पोखरा: गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका सुरेन्द्रराज पाण्डेले प्रदेशको मुख्यमन्त्री जति दिन भएपनि सन्तुष्ट बनेर काम गरेको बताएका छन् । बुधबार प्रदेशप्रमुख डिल्लीप्रसाद भट्टालई राजीनामा बुझाएपछि पत्रकारहरुसमक्ष बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘म वैशाखको १५ गते मुख्यमन्त्रीमा नियुक्त भएको हुँ । मुख्यमन्त्री नियुक्त हुँदा सरकारको तर्फबाट तीनवटा काम गर्नुपर्ने थियो, उनले भने, ‘मुख्यमन्त्री नियुक्त भएपछि सरकारको प्राथमिकता र सिद्धान्त, नीति तथा कार्यक्रम र वार्षिक बजेट ल्याए ।’ उनले गण्डकी प्रदेश सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २७ गतेसम्म सरकार बनाउने विषयमा सहभागी नहुने बताएका कारण विश्वासको मत नलिई राजीनामा दिएको स्पष्ट पारे । ‘गण्डकी प्रदेश सरकारमा राप्रपा निर्णायक छ, उसको साथबिना कुनै पनि गठबन्धनले सरकार बनाउन सक्दैन’, उनले भने, ‘चैत २७ गतेसम्म राप्रपा सरकार बनाउने विषयमा सहभागी नहुने भएपछि मैले संवधानिक व्यवस्था अनुसार संसदबाट कि विश्वासको मत लिनुपथ्र्यो कि राजीनामा दिनुपथ्र्यो, मैले राजीनामा रोज्या हो ।’ मुख्यमन्त्री पदबाट राजीनामा दिएका उनले अब प्रदेश प्रमुखले चाँडै सरकार बनाउन आह्वान गर्न सुझाव दिएको बताए । यो पनि पढ्नुहोस गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा केन्द्रमा सत्ता गठबन्धन परिवर्तनभएपछि गण्डकीका मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रबाट मन्त्री भएका दुई मन्त्रीलाई बर्खास्त गरेका थिए । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फागुन २३ गते फिर्ता दिएको थियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि भोलि (बिहीबार) मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुपर्ने थियो । तर पाण्डेले विश्वास मत नलिई मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादीको सभामुखसहित ८, राप्रपाको २ र स्वतन्त्र चुनाव जितेका एक सांसद छन् । गण्डकी प्रदेशमा सरकार बनाउन ३१ सांसदको आवश्यक पर्छ ।
पोखरा: गण्डकीका प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । मुख्यमन्त्री पाण्डेले आज (बुधबार) प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् । सत्ता गठबन्धनमा परिवर्तन आएपछि माओवादी केन्द्रले फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। मुख्यमन्त्री पाण्डलेले (बिहीबार) भोलिसम्म विश्वासको मत लिनुपर्ने थियो। विश्वासको मत लिने वातावरण नभएपछि उनी राजीनामा दिने मनस्थितिमा पुगेका हुन्। गण्डकीमा निर्णायक देखिएको राप्रपाले तत्काल कुनै पनि दललाई सत्ताकेन्द्रित गतिविधिमा साथ नदिने बताएपछि पाण्डेले राजीनामा दिएकाे पत्रकारहरूसमक्ष बताए।
पोखरा: एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद तथा गोपनियताको सपथ आगामी २३ गते (शुक्रबार) हुने भएको छ । सो अधिवेशनबाट अधिवेशनले बैन बहादुर अधिकारी क्षत्रीको नेतृत्वमा १२१ सदस्यीय कमिटी निर्वाचित भएको थियो । ३ वर्षे कार्यकालका लागि निर्वाचित उक्त कमिटीको पदस्थापना निर्वाचन भएको ९ दिनपछि मिति तय भएको नवनिर्वाचित अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । उनका अनुसार सो कार्यक्रमलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी छ । एमाले स्याङ्जाको चैत २३–२४ गते हुने नवौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा जाने क्रममा अध्यक्ष ओली कास्कीको सपथ समारोहमा सहभागी हुने उनले बताए ।
मकवानपुर: बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की प्रदेशसभा सदस्य रमा आलेमगरलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । बागमती प्रदेशका प्रमुख शर्माले नवनियुक्त मन्त्री आलेमगरलाई आजै पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री जम्कट्टेल, सभामुख भुवनकुमार पाठक, उपसभामुख अप्सरा चापागाईँ, मन्त्रीहरू र विभिन्न राजनीतिक दलका नेता तथा विभिन्न मन्त्रालयका सचिव सहभागी थिए । नवनियुक्त मन्त्री आलेमगर काठमाडौँ क्षेत्र नं १० (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।
काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आजको बैठकले आगामी वैशाख १५ गते हुने इलाम-२ को प्रतिनिधिसभा र बझाङ– १ प्रदेशसभाको उपनिर्वाचनमा पार्टीबाट उठाउने उम्मेदवारको टुंगो लगाउने बुझिएको छ । उपनिर्वाचनका लागि अन्य दलहरूले उम्मेदवारको टुंगो लगाइसके पनि कांग्रेस भने छलफलमै रहेको छ । कांग्रेसको निर्वाचन क्षेत्रीय समिति, जिल्ला र प्रदेश कार्यसमितिले उम्मेदवारका आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिसकेका छन् । इलाम-२ का लागि कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का, नेताहरू भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शशिकला राई गरी सात जनाको नाम सिफारिस भएको छ । यसअघि, सभापति देउवाले हिजो इलाम-२ को सन्दर्भमा रिपोर्ट लिएका थिए । इलामको अध्ययन गर्न महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङदम्बे र कोशी प्रदेश सभापति उद्धव थापा खटिएका थिए ।
लमजुङ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका छन् । कमिटिको नवौँ जिल्ला अधिवेशनको सोमबार सम्पन्न मतगणना अनुसार कृष्णप्रसाद अधिकारीलाई ८९ मतअन्तरले हराउँदै विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदमा नवनिर्वाचित विष्टले दुई सय ८८ मत प्राप्त गरे । बेँसीशहर नगरपालिका–११ मा घर भएका विष्ट यसअघि एमाले बेँसीशहर नगर कमिटिको अध्यक्ष थिए । यसअघिका जिल्ला अध्यक्षसमेत रहेका अधिकारीले एक सय ९९ मत प्राप्त गरे । विष्ट र अधिकारीले आ–आफ्नै प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए । उपाध्यक्षसहित उपसचिवसमेतमा विष्ट पक्ष विजयी भएका छन् । यस कमिटिको उपाध्यक्षमा यसअघिका जिल्ला सचिव शुभाष पौडेलाई पाँच मतअन्तरले हराउँदै जीतबहादुर गुरुङ निर्वाचित भए । गुरुङले दुई सय ४२ मत प्राप्त गरे भने पौडेलले दुई सय ३७ मत प्राप्त गरे । त्यस्तै, सचिवमा जनकराज मिश्रलाई दुई सय ३९ मतअन्तरले हराउँदै राजेन्द्र बोहोरा विजयी भए । राजेन्द्रले तीन सय ५८ मत प्राप्त गरे भने मिश्रले एक सय १९ मत प्राप्त गरेका थिए । उपसचिवमा राजेन्द्र अधिकारीलाई दुई सय २० मत अन्तरले हराउँदै विवश बुढाथोकी विजयी भएका छन् । बुढाथोकीले दुई सय ४९ मत प्राप्त गरे भने अधिकारले एक सय २९ मत प्राप्त गरे । सहसचिव महिलातर्फ भने आइतबार नै राममाया राना मगर निर्विरोध निर्वाचित भइन् । आइतबार भएको मतदानमा पाँच सय ३२ जना सहभागी हुनुपर्नेमा पाँच सय छ जनाले गरेका थिए । निर्वाचित कमिटिको कार्यकाल तीन वर्षे रहने छ ।
काठमाडौं: बागमती प्रदेशसभाका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो १ बजे प्रदेशसभा भवन हेटौँडामा बस्ने बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार आजको बैठकमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुनेछ । बाग्मती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । कांग्रेसले समर्थन फिर्ता लिएको चैत २२ गते एक महिना पूरा हुँदैछ । ११० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री जम्कट्टेललाई बहुमत जोगाइराख्न ५६ सांसदको आवश्यकता पर्दछ । बागमती प्रदेशमा सत्तापक्षमा रहेका नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन् । यस्तै, प्रतिपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सदस्य छन् ।
काठमाडौं: संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । सभामुखको विदेश भ्रमणका लागि दश दिन स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजबाट लगातार चैत २१ गतेसम्म चार दिन प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने कार्यतालिका रहेको छ । आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गर्ने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि छलफल गर्ने कार्यक्रम रहेको छ । साथै बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, भन्सार विधेयक लगायत विषयमा प्रस्ताव प्रस्तुत गरिने कार्यसुची रहेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ । यसैबीच हिजो सभामुख देवराज घिमिरेले नयाँ कार्यतालिका अनुसार संसदको काम कारवाहीलाई सहज रुपमा अघि बढ्ने बातावरण बनाउन दलहरुसंग आग्रह गर्नुभएको छ । संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र सचेतकहरुसंग छलफल गर्दै सदनको अवरोध हटाई नयाँ कार्यतालिका अनुसार सदनलाई सहज रुपमा अघि बढाउने वातावरण बनाउन आग्रह गर्नुभएको हो । छलफलपछि कांग्रेस सचेतक सुशिला थिङलेले राजनीति दलसम्बन्धी विधेयक विवादमा जोडिएकाले यसलाई २७ गतेको बैठकसम्म सार्ने सहमति भएको बताउनुभयो । साथै गृहमन्त्रीका बारेमा संसदीय छानविन समिति बनाउनुपर्ने अडान कायमै रहेको उहाँको भनाइ छ । एमाले मुख्य सचेतक महेश बर्तौलाले सदनलाई सहज रुपमा सञ्चालन गर्न प्रतिपक्षीले पनि उचित वातावरण बनाउनुपर्ने र सरकारले पनि सदनलाई विजनेश दिनुपर्ने बताउनुभयो । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कार्यतालिकालाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको बताउनुभयो । त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्रीको बिषयमा उठेका बिषयको जवाफ सम्बन्धीत व्यक्तिले दिन पाउनुपर्ने र रास्वपा त्यसका लागि सदैव तयार रहेको बताउनुभयो ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्ली राज भट्टले स्वस्थ नागरिक समृद्ध मुलुकको आधार रहेको बताउनुभएको छ । स्वस्थ खानपान र जीवनशैलीले रोग लाग्न नदिने र रोग लागेमा आयुर्वेदिक औषधोपचारमा जोड दिन पनि उहाँले आग्रह गर्नुभयो । गण्डकी आयुर्वेद औषधालय, कास्की र जिल्ला नागरिक आरोग्य समिति, कास्कीको संयुक्त आयोजना तथा जिल्ला समन्वय समितिको समन्वयमा पोखरामा शुक्रबार आयोजित नागरिक आरोग्य अभियान, आयुर्वेद सेवा सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । योग, ध्यान, सिद्धि, उचित खानपान एवं आयुर्वेद औषधोपचार गर्ने व्यक्ति दीर्घजीवी हुने गरेको भन्दै प्रदेश प्रमुख भट्टले आफूपनि ७७ वर्षको उमेरमा स्वस्थ, तन्दुरुस्त भएको उदाहरण प्रस्तुत गर्नुभयो । ‘स्वस्थ जीवन भएमा मात्र मुलुकको आर्थिक समृद्धि कायम हुनेछ । योग, ध्यान, साधना र व्यायामले व्यक्तिमा सकारात्मक सोचको विकासमा प्रेरणा मिल्छ ।’ उहाँले भन्नुभयो– ‘ मानव जीवनको सबैभन्दा महत्वपूर्ण र संवेदनशील पाटो नै स्वास्थ्य हो । त्यसैले स्वास्थ्य क्षेत्रको विकासलाई समग्र देशकै विकास र समृद्धिसंग जोड्नुपर्छ । नागरिक स्वस्थ भए मात्रै मुलुक स्वस्थ बन्न सक्छ ।’ प्रदेश प्रमुख भट्टले जैविक विविधताका कारण नेपाल आयुर्वेदिक औषधीको विकासका लागि निकै उपयोगी क्षेत्र भएको बताउनुभयो । देशमा उम्रिएका जडिबुटीले औषधिको काम गर्ने भएकाले आयुर्वेदको प्रवद्र्धन गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । आयुर्वेदिक औषधिले अन्य रोग ननिम्तने भएकाले मानव स्वास्थ्य राम्रो बनाउन आयुर्वेदिक उपचार पद्धतिलाई प्रवद्र्धन गरिनुपर्ने बताउनुभयो । ‘मानव सभ्यतालाई जिवन्त राख्न र स्वस्थ एवं समृद्ध समाजको कल्पना तब मात्र साकार पार्न सकिन्छ जब राष्ट्रको हरेक नागरिक निरोगी हुन्छन्।’ – उहाँले भन्नुभयो । नेपालमा आयुर्वेदिक औषधोपचारलाई प्रवद्र्धन गर्नका लागि यस्ता आयुर्वेद सेवा सम्बन्धी अन्तक्र्रिया एवं योजना तयार सम्बन्धी छलफलले टेवा पुग्ने उहाँले बताउनुभयो ।