । अधुरो हुलाकी राजमार्गबाट पाँच सय मिटर दक्षिण जङ्गलकै छेउमा खेतीपातीबाटै अनुजाको परिवारले जीवन धान्दै आएको छ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले ऐतिहासिक काँस्य पदक जितेको छ । मेनुका राजवंशीको नेतृत्वमा रहेको नेपाली कबड्डी टोलीमा अग्लो कदकी २५ वर्षीया अनुजा सशक्त खेलाडी हुन् । गत सोमबार बङ्गलादेशलाई पराजित गरेपछि नेपाली टोलीले मुलुकलाई एसियाली खेलकुदकै पहिलो पदक पक्का गरेको थियो । एसियाली खेलकुदको कबड्डी प्रतिस्पर्धामा नेपाली टोली पहिलोपटक सहभागी भएको हो । प्रतियोगितामा पदक दिलाउन अनुजाले प्रदर्शन गरेको खेल कौशलको चौतर्फी प्रशंसा भइरहेको छ । सानो घर, थोरै खेतीपाती र भैँसीपालनको परिवेशले अनुजा सङ्घर्ष गरेरै खेल जगत्मा गाउँबाट उदाएकी प्रतिभा हुन् भन्ने स्पष्ट झल्किन्छ । किसान परिवारमा जन्मिएकी अनुजा चार पाँच वर्षको हुँदा नै बुबा धनमान वैदेशिक रोजगारीमा जानुभयो । आमा र हजुरआमा ९बोजु०को ममतामा हुर्किएकी अनुजा सानैदेखि कबड्डी खेलप्रति आकर्षित थिइन् । अनुजाकी दिदी रोशनी वैदेशिक रोजगारीकै सिलसिलामा साइप्रसमा गएकी छन् भने भाइ पनि विदेश जाने तयारीमा छन् । शुक्रबार दिउँसो हामी घर आएको खबर पाएपछि अनुजाका बुबा धनमान जङ्गलको चरनमै भैँसी छाडेर घर फर्किनुभयो । काठे बेराको भुइँतले घरका साँघुरा कोठामा खचाखच माल सामानसँगै अनुजाले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पाएका प्रमाणपत्र र जितेका पदक असरल्ल थिए । कोही पोखरा र काठमाडौँमा पाएका प्रमाणपत्र थिए भने कोही राजस्थान र मलेसियामा जितेका पदक थिए । अनुजाले पाएका पदक कोठाका भित्तामा टाँगिएका र कोही बाँसका कञ्चीमा बेरेर राखिएका थिए । “कबड्डी भनेपछि हुरुक्कै हुन्थी, भातै खान बिर्सिन्थी”, आमा तिलसरीले अनुजाको बाल्यकाल सम्झिँदै भन्नुभयो, “स्कुल गयो कबड्डी खेल्यो, घर आयो कबड्डी खेल्यो अनि बेलुका भयो छिमेकीका घरमा गएर पनि टिभीमा कबड्डी गेम नै हेरेको छ । अति भएपछि पढाइ बिग्रन्छ कि भन्ने चिन्ता थपियो । पढ्नमा मन लगा छोरी, यसरी खेलामा लागेर भविष्य बिग्रिन्छ भनेर कति सम्झायौँ । तर, उसले मानिन । कबड्डी खेल्न छाडिन ।” कबड्डी खेलेर देशको नाम संसारभर चिनाउने सङ्कल्प लिएर खेल क्षेत्रमा सानैदेखि समर्पित अनुजालाई कबड्डीमा डोहो¥याउने प्रशिक्षक झापाकै रतिया राजवंशी हुनुहुन्छ । हाल भद्रपुर वडा नं ६ का वडाध्यक्ष रहनुभएका राजवंशी अखिल नेपाल कबड्डी सङ्घका कोशी प्रदेश अध्यक्ष र कबड्डीका पूर्वराष्ट्रिय प्रशिक्षक हुनुहुन्छ । “दश वर्षअघि गाउँका स्कुलतिर खेलाडी हुन लायक विद्यार्थीको खोजीमा निस्किएको थिएँ”, आफूले प्रशिक्षित गराएकी अनुजाले एसियाली खेलमा पदक जित्दा खुसी लागेको बताउँदै कबड्डी सङ्घका तत्कालीन प्रशिक्षक राजवंशी भन्नुहुन्छ, “जब म हल्दिबारीको पञ्चायत माविमा पुगेँ । अग्लो र बलिष्ठ कदकी छात्रालाई बोलाएर तिमीले अब कबड्डीको तालिम लिनुपर्छ भनेँ । तिनै छात्रा नै अहिलेकी अनुजा हुन् । मैले उनी भविष्यमा राष्ट्रकी होनहार प्रतिभा बन्ने छिन् भन्ने त्यतिबेलै कल्पना गरेको थिएँ । मेरो त्यो अनुमान अहिले साँचो ठहरियो ।” अनुजाले घरदेखि टाढा रहेको पञ्चायत मावि र लक्ष्मी माविबाट माध्यमिक तहको शिक्षा हासिल गरेकी थिइन् । उसबेला गाउँका अरु केटीहरु टाइसुटमा ठाँटिएर बोर्डिङ स्कुल पढ्थे । घरको आर्थिक अवस्था बलियो नहुँदा उनले पैदल धाएरै सरकारी विद्यालयमा पढ्छिन् । पढ्न र खेल्नबाहेक उनले गाईवस्तु पनि चराउनुपथ्र्यो, घाँस पनि काट्नु पथ्र्यो । “स्कुल धाउँथिन्, तर उनको मन र मस्तिष्क कबड्डी खेलतिरै एकोहोरिएको थियो”, अनुजाको पठनपाठनबारे पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद बन भन्नुहुन्छ, “उनको पढाइको स्तर सामान्य भए पनि कबड्डीमा रुचि भने अचम्मकै थियो । चारपाँच जना बलिया मान्छेलाई फाँड्न सक्ने उनको तागत थियो । कबड्डीका प्रशिक्षक राजवंशीले विद्यालयमै आएर उनलाई खेलाडी छनोट गर्नुभएको थियो । विद्यालयमै अरुसँगै नियमित तालिम पनि दिनुभएको थियो ।” आफ्नो विद्यालयमा पढेकी छात्राले अन्तर्राष्ट्रिय खेलकुदमा मुलुकको स्वभिमान उँचो बनाउँदै पदक जितेकोमा विद्यालयमा खुसीको माहोल छाएको उहाँले बताउनुभयो । “मैले पनि बङ्गलादेशसँगको खेल हेरेको थिएँ, साह्रै खुसी लाग्यो”, उहाँले भन्नुभयो । प्रअ बनका अनुसार अनुजाले स्कुलबाटै कबड्डी सिकेकी हुन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कबड्डीमै उनले पटक–पटक गोल्डमेडल जितेकी थिइन् । जिल्ला, प्रदेश हुँदै उनी राष्ट्रिय टोलीमा सामेल हुन पुगिन् । अहिले उनी नेपाली सेनाको विभागीय टिम आर्मी क्लबमा आबद्ध छन् । एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि अनुजाले घरकी बोजु ७२ वर्षीया मनमाया राईलाई फोनबाट आर्शिवाद मागेकी रहिछन् । जितेर आउनु भनेर आफूले आर्शिवाद दिएको मनमायाले बताउनुभयो । कबड्डीमा पदक जितेको खबर सुन्दा साह्रै खुसी लागेको बताउने मनमायाले अनुजा डेढ वर्षदेखि घर आउन नभ्याएकोमा भने बेखुसी व्यक्त गर्नुभयो । खेलमा बढी रुचि भएकी अनुजा सानो छँदा कबड्डीको प्रतिस्पर्धा हेर्न छिमेकीका घर गएर टिभी हेर्ने गर्थिन् । धेरै गाउँ हिँड्न थाली भनेर उनकै लागि भनेर आमा तिलसरीले आफ्नै घरमा टिभी किनेर ल्याउनुपरेको सुनाउनुभयो । “सबै गाउँलेले पनि खेलमा लागेर छोरी बिग्रिने भई भनेर डर देखाउँथे, हामी पनि कबड्डी खेलेर हातखुट्टा भाँचियो भने कसले पाल्छ नानी भनेर सम्झाउँथ्यौँ”, आमा तिलसरीले अनुजाको खेल अभिरुचिबारे सुनाउँदै भन्नुभयो, “खेल खेलेरै नाम कमाउँछु भन्थी । उनको सपना आज पूरा भएको छ । हामीले खेलबाट पनि संसारभरि चिनिन सकिने रहेछ भनेर बुझेका रहेनछौँ ।” नेपाली कबड्डी टोलीले चीनमा पदक जितेपछि अनुजाको खेलको फुटेज र अन्तर्वार्ता सञ्चारमाध्यममा छाएका थिए । पदक जितेको खबर पहिलोपल्ट अनुजाको भाइले बुबा धनमानलाई सुनाएका थिए भने गाउँलेले मोबाइलमा युट्युबमार्फत अनुजाको अन्तर्वार्ता देखाएका थिए । पछि टेलिभिजन र रेडियोमा पनि अनुजाको नाम सुन्दा गौरव लागेको धनमानले बताउनुभयो । “म रोजगारीका लागि विदेश गइहाले, उसलाई सानो छँदा आमा र बोजुले नै रेखदेख गरेँ”, अनुजाको खेल सफलताबारे बुबा धनमान भन्नुहुन्छ, “एसियाली खेलकुदमा पदक दिलाएर हाम्री छोरी अब सम्पूर्ण नेपालीकै प्यारी छोरी भएकी छिन् । यसमा हामी ज्यादै खुसी छौँ ।”
तनहुँ: अर्थमन्त्री डा. प्रकाशशरण महतले तनहुँको पवित्र धार्मिकस्थल देवघाटधामको विकासमा सरकारले सहयोग गर्ने बताउनुभएको छ । तनहुँको देवघाट गाउँपालिका-५ स्थित गलेश्वर आश्रममा आज आयोजित कार्यक्रममा अर्थमन्त्री महतले देवघाट धार्मिक तीर्थस्थल भएकाले यहाँ पूर्वाधार निर्माणमा सरकारको सहयोग बताउनुभयो । सो अवसरमा अर्थमन्त्री महतले गलेश्वर आश्रम नजिक गएको पहिरोको अवलोकन गर्नुभएको थियो । पहिरो नियन्त्रणका लागि सरकारले बजेट सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटको विकास निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रमा आवश्यक बजेट विनियोजन गरिदिन मन्त्री महतसमक्ष आग्रह गर्नुभयो । देवघाट विश्वभरका हिन्दु धर्मावलम्बीको गन्तव्यस्थल बन्दै गइरहेकाले यसलाई धार्मिक पर्यटनको केन्द्रको रूपमा घोषणा गर्न थापाले महतको ध्यानाकर्षण गराउनुभयो ।