पोखरा: लामो समय देखी अव्यवस्थित पोखरा बसपार्कको व्यवस्थापन कार्य पोखरा महानगरपालिकाले सुरुवात गरेको छ । हिलाम्य हुने बसपार्कको प्रवेशद्वार ढलान गरिएको छ भने छेउछाउमा रेलिङ निर्माण गरिएको छ । बसपार्क भित्र रहेका यातायात व्यवसायीहरूका काउन्टर तथा ग्यारेज र अटो पार्टसका पसलहरू हटाइएका छन् । बसपार्कको पश्चिमतिरको भागमा ग्राभेल गरी सम्म्याउने काम भइरहेको छ । बसपार्कमा लामो समयसम्म पर्खाइमा बस्ने गाडीहरूको पार्किङका लागि वैकल्पिक स्थानको व्यवस्थापन गरिएको छ । बसपार्कलाई तत्काल अल्पकालीन र बिस्तारै दिगो रूपमा व्यवस्थापन गर्ने गरी योजना अघि बढाइएको महानगरको यातायात व्यवस्थापन समितिका संयोजक अमृत शर्मा तिमिल्सीनाले बताउनुभयो । उहाँका अनुसार पोखरा बसपार्क तत्काल व्यवस्थापनको विकल्प छैन । यसलाई बिस्तारै व्यवस्थापन गर्दै अतिक्रमित बसपार्कको पुरै जमिनमा बसपार्क बनाउनु पर्दछ । बसपार्कको समस्या निकै लामो समयदेखिको समस्या भएको उहाँले बताउनुभयो । यसको व्यवस्थापनमा कयौँ चुनौतीहरू रहेका भए पनि महानगरपालिका यस कार्यका निरन्तर लागिरहेको उहाँले बताउनुभयो । नगरप्रमुख धनराज आचार्यका अनुसार पर्यटन राजधानीका रूपमा घोषणा हुने अन्तिम तयारीमा रहेको पोखरामा व्यवस्थित सिटी बसपार्क निर्माण गरिनेछ । बसपार्कको जमिनमा बसिरहेका वास्तविक भूमिहीनहरूको उचित व्यवस्थापन गरी बसपार्कका लागि छुटाइएको अधिकतम जमिनमा व्यवस्थित बसपार्क निर्माण गर्ने योजनामा आफूहरू रहेको उहाँले बताउनुभयो । मुलुक कै दोस्रो ठुलो सहर पोखरा सातै प्रदेशको यातायात सञ्जालसँग जोडिएको छ । पोखराबाट साना तथा ठुला गरी दैनिक हजारौँ सवारीसाधानहरु देशभरिका लागि छुट्ने गर्दछन् ।
पोखरा: नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् । एमाले गण्डकी प्रदेश अध्यक्षका प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई १ सय ६६ मतले पराजित गर्दै नवराज अध्यक्ष निर्वाचित भएका हुन् । नवराजले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गरे । उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी भएका छन् । गुरुङले ५ सय ३४ र उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे । सचिवमा लमजुङका धनजन्य दवाडीले ५ सय २० मत लिएर विजयी भए । सचिवका अर्का उम्मेदवार कास्कीका रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गरे । उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उनका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत ल्याए । उपसचिव महिलातर्फ पर्वतकी मन्जु अधिकारीले ५ सय ३१ मत लिएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३ सय ६५ मत ल्याइन् । ३३ वटा विद्युतिय मेसिन मार्फत भएको मतदानमा ८ सय ९६ मत खसेको थियो १० जना अनुपस्थित भएका थिए ।
पोखरा: “युवा एकता, खेलकुद विकास तथा स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ । एट टु नाइन गाइजको आयोजनामा पोखरा १३ माछापोखरी फुटबल मैदानमा सुरु भएको खेलको पहिलो दिन एक वाकओभर तथा पाँच खेल सम्पन्न भए । प्रतियोगिताको उद्घाटन तथा पहिलो दिनको चौथो खेलमा माछापुच्छ«े त्रिशक्ति युनाइटेडले मिलनटोल एफसीलाई २–१ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगिताको पहिलो दिन कुल ६ खेल सम्पन्न भए । प्रतियोगिताको पहिलो खेलमा भुजुङ एफसिले आयोजक एट टु नाइनलाई ४–० गोल अन्तरले पाखा लगायो । दोस्रो खेलमा कमलपोखरीले मालेपाटनलाई ४–० गोलले हरायो । तेस्रो खेलमा ए सेभेन ब्रदर्सले कटपा एफसीलाई ५–१ गोल अन्तरले पाखा लगायो । पाचौ खेलमा एनवाईसी यएरपोर्टले वाकओभर पायो । कुमागाने एफसीले सहभागिता नजनाएपछी वाक ओभर पाएको हो । पहिलो दिनको अत्यन्तै प्रतिस्पर्धात्मक बनेको अन्तिम खेलमा पसगाउले रबै एफसिलाई टाइब्रेकरमा ३–२ गोलले हराउन सफल भयो । निर्धारित २०–२० मिनेटको खेल १–१ गोलको बराबरीमा रोकिएपछी खेल टाइब्रेकरमा धकेलिएको थियो । प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै पोखरा महानगरपालिका वडा १३ का वडा अध्यक्ष किरण बरालले प्रतियोगितालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले वडा १३ मा एक मात्र माछापोखरी खेलमैदान रहेको र यसलाई संरक्षण गर्न स्थानीय युवा तथा क्लबहरु लागिपरेको बताउदै खेल प्रतियोगितालाई निरन्तरता दिन अनुरोध गरे । एट टु नाइनका उपाध्यक्ष तथा प्रतियोगिताका व्यवस्थापक धनराज तामाङले फुटसल खेल्दै जमघट भएको समुहले फुटबलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । प्रतियोगितामा कुल ३९ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
काठमाडौँ: नेकपा (एमाले)को उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन शुक्रबारदेखि काठमाडौँमा हुँदैछ । एमालेका अधिकांश भौगोलिक प्रदेश कमिटीका अधिवेशन सकिन लाग्दा पूर्वनिर्धारित तालिका अनुसार गैह्र भौगोलिक र बुद्धीजीवी(कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन हुन लागेको हो । अधिवेशनको एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा उद्घाटन गर्नुहुने र अधिवेशनको तयारी पूरा भएको उक्त कमिटीका अध्यक्ष प्रेम पराजुलीले जानकारी दिनुभयो । उद्घाटनअघि शान्तिवाटिका (रत्नपार्क)बाट प्रदर्शनीमार्गसम्म पदयात्रा गरिनेछ । कुल तीन सय चार प्रतिनिधि रहने अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । यस प्रदेश कमिटी मातहत बुद्धिजीवी विशेष, मजदुर, विद्यार्थी र उद्योग(व्यवसाय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी छन् । अध्यक्ष पराजुलीले यस क्षेत्रले आफ्नो मर्यादा, अनुशासन र सीमालाई ख्याल गरेर व्यवस्थित रुपमा अधिवेशन सम्पन्न गर्ने बताउनुभयो । रासस
पोखरा: पोखरा सभागृहमा एमाले गण्डकी प्रदेश कमिटी चयनका लागि मध्यान्ह १२ बजेबाट मतदान जारी छ । निर्वाचन समितिका अनुसार साँझ साढे ५ बजेसम्म मतदान हुनेछ । अधिवेशनमा नवराज शर्मा र मायानाथ अधिकारी अध्यक्षका उम्मेदवार छन् । मीनप्रसाद गुरुङ र बाबुरामराम विकले उपाध्यक्षमा र धनञ्जय दवाडी र रश्मि आचार्यले सचिवमा उम्मेदवारी दिएसँगै मैदानमा छन् । उचसचिवमा दामबहादुर विक र सन्तोष रावल, उपसचिव महिलातर्फ मञ्जु अधिकारी र मिना गुरुङबीच प्रतिस्पर्धा हुनेछ । उनीहरुका लागि गण्डकी प्रदेशका ११ जिल्लाबाट चुनिएका ९ सय ७ प्रतिनिधिले मतदान गर्नेछन् । सभागृहभित्र गोप्य मतदान भइरहेपनि बाहिर भने दुई गुटका कार्यकर्ताले आ–आफ्नो गुटको नेतालाई खुलेआम भोट दिन आह्वान गरेको देखिएको छ । तस्बिर: बिबि रोकामगर/सुनगाभा न्यूज
झन्डै ४ करोड राजश्व चुहावटको मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कपिलवस्तुको शिवराज नगरपालिका-४ घर भई हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१ बस्ने कुतबुद्दिन शेषलाई बुधबार पक्राउ गरेको हो। ३६ वर्षका शेषलाई कपिलवस्तुको चन्द्रौटाबाट पक्राउ गरिएको हो। उनीविरूद्ध नेपाल पान मसला उद्योग चलाउँदा ३ करोड ९९ लाख १० हजार ९०३ रुपैयाँ राजश्व छलेको मुद्दा छ। उक्त मुद्दामा उच्च अदालत तुलसीपुरले शेषलाई ६ महिना कैदसँगै विगो र जरिवाना गरी उनीबाट ५ करोड ९८ लाख ३६ हजार ३ सय ५५ रुपैयाँ असुल्न आदेश दिएको थियो। शेषलाई ब्युरोले बिहीबार काठमाडौं जिल्ला अदालतमा बुझाएको छ।
हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी महिलालाई १७ घन्टापछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। व्यथा लागेर थला परेकी अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल ९पाण्डे०लाई हेलिकोप्टरबाट उद्धार गरी कालागाउँस्थित सुर्खेत प्रदेश अस्पतालमा बिहीबार बिहान पुर्याइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हंशबहादुर महताराले बताए। आमा र शिशुको ज्यान बचाउन विभिन्न निकायमा पहल गरी आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको हो। पाण्डेको गर्भमा रहेको शिशुको यसै महिनाको २० गतेका लागि समय तोकिएको थियो। व्यथा लागेपछि श्रीनगर स्वास्थ्यचौकीमा भर्ना भएकी उनको जटिलस्थिति ९ब्रिज प्रिजेन्टेसन० भएकाले बुधबार नै रेफर गरिएपनि यातायातका साधनको अभावमा विहीबार बिहान मात्र सुर्खेत पुर्याइएको महताराले बताए। पाण्डेको उद्धारका लागि प्रयोग भएको नेपाली सेनाको हेलिकोप्टर खर्च संघीय सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धारकार्यक्रमबाट ब्यहोरिने भएको छ।
काठमाडौं: नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले पार्टीको गण्डकी प्रदेश प्रथम अधिवेशनमा प्यानलगत उम्मेदवारी नरहेको बताउनुभएको छ । उहाँले प्यानलगत उम्मेदवारी सञ्चारमाध्यमले बनाइदिएको भन्दै सङ्गठनको नेतृत्व गर्ने चाहना हुने व्यक्तिहरूले मात्रै उम्मेदवारी दिनुभएको प्रष्ट पार्नुभयो । व्यक्तिगत हिसाबले आफ्ना उम्मेदवारीहरू प्रस्तावक र समर्थकसहित दिएको कुरालाई प्यानलगत भन्न नमिल्ने उहाँको भनाइ छ । उहाँले सहमतिको प्रयास आफूहरूले गरे पनि अब निर्वाचनमै जाने स्थिति देखिएको बताउनुभयो । अहिले पार्टीभित्र वैचारिक मतभिन्नता नरहेको उहाँको भनाइ छ । जिम्मेवारीका बेलामा धेरै आकंक्षीहरुको बिचमा प्रतिष्पर्धा हुनेकुरा स्वाभाविक भएको उहाँले बताउनुभयो । त्यस्तै अध्यक्ष पदका प्रत्याशी मायानाथ अधिकारीले कार्यकर्ता र नेताहरूले नै अध्यक्षको लागि योग्य भनेपछि आफू उम्मेदवार बनेको बताउनुभयो । आफूले आफूलाई सहमति गर्न र नसके अर्को सबैले मान्ने व्यक्तिलाई सहमति गर्न आग्रह गरे पनि सफल हुन नसकेको बताउनुभयो । उहाँले सहमति गरेर अघि गए आफू पछि हट्न समेत तयार रहेको बताए पनि सफल हुन नसकेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, ‘जिल्लातिरका धेरै अगुवा साथीहरूले र कतिपय नेताले पनि पोलिटब्युरो सदस्य तपाई पहिला नै हुनुपर्ने हो, विभिन्न कारणले बनाउन सकिएन, अब पार्टीले पोलिटब्युरो सदस्य बनाएको छ, त्यो उपयुक्त पद हो भन्नुभएको छ ।’ त्यस्तै, अर्का अध्यक्ष पदका उम्मेदवार नवराज शर्माले एक पूर्ण कार्यकाल सङ्गठनको नेतृत्व गर्ने चाहनाअनुसार आफूले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले यसलाई नेताहरूसँग जोडेर बुझ्न नहुने बताउनुभयो । उहाँले सहमतिका निम्ति प्रयत्न गरे पनि सफल हुन नसकेको बताउनुभयो । मीनप्रसाद गुरुङ र बाबुराम विकले उपाध्यक्षमा उम्मेदवारी दिँदा धनञ्जय दवाडी र रश्मि आचार्यले सचिवमा उम्मेदवारी दिनुभएको छ । सहसचिवमा अर्जुनकुमार सुनाम, दामबहादुर बिक र सन्तोष रावल, सहसचिव महिलातर्फ मञ्जु अधिकारी र मिना गुरुङले उम्मेदवारी दिनुभएको छ । अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९०७ प्रतिनिधि छन् । कास्कीबाट सबैभन्दा धेरै १४६ र मनाङबाट सबैभन्दा कम १४ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन् ।
म्याग्दी: म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा जयन्ती माध्यमिक विद्यालय भवन समुदायको अगुवाइमा पुनःनिर्माण गरिएको छ । विकास निर्माणमा सरकारी निकायको मात्रै भर पर्ने परम्परालाई तोड्दै देश तथा विदेशमा छरिएका भकिम्लीवासीले समुदायकै नेतृत्वमा विद्यालय भवन पुनःनिर्माण गरेर जनसहभागीतामूलक विकासको नमुना प्रस्तुत गरेका छन् । विसं २०७२ देखि जयन्ती माविको विद्यालय भवन पुनःनिर्माण अभियान शुरु गरेका भकिम्लीवासीकै नेतृत्वमा अहिले २२ कोठे दुई तले विद्यालय भवन तयार भएको छ । विद्यालय भवनसँगै प्रवेशद्वार, खेलमैदान र प्याराफिट निर्माणसहित विद्यालयलाई घेरावारसमेत गरिएको छ । छरिएर रहेका साना–साना कक्षाकोठा रहेको र जीर्ण बन्दै गएको साविकको जयन्ती माविको अहिले भौतिकस्वरुप फेरिएको विद्यालयका प्रधानाध्यापक भोजबहादुर जिसीले बताउनुभयो । साँघुरा र पानी चुहिने अवस्थामा पुगेका कक्षाकोठामा पठनपाठन गराउनुपर्ने बाध्यता विद्यालय पुनःनिर्माणसँगै हटेको छ । गाउँका बालबालिकाले सुविधासम्पन्न र भौतिक पूर्वाधारयुक्त भवनमा बसेर सहजरुपमा पठनपाठन गर्ने अवसर पाएका छन् । विद्यालय भवनका लागि सरकारी निकाय धाउँदा थाकेका स्थानीयवासीले प्रवासीको दरिलो साथ पाएपछि आफ्नै बलबुतामा विद्यालयको भवन ठडाउने साहस गरेका थिए । ुप्रवासमै रहनुभएका स्थानीयवासीले विद्यालय भवन बनाउन सहयोग गर्ने प्रतिबद्धता आएपछि अभियानको थालनी भएको थियो, पछि सरकारी निकाय, सङ्घ संस्था र व्यक्तिगत सहयोग पनि जुट्न थाल्यो, अन्ततः अहिलेको यो सुविधासम्पन्न भवन सम्भव भयोु, प्रअ जिसीले भन्नुभयो । विद्यालय भवन पुनःनिर्माण गर्न स्थानीयवासीले पनि उत्साहजनकरुपमै जनश्रमदानदेखि नगद सहयोग जुटाएका थिए । प्रवासीले रकम सहयोग गर्दा गाउँलेले घरको अन्नपात र गाईभैँसी बेचेर विद्यालयलाई सहयोग गरेको विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष रत्न जिसीले बताउनुभयो । समुदायको अग्रसरतामा सङ्घ संस्था र सरकारी तवरबाट समेत साथ थपिएको कारण भवन पुनःनिर्माणमा राहत भएको उहाँको भनाइ छ । भवन बनाउने अभियानमा नगद पाँच सयदेखि १० लाख रुपैयाँसम्म व्यक्तिगत सहयोग गरेको विद्यालयले जनाएको छ । कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा अहिले एक सय ७६ विद्यार्थी अध्ययनरत छन् । यो सुविधासम्पन्न भवनमा कक्षाकोठा भवनसहित कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी, कार्यालय र स्टाफ कक्षलगायत विद्यालयको सम्पूर्ण शैक्षिक गतिविधि सञ्चालन हुन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार, पुनःनिर्माण भएको विद्यालय भवनको एक समारोहका बीच उद्घाटन गर्ने तयारी छ । उद्घाटन कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने सहयोगदातालाई सम्मान समेत गरिनेछ । विद्यालय भवन पुनःनिर्माणमा समुदायका मात्रै दुई सय १२ चन्दादाता छन् । अमेरिका, हङकङ, स्पेन, साउदी अरेबिया, जापानलगायत देशमा रहेका भकिम्लीबासीको अगुवाइमा सङ्कलन भएको सहयोग रकममा सयौँ जनाले हातेमालो गरेका छन् । हिमालयन प्रोजेक्ट बेल्जियम र नेपाल सरकारका विभिन्न निकायले समेत पुनःनिर्माण अभियानमा बजेट उपलब्ध गराएका छन् । विद्यालय भवन पुनःनिर्माणमा करिब तीन करोड ५० लाख खर्च भए पनि अहिलेसम्म चन्दादाता, सहयोगदाता, सङ्घ संस्था र सरकारी तवरबाट तीन करोड २३ लाख ५५ हजार रुपैयाँ मात्रै सहयोग जुटेको विद्यालयले जनाएको छ । कुल लागतको आधाभन्दा बढी रकम समुदाय र देश विदेशमा रहेका भकिम्लीवासीकै नेतृत्व र अगुवाइमा जुटाइएको हो । विद्यालयलाई चन्दादातामार्फत थप सहयोग आउने क्रम जारी छ । नेपाल सरकारका विभिन्न निकायबाट एक करोड १७ लाख बजेट प्राप्त हुँदा समुदायले व्यक्तिगत चन्दाबाट ९५ लाख, विभिन्न सङ्घ संस्थाबाट रु नौ लाख र विभिन्न देशमा रहेका भकिम्लीवासीको नेतृत्वमा ६२ लाख सहयोग जुटाएका थिए भने हिमालयन प्राजेक्ट बेल्जियमले ३८ लाख सहयोग गरेको विद्यालयले जनाएको छ । पुरानो भवन जीर्ण भएकाले गाउँका सबै सरोकारवाला र प्रवासीबीच बृहत् छलफल गरेर थालिएको अभियानबाट विद्यालयमा सुविधासम्पन्न भवन बनेको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षसमेत रहनुभएका वडाध्यक्ष पदमबहादुर पुनले बताउनुभयो । विसं २०४५ मा बनाइएका साँघुरा भवनमा टिनको छानो चुहिने र पर्खाल भत्कने अवस्थामा पुगेका थिए, समुदायकै अगुवाइमा विद्यालय पुनःनिर्माण अभियान सञ्चालन गरिएको थियो, स्थानीयवासी र प्रवासी भकिम्लीवासीले मन फुकाएर सहयोग गर्नुभयो, सङ्घ संस्था र सरकारी तवरबाट पनि अभियानमा हातेमालो भयो, अब जयन्ती मावि भौतिक पूर्वाधारयुक्त बनेको छ, अबको प्राथमिकता विद्यालयको शैक्षिक गुणस्तर सुधारमा केन्द्रीत हुनेछु, उहाँले भन्नुभयो । यो विद्यालय भवन पुनःनिर्माणमामा मात्रै होइन, विद्यालयको स्थापनादेखि नै भकिम्लीवासीले यस विद्यालयलाई निरन्तर साथ, सहयोग गर्दै आएका छन् । विसं २०१६ पुस १६ गते सत्यमान पुनको नेतृत्वमा गाउँमा यस विद्यालयको थालनी भएको इतिहास छ । विसं २०१७ मा कक्षा १ सञ्चालन गर्ने अनुमति प्राप्त गरेको यस विद्यालयले आजसम्म आइपुग्दा समयको यो खालखण्डमा धेरै आरोह अवरोध, विविध समस्या र चुनौतीलाई सामाना गर्दै अघि बढेको देखिन्छ । तत्कालीन समयमा भकिम्लीको रानीपधेरामा अवस्थित यस विद्यालयलाई स्व नारायण देवी रोकाले एक रोपनी जग्गा विद्यालयलाई उपलब्ध गराएपछि अहिलेको ठाउँमा स्थानान्तरण गरिएको थियो । विसं २०२८ मा प्राविबाट निमावि तहमा स्तरोन्नति भएको यो विद्यालयमा २०५१ सालमा महायज्ञ सञ्चालन गरेर विद्यालयलाई माध्यमिक तहमा स्तरवृद्धि गरिएको थियो । लामो समयसम्म निजी स्रोतबाट मावि सञ्चालन गरेको यस विद्यालयमा समुदायले शिक्षकको तलब सुविधा र विद्यालयको भौतिक पूर्वाधारमा स्थापनाकालदेखि नै अतुलनीय योगदान गर्दै आएका छन् । तत्कालीन समयमा पिपलको बोटमुनिको चौतारीबाट पठनपाठन गराउन शुरु भएको यस विद्यालय आजको अवस्थामा पुगेको हो ।