काठमाडौं: प्रधानमन्त्री प्रचण्डले आज (बुधबार) विश्वासको मत लिँदैछन् । नयाँ गठबन्धनपछि कांग्रेसले समर्थन फिर्ता लिएकाले आज प्रधानमन्त्री प्रचण्डले तेस्राे पटक विश्वासको मत लिन लागेका हुन् । प्रतिनिधि सभाको बैठक बुधबार बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका छ । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेको हुन् । उक्त धारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान छ । गत २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहितका दलको नयाँ समीकरण बनेको थियो ।
काठमाडौं: राष्ट्रियसभा अध्यक्षमा माओवादीका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन् । आज भएको राष्ट्रियसभाको अध्यक्ष निर्वाचनमा कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहाल विजयी भएका हुन्। दाहाललाई एमाले, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन छ । माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी दाहालले ३९ प्राप्त गरे । भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक गरी १७ मत ल्याए । जम्मा ५६ भोट खसेको थियो ।
काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बिच ७ बुँदे सहमति भएको छ । मंगलबार बिहान नयाँ बानेश्वरमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा दलहरुबिच लिखित सहमति भएको हो । सहमति पत्रमा जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकाङ्क्षा पुरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढङ्गले अघि बढ्न सहमत भएको उल्लेख छ । सहमति पत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा पुनर्गठित वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने भनिएको छ ।त्यस्तै राष्ट्रिय सभाको रिक्त रहेको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेद्वारलाई समर्थन गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने उल्लेख छ । त्यस्तै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुङ्ग्याउने र सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने पनि दलहरूबिच सहमति भएको छ । देशका आर्थिक समस्याहरू सम्बोधन गर्दै राष्ट्रिय हित र लोकतन्त्रलाई सुदृढ बनाउन सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बिचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने भनिएको छ ।
गण्डकी: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साथ नदिएसम्म गण्डकी प्रदेशमा नयाँ सत्तासमीकरण अनुसार सरकार बन्न सक्ने अवस्था देखिएको छैन । ६० सदस्यीय गण्डकी प्रदेशसभामा नयाँ गठबन्धन दलसँग नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का ७ (सभामुखबाहेक) र नेकपा (एकीकृत समाजवादी)का एक गरी ३० सदस्य छन् । प्रदेशसभामा बहुमतका लागि ३१ सदस्यको आवश्यकता पर्दछ । गठबन्धनलाई बहुमतका लागि एक प्रदेशसभा सदस्य अपुग भइरहेका बेला दुई प्रदेशसभा सदस्य रहेको राप्रपा सरकार निर्माणमा निर्णायक देखिएको हो । नयाँ सरकार गठनका लागि प्रदेशसभाको गणित अनुकूल नभएपछि गठबन्धनमा आबद्ध दलहरूले राप्रपाको साथ खोजेका छन् । एमाले र माओवादी केन्द्रका नेताहरूले राप्रपासँगको संवादलाई अगाडि बढाएका छन् । एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले राप्रपाले गठबन्धनलाई समर्थन गर्ने दाबी गरे । ‘राप्रपाले गण्डकी प्रदेश सरकार गठनमा सहयोग गर्नेमा हामी ढुक्क छौँ, जिम्मेवार दलका रूपमा राजनीतिक स्थिरताका लागि भूमिका खेल्नु उसको पनि दायित्व हो’, उनले भने, ‘विगतदेखि नै राप्रपासँग सहकार्य हुँदै आएको हो, अहिले पनि मिलेरै अगाडि बढ्ने वातावरण तयार हुँदैछ ।’ राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णयले पनि गण्डकीमा गठबन्धनलाई सरकार गठन गर्न सहज हुने देखिएको प्रमुख सचेतक नेपालीले बताए । हिजोको बैठकबाट सङ्घ सरकारलाई समर्थन नगर्ने निर्णयमा पुगेको राप्रपाले प्रदेश सरकारलाई समर्थन गर्नुपर्ने परिस्थिति आएमा भने पार्टी अध्यक्षले सम्बन्धित प्रदेशसँग परामर्श गरेर उपयुक्त निर्णय लिनसक्ने निष्कर्ष निकालेको थियो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक कुसुम बूढा पुनले पनि गण्डकीको सत्ता राजनीतिमा देखिएको अन्योलता हटाउन राप्रपाले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे । संसदीय दलको बैठकले परिवर्तित सन्दर्भमा नयाँ सरकार निर्माण प्रक्रियामा सहज र स्वाभाविक राजनीतिक निकासका लागि सहयोग गर्न दलहरूलाई आह्वान गर्ने निर्णयसमेत गरेको उनले जानकारी दिए । २७ सिटको कांग्रेससँग राप्रपा मिल्दा पनि बहुमत नपुग्ने हुँदा राप्रपाले एमाले–माओवादी केन्द्रसहितको गठबन्धनलाई नै सघाउने नेता चुमानको विश्वास छ ।
काठमाडौं: लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने भएको छ । लोसपाको हिजो बसेको संसदीय दलको बैठकले संसदमा प्रतिपक्षको भूमिका रहने निर्णय गर्दै प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा रहेको वर्तमान सरकारको विपक्षमा मत हाल्ने निर्णय गरेको छ । साथै आसन्न राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई मतदान गर्ने लोसपाले निर्णय गरेको छ । कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाएको छ । लोसपासँग राष्ट्रिय सभामा एक जना र प्रतिनिधि सभामा चार जना सांसद छन् ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । आज बिहान बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको हो । विश्वासको मतबारे निर्णय गर्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको थियो । चार मन्त्रालयका साथ सरकारमा सहभागी भएको रास्वपाका २१ सांसद रहेका छन् ।
काठमाडौं: आज राष्ट्रिय सभा अध्यक्षका लागि मतदात हुँदैछ । बिहान ११:९ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ । अध्यक्षका लागि युवराज शर्मा र नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार नेपाली कांग्रेसबाट शर्मा र सत्ता गठबन्धनबाट दाहालले उम्मेदवारी दर्ता गरेका हुन् । निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना यही फागुन २० गते कार्यकाल सकेर बिदा भएपछि यो पदमा चुनाव हुन लागेको हो । नयाँ गठबन्धन बनेपछि अध्यक्ष माओवादीलाई दिने सहमति भएको छ । राष्ट्रिय सभामा माओवादी नै पहिलो दलसमेत हो ।
काठमाडौं: सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त गरेको छ । यसअघि कांग्रेस(माओवादी गठबन्धन हुँदा कांग्रेसको कोटामा नियुक्त भएका प्रदेश प्रमुखलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले पदमुक्त गर्ने निर्णय गरेको हो । गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, मधेशमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख थिए । ती प्रदेशमा नयाँ प्रदेश प्रमुख पनि सिफारिस गरेको छ । जस अनुसार मधेशमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँ सिफारिस भएका सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘कतै विश्वासको मत फिर्ता लिने, कतै मन्त्रीहरुलाई बर्खास्त गर्ने भइरहेको छ । राजनीतिक रुपमा सहज होस्, केन्द्र र प्रदेशको राजनीतिक दृष्टिकोण समान बनोस् भनेर गरिएको हो’, सञ्चारमन्त्री शर्माले भनिन् । नयाँ नियुक्ति सिफारिस भएका तीनैजना प्रदेश प्रमुख नेकपा एमाले निकट हुन् ।