काठमाडौं: सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो पौने ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने पार्टी सचिवालयले जनाएको छ । बैठकले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने मिति तोक्ने बताइएको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टी प्रश्न गर्न मात्रै नभई उक्त प्रश्नको समाधान खोज्न सरकारमा सहभागी भएको बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा दलीय आधारमा धारणा राख्दै उहाँले भन्नुभयो, “प्रश्न गर्न सजिलो छ । जब समाधान गर्ने बेला आउँछ, त्यतिबेला राजनीतिक पार्टी भाग्नुहुँदैन ।” आफ्नो पार्टी विगतमा अन्य पार्टीले गरेको जस्तो गल्ती गर्न नआएको भन्दै सांसद परियारले मुलुकको मुहार परिवर्तन गर्ने विश्वासका साथ सरकारमा सहभागी भएको बताउनुभयो । “जुन दिन पार्टीले चाहेको काम गर्न सकिँदैन, त्यो दिन सत्ताबाट हट्नेछौँ”, उहाँले भन्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थितिले आम नागरिकको सपनालाई जगाएको उल्लेख गर्दै सांसद परियारले सरकारमा रहेर जनताको हित गर्ने पार्टीको एकमात्र उद्देश्य रहेको बताउनुभयो । उहाँले संसद्लाई सुसंस्कृत अभ्यास गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले वर्तमान सत्तागठबन्धन निरन्तर अगाडि जाने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा धारणा राख्दै उनले वर्तमान गठबन्धनलाई कसैले पनि तोड्न नसक्ने जिकिर गरे। ‘यो गठबन्धन बाँकी चार वर्ष निरन्तर जान्छ, कसैले तोड्न सक्दैन । हिजो तोडेर गल्ती भयो, मुलुकले स्थायित्व प्राप्त गर्न सकेन’, सांसद पौडेलले भने, ‘मुलुकलाई स्थायित्व दिन फेरि गठबन्धन गरेका छौँ ।’ वर्तमान गठबन्धनमा लामो राजनीतिक अनुभव प्राप्त गरेका तथा आलोचक भएर सरकारका कामकारबाहीबारे ध्यानाकर्षण गराउँदै आएका दल सहभागी रहेको उल्लेख गर्दै उनले वर्तमान सरकारले तीव्र गतिका साथ काम गर्ने विश्वास व्यक्त गरे। ‘वर्तमान सरकार कानुन निर्माण तथा मुलुकले भोग्दै आएको समस्या समाधान गर्न सक्षम हुनेछ’, सांसद पौडेलले भने, ‘राष्ट्र निर्माण गर्ने जिम्मेवारी दलहरूको काँधमा छ, मुलुकको समृद्धि तथा साझा मुद्दामा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्छ ।’
काठमाडौं: नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको यहीँ चालले पाँच वर्षमा १३ पटक गठबन्धन फेरिने बताएका छन् । आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले २०७९ पुस २ देखि अहिलेसम्म तीन पटक गठबन्धन फेरिएको भन्दै पाँच वर्षमा १३ पटक फेरिने बताए । उनले भने, ‘२०७९ पुस २ मा एउटा २ महिनापछि अर्को आज फेरी अर्को । यो ठिक बेठीकको आधार कुन हो रु पार्टीको नाम उहीँ पात्र पनि उहीँ हिजो कसरी बेठिक आज कसरी ठिक ?’
काठमाडौं: नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकार र गठबन्धनले संसद्को बाँकी कार्यकाल पूरा गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै नेता पौडेलले संसद्मा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दलहरु मिलेर सरकार बनाइनु स्वभाविक भएको बताउनुभयो । उहाँले कुनै निश्चित दलसँग मात्रै सत्ता सहकार्य हुनुपर्छ भन्ने नभई संसद्भित्र जुनसुकै दलका बीच पनि सहकार्य हुनु स्वभाविक प्रक्रिया भएको टिप्पणी गर्नुभयो । यही फागुन २१ गते एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीबीचको सहमतिबाट सरकार पुनर्गठन भएको थियो । सरकारमा नेकपा (एकीकृत समाजवादी) पनि सहभागी भएको छ । नेता पौडेलले आफ्नो विगतको तीतो यात्रालाई समीक्षा गर्दै मुलुकको सुशासन, समृद्धि र सामाजिक न्यायका लागि नयाँ गठबन्धन आरम्भ गर्नुभएकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शुभकामना दिँदै यो यात्रा अविराम र अविचलितरुपमा अघि बढोस् भन्ने कामना गर्नुभयो । “प्रधानमन्त्री दाहालबाट विगतको गठबन्धनका समस्यालाई खुलस्तरुपमा राखेर सहज र संविधानसम्मतरुपमा विकल्प खोज्ने काम भएको छ । यसलाई सबै दलले सहज र स्वभाविकरुपमा लिनुपर्छ”, नेता पौडेलले भन्नुभयो, “अहिले प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । अहिले भएको सहयात्रा जनता र राष्ट्रका समस्यालाई सम्बोधनमा केन्द्रित रहन्छ । यो सरकारले संसद्को बाँकी कार्यकाल पूरा गर्नेछ ।” आर्थिकमन्दीका कारण जनताका निराशा र असन्तुष्टिलाई सम्बोधन गर्दै प्रतिपक्षका जायज मागलाई सुनेर सरकारले आशावाद सिर्जना गर्ने काम गर्ने उहाँको भनाइ छ । नेता पौडेलले विद्यमान संवैधानिक प्रबन्धअनुसार कुनै एक दलको बहुमत आउन कठिन अवस्था रहेको उल्लेख गर्दै जनताको विश्वास जित्दैँ आगामी निर्वाचनमा बहुमत ल्याउने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
काठमाडौं: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री, नेतासँग फोटो खिच्ने र ती फोटो सामाजिक सञ्जालमा राखेर आम जनतासम्म अनावश्यक रवाफ प्रस्तुत गर्नेप्रति सचेत रहन आग्रह गरेको छ । बिहीबार पार्टीले विज्ञप्ति जारी गर्दै अनावश्यक रवाफ आम सर्वसाधारणमा भ्रम सिर्जना गर्ने जस्ता गलत अभ्यासहरू पनि देखिएकाले त्यसतर्फ सचेत गराएको हो । यस्तो संस्कारले दम्भको प्रदर्शनबाहेक पार्टी, समाज र देशलाई कुनै फल नदिने सो पार्टीले विज्ञप्तिमा उल्लेख गरेको छ। साथै कोही व्यक्तिले मन्त्रीको नजिक छु भनेर आश्वासनका कुरा गरेमा सचेत रहन आग्रह गरेको हो । ‘कुनै पार्टी सदस्य वा व्यक्तिले मन्त्रीको नजिक छु भनी कुनै आश्वासनका कुरा गर्दछ भने त्यस्ता व्यक्तिसँग सचेत रही भ्रममा नपर्न अनुरोध गर्दछौँ । मन्त्रीसँग नजिक छु, फोटो खिचेको छु भनेर अनुचित लाभ उठाउन सक्नेप्रति हामी सचेत छौँ, जनता पनि यसमा सचेत हुन आवश्यक छ । यदि कसैले त्यसो गरेको पाइएमा तुरुन्त पार्टीमा उजुरी गर्नुहोला । कोही कसैको नजिक भएकै आधारमा हाम्रा मन्त्रीहरूले कुनै काम गर्ने छैनन् भन्नेमा विश्वस्त पार्न चाहन्छौँ’, विज्ञप्तिमा उल्लेख छ । रास्वपाले त्यस्तो कुनै पनि भनसुन र चाकडीबाजीलाई प्रश्रय नदिने र आफ्नो कर्तव्यमा समर्पित रहने कुरा स्पष्ट पारेको छ ।
गण्डकी: केन्द्रमा भएको सत्तासमीकरण परिवर्तनको असर गण्डकी प्रदेश सरकारमा पनि देखिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई पदमुक्त गरेको भोलिपल्ट बुधबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ । बहुमत गुमाउनुभएका मुख्यमन्त्री पाण्डेले संविधानतः ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । नयाँ समीकरणअनुसार सरकार गठनका लागि नेकपा (एमाले) र माओवादी केन्द्रलाई प्रदेशसभाको गणित सहज छैन । मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउने आधार पनि अहिलेलाई देखिन्न । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा (एकीकृत समाजवादी)का एक प्रदेशसभा सदस्य हुनुहुन्छ । सरकार गठनका लागि प्रदेशसभाका ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ । राप्रपालाई साथमा लिँदा पनि कांग्रेसले सरकार बनाउन नसक्ने स्थिति छ । राप्रपा नयाँ सत्ता समीकरणमा सामेल भएमा भने एमाले–माओवादी केन्द्रलाई सरकार गठनका लागि बहुमत पुग्छ । राप्रपाले नयाँ सत्ता गठबन्धनलाई सहयोग गर्नेरनगर्ने कुनै टुङ्गो छैन । केन्द्रमा पनि राप्रपा सत्तागठबन्धनबाहिर छ । एकीकृत समाजवादीका एक प्रदेशसभा सदस्यसहित ३० सदस्य रहेको नयाँ गठबन्धनलाई राप्रपाको मत निर्णायक हुने देखिएको छ । राप्रपा सरकार गठनमा संलग्न नरहने निर्णय गरेमा भने नयाँ सत्ता समीकरण अनुसार सरकार बन्न नसक्ने अवस्था छ । कांगे्रस–एमाले या कांग्रेस–माओवादी वा तीनै दल मिलेर सरकार बनाउने सम्भावना पनि तत्काललाई निकै कम देखिन्छ । यसबीचमा राप्रपाले गण्डकीमा लिने निर्णय प्रतिक्षाको विषय बनेको छ । स्वयं मुख्यमन्त्री पाण्डेले नै मध्यावधि चुनावको सम्भावना औँल्याएका बेला गण्डकी प्रदेशको सत्ता–राजनीतिमा एकखाले अन्योलता देखिएको छ । राप्रपा गण्डकी प्रदेशसभा संसदीय दलका नेता पञ्चराम गुरुङले नयाँ सत्ता गठबन्धनको गुणदोषका आधारमा आवश्यक कदम चालिने बताउनुभयो । “सरकारलाई समर्थन गर्ने वा नगर्ने निर्णय राप्रपाले अघि सारेका मुद्दा र मागका विषयमा केन्द्र सरकार कसरी प्रस्तुत हुन्छ, त्यसमा भरपर्छ”, उहाँले भन्नुभयो, “एउटा जिम्मेवार राजनीतिक दलका हिसाबले हामीले परिपक्क निर्णय लिन्छौँ, अहिले नै के हुन्छ भन्न सकिने अवस्था छैन, हामी केन्द्रको निर्देशनलाई पर्खिरहेका छौँ ।” उहाँले राजनीतिक निकासका लागि जुनसुकै दलहरुसँग वार्ता र सम्वादका लागि राप्रपा तयार रहेको बताउनुभयो । नेता गुरुङले राजनीतिक दलहरु सरकार बनाउने र गिराउने खेलमा मात्र संलग्न नभई मुलुकको समृद्धि र नागरिकको सेवालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो । एमाले गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउने आधार नदेखिएकाले संवैधानिक व्यवस्था अनुसार नयाँ सरकार गठन हुने बताउनुभयो । उहाँले नयाँ समीकरण अनुसार नै सरकार गठन हुने दाबी गर्नुभयो । “सरकारको जिम्मेवार तहबाटै जसरी मध्यावधि चुनावबारे धारणा आएको छ, त्यसरी प्रस्तुत नहुनुपर्ने हो”, प्रमुख सचेतक नेपालीले भन्नुभयो, “हामीले मध्यावधि चुनावको कल्पनासमेत गरेका छैनौँ, राजनीतिलाई सहज निकास दिन सबैखाले पहलकदमी एमालेले लिन्छ ।” नयाँ गठबन्धनको सरकार बनाउन निर्णायक देखिएको राप्रपासँग सम्वाद भइरहेको जनाउँदै उहाँले प्रदेशस्तरमा राप्रपासहितको समीकरण बन्न सक्ने धारणा राख्नुभयो । “गठबन्धनबारे केन्द्र तहबाट पनि पहल भइरहेको छ, प्रदेशमा पनि हामी सघन छलफलमा छौँ”, प्रमुख सचेतक नेपालीले भन्नुभयो, “नयाँ गठबन्धनकै सरकार बन्छ, हाम्रो सम्पूर्ण प्रयास त्यसतर्फ केन्द्रित छ ।” गठबन्धनले प्रदेशको राजनीतिक शक्ति सन्तुलनका आधारमा सरकार गठनको प्रकृयालाई अगाडि बढाउने उहाँले बताउनुभयो । माओवादी केन्द्र प्रदेशसभा संसदीय दलका नेता हरिबहादुर चुमानले प्रदेशलाई मध्यावधि चुनावमा जान दिन नहुने बताउनुभयो । “राप्रपासँग छलफल चलिरहेको छ, नयाँ गठबन्धन अनुसारकै सरकार बन्छ, सरकारको नेतृत्व कस्ले गर्ने विषय केन्द्रबाट टुङ्गिन्छ”, उहाँले भन्नुभयो, “सबै राजनीतिक दलहरु जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ, मुलुकलाई अन्योलमा राख्नुहुँदैन ।” अरु दलको नेतृत्वमा पटक–पटक प्रदेश सरकारका सहभागी भएको भन्दै अब बन्ने सरकारको नेतृत्वमा माओवादी केन्द्रको बलियो दाबी रहने नेता चुमानले बताउनुभयो । चारपटकसम्म प्रदेश सरकारमा पुगेको माओवादी केन्द्रले अहिलेसम्म मुख्यमन्त्री पाउन सकेको छैन । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं कांग्रेसका प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापाले सरकारले संवैधानिक प्रकृयालाई अबलम्बन गर्ने बताउनुभयो । “३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुहुन्छ, विश्वासको मत पाएमा सरकार सहज रुपमा अगाडि बढ्छ नत्र संवैधानिक व्यवस्थाअनुसार सरकार गठनको अर्को प्रकृया सुरु हुन्छ”, उहाँले भन्नुभयो । मन्त्री थापाले पनि मध्यावधि चुनावको सम्भावनालाई नकार्न नसकिने धारणा राख्नुभयो । “राप्रपाले नयाँ गठबन्धनलाई साथ दिएमा सरकार बन्न सक्छ, नत्र प्रदेश सरकारको गठन सहज देखिन्न, मध्यावधि चुनावमा पनि जानसक्छ”, उहाँले भन्नुभयो । मन्त्री थापाले केन्द्रमा हुने सरकार फेरबदलले प्रदेशमा पनि राजनीतिक अस्थिरता निम्ताएको बताउनुभयो । विसं २०७४ मा प्रदेश स्थापना भएयता गण्डकीमा पाँचवटा सरकार बनिसकेका छन् । यसअघि एमालेका पृथ्वीसुब्बा गुरुङ, खगराज अधिकारी र नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्नुभएको थियो । गोरखा–२ (२) बाट प्रदेशसभामा निर्वाचित मुख्यमन्त्री पाण्डेले गत वैशाखमा सरकारको नेतृत्व सम्हालनुभएको थियो ।
काठमाडौं: पुर्नगठित मन्त्रिपरिषद बिहीबार बसेको पहिलो बैठकले दुई वटा निर्णय गरेको छ । संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ वुमन को ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई स्वीकृति दिने एउटा निर्णय छ । साथै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय पनि भएको छ
काठमाडौं: मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मन्त्रीहरूको टुङ्गो लागेको र केही दलबाट औपचारिक पत्रसहितको नामावली आउनेक्रममा रहेको बताए । आजै अपराह्न ५ बजे मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराइने तयारी रहेको उनले बताए । नेकपा (माओवादी केन्द्रबाट) उपप्रधानमन्त्री तथा परराष्ट्रमा नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, ऊर्जामा शक्तिबहादुर बस्नेत, अर्थमा वर्षमान पुन र पर्यटनमा हितबहादुर तामाङको नाम टुङ्गो लागेको छ । मन्त्री भएका तामाङको शपथ भइसकेको छ । सोहीअनुसार सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा (एमाले) ले आठ जना मन्त्रीको टुङ्गो लगाएको छ । मन्त्री बन्नेमा केही नयाँ बाहेक यसअघि छोटो समय मन्त्रीको जिम्मेवारी पाउनुभएका पुरानै अनुहार रहेका छन् । नेकपा (एमाले) बाट रघुवीर महासेठको नेतृत्वमा पदम गिरी, ज्वालाकुमारी साह, दामोदर भण्डारी, भगवती चौधरी, हरि उप्रेती र राजेन्द्र राई मन्त्री बन्नुहुने नेता दामोदर भण्डारीले जानकारी दिए । एमालेलाई एक जना राज्यमन्त्री पनि दिने सहमति बनेको उनको भनाइ छ । महासेठलाई उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिने टुङ्गो लागे पनि अन्य मन्त्रीहरूको मन्त्रालय टुङ्गो लागिनसकेको उनले जानकारी दिए । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि आफ्नो दलबाट मन्त्री हुने चार जनाको नाम टुङ्गो लगाएको छ । सो दलबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठलाई पठाउने निर्णय भएको सो दलका सहप्रवक्ता प्रतिभा रावलले बताए । शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयमा यो समाचार तयार गर्दासम्म औपचारिक पत्र भने पुगिनसकेको जानकारी प्राप्त भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्रीहरूको नाम भने आउन बाँकी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।